साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

पशु सम्मेलन

एउटा बाँदरको जत्था बोकेर ढेँडु महाराजले नारा लगाउँदै पशुपति परिसर छाडे । उनले भने, “भो अराजकता ! नैतिकताहीन पशुहरुसँग बस्न सकिन्न । म पशु पार्टी होइन, मेरो पार्टीलाई संसारकै सर्वश्रेष्ठ पार्टी बनाउने रेसाँ देशै छोड्न पनि तयार छु । यो तानाशाह विरुद्धको लडाइँलाई म वार कि पार बनाएरै छाड्छु ।”

Chovar Blues Mobile Size

पशुपति परिसरमा पशुहरुको विशाल बैठक बस्यो । समय रातको बाह्र बजेको छ । आकाशमा टहटह जुन लागेका छन् । त्यही चकमन्न रातमा शिवजी डुलिहिँड्ने श्लेशमान्तक वनमा पशुहरुले आफ्नो मनमा लागेका कुराहरु भन्न लागे ।

हल्लाखल्ला ठूलो भयो । खैलाबैलाले पशुपतिको निद्रा नै बिच्कियो पो कि ! त्यस हल्लालाई शान्त पार्दै पशुहरुको एक नेता साढेँले भन्यो, “हेर सार्थीहरु हो ! हाम्रो पार्टी भनेको संसारकै सर्वोत्कृष्ट पार्टी हो । त्यसैले हामीले उग्रगामी छलाङ मारेर भर्याङ चढ्ने गरेका छौँ ।”

उसको कुरा नसकिँदै अर्को पार्टीको नेता खित्का छोडेर हाँस्न थाल्यो । सबैको ध्यान उसकै हाँसोतर्फ सोझियो ।

केहीबेरपश्चात् उसले भन्यो, “हाँस्यो कि नास्यो भन्छन्, यो पशु बजियालाई यहाँभन्दा नासिनु नै के छ र ! तैपनि निकै डोक्राँ … डोक्राँ… गर्छ बा ! त्यसैले यसको घोक्राँ नराम्रोसँग हानेँ मैले । यसलाई हान्दा मेरै सिङ भाँचियो र मात्रै ! भाँचियो नै पनि अलि नभनौँ होला, टुप्पो चोइटिएको मात्र हो ।”

त्यहीँ बिचबाट तेस्रो नेता उठेर चिच्याए, “एउटा तानाशाहको विरुद्ध लड्दा-लड्दा बूढी भइसकियो । आज आफैँ पशु नेताले आफ्नो नेतालाई नटेर्ने, गाली गर्ने अराजकता तामाशाह बन्दैछ । एकल निणर्य, बहुलठ्ठीपन हामीलाई फेरि देखाउने, हँ … ? ई…., मैले यस्ता बहुलठ्ठी नेतालाई लोप्पाइ दिएँ है !”

एकाएक चर्काचर्कीको माहोल बनिरहेको पशुपति क्षेत्र हाँसोले गुञ्जयमान भयो ।

हाँसो केही मत्थर भएपछि अर्को नेता उठ्यो र भन्न थाल्यो, “यो वाइयात कुरा छोडौँ । अब हामी पशु-पशु बिचमा एकता गर्नुपर्छ । मेलमिलाप र सहयोगको सम्बन्ध अगाडि बढाउनु पर्छ । ल अब धेरै बोल्न नलाऔँ है …? मलाई त यी मिडियाजतिलाई चियाखाना राख्न मन छ ! तर के गर्ने ? यो प्रजातन्त्रको खराबी भन्नु नै मिडियाहरुको जगजगी रहेछ । बिनासित्ती मलाई बेकुफ बनाउँछन् । हुनी नहुनी कुरा बोलाउँछन् बा !”

यसैबिच ङिँच्च दाँत देखाएर पशुहरुका सम्मानित नेताले भन्नथाले, “तपाईँहरुलाई एउटा रोचक कुरा सुनाउँछु । पल्ला घरकाले मलाई हनुमान भन्छन् रे ! हो त, म हनुमान नै हो । तर तिनीहरुले कसरी थाहा पाए ? लुकेरै भए पनि मैले बाली मारेकै हो । फेरि म हनुमानचाहिँ रामकै हो है, अरु ऐरेगैरको होइन । अयोध्या राज्यको क्या ! ल तपाईँहरु नै भन्नुहोस् त, पशु नेता-नेताबिचको खाँटी कुरोचाहिँ के रे ?

मेरो कुरा ध्यान दिएर सुन्नुहोस् । बिनाहनुमान नेता बन्ने अनुमान कसैले नगरे हुन्छ । यहाँ हामीजति छौँ, सबै नेपाल आमाको सँच्चा भक्त हौँ त ! कसै गरी पनि होइनौँ । के छ यिनीहरुसँग हँ ? त्यो चौबीसै घण्टा दूध आउने मूल त पहिल्यै बाउले बेचेका रे ! भो छाडौँ । यी कुरा हनुमान ….भएरै त हो नि !” …खुइय… गरेर थकित भएको अनुमान सबै हनुमानले लगाए ।

सबै पशुहरुले एकै स्वरमा भने, “हामी सबै मिल्नैपर्छ ।”

हनुमानका सेना बाँदरहरुले भने, “हामी मिल्नु हुँदै हुँदैन ।”

ठूलो होहल्ला मच्चियो । पशु-पशु बिच ठूलो झडप होला झैँ देखियो । काट र मारकै स्थिति पैदा होला जस्तो भयो । त्यसैबिच एउटा बाँदरको जत्था बोकेर ढेँडु महाराजले नारा लगाउँदै पशुपति परिसर छाडे । उनले भने, “भो अराजकता ! नैतिकताहीन पशुहरुसँग बस्न सकिन्न । म पशु पार्टी होइन, मेरो पार्टीलाई संसारकै सर्वश्रेष्ठ पार्टी बनाउने रेसाँ देशै छोड्न पनि तयार छु । यो तानाशाह विरुद्धको लडाइँलाई म वार कि पार बनाएरै छाड्छु ।”

उनले चर्को नारा लगाए,

तनाशाह मुर्दाबाद !

तानाशाह चाहिँदैन !

चाहिँदैन, चाहिँदैन !!

पशु मार्न पाइँदैन !

पाइँदैन, पाइँदैन !!

बिस्तारै जुलुस घट्दै गयो । त्यहाँका सम्पूर्ण पशुहरु अर्को पशुको जुलुसमा थपिँदै गए । यो सबै दृश्य हेरिरहेका पशुपति नाथ मुसुक्क हाँसेर शिवलिङ्गमा लीन हुनुभयो ।

“बाबा … बाबा…. ” छोरी चर्को स्वरले चिच्याइन् । म झल्यास्स भएँ । मस्त निद्रामा पो रहेछु । पसिनाले म छ्याप्पै भिजेछु । यस्तो के सपना देखेँ ….

प्रतिक्रिया
Loading...