कोरोना डायरी ३१
१० वैशाख २०७७ (२२ अप्रिल २०२०)
लकडाउनको २४ औँ दिन त्यसरी आठैबजे सुत्न जाने निर्णय गरेको थिएँ । समय व्यर्थ जानुभन्दा सुतेर त्यसको रक्षा गर्नु उत्तम हुनेछ भन्ने लाग्छ । रात शान्त थियो । अर्काेपल्ट ब्यूँझँदा तीन बजिसकेको थियो र थकान मेटिमएको शरीर लिएर म अध्ययनमा चढेँ ।
बिहान शुरुदेखि नै थिसिस पढ्न थालेँ । तीनघण्टा पछि उठेर जगिङ गरेँ, चिया खाएँ स्याउ टोकेँ । फेरि दुई घण्टा पछि गोडा तन्काउँदा अर्कोपल्ट चिया खाने बेला भएछ, सूप खाने बेला भएछ र पत्रकारदेखि रिसाएका प्रधानमन्त्री जस्तै क्रुद्ध भएको आकाश हेर्दै झरेँ । अझै पनि यो आकासको रहर पुगेको छैन कि कसो ?
फर्केर आएपछि आज मलाई कोरोनाको पूरा अपडेट बुझ्न मन लाग्यो र माध्यमहरुबट बुझ्दा यस्तो देखियोः
नेपालमा आजसम्मको संक्रमितको कुल संख्या ४२ पुग्यो, निको भएका ४ त्यसमध्ये उदयपुर जिल्लामा मात्रै २८ ।
संसारभरि कोराना भाइरस केश — २५ लाख
कोराना भाइरस मृत्यु — १ लाख ७७ हजार
निको भएका केश— छ लाख ९० हजार
कुल मृत्यु
अमेरिका ४५ हजार
स्पेन २१ हजार
इटाली २४ हजार
फ्रान्स २० हजार
जर्मनी ५ हजार
बेलायत १७ हजार
टर्की २ हजार
इरान ५ हजार
चाइना ४ हजार
अमेरिकाले अग्रस्थान कब्जा गरेको छ । अग्रस्थानको चाइना झरेर नवौँमा पुगेको छ । इटाली स्पेन फ्रान्स हाराहारी ।
बाटामा अलपत्र परेकालाई सरकारले घर पु-याइदिने भन्ने छ । सीमान्तका क्वारेन्टाइन पूरा गरेकालाई न यता नउता पारेर छोडेको छ ।
ओलिजीले नयाँ अध्यादेश ल्याएर पाटि फुट्ने जोड्ने के सजिलो पारे भन्दैछन् यस्तो संकटमा । प्रतिपक्षी बेगरै केके पास गरे भन्दैछन् । पत्रकार सचेत छन् । अरुन बरालले २०७६ माघ २ गते प्रकाशित लेखबाट यस्ता कुरा साभार गरेका छन्ः प्रधानमन्त्रीको मन मुटुमा स्टालिनपथ छ । एकमनावाद छ । उनी जोसेफ स्टालिनले जस्तै एकमनावाद जबर्जस्त लागू गरिरहेका छन् । उनी पार्टी र देशलाई निरङ्कुशतातिर धकेल्न चाहन्छन् ।”
राजनीतिको कुरा ज्यादा नगरौँ । धूर्त र मूर्खहरुको त्यो कसरत मैदान हो । स्वार्थ र झूट भन्दा पर्तिर त्यहाँ केही नै हुँदैन । आफ्नो काम गर्ने चूप लाग्ने मन्त्र सिकौँ । मूर्खसितको मुठभड प्रत्युत्पाक हुन्छ ।
यसपछि म बलाराम पढ्न लागेँ ।
विज्ञ भन्छन् — तेस्रो चरण
बुनु थारु र स्वरुप आचार्य (काठमाडौँ)
उदयपुरको त्रियुगा नगरपालिका— ३ भुल्केस्थित नूरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड — १९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा ‘कम्युनिटी ट्रान्समिसन’ मा प्रवेश गरेको छ । नूरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर १७ का एक जनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने बिराटनगरमा थप एक जनामा शनिबार संक्रमण भेटिएको थियो ।
मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारी गरीकुल ६९ जनाको थ्रोट स्वावको नमूना शनिबार संकलन गरिएको थियो । सुरुमा कोसी अस्पालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ नै आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एक जनाको रिपोर्ट आउन बाँकी नै थियो । यस्तोमा पोजिटिभ देखिएका ८ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको थियो । साथै, मंगलबार नै भुल्केकै तीन जनाको काठमााडौँमा परीक्षण गर्दा भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।
नेपाली सेनाको चिकित्सकीय टोलिले आइतबार २५१ जनाको नमूना संकलन गरेर काठमाडौँ ल्याएकोमा हालसम्म भएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको पाइयो । योसँगै उदयपुरमा मात्रै संक्रमितको संख् या २४ पुगेको छ मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमूना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको थियो । उदयपुरमा समुदायमै संक्रमण देखिएको संकेत गरेका हुन् ।
वरिष्ठ जनस्वास्थ्यविद डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैगरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । उनका अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो ।
०००
आज दिनमा निकैबेर थिसिस पढेँ । शुद्ध छ तर पनि कताकति कुनै त्रुटिमा टाइप गरिदिनुपर्छ रातो नीलो अक्षर । शुद्धको तात्पर्य यस स्तरमा भाषिक व्याकरणिक मात्र होइन अर्थाेकै धेरै हुन्छन्— विषयवस्तुको औचित्य, त्यसको संगति, लम्बाइ, इत्यादि सबैभन्दा ठूलो कुरा छ प्रस्तुति नियमानुसारको शैली। जुन एक विशेष प्रकृतिको हुन्छ । त्यसलाई प्राज्ञिक लेखन(एकेडेमिक राइटिङ) भनिन्छ जसका नियम बेग्लै हुन्छन् । त्यो सिकाउन अनेक प्रकारका शैली पुस्तिका बनिएका हुन्छन्, ती अनुसार लेख्नुपर्छ, तरङ्गले लेखाउनु पर्छ, अन्तर्राष्ट्रिय विशेषज्ञकोमा मूल्याङ्कनार्थ जान्छ । उनले सोही अनुसार मूल्याङ्कन गर्नुपर्छ । विद्यावारिधि गर्नु गराउनु दुवै कठिन छ । यसमा पसेर निस्केको व्यक्ति अग्नि परीक्षाबाट उत्रिएको हुन्छ; कति ता उत्रन नसकी अग्निमै कोइला बन्छन् । विद्यावारिधि गर्नु भनेको नयाँ ज्ञानको खोजी गर्ने एक वैज्ञानिक तरिका हो जसले राष्ट्रलाई अघि बढाउँछ ।
यति लेखिसकेको थिएँ भाइ देवेन्द्रको फोन आयो— दाजु एक दुःखद खबर छ ।
कस्तो भाइ ?
आज पिटर जे कार्थकको निधन भयो ।
कसरी भो ?
मैले निकैपल्ट भेटेका स्रष्टा, पत्रकार र चिन्तक । अंग्रेजी–नेपाली दुवै भाषाका मर्मज्ञ । उनको उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छे कस्तो प्रभावकारी छ । दार्जीलिङका जीवनको चित्र । जसको अनुवाद उनैले गरे। एभ्री प्लेस एभ्री म्यान । यो सत्तरीका दशकको दार्जीलिङको अपूर्व चित्र हो । त्यसको दुई दशक अघिको आज रमिता छ जस्तै । मेरो मनमा पिटर जे कार्थकलाई सम्झिँदा ती कुरा आउँछन् ।
पिटर जे (जोन) कार्थकको जन्म सन् १९४३ मा पूर्वी भारतको सिलाङमा भएको थियो । उनी अङ्ग्रेजी साहित्यमा एम.ए. गरी लेखन, सम्पादन र पत्रकारितामा संलग्न हुँदै आएका थिए । नेपाली पत्रकारिताभित्र अङ्ग्रेजी भाषामा रचना गर्नेमध्ये उनको ठुलो नाम छ । कार्थकको एउटा कृति प्रसिद्ध छ – प्रत्येक ठाउँ प्रत्येक मान्छे (उपन्यास, वि.सं. २०३४) । यसले दार्जिलिङलाई ओझेल पार्ने, विस्मृतिमा लौजानेहरूप्रति आक्रोश व्यक्त गर्दै पृष्ठभूमिमा हुर्केर मूल्यहीनतातिर दौडिरहेको पुस्तालाई चिनाउँछ । यस कृतिलाई उनी आपैmले अनुवाद गरी एभ्री प्लेस, एभ्री पर्सन शीर्षकमा वि.सं. २०६१ मा काठमाडौँको वज्र पब्लिकेसनबाट प्रकाशित गरे । यो उपन्यास आपैmमा स्तरीय त छँदै छ त्यसमाथि अनुवादको भाषा शैली उच्च कोटीको भएकाले पठनीय र विश्व साहित्यलाई देखाउन मिल्ने नेपाली नमूना भएको छ । हालै उनको काठमाण्डुआइट्स शीर्षकको अङ्ग्रेजी उपन्यासलाई बुक हिलले प्रकाशनमा ल्याएको छ ।
मैले सम्पादन गरेको अनुवादक परिचय कोस (२०७५) मा पिटरको परिचय यसप्रकार छ (दिने) । पिटर जे (जोन) कार्थकको जन्म सन् १९४३ मा पूर्वी भारतको सिलाङमा भएको थियो । उनी अङ्ग्रेजी साहित्यमा एम.ए. गरी लेखन, सम्पादन र पत्रकारितामा संलग्न हुँदै आएका छन् । नेपाली पत्रकारिताभित्र अङ्ग्रेजी भाषामा रचना गर्नेमध्ये उनको ठुलो नाम छ । कार्थकको एउटा कृति प्रसिद्ध छ – प्रत्येक ठाउँ प्रत्येक मान्छे (उपन्यास, वि.सं. २०३४) । यसले दार्जिलिङलाई ओझेल पार्ने, विस्मृतिमा लौजानेहरूप्रति आक्रोश व्यक्त गर्दै पृष्ठभूमिमा हुर्केर मूल्यहीनतातिर दौडिरहेको पुस्तालाई चिनाउँछ । यस कृतिलाई उनी आपैmले अनुवाद गरी एभ्री प्लेस, एभ्री पर्सन शीर्षकमा वि.सं. २०६१ मा काठमाडौँको वज्र पब्लिकेसनबाट प्रकाशित गरे । यो उपन्यास आपैmमा स्तरीय त छँदै छ त्यसमाथि अनुवादको भाषा शैली उच्च कोटीको भएकाले पठनीय र विश्व साहित्यलाई देखाउन मिल्ने नेपाली नमुना भएको छ । हालै उनको काठमाण्डुआइट्स शीर्षकको अङ्ग्रेजी उपन्यासलाई बुक हिलले प्रकाशनमा ल्याएको छ ।
मैले सम्पादन गरेको (त्रिफला राष्ट्रिय पुस्तकालयद्वारा प्रकाशित) इन्द्रबहादुर राई,त्रिफला दर्पण विशेषाङ्क२०७६ मा पिटरको एक लेख प्रकाशित गर्ने अवसरको सम्झना भइरहेके छ । उताका इन्द्रबहादुरलाई यताका मदनमणि दीक्षितसँग उनले तुलना गरेका छन् । सो लेख उनै पिटरको सम्झनामा पुनः यसमा साभार गर्दछु ः
‘आइबी भनेको दार्जीलिङको मदनमणि’
—पिटर जे.कार्थक
आइबी राईसहितको तीन सदस्यीय लेखक टोलीले सन् ६० को दशकमा जन्माएको ‘तेस्रो आयाम’ पत्रिकाको बर्ष १, अंक १ मैं भनिएको छ—‘हामी नबुझिने बनौंला । तर लोकप्रियताको लोभ गरिरहे केही लेख्न सकिन्न । हामीले ऐले सफलता देखाउन नसकेका हौंला, पछि जरुर सक्नेछौं । पछि आउनेहरुले त्यो गर्नेछन् र, गरिछाड्नेछन् । कारण मानिसको शरीर छाडी अरु केही पनि मर्दैन । बिचार मर्दैन ।’ (१–४–१९६३)
नभन्दै आइबी सर (मेरो टर्नबुल स्कुलका गुरु)ले शरीर छाडेर जानुभयो । बिचार बा“चेकै छ । यसो भनिरह“दा आइबी सरको ‘आज रमिता छ’ उपन्यासस“गको असहमती र पुरापुर संस्कृते–लेखाइको नमिलेको कुरो मेरो चासोमा सधैं रहिरह्यो । ‘आज रमिता छ’को सबैतिर वाहवाही सुन्छु । तर यो यतिबिध्न ‘संस्कृते’ छ नि, यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी छ । नेपालमा मदनमणि दीक्षितको ‘माधवी’ जस्तै । भन्नैपर्छ— दार्जीलिङको मदनमणि दीक्षित भनेको इन्द्रबहादुर राई हो । नेपालको इन्द्रबहादुर भनेको मदनमणि हो । मैंले कतै पढेको छु— ‘माधवी’का १ हजारभन्दा बढी संस्कृत शब्दको नेपालीकरण गरिएर ‘माधवी’ पुर्नलेखनमा आउ“दैछ । हो, ‘आज रमिता छ’ लाई पनि यसै गर्नुपर्छ । यसलाई दार्जीलिङको बोली र टोनमा झार्नैपर्छ । त्यो संस्कृते भाषा उता दार्जीलिङको हु“दै होइन । शायद यता फिक्कलमा शिक्षक भएका बेला भाषाविद् महानन्द सापकोटाको संगत र प्रभावले गर्दा होला, आइबी सरले आफ्नो लेखाइलाई पुरै ‘संस्कृते’ बनाउनुभयो । पादरी गंगाप्रसाद प्रधानले सन् १९२३ तिरै ‘गोर्खे खबरकागज’मा काशी, बनारस, पटनातिर बसेर आएका अथवा पढेर आएकाहरुको भाषालाई ‘का“शीभाषे बोली’ भनेका थिए ।
फेरि ‘आज रमिता छ’ दार्जीलिङे कथा हु“दै होइन । मन्जुश्री थापाले किन रोमान्चित भएर अंग्रेजी अनुवाद गरिन्, म भन्न सक्दिन । उपन्यासमा भनेजस्तो उताको समाजमा मेलमिलाप थियो भन्ने कुरा पनि ‘मिथ्या’ हो ।
आइबी राईले नेपाली भाषाका पक्षमा जेजति कुरा गरेपनि त्यसलाई नेपाली भाषा भन्ने कि गोर्खे भाषा भन्ने अन्यौल रहिरह्यो । उताका नेपालीहरु गोर्खाल्याण्डका गोर्खेहरु भए । अर्को कुरा, आइबी सरले दार्जीलिङमा नेपाली भाषाका लागि जेजति गर्नुभयो, त्यो उहा“ एक्लैले गरेको होइन । धेरै योग्य–योग्य मानिसहरु उता थिए । खर्साङका प्रेम थापा, जोनाथन थापा, तारकबहादुर कार्की, गुमानसिंह चामलिङ, एडोल्ड रोङगोङ, गणेशलाल सुव्वाहरु र अरुहरु पनि थिए । पक्कै पनि आइबी सर यो ‘फोर्स’को मियोमा हुनुहुन्थ्यो ।
उपन्यासबाहेक बरु आइबी सरका कथाहरुमा घटेकै कुरा छन्, त्यहाँ भएकै विवरण छन् । बर्माबाट लखेटिएका नेपालीको दुःखान्त होस् अथवा घरघरमा भेटिने जारका कुरा । अझ किरातीहरुको त दुधैदुध मिसिएर दाजुबहिनी, फुपुभदै भएको अवस्था पनि छ । यी एकदमैं भएका कुरा हुन् । त्यसमाथि ठ्याक्कै दार्जीलिङे टोन, लवज, कथ्य पनि छ कथाहरुमा । बर्माबाट भागेर आएका नेपालीहरु भारतको कुनाकन्दरामा बिलाएरै गए । यो यथार्थ हो । ‘जयमाया लेखापानी आइपुगी’को संवेदना शाश्वत छ ।
‘भाषिका’ भनेको जनजिव्रोको बोली हो । उता भाक्सु, देहरादुनतिर गयो भने ‘ठेर–ठेर, मैं भि आउ“छु’ भन्छन् । ‘कता पधारिराछस् ?’ भन्छन् अथवा ‘यो लोगहरु कहाँबाट आए ?’ भन्छन् । यो लोकल–डाइलेक्ट हो नि । यसलाई त्यहींको भाषा, साहित्य, लवजमा फिट गर्न सकेको स्वाद अर्कै हुन्छ । तर, हाम्रो दार्जीलिङमा संस्कृतै–संस्कृत कहाँबाट आयो ?
‘आज रमिता छ’मा कतै ‘बायुद्धार’ भनेको छ, कतै ‘बिस्तीर्ण जलराशी’ । यो बायुद्धार भनेको त भेन्टिलेशन भनेको पो रहेछ । यस्तो क्लिष्टतामा, स्थानीयतामा नमिलेको लवजबारे अभि सुवेदी, राजनारायण प्रधान, रविलाल अधिकारीजस्ता बिज्ञ समालोचकहरुले पनि कहीं कतै केही बोलेको मलाई थाहा छैन । म त आइबी सरको सामु एउटा फुच्चे न थिएँ, कहाँ बोल्ने आँट गर्नु ?
जाती र जातित्वको कुरामा, पहिचान र अस्तित्वको कुरामा आइबी सरले दार्जीलिङलाई नै ‘आफ्नो नेपाल’ भनिरहनुभयो, लामो कालसम्म । ‘नौलाख तारा’ गीतका रचयिता अगमसिंह गिरीसँगै यही गीतका कारण आइबी सरको टकराव परेको थियो, बेमेल भएको थियो । हरेक डिसेम्बर महिनामा चल्ने कोचिङको एउटा क्लासमा आइबी सरले हँसीमजाक गर्दै भन्नुभएको थियो—‘हन ए केटा हो, यो नौलाखे तारा भन्ने गीत छ नि अगमसिंह गिरीको । यो गीत त के हो ? उल्टापाल्टी पो छ त । ‘शरद लाग्यो वनमा फूलले पीर्ति गाँसेछ’ पो भन्छ त !…’
तर, प्रवासमा बसेका नेपालीको दुःखान्तलाई १६ लाइनमा बुझाउन खोज्नु कम्ती मुश्किलको काम थिएन । अगमसिंहले खासमा नेपाली गाथा बुझाउन खोजेका थिए । ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भन्नु आफैँमा एउटाकाव्य हो, दुई सय वर्षदेखि बेहोरेको नेपालीको गाथा यसमा छ । तर, आइबी सर भने यो गीतको ‘नजाऊ फर्की नेपाल’को लाइन आउँदा भने सर खुशी देखिनुहुन्थ्यो, रमाउँदै भन्नुहुन्थ्यो—‘होहो, सही हो…’ ।
मलाई के लाग्छ भने मान्छेलाई देवता बनाउनु हुँदैन । आइबी दाजु पनि देवता होइन । पक्कै पनि त्यो बेलाको पढाइको ‘गोल्ड मेडलिष्ट’ हो आइबी । ठूलो सर्भिसमा जान सक्ने, विदेश गएर केही गर्न सक्ने, आफ्नै बुतामा अरु कमाइधमाइका काम गर्न सक्ने स्थिति उहाँमा थियो । राम्रो पढाइको स्कलरशिप पनि पाउन सक्नुहुन्थ्यो । तर कतै जानुभएन । खालि साहित्य, भाषा भनेरै कुवामा बसिरहनुभयो । म कतिपय अर्थमा कुवाको भ्यागुत्तो भन्छु आइबी दाजुलाई । उहाँले दार्जीलिङे कुवामै बसेर संसार पढ्नुभयो । शेक्सपियरदेखि सोपेनआवरसम्म, माक्र्सदेखि नित्सेसम्म खर्लप्पै खानुभयो । तर बाहिरी दुनियाको ‘एक्सपोजर’ भएन कहिल्यै । मलाई लाग्दैन, आइबी दाजु अमेरिका–बेलायत जानुभयो । (मैले थाहा नपाएको होला ।) टर्नबुल स्कुलको टिचर र साहित्य लेखन, यी दुई जिम्मेवारीमै जीवन गुजार्नुभयो ।
खासमा नेपाली मिडिया र केही समालोचकले पनि आइबी सरलाई नेपाल–भारतको, नेपालीभाषीको ‘ब्रिज’ भनिरहेका छन् । तर, आइबी सर स्वयमले यो कुरा मान्नुभएकै थिएन । ‘हाम्रो नेपाल यही हो’ भनेर उता बस्नुभएको थियो । उताबाट लैनसिंह, रणधीर सुव्वा, अम्बर गुरुङ, गोपाल योन्जनहरू कोही पनि यता आएको आइबी सरलाई मन परेको थिएन । त्यसबेला भारतीय नेपाली हुनुको हकमा त्यो कुरा बोलिएको थियो । तर, अहिले त्यहाँकाले आफूलाई भारतीय नेपाली हौँ भन्दैनन् । त्यतातिर गोर्खा, गोर्खे सुरु भएको छ ।
सन् ८० को दशकमा गोर्खाल्याण्ड प्रकरणमा घर जलाइदिएपछि र दार्जीलिङबाट निर्वासनमा परेपछि मात्रै आइबी सरले नेपालतिर फर्केर हेर्नुभएको हो । नेपाल त सधैँ स्वागतमा तत्पर थियो नै । आइबी सर उता माया नपाएपछि यता आउनुभएको हो, माया खोज्दै । यत्ति हो कि यत्रो विचारक र बौद्धिक व्यक्तिले पढेर, बुझेर पनि खाली शिक्षक बनेरै र भाषा–साहित्य भनेर कलम चलाएरै जीवन बिताएको दृष्य मेरा लागि अलौकिक छ, एकदमैं प्रशंसनीय ।
(कुराकानीमा आधारित)
पिटरको देहान्त पश्चात् प्राप्त उनको देहान्तविषयक समाचार निम्नानुसार छ ।
मेरा सबै मायाहरूलाई पाप भनी लेखिदे,
धेरै नेपाली स्रष्टाका लागि लेखनमा शैलीगत नवीनता भित्र्याउने रहस्यमयी स्रष्टा थिए— पिटर
‘म र मेरो सङ्गीतलाई नजिकबाट बुझ्ने कोही छ भने उही पिटर छ’ संगीतज्ञ अम्बर गुरुङ भनिरहन्थे ।
‘मैले अम्बर दाजुका धेरै गानाको ट्युनिङ अझै सम्झिएको छु जुन रेकर्डमै छैनन् । म त्यो धुन अमरका छोराछोरीलाई सुनाउन चाहन्छु,’ पिटर जे कार्थक पनि भनिरहन्थे ।
हृदयघातका कारण उनै पिटरको बुधबार निधन भएको सुनेपछि संगीतज्ञ अम्बरका छोरा किशोर लकडाउनमाझ ‘पिटर अंकल’लाई सम्झिरहेका थिए । ‘बाबाको गानाबजाना सम्झने र केही ट्युनिङ खेलाउने प्रयासमा अस्ति सेप्टेम्बर महिनामा हामीले पिटर अंकललाई भेटेका थियौँ,’ उनले सुनाए, ‘तर स्मृतिभन्दा विस्मृति बढी भएझैँ लागेको थियो ।’
सन् ६० को दशकमा दार्जिलिङमा उनै अम्बर गुरुङसितको गानाबजाना टोलीमा थिए पिटर । अम्बरले चलाएको आर्ट एकेडेमी अफ म्यूजिकमा गितारवादक थिए— स्थानीय ललित गुरुङ । एकदिन एउटा कन्सर्टमा ललित अनुपस्थित भएपछि गितारवादनका सौखिन पिटरलाई एकेडेमीको गितारवादक बनाइदिएका थिए अम्बरले । ‘पछि सन् १९६१ तिर कालिम्पोङमा बाबाको एउटा म्यूजिकल कन्सर्ट हुँदा पिटर अंकल ठूल्ठूला साउन्डबक्स लिएर आउनुभएको थियो, त्यहाँ पिटर र उहाँका भाइ मार्कले गितार बजाएको पहिलोपटक देखेको थिएँ’, अम्बरका जेठा छोरा किशोर सम्झिरहेका छन् ।
त्यसपछि पिटरले अम्बरको साथ छोडेनन्, ‘म अम्बर हुँ तिमी धर्ती’ गीतमा पनि पिटरकै गितारको झंकार भरियो । ‘पिटरसहित अरुणा लामा, जितेन्द्र वर्देवा, शरण प्रधान, रञ्जित गजमेर आदि मिलेर संगम म्यूजिक ग्रुप खोलिएको थियो । पछि हिलियन्स भन्ने म्युजिक बेन्ड पनि खोल्यौँ’ सन् ६० को दशककै पिटर समूहका कनिष्ठ सदस्य प्रनय सिन्ह भन्छन् ‘मैले यही समूहमा र पिटरकै अनुरोधमा लामो समय तबलावादन गरेको थिएँ ।’ सन् १९६५ म पिटरसहित अनुराधा कोइराला, रञ्जित गजमेरहरु नेपाल छिरेपछि भने उनीहरुसँगको सांगीतिक संगत कम भएर गएको प्रनयले सुनाए ।
नेपाल भित्रिएपछि पिटरको चिनारी अर्कै बन्यो, बाद्य वादकभन्दा बढी लेखक । ‘तर हमीले भने पिटर अंकललाई गितारवादक भनेरै चिन्यौँ,’ किशोर सम्झन्छन्, ‘बाबाले उहाँलाई रेडियो नेपालमा लिएर जानुभयो । नातिकाजी, शिवशंकरको म्यूजिकमा पनि ससानो पिस गितार बजाउन लगाइन्थ्यो रे ! बाबाको संगीत–स्वरमा बज्ने ईश्वरबल्लभको गीत ‘मेरो बेहोसीलाई सन्ताप भनी बिर्सी दे’ मा पिटर अंकलकै गितारको धुन रेकर्डमा छ ।’
संगीतको यति कुरा भए पनि धेरै नेपाली स्रष्टाका लागि लेखनमा शैलीगत नवीनता भित्र्याउने ‘रहस्यमयी स्रष्टा’का रुपमा पिटर चिनिन्छन् । प्रत्येक ठाउँ प्रत्येक मान्छे उपन्यासमा दार्जीलिङमा भएकै सात दिनको एउटा कथा छ । कलेज युवतीको जीवनमा भएको एउटा बलात्कारको घटना, जहाँ १३ जना पात्र जोडिएका थिए, दार्जीलिङ चिनाउने र कथानकको एउटा स्वरुप उतार्ने त्यो बयान लेखेपछि उनै संगीतकार अम्बर गुरुङले पिटरलाई लिएर उम्दा लेखक शंकर लामिछानेकहाँ गएका थिए— भूमिका लेखाउन ।
‘पिटरको उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छेमा शंकरले त्यत्तिकै अब्बल भूमिका लेखिदिएको छ, जति पारिजातको शिरीषको फूलमा छ’ अम्बर पनि सुनाइरहन्थे । शायद यही कारण पिटर पनि नेपाली साहित्य संसारमा ‘अलौकिक पत्र’झैँ चिनिए । ३० वर्षे उमेरमा काठमडौँ छिरेका पिटरले लेखेको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यासले २०३४ सालमा साझा पुरस्कार पाएको थियो । उनको यही पुस्तकको अंग्रेजी अनुवाद एभ्रि प्लेस एभ्रि पर्सन पनि प्रकाशित छ । उनका ‘काठमान्डुइड्स्’ नामक अंग्रेजी उपन्यास, नेपाली संगीतका प्रमुख साधकको संस्मरणमा आधारित ‘नेपाली म्युजिकमेकर्स’ र पिटरका कथाहरू पनि प्रकाशित छन् ।
काठमाडौँ शहरमा आफूलाई जहिल्यै ‘आउटसाइडर’ भन्ठान्ने पिटरले वीरगन्जको निजी बोर्डिङ स्कुल हुँदै काठमाडौँको क्यासिनो र अंग्रेजी देनिक पत्रिकाहरूमा पनि जागिरे जीवन बिताए । अंग्रेजी लेखन र पठनमा औधि रुचि राख्ने उनी एउटा अंग्रेजी कविताको पंक्ति सधैँजसो भेटघाटमा सुनाइरहन्थे,
‘गर्नुपर्ने काम धेरै छ, समय मिलिक्कै बितिरहेको छ ।
हम्रो मुटु जति साहसी भए पनि, यसको धड्कन भने
कुनै शोकजुलुसमा गुन्जिरहेको ड्रम जस्तै सुनिँदैछ ।’
पिटर कतिपय अर्थमा हक्की पनि थिए । जस्तो उनी प्रचलित लेखक आइबी राईको आज रमित छ उपन्यासकै आलोचक थिए । भन्थे— आज रमिता छ को सबैतिर वाहवाही सुन्छु तर यो यति विघ्न संस्कृते छ नि यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी छ, मदनमणि दीक्षितको माधवी जस्तै । आज रमिता छको मञ्जुश्री थापाले गरेको अंग्रेजी अनुवाद (देअर इज कार्निभल टुडे) लाई उनले व्यर्थको काम भनेर टिप्पणी गरेका थिए ।
आफ्नै सानमान र रवाफमा हिँडडुल गर्न रुचाउने पिटर कुराकानीका क्रममा सधैँजसो अम्बर गुरुङ, ईश्वर बल्लभ, शंकर लामिछाने जस्ता स्रष्टाको नाम लिन रुचाउँथे । मैले गितार बजाउन छाडेको बीसौँ वर्ष भयो तर यो गीतमा बजाएको गितारको झंकार अझै मन मस्तिष्कमा आइरहन्छ । कुपण्डोलभित्रको घरमा हरेक पटकको भेटघाटमा पिटर सम्झन्थे एउटा गीत र, गाउँथे ईश्वरबल्लभको शब्दलाई—
‘मेरो बेहोसीलाई सन्ताप भनी बिर्सी दे,
मेरा सबै मायाहरुलाई पाप भनी लेखी दे,
मलाई छोडिदे मलाई फेँकीदे मलाई भाँची दे..।’
कार्थकका जेठा छोरा जिमीका अनुसार क्यान्सर रोगको आशंकामा परीक्षण जारी रहे पनि ‘डाइग्नोसिस’ पूर नभएकै अवस्थामा बुधबार बिहान हरिसिद्धि अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्य अवस्था अलिक बिग्रिएपछि थापाथली निवासबाट मंगलबार मात्रै हरिसिद्धी अस्पताल ल्याइएको थियो । ७७ वर्षीय पिटरको जेठा छोरा जिमी र श्रीमती रञ्जना काठमाडौँमा छन् भने कान्छा छोरा रिकी अमेरिकामा छन् । जिमीका अनुसार पिटरको शवलाई बिहीबार क्रिश्चियन विधिअनुसार अन्तिम संस्कार गरिने छ । (यो साराको संयोजन गरिदिने पात्र भाइ देवेन्द्र भट्टराई)
त्यति गर्दा बिहान बित्नै लागेको थियो । बित्नै लागेको बेला दमक घरमा रहेको मूल घरबारीमै विद्याशिल्प एकेडेमी नामक विद्यालय सञ्चालन गरेर बसेका जन्तरे भाइ खगेन्द्र छन् भने बुहारी डा. व्यञ्जनाको चाहिँ दमक क्याम्पसमा अंग्रेजी अध्यापन ।
द राइजिङ नेपालमा धेरै समय काम गरेका भाइ र क्याम्पसमा अध्यापन गरिहेकी बुहारी अष्ट्रेलिया गए; उच्च शिक्षा खातिर, सम्पन्न आएर दुवै दमकमा छन्— मूल घरमा । उनीहरुको दुवैको अध्ययन र लेखन गम्भीर छ । उनीहरुको पुत्र विश्रुतको विद्यालय–स्तरीय शिक्षा उतै पूरा गराए । नेपाल आएपछि विश्वस्तरीय प्रतिस्पर्धा नाघ्दै अहिले विश्रुत अमेरिकामा पढ्दै छ ।
भाइ खगेन्द्रले हिजो एक लेख तयार गरेँ भनेक थिए । आज बिहानै पठाएछन्, ईश्वर त्रासदी शीर्षक एक निबन्ध ।
पढेर म आश्चर्यमा परेँ । हर्षले म हल्लिएँ । कस्तो शक्तिशाली कति गहिरो अर्थभार बोकेको यो निबन्ध । यो कोरोना कालमा यस्तो आनन्द प्रकाश दिने, दुःखका संवाहक यी इन्द्रियलाई यथास्थानमा थान्को लगाएर जीवन अस्तित्वको अन्तिम गम्भीर चिन्तनमा पु-याउने कति राम्रो निबन्ध । दोहो-याएर पढेँ र खगेन्द्रलाई अनेक बधाइ दिएँ । भनेँ पनि यस्ता ८–१० जम्मा गर संग्रह छापौँ । हाम्रो परिवारमा साहित्यदीप सदा प्रदिप्त राख्नुपर्छ, बुबा काकादेखि सर्दै अब नयाँ पुस्तामा तिमीहरूमा पुगेको छ । उँधोका नानीहरुलाई पनि त्यता प्रोत्साहित गर्नुपर्छ ।
यो गम्भीर निबन्ध पाठ सकेपछि मनलाई अलिक हल्का वस्तुमा हृदय डुलाउन मन लाग्यो । कोरोना कालमा धेरैपल्ट आइरहने एउटा हस्यरसको हिन्दी कविता आयो त्यो सुनेँ ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।