विचार लाद्छ मान्छे

शीर्षक देखेर अचम्म मान्नुभयो होला । कतिले त गलत पनि भन्नुहोला । त्यसै आधारमा अङ्क दिने हो भने ठुलो रातो आलुले घेरेर ‘फेल !’ भन्ने घोषणा पनि गर्नुहोला । तर भाषा भनेको संरचनाभन्दा सन्दर्भले बढी अर्थ (धन सम्पत्ति होइन) प्रदान गर्ने विचार विनिमयको मूल्य (साधन) हो भन्ने बुझ्दा माथि भनिएका काल्पनिक अवस्था नआउन सक्छन् ।

विचार विनिमय गर्दा प्रभावकारिताका लागि मान्छेले विभिन्न तरिका अपनाउँछ । जतिसुकै तरिका अपनाए पनि माध्यम भने एउटै छ त्यो हो – भाषा । मान्छले कि त बोलेर कि लेखेर कि सङ्केतहरुको प्रयोग गरेर भाषाको व्यापार गर्ने हो । व्यापार भन्दा आर्थिक नाफा नोक्सानको कुरा दिमागमा आउला । त्यसो हो भने कार्यव्यापार भन्दा हुन्छ । जे भने पनि एक मान्छेमा रहेको विचारको वीज अर्को मान्छेमा प्रत्यारोपण गर्ने माध्यम भाषा हो । वर्ण, अङ्क, लिपि चिह्न र अरु पनि सङ्केत व्यवस्था त्यस्तो भाषाका अङ्ग हुन् ।

वैचारिक अभिव्यक्ति रोचक र घोचक पनि हुन्छन् । आफ्नो कुरा स्पष्ट रूपमा भन्न वा लेखेर बुझाउन वा अरुलाई आफूप्रति आकर्षित गर्न वक्ता/लेखकले त्यस्तो बनाउने गर्दछ । त्यो भाषिक अभिव्यक्तिको कला हो । त्यो एक मान्छेमा रहेको विचार अरुलाई लादेर आफ्नो अधीनस्थ गर्ने गुण अनुसार अर्कोलाई वशीभूत गर्ने कला पनि हो ।

विचार गणित

त्यसैले जोसुकै मान्छेले पनि भाषाका माध्यमबाट गर्ने आफ्नो वैचारिक अभिव्यक्ति आकर्षक, सशक्त, प्रभावकारी र शिक्षाप्रद बनाउने चेष्टा गर्दछ । तर भाषाका माध्यमबाट गरिएको वैचारिक अभिव्यक्ति ग्रहणकर्ताको पनि उस्तै वैचारिक क्षमता रहने हुँदा त्यस्तो प्रभाव सहजै नपर्न सक्छ । उसको आफ्नै धारणा हुन्छ । त्यो सार्वजनीन तथ्य वा व्यक्तिगत धारणामा आधारित हुनसक्छ, जुन पहिलो विचार र दोस्रो विचारसँग पनि ठ्याक्कै नमिल्ने हुनसक्छ । त्यसैले विचारको गणितमा एक जोड एक बराबर दुई नभई तीन हुन्छ भनिन्छ । अर्थात् दुई विचारको सम्मिश्रणबाट तेस्रो विचार निस्कन्छ भन्ने हो ।

केदार वाशिष्ठ

यो पृष्ठभूमिको कुरा भयो । भन्न लागेको कुरा चाहिँ अर्कै हो । भाषालयको अघिल्लो शृङ्खलामा विचार विनिमयमा लेख्य भाषाको भूमिका केलाउँदै वाक्य संरचना र चिह्नको प्रयोग तथा तिनको ऐतिहासिक पक्षको खोजी गरिएको थियो । त्यसलाई निकैजनाले राम्रो मानिदिनु भयो र लेख्य चिह्नको प्रयोगबारे मैले छुटाएका कुरा पनि देखाइदिनु भयो । त्यो मैले लेखेको चिह्नसम्बन्धी पुस्तक थिएन, एउटा लेख थियो र त्यसमा चिह्न प्रयोगका केही पक्ष मात्र देखाइएका थिए । त्यसै कारण लेख पढेर तेस्रो विचार जन्मेको हो र मलाई चिह्नसम्बन्धी नै दोस्रो लेख लेख्न सकसक गराइदिएको हो । त्यसो गर्ने सबैलाई धन्यवाद दिन्छु !

अँ माथि विचारको गणितबारे भाषामा केही कुरा कथियो । त्यसको गणितको भाषा बेग्लै छ । त्यसलाई अर्को तरिकामा लेख्दा यसरी लेख्न सकिन्छ :

एउटा विचार + अर्को विचार = अर्कै/नयाँ विचार

अब फेरि त्यसैलाई गणितीय सन्दर्भको नेपाली भाषामा यसरी लेख्न सकिन्छ :

पहिलो विचार + दोस्रो विचार = तेस्रो विचार (गणितको उद्भव नै गणनाबाट भएको हो ।)

अनि फेरि त्यसैलाई निःतान्त गणितीय रूप दिने हो भने यस्तो हुन्छ :

१ + १ = ३

अनि यस लेखको शीर्षक पनि सार्थक भयो अब । त्यही शीर्षकलाई भाषाले कोरीबाटी गर्ने हो र गाजल लाइदिने हो अब । कोरीबाटी र गाजल मात्र भन्यो भने सन्दर्भले अरु नै अर्थ लगाउन बाध्य बनाइदिन्छ । त्यसैले भन्नुपर्छ झुस्स परेका जुँगादारी पनि चटक्क पारेर मिलाइदिने हो अब ।

के बुझ्न सकिन्छ भने भाषामा वर्णका अतिरिक्त अङ्क (माथिको उदाहरणमा १ र ३) र चिह्न (+ र = ) पनि प्रयोग हुन्छन् । तिनलाई बोल्दा ‘एक’ र ‘तिन’ तथा ‘जोड’ र ‘बराबर’ भन्ने हो । अरु धेरै चिह्न हुन्छन् भाषामा । त्यस्ता चिह्नले भाषिक सम्प्रेणलाई सरल, बोधगम्य र अर्थपूर्ण मात्र बनाउँदैनन् वैचारिक चिन्तनका लागि पनि प्रेरित गर्दछन् । १ + १ = ३ लेख्दाको विकल्प ‘एक जोड एक बराबर तिन’ भन्ने पनि देखियो । १ लाई कथ्य भाषामा भन्दा चाहिँ त्यही पछिल्लो ‘एक’ मात्र हुने हो अनि ३ लाई ‘तिन’ । + लाई ‘जोड’ र = लाई ‘बराबर’ नै भन्ने हो तर हिजोआज ‘जोड’ र ‘बराबर’मा जोड दिइँदैन ‘प्लस’ र ‘इक्वाल्स टु’ भनेर बढी जान्ने भएर ‘ओजे’ (ओभर जान्ने) पल्टिने गरिन्छ ।

हाम्रा बालबालिकालाई नेपाली ऐन कानुनले १० + २ (दश जोड दुई) पढाए तर विद्यालयहरुले ‘प्लस टु’ सिकाए । हाम्रो भाषिक चिन्तन र शिक्षणको खाडल यसरी तयार पारिन्छ । अहिले ‘प्लस टु’ हटिसक्दा पनि शिक्षाको व्यापारमा त्यही ‘प्लस टु’ नै प्रदर्शनीको वस्तु बनाइँदैछ ।

जे भए पनि नेपाली भाषामा गणितीय चिह्नको प्रयोग पनि उत्तिकै हुने गर्दछ भन्ने चाहिँ अब स्पष्ट भयो । यस्ता गणितीय लेख्य चिह्नहरु प्रशस्त छन् । तिनमा अङ्क गणित, वीज गणित, ज्यामिती, त्रिकोणमिति लगायतमा विषयगत विशेषता अनुसारका बेग्लै चिह्न छन् । अङ्कका अतिरिक्त नेपाली भाषाको सामान्य प्रयोगमा आउने केही गणितीय चिह्नहरु यस्ता छन् : जोड (+), घटाउ (–), गुणा (x), भागा (÷ वा/), कोष्ठक [{( )}] दशमलव (.), प्रतिशत (%) आदि ।

कहिलेकाहिँ एउटै चिह्नले गाणितीय र अन्य प्रयोजनको भाषिक चिह्न दुबैको काम गर्ने गर्दछन् । उदाहरणका लागि गणितीय सन्दर्भमा (–) चिह्न घटाउको हो र त्यो अङ्कसँगै आउँछ । तर त्यही चिह्न अङ्कसँगै आउने अरु अवस्था पनि हुन्छ । जस्तो कि :

लक्ष्मीप्रसाद देवकोटा (१९९६–२०१६) ५० वर्ष मात्र बाँचे तर लेखनीबाट अमर रहे ।

यस वाक्यमा अङ्कसँगै आएको (–) चिह्न घटाउ चिह्न नभई देवकोटाको जन्म र मृत्युको अवधि देखाउन आएको योजक चिह्न हो । अर्थात् भाषाका शब्दले सन्दर्भका आधारमा अर्थ प्रदान गर्ने भए जस्तै चिह्नले पनि सन्दर्भका आधारमा नै अर्थ प्रदान गर्दछन् ।

नतिजा हाजिरी जवाफ

फेरि एक पटक विचार विनिमयमा चिन्तनकै कुरा गरौँ । त्यस्तो चिन्तन वा विचारको प्रशोधन यति चाँडो हुनसक्छ कि चिन्तन गर्ने मान्छेले आफैले पनि त्यसको अनुभूति नगर्न सक्छ । अघिल्लो वक्ताले गरेको भाषिक सम्प्रेषणको तत्काल प्रतिक्रिया जनाउन उसलाई प्रेरित गर्ने दिमागी अभ्यास नै त्यो वैचारिक चिन्तन हुन्छ । भाषाका आधारमा हुने विचार विनिमयका आधारमा हुने वैचारिक चिन्तन प्रत्युत्पन्नमति वा हाजिरी जवाफ हो । तत्कालै दिमागलाई सक्रिय बनाई दिने वैचारिक जवाफ हो ।

यसरी व्यक्त गरेको भाषिक अभिव्यक्तिका आधारमा श्रोता वा पाठकको मनोदशा परिवर्तन हुनसक्छ र मान्छेले त्यसै अनुसार प्रतिक्रिया जनाउँछ । निर्देशन मान्छ । काम गर्छ । प्रतिवाद गर्छ । अथवा मौन स्वीकृति पनि जनाउँछ । त्यस्तो कार्य भाषिक वा गैरभाषिक पनि हुनसक्छ । भाषिकमा प्रतिक्रियामा तत्काल दिइने जवाफ, तर्क वा साङ्केतिक अभिव्यक्ति हुनसक्छन् । लेख्दा तिनलाई चिह्नले जीवन्त बनाउँछ । एउटा उदाहरण हेरौँ है त :

पहिलो वक्ता : “… हामी उकालोमा जाँदै थियौँ । अलि अँध्यारो भइसकेको थियो । बास बस्ने ठाउँ नपाउँदा मनमा डर पनि पलाउँदै थियो । यत्तिकैमा साथी चिप्लिएर पछारियो तर तत्कालै उठ्यो पनि ।”

दोस्रो वक्ता : “विचरा ! चोट त लागेन नि उसलाई ?”

(पहिलो वक्ताको भनाइले यो वक्ताको मनोदशा परिवर्तन गराइदियो । ऊ आफूले तत्काल थाहा नै नपाई वैचारिक चिन्तन गर्यो र लड्नेप्रति सहानुभूति प्रकट गर्दै भाषिक अभिव्यक्ति गर्यो ‘विचरा !’ अनि मनमा खुल्दुली लागेर ‘चोट त लागेन नि उसलाई ?’ भनी सोधेको छ ।)

पहिलो वक्ता : “हामी अन्ततः एउटा झुप्रोमा पुग्यौँ र बास माग्यौँ । बुढी आमैले हातमा ढिब्री लिएर मतान देखाउँदै त्यहीँ बस्न भनिन् । मधुरो उज्यालोले हामीले एक अर्काको मुख देख्यौँ । अलि के के गनाए जस्तो पनि लाग्यो । यसो यताउती हेर्दा केही नदेखेपछि हामीले आफूआफूमा नै हेर्न थाल्यौँ । मैले साथीलाई यसो हेरेको त साथीको सर्टमा एउटा टाटो रहेछ । अघि लड्दा लागेको टाटो । साथी त आचीमा पो थेचारिएको रहेछ ।…”

दोस्रो वक्ता : (पहिलोले भन्दाभन्दै बिचैमा बोल्छ) “छि ! छि !!”

यहाँ थकाइ, डर र रात छिप्पिँदै गर्दाको अवस्थाले दुई जनाले पहिले गन्ध थाहा नपाएका हुनसक्छन् । बास पाएर ती सबैको चिन्ता हटेपछि उनीहरुको चेत स्वाभाविक अवस्थामा आएर गन्ध थाहा पाएको हुनसक्छ । तर यहाँ त दोस्रो वक्तालाई भाषाले घिन लगाइदिएको छ र उसको मनोदशामा परिवर्तन आएको छ र ‘छि ! छि !!’ भनेको छ । त्यसोभन्दा उसको मुखाकृति पनि अर्कै भएको हुन्छ ।

अर्थात् कुरा गरिरहेको पहिलो वक्ताले मात्र सन्दर्भसहित त्यो देखेको र अर्कोलाई भनेको कुरा हो । त्यही कुरा सन्दर्भसहित लेख्य भाषामा रूपान्तरण गरी यहाँ लेख्दा त्यसको डल्लै भाव एउटा चिह्नले बोकेको छ, यो पढ्नेलाई पनि घिन जगाउने गरी । त्यो हो विस्मयादि बोधक चिह्न अर्थात् (!) । विस्मयको स्तर बढी जनाउन वा आवृति अनुसार धेरै जनाउन एकभन्दा बढी विस्मयादि बोधक चिह्नको प्रयोग हुन्छ ।

यसले के जनाउँछ भने लेख्य चिह्न भनेका सङ्केत व्यवस्था मात्र नभएर लेख्य भाषामा प्राण सञ्चार गर्ने तत्त्व पनि हुन् । त्यसैले आवश्यकता अनुरूप उपयुक्त लेख्य चिह्न सही ठाउँमा प्रयोग गर्नुपर्दछ ।

पूर्णविराम कुमारीको चिठी

थप बुझ्न लागि एउटा सामाजिक सञ्जालमा राखिएको एउटा रोचक लेखन हेरौँ है त । माथि भाषा रोचक हुन्छ भनिए जस्तै आवश्यक चिह्न सही ठाउँमा प्रयोग नहुँदा पनि लेखन रोचक हुने चाहिँ यसले देखाउला तर सन्दर्भ र अर्थमा अलमल गराउँछ ।

यो एउटा मात्र लेख्य चिह्न पूर्णविराम प्रयोग भएको तर सही ठाउँमा प्रयोग हुँदा अनर्थ भएको उदाहरण हो । अनर्थ हुँदाहुँदै यो रोचक बनेको छ । कसले लेखेको थाहा नभए पनि चिठी लेख्ने अर्थात् यो लेख्नेको नाम पूर्णविराम कुमारी भएबाट यो लेख्य चिह्न सिकाउनका लागि नै रोचक तरिकाले लेखिएको एउटा पत्र हो कि भन्ने पनि अनुमान गर्न सकिन्छ ।

सामान्यतः लेखाइमा वर्णविन्यासगत शुद्धता छ तर त्यसलाई लेख्य चिह्नले परिपुष्ट नगर्दा यो लेखाइ अशुद्ध छ । यसको अर्थ शुद्ध नेपाली भाषा लेख्न शुद्धाशुद्धिको महत्त्वपूर्ण पक्ष लेख्य चिह्न पनि हो भन्ने हुन्छ ।

यो पत्रलाई आवश्यक लेख्यचिह्नहरु प्रयोग गर्दै र पूर्णविराम पनि सही ठाउँमा राखेर पुनर्लेखन गरौँ है त :

मिति : २०७७।०२।३१

प्यारा पतिदेव

साष्टाङ्ग दण्डवत !

यो के चक्कर हो ? एउटा पनि पत्र पठाएनौ । कुकुरको छाउरो रोग लागेर मर्यो । तिम्रा काका विदेशमा धन कमाउन गए । कुखुराका चल्ला चिलले खायो । दूध दिने भैंसी नयाँ ल्याएकी छु । लोग्ने विदेश हुँदा एक्लो लाग्छ ! तिम्रा दाजुसँग अस्ति झगडा पर्यो । बहुला कुकुरसँग खेल्नु हुँदैन रे । एक रोपनी खेतमा एक पाथी गहुँ छरेँ । तिम्रा बाबुका टाउकोमा घाउ भएको छ । मलाई तिम्रो चिठी पाउन हतार छ ।

उही तिम्री

पूर्णविराम कुमारी

पत्रका रूपमा रहेको रोचक लेखाइलाई आवश्यक चिह्न सही ठाउँमा राख्दै पुनर्लेखन भएपछि पति घरमा नभएकी पत्नीको पति वियोगको मनोभाव र व्यावहारिक बोझ थपिएको अवस्था देखाउने गरी गम्भीर पत्र बनेको छ । पत्रका कतिपय विवरणले पत्र लेख्ने व्यक्ति बौद्धिक स्तर सामान्य भएको अनुमान गर्ने आधार दिन्छ ।

समग्रमा लेख्य भाषाको प्रयोगमा लेख्य चिह्नहरुको प्रयोग अपरिहार्य हुन्छ । त्यसका लागि सही चिह्न सही सन्दर्भगत अर्थ बुझाउने गरी प्रयोग गर्नु पर्दछ । यसै मेसोमा भाषालयको अर्को शृङ्खला नेपाली भाषामा प्रयुक्त लेख्य चिह्नहरुको सोदाहरण प्रयोगमा मात्र केन्द्रित हुने पूर्वजानकारी पनि गराउँछु ।