‘पिई सराब गाँजा झुमिरहेँ नसामा,
रित्याएँ केवल बोतल बुझेन प्यास दिलमा !’
इनरुवाका सडक गायक ध्रुव बस्नेत सधैँ सुनाउँथे, आफ्नै रचना, स्वर र सङ्गीतमा यही एउटा सदाबहार मन छुने गीत–
‘सुन्छौ के कहानी, अधुरो यो जिन्दगानी
कुनै प्रेमी दिलले दिएको यो निसानी ।
मसानघाटमा हेर चिता बनाइरहेका
बल्दो आगोमाथि मलाई जलाइरहेका ।’
पिई सराब गाँजा झुमिरहेँ नसामा,
रित्याएँ केवल बोतल बुझेन प्यास दिलमा !’
एक पटक इनरुवाको दुई नम्बर वडामा कन्सर्ट गर्ने भइयो । ‘कम ब्याक ध्रुव ! एक समयका हिट गायक धु्रव बस्नेत फेरि स्टेजमा आउँदैहुनुहुन्छ’ भन्दै खुब प्रचार–प्रसार गरियो । मान्छेहरू टन्नै भेला भए ।
यता, कन्सर्टको दिन ध्रुव दाइले आयोजकलाई भने, ‘म गीत गाउन त गाउँछु तर माल खुवाउनुपर्छ केटा हो ।’
‘हुन्छ’ भन्दै केटाहरूले एक फुल खुकुरी रम ल्याइदिए । धु्रव दाइको पालो खाए, खाए, खाए र स्टेजमा चढेर माइक समाते ।
अब दाइले दिल खोलेर गाउने भए भनेर सोचेको त के को गाउनु ! उल्टै ‘गीत सुन्ने ? के गीत सुन्ने ? हिजोसम्म मैले खान नपाउँदा कसैले सोधेन । आज गीत गाउँछु भन्दा यस्तो जे–जे भन्यो त्यही–त्यही मान्ने ? गाउँदिनँ जा कसले के गर्छ !’ भन्दै स्टेजमै सुति पो दिए ।
बीचमा एक–दुई शब्द तलमाथि भए होलान्, भाइ धीरज भट्टराईले एक दिन हवेली परिसरमा सुनाएका शब्द हुन् यी । मैले इनरुवा नगरपालिकाबाट भए पनि हामी आफू–आफूले सहयोग जुटाएर भए पनि ध्रुव दाइको एउटा एल्बम निकाल्न सहजीकरण गर्नुपर्यो भन्ने आग्रह गर्दा धीरजले यस्तै शब्दमा जबाफ दिएका थिए ।
त्यसको एक वर्षपछि ध्रुव दाइको गायकीका लागि कसैले कुनै सहजीकरण गर्नुपर्ने आवश्यकता परेन । उनी इनरुवाको सेरोफेरो र हामीलाई आफ्नो हबिगतमा छोडेर चुपचाप हिँडिदिए आफू एक्लै अनन्त यात्रामा, कहिल्यै नफर्किने गरी ।
ध्रुव दाइका बारेमा म राम्रै जानकार हुँ । सङ्गीत, कला, दीयो क्लब, सामाजिक काम, साथीभाइ भन्दाभन्दै सर्वस्व सके । अनि तिनै साथीभाइ, समाजका अगाडि नसोचेको बहुलाहा जिन्दगी बाँचे धेरै वर्ष ।
…
‘दाइ मलाई चिन्नुहुन्छ ?’
एकदिन बिहानै मालपोत कार्यालयअगाडि सडकमा बिन्दास गायक ध्रुव बस्नेतसँग भेट भयो ।
‘चिन्छु नि ! किन नचिन्नु भाइलाई !’
तर, मलाई पत्यार भएन ।
‘को हो म लु भन्नु त ?’
‘विद्याधर होइन !’
‘वाह ! ध्रुव दाइ मानेँ मैले तपाईंलाई । जे होस् मलाई बिर्सिनुभएको छैन । मजा आयो !’
ध्रुव दाइसँग भएको अन्तिम संवाद यति नै हो । त्यसपछि ध्रुव दाइ कता, म कता !
तर जता भए पनि ध्रुव दाइले टेबुल ठटाएर गीत गाएका ठाउँ–ठाउँका दृश्यहरू पर्दाभित्र–बाहिर गरिरहन्छन् ।
दाइको गाउने स्टाइल गजब थियो, अभिनयसहितको । पिई सराब गाँजा भनेपछि हिक्क गर्थे, साँच्चै लागेजस्तै । प्रायः लागेकै पनि हुन्थ्यो ।
जब ध्रुव दाइको गायकी सुरु हुन्थ्यो, हाम्रो वाह–वाह रोकिँदैनथ्यो । झुमिरहेँ नसामा गाएपछि हमिङ जोडिन्थ्यो हुहुहुहु हुहुहुहु । रित्याएँ केवल बोतल शब्दपछि दोस्रो हिक्क । त्यसपछि नम्रताका साथ हुँ … बुझेन प्यास दिलमा !
त्यसपछि टेबुल, बन्थ्यो तबला । ड्याङड्याङ – ड्याङड्याङ – ड्याङड्याङ – ड्याङड्याङ ! रिरि ड्याङड्याङड्याङ … रिरि ड्याङड्याङड्याङ !
त्यो बेला ध्रुव दाइको जीवन र गायकीका बारेमा अनेक अफवाह, गसिफहरू प्रचलित थिए । तर यहाँ म केवल उनका शब्दहरू सम्झिरहेको छु ।
यदि तपाईलाई इनरुवाका ती मौलिक गायक ध्रुव बस्नेतको ओरिजिनल स्वर र गायकी शैली सुन्न मन लागेको छ भने कृपया मलाई फेसबुकमा इन–बक्स गर्नुहोला । मसँग उनको ओरिजिनल आवाजको एमपिथ्री छ । तपाईलाई टिकटक बनाउन काम लाग्नसक्छ ।
….
स्मरणीय छ, २०३९–२०४० सालको सेरोफेरोमा हाम्रो टोल, भगवती रोडमा स्थापना गरिएको ‘दीयो क्लब’ निजी सम्पत्ति खर्च गरेर धु्रव दाइलगायत युवाले निकै जोडतोडका साथ चलाएको थियो । आधुनिक वाद्यवादन र खेलकुदका सामग्रीसहित ।
पञ्चायती शासनको उत्कर्षमा यदि पञ्चहरूको हालीमुहालीवाला चारपाते कृषि क्लबलाई त्यो बेला इनरुवामा कसैले टक्कर दिन सक्थ्यो भने केवल दीयो क्लबले दिन सक्थ्यो । कारण यसमा राजनीतिसँग सरोकार नभएका आधुनिक साङ्गीतिक प्रयोगमा रुचि राख्ने बजारिया युवाहरूको बाहुल्यता थियो ।
क्लबको कार्यालय भवन, हाम्रै डेराछेउ अर्थात् जिल्ला प्रहरी कार्यालयको गेटभन्दा चार घरपूर्व सिङ्गै भाडाको घरमा थियो, जसका कारण पञ्चायत पक्षधरहरू त्यहाँ आउने–जाने केटा–केटीहरूको गतिविधिबाट कुनै ‘खतरा’ अनुभव गर्दैनथे । युवाहरूलाई निःसङ्कोच साङ्गीतिक र खेलकुदसम्बन्धी गतिविधि गर्न छुट थियो ।
तर क्लबका गतिविधिको उत्तरार्धमा ध्रुव दाइ निस्क्रिय भइसकेका थिए, अथवा भनौँ– दुनियाँवादी झोल–झक्कडभन्दा अलि अलग रहेर आफ्नै दुनियाँमा रमाउन थालिसकेका थिए ।
ध्रुव दाइ आफ्नै दुनियाँमा रमाउन थालेको अर्थात् क्लबको गतिविधिका ध्यान दिन छोडेको दुई वर्षपछि हामी मिलेर कार्यसमिति पुनः गठन ग¥यौँ, जसमा म सचिव थिएँ, विनोद आचार्य दाइ अध्यक्ष ।
२०४४ साल वैशाख १५ गते तत्कालीन सचिवको हैसियतले त्यसका सामानहरू केदार ओझा दाइलाई बरबुझारथ गरेको कागज मसँग अझै सुरक्षित छ । त्यसरी बुझाइएका ३३ थान सामग्रीको सूचीमा, १४ नम्बरमा लेखिएको छ– ‘धमिरो लागेको मादल थान– १’
सायद यस्तै कुरा हुन् इनरुवाले मलाई सम्झिरहने र मैले इनरुवालाई सम्झिरहने !
पिई सराब गाँजा, झुमी रहेँ नशामा … ध्रुव दाइको शब्द, स्वर तथा सङ्गीतमा किशोरवयमा हामीले रमाउँदै सुन्ने गीत थियो । पछि गीतमा भनिएका कतिपय शब्द आफ्नै जीवनमा हुबहु लागू भए, कति भइरहेकै छन् ।
ध्रुव दाइको कुरा गर्दा म बारबार एउटा प्रसङ्ग सम्झिन्छु ।
एकदिन मैले ध्रुव दाइ र गाँजाको सन्दर्भ अग्रज गीतकार, सङ्गीतकार, गायक दाइ विजय श्रेष्ठसँग उक्काएको थिएँ ।
‘अब यही त छ कुरो,’ त्यो बेला विजय दाइले भन्नुभएको थियो, ‘मान्छेहरू विजयहरूको सङ्गतले ध्रुवेले गाँजा खान सिक्यो र बहुलायो भन्छन् । त्यस्तो कुरा सुन्दा अचम्म लाग्छ । गाँजा धेरैले खान्छन् । हामी पनि खान्छौँ । विजय गाँजा खाए पनि जे खाए पनि विजयजस्तै हुन खोज्यो । तर ध्रुव गाँजा तानेर विजयजस्तो हुन खोज्यो । खास कारण यो हो । मान्छे आफूजस्तो होइन, अरूजस्तो हुन खोज्यो भने बहुलाउँछ । ध्रुवको हकमा पनि भएको त्यही हो । ऊ आफूजस्तो हुन खोजेन । मजस्तो हुन खोज्यो र अन्तिममा परिणाम त्यस्तो भयो ।’
…
‘म हिँडेको बाटो
पहिल्याउँदै आऊ
त्यहाँ फूल पनि हुन्छ
काँडा पनि हुन्छ !’
विजय दाइले लेखेका यिनै शब्दमा भनिए झैँ भयो, ध्रुव दाइको जीवन पनि । तर फूल कम काँडा धेर प¥यो उनको भागमा । जीवनभर गायक, सेलिब्रिटी हुन नाना प्रयत्न गरे र अन्तिममा गुमनाम जिन्दगी मरेँ । गुगल सर्च गर्दा पनि हत्तपत्त नभेटिने गरी भौतिक संसारबाट सिफ्ट डिलिट भए, २०७६ असोज २२ गते ।
केहीबेर अघि सखुवागाछी, राजमार्ग चौबाटोनजिक टहरे चौतारोमा सारसौँदो देखेका थिए मान्छेले उनलाई । तर १० बजेतिर त्यही चौतारोअगाडि बनाउँदै गरेको हिले सडकमा लमतन्न उत्तानो परेको अवस्थामा भेटिए ।
कहिलेदेखि ननुहाएको (सायद भरपेट खान नपाएको पनि) हिलो–हैलो कपडा, जिङ्रिङ्ङ कपाल, दुवै हात मास्तिर फर्केका, खुला । एउटा खुट्टामा चप्पल, अर्को खाली । दक्षिततिर छेउमा एउटा चारपाटे पाइप, पाइपमा जडान गरिएको हरियो गमला । टाउकोनजिकै भोला गुट्काका च्यातिएका दुइटा खोल ।
पत्रकार भाइ राजेन्द्र पोखरेलको सौजन्यबाट प्राप्त त्यसबेलाको यो कारुणिक तस्बिर–दृश्य फाइलमा सञ्चयन गरिराखेको छु । हेर्दा आज पनि मन भरङ्ङ हुन्छ ।
अरूका लागि जे भए पनि मेरालागि सेलिब्रिटी थिए, ध्रुव दाइ । मूल घर मधेसा भए पनि जतिखेर भेटिन्थे इनरुवामा । उनका बारेमा देखिजान्ने, सुनिजान्ने थाहा पाउनेहरूका अनुसार उनले आफ्नो भागमा परेको अंशमध्ये एक चौथाइ आफूले खाए होलान्, बाँकी अरू गायक, सङ्गीतकार, कलाकारलाई खुवाउँदै–पियाउँदै सके । त्यो बेला उनलाई सम्झिँदै धरान, विराटनगर, दार्जिलिङ, काठमाडौँ, पोखराबाट गायक–कलाकारहरू आइपुग्थे इनरुवा ।
सिलिगुडीबाट उनैको खर्चमा दीयो क्लबका लागि कङ्गो, गिटार, ड्रमसेट, बाँसुरीलगायत बाजाहरू ल्याइएको थियो । त्यो बेला हामी केटाकेटी नै थियौँ । सेरोफेरोमा दीयो क्लबका सदस्यहरूको चमकदमक देख्दा लाग्थ्यो– आफू पनि ध्रुव दाइजस्तै हुन पाए हुने ।
अहिले भन्ने गरिएको हवेलीजस्तै त्यो बेला इनरुवामा रोदीघर भन्ने थियो, तत्कालीन गुद्रीको शिव मन्दिरअगाडि । अहिले पण्डितजी होटल, एमके स्टोर, एसके स्टोर भएको ठाउँमा लामो टिनको घर थियो, जसको माथि करिब बीचमा थियो– राष्ट्रिय रोदीघर । नाम रोदीघर भए पनि स्थानीयले त्यसलाई गँजेडी मिलन–केन्द्रका रूपमा बुझ्थे र अभिभावकहरूबाट उर्दी हुन्थ्यो– रोदीघरतिर नजानू है ।
खासमा राष्ट्रिय रोदीघर तत्कालीन सांस्कृतिक चेत भएका अगुवा युवाहरूको कार्यालय थियो, जसका संयोजक थिए, चतुर्भज आशावादी । त्यही रोदीघरबाट सल्केका हुन्, ध्रुव दाइ पनि । हामीलाई त्यहाँ जान त के यसो सिँढी उक्लेर माथि चिहाउन पनि डर लाग्थ्यो । डर लाग्थ्यो भन्दा पनि आवश्यक लाग्दैनथ्यो ।
…
अलिपछि ध्रुव दाइ हामीसँग भन्थे– विधान भाइले गाएको ‘कान्छीको अल्लारे जोवन’ गीतको शब्द र प्रारम्भिक लय मेरो सिर्जना हो ।
एक पटक कुरैकुरामा यो कुरा मैले विजय दाइलाई सोधेको पनि थिएँ । तर उहाँ ‘यस्तो हावा कुरा नगर मसँग, एउठा बहुलाहाले जे भन्छ त्यही मान्दै हिँड्छौ, तिमीजस्तो पत्रकार पनि ?’ भन्दै मसँग रिसाउनुभएको थियो ।
सत्य के हो ? कि ध्रुव दाइलाई थाहा थियो कि विजय दाइलाई थाहा छ । हामीलाई त के थाहा !
पछिल्लोसमय मगन्ते जिन्दगी बाँचिरहेका थिए ध्रुव दाइ । चिनेजानेका र दिनेखालका सँग दस–बिस रुपियाँ माग्ने, जसले एक गिलास रक्सी खुवाइदियो, उसैका लागि गीत गाउने ।
आफ्नो सर्वस्व गीत–सङ्गीत भन्दै समर्पण गरेका सडक गायक ध्रुव दाइको आधिकारिक रूपमा एउटै गीत रेकर्ड हुन पाएन । यसमा मलाई पछुतो छ । उनको गीत रेकर्डका लागि मैले केही गर्न सकिनँ ।
सम्झना र प्रमाणहरू भने सँगाली राखेको छु, ताकि बेला–बेलामा उनलाई सम्झन सकुँ । पछि भएछ भने रेकर्ड गराइदिन सकुँ ।
कम से कम हामी बाँचुञ्जेल बाँचिरहुन्, ध्रुव दाइ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।