
कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य’ नामक शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान
कारागारमा पुस्तकालय अभियानका अभियनकर्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ ‘कारागार साहित्य’ सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिनेछ । अवश्य नै सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट
………………….
नेपथ्यको नायक
हेर्थेँ……नियाल्थेँ,….मनन गर्थेँ …. समाज हाक्नेहरूको हविगत …देश हाक्नेहरूको असली चरित्र …। समाजमा भएका विकृति, विसङ्गति, ज्यादती ….। कसरी न्यूनीकरण गर्ने चिन्तामा थिएँ म । निर्मूल पार्ने कोसिसमा रहे तापनि न्यूनीकरणकै सम्भावना नदेखेपछि झन् अतालिएको थिएँ म । एक्लो वृहस्पति झुटो भनेझैँ एक्लै केही हुदैनथ्यो । कैयन् प्रयास गरे समाज एकीकृत गर्ने भावनाहरू सँगाल्न एकजुट भएर सभ्य समाज निर्माण गर्ने तर ….।
जनचेतना अभिवृद्धि नभएसम्म समाज समृद्ध नबन्ने, सभ्य र समृद्ध नभएसम्म समाज देश विकसित नहुने कुराले चिन्तामा थिए म देश र जनताको खुसी व्यर्थ हुने देखेर अभिभावक भेला व्यवस्थापन समिति, शिक्षक विधार्थी सरोकारवाला र सम्बन्धित निकायहरू सँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आफ्नो अग्रसरता कायम राख्दा केही हदसम्म सुधारको मुस्कान समाजमा देखिएको आभासले पनि सन्तुष्ट भइनँ म ।
सामाजिक आर्थिक क्रान्तिले देशको विकाश देखेको छु । कृषिक्रान्तिमा देशको भविष्य देखेको छु र सार्थकता देखेको छु । देश विश्वप्रतिष्पर्धामा रहेको यो अवस्थामा नमुना बनी अघि बढ्ने सपना सँगालेको थिएँ र त म रखतरान भएर समृद्धिको खोजीमा हिँडेको हुँ । देशको भलो चाहनेहरूसँग सहकार्य गर्न चाहान्थेँ, देश भडखालामा हाल्न उद्यत भएकाहरूलाई तिरस्कार गर्थेँ म । उनीहरूलाई सचेत गराउँदै देश भक्तिमा प्रेरित गर्न तम्सिन्थेँ त्यसैले त समाज सुधार्न कैयन् पहल गरेँ, सामाजिक असमानतालाई हराउन खोजेँ । आशाअभिलाषा टन्नै थिए ममा । जनमानसका आवश्यक पूर्वाधार सहजताका लागि निकै खटेँ राणाकाल भोगेका मान्छेदेखि पञ्चायत हुँदै गणतन्त्र भोग्दै गरेका अनुभविहरूसँग सङ्गत गरेँ र घुलमिल गरेँ तर ।
बुझ समाजको रहनसहनमा हुर्केको मलाई त्यो अज्ञानी समाजले पेन्डुलम बनाइदियो । साथ र सहयोग गरेन मेरा प्रयासहरू निरर्थक भए । समाज विकास र देश समृद्धिको गह्रुङ्गो भारी बोकेर हिँडेको मलाई निस्तेज पार्न केही दुश्चरित्र पात्रहरू लागे । मेरोa सपना साकार हुन दिइएन । स्वार्थमा थिइनँ म तैपनि मान्छेहरूले मेरो कुरा बुझेनन् या बुझेर पनि बुझ पचाए । मेरो अस्तित्व मेटाउने ठूलो प्रयास भयो । गरेको देखी सहेनन्, एउटा निःस्वार्थ समाजसेवीलाई हतोत्साहित बनाउँदा समाज असफल हुन्छ र उधोगतितर्फ उन्मुख भएर विलय हुन्छ भन्नेसम्म पनि अड्कल काटेनन् । आफ्नो हालीमुहालीमा काँडेतार देखेर मलाई पन्छाउने प्रयत्न गर्दागर्दै अन्ततः मलाई भडखालामा हाली छाडे । चिसो छिँडिसँग मितेरी लगाइदिए २७ वर्ष पढाउँदा पनि म सफल शिक्षक बन्न सकिनँ ।
समाजको गतिविधि र हालत देखेर दुःखी छु, चिन्तित छु । समाज र देश हाक्नेहरू देख्दा आश्चर्य चकित हुन्छु म । लाज र घिन पचेका बेसरमहरू देखेर दिक्क छु । मनमनै सोच्छु …., कल्पन्छु । अब समाज कुन दिशातिर मोडिन्छ होला…? मातृत्व अस्मिता लुट्ने रहरहरूसँग घृणा हुन्छ मलाई । देश समाजको कन्तबिजोक देख्दा मेरा आँखा भरिएर आउँछन् र मुटु भक्कानिन्छ तैपनि देश, समाज र आफ्नो स्कुलप्रति केही गर्छु भन्ने दृढताका साथ संयम भएर आशाको दियो बालेर निभ्न नदिई प्रतिभाको घडीमा विवशतामय क्षण व्यतीत गर्दै झिनो आशाको त्यान्द्रामा बल्झिएर बसिरहेको छु । साथै सकारात्मक सोच राख्दै अग्रगतिमा लम्किरहेछु । समाजमा भएका विकृति विसङ्गतिलाई उजागर गर्दै मनका भावनात्मक अभिव्यक्तिहरू व्यक्त गरिरहेछु । प्रबुद्ध वर्गबाट राम्रो पृष्ठपोषण आएकाले प्रेरित भई लेखन कार्यमा तीव्रता दिने प्रयास गरेको छु । हुन सक्छ मेरा लेख रचनाबाट प्रभावित भएर पाठकवर्गबाट आएको सद्भावले अझ ऊर्जा मिलेको छ । यस्तै हौसला र ऊर्जा मिलेमा अझै सशक्त भएर अघि बढ्ने अठोट लिएको छु मैले ।
विष्णु थापा
कारागार कार्यालय डिल्लीबजार, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

