पछिल्लो समय सडक दुर्घटनामा देखिएको बढोत्तरीले आम मानिसमा एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । वर्तमान समयमा “सडक यात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइँदैन ? कतै आफू पनि दुर्घटनाको सिकार र समाचारको विषय बनिने त होइन ?” भन्नेजस्ता प्रश्न प्रत्येक यात्रीको अन्तर्मनमा उत्पन्न हुने गरेको र यात्रा गर्दा डरैडरमा ईश्वरको नाम जप्दै हिँड्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । बसको क्षमता केकति हो, त्यसको अवस्था कस्तो छ, कुनै ख्याल नगरी कोचिन्छन् यात्रुहरू भेडाबाख्राझैँ । अझ त्यतिले पनि नपुगेर बसको छतमा समेत टनाटन यात्रु राखिन्छ । एक त समय गुज्रिएका पुराना र थोत्रा बस, त्यसमाथि क्षमताभन्दा धेरै यात्रुको चाप, लाइसेन्सविनाको चालक, अझ मापसे गरेको चालक, कच्ची बाटो र तीव्र गति अनि अरू के चाहियो र दुर्घटना हुनलाई ?

गरिमा पाण्डेय

सवारी दुर्घटनाकै सन्दर्भमा गहिरिएर अध्ययन गर्दा मेरा आफ्नै तिता र नमिठा अनुभूति छन् । गत असोज ३१ गते साँझ ५ बजे हाइस चढेर सुर्खेतबाट नेपालगन्ज फर्किने क्रममा “गाडीमा अँध्यारो भयो, बत्ती बाल्नु”, भन्दा चालकले बत्ती बिग्रेको छ भन्दा मेरो मनमा एक किसिमको डर उत्पन्न भयो र केही नराम्रो नहोस् भनेर मनमनै मैले कुलदेवतालाई सम्झिएँ । केही समयपछि सुब्बाकुनामा ट्राफिक प्रहरीले गाडी रोकेर चालकसँग लाइसेन्स माग्दा नभएको कुरासमेत पत्ता लाग्यो । “हिजो मात्र लाइसेन्सविना गाडी चलाउँदा दुर्घटना भएको र चालक फरार भएकाले हजुरहरूलाई यसरी जोखिमयुक्त यात्रामा पठाउँदैनौँ”, ट्राफिक प्रहरीले भने । उनले अर्को खाली गाडीको व्यवस्था गरिदिए । त्यसपछि अलिकति भए पनि मन हल्का भएको थियो तर विडम्बना ! ट्राफिक प्रहरीले चढाएको गाडीको चालकले छिन्चुमा केही कागजात बनाउने बहानामा रक्सीसेवन गरेको पत्ता लाग्यो । अगाडिदेखि नै चालक लगातार फोनमा व्यस्त थिए । हामीले बारम्बार फोन राख्नुस् भन्दा पनि नसुनेझैँ गरे । रात्रि यात्रा त्यसमाथि चालकले सर्प हिँडेजस्तै गाडी चलाइरहेका थिए । म अझैँ भयभीत भएँ । केही समयपश्चात् सानोहर्रेमा गाडी रोकेर चालक आधा घण्टाजति बाहिर निस्केर फोन गर्न थाले र पछि “गाडीको पाइप फुटेको छ, जान मिल्दैन”, भने । सबै यात्रुलाई बिच जङ्गलमा अलपत्र अवस्थामा छोडिदिए । रात्रिकालीन समयमा अन्य विकल्प नभएकाले पछाडि आएको लोकल बसमा हामी कोहलपुरसम्म लगातार उभिएरै आयौँ र राति १२ बजे सुरक्षितसाथ नेपालगन्ज पुग्यौँ । यसरी केही हदसम्म चालकको लापर्बाहीको सिकार म पनि भएँ ।

विश्वकै उच्च सवारी दुर्घटना हुने मुलुकका रूपमा नेपाल चिनिएको छ । पछिल्ला वर्षहरूमा दिनहुँजसो सडक दुर्घटनाबाट ज्यान गुमाउने तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ, जसबाट नेपालमा सवारी दुर्घटना कति भयावह बन्न पुगेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यो कुनै सामान्य विषय हैन । देशभरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाबाट राष्ट्रले बर्सेनि ठुलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार यही असोज २१ गतेदेखि कार्तिक १ गतेसम्ममा नेपालभरि ८८३ वटा सवारी दुर्घटना दर्ता भए । दुर्घटनामा परी १६१ जनाको मृत्यु भएको छ भने १,५०२ जना घाइते भएका छन् । फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । दसैँकै समयमा कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाले अकालमै ज्यान गुमाए । यही कार्तिक २१ गते सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा गुडेको बसले अर्को सवारी साधनलाई उछिन्न खोज्दा र सडकको खराब अवस्थाका कारण उक्त बस दुर्घटना भएको थियो । गत असोजमा स्याङ्जा र अछाममा भएको जिप दुर्घटनाको कारण कच्ची सडक नै भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरीका अनुसार आ.व. २०७५/७६ मा १९,९७३ दुर्घटना हुँदा २,७७९ जनाले ज्यान गुमाएका थिए भने १०,३६० जना घाइते भएका थिए । यही दसैँ अवधिमा काठमाडौँ उपत्यकाभित्र नै ३०८ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । अघिल्ला वर्षहरूमा पनि दसैँका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखेका, मादक पदार्थ सेवन गरेर सवारी हाँकेका वा तीव्र गतिका कारण दुर्घटना हुने गरेका विवरण आउने गरेका थिए । बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, कास्की लगायतका स्थानमा भएका दुःखद दुर्घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी देशका विविध स्थानमा घटेका सडक दुर्घटनाका कारण दर्जनौँले अकालमै ज्यान गुमाउनुपरेको छ ।

सवारी दुर्घटना किन हुन्छ र कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा भएकै विषय हो । सवारी दुर्घटना न्यूनीकरणका लागि निर्मित विविध ऐन कानुन छन् । यद्यपि दुर्घटना असामान्य रूपमा सामान्य बन्दै गएको देखिन्छ । जब बीभत्स दुर्घटनाका घटना सामुन्ने आउँछन् तब ऐन-नियम संशोधन गर्ने तथा पालनामा कडाइ गर्ने कुरा सुनिन्छन् । कुनै हालतमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नदिइने, सडकको स्तरअनुसारका सवारी साधन मात्र सञ्चालनमा ल्याइने, ट्राफिक नियम पालनामा कडाइ गरिने, लापर्बाही गर्ने चालक र प्रहरी दुवैलाई कारबाही गर्ने, टाइमकार्ड लागु गरी अनुगमन गरिनेजस्ता कुरा सरकारी निकायका तर्फबाट जोडतोडले गरिन्छन् । वर्तमान समयमा पनि लगातार घटेका गम्भीर सडक दुर्घटनाका कारण ऐन-नियम कडाइका कुरा पुनः चर्काइएको छ । तात्तातो सन्दर्भमा नियम कडाइको कुरा गर्ने ट्राफिक प्रहरीले पनि केही दिन विशेष चनाखो भएझैँ गरी जाँच गर्ने र घटना सन्दर्भ सेलाइसकेपछि अनुगमन तथा जाँच पनि सुस्ताउने स्थितिको पुनरावृत्ति भएको पाइन्छ ।

सडक र यातायात व्यवस्थापन आजको मुख्य चुनौती हो । विकासको मुख्य पूर्वाधार सडक र यातायात हुन् तर विडम्बना ! एउटा खाल्टो पुर्न नारायणी, त्रिशूलीलगायत अन्य स्थानमा एउटा गाडी पल्टिनुर्छ यहाँ । अहिले अधिकांश सडक बनाउने नाममा डोजरले अन्धाधुन्ध खनी अलकत्रा खन्याउने गलत अभ्यास भइरहेको देखिन्छ, जसले ग्रामीण भेगमा कमसल र साँघुरो सडकका कारण दुर्घटना बढाएको छ । यस्तै, सहरी क्षेत्रमा सडक डिजाइनको अन्ताराष्ट्रिय मापदण्डअनुसार साइकल लेन, व्यवस्थित सडकपेटी, ह्विल चेयर गुडाउने, दृष्टिविहीन हिँड्नेजस्ता संरचना निर्माणमा बेवास्ता गरिएको देखिन्छ । सडक दुर्घटना बढ्नुमा सवारी साधन र सडकको जीर्ण अवस्था, सवारी साधन र यात्रुको चाप, पूर्वाधारविना सडक अनुमति दिनु, सवारी नियममा कमी, चालक अनुमतिपत्रमा नियमन नहुनु, चालकले मापसे गर्नु, सवारी नियमसम्बन्धी ज्ञानको अभावजस्ता कारण देखिन्छन् ।

नेपालमा सडक दुर्घटनाको प्रमुख कारण चालकको लापर्बाहीपछि सवारी साधनको अवस्था, सडकको स्तर, मौसम र दुर्घटनापछिको यातायात व्यवस्थापन हो । सडक सुरक्षा मुख्यतः चालक, सवारी साधन र सडकसँग जोडिने विषय हो तर यी तीनओटै पाटा दुरुस्त छन्/छैनन् भनेर हेर्ने संयन्त्र र यिनलाई सुव्यवस्थित गर्ने प्रणाली राज्यले अझै बनाइसकेको छैन, जसलाई मौसमी रूपमा गरिने सचेतना अभियान र प्रचारात्मक कार्यक्रमले ढाकछोप गर्ने गरिन्छ । दिनप्रतिदिन बढ्दो सवारी चापका कारण ट्राफिक समस्या उस्तै विकराल बन्दै छ । सडक सञ्जालको विकास एवम् विस्तारले मात्र ट्राफिक जाम र सडक दुर्घटना रोक्न सक्दैन, यसका लागि प्राविधिक तथा व्यावहारिक पक्षको पनि उत्तिकै हात हुन्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७९ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले विविध नियमहरू बनाएको छ । सवारी तथा यातायात व्यवस्था (आठौँ संशोधन) नियमावली, २०७४ को परिच्छेद-३ मा सार्वजनिक सवारीको वर्गीकरण, स्तर वा क्षमताबारे उल्लेख गरिएको छ भने दफा १८ मा यात्रुवाहक सवारीको स्तर, सञ्चालन अवधि तथा गतिबारे उल्लेख गरिएको छ । परिच्छेद-४ मा चालक अनुमतिपत्रसम्बन्धी व्यवस्था गरिएको छ, जसअन्तर्गत दफा २३(क) मा यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा, यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा, पर्यटक सवारीको चालकले पर्यटकबाहेक अन्य यात्री बोकेमा, निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाका लागि प्रयोग गरेमा, सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा, सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा र चालकले मादक पदार्थ तथा अन्य लागुपदार्थ सेवन गरी सवारी चलाएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ ।

यस्तै सार्वजनिक सडक ऐन, २०३१ को दफा १६(क) मा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै सार्वजनिक सडकले बहन गर्न सक्ने वजनको सीमा तोकेर बढी वजनको सवारी साधन चलाउन निषेध गर्न सक्ने व्यवस्था गरेको छ तर सरकारी उदासीनताका कारण क्षमताभन्दा बढी वजनका सवारी साधन सञ्चालन हुँदा सडकहरू छिट्टै बिग्रिने र त्यस्तो कमजोर सडकमा बढी दुर्घटना हुने गरेको छ । यातायात व्यवस्था ऐन, २०४९ ले पनि सडक बनाइसकेपछि अध्ययन गरेर मात्र रुट पर्मिट दिनुपर्ने व्यवस्था गरेको छ ।

जतिसुकै ऐन-नियम बनाए तापनि व्यावहारिक रूपमा कत्तिको लागु भएको छ त ? सवारी चलाउन तालिमप्राप्त र अनुभवी योग्य चालक चाहिन्छ । नेपालमा त स्टेरिङ सिधा गर्न जानेपछि भर्खरका अल्लारेले पनि दर्जनौँ यात्रु बोकेर सवारी घुइक्याउँछन् । कतिपय अवस्थामा सहचालकले पनि लामो दूरीका सवारी साधन चलाउँदा दुर्घटनामा परेका समाचार सुनिन्छन् । कतिपयले पक्की बाटो नबनिसकेका दुर्गम क्षेत्रमा लाइसेन्सविना भाडाका सवारी चलाइरहेका हुन्छन् । क्षमताभन्दा बढी यात्रु वा सामान बोक्न हुन्न भन्ने नियम भए पनि पालना भएको देखिँदैन । कुनै-कुनै स्थानमा प्रहरी चेकपोस्ट छ भने त्यहाँ पुग्नुभन्दा अगावै केही यात्रुलाई ओरालेर हिँडाउने र फेरि चेकपोस्टको केही परबाट चढाउने गरेको कुरा सर्वविदितै छ । सवारी दुर्घटनामा हामी सबैको दोष छ । यस्तो गर्नु हुन्न भन्ने कुरा सवारी चालक र यात्रु दुवैलाई थाहा छ तर गर्ने के ? सवारीवालालाई धेरै यात्रु चढाएर आम्दानी बढाउनु छ भने यात्रुलाई बाटामा अलपत्र पर्नुभन्दा ठेलमेल गरेरै भए पनि गन्तव्यमा पुग्नु छ । अर्को सवारी कुर्ने धैर्य र समय नै हुँदैन । हुन पनि दुर्गम क्षेत्रमा अर्को सवारी पाउने नपाउने कुनै ठेगान हुँदैन । खासगरी यस्तो समस्या सुदूर ठाउँमा व्याप्त छ । सहरमा पनि पाएसम्म यात्रु कोचेको कोच्यै गर्छन् ।

यात्रुका चाप र सुविधालाई मध्यनजर गरी नियमित तालिका बनाएर सवारी चलाउने उचित व्यवस्था गर्न सकिन्न र ? साथै सिटभन्दा बढी यात्रु बोक्न नपाइने भने तापनि उक्त नियम पालना गरे नगरेको नियमित परीक्षण गर्न सकिन्न र ? सडक र क्षेत्र हेरी सवारीको गति निर्धारण हुन्छ । केही निश्चित ठाउँमा गति सीमित भन्ने सङ्केत राखिएका भए पनि पालना हुँदैन । राजमार्गहरूमा त झन् गति नियन्त्रणको कुरै छैन । पहाडी राजमार्ग साघुँरा, घुम्ती र अप्ठ्यारा भए पनि हावाको वेगमा सवारी कुदाउने गरेको पाइन्छ । एकअर्कालाई उछिन्न खोज्दा वा घुमाउरो मोडमा असावधानी र जोखिमका साथ सवारी चलाउँदा राजमार्गलगायतका खण्डमा विपरीत दिशाबाट आएका सवारी साधनहरू एकआपसमा जुधेर अत्यधिक दुर्घटना हुने गर्छन् । यस्ता दुर्घटनामा साना सवारी र मोटरसाइकलको बढी लापर्बाही देखिन्छ । चार पाङ्ग्रे सवारीको तुलनामा दुई पाङ्ग्रे सवारीबाट सडक दुर्घटनाको जोखिम उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ । यसका लागि चालक स्वयं सजग र अनुशासित हुनुभन्दा अर्को विकल्प छैन ।

उपर्युक्त तथ्यलाई दृष्टिगत गर्दा यातायात व्यवस्था सन्तोषजनक नरहेको र चालकको लापर्बाहीले गर्दा सडक दुर्घटना हुने भएकाले यात्रा असुरक्षित रहेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु बोकेका, तीव्र गतिमा चलाएका, मादक पदार्थ पिएर गाडी चलाएका, ट्राफिक नियम उल्लङ्घन गरेका, पुराना सवारी साधन प्रयोग गरेका, सुरक्षा कवच प्रयोग नगरेका, लाइसेन्सविना गाडी चलाएको पाइएमा तत्काल कारबाही गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन सके वर्तमान सडक दुर्घटनाको दर निश्चय नै घटाउन सकिन्छ । साथै सम्बन्धित निकायबाट सचेतना कार्यक्रम, सडक मर्मत, सडकबत्ती, ट्राफिक चिह्न, ट्राफिक लाइट, सडक स्मार्ट चिह्न, प्रदूषण परीक्षण मेसिनलगायतको व्यवस्थापन गर्नुपर्छ । सडक दुर्घटना कम गर्न विद्यमान नीति, नियम र निर्देशनहरू पालना भए/नभएको अनुगमन तथा निरीक्षण कार्यमा नेपाल प्रहरीलगायत सम्पूर्ण यातायात व्यवस्था कार्यालय सक्रिय हुनुपर्ने देखिन्छ ।