ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र ६ : जोरबा दि बुद्धा
ल ठीक छ ! मेरो यो ‘ठीक छ’मा केही उदासी छ किनभने आशु उदास छे र यो ‘नोआज आर्क’का सदस्य यति कम छन् कि एक जना व्यक्तिको उदासीले वातावरणलाई नै उदास उदास बनाइदिन्छ । ऊ उदास छे किनभने उसको प्रेमी गयो र शायद ऊ नफर्किएला ।
तिमीलाई याद होला, केही दिन पहिले मैले उसलाई सोधेको थिएँ, ‘आशु, तिम्रो प्रेमी कहाँ छ ?’
उसले कति खुसीले भनेकी थिई, ‘ऊ चाँडै नै यहीँ आउनेछ ।’
त्यो बेला शायद मैले के सोधेँ भनेर उसले सोचेकी पनि थिइन होला । म उद्देश्यबिना कसैसँग केही सोध्दिनँ । त्यो बेला तिम्रालागि शायद ती कुरा स्पष्ट नहोलान् तर उद्देश्य सधैँ स्पष्ट हुन्छ । मेरा सारा बेतुकका कुराका पछाडि केही कारण हुन्छ । मेरा सारा पागलपनको पछाडि एउटा गहिरो बुझाइ हुन्छ ।
ऊ चाँडै नै उदास हुनेछे भन्ने मलाई थाहा थियो, त्यसैले सोधेको थिएँ । खुसी होऊ । चिन्ता नगर । म तिम्रो प्रेमीलाई तिमीभन्दा राम्रोसँग चिन्छु ।
ऊ आउनेछ । म त्यसको व्यवस्था गरिदिनेछु । तर यो सानो ‘नोआज आर्क’मा उदास नहोऊ । अरे, तिमी हाँस्यौ ! यो राम्रो भयो । आफ्नो प्रेमीसँग केही समयका लागि टाढिनु सधैँ राम्रो हुन्छ । यसले तिमीभित्रको गहिराई बढाउँछ र आफ्नो प्रेमीसँग भेट्ने उत्कण्ठा गहिरो हुन्छ । यसले पुराना लडाईं झगडा र अन्य किसिमका जुन बेवकुफी भइरहेका थिए, तिनलाई तिमीले बिर्सने छौ । अचानक केवल सुन्दर कुरा स्मृतिमा रहनेछन् । सानो विछोडले नयाँ हनिमुन ल्याउँछ । उसो भए अब तिमी हनिमुनको प्रतीक्षा गर । मेरा शिष्य मसँग आउने उपाय सधैँ खोज्छन् नै ! ऊ मसम्म आइपुग्ने बाटो खोज्नेछ नै ।
तर दुर्भाग्य, उदास ‘स्याड’ शब्दले मलाई फेरि त्यो जर्मन मानिस एकिम स्याडको सम्झना दिलायो । हे भगवान् ! उसका बारेमा त म आफ्नो जीवनमा फेरि केही नभनूँ नै भन्दैथिएँ तर फेरि आयो । त्यो पनि तिम्रो उदासीका कारण । हेर त, तिमीले के ग-यौ ! त्यसैले कहिल्यै पनि उदास नहुनू, नत्र त ती मानिस यहाँ छिर्न सक्छन् ।
म उसको त्यो पुस्तकबाट जान्ने प्रयास गरिरहेको थिएँ, उसले ममा त्यस्तो के गलत देख्यो ? उसले कुन आधारमा म एन्लाइटेन्ड होइन भन्यो ? म एन्लाइटेन्ड होइन भन्ने उसैलाई चाहिँ किन लाग्यो ? अनि म केवल इल्युमिनेटेड हुँ भन्ने किन लाग्यो । उसले किन त्यस्तो निष्कर्ष निकाल्यो भन्ने उत्सुकतावश म जान्न चाहन्थेँ । र, मैले जे थाहा पाएँ, त्यो चाहिँ निकै हास्यलायक थियो । म इल्युमिनेटेड हुँ भन्ने उसले मान्नुको कारण चाहिँ म जे भनिरहेको छु, त्यो निश्चित रुपमा समस्त मानवताका लागि बहुतै महत्त्वपूर्ण छ तर म एनलाइटेन्ड चाहिँ होइन । यस्तो ठान्नुको कारण मेरो बोल्ने शैली हो रे !
थाहा पाएर म बहुतै हाँसेँ । त्यसो त म धेरै कम हाँस्छु र हासेँ भने पनि म बाथरुममा हाँस्छु । म हाँसेको त ऐनालाई मात्रै थाहा छ । ऐनाको विशेषता के हो भने ऊ केही कुरा पनि सम्झँदैन । म किन हाँसेँ भने, जो व्यक्तिले म
एनलाइटेन्ड होइन भन्यो, मानौँ उसले कयौँ एनलाइटेन्ड मानिसलाई भेटिसकेको छ र उसले त्यस्ता अनेकन् एनलाइटेन्ड मानिसलाई चिन्दछ र मेरो कुरा गर्ने ढंग ती भेटिएका एनलाइटेन्डजस्तो फेला पारेनछ । म उसका लागि एउटा अमेरिकी शब्द प्रयोग गर्न चाहन्छुः सन–अफ–अ–बिच, जडबुद्धि !
म पूरा अधिकारले, निश्चित नै, आफ्नो पूरै अधिकारले भन्छु, बोधिधर्मले यो कुरा थाहा पाएको भए उसले चीनका सम्राट वूलाई पक्कै भन्ने थियो, ‘यु सन अफ अ बिच, तँ नरकमा जा र मलाई एक्लै छाडिदे । तर त्यो बेला यो अमेरिकी अभिव्यक्ति त थिएन । न त अमेरिका नै थियो । यो त युरोपेली मान्यता हो कि कोलम्बसले अमेरिकालाई पत्ता लगायो । वाहियात ! त्यो त कयौँ चोटि पत्ता लगाइसकिएको हो, तर सधैँ त्यो खोजलाई निमिट्यान्न पारियो ।
म तिमीहरूलाई मेक्सिको शब्द संस्कृतको मक्षिकाबाट आएको हो भन्ने याद दिलाऊँ ! र, मेक्सिकामा हजारौँ यस्ता प्रमाण पाइन्छन्, जसबाट जिसस क्राइस्टभन्दा पहिले त्यहाँ हिन्दु धर्म प्रचलित थियो । कोलम्बस त धेरै पछि आएको हो । सत्य त के भने अमेरिका र विशेषगरी दक्षिण अमेरिका एउटा यस्तो महाद्विपको अंग थियो, जसमा अफ्रिका पनि सँगसँगै थियो । भारत ठीक मध्यमा थियो, अफ्रिका तल थियो र अमेरिका माथि थियो । अहिलेका ती महादेश त्यो बेला एउटा छिपछिपे पानीको सागरबाट विभक्त थिए । तिमी त्यो सागर हिँडेरै पार गर्न सक्थ्यौ । पुराना भारतीय शास्त्रमा यसबारे उल्लेख छ । ती शास्त्रले भन्छन्, मानिसहरू एसियाबाट अमेरिका पैदल नै हिँडेर पुग्थे । कतिसम्म भने, यी महादेशबीच विवाह हुन्थ्यो । कृष्णको प्रमुख शिष्य र महाभारतको प्रसिद्ध योद्धा अर्जुनले मेक्सिकोकी एक युवतीसँग बिहे गरेका थिए । निश्चित रुपमा मेक्सिकोलाई तिनले मक्षिका भन्दा हुन् किनभने त्यसबारेको वर्णन मेक्सिकोसँग मिल्दोजुल्दो नै छ ।
मेक्सिकोमा हिन्दुहरूका देउता गणेशका मूर्तिहरू छन् । बेलायतमा गणेशका मूर्ति फेला पार्नु असम्भव छ । जबसम्म हिन्दु धर्म मानिदैन, कुनै पनि ठाउँमा त्यस्ता मूर्ति पाइनु असम्भव छ । सुमात्रा, बाली र मेक्सिकोमा भने सम्भव छ तर अन्य कतै पाइँदैन । जबसम्म त्यहाँ हिन्दु धर्म मानिँदैन, त्यस्तो संकेत पाइँदैन । मेक्सिकाका केही मन्दिरमा त प्राचीन संस्कृतमा लेखिएको शिलालेख पनि पाइएका छन् । मैले त यहाँ सानो जानकारी मात्र दिएको हुँ । धेरै जान्न मन छ भने भिक्षु चमनलालको पुस्तक ‘हिन्दु अमेरिका’ हेर्नुपर्छ । त्यो पुस्तक उनको जीवनभरिको शोध थियो । बडो आश्चर्यको कुरा त कसैले पनि उनको किताबलाई ध्यान दिएर पढ्दैन । ईसाईले त झन् ध्यान दिने कुरै भएन तर प्रतिभाशाली मानिसले त्यो पढे भने बिना पूर्वाग्रह पढ्नु पर्छ ।
त्यो जर्मन व्यक्ति र उसको साथी डच मनोवैज्ञानिक, जसले म एनलाइटेन्ड हुँ तर इल्युमिनेटेड होइन र म इल्युमिनेटेड हुँ तर एनलाइटेन्ड होइन भनेर जे लेखे, ती दुवै एकआपसमा विचार विमर्शका लागि भेट्नुपर्छ र उनीहरू निष्कर्षमा पुग्नुपर्छ । जे निष्कर्षमा पुग्छन्, उनीहरूले मलाई त्यो बताइदिए हुने– किनभने म ती दुवै होइन । उनीहरू शब्दमा यति धेरै अल्झिएका छन्– इल्युमिनेसन हो कि एनलाइटेन्ड हो, ती दुवै व्यक्तिले बिल्कुल विपरीत निष्कर्षमा पुग्नका लागि एकै किसिमका कारण उपयोग गरेका छन् । डचले आफ्नो पुस्तक जर्मनभन्दा केही समय अगाडि लेखेको थियो । जर्मनले त्यो विषय डचबाट चोर्यो कि जस्तो देखिन्छ । तर प्रोफेसरले त त्यस्तो गर्छन् नै, उनीहरू एकअर्काका विचार र तर्क चोरिरहन्छन् । बिल्कुल त्यही तर्क… म एनलाइटेन्ड व्यक्तिजस्तो बोल्छु कि इल्युमिनेटेडजस्तो !
तर एनलाइटेन्ड या इल्युमिनेटेड व्यक्तिले कसरी बोल्नुपर्छ, यसको निर्णय गर्ने उनीहरू को हुन् ? के तिनले बोधिधर्मलाई चिनेका छन् ? तिनले बोधिधर्मको तस्बिर देखेका छन् ? देख्दा हुन् त उनीहरू तुरुन्तै निष्कर्षमा पुगिहाल्थे, यस्तो व्यक्ति एनलाइटेन्ड या इल्युमिनेटेड हुनै सक्तैन । बोधिधर्म डरलाग्दो देखिन्थ्यो । उसका आँखा जंगलको बाघजस्तो देखिन्थ्यो । र, उसले जसरी तिमीतिर हेर्छ, यस्तो लाग्छ, मानौँ अहिल्यै ऊ चित्रबाट फुत्त निस्केला । त्यहाँ निस्केर तिमीमाथि झम्टेला र मार्ला । त्यस्तो थियो ऊ । तर बोधिधर्मलाई छाडिदेऊ किनभने चौँध शताब्दी बितिसक्यो…
म बोधिधर्मलाई व्यक्तिगत रुपमा चिन्थेँ । मैले ऊसित कम्तीमा पनि तीन महिनाको यात्रा गरेको थिएँ । मैले उसलाई जस्तो प्रेम गर्थें, ऊ पनि मलाई उस्तै प्रेम गर्थ्यो । उसले मलाई किन प्रेम गर्थ्यो भन्ने जान्ने उत्सुकता होला किनभने मैले उसलाई कुनै प्रश्न सोधिनँ । उसले मलाई भन्यो, ‘मसँग भेट्ने तिमी पहिलो मानिस हौ, जसले प्रश्न सोध्दैन । प्रश्नले मलाई दिक्क लगाउँछ । तिमी मात्र यस्ता व्यक्ति हौ, जसले मलाई प्रश्न सोधेर बोर गर्दैन ।
मैले भनेँ, ‘त्यसको एउटा कारण छ ।’
उसले सोध्यो, ‘के कारण ?’
मैले भनेँ, ‘म त केवल उत्तर दिन्छु । म कहिल्यै प्रश्न सोध्दिनँ । तिमीसँग प्रश्न छ भने बरु सोध्न सक्छौ । तिमीसँँग कुनै प्रश्न नै छैन भने चुप्प लाग ।’
हामी दुवै हाँस्यौँ किनभने हामी दुवै जना उस्तै पागल थियौँ । उसले मलाई ऊसँगै यात्रा गर्न भन्यो तर मैले भनेँ, ‘मलाई माफ गर । म आफ्नै बाटो जानुछ । अब तिमीबाट मेरो बाटो छुट्टिएको छ ।’
उसलाई विश्वासै भएन । उसले त्यसअघि कहिल्यै आफूसँग हिँड भनेको थिएन । यो कस्तो मानिस थियो भने त्यो जमानाको सबैभन्दा ठूलो साम्राज्यका महान् चिनियाँ सम्राट वूलाई पनि यसरी अस्वीकार गरेको थियो कि मानौँ ऊ कुनै भिखारी होस् । बोधिधर्मले विश्वासै गर्न सकेन, उसको निमन्त्रणालाई मैले अस्वीकार गरेँ ।
मैले भनेँ, ‘अब तिमीलाई थाहा भयो, अस्वीकृत हुँदा कस्तो महसुस हुन्छ । मैले तिमीलाई त्यसैको स्वाद दिलाउन चाहन्थेँ । अलबिदा !’
तर यो त चौध सय वर्षअघिको कुरा हो ।
त्यो जर्मन व्यक्तिलाई म केही आधुनिक उदाहरण दिन चाहन्छु । गुरजिएफ, जो केही वर्षअघिसम्म ज्यूँदै थिए, उनलाई भेट्नु पर्थ्यो । अनि मात्र उसलाई एनलाइटेन्ड या इल्युमिनेटेड व्यक्तिले कसरी बोल्छ, कस्तो व्यवहार गर्छ भन्ने थाहा हुन्थ्यो । गुर्जिएफ यस्ता शब्द ओकल्थे, जुन बोल्न पनि गाह्रो हुन्छ । त्यस्ता शब्द उसका पुस्तकमा लेखिएन, नत्र त कसैले उनको किताब छाप्दैनथे ।
अथवा, तिनलाई भारतीय बुद्धत्वसँग मात्र मतलब हुनुपर्छ, जो ती मूर्खहरूलाई प्रभावित गर्न सक्थे…नत्र त भारतसँग तिनको के लेनादेना ? बुद्धत्व त जहाँसुकै पनि घट्छ तर तिनलाई भारतीय बुद्धत्वसँग नै मतलब हो भने रामकृष्ण हाम्रो निकट छन् । उनका शब्दलाई पनि जस्ताको त्यस्तै प्रस्तुत गरिएन किनभने उनी देहाती थिए, गाउँका, देहाती भाषा प्रयोग गर्थे । जुन शब्दका प्रयोग समाधीस्थ मानिसलाई गर्नुपर्दैन भन्ने तिनका मानिसलाई लाग्यो, ती सबै शब्द निकालियो । मैले बंगालमा घुमीघुमी केही मानिसलाई भेटेँ, जसले रामकृष्णले बोलेको देखेका छन् । उनीहरू सबैले भने, ‘मानिसले जसरी बोल्नुपर्ने हो, त्यसरी नै उनी बोल्थे । सिधा, सफा, बिना कुनै भय, बिना कुनै लागलपेटयुक्त तरिकाले ।’
मलाई जसरी बोल्न मनलाग्यो मैले सधैँ त्यसरी नै बोलेँ । म कसैको दास होइन । कुनै मूढले मेराबारेमा के सोच्छन् भनेर मैले कहिल्यै चिन्ता गरिनँ । त्यो उनीहरूमा भरपर्ने कुरा हो । उनीहरूले म इन्लाइटेन्ड हुँ भनेर सोच्न सक्छन्, उनीहरू म इल्युमिनेटेड हुँ भनेर सोच्न सक्छन् । उनीहरू म अज्ञानी हुँ भनेर सोच्न सक्छन् । उनीहरूको मर्जीअनुसार सोच्न सक्छन् । कागज छँदैछ, मसी पनि छ, उनीहरू आफूले चाहेको लेख्न सक्छन् । म किन चिन्ता गरुँ ?
यत्तिकै, आशु, किनभने तिमी उदास थियौ, तिमीले त्यो मूढलाई लिएर आयौ । फेरि कहिल्यै उदास नहुनू, किनभने तिमी उदास भयौ भने म त्यो मूढलाई लिएर आउनेछु । अनि त तिमीलाई थाहै छ, म जहाँबाट जे पनि ल्याउन सक्छु । ‘कतैकेहीबाट नभएको’ चिज पनि लिएर आउँछु ।
अब हामी त्यो जर्मन र उदासीबाट मुक्त भयौँ । ठीक छ हैन ? केही त हाँसिदेऊ… ल ठीक छ । अँ, म बुझ्न सक्छु, तिमी उदासीमा हाँस्यौ भने पनि त्यो केही फरक भयो तर यो स्वाभाविक छ । मेरा संन्यासीहरूले स्वाभाविकभन्दा केही माथि उठ्न सिक्नुपर्छ । उनीहरूले यस्ता कुरा सिक्नुपर्छ, जसको परवाह यो साधारण संसारमा कसैले गर्दैन । विरहको आफ्नो सौन्दर्य छ, मिलनको पनि आफ्नो सौन्दर्य हुन्छ । म त विरहमा कुनै नराम्रो देख्दिनँ । विरहको आफ्नो काव्य छ । त्यसका लागि तिमीले त्यसको भाषा सिक्नुपर्छ । तिमी त्यसको गहिराईमा गएर बाँच्नुपर्छ । त्यस्तो भए उदासीबाट आफैँमा एउटा नयाँ प्रकारको खुसी प्राप्त हुन्छ… जुन एकदम असम्भव लाग्छ तर हुन्छ । मैले त्यसलाई जानकेो छु । आज बिहान म त्यसैको कुरा गरिरहेको थिएँ ।
म आफ्नो हजुरबुवाको मृत्युका बारेमा कुरा गरिरहेको थिएँ ।
उहाँ सधैँका लागि छुट्टिनु नै थियो । हामी अब दोहोर्याएर भेट्ने छैनौँ । तर पनि यसमा एउटा सौन्दर्य थियो । उहाँले मन्त्र जपबाट यसलाई अझ सुन्दर बनाइदिनुभयो । उहाँले यसलाई अझ प्रार्थनापूर्ण बनाइदिनुभयो । त्यसमा सुगन्ध थपियो । उहाँ बूढो हुनुहुन्थ्यो र मर्दै हुनुहुन्थ्यो । शायद कुनै चर्को हर्टअट्याकबाट । हामीलाई यसका बारेमा केही थाहा थिएन किनभने गाउँमा कुनै डाक्टर थिएन । कुनै औषधि पसल थिएन । त्यै भएर हामीलाई उहाँको मृत्युको कारण थाहा भएन तर म सोच्छु, उहाँलाई ठूलो हर्टअट्याक भएको होला ।
मैले उहाँको कान छेउमा गएर सोधेँ, ‘हजुरबा, बिदा हुनुभन्दा पहिले तपाईं मलाई केही भन्न चाहनुहुन्छ ? कुनै अन्तिम शब्द ? तपाईंले मलाई केही दिन चाहनुहुन्छ, जसका कारण म सधैँ तपाईंलाई सम्झिरहूँ ?’
उहाँले आफ्नो औँठी निकालेर मेरो हातमा राखिदिनुभयो । त्यो औँठी यतिबेला कुनै संन्यासीसँग होला । मैले उसलाई त्यो औँठी दिएँ ।
तर त्यो औँठी मेरालागि सधैँ रहस्यको कुरा थियो । उहाँ पटक पटक त्यो औँठीभित्र हेर्नुहुन्थ्यो तर आफ्नो जीवनभर उहाँले कहिल्यै कसैलाई त्यो औँठीभित्र के छ भनी हेर्न दिनुभएन । त्यो औँठीको दुवैतिर काँचको झ्यालजस्तो थियो, ती झ्याल खोलेर भित्र हेर्न सकिन्थ्यो । माथि एउटा हिरा लगाइएको थियो र दुवैतिर काँचको झ्याल थियो । उहाँले कहिल्यै कसैलाई हेर्न दिनुभएन । उहाँले हेर्नुहुन्थ्यो, तर के देख्नुहुन्थ्यो ? भित्र जैन तीर्थंकर महावीरको एउटा सानो तर ज्यादै सुन्दर मूर्ति थियो । भित्र ज्यादै सानो मूर्ति थियो होला । त्यो मूर्तिलाई अलि ठूलो देखाउनका लागि भनेर दुवै झ्याल म्याग्निफाइङ ग्लासको बनाइएको थियो । जसका कारण त्यो मूर्ति निकै ठूलो देखिन्थ्यो । यो मेरालागि कुनै कामको चिज थिएन किनभने मैले आफ्नो जीवनकालभरि महावीरलाई त्यत्ति प्रेम गर्न सकिनँ जति मैले बुद्धलाई गरेँ । तथापि दुवै समकालीन थिए ।
महावीरमा केही कमी छ । उसका बिना पनि मेरो हृदय धडकिन्छ । उनी त पत्थरको मूर्तिजस्तो देखिन्छन् । बुद्ध चाहिँ बरु बढी जीवन्त देखिन्छन् । तर मेरो स्तरको जीवन्ततासम्म पनि होइन । त्यसैले म चाहन्छु, उनी जोरबा पनि बनून् । यदि परलोकमा कुनै बेला भेटिए भने त्यहाँ गाह्रो हुनेवाला छ । बुद्धले चिच्याउँदै भन्नेछन्, ‘तिमी मलाई जोरबा बनूँ भन्ने चाहन्थ्यौ हैन ?’
तर तिमीहरूलाई त थाहा छ, मलाई पनि चिच्याउन आउँछ । उनी मलाई चुप लगाउन सक्दैनन् । मेरो त आफ्नै बाटो छ । उनी जोरबा बन्न चाहँदैनन् भने त्यो उनको मर्जी । त्यसपछि उनको संसार समाप्त हुन्छ । उनको कुनै भविष्य रहने छैन । उनी आफ्नो भविष्य चाहन्छन् भने उनले मेरो कुरा सुन्नु पर्छ । उनले जोरबा बन्नै पर्छ ।
न त जोरबा एक्लै बाँच्न सक्छन्– त्यो हिरोसिमामा सकिनेछ– न त बुद्ध एक्लै बाँच्न सक्छन् । भविष्यमा दुवै जना बेग्लाबेग्लै बाँच्ने कुनै सम्भावना छैन ।
मनुष्यको भावि मनोविज्ञानको अध्यात्म र भौतिकवाद, पूर्व र पश्चिमका बीच एउटा सेतु बन्न जरुरी छ । कुनै दिन संसारले मेराप्रति कृतज्ञता जनाउनेछ, मेरो सन्देश पश्चिम पुग्दैछ । नत्र त आजसम्म मुमुक्षु पूर्वतिर गइरहेका थिए तर यस पटक एक जीवित बुद्धको सन्देश पश्चिम पुग्दैछ ।
पश्चिमलाई थाहा छैन, बुद्धलाई कसरी चिन्ने किनभने तिनले कहिल्यै कुनै बुद्धलाई चिनेका छैनन् । उनीहरूले आंशिक बुद्धलाई जानेका छन्, जिससलाई, पाइथागोरसलाई, डायोजनिनलाई । उनीहरूले कुनै समग्र बुद्धलाई चिनेका छैनन् । त्यसैले उनीहरूले मेराबारेमा वादविवाद गर्नु आश्चर्यको कुरा होइन ।
भारतीय अखबारहरूमा के छापिदैछ तिमीहरुलाई थाहा छ ? उनीहरूले एउटा कथा छापिरहेका छन् कि शायद दुस्मनहरूले मेरो अपहरण गरे र मेरो जीवन खतरामा छ । यतिबेला म यहाँ छु र उनीहरूलाई मसँग कुनै मतलब छैन ।
भारत सडेगलेको देश हो । लगभग दुई हजार वर्षदेखि यो सडेगलेको देश हो– दुर्गन्ध आउँछ यसबाट । भारतीय आध्यात्मिकता जत्तिको दुर्गन्ध अन्य कुनै चिजबाट आउँदैन । यो लाश हो र ज्यादै पुरानो लाश हो– दुई हजार वर्ष पुरानो ।
मानिसहरू पनि कस्ता कस्ता कथा रच्छन् ! शायद दुस्मनहरूले मेरो अपहरण गरे र अब मेरो जीवन खतरामा छ रे ! सत्य त पछिल्ला पच्चीस वर्षदेखि मेरो जीवन लगातार खतरामा छ । चमत्कार त, म अझैसम्म ज्यूँदै छु ।
अब उनीहरू यतिबेला आएर रक्षा गर्न चाहन्छन् ! संसारमा अनौठा मानिस छन् । तर मनुष्यको भविष्य ती अनौठा मानिसका हातमा छैन बरु एउटा बिल्कुलै नयाँ प्रकारका मनुष्यको हातमा छ । र, त्यो नयाँ किसिमका मनुष्यको नाउँ मैले ‘जोरबा दि बुद्धा’ राखेको छु ।
अँ, त मैले तिमीहरूलाई मेरो हजुरबुवाको मृत्युको कुरा सुनाइरहेको थिएँ । मेरा हजुरबुवाले मृत्युअघि आफ्नो सर्वाधिक प्रिय वस्तु मलाई दिनुभयो, महावीरको मूर्ति, जुन औँठीमा हिराको पछाडि लुकेको थियो । आँखामा आँशु थिए हजुरबुवाका । उहाँले भन्नुभयो, ‘तिमीलाई दिनका लागि मसँग अरु केही पनि छैन । किनभने मसँग जे छ, तिमीबाट खोसिनेछ, जसरी मबाट खोसियो । जसले आफूलाई चिनेको छ, उसका प्रति आफ्नो प्रेम नै म दिनसक्छु ।’
यद्यपि मैले उहाँको औँठी मैले आफूसँग राखिनँ । तापनि मैले उहाँको इच्छा पूरा गरिदिएँ । मैले त्यसलाई चिनेको छु, मैले उसलाई आफूभित्र जानेको छु । एउटा औँठीमा हुनेलाई चिनेर के फरक पर्छ ? तर विचरा वृद्ध मानिस, उहाँले आफ्नो गुरु महावीरलाई प्रेम गरे, उहाँले आफ्नो प्रेम लाई दिनुभयो । आफ्ना गुरुप्रति र मेराप्रति उहाँका प्रेमलाई म आदर गर्छु । हजुरबाको ओठमा अन्तिम शब्द थिएः चिन्ता नगर किनभने म मरिरहेको छैन ।
हामीले अब उहाँले केही बोल्नु होला भनेर पर्खियौँ तर उहाँका यी अन्तिम शब्द थिए । उहाँका आँखा बन्द भए र उहाँको चोला उठ्यो ।
मलाई अहिले पनि त्यो मौन याद छ । गोरुगाढामा एउटा नदीको किनाराबाट हामी जाँदै थियौँ । मलाई एक एक कुरा याद छन् । म केही पनि बोलिनँ किनभने म आफ्नी हजुरआमालाई दुःख दिन चाहन्न थिएँ । उहाँ पनि केही बोल्नु भएन । केही क्षण बित्यो, मलाई उहाँको चिन्ता लाग्यो र मैले भनेँ, ‘केही त बोल्नुस् ! चुप्प लागेर नबस्नुस् । यो असहनीय छ !’
तिमीहरूलाई विश्वास नलाग्ला, उहाँले एउटा गीत गाउनुभयो । यसरी मैले सिकेँ, मृत्युको पनि उत्सव मनाउनुपर्छ । उहाँले त्यही गीत गाउनुभएको थियो, जब उहाँलाई मेरा हजुरबासँग पहिलो पटक प्रेम भएको थियो ।
यो पनि उल्लेखनीय कुरा छ, नब्बे वर्ष पहिले, भारतमा, हजुरआमामा प्रेम गर्ने साहस थियो । उहाँ चौबीस वर्षको उमेरसम्म अविवाहित हुनुहुन्थ्यो । यो विरलै हुने कुरा थियो । मैले एक पटक उहाँलाई सोधेँ, त्यत्तिका वर्ष तपाईं अविवाहित किन हुनुभयो ? उहाँ यति सुन्दर हुनुहुन्थ्यो कि… मैले मजाकमा भनेको थिएँ, ‘खजुराहोस्थित राज्य छरतपुरका राजा पनि शायद तपाईंको प्रेममा पर्ने थियो होला ।’
उहाँले भन्नुभयो, ‘आश्चर्य छ, तिमीले यो कुरा कसरी थाहा पायौ ? हो, ऊ मेरो प्रेममा परेको थियो तर मैले ऊसित बिहे गर्न अस्वीकार गरेँ । उसलाई मात्र होइन, अन्य धेरै जनालाई पनि अस्वीकार गरेँ ।’
त्यो बेला भारतमा केटीको बिहे सात वर्ष अथवा बढीमा नौ वर्षको उमेरमा भइसक्थ्यो । प्रेमको भय… उनीहरू ठूला भए भने शायद प्रेममा पर्लान् भन्ने डर थियो । तर मेरी हजुरआमाका पिता कवि थिए । उहाँका गीत अझै पनि खजुराहो तथा वरपरका ठाउँमा गाइन्छन् । उहाँले जबसम्म हजुरआमा चाहन्नु हुन्न, उहाँको कसैसँग बिहे हुँदैन भन्दिनुभयो । संयोगले हजुरआमाको प्रेम मेरा हजुरबासँग भयो । मैले उहाँसँग भनेँ, ‘यो त अझ आश्चर्यको कुरा भयो, तपाईंले छरतपुरका राजालाई अस्वीकार गर्नुभयो र एउटा गरिब मानिसको प्रेममा पर्नुभयो । केका लागि ? निश्चित नै उहाँ कुनै सुन्दर व्यक्ति त हुनुहुन्थेन ! कुनै असाधारण व्यक्ति पनि हुनुहुन्थेन हजुरबुवा । तपाईं उहाँको प्रेममा किन पर्नुभयो ?’
उहाँले भन्नुभयो, ‘तिमीले गलत प्रश्न सोध्यौ । प्रेममा ‘किन’ भन्ने हुँदैन । मैले त उहाँलाई देखेँ, देखेपछि केही भयो ! मैले उहाँको आँखा देखेँ र मलाई एउटा गहन विश्वास भयो, एउटा अटूट विश्वास, जुन अहिलेसम्म डामाडोल भएको छैन ।’
मैले हजुरबासँग पनि यही सोधेको थिएँ, ‘हजुरआमाले तपाईंहरूबीच प्रेम भयो भन्नुहुन्छ । उहाँको तर्फबाट त होला तर तपाईं बिहेका लागि कसरी तयार हुनुभयो ?’
उहाँले भन्नुभयो, ‘म कवि या विचारक त होइन तर सौन्दर्यलाई देख्नेबित्तिकै चिन्न चाहिँ सक्छु ।’
मैले मेरी हजुरआमाभन्दा सुन्दर स्त्री कहिले पनि देखिनँ । म स्वयं उहाँको प्रेममा थिएँ । उहाँको जीवनभरि नै उहाँलाई प्रेम गरिरहेँ । अस्सी वर्षको अवस्थामा जब उहाँको मृत्यु भयो, म तुरुन्त घर गएँ । उहाँ सुतिरहनुभएको थियो, मृत । सबै जना मेरो प्रतीक्षा गरिरहेका थिए । किनभने हजुरआमाले उनीहरूलाई भन्नुभएको थियो, जबसम्म म त्यहाँ पुग्दिनँ, मेरो अन्तिम संस्कार नगर्नू । उहाँले जोड दिएर भन्नुभएको थियो, उहाँको चितालाई मैले नै अग्नि दिऊँ । त्यसैले उनीहरू मेरो प्रतीक्षा गरिरहेका थिए । म भित्र गएँ । उहाँको अनुहारबाट छोपिएको कपडा हटाएँ… उहाँ अझै पनि सुन्दर देखिनु भएको थियो । खासमा भन्ने हो भने पहिलेभन्दा पनि सुन्दर । किनभने सबै बिलकुल शान्त थियो, जीवनको भागदौड सकिएको थियो । श्वासको हलचल पनि बन्द भएको थियो । उहाँको केवल उपस्थिति मात्र थियो ।
उहाँको चितामा आगो झोस्नु, मेरो जीवनको सबैभन्दा कठिन काम थियो । यो त लियोनार्दो दा भिन्सी या भिन्सेन्ट भानगगको सबैभन्दा सुन्दर चित्रलाई आगोमा झोस्नुजस्तै थियो मेरालागि । निश्चित नै, मेरा लागि उहाँ मोनालिसाभन्दा पनि बढी मूल्यवान् हुनुहुन्थ्यो । क्लिोपेट्राभन्दा पनि अधिक सुन्दर हुनुहुन्थ्यो । यो कुनै अतिशयोक्ति होइन ।
सौन्दर्यको जुन परख मभित्र छ, त्यो उहाँकै देन हो । म जे हुँ, जस्तो छु, त्यो हुनुमा उहाँको हरतरहले गरेको सहयोगले हाे । उहाँको सहयोगबिना शायद म एउटा पसलेसम्म हुन्थेँ होला, या डाक्टर अथवा इन्जिनियर बन्थेँ होला । किनभने जब मैले मेट्रिक परीक्षा पास गरेँ, मेरा पिता यति गरिब थिए कि विश्वविद्यालय पठाउन सक्नु हुन्थेन । तर मलाई विश्वविद्यालय पठाउनका लागि उहाँ ऋण काड्नसमेत तयार हुनुहुन्थ्यो । म विश्वविद्यालय जाऊँ भन्ने उहाँको आग्रह थियो । म पनि जान चाहन्थेँ तर मेडिकल कलेज होइन, इन्जिनियरिङ कलेज पनि होइन । मैले त डाक्टर या इन्जिनियर बन्दिनँ भनेर स्पष्टै भनिदिएको थिएँ । मैले उहाँलाई भनेँ, ‘तपाईं सत्य जान्न चाहनुहुन्छ भने भनिदिऊँ, म त संन्यासी बन्न चाहन्छु, घुमक्कड हुन चाहन्छु ।’
उहाँ छक्क पर्नुभयो, ‘के रे ? घुमक्कड रे ?’
मैले भनेँ, ‘हो, म विश्वविद्यालय दर्शनशास्त्र, फिलोसफी पढ्न चाहन्छु ताकि म एक दार्शनिक घुमक्कड बन्न सकूँ ।’
उहाँले भन्नुभयो, ‘त्यसो भए म ऋण र झण्झट लिन्नँ ।’
मेरी हजुरआमाले भन्नुभयो, ‘तिमी पैसाको चिन्ता नगर । तिमीलाई जे गर्न मनलाग्छ, त्यही गर । म अझै ज्यूँदै छु । म मेरो सबैथोक बेचेर भएर पनि तिम्रो इच्छा पूरा गर्छु । कहाँ जान चाहन्छौ, के पढ्न चाहन्छौ म तिमीलाई कहिल्यै सोध्दिनँ ।’
उहाँले कहिल्यै सोध्नु पनि भएन । उहाँले मलाई आवश्यक परेको पैसा सधैँ पठाइरहनु भयो । म प्रोफेसर भइसक्दा पनि उहाँले मलाई पैसा पठाइरहनुभयो । आफैँ कमाइरहेको छु अब मलाई पैसा पठाउने होइन, मैले चाहिँ पठाउने बेला भयो भनेर बाध्य भएर भन्नु पर्यो ।
उहाँले भन्नुभयो, ‘चिन्ता नगर । यी पैसा मेरालागि केही काम लाग्ने छैनन् । कम्तीमा तिमीले यी पैसालाई राम्रोसँग उपयोग त गर्न सक्छौ !’
मानिसहरू छक्क पर्थे, यत्तिका सारा किताब किन्ने पैसा मसँग कहाँबाट आउँछ ? किनभने मसँग हजारौँ पुस्तक थिए । हाइस्कुलमा पढ्दा पनि मसँग हजारौँ किताब थिए । मेरो घर पुस्तकले भरिएको थियो । सबै जना आश्चर्य मान्थे, किताब किन्ने पैसा कहाँबाट आउँछ ? मेरी हजुरआमाले मलाई भन्नुभएको थियो, पैसा कहाँबाट आउँछ भनेर कसैलाई पनि नभन्नू किनभने तिम्रा आमाबुवालाई यो कुरा थाहा भयो भने उनीहरूले मसँग पैसा माग्न थाल्छन् र मैले उनीहरूलाई नाइँ भन्न गाह्रो हुन्छ ।
उहाँले मलाई सधैँ पैसा पठाइरहनु भयो । तिमीहरूलाई आश्चर्य लाग्ला, जुन बेला जुन महिना उहाँको मृत्यु भयो, त्यो महिना पनि उहाँले सधैँझैँ, पैसा पठाउनुभएको थियो । जुन दिन उहाँको मृत्यु भयो, बिहान उहाँले चेकमा हस्ताक्षर गर्नुभएको थियो । उहाँसँग भएको अन्तिम रकम नै त्यही पैसा थियो । शायद उहाँलाई थाहा भइसकेको थियो, अब शायद कुनै ‘भोलि’ हुने छैन ।
म अनेक प्रकारले भाग्यशाली छु तर यस्ता हजुरबा अहजुरआमा पाउनु त विशेष भाग्यशाली हुनुपर्छ… र ती सुनौला शुरुवाती दिनका लागि त अझ भाग्यशाली… ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।