किताबको पानामा आफ्नो नाम देखे कम्ता खुसी लाग्दैन । किताबको पानामा आफ्नो थर भेटे खुब ठूलो मान्छे जस्तो लाग्छ । तर यो बाल्यकालमा हो । अहिले आफ्नो जिल्लाको हो भन्दा नजिकको लाग्छ । यो पनि त्यस्तै हो । अहिले केही लाग्दैन ।
आफ्नो थरको मान्छे प्रधानमन्त्री भयो भनेको सुन्दा लाग्यो – गज्जब भयो । आफ्नो थरको मान्छे खतरा हो भनेको सुन्दा लाग्यो – बबाल हो । अन्तिममा हातमा लाग्यो शून्य । मान्छेहरू नाममा के छ ? भन्दै हिँड्छन् । म बिरक्तिएर थरमा के छ र ? भन्दै हिँड्छु । पाटन नै त जानु नपर्ला तर आफ्नो थरले संसदमा चाहिँ दिक्क लगाएको देख्दा साँच्चै दिक्क लाग्छ ।
खैर, खासमा म यो माओवादीकाल, सङ्कटकालको बारेमा यसो हल्ला गर्न टुप्लुकिएको हुँ । माथि भावनामा के भनियो ? माफ पाऊँ । तर वास्तवमा चाहिँ थरमा के छ र ? अपनत्व भन्ने कुराको त पुत्ला दहन नै गरे । अपनत्वकाे महत्व कति थियो ? तर अहिले उही डिलमुनि ।
सङ्कटकाल मस्तिष्कमा धमिलो बक्ररेखा बन्छ । माओवादी (बन्दुक बोक्ने माओवादी) मस्तिष्कमा रेखाचित्र बन्छ । समग्रमा डरको पहिरो जान्छ । शान्ति सम्झौतापछि आएको शान्ति गाउँघरमा हो । त्यसपछि संसदमा ताण्डव नाचे ।
जटा टवी गलज्जलप्रवाह पावितस्थले
गलेऽव लम्ब्यलम्बितां भुजङ्गतुङ्ग मालिकाम्।
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं
चकारचण्डताण्डवं तनोतु नः शिवः शिवम् ।।१।।
उच्चारण नै गरेर ननाचे पनि नाच्न चाहिँ नाच्या हुन् । ताण्डव नै नाच्या हुन् ।
खैर, हाम्रो बाल्यकाल डरमा बितेको हो । हाम्रो भनेको मेरो उमेरको जो जो छौँ । सङ्कटकाल नै डरमा बितेको हो हुनचाहिँ तर बालमस्तिष्कले थाहा पाएको सबैभन्दा डरलाग्दो कुरा नै माओवादी थियो । डराउने त हामीलाई लैजान्छ, हामीलाई मार्छ, हामीसँग चन्दा उठाउँछ, हामीलाई बाटो छेक्छ भनेर डराएका हुन् । तर हामी (बालबालिका) भने नडराउन पर्ने उमेरमा डराएका हौँ । त्योबेलाको डर बाआमासँग, स्कुलको शिक्षकसँग मात्र डराउने हो । तर त्यसो भएन । माओवादीको डर मनमा थियो । फुटबल खेल्दै गर्दा बन्दुक बोकेका मान्छे देख्दा किन डराएछौँ लाग्छ ।
डर सहरमा थिएन । डर बन्दुक र रातो फेटा बेरेर गाउँ गाउँ छिरेको थियो । डरलाई थाहा थियो । गाउँलेहरू खुब डराउँछन् । डर आफू स्वयम सहरसँग डराउँथ्यो । सहरमा डरलाई नियन्त्रण गर्ने कुरा चल्दा, डर फुत्त सीमा नाघ्थ्यो । सीमा कटेपछि डरलाई डर लाग्दैन थियो । डरलाई डर नलागे पनि ऊ सीमा कटिरहन्थ्यो । सीमाबाट डरले बोकेर ल्याउँथ्यो, डराउने औषधि । फेरि बोकेर ल्याउँथ्यो डराउने योजनाका खाका । हामी डराइरहन्थ्यौँ । माओवादीसँग मान्छे खासै डराएनन् । तर सङ्कटकालको माओवादीसँग चाहिँ मान्छे औधी डराए । सङ्कटकालका माओवादी डेन्जर हुन् ।
माओवादी ! माओवादी !! माओवादी !!!
पश्चिम हेरी त पूर्व शान्त हो । पहाडी इलाका हेरी तराई झन् शान्त हो । रोल्पा हेरी झापा त विचरो हो । हामीलाई के थियो ? हामी डरायौँ । हामीलाई डर पसाइयो, मुक्तिको नाममा । आफूलाई मुक्ति भनेको फुटबल खेल्न जानु भन्ने मात्र थियो (सङ्ककालमा) । बिस्तारै मुक्ति जवान भयो र बुझ्यो मुक्तिको अर्थ ।
कुरा गरौँ गाउँको
जङ्गलले घाँटी अँठ्याएर राखेको गाउँ आजकाल साठी कटेको वृद्धजस्तै हुँदैछ । जङ्गलले आफ्नो कपाल फेर्दै छ । कपाल झर्दैछ । गाउँ बूढो भयो । म जवान भएँ । जङ्गल उमेरसँगै खोक्दैछ । मैले देख्दाको तन्नेरी जङ्गल म जवान हुँदा पाको भइसकेको छ । र उनले मानेपछि, हामीले बिहे गरेपछि र हाम्रा छोराछोरी जन्मेपछि मेरा छोराछोरीले मलाई भन्लान्, “ड्याडी ! जङ्गल त बूढो भएर मर्यो ।”
जङ्गल मुला भन्छौँ होला ? गलत यार । विज्ञान पढेका तपाईँ हामीलाई जङ्गलको अर्थ वैज्ञानिक तवरमा थाहा छ । यो देशमा जङ्गलको भूमिका विज्ञानको भन्दा बाहिरको छ ।
यसरी क्या,
१. गरिब+जङ्गल+धनी = तस्कर
२. मुक्ति+जङ्गल+माओवादी = सत्ता
३. जनता+जङ्गल+चुनाव = बलिका बकरा
त्यही जङ्गल जसले देशको मुक्तिको लागि लड्छु भन्यो र खन्यायो आफ्नो जवानी । तर अन्तिममा लुटे जवानी र फ्याले जङ्गललाई । कसले ?
मैले एकपटक फेसबुकमा एउटा स्टाटस लेखेको थिएँ, “मेरो जिन्दगी उखुजस्तै भयो । मान्छेले आ–आफ्नो तरिकाले रस निकाले ।” अहिले मलाई लाग्छ माओवादी शब्द केही कथितका लागि उखु नै भयो । आफ्नै हिसाबले रस निकाले । कसरी ? यसरी –
१. रिस उठ्यो – मान्छे मारे = माओवादी
२. पैसा छ थाहा पाए – लुटे = माओवादी
३. सङ्कटकाल – काम बिग्रियो = माओवादी
सङ्कटकालमा थिएँ ।
सानै उमेरमा धेरै भोगेको हुँ । तपाईँलाई काठमाडौँ जाँदा राति १० बजे कर्फ्यु लागेर बिहानको चार बजे खुलेपछि हिँडेको याद छ ? मलाई छ । यो सङ्कटकालमा हो । यो ५८ सालतिरको कुरा हो । यो बेला मेरो विद्यालय सुरू भएको बेला हो ।
सङ्कटकालमा छु ।
गाउँमा माओवादी आउँछन् । हल्ला सबतिर पुग्यो । काका, खडे दाइ, कुशल दाइ, सबै मकैबारीमा सुते । मेरो गाउँको युवा धेरै मकैबारीमा सुतेका छन्, सङ्कटकालमा ।
सङ्कटकालमा थिएँ ।
डे बसमा कसको साथ हो बिर्सएँ तर काठमाडौँबाट गाउँ हानिएँ । मलाई दिउँसो हिँड्न मन पर्छ । आजकाल पनि । नाइटमा जा नभनेका होइनन्, तर भरपर्दो साथी नभेटेकाले डेमै पठाए मलाई । गाडीको समस्या त्यही हो, पम्चर । राती ११ बजे पुगेँ झापा । बुधबारे पुग्दा १ बज्नै लागेको थियो । बा नौ बजेबाट काउन्टरमा । घट्ना यस्तो थियो –
छोरा आउँदैछ भनेपछि बा काउन्टर आउनुभयो । त्यो समयको चल्तीको गाडी भनेको अग्नी यातायात दिवाको लागि । रात्रिको लागि परेली यातायात छँदै थियो । मलाई लिन आउने क्रममा बालाई नेपाली शाही सेनाले घेर्यो र सोध्यो
– कहाँ हिँडिस् ?
– छोरा आउँदैछ, लिन हिँडेको ।
– माओवादी हो ?
– एल.केजीमा पढछ ।
– कहाँबाट आएको ?
– काठमाडौँ ।
– किन पठाएको त्यति टाडा ? (किस्सा सुन्दा मलाई मन छोएको थियो )
– पढ्न ।
– यहाँ स्कुल थे न ?
– काकाले पढाउँछु भन्यो ।
– को काका ? के गर्छ ?
– उसको काका, मेरो भाइ । पढाउँछ रे स्कुलमा ।
– गोली खान्छस् ? ( ज्वरो आएको थियो बाले सिटामोल सम्झनुभयो )
– खान्छु ।
– गोली थाहा छ ?
– छैन ।
– बन्दुकको भनेको साला ।
(मलाई आर्मी खै किन मन परेनँ । तर जिन्दगीमा सेकेन्ड लेफ्टिनेन्ट ट्राइ नगरेको भने होइन । बीचमा फालिएँ, त्यसमा मेरो के दोष ? त्यो बेला घरको लागि कमाउनु थियो । जागिर जे भए पनि हाम्फालेँ । मेरा नजिकका साथीलाई पनि थाहा छैन कि म सेकेन्ड लेफ्टिनेन्टको ट्रेनिङमा फालिएको । अस्ति आर्मीले कविजी भनेर बाजा बजाउँदै नारायणहिटीमा स्वागत गर्दा चाहिँ औधी रमाइलो लागेको थियो । यो उमेरमा के पो गरिएन । यो उमेरमा के के पो गर्नु छ ।)
गाउँ माओवादीले ध्वस्त थियो । गाउँमा सबै थिए तर गाउँ एक्लो थियो । गाउँका चिनेकाहरू माओवादीमा भयङ्कर भएर लागेका थिए ।
फुपूकी छोरी माओवादीकी कमान्डर थिई । ठूलाबा आर्मीको सुवेदार । मेरो घरमै भिडन्त थियो तर मैदानमा मामाले भान्जी बचाउने र भान्जीले मामा बचाउने खेल देखेको म, मलाई न आर्मीको बाल थियो न माओवादीको । तर घर डराइरहन्थ्यो, आफ्नादेखि । आजकाल मलाई आफ्नादेखि डर लाग्छ । यी आफ्नादेखि मलाई भयानक डर लाग्छ । आफ्ना विषालु हुन्छन् ।
गाउँका काकाहरू सेनाले खोज्दै आउँदा हँडिया र दामाको खोलाको किनारैकिनार भाग्थे । आजकाल उनीहरूका लागि सङ्कटकाल खोलैखोला जस्तो लाग्छ (रे) ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।