ओशोको आत्मकथाः

मेरो प्रथम शिष्या मेरी हजुरआमा

सत्र १६

 

संसारमा छ वटा ठूला धर्महरू छन् । तिनलाई दुई वटा भागमा विभाजन गर्न सकिन्छ । पहिलो वर्ग होः यहुदी, ईसाई र इस्लाम धर्म । यिनले एउटै जीवनमा विश्वास गर्छन् । तिमी जीवन र मृत्युको बीचमा छौ, जन्म र मृत्युपछि केही पनि छैन । यही जीवन सबथोक हो । हुन त यिनले स्वर्ग, नर्क र परमात्मामा पनि विश्वास गर्छन् र पनि यिनले एउटै जीवनमा त्यसलाई आर्जन गर्न सकिने मान्छन् । अर्को भागमा हिन्दु, जैन र बौद्ध धर्म पर्छन् । यिनले पुनर्जन्मको सिद्धान्त मान्छन्, विश्वास गर्छन् । मानिस त्यतिञ्जेलसम्म पटक-पटक जन्मिरहन्छ, जबसम्म उसले बुद्धत्व, एनलाइटनमेन्ट प्राप्त गर्दैन र त्यसपछि जन्ममृत्युको चक्र रोकिन्छ ।

मर्दै गर्दा मेरा हजुरबुवाले त्यही भनिरहनु भएको थियो तर त्यो बेला मैले त्यसको महत्त्वलाई, यसको अर्थलाई बुझेको थिइनँ । हुन त मैले मेसिनले झैँ बारदोलाई दोहो-याएँ । तर म के भनिरहेको छु र के गरिरहेको छु, मैले जानेको थिइनँ, बुझेको थिइनँ । म हजुरबुवाको चिन्तालाई बुझ्न सक्छु, यसलाई तिमीले चरम या अन्तिम चिन्ता पनि भन्न सक्छौ । यदि यो रोग बन्यो भने, जस्तो कि पूर्वमा बनेको छ, त्यो बेला यो एउटा सनक र मनोग्रस्तता बन्न पुग्छ र त्यो बेला म यसलाई निन्दा गर्छु । त्यो बेला यो एक किसिमको रोग हो र रोग सराहनीय हुँदैन, निन्दनीय हुन्छ ।

कुनै पनि कुरालाई निन्दा गर्नु छ भने त्यसलाई मनोवैज्ञानिक रुपमा सनक या मनोग्रस्त भनिन्छ । त्यसैले मैले यो शब्द प्रयोग गरेको हुँ । पूर्वमा हजारौँ वर्षदेखि मानिसहरू यो रोगबाट पीडित छन् । यसले नै उनीहरूलाई धनवान्, सम्पन्न र वैभावशाली हुनबाट रोकेको छ किनभने उनीहरूको एक मात्र चिन्ता यो चक्र कसरी रोक्ने भन्ने मात्र छ । त्यो बेला कसले यसलाई चालु अवस्थामा, सरलतापूर्वक घुमाइरहनका लागि यसमा तेल लगाउने वा ग्रिज दल्ने काम गर्छ ?

रोल्स रोयसका पैयाँलाई घुमाइरहनका लागि मैले आफ्ना संन्यासीहरूको आवश्यकता पर्छ । थोरै चर्को आवाज आयो भने पनि उनीहरूलाई अप्ठेरो पर्छ ! – मिठो आवाज पनि । एउटा रोल्स रोयसले दुई दिनदेखि आवाज निकालिरहेको थियो । कहिलेकाहीँ यस्तो हुन्छ । बडो मिठो आवाज, मानौँ रुखमा कुनै सानो पक्षी गाइरहेको होस् तर यस्तो हुनु हुँदैन । रोल्स गाडीले पक्षीको आवाज निकाल्दैन । उसो भए त्यो आवाज कहाँबाट आइरहेको थियो ? स्टियरिङ–ह्विलबाट । म त्यो सहन सक्तिनँ । तिमीहरूलाई थाहै छ, म असहनशील मानिस होइन तर एउटा नयाँ रोल्स रोयस गाडीले गाउन थाल्छ, त्यो पनि स्टियरिङ ह्विलमा !

सत्य त के भने बोनेटमुनि के छ, त्यसका बारेमा मलाई केही पनि थाहा छैन । न त मैले कहिल्यै देखेको छु, न त हेर्न नै चाहन्छु । त्यो मेरो काम होइन । मान्छु, आवाज मिठो थियो । मानौँ कुनै सानो पक्षीले सिठ्ठी फुकेकी होस् तर त्यसलाई रोक्नु त पर्छ ! रोल्स रोयसले सिठ्ठी फुक्नु हुँदेन, चाहे त्यो जतिसुकै मिठो किन नहोस् ! अनि, यी मानिस के गरिरहेका छन् ? तिनको सारा काम र सारा ध्यान रोल्स रोयसलाई सकुशल राख्नका लागि नै होइन र ? रोल्स र रोयस नामक ती दुई मानिसले फेरि जन्म लिए भने उनीहरूलाई बडो ईर्ष्या हुने थियो किनभने उनीहरूले जे गरेका थिए, तिनलाई सुधार्ने प्रयास हामी गरिरहेका छौँ । रोल्स संसारको सबैभन्दा राम्रो कार हो, यसमा कुनै सन्देह छैन तर त्यसमा सुधार गर्न सकिन्छ । सुधार हुनसक्छ र सुधार गर्नु नै पर्छ । र, यसका लागि पैँया रोकियोस् भन्ने म चाहन्नँ ।

जन्म र मृत्युको चक्र कसरी रोक्ने, भारतीयहरूमा सधैँ यो सनक सवार हुने गर्छ । यो उनीहरूको आत्माको रोग बनेको छ । उनीहरूको चक्र सधैँ गोरुगाढाको सम्झना दिलाउँछ । त्यसलाई उनीहरूले रोक्न चाहन्छन् भने म त्यसमा म सोह्रैआना सहमत छु तर तिनमा राम्रो पैयाँ पनि छन्, तिनलाई रोक्न कुनै आवश्यक छैन । दोहो-याएर जन्म लिने विचारले, तिमीले जीवनलाई राम्रोसँग बाँचेनौ भन्ने नै बताउँछ । तिमीहरूलाई भलै यो विरोधाभाषी कुरा लाग्ला तर म भन्छु, जसले जीवनलाई भरपूर बाँचेको छ, उही नै जीवन र मृत्युको चक्रलाई रोक्न सक्छ र जसले रोक्न चाहन्छ, उसैले जीवनलाई बाँच्न जानेनन् । उनीहरू कुकुरको मृत्यु बाँचे ।

म कुकुरका विरुद्ध छैन– कृपया यसलाई नोट गर । म त केवल एउटा लोकोक्ति प्रयोग गरिरहेको छु । र, यो अर्थपूर्ण हुनेछ किनभने हिन्दी र अंग्रेजी दुवैमा यो लोकोक्ति एउटैजस्तो छः कुकुरको मृत्यु ! र, अंग्रेजीमा भन्छन्ः ए डग्ज डेथ ! यी दुवैले एउटै अर्थ दिन्छन् । यसमा पक्कै कुनै रहस्य छ, जसलाई खोज्नका लागि मैले तिमीहरूलाई एउटा कथा सुनाउनु पर्नेछ ।

भनिन्छ, परमात्माले यो संसार बनाए… याद राख, यो केवल कथा हो… जब परमात्माले यो संसार बनाए, स्त्री, पुरुष, पशु र रुख अनि सबैलाई उसले बीस वर्षको उमेर दिए, बीस वर्ष । मलाई आश्चर्य लाग्छ, बीस वर्ष नै किन ? शायद परमात्मा पनि आफ्नो औँलाले नै गन्ती गर्थे होला, र हातको मात्र होइन, गोडाको पनि किनभने यी सबै मिलाएर बीस हुन्थ्यो ।

म आफ्नो खोज आफैँ गर्छु । तिमीहरूले कहिले आफ्नो बाथटबमा हात र गोडाका औँलालाई सफा गर्दा तिनलाई गनेका हौला । शायद कुनै दिन परमात्माले पनि गने होला र त्यसै बेला उनलाई झट्ट विचार आयो होला, सबैलाई बीस वर्ष आयु दिनु प-यो । ऊ पक्कै कवि हृदयको हुँदो हो । ऊ साम्यवादीजस्तो पनि देखिन्छ । अब अमेरिकनहरूले यो सुने भने ज्यादै नराम्रो मान्लान् । मानून्, मलाई केही मतलब छैन । जब मैले संसारमा कुनै पनि कुराको चिन्ता गरिनँ भने अमेरिकीहरूको पो किन गरुँ ? र, जीवनको यस अवस्थामा म पहिलेभन्दा अझ बढी उग्र र प्रचण्ड हुन चाहन्छु ।

म निश्चित रुपमा जान्दछु, जिससलाई केही दिन अझ बढी प्रचार गर्न दिएको भए उनी यति उग्र र प्रखर हुन्थेनन् र संसारलाई उनले अझ बढी बुझ्ने थिए । आखिर उनी यहुदी थिए, बिस्तारै बिस्तारै बुझ्थे र वाहियात कुरा गर्दैनथे… ‘प्रभुको राज्य’ – र उनी यहुदी थिए र ती बाह्र मुर्ख जसलाई जिससले अथवा तिनीहरू स्वयंले आफूलाई प्रमुख शिष्य माने । जिससले पक्कै तिनलाई कुनै संकेत दिएका होलान्, नत्र त ती महामुर्ख थिए । उनीहरू स्वयं त त्यस्तो सोच्न सक्दैनथे ।

जिससका कुरा यति उग्र, यति ठेस पु-याउने किसिमका थिए कि त्यो बेला सबैभन्दा ठूलो क्रान्तिकारी, जोन दि बेपटिस्ट, जो जिससका गुरु पनि थिए र कारागारमा बन्द थिए, उनले आफ्नो कालकोठरीबाट पनि जिससलाई सन्देश पठाएः ‘तिम्रा कुरा सुनेर मलाई तिमी साँच्चिकै त्यही मुक्तिदाता हो कि होइन भनेर सन्देह हुने गर्छ । तिम्रै प्रतीक्षा सर्वसाधारणले गरेका होलान् भन्ने शंका गर्न मन लाग्छ किनभने तिम्रा भनाइ यति उग्र र छक्कै पार्ने किसिमका छन् ।’

अब म यसलाई प्रमाणीकरण भन्छु । जोन दि बेपटिस्ट संसारका महान् क्रान्तिकारीहरूमध्ये एक थिए । जिसस त उनका अनेक शिष्यहरूमध्ये एक थिए । यो ऐतिहासिक दुर्घटना थियो, जोन दि बेपटिस्टलाई मानिसले बिर्सिए र जिससलाई आज पनि सम्झिरहन्छन् ।

जोन दि बेपटिस्ट शुद्ध आगो थिए, आगो ! तिनको टाउको काटियो । रानीले आदेश दिएकी थिइन्, उनको टाउको एउटा प्लेटमा सजाएर उनलाई पेश गरियोस् । त्यो बेला मात्र देश आनन्दले बस्नेछ । र, रानीको भनाइअनुसार नै गरियो । जोन दि बेपटिस्टको टाउको काटी एउटा सुन्दर सुनको प्लेटमा राखेर रानीसमक्ष पेश गरियो । जोन दि बेपटिस्ट जस्तो मानिस पनि जिससका उग्र भनाइ सुनेर चिन्तित हुन पुगे । र, म भन्छु, कहिलेकाहीँ तिनलाई सम्पादित गर्नुपर्ने आवश्यकता पर्छ । अँ, यहाँसम्म त म पनि भन्न सक्छु, उनी उग्र या प्रखर भएकाले होइन, बरु मूर्खतापूर्ण हुन थालेकाले । छक्क पार्ने किसिमको भयो भने त ठीकै छ तर मूर्खतापूर्ण ? अहँ, बिल्कुलै नाइँ ।

सोच त, जिससले अञ्जीरको रुखलाई सराप दिनु, किनभने उनी र उनका शिष्य भोकै थिए र रूखमा फल पाकेका थिएनन् । फल लाग्ने समय नै थिएन । यसमा रुखको कुनै दोष थिएन । तर जिसस यति रिसाए कि उनले अञ्जीरको रुखलाई सराप दिए, सधैँ कुरुप रुख रहिरहेस् !

अब म चाहिँ यसलाई मूर्खतापूर्ण नै भन्छु । जिससले भनेको होस् कि अरु कसैले मलाई मतलब छैन । उग्रता धार्मिकताको अंश त हो तर मूर्खता चाहिँ होइन । शायद जिससले अझै केही दिन उपदेश दिन्थे होला तर उनलाई सूलीमा चढाइँदा जम्मा ३३ वर्षका थिए । म सोच्छु, वास्तविक यहुदी हुनुका कारण उनी पक्कै ७० वर्षको उमेरमा केही शान्त हुन्थे होला । त्यो बेला उनलाई सूली चढाउनुको कुनै आवश्यक पनि पर्थेन । तर यहुदी निकै हतारोमा थिए ।

मेरो विचारमा यहुदीहरू धेरै हतारमा थिए… किनभने यहुदीलाई बढी थाहा छ… शायद रोमनहरूले जिससलाई सूली चढाएका हुँदा हुन् । यी मानिस सधैँ बेवकुफ नै रहे । तिनका जातिको इतिहासमा शायद नै कोही जिसस, बुद्ध र लाओत्सु जस्ता व्यक्ति जन्मिएका हुँदा हुन् । केवल एउटै मानिस मलाई सम्झना आउँछ र त्यो थियो, सम्राट आरेलियस । उसले मेडिटेसन्स नामक एउटा पुस्तक लेखेको थियो । निश्चित नै, जे कुरालाई म मेडिटेसन भन्छु, त्यो त होइन यो । मेरो मेडिटेसन त सधैँ एकवचन हुन्छ, त्यो वहुवचन हुन सक्तैन । उसको मेडिटेसन्स त वास्तवमा चिन्तन मनन हो । त्यो एक वचन हुन सक्तैन । सारा रोमन इतिहासमा मलाई केवल मार्कस आरेलियसको नाम नै उल्लेखनीय लाग्छ । तर ऊ पनि खास विशेष केही होइन । बिचरा, बासोले पनि उसलाई हराइदिन सक्छ । कुनै पनि कबिरले सम्राटलाई चोट दिन सक्छ र उसलाई रनभुल्लमा पारिदिन सक्छ ।

बुझ्झकी बनाउनका लागि सकडमा भएको ढुंगाको चोट नै पर्याप्त छ । उसका लागि कुनै बुद्ध आवश्यक पर्दैन । बुद्धको आवश्यकता त तिमीलाई बुझाइभन्दा पर लैजानका लागि पर्छ । बासो, कबिर अथवा लल्ला या राबियाजस्ता कुनै महिलाले विचरो सम्राटलाई त्योभन्दा पर पु-याउन सक्छन् ।

रोमनहरूले जम्मा त्यति नै पाएका छन् । खास केही पनि पाएनन् तर पनि केही त छ ! कसैलाई पनि अस्वीकार गर्नु हुँदैन । म आरेलियसलाई सम्बद्ध या जाग्रत व्यक्ति त भन्दिनँ तर शिष्टाचारवस म उसलाई एउटा राम्रो मानिस मान्छु । यदि संयोगवश उसको भेट बोधिधर्मजस्ता व्यक्तिसँग भयो भने ऊ सम्बुद्ध हुनसक्थ्यो । बोधिधर्मको आँखा मार्कस आरेलियसको आँखासँग यदि जुझ्थ्यो भने गज्जबको काम हुन्थ्यो । त्यो बेला पहिलो पटक उसले बुझ्थ्यो, ध्यान के हो । त्यसपछि ऊ आफ्नो घर गएर आफूले लेखेका सबै जलाइदिन्थ्यो । शायद त्यो बेला उसले रेखाचित्रहरूको एउटा संग्रह छाडिदिन्थ्यो, उडिरहेको पक्षी, ओइलाउँदै गरेको गुलाब, आकाशमा उडिरहेको एक्लो बादल, केही वाक्य यताउता छरिएका, तिनले धेरै कुरा भन्दैनथे तर तिनले पढ्नेहरूलाई केही विचारका प्रक्रिया शुरु गर्नका लागि यथेष्ट हुने थिए । अनि मात्र मेडिटेसन सही नोटबुक हुन्थ्यो तर मेडिटेसन्सको हुँदैनथ्यो । ध्यानको बहुवचन सम्भव छैन ।

मनोवैज्ञानिकहरूले भन्न सक्छन्, पूर्व, खासगरी भारत, मृत्युबाट होइन बरु आत्मघातको विचारबाट पनि ग्रसित छ । एक किसिमले मनोवैज्ञानिक कोणलाई गलत भन्न सकिन्न । जबसम्म मानिस ज्यूँदो हुन्छ, उसले त्यसलाई पूर्ण रूपमा बाँच्नुपर्छ । मृत्युपछिका कुरा सोच्न आवश्यक छैन । र, जब मृत्यु आयो भने पूर्ण रुपमा मर्न पर्छ, त्यो बेला पछाडि फर्केर हेर्ने कुनै आवश्यकता छैन । हरेक क्षणमा पूर्ण रुपमा हुनुपर्छ, बाँच्दा पनि र प्रेम गर्दा पनि र मृत्युमा पनि । यसरी नै बुझिन्छ । के बुझिन्छ ? ‘के’ भन्ने केही छैन । बुझिने कुरा मात्र हुन्छ । ‘के’ होइन ‘त्यो’, बुझ्ने । ‘के’ त विषय हो र ‘त्यो’ आत्मपरकता, आत्मनिष्ठता हो ।

जब मेरा हजुरबुवा मर्नुभयो, मेरी हजुरआमा हाँसिरहनु भएको थियो– हाँसोको अन्तिम झलक । त्यो बेला उहाँले आफूलाई नियन्त्रित गर्नुभयो । उहाँ स्वयंलाई नियन्त्रित गर्ने महिला हुनुहुन्थ्यो तर म उहाँको त्यो नियन्त्रणबाट होइन, बरु उहाँको हाँसोबाट प्रभावित भएको थिएँ । मृत्युको बेला पनि कोही कसरी हाँस्न सकेको होला भनेर म प्रभावित भएको थिएँ ।

मैले पटक पटक उहाँलाई सोधेँः ‘हजुरआमा, जब मृत्यु यति निकट हुँदा त्यति ठूलो स्वरमा किन हाँस्नु भयो, मलाई भन्नु न ! मजस्तो बच्चालाई पनि मृत्युको आभास भयो भने त तपाईंलाई नभएको त मान्दिनँ ।’

उहाँले भन्नुभयो, ‘महसुस त मलाई पनि भइरहेको थियो । त्यसैले त म हाँसेँ । मलाई ती विचराप्रति हाँसो उठ्यो, जो अकारण र बिना कुनै आवश्यकता त्यो चक्र रोक्ने प्रयास गरिहेका थिए । किनभने परम अर्थहरूमा त जीवन र मृत्युको कुनै अर्थ छैन ।’

मैले त्यो समयको प्रतीक्षा गर्नुप-यो, जब म आफैँ सोध्न सक्थेँ या तर्क गर्न सक्थेँ । मैले सोचेँ, जब म समाधिमा पुग्नेछु, त्यो बेला उहाँलाई सोध्नेछु । र, मैले त्यही गरेँ । २१ वर्षको उमेरमा सम्बुद्ध भएपछि पहिलो काम मैले मेरा बुवाको गाउँ पुग्ने हतारो गरेँ । त्यहाँ मेरी हजुरआमा बस्नुहुन्थ्यो । उहाँले त्यो ठाउँ कहिल्यै पनि छाड्नु भएन । त्यहीँ उहाँको पतिको चिता जलाइएको थियो । त्यही उहाँको घर बनाइएको थियो । उहाँले आफ्ना सबै सुखसुविधालाई बिर्सनु भयो । उहाँले आफ्नो खेत खलिहान, बगैँचा, पोखरी सबै बिर्सनुभयो । ती सबै व्यवस्थापन गर्न उहाँ कहिल्यै फर्कनु भएन । उहाँले भन्नुभयो, ‘त्यहाँ गएर के गर्नु ? मेरा पति त बितिहाल्नुभयो र जुन बच्चालाई प्रेम गर्छु, ऊ यहीँ छ । कुरा सक्कियो ।’

सम्बोधिपछि तुरुन्त दुई जनालाई भेट्न हतार हतार गाउँ पुगेँ म । पहिलो व्यक्ति थिए, मग्गाबाबा, जसका बारेमा मैले पहिल्यै सुनाइसकेको छु । म किन हतारोमा थिएँ थाहा छ ? म मग्गाबाबाका अगाडि उभिँदा उहाँको मुखबाट सुन्न चाहन्थेँ, म सम्बुद्ध भएँ । मलाई त थाहा थियो तर म यसका बारेमा अरुबाटै सुन्न चाहन्थेँ । त्यो बेला मग्गाबाबा नै त्यस्ता व्यक्ति थिए, जसलाई म त्यसका बारेमा सोध्न सक्थेँ । मैले सुनेको थिएँ, उहाँ भर्खरै गाउँ फर्कनुभयो । गाउँ स्टेसनबाट दुई चार किलो मिटर टाढा थियो । तिमीले कल्पनै गर्न सक्तैनौ, म कति चाँच्चाँडो उनीकहाँ त्यो नीमको रुखमुनि पुगेँ ।

नीम शब्दको अनुवाद हुन सक्तैन । किनभने नीमको रुखजस्तो पश्चिममा केही होला भन्ने मलाई लाग्दैन । नीमको रुख अनौठो रुख हो । तिमीले त्यसको पात चाख्यौ भने तितो हुन्छ । तिमीहरूलाई विश्वास नलाग्ला, विष पनि त्यति तितो हुँदैन । तर यसको ठीक विपरीत निम विषाक्त हुँदैन । यसको केही पात दैनिक रुपमा सेवन ग-यो भने, जुन ज्यादै गाह्रो कुरा हो । मैले वर्षौंसम्म यसको पचास वटा पत्ता बिहान र पचास वटा बेलुका खाएँ । नीमको पचास पत्ता खानका लागि त यस्तो मान्छे चाहिन्छ, जो आफैँलाई मार्न आतुर होस् । भारतजस्तो देशमा पनि ! जुन चमत्कार नै हो । नीमको पात हुँदै बहेको हावा पनि अन्य हावाको तुलनामा बढी शुद्ध हुन्छ भन्ने मानिन्छ । मानिसहरू आफ्नो घरको चारैतिर निमको रुख लगाउँछन् ताकि उनीहरूले शुद्ध हावा पाऊन् । यो त वैज्ञानिक तथ्य नै हो कि नीमले सबै प्रकारका छालासम्बन्धी रोगबाट मुक्त बनाउँछ, यसले वातावरण पनि सुरक्षित बनाउँछ ।

म दौडँदै त्यो रुख छेउ पुगेँ । त्यहाँ मग्गाबाबा बसिरहेका थिए । जसै उनले मलाई देखे, थाहा छ, उनले के गरे ? म आफैँलाई पनि विश्वास लागेन । उनले मेरो गोडा छोए र रुन थाले । मलाई बडो संकोच लाग्यो । किनभने मानिसहरूको भिड जम्मा भइसकेको थियो । उनीहरूले सोचे, मग्गाबाबा अब चाहिँ पागलै भइसके । अहिलेसम्म त उनको दिमाग केही खराब थियो, अलिअलि बिग्रेको थियो, अब चाहिँ पूरै खुस्किएछ । सधैँका लागि दिमाग गएछ । तर मग्गाबाबा हाँसे र पहिले पटक उनले मानिसहरूका सामु मलाई भने, ‘मेरो छोरो, तिमीले अन्ततः गरेरै छाड्यौ । मलाई थाहा थियो, एक दिन तिमीले अवश्यै गर्नेछौ ।’

मैले उनको गोडा छोएँ । पहिलो पटक उनले मलाई गोडा छुनबाट रोके र भने, ‘हुन्न हुन्न, अब मेरो गोडा नछनू ।’ उनले गोडा ढोग्न दिएनन् । तर उनले निकै रोक्न खोजे पनि मैले उनको गोडा छोएँ । मलाई कुनै चिन्ता लागेन । मैले भनेँ, ‘तपाईं आफ्नो काम गर्नुस्, मलाई आफ्नो काम गर्न दिनुस् । म सम्बुद्ध भएँ भने, जस्तो तपाईंले भन्नुभयो, एउटा सम्बुद्ध व्यक्तिले अर्कोलाई ढोग्नबाट नरोक्नुस् ।’
उनी फेरि हाँस्न थाले र भने, ‘राक्षस, तँ सम्बुद्ध अवश्य होस् तर ज्यादै शैतान पनि छस् ।’

यसपछि म हजुरआमाको घर पुगेँ– मेरा बुवाको घरमा गइनँ । म हजुरआमालाई के घट्यो भनी सुनाउन चाहन्थेँ । तर अस्तित्वको ढंग विचित्रको छ । उहाँ ढोकैमा उभिएर हैरान भएर हेरिरहनु भएको थियो । उहाँले भन्नुभयो, ‘तँलाई के भयो ? किन पहिलेजस्तो छैनस् ?’

उहाँ आफू सम्बुद्ध हुनुहुन्थेन तर उहाँमा यत्तिको बुझाइ चाहिँ थियो, उहाँले मेरो आन्तरिक परिवर्तनलाई देख्न सक्नुभयो । मैले भनेँ, ‘अँ, म पहिलेजस्तो रहिनँ । जुन अनुभव मलाई भएको छ, त्यही कुरा बाँड्न आएको छु ।’

उहाँले भन्नुभयो, ‘मेरा लागि त तँ सधैँ राजा नै बन्नू, मेरो सानो बच्चो !’

त्यसैले मैले उहाँलाई केही भनिनँ । एक दिन बित्यो । अर्को आधा रातमा उहाँले मलाई सुतिरहेको ठाउँबाट उठाउनुभयो । आँखामा आँशु थिए र भन्नुभयो, ‘मलाई माफ गर । अब तिमी त्यो रहेनौ, जे थियौ । तिमी पहिलेजस्तै हुनुको अभिनय गरे पनि म सबै बुझिरहेकी छु । अभिनय गर्नु जरुरी छैन । अब तिमीले के भयो भनी बताउन सक्छौ । जुन बच्चोलाई म चिन्दथेँ, त्यो त कहाँ हराएछ । अब त उसको ठाउँमा त्योभन्दा धेरै असल र तेजस्वी व्यक्ति आएको छ । अब तिमी मेरो मात्र रहेनौ । तर यसले मलाई केही फरक पर्दैन । अब त लाखौँ मानिसले तिमीलाई आफ्नो मान्नेछन् र हरेकलाई तिमी उनीहरूको नै हौ भन्ने लाग्नेछ । तिमीप्रतिको मेरो जुन अधिकार थियो, त्यो म फिर्ता लिन्छु । तर अब मलाई पनि त्यो बाटो देखाऊ ।’

म पहिलो पटक कसैलाई भन्दैछुः मेरी हजुरआमा मेरो प्रथम शिष्या हुनुहुन्थ्यो । मैले उहाँलाई बाटो के हो बताएँ । मेरो बाटो ज्यादै सरल छः मौनमा रहनु र आफूभित्रको साक्षीलाई अनुकूल बनाउनु अनि विषय वा दृश्यमा नहराउनु । चिन्नेलाई चिन्नु र जे चिनिदैन, त्यसलाई बिर्सिदिनु । मेरो बाटो सरल छ, त्यति नै सरल जति लाओत्सु, च्वांगत्सु, कृष्ण, क्राइस्ट, मोजेस र जरथु्रस्त्रको छ । नाम मात्र फरक फरक छ, बाटो त त्यही हो । यात्री मात्र फरक फरक छन्, यात्रा त एउटै छ । अनि, सत्य, प्रक्रिया जायदै सरल छ ।
यो मेरो सौभाग्य थियो, मेरी हुरआमा मेरो प्रथम शिष्या बन्नुभयो किनभने मैले अन्य कोही पनि उहाँजस्तो सरल देखिनँ । हुन त जयादै सरल देखेको छु, जो उहाँको सरलताको नजिकसम्म पुग्छन् तर उहााको सरलताको गहिराई यस्तो थियो कि कोही पनि त्योभन्दा पर पुग्न सक्दैन । मेरा बुवा पनि पुग्न सक्नुभएन । उहाँ सरल हुनुहुन्थ्यो, ज्यादै सरल हुनुहुन्थ्यो र ज्यादै गहन पनि हुनुहुन्थ्यो तर हजुरआमाजस्तो हुनुहुन्न थियो । मलाई दुःखका साथ भन्नु परिरहेको छ, उहाँ हजुरआमाभन्दा निकै टाढा र कोसौँ टाढा हुनुहुन्थ्यो । अनि, मेरी आमा त अझ बढी टाढा हुनुहुन्छ । उहाँ त मेरा पिताको सरलताको नजिक पनि पुग्नु हुन्न ।

तिमीहरूलाई आश्चर्य लाग्ला, म पहिलो पटक यहाँ भन्दैछु, मेरी हजुरआमा मेरो प्रथम शिष्या मात्र होइन, उहाँ प्रथम सम्बुद्ध शिष्या पनि हुनुहुन्थ्यो । उहाँ मेरा मानिसहरूलाई दीक्षा दिनुभन्दा धेरै पहिले सम्बुद्ध भइसक्नु भएको थियो । उहाँ संन्यासिनी हुनुहुन्न थियो । उहाँ १९७० मा बित्नुभयो । सोही वर्ष मैले अन्य मानिसहरूलाई संन्यासको दीक्षा दिन थालेँ । उहाँ मृत्युशैय्यामा हुनुहुँदा मेरो संन्यास आन्दोलनका बारेमा सुन्नुभएको थियो । मर्ने बेलामा उहाँले केही भन्नुभयो । हुन त मैले ती शब्द सुनिनँ तर मेरा एक जना भाइले मलाई सुनाए, उहाँका अन्तिम शब्द केही थिए । जस्तो कि मानौँ हजुरआमा मसँग कुरा गरिरहनु भएको होस् । हजुरआमाले भन्नुभयो, ‘राजा, अब तिमीले संन्यास दिन शुरु गरेका छौ तर अब त धेरै ढिला भइसक्यो । म तिम्री संन्यासिनी बन्न सकिनँ । जबसम्म तिमी यहाँ आइपुग्नेछौ, त्यो बेला म यो शरीरमा रहने छैन । तर कसै न कसैले तिमीलाई भनिदिने नै छ, म तिम्रो संन्यासिनी बन्न चाहन्थेँ ।’

म त्यहाँ पुग्नुभन्दा १२ घण्टा पहिले उहाँको मृत्यु भइसकेको थियो । बम्बईबाट त्यो गाउँको यात्रा निकै लामो यात्रा थियो ।

हजुरआमाको इच्छा थियो, जबसम्म म त्यहाँ पुग्दिनँ, कसैले पनि उहाँको शरीरलाई नछोओस् । त्यसपछि मैले जे निर्णय गर्नेछु, सोहीअनुरुप कार्य गरियोस् । मैले उहाँको शरीरलाई गाढ्न चाहे पनि, जलाउन चाहे पनि, जे ठीक ठान्छु, सोहीअनुरुप गरियोस् ।

घर पुग्दा, मलाई आफ्नो आँखालाई विश्वास नै लागेन । उहाँ असी वर्षकी हुनुहुन्थ्यो र पनि उहाँ जवान देखिनुहुन्थ्यो । उहाँ बाह्र घण्टा पहिले बितिसक्नु भएको थियो तर उहाँको शरीर विकृत भएको थिएन । ताजा नै थियो । मैले उहाँलाई भनेँ, ‘नानी ! म आइपुगेँ । यो पटक तपाईंले कुनै जवाफ दिन सक्नुहुन्न भन्ने मलाई थाहा छ तर पनि भनिरहेको छु, म आइपुगेँ ।’

अचानक एउटा चमत्कारजस्तो केही भयो । त्यहाँ म मात्र थिइनँ, मेरा बुवा, मेरो सारा परिवार र छरछिमेकका मानिसहरू पनि उपस्थित थिए । सबैले देखे, हजुरआमाको बायाँ आँखाबाट एउटा आँशु बिस्तारै झ-यो… मृत्युको १२ घण्टापछि । देवराज ! नोट गर, डाक्टरहरूले उहाँलाई मृत घोषित गरिसकेका थिए । मरिसकेको मानिस त रुँदैन नि, हैन ? ज्यूँदो मानिस कहिलेकाहीँ मात्र रुन्छ, मृत मानिसको त झन् के कुरा !

हजुरआमाको आँखाबाट आँशु झ-यो र मलई लाग्यो, मैले उत्तर पाइसकेँ । यसभन्दा बढी के आशा हुनसक्थ्यो ! मैले उहाँको चितामा आगो लगाए । यो नै उहाँको इच्छा थियो ।

मैले आफ्नो पिताको दाहसंस्कार गरिनँ । भारतमा घरको सबैभन्दा ठूलो छोरोले पिताको चितामा आगो लगाउँछ । यस्तै नियम छ । मैले त्यस्तो गरिनँ । जहाँसम्म मेरा बुवाको कुरा छ, म त उहाँको दाहसंस्कारमा समेत गइनँ । हजुरआमाको दाहसंस्कार अन्तिम दाहसंस्कार थियो, जसमा म सहभागी भएँ । त्यसै दिन मैले मेरा पितालाई भनेँ, ‘दद्दा, म तपाईंको अन्तिम क्रियाको बेला उपस्थित हुन पाउँदिनँ ।’

उहाँले भन्नुभयो, ‘कस्तो मूर्खतापूर्ण कुरा गरिरहेको छ । म त अहिले ज्यूँदै छु त ।’

मैले भनेँ, ‘मलाई थाहा छ, अहिले तपाईं ज्यूँदै हुनुहुन्छ तर कति दिनका लागि ? हाम्री हजुरआमा पनि त हिजोसम्म ज्यूँदै हुनुहुन्थ्यो । भोलि शायद तपाईं पनि नरहनु होला । म अहिलेदेखि नै प्रस्ट पार्छु, मैले निर्णय गरिसकेँ, हजुरआमापछि कसैको पनि दाहसंस्कारमा जाँदिनँ । त्यसैले म अहिले नै तपाईंसँग क्षमा मागिरहेको छु । त्यो बेला तपाईंसँग क्षमा माग्न मिल्दैन, क्षमा माग्नका लागि तपाईं रहनु हुने छैन । त्यसैले अहिले नै क्षमा मागिरहेको छु ।’

उहाँलाई केही आश्चर्य पक्कै भयो तर उहाँले मेरो कुरा बुझ्नुभयो । उहाँले भन्नुभयो, ‘यदि तेरो निर्णय त्यस्तै छ भने ठीक छ तर मेरो चितामा आगो कसले दिन्छ त ?’

भारतमा यो ज्यादै महत्त्वपूर्ण प्रश्न हो । यस सन्दर्भमा सामान्यतः सबैभन्दा ठूलो छोराले नै पिताको चितामा आगो दिन्छ । मैले उहाँलाई भनेँ, ‘तपाईंलाई त थाहै छ, म यताउता हिँडिरहने घुमक्कड हुँ । मसँग केही छैन ।’

यद्यपि मग्गाबाबा ज्यादै गरिब थिए तथापि उहाँसँग दुई कुरा सधैँ हुन्थ्यो– उहाँको कम्बल र मग । मसँग त केही पनि थिएन । म राजाजस्तै अवश्य बस्छु तर मेरो आफ्नो केही पनि छैन । कुनै दिन कसैले मलाई आएर यो ठाउँ तुरुन्त छाडिदेऊ भन्यो भने म तुरुन्त छाड्छु । मलाई सामान समेट्ने आवश्यकता पनि पर्ने छैन । किनभने मेरो त केही पनि छैन । मैले बम्बईलाई त्यसरी नै छाडेको थिएँ । मानिसहरूले विश्वासै गर्न सकेनन्, म त्यति सहजै हिडूँला, एक पटक पनि फर्केर हेरिनँ ।

म आफ्ना पिताको दाहसंस्कारमा पनि जान सकिनँ तर हजुरआमाको क्रियाका बेला मैले त्यसको अनुमति पहिले नै लिइसकेको थिएँ । मेरी हजुरआमा संन्यासिनी हुनुहुन्नथ्यो तर अर्को अर्थमा उहाँ संन्यासिनी नै हुनुहुन्थ्यो । ती सबै अर्को अर्थमा, मैले उहाँलाई नाम मात्र दिइनँ । उहाँ मर्दा गेरुवस्त्रमा हुनुहुन्थ्यो । मैले उहाँलाई गेरुवावस्त्र पहिरिन भनेको थिइनँ तर जुन दिन उहाँ सम्बुद्ध हुनुभयो, त्यो दिनदेखि उहाँले सेतो कपडा लगाउन छोडिदिनुभयो ।

भारतमा विधवाले सेतो कपडा पहिरिनु पर्छ । विधवाले मात्र सेतो पहिरन किन लगाउने ? ताकि ऊ सुन्दर नदेखियोस् । यो सिधा तर्क हो । उसको शिरको कपाल पनि काटिइन्छ । अब ती दुष्टहरूको चलाखी त हेर, स्त्रीलाई कुरुप देखाउन कपाललाई काटिदिन्छन् र रंगीन कपडा लगाउन दिँदैनन् । उसको जीवनको सारा रंगीनपना, उसबाट खोसिन्छ । ऊ कुनै उत्सवमा, कुनै खुसीको अवसरमा भाग लिन पाउँदिन । कतिसम्म भने आफ्नो छोरा या छोरीको बिहेमा समेत जान पाउँदिन । उसको जीवनबाट सारा खुसी खोसिन्छ ।

जुन दिन मेरी हजुरआमा समाधिमा पुगिन्, मलाई याद छ– मैले यसलाई लेखेरै राखेको छु, त्यो कतै न कतै होला– त्यो दिन १६ जनवरी १९६७ थियो । म कुनै हिच्किचाहट बिना भन्छु, मेरी हजुरआमा मेरो प्रथम शिष्या हुनुहुन्थ्यो र यति मात्र होइन उहाँ मेरी प्रथम सम्बुद्ध शिष्या हुनुहुन्थ्यो ।

तिमीहरू दुवै जना डाक्टर हौ र तिमीहरू दुवैले डाक्टर अजित सरस्वतीलाई राम्रोसँग चिन्छौ । करिब बीस वर्षदेखि उनी मसँगै छन् । यति साँचो हृदयले मसँग उनी छन्, त्यति त म अरु कसैलाई पनि चिन्दिनँ ।
तिमीहरूलाई आश्चर्य लाग्ला, बाहिर उभिएर उनी पर्खिरहेका छन् । र, उनले समाधि प्राप्त गर्ने सम्भावना निकै नजिक छ र त्यो पूरा सम्भावना छ । उनी यहाँ कम्युनमा बस्न भनेर आए । उनका लागि यो निर्णय गर्नु कति गाह्रो थियो होला । खासगरी एक भारतीयका लागि त आफ्ना सन्तान, स्वास्नी र अन्य सारा काम छोड्नु निकै गाह्रो हुन्छ । तर उनी मबिना बस्न नसक्ने भए । उनी सबैथोक छाड्न तयार छन् । उनी बाहिर प्रतीक्षा गरिरहेका छन् । यो उनको पहिलो साक्षात्कार हुनेछ र मलाई लाग्छ, यो उनलाई सम्बोधिको अनुभव पनि हुनसक्छ । उनले यसलाई बडो श्रमले आर्जित गरेका हुन् । भारतीय भएर समग्र रुपेण मसँगै हुनु सजिलो काम छैन ।

कति बज्यो ?

‘पौने नौ बज्यो, ओशो !’