नेपाली गजल ‘गुल र बुलबुल’को किस्सामै सिमित नहोस्

अरबी भूमिबाट यात्रा सुरू गरेको गजल पछिल्लो समय अनेक भाषा र परिवेशमा लोकप्रिय बनेको छ ।

कुनै बेला राजदरबारमा राजखलकहरूको मनोरञ्जनका खातिर उपयोग गरिने गजल विधाले आफ्नो लामो र सङ्घर्षपूर्ण यात्राका क्रममा आफ्नो स्वरूप र अभिव्यञ्जनामा निकै परिवर्तन गरिसकेको छ । फारसी भाषादेखि मुगल शासकसम्मको पुरानो इतिहास बोकेको गजल उर्दू, हिन्दी हुँदै नेपाली भाषासम्ममा आइपुग्दा अनेकौं उतारचढावहरू पार गर्दै आफ्नो सुदीर्घ परम्परासमेत स्थापित गरिसकेको छ । योसँगै गजलले आफ्नो गौरवशाली इतिहासका झण्डै हजार वर्ष पार गरिसकेको छ ।

सरल शब्दहरूबाट गहन दर्शन–भाव प्रस्तुत गर्न सकिने गजलका माध्यमबाट जिन्दगीलाई नजिकबाट नियाल्न सकिन्छ । गजलमा प्रयोग हुने सरल शब्द संयोजन र यसले बोक्ने गहन भाव, दर्शनकै कारण पनि आज यो विधाको उचाइ चुलिइरहेको पाइन्छ । यद्यपि यसका शास्त्रीय गुण-लक्षणको परिवर्तित स्वरूपलाई लिएर भने विभिन्न मतान्तरहरू रहेको देखिन्छ । मतभेदका बीचमा पनि गजलको लोकप्रियतालाई कसी लगाउनु पर्ने अवस्था भने छैन ।

मोतीराम भट्टले भित्राएको नेपाली गजलमा पनि विभिन्न मतान्तरहरू रहँदै आएका छन् । नेपाली गजल ३५ सालको पुनर्जागरण कालपछि फरक फरक कित्तामा रहेर लेखिँदै आएको पाइन्छ । लेखनको मामिलामा मतान्तर देखिए पनि लोकप्रियताका मामिलामा नेपाली गजलले बाजी मारिरहेको छ । त्यसैले मतान्तरहरूमा अल्झिरहनुभन्दा स्तरीय गजल लेख्नु आजको आवश्यकता हो ।

समग्र नेपाली गजलको उन्नयनका लागि हामीले साहित्यपोस्ट डटकममा ‘नेपाली गजल’को शृङ्खला सुरू गरेका छौँ । यसको मुख्य ध्येय भनेकै विभिन्न मतान्तरलाई टाढा राखेर स्तरीय नेपाली गजललाई बृहत्तर बनाउनु नै हो । यसका नियमित शृङ्खलाहरूमा हामी नेपाली गजललाई पाठकमाझ पुर्याउने अभ्यास गरिरहेका छौँ । यो अभियानमा जोडिन संसारभरका नेपाली गजलमा साधना गरिरहनुभएका तपाईँहरू सम्पूर्णमा अनुरोध समेत गर्दछौँ ।

अन्त्यमा हामी यही चाहन्छौं – नेपाली गजल ‘गुल र बुलबुल’को किस्सामै सीमित नहोस् । जय गजल !

संयाेजन–सहजीकरण
कमल संघर्ष