Chovar Blues Mobile Size

जिन्दगीमा के पढियोले खासै अर्थ नराख्ने रहेछ । जिन्दगीमा कसरी पढियो भन्ने कुराले अर्थ राख्ने रहेछ । के पढियो त परको कुरा भइगयो । किन पढियो नै मुख्य कुरा रह्यो । यस्तै-यस्तै अल्याङटल्याङ भाको छ पढाइ ।

खासमा म एउटा विषयको कोणमा उभिएर केही बोल्न खोज्दै छु (केही कोण होइन, सिर्फ भडास) । खासमा त्यो विषय कम्तीमा मेरा लागि साहू नै थियो । कसै गरे नजानेको विषय, कसै गरे नआएको विषय मेरा लागि गणित ज्यानमारा नै भएको छ ।

ज्यान नै लैजालाजस्तो, सास नै रोक्लाजस्तो, मुटु ढुक्क भएर फुल्ने जस्तो हुन्थयो मेरा लागि गणित ।

(a+b)2 = a2+2ab+b2 केही होइन तर नजान्नेका लागि कुनै विषालु जीव हो, जसले टोकिरहन्छ । पटक-पटक कता-कता । मेरा लागि गणित विषालु जीवझैँ थियो ।

निरज दाहाल

निरज दाहाल

सूत्र रट्नुजस्तो मेरा लागि दशा अन्य केही थिएन । सूत्र रटेर आउनू भनेको भोलिपल्ट मलाई कहिल्यै नदुखेको टाउको र कहिल्यै नदुखेको पेट एकैपटक हुँडलिएर आउँथ्यो । दश बजेपछि मेरो रोग बिस्तारै निको हुँदै जान्थ्यो । विद्यालयमा अरूका लागि शनिवार बिदा हुने गर्दथ्यो तर मेरा लागि भने क्लास टेस्ट भइसक्दा बिदा । बिरामी भइदिन्थेँ, खेल खत्तम ।

ज्यानमारा गणित । पढ्न नखोजेको पनि होइन । जति गरे पनि नआउने । कसैगरे नआउने । के भएको ? किन भएको कसरी भएको ? कसैले ‘हिसाब अभ्यासमा सिकिन्छ’ भने कापी त कति-कति सकेँ । सिकेँ ? ‘जय नेपाल’ कहाँ आउनु ? कसैले सूत्र बुझ्नुपर्छ भने भएका कोचिङ र ट्युसन सब भ्याएँ । सिकेँ ? ‘जय नेपाल’ कहाँबाट आउनु ?

मेरो स्कुल कालमा जति म्याथका टिचरसँग भेट भयो । उज्यालो अनुहार बनाएर पढाउने टिचरचाहिँ प्रायः कोही भेटिनँ । यसको मतलब सरको अनुहार उज्यालो थिएन र मैले गणित जानिनँ भन्न खोजेको भने होइन । कमजोरी मसँग थियो, स्विकार्छु । सूत्र रट भन्ने शिक्षक अहिले कतै कसैलाई फेरि सूत्र रट भन्दै हुनुहुन्छ । बिन्ती, “ गणितका सूत्रहरू पनि दिनानुदिनसँग मेल खान्छ । उदाहरण दिएर सूत्र रट्न लगाए मजस्ता घाँस कोही विद्यार्थीको पालुवा लाग्ने थियो कि ?” भनेको मात्र । फेरि कसैले गणितबारे निबन्ध लेखेर भडास नपोखोस् भन्ने मेरो इच्छा हो । अरू त के हुनु ? म बिचरोको ।

भन्नेहरू भन्छन्, “नेपालीमा पो व्याकरण चाहिन्छ र गाह्रो हुन्छ । अङ्गेजीमा पो व्याकरण चाहिन्छ र गाह्रो हुन्छ । मुला, म्याथ के गाह्रो ?” आफ्नो म्याथको बेस माटामो थियो र छानो पक्की अनि नलडेर के हुन्छ ? मान्छेहरू भन्थे, “यसले म्याथमा १०० मा १०० नै हान्या रे ।” आफूलाई ३२ नै सगरमाथाको शिखर छ । कसरी हान्न सकेका होलान् १०० मा १०० ? मिल्ने भए उसको दिमाग परीक्षामा एकछिनलाई सापटी मागेर चलाउनुजस्तो ।

गणितमा केही थिएन तर मेरा लागि गणितमा संसारकै समस्या अल्झेको थियो । यही अल्झेको समस्या आफूतिर आएझैँ लाग्छ ।

खैर, गणितकै कारणले कति के छुटे मसँग त्यसको हिसाब नहोला तर गणितकै कारणले मेरो एक सपनाचाहिँ छुट्यो ? सपना ? कस्तो ? कुनै दिन लेख्छु ।

स्कलुतिर जाम- सूत्र भनिसक्दा पिसाब लाग्लाजस्तो हुने । सबै सर आए पनि गणितको चाहिँ नआइदिए हुने जस्तो लाग्थो । भाइस प्रिन्सिपल यति खतरा कि स्कुलमा जुन टिचर एपसेन्ट भए पनि आएर पढाइदिने । सबै विषयमा पोख्त । कैदी भागेर कहाँ जाओस् ? जेलर जे दिए खानैपर्ने । भाइस प्रिन्सिपलले जे पढाए पनि पढ्नैपर्ने ।

एक जना सर थिए, सुनमाइतिरका । खरो । लास्टै कडा । म्याथका कीरा । म्याथमा त पुराण भन्न लगाए पनि ‘ ल, बसेर सुन’ भन्ने टाइपको तर पुराण भन्नेको जस्तो मीठो स्वरचाहिँ होइन । रुखो । गाली फेरि उस्तै । म्याथका टिचर सबै गाली गर्ने हुन्छन् कि के खासमा ?

कक्षामा सूत्रले आफू कहाँ बस्नुपर्ने हो सुरुमै जानेर बसिसकेको थियो । नम्बरहरू आफ्नो इलाकामा यता सरेर बस् र उता सरेर बस् भन्दै बसिसकेका थिए । चक पनि धुलालाई आफैँसग टाँसेर दौडिरहेका थिए । डस्टर तयार थियो । पछाडिको बेन्चबाट हल्ला आयो । छत्र सरले खासै वास्ता नगरी ब्लयाक बोर्डमा सूत्रको उपयोग गरिरहेका थिए । हल्लाले सीमा नाघ्यो ।

“खड्का हो ?” छत्र सरले नजर लगाएर भने । ऊ बोल्न सकेन । अल्जेब्राको हिसाबले पर्खिरहेको सूत्र उसको भागमा आयो ।

“अब कुन लाग्छ ?” ऊ बोलेन ।

“कुन लाग्छ भन्छु !” ऊ बोलेन ।

“गिदी छरिने गरी भेट्लास् ।” यति गाली गरेपछि । छत्र सर ब्लयाक बोर्डमा फर्किए । कक्षा सकियो, हामीलाई ब्लयाक बोर्डको हिसाब सार्न हतार भयो तर गाली भाइरल कक्षामा ।

“छिटो सार, नभए गिदी छरिने गरी भेट्लास ।”

“पेन दे त, नभए गिदी छरिने गरी भेट्लास ।”

“हिँड् सट हान्न, नभए गिदी छरिने गरी भेट्लास ।”

कक्षाभरि सबैका गिदी छरिए । सररर हिसाब लेखेर सरले बुझ्यौ ? भन्दा टाउका हल्लाएका हामीले ब्लयाक बोर्डमा छरिएका हिसाबहरू सँगाल्न सकेनौँ ।

विद्यार्थीकालमा धेरै स्कुल फेरिए । धेरै म्याथ टिचरसँग भेट भयो । मेरो दिमागमा बसेको हिसाबको ट्युमर कसैले निकालेन । मैले बल गर्नुपर्ने थियो, गरिनछु । अहिले याद आउँछ ।

एक जना सर थिए झापाकै, दाहाल नै । झापाका त्योमाथि दाहाल । मेरो युग आयो भनेर म दङ्ग भएँ । के को युग आउनु, दशा पो…. । कति सरप्राइज टेस्ट यार । वाक्क लाग्ने । सरको मनःस्थिति अहिले बुझ्छु सरलाई अल्छी लागेको दिन सरप्राइज टेस्ट लिइहाल्ने मुड रहेछ र हाम्रो सरप्राइज टेस्ट हप्तामा दुईपटक चाहिँ हुन्थयो । अनि पढाइ ? पढाइ त उही ‘जय नेपाल’ चन्द्र सरको गोजीबाट फुत्त सुपारी खस्यो । रोटेसन सिस्टममा मेरो पालो फस्ट बेन्चमा परेको थियो । मैले देखेँ सुपारी । बूढा, सुपारी खाँदा रैछन् । झापाली न परे । म थिएँ फेरि सुपारीको स्विस बैङ्क ।

घरबाट काचो सुपारी आएको थियो । म टाइमा लुकाएर राख्थेँ, गोजी त गेटमै चेक, एसेम्लीमै चेक । टाइमा ससाना कुट्का बनाएर राखेपछि डि.आइ का बाप तो क्या, डि.आइ का दो पुस्ता तक नहीँ ढुँढ पाएगेँ !”

टिफिनको अन्तिममा सिङ्गै सुपारी राखेँ । टिफिन चेक भए पनि खोतली-खोतली चेक हुँदैन थियो । टिफिनमा सुपारी राखेर स्कुल गएँ । सेकेन्ड पिरियडमा म्याथ थियो । त्यो दिन सरको मुड पढाउने पनि थिएन, टेस्ट लिने पनि थिएन । म्याथमा खेल खेल्ने सायद हामी पहिलो ब्याच थियौँ । बास्केटबल खेल्दाखेल्दै थकाइ लाग्यो भनेर सरको छेउमा बसेँ । पढ्नु नपरेको मन त्यसै खुसी थियो । आँट बटुलेर सरलाई सोधेँ, “सर सुपारी खाने ?” हात सिधै अगाडि गालामा होइन । मैले भनेँ, “क्लासमा छ ।” लिएर आउने उर्दी भयो । सिँढी स्टेप नाघ्दै गएँ । लिएर आएँ । दिएँ । सर खुसी, म खुसी ।

मैले सुपारी तस्करी गरेँ । त्यसपछि मेरा लागि क्लास टेस्टमा जति नम्बर आए पनि सरको मुस्कान सजाय स्वरूप आयो । यसरी केही समयका लागि गणित मेरा लागि गोजीको गणितझैँ थियो ।

गणित मेरा लागि पहाडको कुनै बत्तीझैँ भयो । जति नजिक पुग्न खोजे पनि त्यति टाढा लाग्ने । गणितसँगको दोस्ती कक्षा दशमा आएर फेरि ब्युँतियो । ऊ मेरो पछि लागेन । म उसको पछि लागेँ । गणितलाई चिन्न ऊसँगै हिँड्नुपर्ने रहेछ । हिँड्दै गर्दा रात र दिन भन्न नहुने रहेछ । उज्यालो देख्नासाथ उसका सूत्रहरूलाई चुपचाप अँगाल्नुपर्ने रहेछ ।