साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ओशोको आत्मकथाः शृङ्खला ८ः आत्महत्या जन्मसिद्ध अधिकार

200

ओशोको आत्मकथाः स्वर्णिम बालापन

सत्र ८: आत्महत्या जन्मसिद्ध अधिकार

मेरो जीवन र कार्यप्रणाली बुझ्नका लागि महत्त्वपूर्ण हुने एउटा घटनाका बारेमा म चर्चा गर्छु र यो पनि मेरा लागि ज्यादै सजीव छ ।

म अहिले पनि सम्झन सक्छु । तर ‘सम्झन’ शब्द ठीक छैन । म अहिले पनि ती सारा घटनालाई घटित हुँदै गरेको देख्न सक्छु । निश्चित नै, म एउटा सानो बालक थिएँ तर यसको अर्थ मैले जे भनेँ, त्यसलाई गम्भीरतापूर्वक नलिइयोस् । सत्य त के हो भने आत्महत्या मात्र एउटा गम्भीर कुरा हो, जुन मैले यहाँ चर्चा गरेँ ।

पश्चिमा मानिसहरुलाई कुनै मुनिले, जो जैनहरुका लागि पोपजस्तै हुन्छन्, यस्तो प्रश्न सोध्नु शायद थोरै अशिष्ट लाग्ला । तिमी आत्महत्या किन गर्दैनौ भन्नु निश्चित रुपमै भन्दैनन् । उनीहरू यसलाई सुन्दर धार्मिक नाम दिन्छन्, सन्थारा । म यसका विरुद्ध छु । खासगरी जसरी यो गरिन्छ, यो ज्यादै क्रुर र हिंसात्मक छ । आश्चर्य त, जुन धर्मले अहिंसामा विश्वास गर्छ, त्यो धर्मले संथारालाई मान्छ, आत्महत्याको उपदेश दिन्छ । तिमी यसलाई धार्मिक आत्महत्या भन्न सक्छौ । तर आत्महत्या त आत्महत्या नै हुन्छ, नामले कुनै फरक पार्छ र ? मानिस त मर्छ नै !

म यसको विरुद्धमा किन होऊँ ? म कुनै मानिसले आत्महत्या गर्ने अधिकारको विरोध गर्दिनँ । यो त बरु मनुष्यको मूलभूत अधिकार हुनुपर्छ । यदि म बाँच्न चाहन्नँ भने अरुले मलाई ज्यूँदै राख्ने हक छ ? म स्वयं हराउन चाहन्छु भने अरुले बढीभन्दा बढी यसलाई जति बढी हुनसक्छ, उति सुखद् र शान्तिपूर्ण बनाउन सक्छन् । लेखेर राख, एक दिन म हराउन चाहन्छु । म सधैँ बाँचिरहन सक्दिनँ ।

त्यो दिन कसैले मलाई एउटा कारको स्टिकर देखाएको थियो । त्यसमा लेखिएको थियोः ‘मलाई अमेरिकी भएकामा गर्व छ ।’ मैले त्यसलाई हेरेँ र पछि मलाई त्यो देखेर रुन मन लाग्यो । म अमेरिकी होइन र अमेरिकी नभएकामा गर्व छ । म भारतीय पनि होइन । उसो भए म को हुँ त ? म कोही पनि होइन । मलाई कोही नभएकामा गर्व छ । मेरा सारा यात्राले मलाई यहीँ त ल्याइपुर्‍याएको हो ! केही भएर आएको होइन, शून्यमा भएर आएको हुँ, बेघर भएर आएको हुँ । मैले त बुद्धत्वसम्मलाई त्यागिसकेँ र जो मभन्दा पहिले कसैले गरेका थिएनन् । त्यो जर्मन मूर्खको इल्युमिनेसनका लागि म इल्युमिनेसनलाई पनि त्याग गर्छु । मेरो कुनै धर्म छैन, कुनै देश छैन, कुनै घर छैन । यो सारा संसार नै मेरो हो ।

म पहिलो विश्व–नागरिक हुँ ।

तिमीहरूलाई थाहा छ, म दिवाना (पागल) हुँ । विश्व–नागरिकताका लागि मैले पासपोर्ट दिन थाल्न सक्छु । यसका बारेमा म सोचिरहेको थिएँ । म अरेन्ज–कार्ड दिने बारेमा सोचिरहेको छु, जुन मैले मेरा संन्यासीहरूलाई देश, जाति र धर्मका विरुद्ध वैश्विक भाइचाराका लागि पासपोर्टजस्तै दिन सकियोस् ।

म जैनहरूको आत्महत्याको विचारका विरोधमा छैन तर यो विधि… त्यो विधि कस्तो भने केही खाइँदैन । खानै छाडिदिने विधिले विचरो मानिसलाई मर्नका लागि करिब करिब नब्बे दिन लाग्छ । यो त यातना हो, सताउनु हो । तिमीले यसलाई अझ बढी सुधार्न सक्तैनौ । योभन्दा बढी कष्ट सोच्न पनि सकिँदैन । एडल्फ हिटलरलाई पनि सताउने यस्तो उम्दा तरिका दिमागमा आएन । देवगीतको जानकारीका लागि भनिहालौँ, एडल्फ हिटलरलाई दाँत ड्रिलिङ गर्ने तरिका दिमागमा आयो, अनस्थेसियाबिना नै ! अहिले पनि संसारमा यस्ता धेरै यहुदी होलान्, जसलाई सताउनका लागि मात्र भए पनि उनीहरुको दाँतलाई ड्रिलिङ गरिएको थियो । तर जैन मुनिहरू र उनीहरूको आत्मपीडक तरिकाका बारेमा शायद एडल्फ हिटलरले सुनेको पनि थिएन होला । ती सर्वश्रेष्ठ हुन्, तिनको कुनै प्रतिस्पर्धा छैन ।

उनीहरू आफ्नो कपाललाई कहिल्यै काट्दैनन्, उनीहरू आफ्नै हातले उखेल्छन् । देख्यौ त, कति राम्रो तरिका छ !

हरेक वर्ष जैन मुनि आफ्नो कपाललाई उखेल्छन्– दाह्री र जुँगा अनि शरीरका सबै कपाललाई आफ्नो हातले उखेल्छन् । उनीहरू कुनै पनि यन्त्र तथा प्रविधि प्रयोग गर्न रुचाउँदैनन्, विरोधी हुन्छन् । उनीहरूको जुन तर्क छ, त्यो तर्क कुनै पनि तार्किकताको अन्त्य नै हो । ब्लेड (रेजर) प्रयोग गर्नु प्रविधि (टेक्नोलजी) हो । के ब्लेड प्रविधि हो ? तिमीहरूलाई थाहा थियो ? तिमीले कहिल्यै ब्लेड पनि टेक्नोलजी हो भन्ने सोचेका थियौ त ? कतिसम्म भने तथाकथित पर्यावरणका हिमायतीले पनि आफ्नो दाह्री काट्छन् । त्यो पनि प्रकृतिका विरुद्ध अपराध गरिरहेकोबारे थाहा नपाई !

जैन मुनिहरू आफ्नो कपाल उखेल्छन्– त्यो पनि चुपचाप एकान्तमा होइन किनभने एकान्त त उनीहरूले कहिल्यै पाउँदैनन् । कुनै पनि कुरा गोप्य नराख्नु, पूरै सार्वजनिक हुनु, आफूलाई सताउनुको एउटा अंग हो । उनीहरू बजारमा नग्न उभिएर आफ्नो कपाल उखेल्छन् । भिडले निश्चय पनि ताली बजाएर त्यसको सराहना गर्छ । यद्यपि भिडलाई केही सहानुभूति पनि हुन्छ… उनीहरूको आँखामा आँशु पनि देख्न सक्छौ– अचेतनमा उनीहरूलाई पनि बडो मजा आउँछ– बिना टिकट, बिना पैसाको मजा !

मलाई यस्ता कुराप्रति घृणा लाग्छ, म यसका विरुद्धमा छु । केही नखाई, केही नपिई संथारा या आत्महत्या गर्नुको अर्थ, केही पनि होइन, मात्र आत्मपीडाको एउटा लामो प्रक्रिया हो । म यसको पक्ष लिन सक्तिनँ । तर म मर्ने स्वतन्त्रताको पूरापूर समर्थन गर्छु । म यसलाई जन्मसिद्ध अधिकार मान्छु । ढिलोचाँडो संसारका सबैजसो संविधानमा यो लेखिने छ, लेख्नै पर्छ– मर्नु मानिसको आधारभूत जन्मसिद्ध अधिकार हो । यो अपराध होइन ।

तर कसैले आफूलाई कष्ट दिएर मर्नु वा मार्नु चाहिँ अपराध हो ।

म कुनै अपमानजनक, कुनै अशिष्ट व्यवहार गरिरहेको थिइनँ भन्ने तिमीहरुले बुझ्नेछौ । मैले ज्यादै संगतिपूर्ण, प्रासंगिक प्रश्न सोधेको थिएँ । त्यो दिनदेखि मैले जीवनभरका लागि सबै किसिमको मूर्खता, बेवकुफी, अन्धविश्वास, बुलसिट– छोटकरीमा भन्दा धार्मिक फोहोरका विरुद्ध झगडा गरेको थिएँ । बुलसिट शब्द निकै राम्रो छ, यसले संक्षेपमा धेरै कुरा भनिदिन्छ ।

त्यो दिन मैले आफ्नो जीवन एउटा खेलजस्तै वा विद्रोहीले जस्तै शुरु गरेँ र मैले आफ्नो अन्तिम श्वाससम्म विद्रोही नै बन्ने छु । अथवा शायद मृत्युपरान्त पनि, कसलाई के थाहा ! जब मसँग मेरो शरीर हुने छैन, मसँग मेरा प्रेमीहरूका हजारौँ शरीर हुनेछन् । म उनीहरूलाई उक्साउन सक्छु र तिमीहरूलाई थाहै छ, म उक्साउन माहिर छु । आउँदा शताब्दीसम्म म उनीहरूको दिमागमा विचार घुसाइदिन सक्छु । म ठीक त्यही गर्नेछु । यो शरीरको मृत्युसँगै मेरो विद्रोह मर्न सक्तैन । मेरो क्रान्ति मृत्युपछि पनि तीव्रताले चलिरहनेछ, किनभने त्यो बेला यसलाई अघि बढाउनका लागि अनेक शरीर हुनेछन्, अनगिन्ती हात हुनेछन् र धेरै आवाज हुनेछन् ।

त्यो दिन निकै महत्त्वपूर्ण थियो, ऐतिहासिक रुपले महत्त्वपूर्ण थियो । त्यस दिनलाई मैले सधैँ जिसस क्राइस्टले यहुदीका मन्दिरमा त्यहाँका पुजारीसँग बहसको गरेको दिनझैँ स्मरण गरेँ । त्यो बेला जिसस क्राइस्ट मभन्दा उमेरमा ठूला थिए, शायद आठ या नौ वर्षले ठूला थिए । उनले जसरी बहस गरेका थिए, त्यसले उनको सम्पूर्ण जीवनप्रवाहलाई निर्धारित गरेको थियो ।

मलाई जैन मुनिको नाम याद छैन । शायद उनको नाम शान्तिसागर थियो । निश्चित रुपमा उनी शान्तिको सागर थिएनन् । त्यसैले उनको नामसम्म मैले बिर्सिएँ । उनी पक्कै एउटा फोहोरको ट्याङ्की थिए । आनन्द, शान्ति या मौनका सागर त पक्कै थिएनन् । निश्चित नै उनीभित्र कुनै शान्ति थिएन किनभने मेरो प्रश्न सुनेपछि उनी ज्यादै रिसाए । शान्तिका धेरै अर्थ हुन सक्छन् । शान्तिको अर्थ शान्ति हुनसक्छ, मौन हुनसक्छ । यी दुई आधारभूत अर्थ छन् । उनी ती दुवै थिएनन् । न त उनी शान्त थिए, न त मौन ! उनमा आँधी थिएन भन्न सक्तैनौ किनभने उनी यति रिसाए कि चिच्याउँदै मलाई चुप लागेर बस्न भने ।

मैले भनेँ, ‘मलाई आफ्नै घरमा चुप लागेर बस्न कसैले भन्न सक्तैन । अँ, बरु मलाई तपाईं आफ्नो बाटो तताउन भन्न सक्नुहुन्छ तर तपाईं मलाई बस्नका लागि भन्न सक्नुहुन्न । तर म तपाईंलाई जानका लागि भन्दिनँ किनभने मलाई अझै केही प्रश्न सोध्नु छ । कृपया नरिसाउनोस् । आफ्नो नाम याद राख्नोस्, शान्तिसागर– शान्ति र मौनको सागर । तपाईं सानो तलाउ हुनसक्नु हुन्छ । एउटा सानो बालकसँग यति धेरै अधीर नहुनुहोस् ।

उनी शान्त थिए कि थिएनन्, त्यसको चिन्ता नगरी मैले हजुरआमालाई हेरेँ, जो यी कुरा सुनेर हाँसिरहनु भएको थियो । मैले उहाँलाई भनेँ, ‘हजुरआमा, तपाईं के भन्नुहुन्छ ? मैले उहाँलाई अझ केही प्रश्न सोध्नु पर्छ कि उहाँलाई घर जानोस् भन्दिऊँ ?’

यो कुरा मैले हजुरबालाई सोधिनँ किनभने ती मानिस हजुरबाका गुरु थिए । मेरी हजुरआमाले भन्नुभयो, ‘तिमी जे सोध्न चाहन्छौ, सोध । यदि उहाँले उत्तर दिन सक्नु भएन भने ढोका खुला छ, उहाँ जान सक्नुहुन्छ ।’

यही महिलालाई मैले प्रेम गरेँ । यही महिलाले मलाई विद्रोही बनाएकी थिइन् । कतिसम्म भने, हजुरआमाको कुरा सुनेर हजुरबा पनि छक्क पर्नुभयो । यसरी मलाई मेरी हजुरआमाले साथ दिनुभयो । जुन क्षण मेरी हजुरआमा मेरो साथ लाग्नुभयो, ती तथाकथित शान्तिसागर तुरुन्त चुप भए । सारा गाउँका मानिसहरू तुरुन्त मेरो पक्षमा लागे । विचरा जैन मुनि एक्लै परे ।

मैले उनीसँग अझै केही प्रश्न सोधेँ । मैले सोधेँ, ‘तपाईंले भन्नुभयो, त्यो कुरामा त्यतिञ्जेल विश्वास नगर्नुस्, जबसम्म स्वयं आफूलाई त्यसबारे अनुभव नभएको होस् । मैले यसमा सत्य देख्दैछु, त्यसैले यो प्रश्न…’

जैनहरुले सात नरक छ भन्ने मान्छन् । छैटौँ नरक पुगुञ्जेल फर्कने सम्भावना हुन्छ तर सातौँ नरक शाश्वत छ । शायद सातौँ क्रिस्चियनहरूको नरक होला किनभने त्यहाँ तिमी एक पटक पुगिसकेपछि सधैँका लागि त्यहीँका हुन्छौँ । फर्कने कुनै सम्भावना हुँदैन ।

मैले भनेँ, ‘तपाईंले सात नरकको कुरा गर्नुभयो, त्यसैले प्रश्न के उठ्छ भने– के तपाईंले सातौँ नरकको यात्रा गर्नुभएको छ ? सातौँ नरक पुग्नुभएको छ ? यदि तपाईं त्यहाँ जानु भएको भए, यहाँ त पक्कै आउन सक्नुहुन्नथ्यो । तपाईं त्यहाँ नगएको भए कुन अधिकारका साथ सातौँ नरक छ भनी सुनाउँदै हुनुहुन्छ ? तपाईंले छ नरक छन्, मात्र छ भन्नुपर्थ्यो, थाहा नपाएको सात नरकका बारेमा भन्नु हुँदैनथ्यो । अब कृपया यसलाई सच्याउनोस्, भन्नोस्, छ वटा मात्र नर्क छन् । अथवा, तपाईं सातौँमा जोड दिन चाहनुहुन्छ भने कम्तीमा एक जना मानिस अगाडि ल्याउनोस् र उसले भनोस्, शान्तिसागर सातौँ नरकबाट फर्किएर आएको हो । उसमाथि शंका नगरियोस् ।’

यसपछि उनको बोली नै बन्द भयो । उनी अवाक् भए । उनले विश्वासै गर्न सकेनन्, एउटा बालकले यस्तो प्रश्न सोधिरहेको छ र सोध्न सक्छ । आज मलाई पनि विश्वास लागिरहेको छैन । म कसरी यस्ता प्रश्नन सोध्न सकूँला र ! यसको एउटै उत्तर म दिन सक्छु, म अशिक्षित थिएँ, बिल्कुल अज्ञानी थिएँ । ज्ञान, जानकारीजस्ता कुराले मानिसलाई चलाख बनाउँछ । म चलाख थिइनँ । मैले त्यही प्रश्न सोधेँ, जुन कुरा हरकोही बच्चाले सोध्न सक्थ्यो । शिक्षित छैन भने सोध्न सक्छ । शिक्षा निर्दोष बालबालिकाप्रति गरिएको सबैभन्दा ठूलो अपराध हो । शायद बालबालिकाको स्वतन्त्रता यो संसारको अन्तिम स्वतन्त्रता हुनेछ ।

म बिल्कुल अज्ञानी थिएँ, अञ्जान र सरल थिएँ । म लेखपढ गर्न सक्तिन थिएँ । औँलाभन्दा पर गन्न सक्तिन थिएँ । कतिसम्म भने आज पनि गन्नु पर्‍यो भने म औँलाबाट शुरु गर्छु र यदि एउटा औँला गन्न छुट्यो भने मेरो हिसाब गडबडाउँछ ।

उनले उत्तर दिन सकेनन् । मेरी हजुरआमा उभिनुभयो र भन्नुभयो, ‘तपाईंले उत्तर दिइरहनु पर्दैन । यो केवल एउटा बालकले सोधेको हो भनेर नसोच्नू । म पनि सोधिरहेकी छु र म तपाईंको मेजबान (खान निम्त्याउने व्यक्ति) हुँ ।’

फेरि मैले एउटा अर्को जैन परम्पराका बारेमा बताउनुपर्ने हुन्छ । जब कुनै जैन मुनि भोजनका लागि कसैको घरमा आउँछन्, भोजनपछि उनले आशीर्वादका रुपमा परिवारलाई उपदेश दिन्छन् । उपदेश गृहिणीलाई सम्बोधन गर्दै दिइन्छ ।

मेरी हजुरआमाले भन्नुभयो, ‘आज मकहाँ भोजन गर्नुभएको छ । यो घरकी गृहिणी हुनुको नाताले तपाईंसँग यही प्रश्न सोधिरहेकी छु । के तपाईं सातौँ नरक जानुभएको छ ? तपाईं जानु भएको छैन भने सत्य भन्नुस्, गएको छैन । छैन भने तपाईंले सात नरक छन् भनेर भन्न सक्नुहुन्न ।’

विचरा मुनिले मेरी हजुरआमाजस्ती सुन्दर स्त्रीको सामना गर्न सकेनन् । उनी यति हडबडाए कि ऊ घरबाहिर जान उठे । मेरी हजुरआमाले चिच्याउँदै भन्नुभयो, ‘पख्नुस्, नजानुस् ! मेरो यो बालकको प्रश्नको उत्तर कसले दिन्छ ? ऊ पनि अझै केही प्रश्न सोध्न चाहन्छ । बालकको प्रश्नदेखि भाग्ने तपाईं कस्तो मान्छे हो ?’

मुनि रोकिए । मैले उनलाई सोधेँ, ‘म अर्को प्रश्न सोध्दिनँ किनभने उहाँले मेरो अर्को प्रश्नको उत्तर दिन सक्नुहुन्न । उहाँले पहिलो प्रश्नकै उत्तर दिनुभएको छैन । अर्कोको के दिनुहोला ! उसो भए म तेस्रो प्रश्न चाहिँ सोध्छु । शायद यसको उत्तर चाहिँ उहाँले दिन सक्नुहोला ।’

उनले मतिर हेरे । मैले भनेँ, ‘यदि तपाईंलाई मतिर हेर्नुछ भने मेरो आँखामा आँखा गाडेर हेर्नुहोस् ।’

चारैतिर सन्नाटा छायो, ठीक यहाँ जस्तो छ, त्यस्तै । कसैले केही भनेन । मुनिले आफ्नो आँखा झुकाए । त्यसपछि मैले भनेँ, ‘मलाई केही सोध्नु छैन । मेरा पहिला दुई प्रश्नका उत्तर नै पाइनँ र तेस्रो मैले सोधिनँ किनभने घरका पाहुनालाई म लज्जित गर्न चाहन्नँ ।’

त्यसपछि म त्यहाँबाट निस्किएँ र मलाई बडो खुसी लाग्यो– मेरी हजुरआमा पनि मसँगै पछिपछि आइरहनु भएको थियो ।

मेरा हजुरबाले ती मुनिलाई बिदा गर्नुभयो । तर जसै उनी घरबाहिर निस्किए मेरा हजुरबा आउनुभयो र हजुरआमालाई सोध्नुभयो, ‘तँ पागल त भइनस् ? पहिलो त, यो केटोलाई साथ दिइस्, जो जन्मजात समस्या मात्रै उब्जाउँछ । अनि, फेरि उसैसँग लागेर मेरा गुरुलाई प्रणाम नगरी निस्किइस् ?’

मेरी हजुरआमाले भन्नुभयो, ‘उनी मेरा गुरु होइनन्, त्यसैले मैले त्यसको चिन्ता लिइनँ । अनि, तपाईंले जसलाई जन्मजात समस्या उब्जाउने ठान्नुहुन्छ, यो त भर्खरको बिऊ हो । आउँदा दिनमा के बन्छ, कसैलाई थाहा छैन ।’

अब यतिबेला मलाई थाहा भयो, त्यो बिऊले कुन रुप धारण गर्‍यो । जबसम्म कोही जन्मजात समस्या जन्माउने व्यक्ति हुँदैन, उपद्रव मच्चाउँदैन, त्यतिञ्जेल ऊ बुद्धपुरुष बन्न सक्तैन ।

र, म गौतम बुद्धजस्तो पारम्परिक बुद्ध होइन । उनी ज्यादै पारम्परिक छन्, म चाहिँ जोरबा दि बुद्धा हुँ । म पूर्व र पश्चिमको मिलन हुँ । सत्य त के हो भने म पूर्व र पश्चिममा, तल र माथि, पुरुष र स्त्रीमा, राम्रो र खराबमा, परमात्मा र शैतानमा विभाजित छैन । छँदैछैन । हजार पटक छैन । म कुनै पनि चिजलाई खण्डखण्ड गर्दिनँ । अहिलेसम्म जुन चिजलाई खण्डखण्ड पारिएको थियो, म त्यसलाई एकीकृत गर्छु, मिलाउँछु । यो नै मेरो काम हो ।

मेरो पूरै जीवनमा के भयो, त्यो बुझ्नका लागि त्यो दिन ज्यादै महत्त्वपूर्ण छ । किनभने जबसम्म तिमीले बिऊलाई बुझ्दैनौ, तिमीले वृक्ष र फूलहरूलाई र शायद हाँगाबिँगा चिहाउँदै चन्द्रमासम्म पुग्नेछौ ।

त्यसै दिनदेखि म सधैँ हरेक किसिमको यातनाको विरुद्धमा छु । म हरेक किसिमको तपश्चर्याका विरुद्धमा छु । निश्चित नै, यी शब्दहरू निकै पछि थाहा पाएँ तर शब्दहरूले के फरक पार्छन् र ! मलाई त्यो बेला नै गन्हाएको थियो । तिमीहरूलाई थाहा छ, मलाई सबै किसिमका यातनाहरूबाट एलर्जी छ । म चाहन्छु, हरेक मानिस पूर्ण रुपले बाँचून्, जीवनलाई पूर्ण रुपले भोग गरुन् । न्यूनतममा जिउनु मेरो शैली होइन । म त हरेक व्यक्ति बाँच्ने अन्तिम बिन्दु छोऊन् भन्ने चाहन्छु । यदि त्यो अन्तिम बिन्दु पार गर्न सकियो भने त्यो पनि अझ राम्रो । अघि बढ । प्रतीक्षा नगर । प्रतीक्षामा धेरै समय बर्बाद नगर ।

त्यसैले त म आशुसँग पट पटक भन्छुः ‘अघि बढ, अघि बढ । देवगीतलाई पागल बनाऊ ।’ अब त म आशुलाई पागल बनाउन सक्तिनँ । स्त्रीलाई पागल बनाउन सकिँदैन, सम्भव नै छैन । उनीहरूले पुरुषलाई पागल बनाउँछन् ! यो उसको क्षमता हो र यसमा ऊ कुशल छे । यदि कारमा ऊ पछाडिको सिटमा बसेकी छ भने पनि ऊ ड्राइभरलाई ड्राइभ गर्छे, कता जाने भनिरहेकी हुन्छे । उता लैजाऊ, यता लैजाऊ । तिमीलाई थाहै छ, पछाडिको सिटमा बसेको ड्राइभरहरू सबैभन्दा खतरनाक हुन्छन् । र, जब ड्राइभरलाई नै ड्राइभ गर्ने कोही छैन भने उसले मुक्तिको श्वास लिनेछ । स्त्रीहरूलाई पागल बनाउन सकिँदैन, यहाँसम्म कि मैले पनि स्त्रीलाई पागल बनाउन सक्तिनँ । यद्यपि म अघि बढ्नका लागि भनिरहन्छु तर ऊ सुन्दै सुन्दिन । महिलाहरू बहिरो नै जन्मन्छन् । उनीहरू जे गर्न चाहन्छन्, त्यही गरिरहन्छन् । तर देवगीतले कान सुन्छ । म उसलाई केही भनिरहेको छैन र पनि ऊ सुन्छ र सन्किन्छ । सन्किनु कायरको शैली हो । यसलाई मैले न्यूनतमको बाटो भन्छु, रफ्तार (गति)को सीमा ! यदि तिमी त्योभन्दा बढी गतिमा गयौ भने तिमी पक्राउ पर्नेछौ ।

न्यूनतम त कायरको तरिका हो । यदि मेरो वशमा चल्थ्यो भने उनीहरुको अधिकतम सीमालाई न्यूनतम सीमा बनाइदिन्थेँ । त्योभन्दा कम गतिमा हिँड्दा तिनलाई दण्ड दिइने थियो । हामी तारामा पुग्ने प्रयास गरिरहेका छौँ र यिनीहरू गोरुगाढामा घिस्रिरहेका छन् । हामी पनि यही चाहन्छौँ, फिजिक्सको पनि यही लक्ष्य छ । हाम्रो गति प्रकाशको गति बराबर भइदिए राम्रो हुन्थ्यो । हामीले त्यो गति प्राप्त गर्ने सक्यौँ भने हामी नष्ट हुन्छौँ । हामी प्रकाशको गतिमा पुग्यौँ भने हामीले कुनै मरिरहेको पृथ्वी या ग्रहबाट निस्कने थियौँ । कुनै न कुनै दिन हरेक पृथ्वी, हरेक ग्रह र हरेक तारा मर्नेछ, नष्ट हुनेछ । यसबाट तिमी कसरी बच्छौ ? तिमीलाई ज्यादै तीव्र गतिको टेक्नोलजीको आवश्यकता पर्नेछ । यो पृथ्वी चार हजार वर्षमा मर्नेछ । तिमीले जे सुकै गर, यसलाई बचउन सकिने छैन । प्रतिदिन यो आफ्नो मृत्युको नजिक आइरहेको छ र तिमी एक घण्टामा तीस माइलको गतिमा हिँड्ने प्रयास गरिरहेका छौँ । अरे, प्रतिसेकेन्ड एक सय छयासी हजार माइलको गतिमा हिँड्ने प्रयास गर न ! यही प्रकाशको गति हो ।

रहस्यदर्शीले यो गति पाउँछन् र अचानक उसको अन्तरतममा प्रकाश नै प्रकाशले भरिन्छ । यही नै जागरण हो । म त अधिकतमको पक्षमा छु । जीवनको हरेक सम्भव तरिकाबाट पूरापूर बाँचौँ, भरपूर बाँचौँ, बाँच्नुको अन्तिम सीमालाई छुऔँ । यदि तिमी मर्ने नै निश्चय गरिसकेका छौ भने तीव्र गतिले मर । कायरले झैँ नमर– अज्ञातमा हाम्फाल ।

म जीवनलाई समाप्त गर्ने विचारका विरुद्धमा छैन । यदि कोही आफ्नो जीवनलाई अन्त्य गर्न चाहन्छ भने निश्चित रुपमा त्यो उसको अधिकार हो । तर यसका लागि शरीरलाई लामो समयसम्म पीडित पार्ने र सताउने कुराको म बिल्कुल विरुद्धमा छु । जब ती शान्तिसागर मरे, उनी मर्नका लागि एक सय दस दिनसम्म भोकै बस्नु पर्‍यो । सामान्य स्वस्थ मानिस नब्बे दिनसम्म भोकै बस्न सक्ने क्षमता राख्छ । यदि ऊ असाधारण रुपमा स्वस्थ छ भने ऊ अझै बढी दिनसम्म भोकै बस्न सक्छ ।

स्मरण रहोस्, म ती व्यक्तिका साथ कठोर थिइनँ । त्यो सन्दर्भमा मेरो प्रश्न बिल्कुलै उचित थियो । शायद अझ उचित थियो किनभने उनले उत्तर दिन सकेनन् । र, आश्चर्य के भने आज तिमीहरूलाई बताइदिऊँ, त्यो प्रश्न सोध्ने शुरुवात मात्र होइन, मानिसहरूले मलाई जवाफ नदिने शुरुवात पनि थियो । विगत पैँतालीस वर्षहरूमा मैले सोधेका प्रश्नको उत्तर कसैले पनि दिएनन् । एक प्रकारले त्यसै दिनले मेरो समस्त जीवनको दिशालाई निश्चित गरिदिएको थियो ।

शान्तिसागर ज्यादै रिसाएर गए तर म ज्यादै खुसी थिएँ । मैले यो खुसी मेरा हजुरबासँग लुकाइनँ । मैले उहाँलाई भनेँ, ‘हजुरबा, उहाँ रिसाएर जानु भएको भए पनि मलाई त आनन्द लागिरहेको छ । तपाईंका गुरु साधारण योग्यता भएका मानिस हुनुहुन्थ्यो । तपाईंले तीभन्दा राम्रो गुरुलाई खोज्नुपर्छ ।’

मेरा कुरा सुनेर उहाँ हाँस्नुभयो । उहाँले पछि भन्नुभयो, ‘शायद तिमीले ठीक भन्यौ तर यो उमेरमा गुरु परिवर्तन गर्नु व्यवहारिक हुने छैन ।’

उहाँले हजुरआमालाई सोध्नुभयो, ‘यसमा तिमी के भन्छ्यौ ?’

मेरी हजुरआमा बडो स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि ढिलोचाँडो केही हुँदैन । तपाईंले जे छनोट गरेँ, त्यो सही रहेनछ भन्ने लाग्यो भने त्यसलाई बदल्नु पर्छ । जति चाँडो गर्‍यो, उति राम्रो किनभने तपाईं अब बूढो हुँदै हुनुहुन्छ । म बूढो हुँदैछु त्यसैले परिवर्तन गर्न सक्तिनँ नभन्नू । एउटा युवक परिवर्तन चाहँदैन भने ठीकै छ तर बूढा मानिसले यस्तो गर्नु हुँदैन र तपाईं बूढो भइसक्नुभयो ।’

र, यसको केही वर्षपछि उहाँ बित्नुभयो तर उहाँले गुरु बदल्ने साहस गर्न सक्नु भएन । उहाँ त्यही पुरानै बाटोमा हिँडिरहनुभयो । मेरी हजुरआमाले उहाँलाईं बेलाबेलामा सम्झाउनुहुन्थ्यो, ‘कहिले चैँ तपाईं आफ्ना गुरु र आफ्नो ढंग परिवर्तन गर्नुहुन्छ हँ ?’

हजुरबुवा भन्नुहुन्थ्यो, ‘अँ, अँ, परिवर्तन गर्छु, बदल्छु ।’

एक दिन हजुरआमाले भन्नुभयो, ‘यी सबै बकवास बन्द गर्नुस् । तपाईंले अहिले बदल्नु भएन भने कहिल्यै बदल्नु हुन्न । बदल्छु, बदल्छु भनेर मसँग नभन्नोस् । या त बदल्नुस् या नबदल्नुस् तर स्पष्ट हुनोस् ।’

उहाँ एक अद्भुत प्रभावशाली शक्ति बन्न सक्नुहुन्थ्यो । उहाँ एउटी गृहिणी मात्र बन्नका लागि जन्मनु भएको थिएन । उहाँ त्यो सानो गाउँमा सीमित रहनका लागि बन्नु भएको थिएन । उहाँका बारेमा पूरै विश्वले थाहा पाउनुपर्ने थियो । शायद म उहाँको माध्यम हुँ । शायद उहाँले स्वयंलाई ममा खन्याइदिनु भयो । उहाँका मप्रति यति गहिरो प्रेम थियो कि मैले आफ्नी वास्तविक आमालाई कहिल्यै पनि वास्तविक आमा ठानिनँ । मैले सधैँ आफ्नी हजुरआमालाई नै वास्तविक आमा मानिरहेँ ।

मैले जहिले पनि कुनै गल्ती गरेँ र मलाई त्यसको पछुतो भयो भने मैले त्यो कुरालाई हजुरआमालाई नै बताउन सकेँ, अरु कसैलाई बताउन सकिनँ । उहाँमाथि मलाई पूरा भरोसा थियो । मैले आफ्नो हरेक कुरा उहाँलाई बताउन सक्थेँ किनभने मलाई थाहा थियो, उहाँले मलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ । मैले ती सबै काम गरेँ, जो कुनै व्यक्तिले गर्न सक्थ्यो र राति उहाँलाई सबै कुरा सुनाउँथेँ । युनिभर्सिटी जानुभन्दा पहिले म उहाँसँगै बस्थेँ र यो त्यो बेलाको कुरा हो ।

म कहिले पनि आफ्नी आमाको घरमा सुतिनँ । यद्यपि मेरी हजुरआमा, हजुरबाको मृत्युपछि त्यही गाउँमा आउनु भएको थियो, जहाँ हाम्रो सारा परिवार बस्थ्यो । तर राति म हजुरआमाको घरमा नै सुत्थेँ किनभने मलाई आफ्नो दिनभरिको बदमासीका बारेमा सुनाउनु पर्थ्यो । उहाँ मेरा कुरा सुनेर हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘वाह ! वाह ! कति गज्जब ! अँ, त्यो मानिस त्यही लायक थियो । तिमीले भनेजस्तै ऊ साँच्चै इनारमा खस्यो हैन ?’

म भन्थेँ, ‘अँ तर ऊ मरेन ।’

उहाँ भन्नुहुन्थ्यो, ‘त्यो त ठीक छ, तिमीले उसलाई इनारमा धकेलिदियौ हैन ?’

हाम्रो छिमेकमा एउटै इनार थियो । त्यसमा कुनै पर्खाल उठाइएको थिएन । राति त्यहाँ जो कोही पनि खस्न सक्थ्यो । म मानिसहरुलाई त्यो इनार भएठाउँमा लैजान्थेँ । जुन मानिसलाई मैले इनारमा खसालेको थिएँ, त्यो अरु कोही नभएर छिमेकी हलवाई थियो । मैले हजुरआमालाई भनेँ, ‘आज मैले हलवाईलाई इनारमा धकेलिदिएँ ।’ यो सुनेर उहाँ यति हाँस्नुभयो कि उहाँको आँखामा आँशु आयो । म अझै पनि उहाँको हाँसो सुन्न सक्छु ।

उहाँले भन्नुभयो, ‘यो त राम्रो भयो तर ऊ बाँच्यो कि बाँचेन ?’

मैले भनेँ, ‘ऊ त बिल्कुल ठीक छ ।’

उहाँले भन्नुभयो, ‘उसो भए त केही फरक परेन । चिन्ता नगर । त्यो मानिसलाई त्यस्तै गर्नुपर्ने थियो । मिठाईहरूमा के के जाति मिसाएर ठग्थ्यो, ठीकै गर्‍यौ । कसैले न कसैले त उसलाई ठीक लगाउनै पर्थ्यो ।

पछि हजुरआमाले ती हलवाईलाई भन्नुभयो, ‘जबसम्म तिमी आफूलाई बदल्दैनौ, तिमी पटक पटक इनारमा खस्छौ, खसिरहन्छौ ।’ तर उहाँले मलाई यसका बारेमा कहिल्यै केही भन्नु भएन ।

मैले उहाँलाई सोधेँ, ‘मान्छेलाई इनारमा खसालेको बारेमा केही भन्न चाहनु हुन्न ?’

उहाँले भन्नुभयो, ‘अँहँ ! किनभने मैले तिमीलाई बच्चैदेखि देखेकी छु । तिमीले कुनै गलत काम गर्‍यौ भने पनि यति ढङ्ग मिलाएर गर्छौ कि सही समयमा गलत भए पनि त्यो सही नै बन्न पुग्छ ।’

हजुरआमाले पहिलो पटक मलाई भन्नुभयो, सही कुरा पनि गलत व्यक्तिले गर्‍यो भने गलत हुन पुग्छ । र, गलत पनि सही मानिसको हातमा पुग्यो भने सही हुन पुग्छ । त्यसैले तिमी यसको चिन्ता नगर । मैले के गरेँ भनेर चिन्ता नगर । एउटै कुरा मात्र याद राख, तिमी के बनिरहेका छौ । ‘गर्नु र ‘हुनु’ मात्र प्रश्न हो । सबै धर्म ‘गर्नु’मा जोड दिन्छन् तर म त ‘हुनु’मा जोड दिन्छु । तिम्रो ‘हुनु’, तिम्रो बिइङ सही छ भने… सही भन्नुको तात्पर्य, त्यसले आनन्दित, मौन, शान्त र प्रेमपूर्ण गराउँछ भने, तिमीले जे गर्छौ त्यो सही हुन्छ । त्यसपछि तिम्रालागि कुनै अर्को आदेश हुने छैन । केवल यही ‘हुनु’ले नै यति समग्रताले होस् कि त्यसमा कुनै छायाँ पनि नआओस् । त्यो बेला तिमीले जेसुकै गलत गर्न सक्तैनौ । सारा संसारले तिमीलाई यो गलत हो भनोस्, त्यसले कुनै फरक पर्दैन । केवल तिम्रो आफ्नो बिइङ, आफ्नो आत्मा नै महत्त्वपूर्ण हुन्छ ।

मलाई क्राइस्टलाई सूली चढाइएकामा चिन्ता छैन किनभने मलाई थाहा छ, सूलीमा पनि उनीभित्र पूर्ण शान्त थिए, विश्राममा थिए । उनी यति विश्राममा थिए कि उनले प्रार्थना गर्न सके, ‘हे पिता !’ उनले परमात्माका लागि पिता शब्द प्रयोग गर्थे । सत्य त के भने उनले पिता पनि भनेनन् । ‘अब्बा !’ भने, जुन ज्यादै सुन्दर शब्द छ । उनले भने, ‘अब्बा ! यी मानिसलाई क्षमा गरिदिनू किनभने यिनले के गरिरहेका छन्, जान्दैनन् ।’

र पनि, ‘गर्नु’मा सारा जोड दिइन्छ । ‘यो के गर्दै हुनुहुन्छ !’ अफसोस्, सूलीमा झुण्डिएका ती मानिसको ‘हुनु’लाई देख्न सकेनन् । केवल यो ‘हुनु’ नै महत्त्वपूर्ण हो ।

त्यो बेला मैले ती जैन मुनिलाई यसरी अजीब र दिक्क लगाउने प्रश्न सोधेर कुनै गलत काम गरेँ भन्ने लाग्दैन । शायद मैले उनलाई सहयोग नै गरेँ हुँला । शायद एक दिन उनले यो बुझ्नेछन् । यदि उनमा साहस हुन्थ्यो भने त्यसै क्षण बुझ्थे होला तर उनी कायर थिए, उनी भागे । र, त्यसबेलादेखि मेरो अनुभव नै छ, यी सबै तथाकथित महात्मा र सन्त कायर हुन् । मैले आजसम्म कोही यस्ता महात्मा– हिन्दु, मुसलमान, ईसाई या बौद्ध– देखेको छैन, जो साँच्चैको विद्रोही हो भन्न सकियोस् । जबसम्म कोही विद्रोही हुँदैन, कोही पनि धार्मिक हुन सक्तैन । विद्रोह धर्मको आधारशीला हो ।

लेखक परिचय

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया
Loading...