दृश्य र डायलग चर्चित भारतीय निर्देशक सुभास घईको सिनेमा ‘कर्मा’को हो, जो किशोर बेलादेखि आजसम्म पनि सम्झनामा दुरुस्त छ । सम्झनामा छ मात्र होइन, प्रसङ्गले जिन्दगीको एउटा दुखेको पाटो छोएर बेला–बेलामा अलिकति पछुतो, अलिकति रोमाञ्च भावसमेत उत्पन्न गराइरहन्छ ।
उक्त सिनेमाको दृश्यमा लोकप्रिय कलाकार अनुपम खेर छन्, आतङ्ककारीका नाइके, खलपात्र डाक्टर डेङ्ग र सुपरस्टार दिलिपकुमार छन् जेलर राणाको भूमिकामा । जब जेलमा बसी–बसी डाक्टर डेङ्गले बाहिर आतङ्कवादी गतिविधिको नेतृत्व गरिरहेको खबर फैलिन्छ, जेलर राणा उत्तेजित हुँदै आएर डाक्टर डेङ्गको गालामा कस्सेर एक थप्पड हिर्काउँछन् ।
थप्पड खाइसकेपछि डाक्टर डेङ्ग अर्थात् अनुपम खेर, जेलर बनेका दिलिपकुमार अर्थात् राणालाई भन्छन्– ‘डाक्टर डेङ्गको आज तुने थप्पड मारा है । इस थप्पडकी गुन्ज सुनी तुमने … अब इस गुन्ज की गुन्ज तुम्हे सुनाइ देगी राणा, जिन्दगीभर सुनाइ देगी ।’
१९८६ अगस्त ८ (२०४३ साउन २४)मा रिलिज भएको कर्मा सिनेमाको यो दृश्य र यो डायलग ३५ वर्षदेखि छाया बनेर मसँगसँगै हिँडिरहेको छ । सायद बाँचुञ्जेल यसले मलाई पछ्याउन छोड्ने पनि छैन ।
यद्यपि कर्मा सिनेमाको त्यो दृश्यमा देखाइएको थप्पड हनाइ वास्तविक थिएन, खाली हाने जस्तो गरेर खिचिएको थियो । यसबारे म थप केही अलिबेरमा बताउनेछु । तर सुरुमा दिलिपकुमार र थप्पडको झङ्कार (गुन्ज)सँग सम्बन्धित एउटा अर्को बलिउड गसिप सुनौँ ।
बलिउड मिडियामा दिलिपकुमार र राज कुमारमध्ये को सुपरस्टार हो भन्ने हानथाप भइरहन्थ्यो । मायापुरीले दिलिप कुमारलाई अगाडि बढाउँथ्यो भने फिल्मी कलियाँले राज कुमारलाई अगाडि बढाउने गथ्र्यो ।
मिडियाको असर बिस्तारी जीवनमा पनि देखिन थाल्यो । जानी नजानी अघोषित शीतयुद्ध चर्केको थियो, दुवै कुमारहरूका बीचमा । हुँदाहुँदा दिलिपकुमार र राजकुमार सँगै फिल्म खेल्न छोडिसकेका थिए । स्टारडम घमण्ड भ्यागुतोजस्तो फुलेको थियो ।
तिनै दिनहरूमा एउटा फिल्म थप्पडका कारणले निकै चर्चित हुन पुग्यो । भएको के थियो भने फिल्मको एउटा दृश्यमा राजकुमारले दिलिपकुमारलाई थप्पड हान्नुपर्ने थियो र डायलग थियो– यह थप्पड की गुन्ज तुम्हे वर्षौँ तक सुनाइ देगी !
सन् १९५९ मा उसबेलाका स्टार कलाकारद्वय दिलिपकुमार र राजकुमार भएको ‘पैगाम’ सिनेमाको कुरा हो यो । सिनेमामा राजकुमार दाजु र दिलिपकुमार भाइको भूमिकामा थिए । सिनेमाको एक दृश्यमा राजकुमारले दिलीपकुमारलाई थप्पड हान्नुपर्ने थियो र उल्लिखित संवाद बोल्नुपर्ने थियो ।
छायाङ्कनका बेला राम जाने के भयो, राजकुमारले दिलीपकुमारलाई साँच्चिकै कस्सेर थप्पड हाने । राजकुमारको यस हर्कतले दिलीपकुमार स्तब्धमात्र भएनन्, उप्रान्त राजकुमारसँग कहिल्यै काम नगर्ने कसम पनि खाए । बलिउडमा यो शीतयुद्ध ३२ वर्ष चल्यो । ३२ वर्षपछि भने ‘सौदागर’ नामक सिनेमामा दुवै कुमारहरू सँगै काम गर्न सहमत भएका थिए, जसमा नेपाली चेली मनिषा कोइराला नायिका थिइन् ।
यद्यपि थप्पडको इख ३२ वर्षसम्म पनि कायमै थियो । सौदागरको सेटमा दुवै बोलेनन्, कथाले मागे अनुसार आफ्नो–आफ्नो काम गरे, फर्किए । तथापि शीतयुद्धको सिलसिलामा भने क्रमभङ्ग भयो ।
यस्तै केही थप्पडहरूको गहिरो प्रभाव छ मेरो जीवनमा ।
२०४० सालमा म आठ कक्षामा थिएँ । इनरुवा बसचोक उत्तर, हामी पढ्ने भगवती स्कुलबाट पनि उत्तर, बाबुराम बराल दाइहरूको घरपछाडि पानी–टङ्की बनिरहेको थियो । बनिरहेको मात्र थिएन, लगभग काम सकिने चरणमा थियो ।
म सर्वे गर्दाकै बेलादेखि पानी–टङ्की निर्माणको साक्षी थिएँ । यसो अलिकति समय उब्रियो कि पानी–टङ्की निर्माणस्थलमा रमित हेर्न कुदिहाल्थेँ । हेरेर धेरै कुरा सिक्नुथियो । दिनदिनै जाने हुँदा लेबर–मिस्त्री र कर्मचारीसँग चिनजान नै थियो, मलाई आउन–जान कुनै छेकबार थिएन । लेबर–मिस्त्रीलाई सानोतिनो काम सघाउँथे पनि ।
त्यही क्रममा एकदिन टिफिन भएको बेलाको कुरा हो । माथि टङ्कीको छतमा अलकत्राको कार्पेट ओछ्याउने काम हुँदै थियो । म टङ्कीको छतमा बसेर जोगबनीको रेल हेर्दै थिएँ । धुँवा फाल्दै गुडेको रेल प्रस्टै चिनिन्थ्यो ।
त्यहीबेला एक जना मिस्त्रीले कार्पेटको छेउ समात्न भने । संयोग मैले नजानेर हो वा के भएर हो, समातेको ठाउँमा अलकत्राको कार्पेट चुँडियो, म खुट्टा माथि टाउको तल भएर लडेँ । धन्न, मेरो बाँच्ने दिन ! एक जना अर्को मिस्त्रीले च्याप्प खुट्टा समाते । र म ट्याङ्कीको बिटमा हात टेकेर बाँचेँ ।
त्यसपछि हंसले ठाउँ छोडिएको म डराउँदै–डराउँदै कसरी स्कुल आइपुगेँ ? यसअघि मैले तपाईलाई भनिसकेको छु । यहाँ प्रसङ्ग थप्पडको छ, थप्पडकै कुरा गरौँ ।ं
टिफिनपछिको घन्टी लागिसकेको थियो । र म चुपचाप कक्षापछाडि गएर बसेको थिएँ । कक्षाको प्रथम विद्यार्थी भएकाले सामान्यतया म अगाडिकै ब्रेन्चमा बसेको हुन्थेँ । मलाई कक्षामा जता बस्न पनि छुट थियो । कहिले केटीहरू बसेकै ब्रेन्चमा पनि बसिरहेको हुन्थेँ । तर त्यो बेला म पछाडि गएर बसेँ ।
अगाडि देखिने गरी बस्दा सरले प्रश्नको उत्तर सोध्नुहोला भनेर त्यसबाट तर्किन म पछाडि गएको थिएँ । केही समयअघि मैले जुन घटना बेहोरेको थिएँ, त्यसपछि त्यो दिनका लागि मैले केही सोच्ने, पाठका सवालको जबाफ दिने क्षमता, मुड सबै गुमाएको थिएँ । तर साथीहरूले म पछाडि जानुको कारणबारे कुनै ‘मार्क’ गरेनन् ।
मैले सोचेको थिएँ, पानी–टङ्कीमा भएको त्यो घटनाको भेउ स्कुलमा कसैलाई छैन । तर स्कुलमा हल्ला फिँजिइसकेको रहेछ । हल्ला फिँजिइसकेको रहेछ मात्र होइन, कक्षा–कक्षामा सूचना नै सुनाइँदै रहेछ । टिफिनलगत्तै हाम्रो कक्षामा पञ्चायत पढाउन हेडसर गोकुलप्रसाद श्रेष्ठ आउनुहुने भएकाले सूचना सुनाइएको रहेनछ ।
हेडसर कक्षामा आउनेबित्तिकै भन्नुभयो– अहिले सूचना पनि आउँछ होला, तर एउटा कुरा ध्यान दिइराख । अबदेखि कसैले पनि आफ्ना भाइ–बहिनीहरूलाई त्यो पानी–टङ्की बनाएको ठाउँतिर खेल्न जान नदिनू !
हेडसरले यति के भन्नुभएको थियो, देब्रे (ढोका)तिरको दोस्रो ब्रेन्चको बीचमा बसिरहेको साथी मोहन (कोइराला) जुरुक्क उठ्यो र हेडसरलाई सोध्यो– सर ! जसको भाइबहिनी छैन, त्यसले के गर्ने ?
मोहनको प्रश्न सुनेर साथीहरू गललल हाँसे । हेडसर क्षुब्ध हुनुभयो । उहाँ आवेगले भरिएर मोहनको छेउमा जानुभयो र टाउको समातेर घोप्ट्याउँदै ढाडमा एक ड्याम्का (थप्पड) लगाउनुभयो ।
मोहन थुचुक्क ब्रेन्चमा बस्यो । हेडसरको आवेग केही शान्त भयो सायद, पढाउन छोडेर त्यत्तिकै बाहिर निस्किनुभयो । कक्षाको वातावरण एकाएक चकमन्न भयो । कसैले यो सब हुनुको पृष्ठभूमिमा कारण मेरोे छ भन्ने लख काट्न सकेनन् । तर अप्रत्यासित त्यो घटना मेरो मुटुमा काँडो बनेर गाडियो ।
त्यो दिन हेडसरले मोहनको ढाडमा हानेको थप्पड सायद हेडसरले बिर्सिनुभयो होला । स्वयम् मोहन र अरू साथीहरूलाई सम्झना छ कि छैन, थाहा छैन । तर त्यो ड्याम्म आवाज (झङ्कार) भने अहिले, ३८ वर्षपछि पनि मेरो कान छेउछाउ गुन्जिरहेकै छ ।
अझ योभन्दा केही अघिको कुरा हो । एक दिन म, सञ्जय लुइटेल, अजय मण्डल, भोला दाहाललगायत साथी मिलेर राजकुमार शाहीको कोठामा लुकेर तास खेल्दै थियौँ । त्यही बेला कताबाट निरप्रसाद कोइराला सर आइपुग्नुभयो ।
निरप्रसाद सर र राजकुमारको घर बाटो वारिपारि थियो । साँझ–बिहान निरप्रसाद सर, गोपाल काफ्ले सर र राजकुमारको बुबा (भोजबहादुर शाही)को भेटघाट, गफ विमर्श हुने ठाउँ राजकुमारको बार्दली थियो । अगाडि बार्दलीमा दुइटा काठको कुर्सी र एउटा लामो ब्रेन्च राखिएको हुन्थ्यो ।
हामी बार्दलीसँगै रहेको राजकुमारको कोठामा तास खेल्दै थियौँ । सर आएको सङ्केत पाउनासाथ केटाहरू ज¥याकजुरुक उठेर कोही ब्रेन्चमा गएर बसे, कोही भित्र पसे । कोठामा तास त्यत्तिकै थियो ।
मेरो पालो तास हत्तपत्त समेटेँ र बाहिर छेउको कुर्सीमा तास राखेर त्यसैमाथि चुपचाप बसेँ ।
गोपाल सर पनि सँगै आउनुभएको रहेछ । गोपाल सर आएर सरासर ब्रेन्चमा बस्नुभयो र मलाई निरप्रसाद सरका लागि कुर्सी छोडिदिन भन्नुभयो ।
तर मेरो बाल–बुद्धि ! म कुर्सीबाट उठ्दा तास देखिने डरले कुर्सीमै बसिरहेँ । आफू जोगिनु र साथीहरूलाई पनि जोगाउनु थियो । मैले कुर्सीमा बसी–बसी भनेँ– त्यहाँ ब्रेन्चमा ठाउँ खाली नै छ त, सरले त्यहाँ बस्दा हुँदैन !
मेरो त्यसो भन्नुको मनासय गुरुको अनादर गर्नु थिएन । केवल केहीबेर कुरा गरेर सर गइाहल्नुहुन्छ, अनि तास व्यवस्थापन गर्नुपर्छ भन्ने थियो । तर सरले मेरो कुरालाई गम्भीरतापूर्वक लिनुभयो ।
निरप्रसाद सर सरासर मछेउ आउनुभयो र मलाई घोप्टो पारेर ढाडमा एक ड्याम्का लगाउनुभयो । ढाडमा सरको थप्पड पाएपछि भने मेरो होस् खुलेजस्तै भयो र म रन्थनिँदै दुवै हातमा अँटेजति तास मुठ्याएर सरसर घरतिर लागेँ । त्यहाँ एक–दुई पत्ति तास छुटे पनि होलान्, तर त्यसको हेक्का छैन । थप्पडको झङ्कार भने अहिलेसम्म बिर्सेको छैन ।
तर मैले यी दुई थप्पडवाला प्रसङ्ग सुनाउन सुरुमा अनुपम खेर र दिलिपकुमारको गसिप जोडेको होइन । मेरो जिन्दगीमा मलाई लखेटिरहेको, अनुपम खेरले भने जस्तो पर–परसम्म सुनिएको थप्पडको झङ्कारवाला प्रसङ्ग भने अर्को छ, जुन थप्पड प्रसङ्गमा क्षुब्धता, बदला भाव र सहनुको सीमान्त अनुभूति घोलघाल भएको छ ।
मलाई अझ पनि लाग्छ जिन्दगीमा मेलै कुनै न कुनै दिन यस कुराको ‘बदला’ लिनै पर्छ । अरू केही नगरे पनि जो पात्र हो, उसलाई त्यो दिन भएको गल्तीको अनुभूति गराउनै पर्छ ।
किशोरावस्थामा मैले बेहेरोको त्यो थप्पड–प्रसङ्ग म सात कक्षा पढ्दाताकाको हो । मैले यो कुरा मेरा केही क्लोज–फ्रेन्डबाहेक अरूलाई सुनाएको थिइनँ । आज झन्डै चार दशकपछि प्रसङ्गवश सार्वजनिक गर्न मन लागेको छ ।
सोमबारे घर भएका एक जना कानुन–व्यवसायी थिए, छन् विनोद निरौला । छिमेकी मधुकर सापकोटा दाइका मित्र थिए उनी । उनको एउटा साइकल थियो । साइकल चढेर मधुकर दाइलाई भेट्न आइरहन्थे ।
बसचोकमा मधुकर दाइको बुकिङ काउन्टर थियो । म पढाइ सँगसँगै बिहान–बेलुका र छुट्टीको दिन समय मिलाएर, मधुकर दाइको सहयोगी भएर काउन्टरमा काम गर्थेँ ।
त्यस्तैमा एक दिन म काउन्टरमा पुगेपछि, मधुकर दाइ खाना खान साइकल चढेर घर आउनुभयो । त्यो साइकल त्यही विनोद निरौलाको रहेछ, तर मलाई थाहा थिएन ।
खाना खाएर आएपछि मधुकर दाइ काउन्टर, घुम्तीछेउमा साइकल राखेर महेन्द्र पोद्दार दाइको काउन्टरतिर जान लाग्नुभयो । मैले ‘दाइ, म एकछिन साइकल लान्छु ल,’ भनेर मागेँ ।
ती दिनहरूमा म साइकलमा कैँचीमार स्टाइलबाट भर्खर–भर्खरै सिटमा पदोन्नति भएको थिएँ । अर्थात् सिटमा बसेर मजाले साइकल चलाउन सक्ने भइसकेको थिएँ, त्यो पनि हाफ होइन, फुल पाइडल । सम्भाव्य साइकल देख्यो कि मागिहाल्थेँ ।
मधुकर दाइले टाउकोले ‘हुन्छ’ को इशारा गरेपछि म साइकल लिएर बजार, गुद्रीचोक आएँ । गुद्रीचोकबाट सखुवागाछी, महेन्द्रचोक हुँदै बसचोक आएँ । उता मैले त्यसरी एक फन्को मार्दै गर्दा यता बसचोकमा विनोदको साइकल चोरी भयो भन्दै हल्लखल्ल र खोजी भएछ ।
मधुकर दाइलाई सोध्दा ‘खोइ, मैले त साइकल यही राखेको हो,’ भन्दै घुम्तीपछाडिको खाली ठाउँ देखाउनुभएछ । पछि थाहा भयो दाइलाई मैले ‘म एकछिन साइकल लान्छु ल !’ भनेकोलाई ‘म एकछिन घर जान्छु ल !’ भन्ने सुन्नुभएछ ।
यता, करिब एक घण्टापछि साइकल लिएर जसै म बसचोक पुगेँ, ह्वारर्र मान्छेले घेरिहाले । म यसरी मान्छेले मलाई किन घेरा हाले भनेर बुझ्न खोज्दै थिएँ, साइकलको हेन्डिल समातिरहेकै थिएँ, एकाएक होटलतिरबाट विनोद निरौला हुर्रिएर आए र केही सोधपुछ नगरी मेरो गालामा एक झापड हिर्काए ।
त्यो बेला उनले मेरो दाहिने गालामा हिर्काए कि देब्रे गालामा हिर्काए ? त्यो सम्झना छैन । तर कलिलो गालामा थप्पडको दबाब निकै गतिलो थियो, जसको तरङ्ग आज पनि मेरो वरिपरि घुमिरहेको छ ।
ती दिन थिए, यी दिन आए । म्वाइ खाने ठाउँमा दाह्री पलाए । तर त्यो दिनको कुटाइको सम्झना आज पनि जस्ताको त्यस्तै छ ।
कुरो बुझ्दै–नबुझी ‘भाइ’लाई कुटेको देखेर मधुकर दाइ पनि ‘साथी’सँग निकै जङ्गिनुभयो । रमित हेर्ने अरूहरू पनि रिसाए । म कलिलै थिएँ, प्रतिकार गर्न सक्ने अवस्थामा थिइनँ ।
चोकमा मेरो बानी सबैलाई थाहा थियो । म नाहकमा कुटिएकोमा मलाई मात्र होइन, देख्ने–सुन्ने कसैलाई पनि चित्त बुझेन । कारण उनले मलाई झापडमात्र हानेनन्, ‘साला, साइकल चोर,’ भनेर नचाहिँदो अप्टिक पनि लगाएका थिए ।
…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।