कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य’ नामक शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियनकर्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ ‘कारागार साहित्य’ सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिनेछ । अवश्य नै सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

………………….

लक्ष्य लिएर गन्तव्य खोज्दै हिँडेको मान्छे कहिले उकाली चढ्छ, कहिले ओराली झर्छ । उकाली-ओरालीको थकानले चौतारीमा सुइय …सुस्केरा हालेर सुस्ताउँछ । सोच्छ … परिकल्पना गर्छ … । उद्देश्यप्राप्तिका लागि मरिमेट्छ । सच्चा मानव बन्न चाहन्छ । समाज देशको उन्नति हेर्न उत्सुक हुन्छ ऊ । जिज्ञासु बन्छ र जिजीविषाहरू सलबलाउन थाल्छन् । बाँचेर केही गर्न चाहन्छ तर … तर हाम्रो समाज …, माथि उठ्न खोज्नेहरूको खुट्टा तान्छ । प्रगति हेर्न नचाहनेहरूको घुइरो लाग्छ । समाजका केही धमिराहरूले भित्रभित्रै खोक्रो बनाइदिएर अस्तित्वहीन बनाइदिन्छन् र उसलाई चारदिवारभित्र काँडेतारको भूमरीमा फसाइदिन्छन् ।

कारागार यस्तो ठाउँ हो जसलाई मान्छेले सपनामा पनि देख्न चाहँदैन । अँध्यारो कोठा, साना आँखीझ्याल, थोरै आकाश, डेड हातको ओछ्यान, अपराधीहरूको खाट, आफन्तहरूसँग बिछोड, हतकडी, लाञ्छना, नमिठा बोलीवचन, हतास मनःस्थिति, अनिद्रा, अरुचि, छटपटी, अश्रुधारा, आत्मग्लानि, बेचैनी, आर्थिक स्रोत अन्त्य, कडा सुरक्षा निगरानी र अदालतका बुझ्न नसकिने कानुनी प्रक्रियाहरू । अनि बाटा, जुन साधारण नागरिकले गरेका सामान्य र असामान्य अपराधमा निजहरूले भोग्नुपर्ने र अनुभव गर्नुपर्ने बाध्यताहरू । साथै मकैसँग पिसिएका निर्दोष घुनहरूको विवशता ।

जेल पर्दैमा अनौठो मान्नुपर्ने केही छैन । अलिकति मनमा लागेको कुरा केही भने रिसबीकै भरमा विनाछानबिन दोषी करार भएर जेल जीवन भोग्नुपर्दाको अवस्था भने कहालीलाग्दो नै छ तर देशमा सुशासन, अमनचैन, शान्ति, सुव्यवस्था कायम गर्न दोषीलाई सजाय दिनु नौलो कुरा होइन, वास्तविकता नै यही हो र हुनु पनि पर्छ ।

जेल जीवन भोग्दाका सकारात्मक पक्ष पनि छन् जुन सार्थक भएका छन् । एउटा अनपढ गवार व्यक्ति कम्तीमा २ वर्षका लागि जेल पर्‍यो । उसले कानुन र अदालती प्रक्रियामा रुचि राख्यो भने आफ्ना लागि न्यायाधीश र अरूका लागि वकिल बन्न सक्छ । बाहिरका आफ्ना आफन्तलाई नजिकबाट चिन्दछ । को आफ्नो हो र को शत्रु हो ? चामल र बियाँजत्तिकै सर्लक्क छुट्याउन सक्छ । बाहिर हुँदा हुन सक्ने अवाञ्छित दुर्घटना वा अन्य घटनाबाट बच्न सक्छ । बाहिर हुँदा नभ्याएका काम गर्न सक्छ जस्तै पत्रिका पढ्ने, पुस्तक पढ्ने, साहित्यलेखन, कलेजका डिग्री लिने, खाना बनाउने, योग गर्ने, सरसफाइ गर्ने आदि किनभने ऊसँग प्रशस्त समय हुन्छ ।

आम्दानी गर्न पनि सक्छ, जस्तै कारखानामा काम गरी गलैँचा बुन्ने, मुडा बुन्ने, पसल चलाउने, लुगाधुने आदि । साथै उसमा लागेका पुराना कुलत (बानी) छोड्ने र नयाँ लत (राम्रा) मा लाग्ने । त्यसैगरी फरक-फरक जेलमा सरुवा भएर जाने र फरक-फरक राम्रा व्यावसायिक, प्रबुद्ध व्यक्तित्वसँग सम्बन्ध कायम गर्ने । लामो समय जेल बसेको व्यक्तिले बाहिर निस्केर के गर्ने? जेलमा बर्बाद भएको समयलाई छोटो अवधिमै आर्थिक रूपमा सबल हुन कसरी काम गर्ने ? भन्ने जान्नका लागि अध्ययन गर्ने । आफूलाई मानसिक रूपमा सबल बनाउने र लचक बनाउने । आफ्नो इगो मार्ने र व्यावसायिकताका सिद्धान्तलाई आफ्नो जीवनमा आत्मसात् गर्ने अर्थात पारदर्शिता, स्वार्थहीनता, इमानदारी, सदाचार, निष्ठा, उत्तरदायित्व र वस्तुनिष्ठतालाई अपनाउने ।

मैले के गरेँ…..?साँढे छ वर्षको अन्तरालमा आन्तरिक प्राशासनिक कार्यमा सहयोग गरेँ । प्रशासन चुस्त पार्ने हेतुले हाजिरीजबाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, विभिन्न प्रतियोगितात्मक खेलहरू, सांस्कृतिक कार्यक्रम आदि जस्ता प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेँ । यस्ता विविध कार्यक्रमहरूबाट उनीहरूको आत्मबल बलियो हुनुका साथै आफूमा भएको आत्मग्लानिमा ह्रास आउने रहेछ । परिबन्धमा परेको एउटा निर्दोष मान्छे म, सबैलाई सुधार्नुपर्छ अनि समाजमा भएका विकृति विसङ्गतिको न्यूनीकरण गर्दै अन्त्यका लागि चेतनामूलक र प्रेरणादायी विभिन्न विधामा २ वर्षको अन्तरालमा ५ वटा पुस्तक प्रकाशन गर्न सफल भएँ । जुनकार्यका लागि सहयोग गर्ने व्यक्तित्वहरू मुरी-मुरी धन्यवादका पात्र हुनुहुन्छ ।

जेल पर्ने राम्रो कुरा हो भनेर व्याख्या गर्नु पनि ठिक होइन । इज्जत, मान, प्रतिष्ठा र जीवनबारे चर्चापरिचर्चा गर्न बाध्य हुँदो रहेछ समाज । समाजको वास्तविक पहिचान बिलाएर जान्छ भन्नेमा हुँदा रहेछन् कोही । समाज, साथीभाइ, आफन्तहरूले हेर्ने दृष्टिकोण फरक हुन्छ । लामो समय बस्दै गएपछि आफन्तले साथ छोड्दै गएजस्तो भान हुन्छ । जागिरेको जागिर जान्छ, व्यवसायीहरूको व्यापार ठप्प हुन्छ । राजनीति गर्नेहरूको मूलबाटो बन्द हुन्छ जनताको आडभरोसा मर्छ तर इच्चा आकाङ्क्षा मर्न नदिएर धैर्य र संयम अपनाएर अघि बढ्यो भने ती सबै सकारात्मक हुन्छन् ।

तपाईँले के गर्ने…?तपाईँ जुन मुद्दामा आए पनि, जति अवधि भए पनि दोषी वा निर्दोष जे भए पनि भित्र बसुन्जेल आफ्नो दिमागलाई धार लगाइरगनुहोस् । पढिरहनुहोस्, टिपिरहनुहोस् र लेखिरहनुहोस । सूचना र सम्बन्ध भएका व्यक्तिसँग मात्र बस्नुहोस् र राम्रा सम्बन्ध बनाउनुहोस् । सकारात्मक सोच भएका र मिठो बोली भएकाहरूसँग सम्पर्क बढाउनुहोस् । खराब सोच बाँकी भएकाहरूलाई सुधार्ने कोसिस गर्नुहोस् । व्यावसायिक मूल्य भएका व्यक्तिहरूलाई राम्रो सेवा दिनुहोस् । कारागारमा बस्दा अत्यन्तै नम्र बस्नुहोस् र जति तनाव भए पनि हाँस्नुहोस् । तपाईँको २० वर्ष जेलमा बिते पनि निस्केपछि २/३ वर्षमै कसरी आर्थिक क्षतिपूर्ति कसरी गर्ने भनेर तपाईँलाई किताबहरूले र भद्र व्यक्तिहरूले सिकाउने छन् ।

खानामा लोभ नगर्नुहोस् । चुरोट, सुर्ती र मासुजन्य पदार्थ सकेसम्म छोड्नुहोस् । यसले तपाईँको समय जगाइदिन्छन् र तपाईँलाई स्वस्थ राख्छ । आफन्तलाई बढी आर्थिक बोझ नबोकाउनुहोस् । यस्तै-यस्तै सकरात्मक सोच राख्दै यिनै कार्यहरू गर्नुभयो भने तपाईँका बाहिरका आफन्तलाई र साथीहरूभन्दा तपाईँ पाँच पाइलाअगाडि भएको अनुभव हुन्छ ।

जीवन अपरिहार्य छ । जीवन लामो छ । जीवन वरदान हो त्यसैले घमन्ड, रिस, आवेग, अहङ्कार त्यागेर सुकर्ममा लागौँ । जीवन सार्थक हुन्छ अवश्य र गन्तव्यको सुमार्ग तयार भएर अन्ततः जीवनको लक्ष्यमा विजय प्राप्त गर्न सकिन्छ ।

विष्णु थापा 
कारागार कार्यालय, डिल्लीबजार