साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युवाहरूमा बढ्दो आत्महत्या कायरता कि मनःसामाजिक रोग ?

राम्रो जीवनशैली अपनाए आत्महत्याको विचारबाट बच्न सकिन्छ । अतः आत्महत्यालाई पारिवारिक निजी विषयको रूपमा मात्र नलिई सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक, मनोवैज्ञानिक दृष्टिकोणबाट पनि विश्लेषण गर्नु जरुरी छ ।

समस्त प्राणीहरूमा मानिस एक चेतनशील प्राणी हो । यही चेतनशीलताकै कारण ऊ सर्वश्रेष्ठ प्राणी मानिन्छ तर जीवनयात्रामा सुखदुःख, संयोग, वियोग, सम्पन्नता, विपन्नताजस्ता अनेकौँ आरोहअवरोह छिचोल्दै अघि बढ्ने क्रममा अनेकौँ सङ्घर्ष र चुनौतीको सामना गनुपर्ने हुन्छ । यो वास्तविकतालाई बुझ्न नसक्दा ऊ सुखमा मात्तिने र दुःखमा आत्तिने गर्दछ । जीवनभोगाइकै सिलसिलामा जब उसका आशा निराशामा परिणत हुन्छन् तब ऊ जीवनदेखि पलायन हुँदै आत्महत्याको बाटोसम्म रोज्न पुग्दछ । यसरी आत्महत्याजस्तो गलत बाटो रोज्ने समुदायमा अधिकांश युवायुवतीहरू हुन्छन् । विश्वभरि नै यस्तो मानवता विरोधी कर्ममा लाग्ने युवाहरूको ठुलो सङ्ख्या रहेको छ । तिनीहरूमध्ये कतिपय युवायुवतीहरू मानवीय अस्तित्व र जीवनमूल्यलाई बिर्सेर आफ्नो लक्षित उद्देश्य, उच्च महत्त्वाकाङ्क्षा र अपेक्षा पूरा नहुँदा आफ्नो जीवनलाई नै दाउमा लाउने गर्दछन् । जुनसुकै बहानामा आत्महत्याको बाटो रोजे पनि त्यो हतास मनःस्थितिको उपज, चरम निराशाको अभिव्यक्ति, कायरता वा मनःसामाजिक रोगमध्ये कुनै एक हुन सक्छ ।

गरिमा पाण्डेय

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार आत्महत्या गरिने मुलुकहरूको सूचीमा नेपाल ७ औँ स्थानमा रहेको देखिन्छ । यही सन्दर्भमा पछिल्लो केही समय यता नेपाली समाजमा आत्महत्या गर्ने युवायुवतीको सङ्ख्या दिनानुदिन बढिरहेको पाइन्छ, जुन उपर्युक्त कुनै न कुनै समस्याको कारणले नै जीवनदेखि पलायन भएर वा जीवनको सार्थकता भनेकै जीवन जिउनु हो र जीवनको पर्याय भनेकै सङ्घर्ष र चुनौती हो भन्ने बुझ्न नसकी आत्महत्या गर्न तम्सिन्छन् । यसका ज्वलन्त उदाहरणका रूपमा नेपालका विभिन्न ठाउँमा घटित घटनाहरूमध्ये सुजिता भण्डारी, विष्णु बराल, सिर्जना सुनार, सिर्जना बस्नेत आदिले आत्महत्या गरेका प्रतिनिधि घटनाहरू हुन् । यस्ता थुप्रै घटनाहरूलाई दृष्टिगत गर्दा युवावस्थामा उत्पन्न समस्याको समाधान नदेखेर भविष्यप्रति निराश हुनु नै युवाहरूको आत्महत्याको मूल कारण देखिन्छ ।

आत्महत्याकै सन्दर्भमा गहिरिएर अध्ययन गर्दा मेरा आफ्नै तिता र नमिठा अनुभूति पनि छन् । जसमध्ये केही महिना अगाडि मात्र मैले आफूसँगै पढ्ने साथीले आत्महत्या गर्दा मैले एक जना असल साथीसमेत गुमाएकी छु । कोभिड-१९ को कारण लकडाउन हुँदा सो अवधिका आर्थिक अभाव, मानसिक पीडा र रोगजन्य त्रासका कारण अर्को एक जना साथीले जीवनदेखि हतास र निराश भएर आत्महत्याको बाटो रोज्न पुगेको घटनाले मेरो मनमस्तिष्कलाई आज पनि घोचिरहेको छ । यी र यस्तै तमाम घटना त मेरा आँखाले प्रत्यक्ष देखिनँ तर मनमा एक किसिमको डर, त्रास र नैराश्यता भने मेरो मनमा उत्पन्न भइ नै रहेका छन् । सबैभन्दा बढी डर त त्यस बेला लागेको थियो, जब एकदिन बिहानै क्याम्पस जाँदा नजिकैको मन्दिरको छेउमा अवस्थित वरको रुखमा एक जना झुन्डिएको दृश्य देखेँ, जहाँ मान्छेहरूको भिड बढ्दै थियो । मैले एकछिन पनि त्यो दृश्य हेरेर त्यहाँ बस्न सकिनँ । उत्साहित हुँदै क्याम्पस जान थालेकी म, उक्त कहाली लाग्दो दृश्य देखेपछि ममा एकाएक मानसिक विचलन र छटपटी मात्र उत्पन्न भएन मेरो मनमा अनेक थरी कुराहरू खेल्न थाले र मैले मनमनै सोचेँ आखिर खाऊँखाऊँ र लाऊँलाऊँको अवस्थाका युवाहरू किन आत्महत्या गर्न तयार हुन्छन् भन्ने प्रश्न जन्मिरह्यो । दिनभरि सोही दृश्य मेरो आँखाअगाडि आइरह्यो र राति निद्रा पनि परेन ।

मैले सोचिरहेँ,“आखिर के कारणले आजका युवाहरू आत्महत्या गर्छन् त ? के उनीहरूलाई जीवनप्रति कुनै मोह छैन ? जीवनमा आइपर्ने विविध बाधा र चुनौतीहरूसँग जुध्ने हिम्मत नभएर हो त ? यदि यस्तो हो भने आत्महत्या गर्ने हिम्मत कसरी आयो ? आत्महत्याजस्तो कठोर निणर्य लिन उनीहरू किन बाध्य हुन्छन् त ? बाँच्नुभन्दा मर्नु सहज कसरी हुन सक्छ ? त्यस्तो निणर्य लिँदा आँखा अगाडि आउने प्रियजन, आफन्त, परिवार, इष्टमित्र र साथीसङ्गीहरूको तस्बिरले त्यसो गर्नबाट किन रोक्न सक्दैन ? के आत्महत्या नै अन्तिम विकल्प वा सबै समस्याको समाधान हो या हतास मनःस्थिति र चरम निराशाको परिणति हो ?” यस्ता ज्वलन्त प्रश्नहरू मेरो मनमा उठिरहे ।

समाजमा मानसिक रोगलाई सहजै स्विकार्न नसक्ने अवस्थाका कारण पनि अधिकांश युवाहरू डिप्रेसन वा मानसिक रोगले पीडित छन् । समाजमा प्रेममा असफल हुँदा, अध्ययन, बन्दव्यापार, सामाजिक व्यवहार, आर्थिक लेनदेन, पारिवारिक असफलता, यौनिक हिंसा र सामाजिक दुर्व्यवहारजस्ता विविध क्षेत्रमा उपेक्षित, अपहेलित, अपमानित र घृणित हुने डरले गर्दा आफ्ना आन्तरिक समस्याहरू बाहिर प्रकट गर्न नसकेर भित्रभित्रै दबाएर राख्ने प्रवृत्ति हाम्रो समाजमा आज पनि विद्यमान छ । यस्ता दमित मानसिक कुण्ठा, छटपटी र निराशाले गर्दा युवापुस्तामा दिक्दारीपन बढ्नु, एक्लोपन महसुस गर्नु, निराश हुनु, झर्किनुजस्ता समस्याहरू देखा पर्दछन्, जसलाई घरपरिवारले गम्भीर रूपमा नलिई सामान्य रूपमा लिने गर्दछन्  । जसले गर्दा ती मनोरोगले ग्रस्त व्यक्तिहरूका समस्यालाई समयमै ध्यान नदिँदा परिणामस्वरूप उनीहरूमा डिप्रेसन बढ्दै जाने र अन्ततः आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ ।

युवाहरूले कस्तो अवस्थामा आत्महत्याजस्तो कठोर बाटो किन रोज्छन् त ? सायद उनीहरूमा “बारम्बार आत्महत्याको सोचाइ आउने गर्छ । मन अस्थिर हुन्छ । मनका कुरा घरपरिवार, साथीभाइलाई सुनाउन खोज्छु, कसैले वास्तै गर्दैनन् । सुनाइहाले पनि बुझिदिने कोही छैन, उल्टै गाली गर्छन् । छिमेकीलाई सुनाउँछु, मजाक उडाउँछन् । के गरूँ म, कसलाई भनूँ ? केवल जीवन जिउने सहारा रक्सी, चुरोट, गाँजा, बनिसक्यो । राति निदाउन खोज्छु, निद्रा पर्दैन । चुरोटको खिल्ली उडाउँछु । सोच्दासोच्दै बिहान भइसक्छ । नयाँ बिहानीको सूर्योदयसँगै अन्धकार जीवनलाई उज्यालो बनाउने कोसिस गर्छु तर पनि सक्दिनँ अनि जोडले चिच्याउँछु, कराउँछु, आफैँलाई पिट्छु, टाउको भित्तामा ठोक्छु, चोट पुर्‍याउँछु अनि मात्र आत्मसन्तुष्टि मिल्छ । जीवन जिउनुको उद्देश्य नै बिर्सिसकेँ । आखिर केका लागि यो जीवन ? एक्कासि मनमा डर उत्पन्न हुन्छ । कसैको जीवनको लागि बोझ भइसकेँ, बन्धनको रूपमा बसिरहेको छु । चाडपर्व, साथीभाइ, घरपरिवार, आफन्त सबैबाट टाढा हुन मन लाग्छ, एकान्त नै प्यारो लाग्छ । अँध्यारो कोठा नै मन पर्न थालेको छ । एक्कासि रिसाउन, झर्किन, पिट्न, चिथोर्न मन लाग्छ । मनको व्यथा, मेरा भावना कसैले बुझिदिने होइन । फेसबुकमा स्टाटस लेख्छु तर कसैको लाइक, कमेन्ट आउँदैन, आइहाले पनि नकारात्मक प्रतिक्रिया मात्र । यसरी खोक्रो र रित्तो जीवन कृत्रिम हाँसो र खुसी देखाएर जीवन जिउनुभन्दा त मर्नु नै अन्तिम विकल्प हो मेरा लागि । आखिर मलाई कसले ढाडस र सान्त्वना दिन्छ र यहाँ ?”, हो, पक्कै पनि यस्तै मानसिक प्रतिक्रिया जन्मिन्छन् र परिणामस्वरूप अन्तिम विकल्पको रूपमा आत्महत्या रोज्दछन् आजका युवाहरू ।

आजसम्मको अध्ययनअनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वमा प्रत्येक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छ भने प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्याका कारणले मृत्यु हुन्छ । यता नेपालमा दिनमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्याको प्रयास गर्नेहरूमा पुरुषको तुलनामा महिलाहरूको २ गुणा सङ्ख्या बढी हुन्छ भने आत्महत्याको प्रयत्न गर्नेहरूमा पुरुषहरूमा बढी सफल भएको देखिन्छ । तथ्याङ्कअनुसार १५-२९ वर्ष उमेर समूहका युवायुवतीमा मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइन्छ । मानिसहरू विभिन्न तरिकाले आत्महत्या गर्छन् । प्रतिशतको हिसाबले ७० प्रतिशतले झुन्डिएर, २० प्रतिशतले विष सेवन गरेर र १० प्रतिशतले विभिन्न औजारको प्रयोग गरी, हाम फालेर, आफूलाई आगो लगाएर, करेन्ट लगाएर आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

मनःसामाजिक परामर्शको अभावमा पनि अधिकांश युवाहरू डिप्रेसन वा मनोरोगका सिकार भएका पाइन्छन् । त्यसैले उनीहरूले आत्महत्या गर्नु भनेको कायरता नभएर मनोरोग हो भन्न सकिन्छ । यसको उपचारका लागि योग, ध्यान, प्राणायाम, मनोपरामर्शजस्ता पक्षले उनीहरूमा सकारात्मक ऊर्जा वा जीवनप्रतिको सकारात्मक सोच जगाउन सक्छ । उनीहरूलाई घरपरिवारमा सम्मानजनक व्यवहार, उचित माया, सहयोग र सद्भावको उपलब्धताले पनि जीवनवादी तथा भविष्यप्रति आशावादी बनाउन सम्भव छ । त्यसैले घरपरिवार र समाजमा उनीहरूको समस्या समयमै पहिचान गरी समाधानका लागि आवश्यक प्रक्रिया अपनाउनुपर्छ, जसले गर्दा चरम निराशा र हतास मनःस्थितिका युवायुवतीहरूलाई आत्महत्याजस्तो मानवता विरोधी कार्यबाट दुरुत्साहित गरी जीवनवादी बनाउन सकिन्छ । आत्महत्या भनेको एउटा मानव मनोविज्ञानभित्रको जटिल अन्तर्द्वन्द्वको उपज पनि भएकाले यसलाई मानसिक समस्याको रूपमा लिएर मनःसामाजिक परामर्शको माध्यमबाट आत्महत्याजस्तो जटिल समस्यालाई समाधान गर्न सकिन्छ ।

आत्महत्या नेपालको मात्र नभएर विश्वकै एक जटिल सामाजिक समस्या हो । यसको रोकथाम गर्नु विश्वकै लागि चुनौती भएको छ । आत्महत्या रोकथामका लागि सरकारले आवश्यक कानुनका साथै सहिष्णु र समतामूलक समाज निर्माणका लागि नीति निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गनुपर्छ । साथै स्थानीय सरकारदेखि सङ्घीय सरकार स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा मानसिक स्वास्थ्य शिक्षा अभियान चलाउनुपर्छ । यसबाट जीवनदेखि निराश भएका युवायुवतीहरूमा बाँच्ने जिजीविषा, जीवनप्रति आस्था र जीवनको मूल्यबोध हुन सक्छ, जसले गर्दा समाजमा दिनप्रतिदिन बढ्दै गएको आत्महत्याजस्ता कार्यलाई न्यूनीकरण गर्न सकिन्छ । आत्महत्या नियन्त्रणका लागि व्यक्तिले आफू र अरूप्रति सकारात्मक सोच राख्ने, हरेक परिस्थितिलाई स्वीकार गरेर अगाडि बढ्ने र अरूलाई परिवर्तन गर्न खोज्नुभन्दा त्यस्तै स्वीकार गर्न सक्नुपर्छ । राम्रो जीवनशैली अपनाए आत्महत्याको विचारबाट बच्न सकिन्छ । अतः आत्महत्यालाई पारिवारिक निजी विषयको रूपमा मात्र नलिई सामाजिक, सांस्कृतिक, लैङ्गिक, आर्थिक, मनोवैज्ञानिक दृष्टिकोणबाट पनि विश्लेषण गर्नु जरुरी छ ।

आत्महत्या नियन्त्रणका लागि पारिवारिक, सामाजिक र आर्थिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षले भूमिका खेल्नुपर्छ । सबै जनाले एकअर्काको कुरा सुनिदिने, मनोभावना बुझेर मनन गरिदिए मात्र पनि आत्महत्या नियन्त्रण गर्न सकिन्छ । यस्तो आत्महत्याको सोच भएका व्यक्तिलाई एक्लै नछोड्ने, मनोबल उच्च बनाउने, सुखदुःखको साथी बनिदिने, निरन्तर समस्याका बारेमा सोध्ने र समाधानका उपायहरूको खोजी गर्नुपर्छ । यसरी भावनात्मक रूपमा बुझ्ने प्रयास गर्दै जीवनदेखि निराश भएर पलायन हुन लागेका वा दुर्व्यसन तथा अन्य कारणले डिप्रेसनका सिकार बनेका युवायुवतीहरूलाई उचित मायाँ, सम्मान र सहयोग गर्नुपर्छ, जसले गर्दा उनीहरूलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ । उनीहरूलाई गलत बाटाबाट मुक्त गरी जीवनप्रति विश्वास जगाउने र भविष्यप्रति आशावादी बनाउन सकेमा नै जिम्मेवार व्यक्ति र संस्थाको सफलता मान्न सकिन्छ किनकि सानो खुसीले पनि उनीहरूको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ, नवयुवालाई नवजीवन प्रदान गर्न सक्छ । तसर्थ, सकारात्मक सोच र दृष्टिकोण लिऔँ, वर्तमान विषम र दुःखद भए पनि भविष्य सुन्दर छ । आशावादी बनौँ, अमूल्य जीवन खेर नफालौँ । उच्च मनोबल, दृढ अठोट र अविचलित आत्मविश्वास र अदम्य साहसले नै जीवनमा आइपर्ने हरेक समस्या र चुनौतीको सामना गर्न सकिन्छ । अघि बढौँ, जीवनवादी बनौँ किनकि आत्महत्या कायरता नभएर मनःसामाजिक रोग मात्र हो ।

प्रतिक्रिया
Loading...