
कुरा फेरि कथाकै । किनकि, कथाको कुरा कहिल्यै सकिँदैन ।
होइन, कथा लेखेर वा पढेर चैँ के नै हुन्छ हौ ?
कथै सुनेरै हो रे कोलम्बसको दिमागमा “केथी” को चित्रबिम्ब बसेको । पुगे अमेरिका । त्यो बेग्लै कुरा भयो ।
हिँडेको हिँड्यै गर्ने, चुर्नै परेका भनौँ न, एक जना थिएछन् — विलियम पर्चास् । अथवा, युवराज नयाँघरेले भन्ने गरेजस्तो – गोडामा चक्र भएका भनौँ । विभिन्न मुलुक पुगेर अचम्म अचम्मका कथा टिपेछन् । किताबै आयो— ‘पर्चासः हिज पिल्ग्रिमेज’ । त्यो पढेर एउटा पुस्ता नै हिँडन्ते भयो ।
युरोपेलीहरूले एसिया वा अमेरिका बारे थाहा पाएको यस्तै पुस्तक पढेर रे । विशेष गरी अचम्म अचम्मका कथा । एउटा झलक त कोलेरिजको “कुब्ला खाँ” भन्ने कविता पढ्दा पनि बुझिन्छ । तिनै पर्चासको पुस्तकमा, तत्कालीन चीनका सम्राट कुब्ला खाँको अचम्मको दरबारको वणर्न पढ्दै थिएछन् कोलेरिज । निदाएछन् । सपनामा उही अचम्मको दरबार । ब्यूझेर हत्त न पत्त लेखेछन् कविता ।
‘सर, यो कविता नपढौँ न,’ सरिता मोक्तानले भनिन् कक्षा कोठामा ।
‘किन ?’
‘डर लाग्यो । हर्ट एटेक होलाजस्तो भयो ।’
क्लास सकियो । छुट्टी ।
पढ्दै झण्डै हर्ट एटेक आउने । कस्तो हौ कविता पनि ! त्यसमा वणर्न छ कुब्ला खाँको दरबारको ! पाटो कथाको । सबैभन्दा पहिले पर्चासले लेखेको ।
— बाहिर घाम रे, भित्र हिउँका भित्ता रे, दरबारमा । उफ् !
— मध्यारतको सन्नाटामा कोही रुन्छ रेन्त, मरिगएको आफ्नो राक्षसप्रेमीको सम्झनामा । हैट ।
— स्वाँ ऽऽऽऽ गरेर कराउँछ रे, पातालमा बग्ने आल्फ नदी । युद्धको सङ्केत । आसन्न मृत्यु । काल !
— एउटा जगल्टे आयो रे । धामी कामेजस्तो काम्यो रे । हेर्नेहरूले जादुगर ठाने । टुनामुनावाला ठाने । तान्त्रिक ठाने रे ।
औँलाले वरिपरि तीनपटक गोलाकार बनाएर छुमन्तरकी बाचा भने रे । उसको त्यस वीभत्स रूप हेर्नेले, उसका आँखामा उही कुब्ला खाँको तिलस्मी दरबार देखे रे । हैट । तर, कथै त हो । भन्न पाए । भने । हामीले पढ्यौँ ।
चुरो चैँ के ?
चुरो चैँ के भने, हिँडन्तेले लेखेका यस्तै अचम्म अचम्मका कथाले युरोपको एउटा पुस्ताको दिमागमा युरोपबाहिर अचम्म छ भन्ने कुरा हाल्दियो । निस्किए हेर्न । संसार खाए । सारमा यही कुरा इडवार्ड साइदले लेखेका छन् ।
साम्रज्यवादी त उनीहरू हाम्रो लाचारीमा टेकेर भएका हुन् । त्यता नलागौँ । राजनीति हुन्छ ।
नत्र, बम, बन्दुक, मिसाइल त तोपका विरुद्ध हँसिया, खुर्पा, ढुङ्गा, खुँडा र खुकुरीले नै खेदाएका होइनन् भियत्नामीहरूले अमेरिकीहरूलाई ?
वीर भोग्या वसुन्धरा ।
हैट, कथाको कुरा बत्तिएर कता पुग्यो कता ।
पाकशालामा पाक्यो कथा ।
कसैले कवितामा घोले । काव्य बनाए ।
कसैले आख्यानमा घोले । उपन्यास बनाए ।
कसैले मञ्चमा उतारे । नाटक बनाए ।
कसैले गीतमा उने । सबाईलहरी बनाए ।
हो त, आखिर, कथा । अपवादको कुरा मनमै राखौँ ।
कथैकथा । कति हो कति । उसो भए, आज कथा लेख्छु भन्नेले कताबाट हात हाल्नु, कताबाट खुट्टो ? के लेख्नु ?
करिब पचासवटा कथा प्रकाशित भएपछि थाहा पाएँ – लखनऊको भुलभुलैया रहेछ कथा ।
द्रोणको चक्रव्यूह रहेछ कथा । हामी अभिमन्यू । सुन्दासुन्दै निदाइयो कि ?
एकदेव ढकालको उधुम, आतङ्क वा रत्नभवन रहेछ कथा ।
खुल् जा सिमसिम !
अँ, एउटा कुराचहिँ थाहा भयो —
‘कथा’ मा, कथ्नुको वा कथनको जति मात्रा भए पनि, अथवा स्वेकल्पनाको, अतियर्थाथको, तिलस्मीको, जादुको, तन्त्रको, जेको पनि, जति अंश भए पनि कथामा, यस धरतीमा मान्छेको जीवनलाई हेर्ने एउटा झ्याल चैँ अवश्यै हुँदो रेहछ । यो कथा हुनुको न्यूनतम तर अनिवार्य सर्त रहेछ । कहिलेकाहीँ लेखकले, कथाको मर्म नबुझ्दा, यो झ्याल बन्द गरिदिँदो रहेछ । कहिलेकाहीँ पाठकले । अनि कथा अपहृत हुँदो रहेछ । यस्ता अपहृत कथाको चाङले सगरमाथालाई टक्कर दिन्छ कि ? नदेला ।
यहाँनेर एउटा कार्टुन सम्झिएँ । धरहरा बारे खूब सुनेको रहेछ एउटा कुइरेले । आएछ हेर्न । धरहरा देखेर निराश भएछ । सुनेजस्तो लागेन छ । तैपनि, फोटो खिच्न थालेछ । एउटा नेपालीले देखेर सोधे छ – के गरेको ?
कुइरेले भनेछ – “धरहराको फोटो खिचेको । खोइ, मैले सुनेजस्तो त रहेनछ त !”
अनि नेपालीले भनेछ – “यो त फोहोरको डङ्गुर हो । नगरपालिकाले फोहोर नउठाएपछि सब जम्मा भयो । धरहरा त यसै डङ्गुरले छोपेको छ । उः पश्चिमपट्टिबाट हेर्नू त । टुप्पोसम्म चाहिँ देखिन्छ कि ?”
कि लेखकले नजानेर, कि पाठकले नबुझेर जीवन हेर्ने झ्याल बन्द भएका कथाले धरहरा छोपेका छन् कि ? कहिलेकहीँ त्यस्ता डङ्गुरमा आफ्ना कथा पनि ठम्याउँछु म । प्रस्टै चिन्छु । माया लाग्छ । रुन्छु पनि । कठै, कथा लेखनका नाममा म के गरिरहेको छु ? दृष्टिविहीन लाग्छन् कथा । सबै देखिन्छ, जीवन देखिँदैन तिनमा । अनि, समयले लगेर फोहोरको डङ्गुरमा मिल्क्याइदिएको छ । धरहरा छेकेका छन् । सगरमाथै छेकिन समय नलाग्ला । ऐया !
उसो भए किन लेखेको त ? यो सोध्नुहोला । जवाफ छैन हाललाई ।
सुन्नेलाई सुनको माला । भन्नेलाई फूलको माला । यो कथा वैकुण्ड जाला । यसो भन्यौँ । कथाको निर्वासन् ।
कथालाई बैकुण्ठ होइन, हाम्रै जमिनमा उभ्याउनु जरुरी छ ।
सबै कथै भनिरहेका छन् — सडकमा । पसलमा । हाटबजारमा । संसदमा । मन्दिरमा । कतार जाने लाइनमा । फार्मेसीमा ।
सबै कथै लेखिरहेका छन् — डायरीमा । फेसबुकमा । अनलाइनमा । पत्रिकामा । सेन्टिमेन्टल प्रेमपत्रमा ।
कहाँ, कसरी नयाँ बनेर उभिनु ? यो छ टेन्सनको कुरा ।
नयाँ देखिने नाममा यसो चै नगरुङ कि !
— उताको शैली ल्यायो यता टाँस्यो । नयाँ भयो । पाठक मूर्ख छन् ? अचेल यसको बिगबिगी छ । भन्दा कुट्छन् । नभन्दा, सत्य बोल्नुपर्छ ।
— उताको कुरा ल्यायो, यता रोप्यो । गोर्खाको सुन्तोला काठमाडौँमा फल्यो भने अमिलो हुँदोरहेछ । एक जना लेखिका छिन् जमाइका किन्केड । भन्छिन्— कुइरेले, जमाइका कब्जा गर्दा दुनियाँभरका फलफूल, बोटबिरुवा र जनावर जमाइका ल्याए । हुर्काए । फलस्वरूप, जमाइकाका रैथाने बोटबिरुवा र जीवजन्तु धेरै मासिए । र आगन्तुक पनि फस्टाएनन् । प्रकृतिविनाश !
— शब्द भाँचभुच । भाषा कच्याककुचुक । कुन भाषा हो कुन, भाषाशास्त्रीहरू पनि अलमल । भनौँ न, ककटेल । ककटेलले टाउको दुखाउँछ भन्छन् जानकारहरू । यसै हो भन्न सकिएन । महादेवको गोत्र थाहा नभएजस्तो ।
— एक जना दिदीले भन्नुभयो — “भाइ, के गर्नु ? अलि अलि यौन मिसाएन भने चल्दैन भन्छन् ।” उफ् ! देउती बज्यैले रक्षा गरे हुन्थ्यो । तर नि, यो रोगले भित्रैसम्म खाएको छ है, कथालाई । अनि कि, यौन आउँछ कथामा । बिपी, गोठाले, पुष्कर लोहनी, प्रेमा शाह । उता पनि उत्तिकै । तर नि, ‘यौन आएन भने चल्दैन भन्छन्’ भनेर आउँदा चैँ, बिरालो बाँधेर श्राद्ध गरेजस्तै हो । तर यस रोगले वृद्धवृद्धादेखि युवा तन्नेरीसम्मलाई गाँजेको छ । ‘एस भेरिएन्ट’ भनुम् न ।
— अरू दुइटा भेरिएन्ट छन्, तिनको चाहिँ खोप छैन । एक, अस्तिदेखि भन्दै ल्याएको – समाचार भनेर छाप्दा समाचार हुने, कथाभन्दा कथा हुने । दुई, पार्टीको घोषणापत्र । मेनिफेस्टो । यसको धेरै नभनुम् होला ।
यहाँ, यो महेश पौड्याल भन्ने दुःखी आत्मामा समस्या देखियो । प्रयोगै नगर्नु कथामा ? आफू कथामा कुनै प्रयोग गर्न नसक्ने, अनि प्रयोगको विरोध गर्ने ? हैट । उही मैनाली, वीपी, भिक्षुको लाइन कति हिँड्ने ? तिनैले पुगेको छ त । नयाँ ‘क्लोन’ किन चाहियो ? देशलाई भार । बाँसको नाश ।
यो मनोविज्ञान भन्ने कुरो पनि ज्याद्रो हुँदोरहेछ । आफूले गर्न नसकेको कुरो, आफूभन्दा उम्दा, ज्याद्रा, श्रेष्ठ सर्जकले गरून् भन्दोरहेछ मन । कम्तीमा सेलेब्रिटी राइटरले त गरून् । मनै हो, बोलिरहन्छ । भन्छ—
— स्वरूपमा प्रयोग गर्नेले, अब ‘टाइपोग्राफिक स्टन्ट’ गर्नुको कुनै तुक छैन । नो । थोत्रिसक्यो ।
— रियालिज्मका प्रभेग छन् – सर्रियालिज्म, हाइपररियालिज्म, मेजिक रियालिज्म, स्युडोरियालिज्म…कति कति । सबै प्रयोग त हुन् कि, तर नि, यिनलाई खेलाएर नयाँ मानक बनाउन खोज्यौँ भन्दा चैँ मिल्दैन । यिनलाई प्रयोग गरियो भन्दा चैँ मिल्छ । तर, यिनको प्रयोग, अब त ‘प्रयोग’ नै मानिन छोडियो । पुरानो भइसक्यो नि । समाजवादजस्तो । समाजवाद बारे भनिएको छ – जसले पनि लाउने, जसले पनि लाउने, आकार भत्किसकेको टोपीजस्तो भयो रे । धन्न हामी मूर्ख बन्दिन्छौँ र मूर्ख बनाइरहन सजिलो हुन्छ ।
— कसैले नसोचेको, कतै नदेखिएको आए ‘नयाँ’ प्रयोग हुन्छ । थोत्रो आए पुनर्प्रयोग हुन्छ । लेखकले यो कुरा इमान्दारीपूर्वक स्वीकार्नुपर्छ । अल्मल्याउन त पाइँदैन नि । चटक र साहित्यबीच समय बाँड्नु, र दुवै ठाउँ एउटै कुरा पाउनु ? हैट, नो । स्वरूपको प्रयोग ऐच्छिक कुरा हो । कथ्यको प्रयोग अनिवार्य कुरा हो । कथ्यमा बुलन्द प्रयोग गर्न सक्ने लेखकलाई सोधिँदैन – स्वरूपमा किन प्रयोग नगरेको ? स्वरूपमा प्रयोग खूब गर्ने, कथ्य वा चिन्तनमा नयाँपन भुतोभाङ नल्याउनेलाई प्रश्नै प्रश्नको माला । तिनको कथा वैकुण्ठ जाला कि नजाला ?
— प्रयोग गर्न सक्दा नयाँ प्रयोग गर्नुपर्छ । नत्र, रिसाइकल गर्ने हो । केही भएन भने भीडमा उभिने हो । एक्लो मान्छेलाई सोध्नू — भीड सुरक्षाको कति ठूलो प्रत्याभूति हो !
लामै समयदेखि कुरा आइराछ – प्रयोगको जरा संस्कृतिमा खोज्नू । अब, संस्कृतिमै भएको कुरा लेखनमा ल्याउँदा प्रयोग भयो त ? त्यो पनि रिसाइकल भएन ? पुनर्प्रयोग भएन र ? कसरी बुझ्नु कुरा ?
कुरा छ । कुरा के भने – प्रयोगको प्रयोजन के हो ? फरक देखिनु मात्रै हो भने – ओम !
तर होइन, त्यसको अरू नै प्रयोजन छ भने त, सोच्नुपर्छ । उदाहरणमा भन्छु ल, सजिलो होला कि ?
— जेन्डर, यानि लैङ्गिकता एउटा अस्थिर अवस्था हो भनेर विश्वास गर्ने एउटा जमात विकसित भइरहँदा, त्यसै जमातको विश्वासमा टेकेर अगाथा क्रिष्टीका उपन्यास उभिए – शिखण्डीजस्ता पात्र बोकेर । प्रयोगको सामूदायिक प्रयोजन देखियो । कि देखिएन ?
— समयलाई रैखिक बुझ्ने, र यथार्थलाई समय र स्थान (टाइम एण्ड स्पेस) को कन्टिनम बुझाउने विज्ञानले, विभिन्न नाममा लाखौँ मान्छे मारिसक्यो । यसबाट विरक्तिएको एउटा जमात खडा भयो विश्वभरि । त्यसै जमातको सामूहिक अवचेतनमा उभिए केही लेखक, र समयलाई, आफ्ना कथामा उल्टो हिँडाए । प्रयोग हो, तर यसको जग, समुदायिक मनस्थितिमा देखियो । कुरा गहिरो छ । चिन्तन गर्नुपर्छ । थप बुझ्न, कर्ट भोनेगर्टको लेखन पढ्दा पनि हुन्छ । नपढ्दा पनि हुन्छ, हुन त ।
यो सबै गफ दिनुको प्रयोजन के भने, प्रयोगको सूत्र समाजिक-सांस्कृतिक स्वभाव र आवश्यकतामा टेकेर उठ्यो भने, त्यो जम्ने सम्भावना हुन्छ । त्यसो भएन भने कि एक्लो वृहष्पति हुन्छ, कि हनुमन्तेको बाढी । ‘दुवै स्वीकार’ भनेर आउँछन् प्रयोगवादीहरू । पाठक अर्कातिर लाग्छन् ।
भो, अब स्वरूपमा देखिने प्रयोगको कुरा गर्दिनँ ।
कथ्यमा, प्रणेताहरूले कथामा नयाँ नयाँ प्राण कसरी र कताबाट ल्याएर भर्दै लगे, अलिकति कुरा त्यताको गर्छु । हस ?
— पुरानो सामन्तवाद धराशायी भयो रुसमा । एउटा रेसिडुअल कल्चर मर्यो । श्रद्धाञ्जली । एर्कातिर क्रान्ति आयो । क्रान्तिले एउटा जमात जन्मायो । एकथरि मान्छे जन्मिए । क्रान्तिकै हात समातेर नयाँ पुञ्जीवाद पनि आयो । नवधनाड्या आए । एकथरि मान्छे जन्मिए । अब, क्रान्तिले पनि छोडेका, पुञ्जीवादले पनि छोडेका मान्छे भए रुसमा । तेस्रो पक्ष भनौँ न । तिनका कथा चेखबले लेखे । यिनका कथै हुँदैनन् भनिएको समयमा, छोडिएका मान्छेका कथा । कथामा यो क्रान्ति थियो ।
— ठूला मान्छेका, ठूला कारणले, ठूला दुःख । ट्रयाजडी । सान मान्छेमा अचम्म हुँदो रहेछ । साना मान्छेमा, साना कारणले, ठूला दुःख । फेरि भन्छु— साना कारणले ठूला दुःख । ठूलाको, ठूला कारणले हुने ठूलो दुःखको कुरा त एरिस्टोटलकै पालादेखि सुनेको । व्यासमा पनि भएको त्यही हो । तर नि, यी सानाको ? हो, यो कुरा कथामा मौपसाले ल्याएका हुन् । कथामा यो वैचारिक क्रान्ति हो ।
— डरसँग सबै डराउँछन् । त्यसैले, डरलाई परपर पार्छन् । डर भनेको कलाको कच्चा माल पनि हो ? हैट, पागल कुरा । तर नि, एकजना जन्मिए – एड्गर एलन पो । डर, त्रास वा भयलाई नै कलाको स्वरूप दिए । उनका कथा कालजयी छन् । हैट, कसरी सोच्छन् मान्छे पनि !
— अस्तित्ववादी वा विसङ्गतिवादीका कथाको सार छ – मान्छे एक्लो छ, असहाय छ, आफैँ लड्नुपर्छ बाँच्नलाई वा मर्नुपर्छ । कुरा त हो । वा होला । तर, त्यो एक्लो मान्छेको एक्लो लडाइँमा पनि कलाकारिता हुन्छ । कथामा, यही कुरा अर्नेष्ट हेमिङवेले देखाएका हुन् ।
— बच्चा र महिला । सबैले भन्दै ल्याए । लेखे । बोले । तर नि, बच्चा र महिलाले सभ्यतालाई नयाँ आँखा कसरी दिन सक्छन् ? यो कुरा बुझाए कि टेगोरले, कि भवानी भिक्षुले । नमन । प्रिय भिक्षु, मेरो आगामि सङ्ग्रह ‘अपरिचित अनुहार’ तिमीप्रति समर्पित छ, ल ? तिमीले जुन मोडमा कथा छोड्यौ दशकौँअघि, कथालाई त्यही मोडबाट अगाडि बढाउनुपर्छ भन्ने मेरो निजी आग्रह छ ।
— सबैभन्दा गरिबको भद्दा, पुरानो, उजाड र विद्रीण घरमा कस्तो कस्तो सुन्दरता देखिन्छ ? निर्मल वर्माले सिकाए ।
— मान्छेको दिमाग पूर्व बग्यो, तर समय पश्चिम बग्यो भने के हुन्छ ? भनौँ, व्यक्तिको चिन्तन एकातिर र समयको गति अर्कोतिर बग्यो भने के हुन्छ ? उत्तर रोशन थापा नीरवका कथामा छ ।
— टोनी मोरिसनलाई नजोडुँ भनेको, सकिनँ । फेरि जोड्छु । उनले पनि तहल्कै गरेकी हुन् – युरोपेली फ्रेममा अश्वेत विश्वदृष्टि र मूल्यविधानको खोप लगाएर । कसलाई पात्रता दिने, कसलाई केन्द्रीयता दिने, कसको कथा कथा हो, कसको चैँ अकथा हो — यी सबै प्रश्नका उत्तर, टोनी मोरिसनमा आइपुग्दा उल्टिएकै हुन् । उनले किन यसो गरिन् ? एउटा बोध थियो । ध्येय थियो । भन्थिन् – कथा हामीले हामीपछि आउने पुस्तालाई दिन सक्ने सबैभन्दा मूल्यवान् सम्पदा हो । उनको प्रयोगवाद एउटा नश्लकै लागि, एउटा जातिकै लागि स्वतन्त्रताको सूत्र हुन पुग्यो । वाह वैचारिक प्रयोगशीलता र सामुदायिक प्रयोजन । कति उँचो कुरा छ ?
— अफ्रिकी मूलका लेखक बेन ओक्री कथाका माध्यमबाट अफ्रिकी विश्वदृष्टिलाई सतहमा ल्याउने लेखक हुन् । उनले कथाका माध्यमबाट सतहमा ल्याएको अश्वेत विश्वदृष्टिले स्वेत अथवा पश्चिमा महाआख्यान र सङ्कथनहरूले वर्षौँ लगाएर निर्माण गरेको वेभेदकारी र नश्लवादी दृष्टिकोणका विरुद्ध गैर-पश्चिमा विश्वदृष्टिलाई सतहमा ल्याएका हुन् । उनको ‘युद्धको छायामा’ जस्ता प्रख्यात कथाहरू यस उक्तिका परिणति पनि हुन् ।
— उता भारतामा देखिए अचम्मका कथाकार सद्दात सहन मन्तो । भारत-पाकिस्तान विभाजनलाई भित्रैबाट हेरेका उनी यस विभाजनको वीभत्सता र अमानवीयतालाई पूर्वाग्रहविहीन दृष्टिले, कठोर वस्तुताका साथ हेर्ने एकमात्र लेखक हुन् । त्यसैले हुनपर्छ, सल्मान रुस्दीले उनलाई “आधुनिक भारतीय कथाका विर्विवाद उन्नयाक” भनेका छन् ।
विश्वमा अन्यन्त्र पनि द्वन्द्व र विभाजनहरू भए । ती पृष्ठभूमिमा पनि आख्यानहरू लेखिए, तर तीमध्ये अधिकांश स्थितिमा लेखकले यो वा त्यो खेमाको पक्ष लिएको भेटिन्छ । नेपालमा पनि माओवादी द्वन्द्वका कथा हुन् वा राज्य र आम जनताको द्वन्द्वका कथा, लेखकले कुनै न कुनै खेमाको पक्ष लिएकै पाइन्छ । एजेन्डाधारी साहित्य । विभाजनमा पाकिस्तानतर्फ पर्न पुगेका र आफैँले कठोर दुःख भोगेका मन्तो केवल मानवताको आँखाबाट यस्ता विभाजन र तिनीहरूको विसङ्गतिको इमान्दार चित्रणमा पारङ्गत छन् । लेखक अनिवार्यातः कुनै न कुनै विचाराधारा र दृष्टिविन्दुमा दीक्षित हुन्छ र उसको लेखन त्यसैको कलेवरमा कुँदिएको हुन्छ भन्ने आम धारणालाई पनि चुनौती दिएर मन्तोले आफैँलाई एक तटस्थ र विशिष्ट आख्यानकारको रूपमा स्थापित गरेका छन् ।
आज नेपाली कथाकारको कुरा गरिनँ । बाहिरको बढी गरेँ । अर्को साता नेपालको ।
एक जना मेरा प्रिय लेखक दाइ हुनुहुन्छ । एक ठाउँ भन्नुभएछ — यो महेश पौडेलले चार जना जति विदेशी लेखकको नाम भन्छ, अनि सबलाई अल्मल्याउँछ ।
आज पनि त्यस्तै भयो । माफ पाम ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

