
केही वर्षअघिसम्म सूचना प्रविधिका हिसाबले हाम्रो देश नेपालपछि परेको भए तापनि हालका दिनहरूमा निकै अगाडि बढिसकेको पाइन्छ । सामाजिक सञ्जालको विस्तार अथवा इन्टरनेटको विकास सँगसँगै सूचना प्रविधिले गुणात्मक फड्को मारेको छ । मोबाइल, कम्प्युटर, ल्याप्टपजस्ता विद्युतीय सामग्री तथा साधनको प्रयोग गरी मानिस इन्टरनेटका माध्यमबाट विश्वलाई नै एउटा घरमा परिणत गर्न सफल भएको छ । दिनप्रतिदिन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सङ्ख्या पनि दिन दुगुना र रात चौगुना बढ्दै गइरहेको छ । फेसबुक, म्यासेन्जर, ट्वीटर, युट्युब, टिकटक, भाइबर, इमो, इन्स्टाग्राम, ह्वाट्स एप तथा ब्लग आदिजस्ता सामाजिक सञ्जालले विश्वमा हुने हरेक ताजा खबर वा सूचनामा सबैको पहुँच पुर्याएको छ । सामाजिक सञ्जाल विज्ञान तथा प्रविधिको एक अनुपम उपहार हो । यसले विश्व मानव समुदायलाई सूचना तथा सञ्चारका माध्यमबाट भौतिक वा भौगोलिक रूपमा जतिसुकै टाढा भए पनि सूचना आदानप्रदानका दृष्टिले अत्यन्त नजिक तुल्याएको छ । यो कतिपयका लागि आफन्त, इष्टमित्रसँगको सम्बन्ध स्थापित गर्ने एकान्तको साथी र बिछोडिएका तथा टाढिएका साथीभाइसँग भेट गराइदिने माध्यम नै बनेको छ भने कतिपयका लागि अरूलाई हानि पुर्याउने, बदला लिने, प्रतिशोध साध्ने वा गलत नियत र मनसायले कसैको निजी तथा पारिवारिक जीवनमा चोट पुर्याउन प्रयोग गर्ने साधन बनेको छ । सर्वसाधारण नागरिक र समाजका प्रतिष्ठित व्यक्तिलाई अनावश्यक हैरानी दिने, नैतिक चरित्रहत्या गर्ने, सताउने तथा त्यस्ता कार्यबाट आफूलाई फाइदा लिन सामाजिक सञ्जाललाई हतियारका रूपमा प्रयोग गर्ने साधन पनि बनाएको पाइन्छ ।

गरिमा पाण्डेय
सूचना प्रविधिका विभिन्न माध्यमहरूमध्ये टिकटक पनि एउटा महत्त्वपूर्ण र लोकप्रिय माध्यम हो । यो मनोरञ्जन तथा व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि समेत त्यत्तिकै प्रभावकारी देखिएको छ । विश्वका अधिकांश मुलुकमा आफ्नो बजार विस्तार गर्न सफल टिकटक के वृद्ध, के बालबालिका, युवायुवती, किशोरकिशोरी वा महिलापुरुष सबैले त्यत्तिकै रुचाइएको देखिन्छ । यसो हुँदाहुँदै पनि टिकटकको नाममा थुप्रै विकृतिविसङ्गतिहरू दिनप्रतिदिन बढ्दै गरेको देखिन्छ, जसले गर्दा समाजले टिकटकलाई वरदान वा अभिशाप कुन रूपमा बुझ्ने र स्विकार्ने भन्ने बारेमा गम्भीर प्रश्न र चुनौतीहरू थपिएका छन् ।
मलाई आजसम्म धेरै जना साथीहरूले सोधे,“तिम्रो टिकटक अकाउन्ट छ कि नाइँ ? तिमी टिकटक भिडियो बनाउँछ्यौ कि नाइँ ? तिमी टिकटकमा कहिल्यै देखिन्नौ त ? कहिलेकाहीँ टिकटक चलाए पनि हुन्थ्यो नि । अमुक अमुक व्यक्तिले बनाएको टिकटक त साँच्ची नै हेर्न लायक छ नि । तिमीले हेर्यौ ?” यस्ता तमाम प्रश्नहरू आउँछन् तर मसँग जबाफमा ‘छैन’ भन्दा आजको जमानामा टिकटक अकाउन्ट नबनाउने मान्छे पनि हुन्छन् ? भनेर सोध्ने थुप्रै भेटिन्छन् । वास्तवमा आजकल आफैँले नबनाए पनि अल्छी लागेको समयमा कहिलेकाहीँ अरूले बनाएका टिकटक भिडियो म पनि हेर्ने गर्छु । लाग्छ यो सबैको लागि जीवको अभिन्न अङ्ग बन्दै गएको हो कि अथवा समय बिताउने, विरक्ति भगाउने, मनोविनोद गर्ने या हास्यात्पद, मनोरञ्जनका लागि भिडियो बनाएर लाइक, कमेन्ट, फलोअर्स बढाउने र आयआर्जन गर्ने उद्देश्यले बनाइएका हुन् छुट्याउन गाह्रो छ । कतिपय टिकटक त परिवारका बिचमा बसेर हेर्नै नमिल्ने खालका पनि हुन्छन् । यस्ता टिकटकहरू कतै शरीरको विज्ञापनका लागि त भएको हैन अथवा अङ्ग प्रदर्शन ? जसले समाजमा आपराधिक मनोवृत्तिका व्यक्तिलाई प्रोत्साहित त गरिरहेको छैन ? यसप्रति आजको सचेत युवापुस्ता गम्भीर हुन जरूरी छ किनकि मैले आजसम्म सामाजिक सञ्जालमा प्रसारित टिकटकजन्य अधिकांश भिडियो र क्याप्सन हेर्दा केहीले सकारात्मक सन्देश दिए तापनि अश्लीलतायुक्त टिकटक नै बढी देखेकी छु, जुन मलाई आफ्ना परिवारका सदस्यहरूसँगै बसेर हेर्न पनि लाज लाग्ने खालका हुन्छन् । केही व्यक्तिका गला र कलाले मलाई प्रभावित बनाए पनि नकारात्मकता र अश्लीलताले भरिएको टिकटक भिडियोले भने समाज र आजको पुस्ता कता जाँदै छ भन्ने प्रश्नले मलाई निराश बनायो । यस्ता टिकटक भिडियोमा सकारात्मक सन्देशभन्दा पनि बढी नकारात्मता नै हावी भएको पाइन्छ, जसले सानासाना बालबालिकाहरूलाई समेत प्रत्यक्ष रूपमा नकारात्मक असर पार्ने देखिन्छ ।
टिकटकको निर्माण, प्रसारणले आजको बदलिँदो परिस्थितिलाई नजिकबाट नियाल्दा सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएको देखिन्छ, जसले गर्दा व्यक्ति, परिवार, समाज तथा राष्ट्र नै गम्भीर सामाजिक समस्याको दलदलमा फस्न सक्ने चुनौती थपिएको छ । यसलाई सामाजिक र कानुनी रूपमै उचित व्यवस्थापन र नियन्त्रण समयमै गर्न सकिएन भने यसले विकराल रूप लिन लामो समय पर्खिनु पर्दैन । तसर्थ यस्ता नराम्रा पक्षहरूको अनुकरण गरेकैले हाम्रै छिमेकी मुलुक भारतलगायतका कतिपय देशमा सुरक्षाको कारण देखाई टिकटकमाथि नै प्रतिबन्ध लगाइएको उदाहरण पनि छ । हाम्रो नेपाली समाजमा पनि टिकटकका राम्रा पक्षहरूभन्दा नराम्रा पक्षहरू दिनप्रतिदिन बढी हाबी भएको पाइन्छ ।
छोटो समयमै अन्य सामाजिक सञ्जाललाई उछिन्दै नेपाली बजारमा राम्रै स्थान लिन सफल भएको टिकटकमा भिडियो बनाउँदा सानो असावधानीले पनि ठुलो दुर्घटनाको सिकार बन्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो समय किशोरकिशोरीका लागि लत बनेको सामाजिक सञ्जाल टिकटकका कारण बालबालिका तथा किशोरकिशोरीदेखि अन्य युवायुवतीहरूले समेत अन्धानुकरण गर्न खोज्दा ज्यान गुमाएका छन् । टिकटकमा भ्युज, लाइक र फलोअर्स बढाउन विभिन्न जोखिमपूर्ण काम गर्ने, अनौठो दृश्य अपलोड गर्ने, अस्वाभाविक पोजमा तस्बिर र भिडियो खिच्ने अस्वस्थ होडबाजी र तीव्र प्रतिस्पर्धा प्रायजसो टिकटकप्रेमीमा देखिन्छ, जसले गर्दा टिकटक बनाउने नाउँमा सानासाना बालबालिकादेखि किशोरकिशोरीहरू, युवायुवतीहरू र प्रौढावस्थाका समेत थुप्रै व्यक्तिले अकालमै ज्यान गुमाएका समाचार दिनप्रतिदिन पढ्न र सुन्न पाइन्छ ।
सामाजिक सञ्जाल टिकटकको नाममा घटित घटनाहरूमध्ये गत साल माघ महिनामा पोखरा महानगरपालिका-१४, मनकामना टोल बस्ने आठ वर्षीया बालिका प्रनिशा बानियाँ घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न गई गम्भीर घाइते भइन् । उपचारका क्रममा उनको मृत्यु भएको थियो । यस्तै गत साल पुस महिनामा सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउने क्रममा बबई नदीको झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१९, बिजौरी निवासी २४ वर्षीय रमेश थापाको उपचारको क्रममा मृत्यु भयो । २०७६ साल पुस महिनामा टिकटक भिडियो बनाउनकै लागि बन्दुकको प्रयोग गर्दा भूलवश आफ्नो कन्चटमा गोली चलेर १८ वर्षीय युवकको मृत्यु भएको थियो । गत वैशाखमा धरानबाट ओखलढुङ्गा आउँदै गरेका धरान-५ का १८ वर्षीय सुवास परियारको उदयपुरको कटारी नगरपालिका-११, हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको थियो । यसैगरी गत जेठमा उदयपुरमा सलको पासो लगाई टिकटक भिडियो बनाउने क्रममा ११ वर्षीया बालिका सञ्जिता बस्नेतको झुन्डिएर मृत्यु भएको खबर समाचारमा पढ्न र सुन्न पाइएको थियो । केही दिनअगाडि मात्र तनहुँमा टिकटक बनाउने क्रममा चिप्लिएर १९ वर्षीया पवित्रा लम्साल सेती नदीमा खसेको घटना र गत भाद्र ३१ गते कक्षा १२ को परीक्षामा परीक्षार्थीले परीक्षा हलभित्र अङ्ग्रेजी विषयको उत्तरपुस्तिका पल्टाउँदै गरेको टिकटक भिडियो बनाएका घटना टिकटकका नकारात्मक प्रतिनिधि घटना हुन् । यस्ता घटनाको खोजी गर्ने हो भने असङ्ख्य भेट्न सकिन्छ । यी त भए नेपालमा घटेका केही प्रतिनिधि घटनामात्र । २०७८ साल गत भाद्रमा विभिन्न पोजमा टिकटक भिडियो खिच्ने क्रममा टर्कीकी २३ वर्षीया युवतीको नौ तलाबाट खसेर ज्यान गएको थियो । यी र यस्ता विविध घटना थुप्रै घटेका छन् हाम्रो समाजमा । अब भन्नुस्, “हाम्रो समाज कतातिर जाँदै छ अनि टिकटक हाम्रो समाजका लागि वरदान कि अभिशाप ?” आफै मूल्याङ्कन गर्नुहोस् ।
आधुनिक युगमा खानेकुरा, रक्सी, जुवातास तथा अन्यको मोहसँगै टिकटकजस्ता सामाजिक सञ्जालको लत र मोह पनि चुलिँदो छ । टिकटकमा सबै उमेर समूहको विशेष रूचि, आकर्षण र लगाव रहेको पाइन्छ । टिकटक बनाएर भाइरल हुने क्षणिक उद्देश्यले र अरूको नक्कल गर्दा ज्यानै जोखिममा पार्ने गरेको पाइन्छ । साथै हाम्रो सामाजिक रीतिरिवाज, संस्कृति र परम्परालाई नै पूणर्तः तिलाञ्जलि दिन पछि नपर्ने परिपाटि क्रमशः विकास भइसकेको ज्वलन्त उदाहरण यसपालिको तीजको अवसरमा अपलोड गरिएका उत्तेजक र उत्ताउला भिडियोले थप प्रस्ट पारिदिएका छन् । टिकटकमा उपलब्ध सबै भिडियोहरू नकारात्मक छैनन् । कतिपयले सामाजिक सचेतना र सुधारको सन्देश दिनुको साथै ती कलात्मक पनि छन्, जो समाजका लागि शिक्षाप्रदसमेत छन् । तिनको गुणग्राही बन्नैपर्छ तर टिकटकका अधिकांश भिडियोहरू नेपाली समाजले सहजै स्विकार्न नसक्ने गतिछाडा, अश्लील र समुदायको सामाजिक सद्भाव खलबलाउने खालका छन् । यी नितान्त सामाजिक विकृति र विसङ्गतिका द्योतक हुन्, जसलाई समयमै नियमन, नियन्त्रण र व्यवस्थित गर्न सबै जिम्मेदार पक्षले ध्यान दिनु आवश्यक छ । अन्यथा भविष्यमा यसले विकराल रूप लिने र सामाजिक सद्भावमा समेत गम्भीर चुनौती खडा गर्न सक्छ ।
अतः टिकटकजस्ता सामाजिक सञ्जालका सकारात्मक पक्षलाई ग्रहण गर्दै नकारात्मक पक्षलाई दुरुत्साहित गर्दै जानुपर्छ । यसको प्रयोग के, कसरी र कुन किसिमले गर्ने भन्ने कुरा प्रयोगकर्तामै निर्भर हुन्छ । प्रयोगकर्ताहरूले यसको प्रयोग गर्दा माथि उल्लिखित धेरै कुरामा ध्यान पुर्याउनुपर्छ, जुन कुरा मानवजीवनसँग प्रत्यक्ष जोडिएका छन् र ती संवेदनशील पनि हुन् । टिकटक प्रयोग गर्न जान्नेका लागि वरदान साबित हुन सक्छ भने प्रयोग गर्न नजान्नेका लागि अभिशाप सिद्ध हुन सक्छ । तसर्थ यस्तो संवेदनशील पक्षलाई दृष्टिगत गरी प्रयोगकर्ता, द्रष्टा र अन्य सम्बद्ध निकायले समाजका लागि स्वीकार्य हुने गरी टिकटकजस्ता सामाजिक सञ्जालको उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्नुपर्दछ । यसो हुन सकेमा यसप्रति सबै पक्षले गम्भीर, संवेदनशील र सचेत भएर सामाजिक सञ्जालअन्तर्गत टिकटकको प्रयोगलाई अभिशाप हुन नदिई वरदानका रूपमा परिणत गर्न सक्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

