सत्र ११
ओशोको आत्मकथाः स्वर्णिम बालापन

सित्तैमा पाएको राजमहल अस्वीकार गरेँ

जुन गाउँमा मेरो जन्म भएको थियो, त्यो बेलायती साम्राज्यको अङ्ग थिएन । त्यो एउटा सानो रियासत (राज्य) थियो । यो राज्य शासक एउटी मुस्लिम बेगम थिइन् । अहिले म उनलाई देख्न सक्छु । यो बडो अनौठो कुरा हो । उनी बेलायती महारानीजस्तै सुन्दर थिइन् । ठ्याक्कै त्यस्तै सुन्दर ! तर एउटा राम्रो कुरा के थियो भने उनी मुसलमान थिइन् । तर बेलायती महारानी त मुसलमान होइनन् । यस्ता स्त्री सधैँ मुसलमान हुनुपर्छ किनभने उनीहरूले बुर्कामा अनुहार लुकाउनु राम्रो हुन्छ । ती बेगम कहिलेकाहीँ हाम्रो गाउँमा आउँथिन् । त्यो गाउँमा मेरो घर मात्र यस्तो घर थियो, जहाँ उनी बस्न सक्थिन् । यसका अतिरिक्त उनी मेरी हजुरआमालाई ज्यादै प्रेम गर्थिन् ।

मेरी हजुरआमा र उनी, दुवै आपसमा कुरा गरिहेकै बेला मैले पहिलो पटक ती महारानीलाई बुर्का बिना नै देखेको थिएँ । एउटी घरेलुजस्तै देखिने अति साधारण स्त्री महारानी हुन् भन्ने कुरा मलाई विश्वासै लागेन । त्यो बेला मैले बुझेँ, बुर्काको वास्तविक उद्देश्य के हो ! यसलाई हिन्दुहरूले किन ‘पर्दा’ भन्छन् ! यो कुरुप स्त्रीहरूका लागि राम्रो पहिरन हो । यस्तो बुर्का त कुरुप पुरुषका लागि पनि हुनुपर्ने ! कम्तीमा त्यो बेला आफ्नो कुरुपताले अरुमाथि आक्रमण गर्न त सक्दैनौ ! हो, कुरुपता आक्रमण नै हो । सौन्दर्य आकर्षण हो भने कुरुपता के हो त ? आक्रमण नै त हो ! र, यसबाट कोही पनि प्रभावित नभइरहन सक्तैन ।

ती बेगमकै सामु म हाँसिदिएँ । उनले सोधिन्, ‘किन हाँसेको ?’

मैले भनेँ, ‘म सधैँ यो बुर्काको उद्देश्य के हो भनेर सधैँ सोच्थेँ । आज पहिलो पटक बुझेँ । त्यसैले हाँसेको ।’

उनी मुस्कुराइन् । त्यसैले उनले बुझिन् होला भन्ने मलाई लागेन । यद्यपि उनी कुरुप थिइन्, तर मैले मान्नै पर्छ– उनको मुस्कान चाहिँ सुन्दर थियो ।

यो संसारमा बडो अनौठा कुरा हुन्छन् । मैले यस्ता अनेकन् सुन्दर मानिसहरू देखेको छु, जसको अनुहार मुस्कुराउँदा कुरुप बन्न पुग्छ । मैले मेरो बालापनमा महात्मा गान्धीलाई देखेको छु । उनी ज्यादै कुरुप थिए । उनको कुरुपता बेजोडको थियो ! गज्जबको ! उनको सौन्दर्य चाहिँ उनको मुस्कानमा थियो । कसरी मुस्कुराउनुपर्छ भन्ने उनी जान्दथे । कसैको मुस्कुराहटप्रति मेरो कुनै आपत्ति छैन । अझ उनको मुस्कानका बारेमा त मेरो आपत्ति हुने कुरै भएन । अँ, अन्य कुरामा भने म विरोधी हुँ किनभने उनको मुस्कानबाहेक उनका बाँकी सबै कुरा काम नलाग्ने थियो । साँच्चै, उनी महान् ‘बोधिगार्बेज’ थिए । उनको तुलनामा हाम्रो बोधिगार्बेज त अझ केही पनि होइन ।

मानिसहरू स्वामी बोधिगर्भलाई बोधिगार्बेज भन्छन् रे । मलाई यो कुरा मन प-यो । उनीहरूले यो नामसँगै केही त जोडे ! सत्य त के भने, उनीहरूले त्यसलाई त्यही नै राखिदिए, जे ऊ छ । मैले उसलाई बोधिगर्भ नाम राखिदिएँ, जुन उसको भविष्य हुनसक्थ्यो तर मानिसहरूले त उसलाई त्यही देख्थे, जुन उनीहरूको आँखाको सामुन्ने हुन्छ । उनीहरू उसलाई बोधिगार्बेज भन्छन् । शायद यो नाम महात्मा गान्धीका लागि उपयुक्त हुन्थ्यो !

ती बेगम (देवगीत हाछ्यूँ रोक्छन्)… अब, यसले मेरो ध्यान भङ्ग गर्छ । देवगीत, भारतमा कसैले हाछ्यूँ गर्दा राक्षस पनि भित्र छिर्छ भन्ने तिमीलाई थाहा छ ? त्यसैले जब कसैले हाछ्यूँ गर्छ, राक्षसलाई भित्र छिर्नबाट रोक्नका लागि तीन पटक चुट्की बजाएरः ओम् शान्तिः शान्तिः शान्तिः शान्तिः शान्तिः शान्तिः.. ओम् शान्तिः शान्तिः शान्तिः..’ तीन पटक भन्छन् । (ओशोले चुट्की बजाएर देखाउँछन् पनि ।) तिमीहरू चुट्की बजाउनुलाई के भन्छौ मलाई थाहा छैन । जेहोस्, भारतीयले त साँच्चै यस्तो गर्छन् ।

यसरी राक्षसलाई रोक्न सकिन्छ कि सकिन्न मलाई थाहा छैन तर तिमीले जे गरिरहेको भए पनि यसले त्यसमा बाधा पुग्यो । तिमीले जे गरिरहेको भए पनि बाधा पु-याउँदैन । तिमी त यहुदी हौ, हिन्दु होइनौ । त्यसैले तिमीले हाछ्यूँ ग-यौ र त्यो हिन्दु प्रक्रियालाई पूरा गरेनौ । नत्र त मेरो दिमाग ठीक हुन्थ्यो ।

म तिम्रो छक्क पराई अनुभव गर्न सक्छु । छक्क पर्नु पर्दैन । म त पागल मानिस हुँ र मेरो दिमाग ठिक भयो भने डराउँछु । र, त्यो चुट्की बजाउने हिन्दु प्रक्रियाले कसैको पनि दिमाग ठीक गर्छ ! तर परमात्मालाई धन्यवाद छ, तिमी यहुदी हौ । तिमीले अंग्रेजले झैँ हाछ्यूँ रोक्ने प्रयास ग-यौ । त्यो पनि म राम्रोसँग बुझ्छु । अंग्रेज मानिस हरसम्भव कुरालाई रोक्ने प्रयास गर्छन्– हाछ्यूँ पनि ! विशेषगरी तिमीभन्दा बढी पवित्र हुने ढोंग गर्ने व्यक्तिका अघिल्तिर त झनै बढी । तर चिन्तित नहोऊ । म तिमीभन्दा पवित्र हुने ढोंग गर्दिनँ । तिमी आरामले, खुसीले हाछ्यूँ गर्न सक्छौ । त्यसले मेरो ध्यान गडबडाउने छैन । कुनै बाधा हुने छैन । यसले शायद मलाई केही अरु नै इशारा गरेको पाउँनेछु, जुन कथा मैले तिमीहरूलाई भनिरहेको छु ।

यो हाछ्यूँका कारण यताको कुरा उता भयो । अब म जुन कथा भनिरहेको थिएँ, त्यसमा पुनः फर्कन्छु ।

अँ त मेरो गाउँ एउटा सानो राज्य, साह्रै सानो राज्यको अंश थियो । भोपालको अधिनमा थियो र त्यो राज्य बेलायती शासनको अंश थिएन । भोपालकी बेगम कहिलेकाहीँ हाम्रो घरमा आउँथिन् । म त्यतिबेलाको कुरा गरिरहेको थिएँ, जब मैले ती स्त्रीको कुरुपता र उसको बुर्काको सुन्दरतामाथि हाँसेको थिएँ । उसको बुर्का साह्रै सुन्दर थियो । त्यो हिरामोतीले जडिएको थियो । उनी मेरी हजुरआमासँग यति प्रभावित थिइन् कि राजधानीमा मनाइन लागेको वार्षिकोत्सवका लागि निमन्त्रणा गर्न आएकी थिइन् । मेरी हजुरआमाले भन्नुभयो, ‘म त जान सम्भव छैन किनभने मेरो यो बच्चोलाई यति लामो समयका लागि छोड्न सक्तिनँ ।’

बेगमले भनिन्, ‘यो त कुनै समस्या नै भएन नि ! यसलाई पनि सँगै ल्याउनुस् । मलाई पनि यो प्यारो लाग्छ ।’

उनी मलाई किन प्यारो मान्छिन् भन्ने मलाई बुझ्न सकिनँ । मैले त कुनै गल्ती नै गरेको थिइनँ, जसको सजाय यस्तो पाऊँ ! ती स्त्रीले मलाई प्रेम गर्ने विचार मात्रले मेरो रौँ ठाडो भयो । त्यो बेला ऊ बोक्सीजस्ती देखिई । च्यापच्यापी लाग्ने खोटोजस्ती ! मलाई आफ्नो जीवनमा कसैसँग यदि डर लाग्यो भने केवल ती स्त्रीसँग लाग्यो । तर राजधानीमा बेगमको अतिथि बनेर जानु र उनको आलिशान महलमा बस्नु, जसका बारेमा सयौँ कहानी सुनिएको थियो, यति रोमाञ्चक थियो कि मैले आफ्नी हजुरआमाका साथ त्यहाँ वार्षिकोत्सव हेर्न भनेर गएँ । हुन त म ती स्त्रीलाई कहिले पनि हेर्न चाहन्न थिएँ ।

मलाई त्यो महल याद छ । त्यो भारतमै सबैभन्दा सुन्दर महल थियो । एक हजार एकडमा फैलिएको थियो । पाँच सय एकडमा रुखविरुवाको जंगल थियो र पाँच सय एकडको पोखरी थियो । बेगमले हाम्रो धेरै खातिरदारी गरिन् । नहोस् पनि किन ? हामी उनको पाहुना थियौँ । तर मैले उनको अनुहार नहेरुँ भनेर धेरै प्रयास गरेँ । शायद उनी अझै पनि जीवित नै होलिन् किनभने त्यो बेला उनको उमेर त्यति धेरै पनि थिएन ।

पछि त्यो महलका बारेमा अनौठो संयोगको कुरा भयो । अँ, म त्यसलाई संयोग नै त भन्न सक्छु ! जुन दिन म हिमालयमा बस्नका लागि तयार भएँ, त्यसै दिन भोपालकी बेगमका छोरा (राजकुमार)ले फोन गरे । उनको भनाइ थियो, यदि मलाई महल मन परेको छ भने दिन तयार छौँ । म त्यही महलका बारेमा कुरा गरिहेको छु । त्यो महल… केही बेरका लागि त मलाई विश्वास नै लागेन । उनीहरूको सारा शासन भारतमा विलय भइसकेको थियो । उनीहरूले सबै गुमाएका थिए । उनीहरूसँग त्यही एक हजार एकड जमिन र त्यही महल मात्र बाँकी थियो । तर राज्यको यो जुन बचेको कुरा थियो, ज्यादै सुन्दर थियो । पाँच सय एकड जमिनमा लगाइएका प्राचीन रुख र पाँच सय एकडको पोखरी ! भोपालकै सबैभन्दा ठूलो पोखरी होला यो !

भारतमा भोपालको पोखरी नै सबैभन्दा ठूलो पोखरी हो । यो यति ठूलो छ कि संसारको कुनै तलाउलाई पनि योसँग तुलना गर्न सकिँदैन । यो कति चौडाईको छ भन्ने मलाई ठ्याक्कै याद छैन तर एउटा कुनाबाट अर्को कुना देख्न सकिन्न । महलको पाँच सय एकड जमिन पनि यही तलाउको अंश हो र यी सबै महलअन्तर्गत नै पर्छन् ।

मैले भनेँ, ‘अब त ढिला भइसक्यो ।’

राजकुमार र उनकी आमा यदि अहिले पनि ज्यूँदै छन् भने तिनलाई सुनाइदिनू, ‘म उनीहरूप्रति ज्यादै अभारी छु ।’

मैले हिमालय जाने निर्णय गरिसकेँ । सात वर्षदेखि मैले केही हजार एकड जमिन लिने प्रयास गरिरहेको थिएँ । तर यी राजनीतिज्ञहरूले केही न केही छिर्के लगाइहाल्छन् । राजकुमारलाई भनिदिनू, म तपाईंकी आमाको पाहुना बनेर तपाईंको महलमा बसेको थिएँ । अहिले उहाँ ज्यूँदै हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाहा छैन । मलाई महल ज्यादै राम्रो लागेको थियो र अहिले पनि त्यो मलाई मन पर्छ । तपाईं मलाई यो उपहार दिन चाहुहुन्छ, यसका लागि म तपाईंप्रति ज्यादै कृतज्ञ छु तर अब म हिमालय जाँदैछु ।

मेरी सेक्रेटरीलाई पनि बडो आश्चर्य भयो । उनले भनिन्, ‘उनीहरू तपाईंलाई यो महल सित्तैमा उपहार दिन खोज्दैछन् र तपाईं भने अस्वीकार गर्दै हुनुहुन्छ । यसको मूल्य त करोडौँ रुपैयाँको होला ।’

मैले भनेँ, ‘दस बीस करोडको होला तर प्रश्न रकमको होइन । मेरो धन्यवाद त्यो रकमभन्दा धेरै बढी मूल्यवान् छ । उनलाई सुनाइदिनु, धन्यवाद छ । तपाईंको यो प्रस्ताव केही घण्टा ढिला गरी प्राप्त भयो । यदि यो प्रस्ताव पहिले आएको थियो भने शायद स्वीकार गरिन्थ्यो होला । अब त केही पनि गर्न सकिन्न ।
जब राजकुमारले मेरो यो सन्देश सुन्यो, उसलाई सहज विश्वास भएन कि यति ठूलो महल सित्तैमा दिँदा पनि यसले लिन अस्वीकार गरिरहेको छ । उनलाई यति मात्र भनियो, ‘दुःख लागेको छ तर धन्यवाद ।’

म त्यो महललाई जान्दछु । एक पटक बालापनमा म पाहुना बनेर गएको थिएँ । त्यसपिछका दिनमा पनि म दोहो-याएर गएको छु । मैले त्यसलाई एउटा बालकको दृष्टिले पनि देखेको छु र एउटा नवयुवकको दृष्टिले पनि देखेको छु । बच्चा हुँदा यसको अनुपम सौन्दर्यका बारेमा मलाई कुनै शंका थिएन । त्यो बेला म यसका बारेमा जे बुझ्न सक्थेँ, महल त्योभन्दा बढी नै सुन्दर थियो । बालकको दृष्टि र उसको बुझाइका आफ्ना सीमा हुन्छन् । अगाडि जे देखिन्छ ऊ त केवल त्यसैलाई मात्र देख्न सक्छ। आफ्नो युवावस्थामा जब मैले त्यो महल फेरि पाहुना बनेर गएँ, मलाई लाग्यो, यो भवन संसारकै सुन्दर भवन हो । खासगरी जसरी यसको स्थान निर्धारण गरिएको छ, त्यस हिसाबले । तर मैले अस्वीकार गर्नुप-यो ।

कहिलेकाहीँ अस्वीकार गर्नु पनि राम्रो लाग्छ मलाई । किनभने मलाई थाहा थियो, मैले यस प्रस्तावलाई स्वीकार गरेको भए सयौँ समस्या शुरु हुन्छन् । त्यो महल मेरो महल हुन सक्ने छैन । अशिक्षित, अनैतिक, भ्रष्टाचारी राजनीतिज्ञ, जो यति शक्तिशाली बनेका छन् कि तिनले अवश्य नै बीचबीचमा छिरेर काम बिगारिदिन्थे । मैले यो महल लिन अस्वीकार गरेपछि पनि उनीहरू मेरा पछि दौडिए किनभने उनीहरूले राजकुमार झूटो बोल्दैछ भन्ने ठाने । किनभने यस्तो प्रस्तावलाई कसले पो अस्वीकार गर्छ र ?

यतिबेला ती राजनीतिज्ञले राजकुमारलाई सम्भव भएसम्मका सारा तरिकाले दुःख दिइरहेका छन् । राजकुमारले त्यो विशाल महल मलाई किन उपहारमा दिए, यत्तिका लागि ।

मैले स्वीकार गरिनँ । खासमा केही भएन । केवल एउटा टेलिफोन आयो र त्यो आउनु नै पुग्दो भयो । राजनीतिज्ञ त सबै देशमा पाइन्छन् तर भारतका जस्ता राजनीतिज्ञ कतै पाइँदैनन् । दुई हजार वर्षसम्म भारत दास बन्यो । सौभाग्यले १९४७ मा यो स्वतन्त्र भयो । मैले सौभाग्य किन भनेको भने अहिले पनि भारत स्वतन्त्रताका लागि योग्य छैन । यसको सारा श्रेय त बेलायती प्रधानमन्त्री क्लेमेन्ट एटलीलाई जान्छ । उनी समाजवादी थिए, एक किसिमको सपना देख्ने किसिमका मानिस थिए । उनी स्वतन्त्रता र समानता आदि आदर्शका बारेमा सोच्थे । भारतीय स्वतन्त्रताको वास्तविक पिता त उनी थिए । भारतले यसलाई आर्जित गरेको होइन, न त उसमा यसको योग्यता नै थियो । केवल भाग्यले त्यो बेला बेलायतका प्रधानमन्त्री एटली थिए र यो स्वतन्त्र भयो ।

दुई हजार वर्षको गुलामीका कारण भारतीय ज्यादै चलाख बने । आफूलाई जीवित राख्नका लागि, आफ्नो अस्तित्व राख्नका लागि गुलाम चलाख हुनु नै पर्छ । भारतको गुलामी त गयो तर तिनको चलख्याईँ भने बाँकी नै रह्यो । कुनै एटलीले त्यसलाई नष्ट गर्न सकेनन् । यो कसैको हातमा पनि छैन । पूरै देशमा यो फैलिएको छ । यो शताब्दीको अन्त्यमा भारतको जनसंख्या संसारकै सबैभन्दा बढी हुनेछ । यो सोच मात्रले मेरो निद्रा उड्ने गर्छ ।

मलाई निद्रा पार्नु छैन भने म यो शताब्दीको अन्त्यसम्म भारतको दशा के होला भनेर सोच्ने गर्छु । निद्रा गायब पार्न त्यति भए काफी छ । यो सोच्न थालेपछि निद्राको गोली दियौ भने पनि मलाई केही असर गर्दैन । भारतको जनसंख्याको समस्या र ती साना साना राजनेताको भिडको सोचले नै म डराउँछु । योभन्दा अरु कुनै दुःस्वप्नका बारेमा तिमी सोच्न सक्छौ ?

मैले त्यो सुन्दर महल लिन अस्वीकार गरेँ । मलाई अहिले पनि अपसोच लाग्छ, मैले एउटा यस्तो मानिसलाई अस्वीकार गर्नुप-यो, जसले पैसा बिना नै केही उपहार दिन चाहिरहेको थियो । तर म पनि के गर्न सक्थेँ र ? उसका लागि म दुःख मनाउ मात्र गर्न सक्छु । मैले अस्वीकार गर्नुप-यो । किनभने त्यतिञ्जेल मैले निर्णय गरिसकेको थिएँ । र, एकपल्ट निर्णय लिइसकेपछि चाहे त्यो ठीक होस् या गलत, म बदल्न सक्दिनँ । न त रद्द नै गर्न सक्छु । बदल्नु मेरो रगतमा छैन । यो एक प्रकारको हठधर्मीपन हो, जिद्दीपन हो ।

देवगीत, कति बज्यो ?

दस एकतीस, ओशो ।

अब पुग्यो !