ओशोको आत्मकथाः स्वर्णिम बालापन

सत्र ४ः जब हजुरआमाले वेश्याकहाँ पठाउनु भयो…

 

यतिबेला संन्यासी बनेको त्यो ज्योतिषीको कुरा मैले तिमीहरूसँग गरिरहेको थिएँ । त्यो बेला म लगभग चौध वर्षको थिएँ र मेरा हजुरबा सँगै हुनुहुन्थ्यो । मावलाको हजुरबा त बितिसक्नु भएको थियो । त्यो वृद्ध भिक्षु, भूतपूर्व ज्योतिषीले मलाई सोधे, ‘म पेशाले त ज्योतिषी हुँ तर रहरले म हात, गोडा र निधारका रेखा आदि पनि पढ्छु । तिमीले त्यो बेला कसरी म संन्यासी नै बन्छु भन्न सक्यौ ? मैले त्योभन्दा पहिले कहिल्यै संन्यासी बन्नेबारे सोचेको थिइनँ । तिमीले नै यसको बिऊ मभित्र हाल्यौ र त्यो बेलादेखि म संन्यासकै बारेमा सधैँ सोचिरहेँ । तिमीले यो कसरी गर्‍यौ ?’

शरीरको हाउभाउले मैले खै खै भनेँ । आज पनि यदि कसैले मलाई कसरी गर्‍यौ भनेर सोध्यो भने त्यो बेला मसँग खै कसरी खै कसरी भनेर काँध उचाल्नुबाहेक अर्को उपाय छैन । किनभने म केही गर्दिनँ, कुनै प्रयास गर्दिनँ । म त जे भइरहेको छ, त्यसलाई हुन दिन्छु । यसका लागि कुनै घटनाभन्दा अघिअघि हिँड्ने वा भइरहने कला सिक्ने आवश्यकता मात्र पर्छ । ताकि मानिसहरूले तिमीले नै ती काम गरेको बुझून् । नत्र त कसैले पनि केही पनि गरिरहेको हुँदैन, विशेष गरी त्यो संसारको कुरा म गरिरहेको छु, जुन संसारसँग मेरो सम्बन्ध छ ।

ती बूढा ज्योतिषीलाई मैले भनेँ, ‘मैले त तपाईंको आँखाभित्र चिहाएँ र त्यहाँ यति पवित्रता देखेँ कि मलाई विश्वासै भएन । विश्वासै भएन कि तपाईं अझैसम्म संन्यासी किन हुनु भएन ! त्यतिञ्जेल त तपाईं संन्यासी भइसक्नुपर्ने थियो । धेरै ढिला भइसकेको थियो ।’

एक अर्थमा संन्यासका लागि सधैँ निकै ढिला भइसकेको हुनछ र अर्को अर्थमा संन्यास सधैँ समयभन्दा पहिले हुन्छ । र, यी दुवै कुरा एकसाथ सत्य हुन् ।

अब चाहिँ काँध उचाल्ने र खैखै भन्ने पालो ती बूढा मानिसको थियो । उनले भने, ‘तिमी मलाई उल्झनमा पार्दैछौ । मेरा आँखाले कसरी तिमीलाई केही भन्न सक्छ ?’

मैले भनेँ, ‘आँखाले भन्न सक्तैन भने कुनै ज्योतिषी खास ज्योतिषी हुन सक्तैन ।’

हो पनि, ज्योतिषी शब्द र आँखाहरूबीच कुनै सम्बन्ध छैन, ताराहरूसँग पो सम्बन्ध छ त । तर के नेत्रहीन मानिसले तारा देख्न सक्छ ? तारा हेर्नका लागि आँखा चाहिन्छ ?

मैले ती वृद्ध व्यक्तिलाई भनेँ, ‘ज्योतिष ताराहरूको विज्ञान होइन, हेर्ने विज्ञान हो, ताराहरूलाई पनि दिउँसोको उज्यालोमा पनि देख्ने विज्ञान, ज्योतिष विज्ञान हो ।’

कहिलेकाहीँ यस्तो हुन्छ… गुरुले आफ्ना शिष्यलाई टाउकामा ट्वाक्क हान्छ । आजै बिहान नै, आशु, तिमीलाई सम्झना होला, जब तिमी आफ्नो घडी हेरिरहेकी थियौ र मैले क्यानडा ड्राई सोडाको बोतलले तिमी टाउकामो ट्वाक्क हानेको थिएँ ? सम्झना आयो ? त्यो बेला तिमीबाट भूल भयो । ज्योतिष जान्नुको यही अर्थ हो । आज बिहान उसले यसको थोरै स्वाद पाई । अब उसले शायदै कहिल्यै घडीतिर हेर्ली !

तर घडीतिर पटक पटक हेर ताकि म पटक पटक तिमीलाई ट्वाक्क हान्न सकूँ । यो त शुरुवात मात्र थियो । नत्र त तिमी कसरी भित्र चिहाउन सक्छौ ? मलाई माफ गर, तर सधैँ ट्वाक्क हान्न देऊ । म माफी माग्नका लागि सधैँ तयार छु । तर सँगैमा म तिमीलाई ट्वाक्क पनि हानिरहन्छु । खासमा यो ट्वाक्क हान्नु त तयारी मात्र हो । अर्को पटक अझ गहिरो दुखाईका लागि तयारी !

यो अनौठो संगति छ यहाँ । म एउटा पुरानो यहुदी हुँ । एउटा भनाइ छ, एक पटक जो यहुदी बन्यो, ऊ सधैँ यहुदी नै भइरहन्छ । र, म एक पटक यहुदी थिएँ र यो उक्तिको सत्यता मलाई थाहा छ । म अझै पनि यहुदी नै हुुँ । मेरो दाहिनेतिर बसेका देवगीत सय प्रतिशत यहुदी हो र मेरो छेउमा गोडा नजिकै बसेको देवराज आंशिक यहुदी हो । तिमी उसको नाकले नै चिन्न सक्छौ । नत्र त यस्तो सुन्दर नाक कहाँबाट पाउन सक्छौ ? अनि गुडिया, ऊ पनि त यहाँ छे, ऊ पनि अंग्रेज होइन । ऊ पनि एक पटक यहुदी भइसकेकी हो । पहिलो पटक म तिमीहरूलाई भन्न चाहन्छु, ऊ अरु कोही होइन, मेरी मेग्डलिन हो । उसले जिससलाई प्रेम गरेकी थिई तर ऊ मुक्त हुनबाट चुकी । जिससलाई चाँडै नै सुलीमा चढाइयो । र, स्त्रीलाई समय चाहिन्छ, धैर्य चाहिन्छ । उनी केवल तेत्तीस वर्षका थिए । त्यो त फुटबल खेल्ने समय थियो । यदि तेत्तीस वर्षमा तिमी केही प्रौढ भयौ भने फुटबल हेर्न जाने समय त थियो !

जिसस चाँडै नै बिते । मानिसहरू उनका प्रति ज्यादै क्रूर थिए । उनीहरू थोरै मात्र सहिष्णु भएका भए कति जाति हुन्थ्यो भन्ने मलाई थकथकी लागिरहन्छ । गुडिया, यस पटक तिमीबाट चुक हुने छैन । तिमी चाहे जे सुकै गर, तिमी चाहे जतिसुकै भाग्ने प्रयास गर । म जिसस होइन, जसलाई सहजै तेत्तीस वर्षको उमेरमा सूलीमा चढाइएयो ! म ज्यादै धैर्य गर्न सक्छु, स्त्रीसँग पनि । यो ज्यादै कठिन कुरा हो… र पनि कहिलेकाहीँ त ज्यादै गाह्रो हुन्छ । स्त्री वास्तवमै टाउको दुखाई हुनसक्छे !

म कहिल्यै टाउको दुखाइबाट चिन्तित भइनँ, परमात्मालाई धन्यवाद, तर मलाई ढाडको दुखाइका बारेमा चाहिँ थाहा छ । ढाडको दुखाइ यति कष्टकर हुन्छ भने टाउकोको पीडा झन् कति बढी हुँदो हो ! शिर त आखिर पिठ्यूँको शिखर हो । तर चाहे ढाडको पीडा होस् या टाउकोको, यसले मलाई केही फरक पर्दैन । यस पटक त तिमी गल्ती गर्न सक्तिनौ । यदि यस पटक गल्ती भयो भने मजस्तो मानिस दोहोर्याएर भेट्न असम्भव छ ।

जिसस फेरि पनि सहज तरिकाले फेला पर्न सक्छन् । मानिस सधैँ सम्बुद्ध भइरहन्छन् तर मजस्तो मानिस भेट्न ज्यादै गाह्रो छ, जो हजारौँ जन्ममा हजारौँ बाटोहरू हिँडेको होस् र जसले मौरीको जस्तो लाखौँ फूलका सुगन्धलाई भेला पारेको होस् ।

यदि कोही मसँग हिँड्नबाट चुक्यो भने शायद ऊ सदाका लागि नै चुक्यो । तर म मेरा कुनै पनि साथीका साथ यस्तो हुन दिन्नँ । म तिनको चलख्याइँ, कठोरता र होसियारीलाई राम्रोसँग काट्न जान्दछु । मलाई सारा संसारको कुनै चिन्ता छैन, मलाई त आफ्ना ती मानिसका बारेमा चासो छ, जो वास्तवमै आफूलाई खोज्न निस्किएका छन् ।

आजै मैले एउटा नयाँ पुस्तकको अनुवाद फेला पारेँ, जसलाई उनीहरू जर्मनीमा प्रकाशन गर्दैछन् । म जर्मन भाषा जान्दिनँ । त्यसैले कसैले मलाई त्यसको केही अंश अनुवाद गरी सुनाउनु पर्यो । त्यो मेरो बारेमा थियो । त्यो अनुवाद सुनेर म यति हाँसेँ कि त्यति त म कुनै चुटकिला सुनेर हाँसेको थिइनँ । र, यो ठट्टाको पुस्तक होइन, यो ज्यादै गम्भीर पुस्तक हो ।

लेखकले पचपन्न पृष्ठमा म केवल इल्लुमिनेटेड हुँ, इन्लाइटेन्ड होइन भन्ने सिद्ध गर्ने प्रयास गरेको थियो । वाह ! गज्जब ! इल्लुमिनेटेड मात्र, एन्लाइटेन्ड होइन । तिमीहरूलाई आश्चर्य होला, केही दिन पहिले यस्तै गुणस्तरको एउटा अर्को मूढ, एउटा डच प्राध्यापकको पुस्तक मैले भेटेको थिएँ । डच पनि जर्मनभन्दा केही फरक हुँदैनन् । उनीहरू एउटै श्रेणीका मानिस हुन् ।

प्रसंगवश म भनिदिऊँ, गुरजिएफ एक विशेष योजनाअनुसार हरेक व्यक्तिलाई एउटा श्रेणीमा राख्थे । उनले मूढ व्यक्तिहरूको श्रेणी बनाएका थिए । अब यी जर्मन र डच महानुभाव, जसको नाम सौभाग्यले भुलेँ, दुवैलाई मुर्खहरूको श्रेणीमा राख्दा हुन्छ । होइन, होइन त्यो त मेरा यहुदी शिष्य, देवगीतका लागि पहिल्यैदेखि सुरक्षित छ– तिनलाई मूढताको श्रेणीमा राख्दा हुन्छ ! डच मूढले एक लामो शोधपत्रमा म एन्लाइटेन्ड भएको सिद्ध गर्ने कोसिस गर्यो, इल्युमिनेटेड होइन रे ! अब यी दुवै मूढहरू भेला भएर कुस्ती भिड्नुपर्छ र आफ्नो किताब र तर्कबाट एकअर्कालाई कुटपिट गर्नुपर्छ ।

जहाँसम्म मेरो कुरा छ, सधैँका लागि अन्तिम रुपमा यो संसारलाई भन्नु छः न त म इल्युमिनेटेड हुँ न त एनलाइटेन्ड नै । म त एउटा ज्यादै साधारण र सरल व्यक्ति हुँ । बिना कुनै विशेषण र बिना कुनै डिग्रीको मानिस हुँ । मैले आफ्ना सारा प्रमाणपत्रहरु जलाइसकेँ ।

मूढले सधैँ एउटै प्रश्न सोध्छन्– त्यसले केही फरक पर्दैन । यो चमत्कार नै मान्नुपर्छ, भारत, बेलायत, क्यानडा, अमेरिका र जर्मनीका बीच सबै कुरा बेग्लाबेग्लै छन् तर मूढता चाहिँ एउटै छ । मूढ सर्वव्यापक छ, सबै ठाउँमा एउटैजस्तो ।

जहाँसुकैबाट चाख, सबैको स्वाद एउटै हुन्छ । शायद बुद्ध मसँग सहमत हुँदा हुन् । आखिर उनले भनेका पनि थिए कि बुद्ध पुरुषलाई कहीँबाट पनि चाख्दा, ऊ समुद्रजस्तै हुन्छ, उसको स्वाद नुनिलो नै हुन्छ । यो पनि राम्रो हो तर भारतीय भाषामा बुद्ध र बुद्धु दुवै शब्द एउटै मूलधातुबाट आउँछ, करिब करिब समान शब्द हुन्छ ।

तिमी मलाई एनलाइटेन्ड मान्छौ कि मान्दैनौ, मलाई त्यसमा कुनै लिनुदिनु छैन । त्यसले मलाई के फरक पर्छ ? तर ती मानिस यति चिन्तित छन् कि उसको सानो पुस्तकमा पचास पृष्ठ त म एनलाइटेन्ड हुँ कि होइन भन्नेमै खर्चिइएको छ । यसबाट त एउटा कुरा पक्का भयो, त्यो प्रथम श्रेणीकै मूढ हो ।

म त मै हुँ । म किन एनलाइटेन्ड या इलयुमिनेटेड हुनुपर्‍यो ? क्या विद्वता छ ! के इल्युमिनेसन एनलाइटेन्मेन्टबाट भिन्न छ ? शायद बिजुलीको उज्यालो हुनु चाहिँ एनलाइटेन्ड हुनु हो र मैनबत्तीको उज्यालो हुनु चाहिँ इलयुमिनेटेड हुनु हो ? उज्यालो त उज्यालो हो तर यी उज्यालो बीचको फरक त मलाई थाहा छैन ।

म दुवै होइन । म त स्वयं प्रकाश हुँ, न त एनलाइटेन्ड हुँ न त इल्युमिनेटेड हुँ । ती शब्दहरूलाई त मैले धेरै पछाडि छाडिसकेँ । म तिनलाई धेरै टाढा त्यो बाटोमा छाडिसकेँ, जहाँ अझै पनि धुलो उडेको देख्न सक्छु । त्यो बाटोमा म फेरि अब कहिल्यै जान्नँ । ती त बालुवामा टेकिएका गोडाका चिह्न हुन् ।

ती तथाकथित प्रोफेसर, दार्शनिक र मनोवैज्ञानिक, मजस्तो सिधासादा मानिसका बारेमा कनि यति धेरै चिन्तित छन् ? म त उनीहरूका बारेमा त्यति चिन्तित छैन ! म आफ्नो जीवन बाँचिरहेको छु । यो मेरो स्वतन्त्रता हो, म जस्तो चाहन्छु, त्यस्तै जीवन बाँच्छु । उनीहरू आफ्नो समय ममाथि किन बर्बाद गरिरहेका छन् ? बरु यसको साटो आफ्नो समय बाँच्नमा लगाएको भए हुन्थ्यो ! ती विचरा प्रोफेसरले नजाने कति दिन र कति रात बर्बाद गरेका हुँदा हुन् ! त्यतिञ्जेल त उनले शायद इल्युमिनेटेड नै हुन्थे होलान् या कम्तीमा एनलाइटेन्ड नै बन्थे होलान् । अनि ती डच यदि इल्युमिनेटेड नभए पनि एनलाइटेन्ड बन्थे होलान् । त्यसपछि दुवैले बुझ्थे, म को हुँ ।

अनि त्यो बेला त्यहाँ केवल मौन हुन्छ
केही पनि भन्न पर्दैन
शायद गाउने एउटा गीत
अथवा एउटा नृत्य
अथवा एक कप चिया बनाउनु मात्र
र, चुपचाप त्यसको चुस्की लिनु…

सारा फिलोसफीभन्दा महत्त्वको कुरा चियाको सुगन्ध, चियाको स्वाद हो !

आशु, बुझ, त्यसैले म भन्छु कि क्यानडाको केवल एउटै मात्र चिज उल्लेखनीय छ र त्यो हो क्यानडा ड्राई सोडा । त्यो साँच्चै राम्रो छ, मलाई ज्यादै मनपर्छ । यसलाई आफ्नो काखीमा लुकाउने आवश्यक छैन न त कहीँ गल्तीले देखिएला कि भनेर छोड्नु नै आवश्यक छ । कति समय बित्यो, त्यसको मलाई कुनै चिन्ता छैन र जब म सोधिरहेको हुन्छु, त्यो बेला पनि कुनै अर्थ हुँदैन । म त तिमीहरूलाई ढाढस दिनका लागि सोचिरहेको हुन्छु । नत्र त म आफ्नै ढङ्गले हिँड्ने मान्छे हुँ । समयको कुनै चिन्ता गर्दिनँ । हेर त, मूल विषयमा आउन मलाई कति समय लाग्यो !

मेरा हजुरबा अचानक बिरामी हुनुभयो । अहिले नै उहाँको मृत्युको समय आइसकेको थिएन । उहाँ पचासभन्दा बढी उमेरको हुनुहुन्न थियो । पचास भन्दा पनि कमै हुनुहुन्थ्यो होला । शायद मेरो अहिले जुन उमेर छ, त्यो भन्दा पनि कम नै थियो । मेरी हजुरआमा पचास वर्षकी मात्र हुनुहुन्थ्यो । उहाँको सौन्दर्य पूर्ण रुपमा निखारिएको थियो । तिमीलाई आश्चर्य लाग्ला, उहाँको जन्म तान्त्रिकहरूको प्राचीनतम गढ खजुराहोमा भएको थियो । उहाँले मलाई सधैँ भन्ने गर्नुहुन्थ्यो, ‘तिमी जब हुर्किन्छौ, अलि हिँड्न सक्ने हुन्छौ, खजुराहो जान नबिर्सनू ।’ कुनै पनि अभिभावकले आफ्ना सन्तानलाई शायदै यस्तो सल्लाह दिन्छन् । तर मेरी हजुरआमा अद्भुत थिइन्, खजुराहो जानका लागि मलाई सल्लाह दिइरहन्थिन् ।

खजुराहोका मन्दिरमा हजारौँ सुन्दर मूर्ति बनाइएको छ, सबै नग्न र संभोगरत् । त्यहाँ सयौँ मन्दिर छन् । तीमध्ये धेरैजसो त खण्डहर भइसके तर केही बचेका छन् । शायद यसकारणले मानिसहरूले बिर्सिएका थिए । महात्मा गान्धी ती बचेका मन्दिरलाई पनि माटोमा गाढिदिन चाहन्थे किनभने ती मूर्ति ज्यादै आकर्षक छन् । र पनि मेरी हजुरआमा मलाई खजुराहो जान उत्साहित गर्नुहुन्थ्यो । उहाँ स्वयं पनि मूर्तिजस्तै ज्यादै सुन्दर हुनुहुन्थ्यो, हरेक प्रकारले युनानी देखिनु हुन्थ्यो ।

जब मुक्ताकी छोरी सीमा मलाई भेट्न आई, एक क्षण त मलाई विश्वासै लागेन, किनभने मेरी हजुरआमाको रुपरङ र अनुहार ठ्याक्कै त्यस्तै थियो । सीमा युरोपेली देखिन्न थिई । उसको रङ केही कालो छ र उसको कदकाठी र अनुहार मेरी हजुरआमाजस्तै छ । मैले सोचेँ, मेरी हजुरआमा बितिसकिन्, यसमा मलाई दुःख छ । नत्र त म सीमालाई उहाँसँग भेट गराइदिन्थेँ । ८० वर्षको उमेरमा पनि उहाँ ज्यादै सुन्दर देखिनुहुन्थ्यो, जुन असम्भव नै कुरा हो ।

मेरी हजुरआमाको निधन हुँदा म बम्बईबाट उहाँलाई भेट्न भनी गएँ । मृत्युपछि पनि उहाँ सुन्दर हुनुहुन्थ्यो । विश्वासै गर्न सकिनँ, उहाँ बित्नुभयो । अचानक खजुराहोका सारा मूर्ति मेरालागि जीवन्त भए । उहाँको मृत शरीरमा मैले खजुराहोको समस्त दर्शनलाई देखेँ । उहाँलाई देखेपछि पहिलो काम नै म खजुराहो फेरि गएँ । उहाँलाई श्रद्धाञ्जली अर्पित गर्ने त्यही मात्र एउटा तरिका थियो । अब खजुराहो पहिलेभन्दा पनि बढी सुन्दर लाग्यो, किनभने हरेक मूर्तिमा हरेक ठाउँमा म उहाँलाई देख्न सक्थेँ ।

खजुराहो अनुपम छ, अतुलनीय छ । संसारमा हजारौँ मन्दिर छन्, तर खजुराहोजस्तो कुनै पनि छैनन् । म यो आश्रमलाई एउटा ज्यूँदो खजुराहो बनाउने प्रयास गरिरहेको छु । पत्थरको मूर्ति होइन, जीवित मानिसको, जसमा प्रेम गर्ने क्षमता होस्, जो वास्तवमै ज्यूँदा होऊन्, यति ज्यूँदा कि उनीहरू संक्रामक होऊन्, उनीहरूलाई छुनु मात्र काफी होस् र एउटा करेन्ट, बिजुलीको झट्का अनुभव गर्न सकून् ।

मेरी हजुरआमाले मलाई धेरै कुरा दिनुभयो, सबैभन्दा महत्त्वपूर्ण चाहिँ उहाँको जोड दिनुमा थियो, कि म खजुराहो एक पटक अवश्य जाऊँ । त्यो बेला खजुराहोलाई कसैले पनि चिन्दैनथे, जान्दैनथे । तर उहाँले यति जोड दिनुभयो कि मैले जानु पर्‍यो ।

उहाँ ज्यादै जिद्दी हुनुहुन्थ्यो । शायद मैले पनि यही, गुण या यसलाई तिमी अवगुण भन्न सक्छौ, हजुरआमाबाटै पाएको हुँला ।
उहाँको जीवनको अन्तिम बीस वर्षमा म पूरै भारतमा घुमिसकेको थिएँ । हरेक पटक जब म त्यो गाउँ हुँदै निस्कन्थेँ, उहाँले मलाई भन्नुहुन्थ्यो, ‘हिँडिरहेको गाडीमा नचढ्नू, हिँडिरहेको गाडीबाट नउत्रनू । अर्को कुरा, यात्रा गर्दा कुनै पनि यात्रुसँग बहस नगर्नू । तेस्रो कुरा, म ज्यूँदै छु र तिम्रो घर आउने प्रतीक्षामा हुन्छु भन्ने कुरा नबिर्सनू । तिमी सारा देश किन घुम्छौ ? जबकि म तिम्रो चिन्ता गर्दै यहाँ पर्खिरहेकी हुन्छु । तिमीलाई रेखदेख गर्न पर्छ, मैले जत्तिको रेखदेख त अरु कसैले गर्न सक्दैन बुझ्यौ !’
बीस वर्षसम्म निरन्तर मैले यो सुनिरहनु पर्यो । अब म उहाँलाई भन्न सक्छु, ‘चिन्ता नगर्नू, कम्तीमा तपाईं अर्कै लोकमा पुगिसक्नु भएको छ । पहिलो कुरा त, अब म रेलबाट यात्रा गर्दिनँ । सत्य त के भने अब म यात्रा नै गर्दिनँ । त्यसैले हिँडिरहेको गाडीबाट ओर्लने र चढ्ने प्रश्नै आउँदैन । अर्को, गुडियाले अचेल मेरो ख्याल राख्छे, त्यति नै सुन्दर ढंगले राख्छे, जति तपाईं राख्ने गर्नुहुन्थ्यो । तेस्रो, जसरी तपाईं आफ्नो जीवनकालमा मेरो प्रतीक्षा गर्नुहुन्थ्यो, त्यसरी नै अहिले पनि मेरो प्रतीक्षा गर्नु किनभने म चाँडै नै आउँदैछु, म घर आउँदैछु ।’

मेरी हजुरआमाले पटक पटक भनेका कारण नै पहिलो पटक म खजुराहो गएको थिएँ । त्यसपछिका सयौँ पटक म त्यहाँ पुगेको छु । संसारमा अन्य कुनै ठाउँ म यति धेरै पटक गएको छैन । कारण सिधा छ, सफा छ । तिमी जति बढी जान्दछौ, उति नै अझ बढी जान्ने इच्छा भएर आउँछ । यो अनुभव कहिल्यै पनि पूरा लिएँ भन्ने तिमीलाई लाग्दैन । जति पटक गए पनि अझै बढी जान मन लाग्छ । खजुराहोको मन्दिरको कणकणमा रहस्य छ । एक एक मन्दिर बनाउन हजारौँ कलाकार र सयौँ वर्ष लाग्यो होला । जसलाई हामी परिपूर्ण भन्छौँ, त्यो खजुराहोका अतिरिक्त मैले कतै पनि पाइनँ– ताजमहलमा पनि पाइनँ । ताजमहलमा पनि केही कमी छ तर खजुराहोमा कुनै कमी छैन । ताजमहल त एउटा मात्र सुन्दर कलाकृति हो तर खजुराहो त मनुष्यको पूरा दर्शन र मनोविज्ञान हो ।

जब मैले ती ‘नेकेड’… म ‘न्यूड’ भन्न सक्तिनँ, माफ गर । ‘न्यूड’ अश्लील हो । ‘नेकेड’ बिल्कुलै फरक कुरा हो । शब्दकोशमा शायद ती दुवैको एउटै अर्थ होला तर शब्दकोश नै सबथोक होइन, अस्तित्वमा अरु पनि धेरै कुरा छन् । ती मूर्ति ‘नेकेड’ होलान् तर ती ‘न्यूड’ होइनन् । नेकेड सौन्दर्य !.. शायद कुनै बेला मानिसले त्यो अवस्थामा पुग्ला । यो एउटा स्वप्न हो, खजुराहो एउटा स्वप्न हो । महात्मा गान्धी त्यो सपनालाई माटोमा पुरिदिन चाहन्थे ताकि कोही पनि ती सुन्दर मूर्तिबाट मोहित नहोऊन् । हामी रवीन्द्रनाथ टैगोरप्रति आभारी हुनुपर्छ, जसले गान्धीलाई माटोमा पुर्नबाट रोके । उनले भने, ‘मन्दिर जस्तो छ, त्यस्तै रहोस्, रहन दिनू ।’ उनी कवि थिए, त्यसैले उनले तिनको रहस्य बुझ्न सक्थे ।

म खजुराहो यति धेरै पटक गएको छु कि गन्नै बिर्सिसकेँ । जब मसँग केही समय हुन्थ्यो, म खजुराहो पुगिहाल्थेँ । म अन्तकतै नपाइए मेरा परिवार पक्कै खजुराहो गएँ भनेर ढुक्क हुन्थ्यो । परिवारले त्यहीँ खोज्थे र म फेला पर्थें पनि । म त्यहाँ जाँदा सधैँ खजुराहोका चौकीदारलाई घुस खुवाउनु पर्थ्यो, छिर्नका लागि होइन, म त्यहाँ छु भनेर परिवारलाई नसुनाइदिनू भन्नका लागि । यो एउटा कन्फेसन नै हो, किनभने त्यही एउटा अवसरमा मैले घुस खुवाएँ । तर मलाई त्यो घुस खुवाएकामा कुनै पश्चाताप छैन । मलाई कुनै दुःख वा अफसोस छैन ।

खासमा, तिमीहरूलाई म कति खतरनाक छु भन्ने थाहा छैन । जुन चौकीदारलाई मैले घुस दिएँ, ऊ मेरो संन्यासी बन्यो । अब कसले कसलाई घुस दियो होला ? म खजुराहोको मन्दिर भित्र गएको छैन भन्नलाई पहिले मैले उसलाई घुस दिएँ । त्यसपछि ऊ बिस्तारै बिस्तारै मप्रति उत्सुक हुन थाल्यो । उसले पछि मैले दिएका सारा घुस फिर्ता दियो । उही मात्र यस्तो एक जना मानिस होला, जसले लिएको घुस फिर्ता गरेको होस् । संन्यासी बनेपछि घुस उसले राख्न सकेन ।

खजुराहो– यो नामले नै मलाई आनन्द दिन्छ, हृदयमा आनन्दको घण्टी बज्न थाल्छ । मानौँ स्वर्गबाट पृथ्वीमा अवतरित भएको होस् । पूर्णिमाको रातमा खजुराहो हेर्नु यस्तो हो, मानौँ जे पनि देख्न योग्य छ, ती सबै देखिसकिएको होस् । मेरी हजुरआमा त्यहीँ जन्मिनु भएको थियो । त्यहाँ जन्मिएकाले उहाँ एउटी सुन्दर स्त्री हुनुहुन्थ्यो, साहसी र खतरनाक पनि हुनुहुन्थ्यो त यसमा कुनै आश्चर्य छैन । सुन्दरता सधैँ नै साहसी र खतरनाक हुन्छ । उहाँमा ज्यादै ठूलो साहस थियो । मेरी आमा उहाँजस्ती हुनुहुन्न थियो । र, मलाई त्यस कुराको अफसोस छ । तिमीहरू मेरी आमामा हजुरआमाका कुनै पनि गुण पाउँदैनौ । हजुरआमा कति साहसी महिला हुनुहुन्थ्यो भने उहाँले सबैथोक गर्न मलाई सहयोग गर्नुभयो ।

म रक्सी पिउन चाहन्थेँ, उहाँले रक्सी ल्याइदिनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘जबसम्म तिमी पूरै पिउँदैनौ, तिमी यसबाट मुक्त हुन सक्दैनौ ।’ र, मलाई थाहा छ, कुनै पनि कुराबाट छुटकारा पाउन यही मात्र एउटा तरिका हो । म जे पनि चाहन्थेँ, उहाँले त्यसको व्यवस्था गरिदिनुहुन्थ्यो ।

मेरा हजुरबा, उहाँका पति, सधैँ डराउनुहुन्थ्यो– जसरी संसारका सबै पति डराउँछन् । उहाँ एउटा मुसो हुनुहुन्थ्यो, सुन्दर मुसो । असल मानिस हुनुहुन्थ्यो, प्रेमपूर्ण हुनुहुन्थ्यो तर हजुरआमाको तुलनामा त केही पनि होइन । जब हजुरबाले मेरो काखमा देहत्याग गर्नुभयो, हजुरआमा रुनु भएन । मैले उहाँलाई भनेँ, ‘उहाँ मर्नुभयो । तपाईंले उहाँलाई यति प्रेम गर्नुभयो । किन रुनु हुन्न ?’

उहाँले भन्नुभयो, ‘तिम्रा कारण । एउटा बालकका सामु म रुन चाहन्नँ ।’ उहाँ यस्ती स्त्री हुनुहुन्थ्यो ! ‘म रुन थालेँ भने स्वभावतः तिमी पनि रुन थाल्छौ । त्यसपछि कसले कसलाई फकाउने ?’

त्यो बेला कस्तो अवस्था थियो भन्नेबारे मैले केही वर्णन गर्नुपर्छ… ।

हामी गोरुगाडामा आफ्ना हजुरबाको गाउँबाट पिताको गाउँतिर गइरहेका थियौँ । त्यो बेला एक मात्र अस्पताल त्यही गाउँमा थियो । मेरा हजुरबा ज्यादै बिरामी पर्नुभएको थियो, बिरामी मात्र होइन, बेहोस नै हुनुभएको थियो । करिब करिब कोमाको अवस्थामा हुनुहुन्थ्यो । गोरुगाढामा उहाँ, म र हजुरआमा थियौँ । मेराप्रति हजुरआमाको करुणालाई म बुझ्न सक्छु । उहाँ आफ्ना प्रिय पतिको मृत्युमा रुनु भएन । मेरा कारणले रुनु भएन किनभने त्यहाँ म एक्लो थिएँ । मलाई सान्त्वना दिने कोही पनि थिएन । मैले भनेँ, ‘मेरो चिन्ता नगर्नुस् । यदि तपाईं नरोई रहन सक्नुहुन्छ भने म पनि नरोई रहन सक्छु ।’ तिमीहरू विश्वास गर्लाऊ कि नगर्लाऊ, सात वर्षको बच्चा नरोइकनै बसेको देखेर उहाँलाई आश्चर्य लाग्यो । उहाँले भन्नुभयो, ‘तिमी त रोएनौ नि ?’ मैले भनेँ, ‘म तपाईंलाई फुल्याउन चाहन्नँ ।’

त्यो गोरुगाढामा अद्भुत मानिसहरू थिए । भुरा, जसको कुरा मैले बिहान सुनाएँ, उसले गाढा चलाइरहेको थियो । आफ्ना मालिकको मृत्यु भयो भन्ने उसलाई थाहा थियो तर पनि ऊ गाडीभित्र छिर्न चाहेन । ऊ त नोकर मात्र थियो र मालिकको व्यक्तिगत मामिलामा चासो दिनु उचित थिएन । उसले भन्यो, ‘मृत्यु निजी मामिला हो । म कसरी चिहाउन सक्छु र ? गाडी चलाउँदै गर्दा मैले सबै सुनिसकेको थिएँ । म रुन चाहन्थेँ । म उहाँलाई ज्यादै प्रेम गर्थें । म अनाथ अनुभव गरिरहेको छु । तर म गाडी चलाउँदै गर्दा पछाडि फर्किएर हेर्न सक्तिन थिएँ । हेरेको भए उहाँले मलाई कहिल्यै क्षमा गर्नु हुन्थेन ।’

अनौठो मान्छे… र, हजुरबुवा मेरो काखमा हुनुहुन्थ्यो । म सात वर्षको बच्चा, मृत्युसँगै थिएँ– केही सेकेण्डका लागि होइन, लगातार चौबीस घण्टासम्म सँगै थिएँ । त्यहाँ कुनै सडक थिएन, मेरा पिताको गाउँसम्म पुग्न ज्यादै गाह्रो थियो । गाडी सुस्त गतिमा चलिरहेको थियो । चौबीस घण्टासम्म हामी मृतशरीरको साथमा थियौँ । म रुन सकिनँ किनभने मेरी हजुरआमालाई म व्याकुल बनाउन चाहन्न थिएँ । उहाँ रुन सक्नुभएन किनभने उहाँ मलाई, सात वर्षे बालकलाई दुःखी बनाउन चाहनुहुन्न थियो । उहाँ फलामले बनेकी वास्तविक स्त्री हुनुहुन्थ्यो ।

जब हामी गाउँ पुग्यौँ, मेरा पिताले डाक्टरलाई बोलाउनुभयो । यो देखेर मेरी हजुरआमा हाँस्नुभयो, भन्नुभयो, ‘तिमीहरू पढेलेखेका मानिस सबै मूर्ख छौ । उहाँ बितिसक्नुभयो । अब डाक्टरलाई बोलाउने आवश्यकता नै के छ र ? बरु जति चाँडो हुन्छ, उहाँको दाहसंस्कार गर्ने व्यवस्था मिलाऊ ।’

ती शब्द सुनेर सबै जना स्तब्ध भए, मबाहेक किनभने म उहाँलाई जान्दथेँ । उहाँ मृतशरीर मूल तत्त्वहरूमा विलिन होस् भन्ने चाहनुहुन्थ्यो । त्यसै पनि ढिला भइसकेको थियो !

उहाँले भन्नुभयो, ‘म अब त्यो गाउँ फर्किएर जान्नँ ।’

उहाँले त्यो गाउँमा बस्न जान्न भन्नुको अर्थ, अब म उहाँलाई भेट्न जान पाउँदिनँ । तर उहाँ मेरा पिताको घरमा बस्नु भएन । जब म मेरा पिताको गाउँमा बस्न थालेँ, दिनभरि आफ्नो परिवारसँग बस्थेँ र राति म हजुरआमाकहाँ बस्थेँ । उहाँ एक्लै एउटा सुन्दर घरमा बस्नुहुन्थ्यो । त्यो सानो घर थियो तर बहुत सुन्दर थियो ।

मेरी आमा मलाई सोध्नुहुन्थ्यो, ‘तँ राति घरमै किन बस्दैनस् ?’

मैले भन्थेँ, ‘यो त असम्भव छ । म हजुरआमाकहाँ जानै पर्छ । खासगरी राति । उहाँ राति हजुरबुवालाई साह्रै सम्झनुहुन्छ, उहाँ एक्लो महसुस गर्नुहुन्छ । दिउँसो त काममा व्यस्त हुनुहुन्छ र वरपर मानिसहरू पनि हुन्छन् तर राति म भइनँ भने कोठामा रुँदै बस्नुहुन्छ । म त्यहाँ जानै पर्छ ।’

म सधैँ हरेक रात त्यहाँ जान्थेँ ।

दिउँसो म स्कुल जान्थेँ । बिहान र दिउँसोका केही घण्टा आफ्नो परिवारसँग बिताउँथे– मेरा पिता, मेरा काका । त्यो निकै ठूलो परिवार थियो । त्यो परिवार मे मेरालागि अपरिचित थियो, त्यो परिवार कहिल्यै मेरो अङ्ग बनेन ।

मेरी हजुरआमा नै मेरो परिवार हुनुहुन्थ्यो । उहाँले मलाई बुझ्नुहुन्थ्यो किनभने उहाँले नै मलाई हुर्कंदै गर्दा देख्नु भएको थियो । उहाँले जति मलाई चिन्नुहुन्थ्यो, अरु कसैले पनि त्यति चिनदैनथे । उहाँले मलाई सबैथोकमा स्वतन्त्रता दिनुभयो… सबैथोकमा ।

भारतमा जब तिहार आउँछ, मानिसहरू जुवा खेल्ने स्वतन्त्रता पाउँछन् । यो अनौठो रीति छः तीन दिनका लागि जुवा खेल्नु यहाँ कुनै गैरकानुनी मानिदैन । त्यसपछि तिमी पक्राउ पर्न सक्छौ, त्यसपछि तिमीलाई सजाय हुनसक्छ । मैले हजुरआमासँग भनेँ, ‘मलाई जुवा खेल्न मन लाग्यो ।’

उहाँले सोध्नुभयो, ‘कति पैसा चाहियो ?’

मैले जे सुनेँ, त्यसमा मलाई विश्वासै लागेन । मैले सोचेको थिएँ, उहाँले जुवा कहिल्यै खेल्नु हुँदैन भन्नु होला । तर उहाँले भन्नुभयो, ‘जुवा खेल्न चाहन्छौ ?’ त्यसपछि उहाँले मलाई सय रुपैयाँको नोट दिनुभयो र भन्नुभयो, ‘जाऊ, जहाँ खेल्न मन लाग्छ खेल किनभने अनुभवबाट नै मानिसले सिक्छ ।’

यसरी उहाँले मलाई धेरै सहयोग गर्नुभयो ।

एक पटक म वेश्यालाई भेट्न चाहन्थेँ । म १५ वर्षको मात्र थिएँ । मैले सुनेँ, गाउँमा वेश्या आएकी छ । हजुरआमाले मलाई सोध्नुभयो, ‘तिमीलाई वेश्याको अर्थ थाहा छ ?’

मैले भनेँ, ‘ठ्याक्कै त होइन ।’

उहाँले भन्नुभयो, ‘तिमीले त्यहाँ गएर हेर्नुपर्छ । शुरुमा उसले नाचेको गाएको हेर्न जाऊ ।’

भारतमा वेश्याहरू पहिले नाच्छन्, गाउँछन् । तर त्यो स्त्री यति कुरुप थिई र उसको गाउने नाच्ने कुरा यति भद्दा थियो कि मलाई उल्टी भयो । नाच्ने गाउने काम सकियो र वेश्यावृत्ति शुरु भयो । त्योभन्दा पहिले नै म घर फर्किएँ । हजुरआमाले सोध्नुभयो, ‘यति चाँडै घर किन आएको ?’

मैले भनेँ, ‘मलाई ती सबै देखेर उल्टी आयो ।’

पछि जब मैले ज्याँ पाल सात्रको पुस्तक ‘नजिया’ पढेँ, त्यो बेला मैले बुझेँ कि वास्तवमा त्यो रात मलाई के भएछ !

तर मेरी हजुरआमाले मलाई वेश्याकहाँ जान दिनुभयो । कहिल्यै पनि मलाई उहाँले हुन्न भनेको थाहा छैन । एक पटक मलाई चुरोट पिउन मन लाग्यो । उहाँले भन्नुभयो, ‘सधैँ के याद राख्नु भने चुरोट त पिउनू तर घरभित्रै मात्र ।’

मैले सोधेँ, ‘किन ?’

उहाँले भन्नुभयो, ‘अरुलाई मन नपर्न सक्छ, तिमीले चुरोट पिएको अरुलाई आपत्ति हुनसक्छ । त्यसैले घरैमा पिउनू । म बरु चुरोट ल्याएर दिउँला ।’

उहाँले मलाई त्यतिञ्जेल चुरोट ल्याइदिरहनु भयो, जबसम्म मैले उहाँलाई ‘भयो, पुग्यो । अब मलाई पिउनु छैन,’ भनिनँ ।

खानुको अनुभव पाउँ भनेर उहाँले जस्तोसुकै हदसम्म उहाँ पुग्नुभयो ।

जान्ने एउटै मात्र बाटो छः आफैँले अनुभव गर्नु । भन्दैमा जानिन्छ भन्ने छैन । आमाबाउसँग छोराछोरी किन चिढिन्छन् ? किनभने उनीहरू सधैँ बताउँछन्, भन्छन् । बच्चा परमात्माका पुनर्जन्म हुन् । तिनलाई आदर दिनुपर्छ र उसलाई हुर्कन र ऊ हुनुको पूरा मौका दिनुपर्छ, तिमीहरूको हिसाबले होइन, बरु उसको आफ्नो क्षमता र सम्भावनाका हिसाबले ।

मेरो समय पूरा भयो भने ठीक छ, पूरा भएको छैन भने त झन् राम्रो । मलार्य कति समयसम्म तान्ने हो, यो तिमीहरुमा निर्भर छ । बुझ्नु, तिमी एकलो यहुदी होइनौ । तिमी त जन्मले मात्र यहुदी हौ, म त आत्माले यहुदी हुँ । अब सबै तिमीमा निर्भर छ ।