कोरोना डायरी ३२
११ वैशाख २०७७ (२३ अप्रिल २०२०)
लकडाउनको २५ औँ दिन शरीरले नै निद्रा छुट्टयाउँछ, ब्यूँझाउँछ र मनलाई तत्पर गराई भन्छ— लाइब्रेरीमा जा साइँला । छ घण्टाको गाढा निद्राले तँलाई पुग्छ । दिउँसो फेरि एकान्तमा निस्कनू अलिकति फाउ अथव फोसा थपिदिउँला । यति सुनेर सिरक फ्याँकेर माथि चढेँ ।
चियापानी उमालेँ, फ्रेस भएँ । बाहिर मीठो चिसो छ वसन्तको । पानी वर्षा हिजो मात्रै रोकिएछ । अलिक ओसिलो, धर्ती भिजेको गन्ध आएजस्तो लाग्छ । फूलहरूको सुगन्ध हिजोको पानी र बतासले फुकालेर लगिसकेको छ । यो निविड अन्धकारमा धोएको जस्तो चीसो र नीलो आकाशमा जडित ताराहरुले पनि बिहानको मजस्तै ब्यूँझने समय नजिक छ ।
यो चिया सकिने हो कि ? माल्दाजुले उपहार दिनुभएको एक प्याकेट हर्बल हो, रामदेवको दिव्य पेय नामको । त्यसैले बिहान मात्र खाँदैछु । फारु गरेर ।
अनि भित्र पसेर आसनमा बसेँ । पहिले केही सम्चारले पर्खिरहेको छ कि निरीक्षण गरेँ— आज केही छैन । मेसेन्जरमा छैन, इमेलमा छैन । फेसबुकमा हिजो ओलीको जोडदार विरोध छापिएको, आज त्यस्तो केही छैन; कुनै ताजा छैन । एउटा दुःखद समाचार छ— भरतपुरमा अरु तीन कोरोना भेटिए । अब ती तीन थपिँदा आज ४२ पुगेको छ । आठ हजारको परीक्षण गरेछ, सातजना निको भए, अरु बिरामी छन् ।
विश्वकै सम्पूर्ण रेकर्ड उपलब्ध छ । यो सबै हेर्न पढ्न ता डरलाग्दो पनि हुन्छ । विचरा स्वास्थ्यकर्मीले कसरी सहन्छन् ? धन्य, आजदेखि उनीहरू कसैको परलोक भएमा रु. दसलाख आफ्ना आश्रितलाई दिइने घोषणा छ !
यस्तरी प्रत्येक देशको तथ्याङ्क राति १२ बजे फिट गरेको हुन्छः
नर्वेमा ९७ नयाँ केश थपिए ५ नयाँ मृत्यु
क्यानडामा १७६८ नयाँ केश थपिए १४० मृत्यु
बेलायत २७९४८ नयाँ केश थपिए २२१९ मृत्यु
प्रत्येक देशको यस्तै हुन्छ । नेपालमा तीन नयाँ केश, जम्मा ४५ पुगे; मृत्यु भएको छैन । हिजो थपिएका तीनैजना पुरुष भरतपुर अस्पताल ।
संसारभरिकै मृतकको संख्या आज १८३,८८३ पुगेको छ । दिवंगतहरू अकारण बलिदान भए हाम्रै लागि । अरुलाई उता कति सल्किन्छ त्यसको को भन्न सक्छ ? हाम्रा कुर्सीले हिजो बोल्योः सरकारलाई चाहिएको थिएन लकडाउन त्यसैले मैले सरकारको आह्वानलाई साकार पार्न एक कविता रचेँः
सरकारलाई चाहिएको थिएन लकडाउनः
हो पनि दरबारका भव्य कोठामा बस्छ
सरकार
सेना बन्दुक मिसाइलले छेकिएर
एकजना सरकारलाई हेर्न
पचासगदाधारी छन्, हनुमान, कर्ण रभीमसेन
तैनाथ छन्
पचास डाक्टर पचास नर्स
ढोके पाले, हुक्के र धुपौरे
भान्से, धोबी, कुचे, नाम्ले सबै
धामी–झाँक्री, बैद्य, ज्योतिषी सबै सबै
परिआएमा कालसित लडेर
त्यसलाई पछार्न सक्नेहरू छन्, ठहरै पार्नेहरू
सरकारलाई लकडाउन अवश्य चाहिँदैन
अहिले तिनलाई हो जे भोका छन्, नाङ्गा छन्,
बोली हराएका बेकसूरहरू छन्
बाटाबाटै बेहोस भै लडन थालेका छन्
लकडाउन चाहिने तिनीहरूलाई हो
यतिबेला बर्दिया जाने होइन
पक्र, बाँधेर लडाऊ तिनीहरूलाई
जोडसँग डण्ठा लगाऊ
नभए गोली नै ताक नत्र खोरभित्र राख
तिनीहरूलाई चाहिएको हो लकडाउन
चाहिएको होइन यो सरकारलाई लकडाउन ।
०००
दुई घण्टा व्यतीत भएपछि एकपल्ट उठेँ, बिजुलीमा कितली बसाएर कौसीमा निस्केँ, तीन मिनेट जगिङ गरेँ । पाँच बजे उज्यालोले जितेको रात्रिको अन्त्यमा एक दुई तारा गगनाञ्चलबाट बिदा माग्न तत्पर थिए । पूर्वी दिशामा हल्का सिंदूर जस्तो बादलको जाली टाँगिएको देखियो ।
अनि भित्र पसेँ । दबाइ चिया भरेँ र बसेँ । अब गुड–भिट्टा बिस्कुटका दुई पाना पनि निकाल्ने समय भयो । यतिन्जेलको पढाइ अरु बीस पेज थिसिस बाटो सा-यो ।
आज मातातीर्थ अमावस्य रहेछ; पात्रो नहेरेको तिथि नसोधेको कति कति पुग्यो । यतिबेलासम्ममा देशका उत्तम पात्राहरू प्रत्येक कोठाका पर्खालका भित्तामा टाँगिइसकेका हुन्थे । यसपालि मात्रै एउटै छैन । आज कोरोना चढेको पच्चीसौँ दिन पुग्यो ।
त्यसपछि म पुनः थिसिसमै लागेँ । आठ बजेसम्ममा निकै अघि बढेपछि नजिकको ट्याङ्लाचोकसम्म जानुपर्ने । त्यसो त नगए पनि हुन्थ्यो । नगएको पनि आज सोह्रौँ दिन भयो तर अञ्जनाले रत्न भन्ने पूर्व विद्यार्थीलाई वचन दिएकी रहिछन् । कोरोनाले गर्दा विपद् परेका धनकुटाका तीन विद्यार्थीले अभर परेर पुकारा गरेका रहेछन् ।
ती विद्यार्थीलाई ट्याङ्ला चोकसम्म आउनू भनी बोलायौँ अनि भर्खर पानी रहेको ओसिलो मार्ग हिँड्दै हामी दुवै चोक पुग्यौँ । डेरी दोकानमा १५–२० हार लागेका, सामना स्टोर किरानामा त्यति नै थिए, औषधी पसलमा केही किन्दै थिए, अरु पसल सबै बन्द थिए । भुइँमा बसेका दुई सब्जी दोकाने, भण्डारीको दोकान, एउटा ठेलावाल चलिरहेका थिए । चोकभरि हेर्दा डेढसय जति मानिस किनमेल गर्दै थिए; सबैका मुखमा मास्क र हातमा कुनै सौदाका पोका । सानो छ चोक बजार, अरु सारा बन्द थियो ।
एकछिनमा दुई विद्यार्थी आए, आफूलाई चिनाए । काठमाडौँ बसेर कमर्स र इन्जिनियरिङ पढ्ने; धनकुटा कुनै गउँका बस्नेत भन्थे । अञ्जनाले वचन दिएअनुसर त्यहीँको सामना स्टोरमा उनीहरुलाई राहत सामग्री किनेर दियौँ ।
चामल २५ केजी, दाल २ केजी
तपाईंहरूलाई अरु के चाहिएला ?
अर्थोक छ मेडेम । यतिले तीन जनालाई १० दिन पुग्छ ।
मैले थपेँ— ग्यास छ ?
ग्यासले अहिलेलाई पुग्छ सर ।
चिनी ? अञ्जनाले सोधिन्
चिनी पनि पुग्छ मेडेम ।
त्यसपछि सामना स्टोरलाई रु. २२५० को बिल तिरेर हामी घरतिर लाग्यौँ । विद्यार्थीहरु सोझा र इमानदार लाग्यो । त्यसो ता त्रिविले पनि दियो अरे; अस्ति दाल चामल बाँड्यो अरे तर यिनीहरुले थाहा पाएनछन् कि क्या हो ? सामनाले चिन्ता राखेकी थिइन् ।
त्यसपछि घर फर्कियौँ । यत्रो दिनपछि पाइला चाल्दा आज कसोकसो खुट्टा लर्बराउने हो कि शिर घुम्ने हो कि जस्तो भयो तर राम्रै आयौँ । झोला बिसायौँ । हात गोडा धोयौँ । मैले बाहिरी वस्त्र फुकालेर धुनेमा राखेँ र नास्ता सूप लिएर माथि चढेँ ।
आजको पत्रिकामा कोरोना विशेष केही छैन भन्दा पनि अरु तीन जना थपिएको कुरा छ । धेरै देशको स्थिति बुझाउने एउटा चार्ट छ । अरु सबैतिर ओली सरकारका कर्म र चालबाजी मात्र छन् । यता मानिस मरणाशन्न छन् उता सरकार जोगाउने चक्करमा छन् । सरकार धेरै आँटी छ र मूर्खहरू मात्रै धेरै सफल हुन सक्छन् ।
हरेक दुई तीन घण्टा बीचमा शरीर लोलाउँछ । त्यहीँ पल्टिन्छु अथवा ढल्किन्छु र त्यो पाँचसात मिनेटमा फेरि छ्याङ्ङ हुन्छ मस्तिष्क पनि ग्रहणशील अनि रित्तोझैँ हुन्छ अनि उठेर एकपल्ट भित्र बाहिर गर्छु, बाहिर जान्छु र भित्र पस्छु । मौन राखेको मोबाइलमा कति आए हेरेर प्रत्युत्तर गर्छु र लेख्न पढ्न थाल्छु । एकान्तको यस्तो लेखन र पठन भन्दा उत्तम के हुन्छ यो संसारमा ? यातना भोग्नु नपरे ता जेलमा पनि राम्रै हुन्छ कि जस्तो लाग्छ तर त्यसको मलाई अनुभव छैन । अब ता त्यो सौभाग्य पनि पाइँदैन होला ।
धेरै समय व्यतीत भएपछि मित्र विष्णुसिंह राईको फोन आयो । लेखापढी गर्ने मान्छे उहाँ, गर्दै हुनुहुन्छ । अनि सिक्किमका टीका ढुङ्गेलको आयो । मेरो आत्मकथामाथि सानो टिप्पणी छ । त्यसपछि सुरुङ्गाका गोपाल संग्रौलाको फोन आयो तर उनको टिप्पणी ज्यादै प्रभावकारी रहेछ मेसेन्जरमाः यो कविता (कोरोना) सुनेपछि युद्धमा सिपाहीको जस्तो आँट आयो । यसलाई पब्लिकमा हाल्न पाए सर्वसाधारणले राहत पाउने थिए कि ! मानिस ज्यादै डराएका छन् । यो कथित महामारीबाट । धन्यवाद ।
अनि उनलाई धन्यवाद प्रदान गरेँ । मलाई यस कवितामा त्यति शक्ति होला जस्तो लागेको थिएन नत्र यसमा अझ लयात्मकता र अर्थमा खेल्थे हुँला । गोपालले भने पनि यसमा ता गीताको नहन्यते हन्यमाने शरीरे जस्तै शक्ति रहेछ भने ।
मैले सम्झेँ गीता पढेका बुझेका रहेछन् गोपाल तर सिर्जनामा भने रुढीगत साँचो मात्र खोल्दा रहेछन् । अस्ति सम्झेको थिएँ— बाममार्गी ठोकिने भीर उनी पनि कति पल्ट त्यही भीरमा ठोकिएर सूत्रबद्ध भएका रहेछन् । त्यसबाट पाखा निस्कन सके कति रचना गर्थे होला ।
खानापश्चात् थिसिस पढेदै थिएँ । दुईघण्टा बित्यो, १२ बज्यो । निद्राले झ्यापझ्याप पार्न थाल्यो । त्यहीँ ढल्केँ; यो सुनसानमा कोही आएनछ । सात मिनेटपछि ब्यूँझेर छ्याङ्ङ शरीरसँग बाहिर गएँ । जगमा पानी भरेर बसाएँ । चार मिनेटमा बिजुलीले उमाल्छ । त्यतिजेल जगिङ् गरेँ ।
दिउँसो चियाको समय भो । दिउँसोको भने डुबाउने पोको सजिलो लाग्छ— एक जनालाई कता उमाल्नु इलामे ग्रीनटी ? आजदेखि नयाँ छ—शकुरा अग्र्यानिक हिमालयन ग्रीन टी— न्याचुरल विद् लेमन एण्ड हनी । अलिकति वास्ना मह र कागति आउँछ फ्लेबर होला । तर सुखकर छ। यही एक पोको डुबाएर थिसिसमा बसेँ । आफ्नै देशको उत्पादन राकुरा हाउस भन्ने ता बरगाछी बिराटनगर पो रहेछ !
चियापानपछि नयाँ स्फूर्ति उत्पन्न भयो । अनि ल्यपटपमा बसेँ । इडिट मोडम थिसिस पढिरहेको हुन्छु । अत्याधुनिक आश्वादनका अनेक सिद्धान्त, अनेक दृष्टिकोण, अनेक रुप, मैले २४ वर्षअघि गरेको अनुवादको पहिलो पीएचडीले आजसम्म धान्यो । त्यही जगमा टेलेर बलरामले अनुवाद सिद्धान्तलाईअपडेट गर्दैछन् । अब यो अरु २४ वर्ष चल्ने छ । त्यसबेला सम्ममा मेरो चैतन्य जाग्रत सुषुप्त र अचलकुन अवस्थमा हुने हो; कोही भन्न सक्तैन ।
त्यसपछि सम्झना आयो— काकालाई फोन गरेँ । काका अर्थात् गौरादह बरगाछी निवासी ८४ वर्षीय विद्वान् पण्डित चिदानन्द भट्टराई— हाम्रा सातभाइ बाहरूका कान्छा भाइ, हाम्रा कान्छा काका । उहाँ ज्ञानी ध्यानी सुपठित कवि हृदयी व्यक्ति हुनुहुन्छ । उहाँको ८४ पूजाको अवसर पारेर दाजु र म यसपालि गौरादह गएका थियौँ । २३ गते फागुन पुग्यौँ २४ मा कार्य सकेर २५ मा फर्कियौँ काठमाडौँ । कामको अर्थ ८४ पूजामात्र होइन, उहाँको दोस्रो कृति स्मृतिपुञ्जको लोकार्पण थियो । उहाँकै निवासमा ठूलो उपस्थितिमा सो कर्म ग-यौँ ।
कति सुन्दर रचनाले भरिएको छ सो कृति ! अघिल्ला पुस्ताका एक आदर्श आदरणीय व्यक्ति भएकैले हामी गएका थियौँ, हाम्रो कुल गौरवका पूजामा ।
काकालाई मैले आफ्नो कोरोना कविता पनि वाचन गरेर सुनाएँ । सुनेपछि ज्यादै मनपराएर भन्नुभयो गीताको सार छ नानी, योग्य पनि ।
अनि काकालाई सुनाएँ— म खाली त बसेको छैन काका । जो हुनु छ, हाम्रो हातमा छैन । घरमा सुरक्षित बसेर खाने काम छ, यसबेला मेरा पुस्तकका काम थिए, तिनै गर्दैछु ।
मलाई पनि त्यही शंका लाग्यो, फोन नआएके धेरै भो । तर के भने, म पनि त्यसै ता बसेको छैन, नानीहरू गएदेखि १५–२० रचना केही निजी श्लोकका र केही अनुवाद गरिसकेको छु । काकाले अलिकति हास्य चेतको पनि प्रयोग गर्नुहुन्छ । भन्नु भो— नानीले कवितामा भनेझैँ धेरै दिनदेखि मान्छे ठीक परेका थिए तर समय व्यर्थै व्यतीत भएर गयो । त्यो आएकै छैन ।
आउँछ काका तर अझैँ निकै पर्खिनु पर्ने भो— अनि हामी हाँस्यौँ ।
आज दिनमा ज्यादा फोन आइजाई भएनन् । एक्लै बसेको भाइ भनेर रामलाई सोधेँ । देवांश छोराको हात कस्तो भएछ भनी भाइलाई सोधेँ । खिमानन्दले बेलायती यात्रा पढ्दै खुसी भएर एकपल्ट गर्नुभो ।
सातभाइको सबै राम्रै, खगेन्द्रले भने— निबन्ध फाइनल पठाएको छु । कान्छी बहिनीले पठाई भान्जी सिन्धियालाई पुस्तक पढनमा कत्रो प्रेरणा दिएकी रहिछ, मदर्स डेमा नानीले व्यक्त गरिन् । खुसी लाग्यो । विर्ख खड्का डुअर्सेजीले गरे—कविताको विषयमा । हरिभक्त बुढाथोकीले गरे— एउटा नेपाली गीतको अंग्रेजी अनुवाद छ, हेरिदिनु होला भनेर । जेठा ज्वाइँको आयो एकछिन बोलियो ।
ह्याप्पी मदर्श डे, रामजी तिमसिनाको आयो— धरानमा यस्तो पो गर्दैछु सर ।
दिन यस्तैमा बित्यो । अबेला भएपछि आज कसले पठाएको हो एउटा क्लिप आयो । भिडियो त्यो इटालीको विनाश लीलाबारे थियो । लहरै लहर मानिस सुतेका छन्, अस्पतालमा बाकस पर्खेका छन् लहरै ।
अंग्रेजीबाट डबिङ गरेको नेपाली दृश्य डरलाग्दो, बाकस डरलाग्दो । त्यसको ट्रान्स्क्राइब गर्न भनी मिलन पौडेल आन्टीलाई पठाएँ र साथीभाइलाई पनि दिएँ । त्यसका दुई प्रतिक्रिया तत्काल आएः
१) सही सन्देश । यस्तो सामाग्रीलाई चाहिँ सुन्न पनि अर्थपूर्ण लाग्छ नि !
२) यहाँको कोरोना कविता अनि इटलीबाट सामाग्री आएको छ । सुनेँ कोरोनाको आक्रमणमाथि । हामी कोरोनाकालमा छौँ उत्तर–कोरोनाकालमा अझै बुझिन्छ नबुझेका सत्यहरू ।
आजको दिनचर्या यस्तै भयो । छत्रले मध्य दिनमा एकपल्ट बोल्न खोजेको थिए, नेट गयो। आज लीलबहादुर सरसित, मुक्ति दाइसित बोल्नुपर्ने, दिनमा भ्याइएन भोलि नभूली गर्दछु ।
त्यसपछि ज्ञानबहादुरजीको कल आयो । मेरो समग्रता बुझ्न चाहने वर्ष दिनदेखि गोविन्दराज भट्टराई मात्र पढिरहने लेखिरहने ज्ञानको आकर्षण प्रशंसनीय छ । आज त मायिक यथार्थवादबारे एउटा लेख तयार पार्न खोज्दा मेरो सुकरातको पाइलाको आधार छ । अनि अर्का सुकरात जन्माएर आसाम लगिएको छ । कस्तो रमाइलो सिर्जना कलाको ढोका खोल्न मात्र सक्नु पर्छ ।
आज बिहानको कान्तिपुरमा एउटा तथ्याङ्क आएको छ, कोरोनाले कहाँ केके गर्दैछ भन्ने कुराको त्यसो त सारा चित्र प्रतिदिन बदलिन्छ ता पनि इतिहासको ऐनामा आजलाई हेर्दा कस्तो रमाइलो देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।