तपाईं हामी सबै महत्त्वकांक्षी छौँ । आ-आफ्नो महत्त्वकांक्षा पूर्ति गर्नका लागि दिनरात काममा व्यस्त रहन्छौँ। यद्यपि अहिलेको यो आधुनिक युगमा हाम्रो व्यवसायिक र व्यक्तिगत जीवन त्यति सहज र सरल भने छैन। हामीबाट धेरै कुराहरुको अपेक्षा राखिन्छन् । त्यसमाथि नियमित जसो विविध जटिलताहरू उत्पन्न हुने गर्छन् । जसकारण तपाईं हामी समय समयमा अभिभूत हुन पुग्छौँ । यदि हामी लामो समयसम्म अभिभूत भयौँ या अभिभूतिको स्तर दीर्घकालीन रुपमा रहन गयो भने? हामीमा संज्ञानात्मक थकान पैदा हुन्छ। हामी मानसिक रुपमा सुस्त हुन पुग्छौँ। स्फूर्ति कत्तिपनि हुँदैन। हाम्रो स्मरण शक्ति गुम्दै जान्छ। हामी दिग्भ्रमित, ध्यान केन्द्रित गर्न नसक्ने, तर्क गर्न नसक्ने तथा कुनै पनि समस्या हल गर्न नसक्ने खालका हुन पुग्छौँ। यी यावत् संज्ञानात्मक प्रभावहरु कारण हाम्रो प्रभावकारिता, उत्पादकतामा ह्रास आउँछ र हामी झनै बढी अभिभूत हुन पुग्छौँ। यस्तो परिस्थितिबाट कसरी मुक्ति पाउने?

नेतृत्वकला एवं करिअर विकास विशेषज्ञ रेबेका जकर अनुसार अभिभूत नरहनका लागि निम्न विधिहरू अवलम्बन गर्न सकिन्छ:

प्राथमिक स्रोत पहिल्याउने

हामीलाई आइपर्ने समस्याको जरासम्म जान सके वा समस्याको प्राथमिक स्रोत पहिल्याएर त्यसलाई पूर्ण बन्द गर्न सके मात्र समस्याको समाधान हुन सक्छ। यही रणनीति अभिभूति घटाउने विषयमा पनि उत्तिकै लागू गर्न सकिन्छ। भनाइको मतलब, कुनै पनि परिस्थितिमा अभिभूत नरहनका लागि सबैभन्दा पहिले अभिभूतिको प्राथमिक स्रोत पहिल्याउन सक्नुपर्छ। यसको लागि आफैंलाई प्रश्न गर्नोस्, ‘कार्यसूचीबाट कुन चाहिँ एक वा दुई कार्यहरु हटाएँ भने मैले अनुभूत गर्ने तनाव ८० प्रतिशतले घटेर जान्छ?’ उत्तरमा जुन कार्यहरु आउँछन्, त्यसलाई तत्काल हटाइदिनुहोस्। तर उत्तरमा आउने ती कार्यहरुप्रति तपाईं बढी जिम्मेवार भएकाले कार्यसूचीबाट तत्काल मेटाउन सक्नुभएन भने उचित व्यवस्थापन गर्न तर्फ अग्रसर हुनोस्। र, त्यस किसिमको प्रश्नले तनावको मुख्य स्रोत पहिचान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा आफूलाई निरन्तर प्रश्न गरिरहनोस्। यदि प्रश्नको उत्तर परियोजना हो भने त्यो परियोजनालाई कार्यसूचीबाट हटाइदिनुहोस्। यसो गर्नाले तपाईंमा अभिभूतिको स्तर घट्ने क्रम सुरु हुन्छ। तर यदि त्यो परियोजना अन्तिम चरणमा पुगेको छ भने त्यसलाई कार्यसूचीबाट हटाउने होइन, सम्पन्न गरिदिनुहोस्। एउटा परियोजना सम्पन्न हुँदा तपाईंको अभिभूति क्रमिक रुपमा घट्दै जान्छ। त्यसैगरी यदि प्रश्नको उत्तर ठूलो आकारको परियोजना हो र तपाईं त्यसलाई कुनै पनि हालतमा बेवास्ता गर्न सक्नुहुन्न भने उचित व्यवस्थापनको रणनीति अनुसरण गर्नोस्। परियोजनाको आकार घटाउने वा त्यसलाई स-साना भागहरुमा विभाजित गर्ने कोसिस गर्नोस्। अतिरिक्त स्रोत साधन उपलब्ध गराउन तथा समयसीमा थप गरिदिन नेतृत्व तहमा अनुरोध गर्नोस्। यस्तो रणनीति अपनाउँदा तपाईंलाई अनावश्यक रुपमा अभिभूत हुनुपर्ने अवस्था सिर्जना हुँदैन।

प्रकाश जंग थापा

सीमा तोक्ने

समय र कार्यभारको उचित सीमा तोक्न नसकेकै कारण बारम्बार अभिभूत हुन पुग्छौँ। त्यसैले आफ्नो समय र कार्यभारको सीमा तय गर्नुका साथै यसबारे अरुलाई पनि अवगत गरौँ।

तपाईं हामी कुनै पनि व्यक्ति वा कामको लागि २४/७ उपलब्ध हुनुपर्छ भन्ने छैन। तपाईं हाम्रो निजि जीवन हुँदा निश्चित समय सीमा तय गर्न सक्नुपर्छ। समय सीमा तय गर्नुको अर्थ हो, आफ्नो समयलाई सम्मान गर्नु। यदि तपाईंले आफ्नो समयलाई सम्मान गर्न सक्नुहुन्न भने अरु व्यक्तिहरुले पनि तपाईंको समयको सम्मान गर्ने छैनन्। कुनै पनि क्षण तपाईंको ध्यान भङ्ग गरिदिन सक्छन्। त्यसैले आफ्नो समय सीमा तय गर्नोस्। जो कोही व्यक्तिसँग भेट्ने नगर्नोस्। कसैले भेटको लागि आग्रह गरे भेटको उद्देश्यबारे जानकारी माग्नुहोस्। यस्तो गर्नुभयो भने ती व्यक्तिले तपाईंलाई भेट्नुभन्दा पहिले कयौँ पटक सोच्छ। कुनै उद्देश्य बिना तपाईंलाई भेट्न खोज्ने व्यक्तिहरुको संख्या घट्दै जान्छ। त्यसैगरी तपाईं आफ्नो समयको सम्मान राख्ने क्रममा निश्चित समय काम गर्नोस्। निश्चित समयमा कार्यक्षेत्रबाट छुट्ने र परिवारलाई निश्चित समय दिने गर्नोस्।

त्यसैगरी आफूले कार्यभारको सीमा तय गरेको कुरालाई अभ्यासमा ल्याउन जुनसुकै कार्यमा हात नहाल्नुहोस्। आफ्नो क्षमताभन्दा बाहिरको काम सिधा अस्वीकृत गर्नोस्। तपाईंको प्राथमिकताको आधार अथवा कामको महत्वको आधारमा कार्यमा सक्रिय हुनोस्। तपाईंको महिनाभरिको प्राथमिक कार्य के हो? हप्ताको प्राथमिक कार्य के हो? यति मात्र होइन, आजको प्राथमिक कार्य के हो? त्यस कार्यबारे यकिन गरेर सर्वप्रथम सोही कार्य गर्नोस्। तपाईं यसरी काममा क्रियाशील हुन सक्नुभयो भने तपाईंलाई अभिभूत रहनु पर्दैन।

पूर्णतावादी सोच त्याग्ने

हरेक कुरामा पूर्णता अथवा सर्वोत्कृष्टता खोज्नु, अझ यसो भनौँ पूर्णतावादी सोच राख्नु भनेको ढिलासुस्तीको बीउ रोप्नु हो। पूर्णतावादी सोच राख्नाले कुनै पनि कार्य वा परियोजना अति महत्वाकांक्षी बन्न जान्छ। त्यो कार्य वा परियोजना जुन स्तरको हो, त्यो भन्दा माथिल्लो स्तरको वा जटिल रहेको भनेर बुझिन्छ। यस्तो गलत बुझाइका कारण कार्य वा परियोजना सञ्चालनमा ढिलासुस्ती हुनका साथै मनोवैज्ञानिक तनाव पनि बढ्दै जान्छ। कार्य अधुरै रहने र नयाँ कार्य थपिँदै जाने क्रममा अभिभूति बढ्दै जान्छ जसले कार्यमा थप ढिलासुस्ती बढाउँछ। अनि त्यसपछि थप अभिभूति भाव बढ्दै जान्छ। त्यसैले हरेक कुरामा सर्वोत्कृष्टता खोज्ने होइन, आफूले सक्ने उत्कृष्टता दिनुहोस्। सर्वोत्कृष्टता खोजेर कार्य आधा अधुरो राख्नु भन्दा त्यो कार्यको सम्पन्नता धेरै महत्वपूर्ण रहने सोच विकास गर्नोस्। भनाइको तात्पर्य, आफ्नो पूर्णतावादी सोच त्याग्नुहोस्। यसको लागि तपाईंलाई कुन स्तरको काम राम्रो, गुणस्तरीय मानिन्छ वा स्वीकार्य हुन्छ भन्ने थाहा हुनु जरुरी छ। केही उदाहरणहरू लिऊँ र संक्षेपमा वर्णन गरौँ।

उदाहरण एक, मानौँ तपाईं एक स्थापित पटकथा लेखक हुनुहुन्छ। मानौँ तपाईंले उच्च लगानीमा निर्माण हुन लागेको एउटा चलचित्रको निम्ति पटकथा लेख्ने अवसर, जिम्मेवारी पाउनुभयो। यस्तोमा सर्वोत्कृष्ट पटकथा लेख्नु तपाईंको उच्च प्राथमिकता हुन्छ नै। यसो भन्दैमा एउटा पटकथा पूरा गर्न वर्षौँ पनि नलगाउनुहोस्। एकपटक पटकथा लेखेपछि, त्यसलाई आवश्यक परिमार्जन तथा पुनर्लेखन गरेपछि आफैंलाई प्रश्न गर्नोस्, ‘यस लेखन कार्यमा थप उर्जा र समय लगानी गर्नुको न्यूनतम फाइदा के हुन सक्छ?’ यदि कुनै उल्लेख्य फाइदा नरहने उत्तर पाउनु भयो भने त्यो कार्यमा थप सुधार ल्याउने कार्य बन्द गरिदिनुहोस्, पटकथाको सोही स्वरुपलाई अन्तिम स्वरुप मान्नुहोस्। अनि नयाँ पटकथा लेखन कार्य सुरुवात गर्नमा तल्लिन रहनोस्।

उदाहरण दुई, मानौँ तपाईं एक युट्युबर हुनुहुन्छ। यस्तोमा सर्वोत्कृष्ट भिडियो निर्माण गरेर युट्युबमा अपलोड गर्नु तपाईंको प्रमुख चाहना हुन्छ नै। यसो भन्दैमा एउटा भिडियो निर्माण गरेर युट्युबमा राख्न महिनौँ भने नलगाउनुहोस्। एउटा भिडियो शूट, पुनः शूट गरेर र भिडियो संपादन गरेपछि आफैंलाई प्रश्न गर्नोस्, ‘यो भिडियो निर्माण कार्यमा थप उर्जा र समय लगानी गर्नुको न्यूनतम फाइदा के? औचित्य के?’ यदि तपाईंले उल्लेख्य फाइदा पाउनुहुन्न वा कुनै औचित्य देख्नुहुन्न भने त्यो भिडियो निर्माण कार्यमा थप सुधार गर्ने कार्य बन्द गरिदिनुहोस्। सोही भिडियोलाई अन्तिम स्वरुप मानेर युट्युबमा राख्नोस्। अनि नयाँ भिडियो निर्माण कार्य सुरुवात गर्न तत्पर रहनोस्।

कार्य विभाजन गर्ने

कुनै पनि काममा संलग्न हुनु भनेको अत्याधिक समय र उर्जाको खपत गर्नु हो। तर समय र उर्जा सीमित हुने गर्छन्। कसैलाई पनि २४ घण्टा भन्दा एक मिनेट बढी हुँदैन। हरेक काममा स्वयं सक्रिय हुनुपर्छ भन्ने छैन। त्यसैगरी सधैँ उर्जाशील भइन्छ वा हरेक काममा आवद्ध हुनका लागि उत्तिकै रुचि हुन्छ भन्ने पनि छैन। त्यसैले सबै कामहरु आफैँ गर्न सकिँदैन। गरेपनि ती कामहरु गुणस्तरीय हुन सक्दैनन्। त्यसकारण केही कामहरु विभाजन वा बाँडफाँड गर्नुपर्ने हुन्छ। आफूबाट ती कामहरु अरु व्यक्तिबाट भन्दा उत्कृष्ट रुपमा सम्पन्न हुने सुनिश्चितता भएपनि कुनै एक क्षमतावान् व्यक्तिलाई जिम्मेवारी दिनु उपयुक्त रहन्छ। अनि आवश्यकताअनुसार आपसी समझदारीमा उचित पारिश्रमिक तिर्न वा विशेषाधिकार दिन तयार हुनुपर्छ। केही उदाहरणहरू चर्चा गरौँ।

उदाहरण एक, मानौँ तपाईं एक सिर्जनशील व्यक्ति हुनुहुन्छ। सिर्जना गर्नु तपाईंको जीवनको मुख्य उद्देश्य हो। यस्तोमा तपाईं आफूलाई प्रश्न गर्नोस्, ‘मैले कुन गतिविधिहरू गर्दा समयको उच्चतम सदुपयोग प्रमाणित हुन सक्छ?’ यस प्रश्नको उत्तरमा समाहित हुन नसक्ने गतिविधिहरू अरू व्यक्तिलाई सुम्पिनुहोस्। ती गतिविधिहरू घर सरसफाई गर्ने, खाना पकाउने, भाँडा माझ्ने, पानी लगायत बिजुलीको बिल भुक्तान गरिदिने आदि हुन सक्छन्।

उदाहरण दुई, मानौँ तपाईं एक संस्थाको नेतृत्व तहमा हुनुहुन्छ। यस्तोमा आफूलाई सोही प्रश्न गर्नोस्, ‘यो तहमा रहेर मैले कुन गतिविधिहरू सञ्चालन गर्दा समयको उच्चतम सदुपयोग हुनसक्छ?’ यस प्रश्नको उत्तरमा समाहित हुन नसक्ने गतिविधिहरू अरु व्यक्तिलाई सुम्पिनुहोस्। ती गतिविधिहरू स-साना परियोजना व्यवस्थापन, सभा सम्मेलनमा सहभागीता, सुरुवाती चरणका अन्तरवार्ताहरु सञ्चालन गर्ने आदि हुन सक्छन्।

यसरी तपाईंले कार्य विभाजन गरेर अभिभूतिको स्तर घटाउन सक्नुहुन्छ।

पूर्वानुमानहरु हटाउने

अत्याधिक पूर्वधारणाहरु राखेकै कारण वा पूर्वानुमानहरु गरेकै कारण अभिभूत रहन पुग्छौँ। सामान्यतया तपाईं हामीले राख्ने पूर्वधारणाहरु यस प्रकार हुन सक्छन्:

‘यदि मैले प्रतिकूल समयमा अरुलाई सहयोग गरिनँ भने उनीहरुले मेरो आवश्यकता, महत्व महसुस गर्ने छैनन् र मेरो अस्तित्व माथि नै प्रश्न गर्न सक्छन्।’

‘मेरो अनुपस्थितिमा कुनै कार्यक्रम प्रभावकारी हुन सक्दैन। म निर्विकल्प व्यक्ति हुँ।’

‘मैले नेतृत्वदायी भूमिका छोड्ने बित्तिकै संस्था असन्तुलित हुनपुग्छ र अन्ततः बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।’

यी सम्पूर्ण पूर्वधारणाहरु साँचो अनुभूत हुने भएतापनि त्यसमा सतप्रतिशत सत्यता छैन। यी केवल सीमित विश्वासहरु हुन्। यी विश्वासहरु, विचारहरुले हामीलाई पुरानै अनुत्पादक गतिविधिहरुमा अल्झाएर राख्छन्। जसकारण अभिभूत हुन पुग्छौँ। यदि हामी मस्तिष्कमा विकसित हुने तमाम् पूर्वधारणाहरुबारे सचेत हुन सक्यौँ  र ती सम्पूर्ण पूर्वधारणाहरु पूर्ण रुपमा त्याग्न सक्यौँ भने हाम्रो विश्व-दृष्टि वा दृष्टिकोण फराकिलो हुन जान्छ। परिणामस्वरूप हामी अभिभूतिको भाव कम गर्न सक्छौँ।