लिडर भन्नुको साटो नेता भन्दा पनि हुन्थ्यो । सबै शब्दहरू आफ्नै भाषाबाट हुनुपर्छ भन्ने जरुरी पनि छैन । र, भेटेसम्म आयातित गर्दा मर्का नपर्ला । जुनसुकै प्राणीको पनि नेत्रृत्व गर्न सक्ने खुबी भएकालाई लिडर भनिन्छ । एक जमानाको कुरा हो । हाम्रो गाउँमा चार पाँच घरकै गाई वस्तु चराउन जाँदा हामीले धौले गोरूलाई ठूलो घाँडो झुण्डयाइदिन्थ्यौँ, किनकी ऊ सही ठाउँमा चरेर सही बेलामा फर्कन्थ्यो ।

त्यस्तै सिगारी बाख्रीको काँधमा पनि उस्तै खालको जिउ सुहाउने सानो घण्ट लगाइन्थ्यो । आफू भने लुकी खेल्दै ठूलो सालघारी वनमा, मनै आनन्द । मैन गट्टाको तरकारी, आमला, हर्रो, वर्रो, इमिली, कान्छीसाग, पड्के च्याउ, भलायो र जामुनो, काफल, सिताफल; के गर्नु ? अहिले त लिडर-लीलाले जङ्गलकै लिंडको लगाइदिए एउटा रूख पनि तुकको पाइँदैन बा !

सफा छ हाम्रो कैलाली, कञ्चनपुर, नयाँ मुलुक । एउटा लिडरले बक्सिस पाएको मुलुक । अरू बग्रेल्ती लिडरले पच्चीस सालबाट लिंडको लाउन सुरु गर्या छत्तीस, छयालीस, छपन्न, बैसठ्ठी; साँधसीमा गइसके पाँच हजार पैँसठ्ठी । यो लिडर पनि हात्तीको, गैँडाको, कुकुरको, ढुकुरको, गोरुको, भैँसीको, गाईको, बाख्राको,भेडाको, घोडाको, खच्चरको, बाँदरको, सबै पशुपन्छीको हुँदो रहेछ । एउटा स्यालले हुइयाँ गरेपछि त्यसको कानमा सिङ पलाउँछ भन्थे । सबै स्यालले आफ्नो पनि सिङ पलाउँछ कि भनेर हुइयाँ हुइयाँ गर्थे । मेरी बास्यै ! खास्सै छ बा पशु लिडरको लीला र उनीहरूले भिर्ने बिल्ला !

अरू त अरू बगाले साँप भन्छन् – त्यसको एउटा लिडरलाई मार्यो भने एकै छिनमा अर्को साँप ! त्यसपछि अर्को साँप ! त्यसपछि अर्को मर्नै परे पनि आउने । कत्ति नडराउने ! रत्ति नकराउने ! त्यसैले त्यो नटोक्ने साँपलाई दुईखुट्टे पशुले चिनेनन् । आखिरमा जब चिन्यो ढिला भयो । जब पर्यो राती तब बुढी ताती । जब चिन्यो ढिला भयो कुरोको चुरो लिडर-लीलाको ।

यो लिडरले जहिले पनि मिठो खानु पर्ने । पहिला खानु पर्ने । दगुर्दै गएर भाग छोप्नु पर्ने । चाहे बाँदरले फलफूलको बोटामा उँधोमुन्टो लगाएर होस्, चाहे गोरु चर्न जाँदा होस् वा भेडा बथानमा बत्तिँदा नै किन नहोस्, लिडर त आखिरीमा लिडरै हो । अगाडि लाग्नै पर्यो । जता हरियो त्यतै तरियो ।

त्यही लिडरको लीला सोध्न एकाबिहानै गुरुप्रसाद गुर्धामीका घरमा म पनि धसारिएँ । गुरुले पनि बिहानै नित्यकर्म सकेपछि भने – ए लिट्टेलिंडो, कताबाट आइस् आज हँ ? एकाबिहानै ?

मैले भने- गुरु, यो लिडर-लीला भनेको के हो हँ ? आजकाल जसको मुखाँ पनि लिडर-लीलाकै कुरो हुन्छ । त्यही बुझौँ भनेर आको नि !”

त्यसपछि बल्ल गुरु गुरुप्रसाद गुर्धामीले भने- लिडरमा सबै जीवजन्तु, पशुपन्छीको नेत्रृत्व गर्न सक्ने खुबी हुन्छ । जसाँ पुरै आफ्नो बगालको संरक्षण गर्ने, चरन गरी पेट भरण गर्ने गुणले भ्रुण जोगाउने चातुर्यता विकसित गरेकै हुन्छ । हुन त लिडर-लीला दुईखुट्टेमा पनि त्यस्तै त्यस्तै हुन्छ । राम्रो काम गर्ने, विवेकी, ज्ञानी, दानीलाई पो मानव भन्ने; बिगार्ने, भात्काउने त पशु नै हो नि !

गुरु गुर्धामीले थपे – लिडर भन्ने जन्तु संसाराँ जता गयो उतै पाइन्छ । लिडरको एउटा विशेष गुण हुन्छ । त्यो जन्तुलाई सभा-सोसाइटीको मैदानाँ दौडने, उफ्रने, डुल्ने बानी परेको हुन्छ । यसको सक्कलभन्दा पनि बानी-व्यहोरा बिल्कुल मानिससँग मिल्छ । यो जन्तुले खानपिन सानसँग गर्छ । लिडर-लीलामा आफ्नो बिल्ला कम हुनुहुन्न । चाहे अखबारको अग्रपंक्तिमा होस्, चाहे सरकारको हालीमुहालीमा नै किन नहोस् ! लिडर-लीलाले आफ्नो पोजिसनको बिल्ला र सिँगौरी खेल्ने मैदानको किल्ला उफ्रने जिल्ला, टेबुलमा हात बजार्ने लात, जमिनाँ पाउ कमाउने दाउ, जुँगाको ताउ, माइकाँ मुख, चाहियो जुग-जुग । एउटा हाताँ झन्डा, अर्को हाताँ डन्डा, साँझ परेपछि दारु र अण्डा, नोटका बन्डैबन्डा । लिडर आफ्नो सभा र समाजाँ सान र मानको खातिर सर्वस्व दान गर्छ । बेलुका दानको दोब्बर धनदौलत दोबर्छ । जसरी बाढीलाई बारले छेक्न सक्दैन, त्यसरी नै नेताको क्रान्तिकारी गाडीलाई कुनै ताकतले तान्न सक्छ; न त जनता, न त कानुनको बाँधले छेक्न सक्छ; न त रोक्नै सक्छ । किनकि लिडर त्यो शक्तिशाली जन्तु हो, जसले कानुन पनि आफैँ बनाउन सक्छ । र, जसरी कानुन बनाउने शक्त्ति राख्छ त्यसरी नै भत्काउन पनि उसलाई कसैले रोक्न सक्दैन ।

लिडर-लीलाको अगाडि परेपछी चाहे कुर्ची होस् या माइक, चाहे टेबुल होस् या कानुन; उनका अगाडि भगवानले जानुन् । लीडर-लीला लो-क्लासको सवारी वाहन त देब्रे नजरले पनि हेर्न जान्दैन । प्रत्येक दुई महिनाभित्र अन्तराष्ट्रिय सेमिनारका नामले संसारका देशमा सिधासाधा र विद्वान् तथा इमान्दार सज्जनका भेषमा बाँकी बचेका देशमा, संसार देख्ने रेसमा, एक्लासको स्पेशमा, पालैपालो राष्ट्रको ढुकुटीको जालो । उल्का धन फुपूको श्राद्ध !

पालैपालो विकासको नमूना हेर्ने भाषा, दौरा र सुरुवाल, काम, माम र मुख फेर्ने होडमा मिलेमत्तो बोर्डको कोडचाहिँ संरक्षण गर्छन् । यो लिडर-लीलाले कृष्णलीला जस्तै तान्डव नाच, पाण्डव जुवा, देश धुजा, विकास भुजा परेपछि बाँकी कुराको त कुरै नगरौँ न !

लिडर-लीला कसैसँग कम बोल्छ, कहिले आधामात्र मुख खोल्छ, कहिले कसैसँग खुब दिल खोलेर हाँस्छ, कसैसँग आधा हाँस्छ, कसैसँग पुरै बोल्छ । मान-सम्मान, पद-पावर र पैसा पाएन भने उसको मन भतभती पोल्छ । गरिब, साधारण र सरिफ मान्छेको अनुहार जानेर, चिनेर र उसले खुवाएको गाँस, उसले दिएको भोट, उसले किनिदिएको कोट पनि बिर्सन्छ । सर्वसाधारण त उसको अगाडि देख्न पनि रुचाउँदैन । संसारमा लिडर-लीलाको कमी छैन ।

यो जन्तु कुनै देशमा लीलालाई स्थगित गरेर जिल्ला सेवामा लागे होलान् । कतै पुर्खा बाँदरको रुपबाट भर्खर विकसित हुँदै होलान् । फरक त्यति हो । जे होस्, यो रूप हेर्ने इच्छा भए लिडर-लीलाको ताण्डव नाच हेर्न र सोध्नु; एउटै चिजलाई थाहा छ; र त्यो घटना ताजा छ । कसलाई थाहा छ ? त्यो के होला ?

आउनुस्, सबै जना त्यो कुर्ची र संविधानलाई सोध्न जाउँ । सहिद दिवसमा कुर्ची र संविधान बोकेर सहिद गेट जाउँ । उनैले भनिदिन्छन् कि !