द ह्वाइट टाइगर

भाग ४१

भोलिपल्ट बिहान हातमा रातो झोला लिएर हँसिलो मुद्रामा अशोकजी कार भएको ठाउँमा तल आए । कारको ढोका ङ्याम्म बन्द गरे । डरले अलमल्ल पर्दै घुटुक्क थुक निलेर झुन्डिएको मूर्तितिर हेरेँ !

“तपाईं ….।”

“बलराम, के छ ?”

“हजूर, मलाई एकछिन तपाईंसँग एउटा कुरा गर्न मन लाग्याथ्यो ” मैले साँचोबाट हात हटाएँ । म सोँच्दै भन्दै छु कि मलाई उनीसँग सबै कुरा त्यहीँ, त्यति नै बेला खोलिदिऊँ जस्तो लागेको थियो । यदि उनले ठीक शब्दको प्रयोग गर्दै मेरो कुममा हात राखेका हुन्थे भने मेरो मन पग्लिएको थियो ।

तर उनी मतिर हेरिराखेका थिएनन्‌ । उनी मोबाइल फोनको बटन थिच्नमै व्यस्त थिए ।

टुँ-हुँ-टुँ ।

मनमनै भनेँ –

“आफूभन्दा १० इन्च अगाडि हत्या र चोरी गर्ने मनसाय लिएर बसेको यौटा पागल मानिस छ, तर त्यो पनि थाहा नपाउनू । विचित्र ! थोरै सङ्केतसम्म पनि नपाउनू । अचम्म ! मान्छे कतिसम्म अन्धो हुँदो रहेछ । यहाँ सिसाले बनेको महलमा बसेर तिमी प्रत्येक रात हजारौँ माइल टाढा अमेरिकाको मानिससँग कुरा गर्छौ तर तिम्रै कार चलाइरहेको मानिस के हुँदै छ भन्नेसम्म पनि थाहा छैन ।

“बलराम, के छ खबर ?”

“केही होइन हजुर । कुरा के भने मलाई तपाईंको खप्पर फोर्ने मन छ !” मनमनै भनेँ ।

उनी अगाडि निहुरेर कानकै छेउमा ओठ पुर्याउँदै बोले । म पग्लिसकेको थिएँ ।

“मैले तिम्रो कुरा बुझेको छु, बलराम ।” नम्र स्वरमा भने ।

म बोल्नै सकिनँ । आँखा चिम्लेँ ।

“हो ? तपाईंले बुझ्नु भएको छ र ?”

“तिमीलाई बिहे गर्न मन छ ।”

म केही बोलिनँ ।

“बलराम तिमीलाई केही पैसा त चाहिन्छ होला हैन त ?”

“चाहिँदैन हजूर । पैसा जरूरी छैन ।”

“पख बलराम । म पर्स निकाल्छु । तिमी हाम्रो परिवारको असल सदस्य हो। तिमी कहिल्यै पैसा माग्दैनौ । मलाई थाहा छ अरु ड्राइभरहरू सधैँ ओभरटाइम र बिमाको माग गर्छन्‌, तर तिमीले कहिल्यै एक शब्द बोलेको छैनौ । तिमी पुरानो जामानाको मान्छे हौ । मलाई यो मनपर्छ । बलराम तिम्रो बिहेको सबै खर्च हामी बेहोरिदिन्छौं । बलराम, ल लेऊ ल लेऊ _ _ _ _ ।

मैले देखेँ उनले पहिला हजारको नोट निकाले अनि राखे, फेरि पाँच सयको निकाले अनि राखे र अन्तिममा सयको नोट निकालेर मलाई दिँदै भने, “बलराम बिहे गर्न त तिमी लक्ष्मणगढ जाने होला होइन त ?”

म केही बोलिनँ ।

“म पनि सँगै जान सक्छु ?” उनले भने । “मलाई त्यो ठाउँ असाध्यै मन पर्छ । मलाई यसपालि त्यो किल्लासम्म हिँडेर जान मन छ । हामी त्यहाँ कति समय अघि गएका थियौँ रे बलराम ? छ महिना ?”

“अझ बढी भो हजूर ।”

औँलामा महिना गनेर भने, “आठ महिनाअघि हो ।”

उनले पनि औँला गनेर भने, “ठीक भन्यौ ।”

सय रूपियौाँको नोट पट्याएर सर्टको खल्तीमा राखेँ र “धन्यबाद हजूर !” भन्दै गाडी स्टार्ट गरेँ ।

भोलिपल्ट बिहान सबेरै म बकिङ्घम ‘बी’ ब्लकबाट बाहिर मुख्य सडकमा निस्केँ । यो भर्खरै बनेको नयाँ भवन भए पनि ढल चुहिएर पर्खाल बाहिरको भाग कालो भएको थियो । त्यो चिसोमा ३ वटा भुस्याहा कुकुर सुतिरहेका थिए । गर्मी सुरू भइसकेको थियो र राति पनि अप्ठ्यारो हुन्थ्यो । त्यसैले गर्मीबाट बच्ने यो राम्रो तरिका थियो ।

ती भुस्याहा कुकुरहरू आनन्दले सुतेका थिए । मैले भुइँमा टुत्रुक्क बसेर तिनीहरूलाई हेरेँ ।

मैले त्यो कालो नालीको पानीलाई औलाले छोएँ । बडो चिसो र मनै लोभ्याउने रहेछ ।

यौटा भुस्याहा बिउँझ्यो, हाई गर्यो र ङ्यार्र गरेर दाँत देखायो । जुरूक्क उठ्यो । अर्को भुस्याहा पनि उठ्यो । चिसो हिलो खुट्टाले कोतर्दै, दाँत देखाउँदै दुवैले मलाई भुक्न थाले । तिनीहरू मलाई आफ्नो राज्यबाट पर जाओस्‌ भन्ने चाहन्थे ।

त्यो नाली कुकुरहरूलाई तै समर्पण गरेर म मलतिर सोझिएँ । कुनै पनि मल खुलेका रहेनछन्‌ । म पेटीमा बसेँ ।

अब कता जाने केही थाहा छैन ।
म टोलाएर बसिरहेको थिएँ र त्यति नै बेला सडक पेटीमा एउटा सानो धमिलो छाप देखेँ ।

पञ्जाको छाप । कङ्क्रिट राम्रो नजम्दै कुनै जनावर हिँडेको पञ्जाको छाप रहेछ । म उठेँ र त्यही पञ्जाको छाप पछ्याउँदै गएँ । पञ्जाको छापको बीचको दूरी बढ्दै गयो । बुझेँ त्यो जनावर दौडिन सुरू गरेको थियो । म अलि छिटो हिँडे । दौडेको जनावरको पञ्जाको छाप मललाई फन्को मार्दै पछाडि पुग्यो । पेटी सकिएर माटोसम्म पुगेपछि हरायो ।

म रोकिनुपर्ने भयो किनभने म भन्दा पाँच फिटअघि एउटै सीधा लाइनमा केही मानिसहरू टुक्रुक्क बसेका थिए ।

तिनीहरू आची गर्दै थिए ।

म झोपडपट्टिमा पुगेको थिएँ ।

दुबीओठेले मलाई बताएको थियो कि यो ठाउँमा त्यही ठूलाठूला मल र अपार्टमेन्ट बिल्डिङ निर्माण गर्ने मजदुरहरू बस्थे । तिनीहरू पनि अन्धकारको कुनै गाउँबाट नै आएका थिए । अँध्यारो भएपछि काम हुने बाहेक अरू नयाँ मानिस त्यहाँ आएको उनीहरू मन पराउन्नथे । उनीहरू झोपडपट्टिको अगाडि सुरक्षा पर्खाल जस्तै एकै लाइनमा बसेर खुला मैदानमा आची गर्दै थिएँ- यस्तो लाइन जुन एउटा सभ्य मानिसले काटेर जानु हुँदैन । हावाले आलो आचीको गन्ध ह्वास्स मतिर ल्यायो ।

आची गर्नेहरूको लाइनको बीचमा मैले अलिकति खाली ठाउँ भेट्टाए । तिनीहरू ढुङ्गाको मूर्ति जस्तै टुक्रुक्क बसिरहेका थिए ।

यी मानिसहरू धनीहरूका घर बनाउँदै थिए तर आफूलाई चाहिँ फोहोर नालीले छुट्याएको सानासाना गराहरूमा निलो प्लास्टिकले घेरेको पालमुनि बस्थे । यो त लक्ष्मणगढभन्दा पनि बिजोग देखिन्थ्यो । म फुटेको सिसा, चुँडेका तार र फुटेका ट्युबलाइटका टुक्राको थुप्रो छेउबाट अघि बढेँ । आचीको दुर्गन्ध हराएर अब औद्योगिक प्रदूषणको गन्ध आउन थाल्यो । एउटा खुल्ला नालीमा पुगेर झोपडपट्टी बस्ती सकियो । सेता फोकाहरू फुट्दा गोलाकार वृत्तहरू देखिने, दुर्गन्धित कालो पानीको नाली मेरो छेउबाट बिस्तारै बग्दै थियो । दुईवटा बच्चाहरू त्यही कालो पानीमा छप्ल्याङछुप्लुङ खेल्दै थिए ।

हावाले उडाएर ल्याएको एक सय रूपियाँको नोट नालीमा खस्यो । बच्चाहरू त्यसलाई आश्चर्य मान्दै मुख बायर हेरे र दौडेर छोप्न गए । एउटाले छोप्यो र अर्कोले त्यसलाई पिट्न थाल्यो । त्यही कालो पानीमा चोबाहिँदै लड्न थाले ।

म फर्केर हगुवाहरूकै लाइनतिर गएँ । एउटाले सिध्याएछ र उठेछ, तर त्यो खाली ठाउँ भरिसकेको रहेछ ।

म पनि तिनीहरूसँगै टुक्रुक्क बसेर ङिच्च दाँत देखाएँ ।

केहीले एकातिर मुन्टो बटारे । हुन त मानिस उनीहरू पनि हुन्‌ । कुनैले त लाजै नमानी मलाई क्वारक्वार्ती हेरे । अनि मैले एकजना कालो दुब्लो मान्छे पछि फर्केर ङिच्च दाँत देखाउँदै आफूले गरेको कामको खुबै गर्व गर्दै मतिर हेरेको देखेँ ।

चारखुट्टाले हिँडेजस्तो गर्दै, म उसकै छेउमा पुगेँ र उसको अनुहारमा हेरेँ । म सकेसम्म मुस्कुराए जस्तो गरेँ । उसले पनि त्यस्तै गर्यो ।

उ हाँस्यो र म पनि हाँसे र सबै हगुवाहरू एकैसाथ हाँस्न थाले ।

“तेरो बिहेको सबै खर्च हामी बेहोर्छौँ ।” मैले चिच्च्याउँदै भनेँ ।

“तेरो बिहेको सबै खर्च हामी बेहोछौं ।” उसले पनि त्यही दोहोर्यायो ।

“तेरो साटो तेरो स्वास्नीलाई हामी नै बाली लाइदिन्छौ, बलराम !”

“तेरो साटो तेरो स्वास्नीलाई हामी नै बाली लाइदिन्छौं, बलराम ।” फेरि दोहोर्यायो ।

आची कट्कटिएको चाक दिल्लीको अँध्यारो आकाशमा मास्तिर फर्काउँदै पेट बाउँडिने गरी हाँस्दै ऊ लडेर मुन्टोले भुइँमा टेक्यो ।

म फर्किंदा मलहरू खुल्न थालिसकेको थिए । बाथरूममा गएर झोपडपट्टिको फोहोर सिनित्त पखालेँ । कार पार्कमा गएँ । त्यहाँ एउटा रेन्ची रहेछ । रेन्ची हातमा लिएर हावामा कसैलाई हिर्काएजस्तो गरेँ र कोठामा लिएर गएँ ।

एउटा केटो पाइन्टको बटन मिलाउँदै दाँतले चिठी च्यापेर मेरो बिस्तरा छेउमा मलाई कुरेर बसिरहेको थियो । म आउँदै गरेको आवाज सुनेर मतिर फर्क्यो, झस्क्यो र उसको मुखबाट चिठी खस्यो । म पनि झसङ्ग हुँदा हातबाट रेन्ची खस्यो !

उसले आँखा झिम्काउँदै भन्यो, “वहाँहरूले मलाई पठाउनुभाको हो । रेल चढे, बस चढेँ, र सोध्दै सोध्दै आइपुगे । तपाईंले मलाई सँगै राखेर मलाई पनि ड्राइभर बनाइदिनुपर्छ रे ।”

“तँ को होस्‌ भन्‌ त?”

“म धर्म हो । उसले भन्यो । “म लुटु आन्टीको काँहिलो छोरा हो । तपाईं पहिले लक्ष्मणगढ आउँदा मलाई देख्नुभाथ्यो । त्यस बेला मैले रातो सर्ट लगाएको थिएँ ।” निधार देखाउँदै भन्यो, “तपाईले मलाई यहाँ म्वाइँ खानुभाथ्यो ।”

चिठी टिपेर मतिर तेर्स्यायो । चिठी खोलेर पढेँ । लेखेको रहेछ :

प्यारो नाति,

तँ हामीलाई भेट्न नआएको लामो समय भयो । तैँले घरमा पैसा नपठाएको त्योभन्दा पनि लामो एघार महिना २ दिन भइसक्यो । सहरिया जीवनले तँलाई स्वार्थी,आडम्बरी र बदमास बनाएछ । मलाई पैलेदेखि नै यस्तो हुन्छ भन्ने थाह थियो, किनकि हँ सानैदेखि बदमास र ईर्ष्यालु थिइस्‌ । यसो मौका पाउने बित्तिकै तँ ऐनामा, ओठ खोलेर अनुहार हेर्थिस्‌ र मैले कान बटारेर तँलाई कुनै काममा लगाउनुपर्थ्यो । तँ तेरो आमा गोता गइस्‌ । तँसँग तेरो बाबुको राम्रो गुण सरेन । अहिलेसम्म हामीले धेरै दुःख सहेका छौ, तर अब सकिँदैन । तैँले फेरि केही पैसा पठाइदिनुपर्छ । नत्र हामी तेरो मालिकलाई भनिदिन्छौँ । हामीले तेरो बिहेको कुराकानी छिनिसकेको छौँ । तँ आइनस्‌ भने हामी केटीलाई बसमा चढाएर त्यहीँ पठाइदिन्छौँ । मैले यो सबै तेरो मायाले भनेको हो, धम्क्याएको होइन । जे भए पनि म तेरो हजूरआमा होइन र ? मैले कसरी तेरो मुखमा मिठाइ भरिदिन्थे हगि ? धर्मको हेरविचार गर्ने तेरो जिम्मा हो । आफूनै छोरा सम्झेर हेरविचार गर्नू । स्वास्थ्यको ख्याल गर्नू । याद राख, म मिठो कुखुराको मासु तेरो मालिकलाई लेखेको चिठीभित्र राखेर पठाइदिन्छु र त्यसैसाथ तेरो मालिकलाई पनि केही लेखेर पठाउँछु ।
तेरी हजूरआमा
कुसुम