सबै कुराहरू कसैको महत्त्वाकाङ्क्षा, अभिलाषा अथवा तीव्र इच्छाबाट सृजित, सुरुवात हुन्छन् । अहिलेको विश्व महत्त्वाकाङ्क्षी अर्थात् केही गर्न वा केही हासिल गर्न तीव्र इच्छा राख्ने, प्रतिबद्ध मानिसहरूकै कारण सम्भव भएको हो । अहिले हामीले जुन जीवनशैली बाँचिरहेका छौँ, जुन सेवासुविधाहरू उपभोग गर्न पाएका छौँ, ती सबै महत्त्वाकाङ्क्षी मानिसहरूको योगदान कारण सम्भव भएको हो । यसर्थ यस विश्वलाई अल्छी र निष्क्रिय मानिसहरू होइन, महत्त्वाकाङ्क्षी र ऊर्जाशील मानिसहरूको आवश्यकता छ । स्पष्ट रूपमा भन्नुपर्दा, निकै महत्त्वाकाङ्क्षी कार्यहरू गर्न चाहने, सक्ने मानिसहरूको धेरै नै आवश्यकता छ । उदाहरणका लागि, उनीहरूले नयाँ व्यवसाय सुरुवात गरून् या परियोजना, नयाँ कुरा आविष्कार गरून् या नयाँ उत्पादन बजारमा ल्याऊन्, उपन्यास लेखून् या चित्र बनाऊन्, ती सम्पूर्ण कुराहरू उत्तिकै महत्त्वाकाङ्क्षी हुनु जरुरी छ । यस्ता महत्त्वाकाङ्क्षी सोचहरू राख्न सकिन्छ । यद्यपि ती यावत् महत्त्वाकाङ्क्षाहरू त्यति सजिलै भने पूरा हुन सक्दैनन् । उसो भए के गर्ने ?

जीवनमा कुनै पनि महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि निम्न विधिहरू अवलम्बन गर्न सकिन्छ ।

लिडर बन्ने

लिडर, अगुवा अथवा नेतृत्वकर्ताको अर्थ विविध छ । जो व्यक्तिले अग्रसरता लिन्छ, जो व्यक्तिले आफ्नो आवाज वा विचार उठाउने गर्छ, जो व्यक्तिको पहुँचमा शक्तिकेन्द्र छ, जो व्यक्ति शक्तिमा छ, उसलाई मात्र लिडर भन्न मिल्दैन । त्यसैगरी जो व्यक्तिसँग अथाह पैसा छ र त्यसैको आधारमा समूह, संस्था र राष्ट्रको नेतृत्व गर्छ, केवल उसलाई लिडरका रूपमा परिभाषित गर्न मिल्दैन । लिडर भनेको त एक त्यस्तो व्यक्ति पनि हो जसले ठूलो सोच राख्छ, जसको भिजन (दृष्टि, दिव्य दर्शन) निकै ठूलो एवं स्पष्ट छ, जो दूरदर्शी छ, जो निकै महत्त्वाकाङ्क्षी छ र जो यीनै विशेषताहरू कारण प्राकृतिक रूपमा उच्च स्थानमा रहेर नेतृत्व लिन सफल भएको छ । त्यसैले यदि तपाईँको भिजन विशाल छ, यदि तपाईँ महत्त्वाकाङ्क्षी हुनुहुन्छ भने त्यसको अर्थ हो, तपाईँ लिडर हुनुहुन्छ वा नेतृत्व तहमा पुग्ने हैसियत राख्नुहुन्छ । अनि सोहीअनुरूप तपाईँले आफ्नो राणनीतिक कदम चल्नुपर्ने हुन्छ । यसलाई यसरी बुझौँ न ।

मानौँ तपाईँ एउटा संस्थामा कार्यरत हुनुहुन्छ । मानौँ तपाईँ करिअर वा भविष्य निर्माणको संवेदनशील विन्दुमा हुनुहुन्छ । यस्तोमा मानौँ तपाईँले संस्थाको सफलताका लागि, संस्थाले सञ्चालन गर्ने परियोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि निश्चित भिजन तय गर्नुभयो । मानौँ तपाईँले आफ्नो भिजन संस्थाको कार्यकारी प्रमुख तथा सञ्चालक समितिको भन्दा कैयौँ गुणा ठूलो र स्पष्ट रहेको अनुभूत गर्नुभयो । तपाईँमा यस्तो अनुभूति जागृत हुनु भनेको तपाईँमा केही विशेष छ, तपाईँ लिडर हो भन्ने सङ्केत गर्छ । यस्तो अवस्थामा तपाईँले आफूलाई लिडरको हैसियतमा उभ्याउन सक्नुपर्छ । यसको अर्थ यो होइन कि कार्यकारी प्रमुखलाई अपदस्थ गर्न खोज्नु या सञ्चालक समितिसँग अनावश्यक रूपमा बहस, लडाइँ, तर्क गणित गर्नु । कहिलेकाहीँ आफूलाई लिडरको हैसियतमा राख्नुको सामान्य अर्थ हुन्छ, आफू आबद्ध संस्थाबाट खुसीसाथ अलग हुनु ।

अब एउटा सादृश्य परिकल्पना गरौँ । मानौँ एउटा सानो माछा एउटा सानो पोखरीमा रमाएको छ । यदि त्यो माछाले ह्वेल बन्ने इच्छा राख्यो भने? त्यो माछाले पोखरी छोड्नुपर्ने हुन्छ र समुद्रमा प्रवेश गर्नुपर्ने हुन्छ । त्यसैगरी तपाईँ निकै महत्त्वाकाङ्क्षी हुनुहुन्छ भन्नुको तात्पर्य हो, तपाईँ त्यही सानो माछाले जस्तै ठूलो ह्वेल बन्ने इच्छा राख्नु । यस्तोमा तपाईँ संलग्न रहेको संस्था तपाईँलाई एउटा सानो पोखरीजस्तै लाग्छ । त्यो सानो पोखरीमा तपाईँको महत्त्वाकाङ्क्षा पूरा हुन सक्दैन । त्यसैले तपाईँ संस्था छोडेर नयाँ अवसरहरूको समुद्रमा प्रवेश गर्न तयार हुनुपर्छ । जब तपाईँ यस्तो कार्यविधिअनुसार अगाडि बढ्नुहुन्छ, तपाईँ एक दक्ष लिडरको वर्गमा समाहित हुन पुग्नुहुन्छ ।

कसैको अनुमति कुरेर नबस्ने

तपाईँको महत्त्वाकाङ्क्षा अरू कुनै व्यक्तिबाट पूरा हुन सक्दैन । कुनै पनि महत्त्वाकाङ्क्षा पूरा गर्न विशेष भूमिका खेल्ने एकमात्र व्यक्ति भनेको तपाईँ आफैं हो । तपाईँ नै आधिकारिक व्यक्ति हो । आफ्नो मनको आवाज सुन्ने कोसिस गर्नुस् । अरू कसैको भर र भ्रममा नबस्नुस् । अरूको मान्यता र अनुमति कुरेर नबस्नुस् । तपाईँलाई जे सही लाग्छ, जे मन लाग्छ सो कार्य तत्काल गर्नोस् । लामो समयानुकूल परिस्थिति कुर्ने नगर्नुस् । सुरुवात गरेपछि नै परिस्थिति अनुकूल हुँदै जान्छ । तपाईँ जति धेरै समय प्रतीक्षा गर्नुहुन्छ, त्यति नै धेरै अवसरहरू गुमाउन पुग्नुहुन्छ । केवल अरूले छाडेका अवसरहरू वा परिणामहरू प्राप्त गर्नुहुन्छ । जुन तपाईँका लागि उपयुक्त हुन्छ र तपाईँको अभिलाषा पूरा गर्न सहयोग गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । केही उदाहरणहरू चर्चा गरौँ ।

मानौँ तपाईँको मनमा एउटा गज्जबको व्यापार आइडिया उत्पन्न भयो । मानौँ तपाईँलाई त्यो व्यापार आइडियाले संसार परिवर्तन गर्न सक्ने विश्वास छ तर तपाईँमा त्यो आइडिया बजार वा आम मानिसहरूबाट अस्वीकृत हुने र आफू पूर्ण रूपमा असफल हुने डर चिन्ता छ । त्यही भएर तपाईँले त्यस आइडियालाई वास्तविकतामा परिणत गर्न अधिक समय लगाउनुहुन्छ । यसो भनौँ, उचित समय र परिस्थितिको पर्खाइमा बस्नुहुन्छ । मानौँ तपाईँकै जस्तो आइडियामा कसैले व्यापार सुरुवात गऱ्यो । अन्ततः उसले अनपेक्षित सफलता पनि पायो । यसरी तपाईँ आफ्नो आइडियामार्फत संसार परिवर्तन गर्ने महत्त्वाकाङ्क्षा पूरा गर्न सक्नु हुन्न । यस्तोमा तपाईँलाई पश्चात्ताप गर्नुको विकल्प हुँदैन । त्यसपछि तपाईँ अरूले छाडेका कुनै व्यापार आइडिया या अवसरमा काम गर्न बाध्य हुनुहुन्छ ।

त्यसैगरी मानौँ तपाईँ अति महत्त्वाकाङ्क्षी हुनुहुन्छ । कुनै एउटा प्रतिष्ठित संस्थामा कार्यरत हुने ठूलो महत्त्वाकाङ्क्षा छ तर तपाईँले आफ्नो क्षमता चिन्न सक्नु भएन । आफैँलाई शतप्रतिशत विश्वास गर्नु भएन । त्यही भएर तपाईँले त्यस संस्थामा आवेदन दिन आनाकानी गरिरहनुभयो । मानौँ तपाईँकै क्षमता बराबरको कुनै एक व्यक्तिले त्यस संस्थामा आवेदन दियो र त्यहाँ संलग्न हुन सफल पनि भयो । यसरी तपाईँले त्यस संस्थामा कार्यरत हुने महत्त्वाकाङ्क्षा पूरा गर्न सक्नु हुन्न । यस्तोमा तपाईँलाई पश्चात्ताप गर्नुको अर्को विकल्प हुँदैन । त्यसपछि तपाईँ अरूले छाडेका वा अरूको प्राथमिकतामा नपरेका कुनै संस्थामा संलग्न हुनुपर्ने हुन्छ ।

त्यसैले आफ्नो महत्त्वाकाङ्क्षाप्राप्तिको मार्गमा सक्रिय हुन ढिलाइ नगर्नुस् । अरू कसैको अनुमति वा मान्यताको छाप पर्खेर नबस्नुस् ।

योद्धा बन्ने

कहिलेकाहीँ मनमा यस्ता विचारहरू आउने गर्छन्:

‘सायद मेरा सोचहरू उत्कृष्ट छैनन् । सायद मैले केही समय कुर्नुपर्ने हुन्छ । सायद मेरो कार्यकारी प्रमुख मभन्दा बढी जानकार, विद्वान् र अनुभवी छन् । सायद मैले उहाँको छत्रछायामा बसेर काम गर्नुपर्ने हुन्छ । केही समय उहाँको सहयोगी बन्नुपर्ने हुन्छ ।’

मनमा यस्ता विचारहरू उत्पन्न हुनु र सोही आधारमा निर्देशित हुनु भनेको झुटो विनम्रता कायम राख्नु हो । यदि तपाईँ झुटो विनम्रता कायम राख्ने होडमा हुनुहुन्छ भने तपाईँको महत्त्वाकाङ्क्षा पूरा हुन सक्दैन । त्यसकारण सो गतिविधिलाई तत्काल बन्द गर्नुस् र आफ्नो हृदयको आवाजलाई बढी महत्त्व दिनुहोस् । तपाईँ सधैँ कर्पोरेट प्रणालीमा रहिरहनुपर्छ भन्ने छैन । त्यसैलाई अधिकतम समय दिनुपर्छ भन्ने पनि छैन । तपाईँ आफ्नो बाटो हिँड्नुहोस् । प्रणाली, परिस्थिति वा अरूले डिजाइन गरेको तरिकाअनुसार होइन, आफूले परिकल्पना गरेको तरिकाअनुसार कार्य गर्नुस् । यदि तपाईँ प्रणालीभित्र रहेर कार्य गर्नुहुन्छ भने करिअर निर्माणमा असक्षम हुनुहुन्छ । अनि तपाईँ जीवनभरि निराश र चिन्तित हुनुहुन्छ । तपाईँलाई प्रस्टै थाहा हुन्छ । आफूले परिकल्पना गरेको तरिकाअनुसार मानिसहरूले कार्य गरेमात्र संसार परिवर्तन हुने, संस्था परिवर्तन हुने, उद्योग परिवर्तन हुने र कुनै सुन्दर चीज साकार हुने वा त्यस चीजले मूर्तरूप पाउनेमा तपाईँ आत्मविश्वासी हुनुहुन्छ तर यी कुराहरू हठात् भने हुँदैनन् । यति सजिलै यी परिवर्तनहरू सम्भव हुँदैनन् । ती सम्पूर्ण कुराहरूका लागि कडा सङ्घर्ष गर्नुपर्ने हुन्छ । ठूलो लडाइँ लड्नुपर्ने हुन्छ । त्यसैले जीवनमा महत्त्वाकाङ्क्षा पूरा गर्न योद्धा भएर लड्ने चुनौती लिनुहोस् । जे आवश्यक पर्छ, त्यो गर्नुस् । जीवनमा आइपर्ने विविध उतारचढाउ वा कठिन परिस्थितिहरू प्रभावकारी रूपमा सामना गर्नुस् । जीवनमा भाग्ने र लुक्ने नगर्नुस् । एक निडर, साहसी योद्धाका रूपमा आफूलाई स्थापित गर्नुस् ।

आफ्ना प्रतिभाहरू सेयर गर्ने

यदि तपाईँ प्रतिभाशाली, दूरदर्शी र उच्च आदर्शवादी हुनुहुन्छ भने आफ्ना प्रतिभाहरू, भिजन र उच्च आदर्शहरू सेयर गर्नोस् । आफूमा मात्र सीमित नराख्नुस् । आफूलाई ती कुराहरू सेयर गर्नबाट नरोक्नुहोस् । ससाना कुराहरूमा कत्ति पनि भुल्ने नगर्नुस् ।

तपाईँले आफ्ना प्रतिभाहरू, भिजन र उच्च आदर्शहरू विश्वलाई सेयर नगर्नु भनेको तपाईँले आफूलाई पूर्ण रूपमा विकास गर्ने अवसरबाट वञ्चित गराउनु हो । अर्को शब्दमा भन्नुपर्दा, महत्त्वाकाङ्क्षा पूरा गर्नबाट आफूलाई टाढा राख्नु हो । त्यसैगरी त्यसो गर्नु भनेको पूरै विश्वलाई तपाईँका ती कुराहरूको प्राप्ति हुनबाट वञ्चित गराउनु पनि हो । यसबाट दुवै पक्षलाई घाटा हुने देखिन्छ । त्यसैले आफूलाई आफ्ना प्रतिभाहरू, भिजन र उच्च आदर्शहरू सेयर गर्न सक्ने हैसियतमा राख्नोस् । तपाईँमा ‘तर कसरी’ भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । यस्तोमा तपाईँका लागि उपयुक्त तरिका वा माध्यम यकिनका साथ तोक्न भने सकिँदैन । कारण? हरेक व्यक्ति फरक हुन्छ । हरेक व्यक्तिको जीवनस्तर पनि फरक हुन्छ । जसकारण सेयर गर्ने तरिका वा माध्यम व्यक्तिअनुसार फरक-फरक हुन्छ । त्यसैले तपाईँ आफूलाई ती कुराहरू सयर गर्न सक्ने हैसियतको बनाउन आफैँ उचित तरिका वा माध्यमको खोजी गर्नुस् । ती कुराहरू पत्ता लगाउन पूर्ण केन्द्रित हुनुहोस् । त्यसैलाई पहिलो प्राथमिकतामा राख्नुस् र अधिकांश समय सोहीबारे सोचमग्न हुनोस् । बिहानै उठ्दा होस् या ध्यान गर्दा, चर्पी बस्दा होस् या दाँत माझ्दा, खाना खाँदै गर्दा होस् या काम गर्दा, इन्टरनेट प्रयोग गर्दा होस् या सुत्दा सोही तरिका वा माध्यमबारे सोच्ने गर्नुस् । जब तपाईँ यस किसिमको सोच प्रक्रियामा जानुहुन्छ, सशक्त आइडिया प्राप्त गर्न सक्नुहुन्छ । विविध तरिका वा माध्यम पत्ता लगाउन सक्नुहुन्छ । जसको प्रयोगले तपाईँ आफ्ना प्रतिभाहरू, भिजन र उच्च आदर्शहरू सहज रूपमा सेयर गर्न सक्ने हैसियतमा पुग्नुहुन्छ । तपाईँका लागि त्यो आइडिया आफ्नै व्यवसाय सुरुवात गर्ने हुनसक्छ । त्यसैगरी तपाईँका लागि त्यो आइडिया पहिले पैसा कमाउन लाग्ने र पछि आफ्नो महत्त्वाकाङ्क्षी योजनामा व्यस्त हुने पनि हुन सक्छ । उदाहरणार्थ, मानौँ तपाईँमा पुस्तक लेख्ने तीव्र इच्छा छ । यसका लागि पहिले पर्याप्त पैसा कमाउनुहोस् । जुन पैसा दुई-चार वर्ष घरखर्च चलाउन काफी होस् र परिवारलाई खुसी राख्न पनि सकियोस् । त्यसपछि त्यो दुईदेखि चार वर्षको अवधिमा आफूले चाहेको पुस्तक लेख्नुहोस् ।