न छन् मुकुन्दका कोही न कसैको मुकुन्द छ
मुठ्ठी बाँधी यहाँ आयो मुठ्ठी खोलेर जानु छ ।

– मुकुन्द-इन्दिरा नाटकमा बालकृष्ण सम

चर्चित नाटक मुकुन्द इन्दिरामा बालकृष्ण समको जीवन दर्शन हो यो । यहाँ यो भनाइ मुकुन्दको देखिन्छ । त्यसैले मुकुन्दको जीवनदर्शन यस्तो देखिए पनि उसका नाटकमा उसको नाटकीय कृत्यका आधारमा ऊप्रति दर्शक/पाठकको धारणा नकारात्मक बन्छ । इन्दिराप्रति सहानुभूति जान्छ । मुकुन्द त विम्ब हो हाम्रो समाजको । विम्ब भनेको छाया हो । छायाचाहिँ वास्तविक वस्तुको प्रतिकृति । वास्तविक वस्तु जस्तो हुन्छ विम्ब त्यस्तै हुने हो ।

अर्थात् राम्रो नराम्रो, असल खराब, धनी गरिब, अग्लो होचो, कालो गोरो आदि । जोडामा दिँदा बन्ने अरू उदाहरण महिला पुरुष, जीवन मृत्यु आदि जे अगाडि पर्छ त्यसैको प्रतिकृति बन्ने हो तर पनि समाजमा माथि उल्लेख गरिएका जोडाका विपरीतधर्मीबिच समानता र विरोधाभास दुवै देखिन्छ । जीवन र मृत्युमा पनि त्यस्तै ।

जन्मेपछि मृत्यु शाश्वत र अवश्यंभावी हो तर पनि आम मान्छे चिरजीवी बन्ने चाहना राख्छ । त्यो उसको धन आर्जन र सञ्चयको कृत्य वा कुकृत्यले देखाउने कुरो हो । धनका विभिन्न रूप हुने भए पनि त्यसलाई एउटा कुराले समेट्छ – पैसा । पैसाका पनि विभिन्न रूप छन्, परिवर्तन हुँदै छन् नयाँ रूप बन्दै छन् पनि तर यहाँ पैसालाई बुझाउन र चर्चा गर्न पनि नोटलाई आधार मानिएको छ ।

अँ त अब सुरु गरौँ पैसाको कथा । यो पढ्दै गर्दा तपाईँको साथमा पैसो (नोट) छ कि छैन ? पक्कै होला । साथमा नभए पनि खल्तीमा । त्यसै बस्दा खल्ती नभएको कपडा पनि लगाएर बस्नुभएको हुन सक्छ । खल्ती भएकै भए पनि त्यसमा पैसो नहुन सक्छ । अहिले त खल्ती भनेको विद्युतीय गोजी हो भन्ने बुझ्न थालिएको छ । अर्थात् अवास्तविक पैसाको थैली । यो पढ्दै गर्दा भने अवास्तविकले चल्दैन, वास्तविक नोट नै चाहिन्छ ।

अब नोट हेर्नुस् । ओल्टाई पल्टाई हेर्नुस् है । के-के देख्नुभयो ? कतिको नोट हो ? कति भनेको त्यसको मूल्य हो कि के ? नोटमा मूल्य चाहिँ कहाँ छ ? नोटको मूल्य आर्थिक मात्र हो ?

एकछिनलाई यी प्रश्न थाती राखौँ । नोट भने हेर्दै गर्नुहोला । के के देख्नुहुन्छ भन्नु पर्दैन, मनमनै गम्नुहोला । उत्तर आफैँसँग राख्नुहोस् ।

नोटको प्रसङ्ग जोड्न एउटा आन्दोलनको सन्दर्भ प्रस्तुत गर्छु । आन्दोलन नेपालको होइन र आन्दोलन नोटका लगि वा भोटका पनि थिएन । धेरै भूमिका नबाँधी एउटा भारतको नोट हेरौँ है त ।

के देखियो ? गान्धीको फोटो ? गान्धीले चलाएको आन्दोलनको सम्झना भयो कि के ? बेलायती र अरू पनि देशले उपनिवेश बनाएको भारतलाई स्वतन्त्र बनाउन गान्धीले गरेको ‘भारत छोडो’ आन्दोलनको कुरा होइन । नोटमा अरू पनि कुरा छन् र त्यो देखिएको जति मात्र नोट होइन ।

नोटमा ‘गांधी’ लेखेको छ, गाली नगर्नोस् है ! मैले गान्धी लेखेँ । म देवनागरी लिपिमा हिन्दी भाषामा यो लेख्दै छुइनँ, देवनागरी लिपिमा नेपाली भाषामा लेख्दै हो । यो हिज्जेको कुरा हो । एउटै लिपि प्रयोग हुने दुई भाषाको हिज्जे फरक हुने रहेछ नि । नेपाली भाषाको हिज्जेमा आगन्तुक शब्दको मूलस्रोत खोज्दै त्यसैअनुसार हिज्जे प्रयोग गर्ने वा वणर्विन्यास गर्ने कुरा मिल्दो रहेनछ हैन त ? अब मूलभाषाअनुसार होइन हाम्रो बोलीअनुसार र प्रचलनअनुसार हाम्रै भाषाको नियम बनाउन नछेक्ने रहेछ नि हैन ?

भन्नुहोला, ‘कस्तो वाहियाती ! नोटको मूल्यमा भाषा ! त्यसमाथि हिज्जे खोज्ने ?’ पख्नोस् है । त्यो नोटको यो मात्र पूरा भाग होइन । आधा मात्र हो । अर्को आधा पनि छ । त्यो पनि हेर्नोस् है त ।

के के देखियो ? मङ्गलयान ? त्यो आन्दोलनको सरोकारको विषय होइन । बायाँतिरको बाकसको सामग्रीमा विभिन्न लिपि र भाषामा लेखिएको नवौँ लहरमा देवनागरी लिपिमा लेखिएको छ ‘दुई हजार रुपियाँ’ । त्यो नेपाली भाषाको लेखन हो ।

हो, देवनागरी लिपिमा लेखिने यस्तै नेपाली भाषालाई भारतमा सरकारी कामकाजमा प्रयोग गर्न संवैधानिक मान्यता दिइनुपर्ने मागसहित भारतमा लामो समयसम्म आन्दोलन भएको थियो । सन् १९७१ देखि १९९२ सम्म भएको आन्दोलनका कारण नेपाली भाषाले अन्ततः १९९२ अगस्ट २० अर्थात् २०४९ भदौ ४ गते भारतमा संवैधानिक मान्यता पायो र आठौँ अनुसूचीमा समावेश भयो ।

यसका लागि भारतमा नेपाली भाषाका वक्ता रहेका नेपालको पूर्वका दार्जीलिङ, असम, सिक्किम, मेघालय, मणिपुरलगायत र पश्चिमका देहरादून लगायतका स्थानमा विभिन्न किसिमका आन्दोलन भए । नेपाली मूलका भारतीयको नेपाली भाषाप्रतिको यो आन्दोलनमा धेरैले प्राण पनि त्यागेको इतिहास रहेको भारतमा नेपाली भाषा र साहित्यका योद्धाहरू स्मरण गर्नुहुन्छ ।

यस्तैमा नेपाली भाषाका साधक हीरा छेत्रीले नेपाली भाषाले भारतमा संवैधानिक मान्यता भएको दिनको स्मरण गर्दै लेख्नुभएको छ, “नेपाली भाषाले दीर्घ दनिको सङ्घर्षपछि २० अगस्त,१९९२ (मा भारतीय संविधानमा मान्यता पाएको हो । यो सङ्घर्ष तर कम कठिन थिएन । यसका लागि कतिले प्राण पनि त्यागेको इतिहास छ ।”

भाषामा अधिकार नभएसम्म अरू अधिकार काम लाग्दैनन् भन्ने मान्यताले भारतमा रहेका नेपाली मातृभाषीहरूले विभिन्न किसिमका अभियान गर्दै आएका थिए । यस्तैमा सन् १९७१ ताका सांसद रतनलाल ब्राह्मणले नेपाली भाषामा सपथ ग्रहण गर्दा ठुलो हलचल मच्चिएको थियो । संसद्‌मा बोलिने भाषा देश (भारत) को संविधानले मान्यता दिएको हुनुपर्ने थियो तर त्यस बेला नेपाली भाषा विदेशीको हो भन्ने कुरा थियो । यस्ता कुराहरूले संविधानमा नेपाली भाषाले मान्यता नपाएसम्म जातीय सुरक्षा, मर्यादा र स्वाभिमान रहने रहेनछ भन्ने चेतना जनमानसमा जाग्न थालेको थियो । त्यसैअनुरूप नेपाली भाषी रहेका भारतभरका स्थानमा अभियान सुरु भएको थियो । अन्ततः लामो समयपछि सन् १९९२ अगस्ट २० मा त्यस अभियानले पूर्णता पायो ।

संविधानको अनुसूचीमा नेपाली भाषा चढ्नु गौरवको विषय हो तर सर्वसाधारणका लागि त्योभन्दा ठुलो कुरा पैसामा आफ्नो भाषा देखिनु हो । मानव जीवनमा पैसा सास जत्तिकै अपरिहार्य बनेका बेला आफ्नै मातृभाषामा नोटको मूल्य पाउनु नेपालीभाषीका लागि अमूल्य सम्पत्ति हो ।

भारतीय भूमिमा नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि भएको यो नै पहिलो प्रयास वा आन्दोलन थिएन तर यही लामो आन्दोलनमा नेतृत्व गर्नुभएका भाषासङ्ग्रामी तारापति उपाध्यायले नेपाली भाषा र साहित्यको मान, मर्यादा र वृद्धिको काम सन् १८९६ मा पशुपति प्रेस स्थापना भएदेखिको स्मरण गर्नुभएको छ । साहित्यपोस्टमा प्रकाशित अन्तर्वार्तामा उहाँले सन् १९१८ मा कलकत्ता विश्व विद्यालयले बिएसम्म नेपाली भाषालाई पठनपाठनको स्वीकृति प्रदान गर्नु, १९२४ तिर दार्जीलङिमा नेपाली साहित्य सम्मेलनको जन्म हुनु र २० अगस्ट १९९२ मा नेपाली भाषाले संवैधानकि स्वीकृति प्राप्त गरेको समय आदिलाई सम्झँदा नेपालीभाषा साहित्यका क्षेत्रमा गर्व लाग्ने पनि बताउनु भएको छ ।

भारत सन् १५०५ देखि सन् १९४७ सम्म विभिन्न देशको उपनिवेश रहेको हो । भारतलाई उपनिवेशबाट मुक्त गर्दै स्वतन्त्र बनाउन नेपाली मूलका भारतीय र नेपालका नै पनि नेताहरूको योगदान छ । स्वतन्त्रताको अर्थ आफ्नो भाषा वा मातृभाषाको अधिकार पनि हो भन्ने कुरा देखाउन भारत उपनिवेशमा रहँदाका केही नोटहरूलाई नै उदाहरणका रूपमा प्रस्तुत गर्ने अनुमति माग्छु ।

भारत सर्वप्रथम सन् १५०५ मा पोर्चुगलको उपनिवेशमा परेको हो । त्यस बेला पोर्चुगलको उपनिवेश भारतका केही स्थानमा थियो । पोचुर्गलको उपनिवेशको अवशेष भारत स्वतन्त्र भएको निकै वर्षसम्म (सन् १९६१ सम्म) पनि थियो । पोर्चुगलको उपनिवेशमा रहँदा नै जारी भएको १० रुपियाँको नोटमा हिन्दी भाषा नै चेपुवामा परेको देखिन्छ । अर्थात् पोर्चुगिज भाषा नै धेरै छ । जनसाधारणले नोटलाई भाषा बुझेर होइन, चित्र बुझेर चिन्नुपर्ने अवस्था हो त्यो ।

१० रुपियाँको नोटको अग्रभागमा लेखिएको भाषामा दाहा रुपये
१० रुपियाँको नोटको पछाडिको भागमा भारतीय भाषा नै छैन ।

१६१२ देखि इस्ट इन्डिया कम्पनीमार्फत व्यापार गर्दै सन् १९४७ सम्म उपनिवेश जमाएको ब्रिटिस इन्डिया सरकारले जारी गरेको नोटमा पनि त्यस्तै हालत छ । हेर्नुहोस्

1668–1954

त्यसैगरी सन् १६६८ देखि सन् १९५४ सम्म उपनिवेशको अवशेष रहेको फ्रेन्च इन्डियाले जारी गरेको नोटमा पनि भारतीय भाषा देखिँदैन । हेर्नुहोस्

यहाँ उदाहरणमा प्रस्तुत गरिएका नोटहरू भारतका सबै र भारत उपनिवेशमा रहँदाका पनि सबै होइनन् । पैसाको मूल्य आर्थिक मात्र नभई त्योभन्दा अझ धेरै हुन्छ र समाजका विभिन्न विषय क्षेत्रमा हुन्छ भन्ने तथ्य स्थापना गर्ने यी उदाहरण हुन् ।

भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएको स्मृति दिवसको सन्दर्भ पारेर भाषाको मूल्य खोज्न यो आलेख तयार पारिएको हो । अन्ताराष्ट्रिय जगत्‌मा पनि नेपाली भाषाको मूल्य स्थापना गर्न यी नोटका उदाहरणले काम गर्दछन् । नेपाली भाषाको यो प्रतिष्ठा बढाउन भारतका नेपाली भाषीबाट भएको आन्दोलन र कदमको सलाम ! यस लेखकको यो सलाम आजको मात्र होइन दुई वर्षदेखिको निरन्तर सलाम !

बालकृष्ण समले समाजको एउटा पात्र मुकुन्दको मुखबाट मान्छे जन्मँदा मुठी बाँधेर जन्मे पनि मर्दा मुठी खोलेर मर्छ वा मरेर केही लानु छैन भन्ने जीवनदर्शन बताएका हुन् । त्यसैका आधारमा पनि पैसाको यो कथा हालियो किनकि पैसा मान्छे जन्मेदेखि नै उसको प्रयोगको वस्तु बन्छ । नवजात शिशुको मुख हेर्ने कर्मदेखि ऊ मरेपछि पनि उसका नाममा गरिने संस्कारमा पैसाको प्रयोग हुन्छ ।

तर भारतीय पैसाको कथाले नै भाषालयको यो शृङ्खला पूरा भएजस्तो लाग्यो । पैसामा भाषाको मूल्य स्थापना गर्न यसले के कति सहयोग गऱ्यो त्यो त यहाँहरूको प्रतिक्रियाले थाहा होला । माथि नोट (पहुँच, प्रयोग र अनुकूलतामा नेपाली र भारतीय पनि) हेर्न लगाएर सोधिएका प्रश्नको केही जबाफ भए प्रतिक्रियामा लेख्नुहोला । नेपाली नोटको भाषा र ती नोटमा नेपाली भाषाको अध्ययन अर्को शृङ्खलामा ।