“कान्छा दाहाल” उपनाम नै काफी थियो । पाँच भाइ छोरा र दुई बहिनी छोरीका एक्ला मालिक हजुरबुवासँग जग्गाको नाममा आँखाले भ्याउञ्जेल । अहिले त कथा झैँ भइगए । आँखाले भ्याउञ्जेलको जग्गा आँखा झिमिक्क गरुञ्जेलमा सीमित ।
हजुरबुवासँग मेरो किस्सा कम छन् । तर हजुरबुवाको किस्सा भने सुन्न र पढ्न लायकका छन् ।
इलामबाट २०२१ सालमा झापा झर्नुभएको हजुरबुवासँग साथमा ५५०० पैसा थियो । त्यो पैसाले आउञ्जेल अधिकारी मुखियासँग जग्गा किन्नुभयो । त्यसो त जग्गा हेर्न बिर्तामोड पनि नपुग्नु भएको होइन । बुधबारेमा भन्दा सस्तो पाइने लोभमा बिर्तामोड पुग्नुभएको हजुरबुवालाई सिरुबारीले घाँटी न्याक्यो । सिरुबारीमा धान नफल्ने भएपछि महेन्द्र राजमार्गले छुने जग्गालाई बाल नदिएर बुधबारे नै फाइनल भयो । अहिले सम्झन्छु, त्यही सिरुबारीमा दुईचार बिघा किनेको भए, अहिले बजारमा मार्सी बियरको बदला अर्कै बियर आइसक्थ्यो । (यहाँनेर इमोजी राख्न मिलेन नभए म दुई हातले आँखा छोपेर लजाएको हुन्थेँ ।)
खैर, कान्छा दाहाललाई बुधबारे छोराछोरी र नातिनातिना दियो । पनातिको पालो आउँदै थियो, हजुरबुवाले बसाइँ सर्नुभयो, केही नबोकी, एक्लै, खोलाको बाटो ।
झापा झरेपछि हजुरबुवासँगका दौँतरी धेरै थिए । कति गए, कति हुनुहुन्छ । मान्छेले जीवनमा केके बोकेर ल्यायो र मान्छेले जीवनमा केके बोकेर गयो त्यसको हिसाब सायदै नहोला । तर मान्छेले जीवनमा केके छाडेर गयो भन्नेकुराको हिसाब भने सर्वत्र नै पाइन्छ ।
हामी घरमा रहँदा बिहानै पाँच बजे हातमा लौरो बोकेर पढ्न उठाउनु हजुरबुवाको झ्याउलाग्दो विशेषता थियो । टाढा पढ्न गएका नाति नातिना आउँछन् भनेर घर अगाडिको अम्बाको रूखमा दिनभर चौकीदारी गर्नु हजुरबुवाको प्रिय विशेषता थियो ।
इलामबाट बुधबारे आउँदा अहिलेको ठाउँमा गनेर छदेखि सातवटा घर थिए । तर अहिले गनेरै भन्नुपर्दा घरहरू बढेर सात सयको छेउछाउ पुग्न लागेका छन् । आँखाअगाडि भएको विकास हजुरबुवाले देख्न पाउनु भएन । खैर, जे होस् हजुरबुवा मेरो लागि इतिहास हो । आफ्नो हजुरबुवा सबैको लागि इतिहास हो । तपाईँसँग पनि छ तपाईँको हजुरबुवाको केही किस्सा ?
किस्सालाई सप्रसङ्ग व्याख्या गरौँ–
१. तास
मङ्सिरको महिना धान काट्नेको चटारो । बूढी हजुरआमाले हजुरबुवालाई धेरै दिनबाट भन्नुहुँदै थियो (रे) – “कान्छा ! धानको थान्कोमुन्को के कसो हुँदै छ ?” धान लगभग काटिएर खेतमा मस्त थकाइ मार्दै थिए । अब उनीहरूलाई बढो प्रेमले उठाएर खवाँरमा पुर्याएर कुन्यूँ लगाउनमात्र बाँकी थियो । कुन्यू पनि लाग्यो केही दिनमा । साँझपख कान्छा छोरा फुत्त फुत्त हराउन थाल्यो । (गाउँमा कुन्यू लगाइसकेपछि खेतको काम केही दिनलाई कोमामा जान्छ । किसान फुर्सदमा रहन्छन् ।)
फेरिः कान्छा हराउन थाल्यो । बूढी हजुरआमाले खासै वास्ता गर्नु भएन । कान्छा फेरि हराएन साँझमा किनकि धान कुट्ने समय भइसकेको थियो । धान कुट्ने मैझारोको दिन बोरामा धान उठ्दै थिए । केही मान्छे गाढागोरु लिएर खवाँरमा आए । सरासर धानका बोरा ठेलामा हाल्न लागे । यो दृशय देखेर बूढी हजुरआमालाई अचम्म र रीस सँगै उठ्यो ।
“के गरेको ?”
“हामीले हाम्रो जितौरी उठाएको ।”
“के जितौरी ? कस्तो जितौरी ?”
“कान्छाले तासमा हामीसँग यो दुइटा कुन्यू हारेको छ ।”
त्यो मान्छेले यसो नभनेको भए, सायद अखनेको डाम त्यसको ढाडमा बर्सने थिएन । हजुरबुवा भने कसरी तर्कनु भयो, हजुरबुवालाई ठ्याक्कै सम्झना थिएन (रे) ।
तासमा धानका कुन्यू त कति कति । बूढी हजुरआमाले थाहा पाउञ्जेल उनीहरूले खवाँरबाटै उठाएनन् । सायदै त्यो दिनपछि तास बन्द भयो ।
२. घाँसः
हजुरबुवा घाँसप्रेमी हो, मैले पनि थाहा पाउँदासम्म । तर मैले थाहा पाएपछि घरमा गाइवस्तु पालेको त्यति याद छैन । हजुरबुवालाई घाँससँगको प्रेम अहिले पनि गाउँमा धेरैले भनेको सुन्न सकिन्छ । हाम्रो गाउँबाट ठ्याक्कै माथ्लो जङ्गल तीनतले सामुदायिक वन हो । मान्छेको गुजारा त्यही जङ्गलले पूरा गरेको छ । मान्छेको विलासी जीवन पनि (काठ तस्करी) त्यही जङ्गलले पूरा गरेको छ । जङ्गल कसैको लागि जङ्गलमात्र होइन । कसैको लागि गाँस र वास नै हो । किनकि जङ्गलसँग कथा छ ।
उचाइमा खासै अग्लो नभए पनि हजुरबुवाको शरीरले कहिल्यै होचो घाँसको भारी बोकेन । भारीविना नै दुई घण्टा लाग्ने सालभोटे पुगेर घाँस ल्याउनु अहिले हाम्रो लागि कथामात्र हो । तीस मुठाभन्दा कम कहिल्यै नबोकेको कथा हजुरबुवासँग थियो । हजुरबासँगै उत्तिकै भारी बोक्न सक्ने हजुरबुवाका आफ्नै भाञ्जा ढुङ्गेलबा पनि हो (ढुङ्गेलबाको बारेमा फेरि लेख्छु) । गाउँका मान्छे मामा भाञ्जासँग घाँसमा जान डराउँथे । मान्छेभन्दा ठूलो भारी कसरी बोक्न सकेको होला ?
घाँसको उपकथा–
एक दिन ड्याडीले जुनेली रातमा घाँसमा काट्नुभयो, बिहानै । बिहानै घाँस काट्नुको कारण स्कुलको कार्यक्रम थियो । स्कुलमा कार्यक्रम हेर्न घाँसको जिम्मेवारी निभाउन बिहानै घाँस काटे पनि हजुरबुवाले उठ्नेबित्तिकै घाँस भैँसीलाई हाल्दिनुभयो । “यतिले पुग्दैन हिँड् चुली (जङ्गल)” भनेपछि ड्याडी त्यसको भोलिपल्ट सिक्किम । त्यसपछि स्कुलको च्याप्टर क्लोज ।
३. पैनीको मुहानः
खेतमा पानी लगाउन पालो पर्खनुपथ्र्यो । हाम्रो खेतबाट अलि तल भुजेल गाउँतिर हाम्रै मुहानबाट बानी लैजान्थे । घना बाँसघारीको बीचमा रातमा पर्खेर पानी लगाउनु पर्दथ्यो । खनालबासँग पानीको निहुँमा प्रायः जहिल्यै झगडा पर्ने गर्दथ्र्यो । यो झगडाले गाउँले हैरान थिए । उनीहरूले उपाय निकाले “मीत” लगाइदिने । विधिभन्दा बाहिर रहेर उनीहरूले मीत लगाए । मीत मीत भएपछि पानीको मुहानमा झगडा पर्न छाड्यो ।
४. काका भर्सेज कुखुराः
परिवार वैष्णव सम्प्रदायको हो । परिवारभन्दा पनि केही काका र हजुरबुवा चाहिँ हुनुहुन्थ्यो । वैष्णव भनेको निधारमा टिको लगाउनुमात्र सोच्ने म । मासु खान हुँदैन भन्ने चाहिँ थाहा थिएन । तर एकै हातले खसी ढाल्ने हजुरबुवाले कसरी मासुबाट सन्यास लिनुभयो भन्नेकुरा मेरो लागि दूरको कथा झैँ थियो । घरमा फाट्टफुट्ट खसी चले पनि कुखराको लागि भने अहिलेको माकुने पक्ष र ओली पक्ष झैँ थियो, पानी बाराबार ।
साइँला काकाले घरमा कुखुरा काटेर खाएको कुरा हजुरबुवाको कानमा पर्यो । त्यसपछि काकाको हातमा अंश र घरबाट निस्कने आदेशको पूर्जी । तर अहिले घरमा कुखुराको लागि कुनै रोकतोक छैन । हजुरबुवाले जीवनको अन्तिम सास काकाकै घरमा बिताउनु भयो ।
हजुरबुवाको रीस पेवा थियो । हजुरबुवाको प्रेम निःस्वार्थ थियो । जवानीमा हिँडेरै धेरै ठाउँ पुग्नुभएको उहाँलाई रोगले आँगन पनि धेरै टाढा बनाइदिएको थियो । हिँड्ने मन गरेर पनि हिँड्न नपाउनुको पीडाबोध मेरा हजुरबुवालाई जति अरू कसैलाई थिएन ।
बिदामा फुपू घर जानु हाम्रो सेड्युल थियो । दशैँमा हजुरबुवाको झोला बोकेर पछिपछि हिँड्नु मेरो बेतलबी जागिर थियो (भत्ताचाहिँ हुन्थ्यो है) ।
हामी काठमाडौँ थियौँ । घरको आँगनमा अम्बक (अम्बा, बेलौती) पाकेर लटरम्म थिए । नातिनातिना आउँछन् र खान्छन् भनेर कसैलाई खाने अनुमति थिएन । सुमित भाइ अम्बक खान कसो रूखमा चढेछ । ऊ चडेको हजुरबुवाले देख्नुभएछ । सुमित एक घण्टा रूखमा तल नओर्ली बसेको कुरा अझै पनि गर्छ ।
मलाई अझै पनि याद छ । हजुरबुवासँग “सेन्स अफ ह्युमर” प्रचुर मात्रामा थियो । उहाँले दौँतरीसँग गरेको केही संवादहरू म सम्झन्छु । अहिले लाग्छ छड्के कसरी हानेको होला ?
तीस मुठा घाँसको भारी बोक्ने ज्यान, मनका मन धान बोकेर इलाम पुर्याउने ज्यान, कयौँ बिघा एक्लै जोतेर भ्याउने ज्यान बिस्तारै सेलाउँदै गयो । कुर्सी र बेन्चमा सीमित भयो जिन्दगी । खेत हेर्नलाई भनेर फुत्त निस्कन नसक्ने हुनु भयो । पानी कटाउन बाहिर जान सक्नु भएन । तर जिद्धीपन कसैगरे गएको भएन थिएन ।
नातिनातिनामध्ये हजुरबुवाको नजिक सबैभन्दा धेरै म भएँ । आफ्नो थर बोकेर जन्मेको पहिलो नाति म थिएँ । म हजुरबुवालाई जिस्काउने सायद पहिलो नाति थिएँ ।
हजुरबुवा बेन्चमा बसेर बाटो हेर्नुहुन्थ्यो । म छेउमा बस्थेँ र सोध्ने गथेँः
१. लप परेको थ्यो इलाममा ?
२. कि सिधै बिहे हान्या बूढा (प्रेमले बूढा भनेको हुँ ।) ?
३. माइखोलामा बाघ मरेको नै भेट्या हो ?
४. लिम्बुनीले त मरिहत्ते गर्थे रे त हो ?
५. जग्गा तासमा नहारेर बचाएको भए अहिले कारमा हिन्थ्यौँ नि बाबै (प्रेमले) !
६. हजुरचाहिँ गोरो अनि हजुरआमा चाहिँ कालो ? मन पर्यो ?
७. दुल्हन फर्काउन किन ढिलो गरेको ?
८. नरिवलको रूख किन ढालेको ?
९. हजुरआमा खस्दा निरौलाले किन बत्ती नदिएको ?
यस्तै यस्तै तर धेरै ……………………
कति धेरै कुरा छुटेका छन् जो सोध्न बाँकी थिए । कति कुरा देखाउन बाँकी थिए । कति कुरा भन्न बाँकी थिए । बाँकी रहनुभन्दा अगावै सुनाउन सकिएन दुःख यही लाग्छ । दुःखको भूमरीबाट उठेका हजुरबुवालाई लाग्दो हो, उस्तै त होला । तर फेरिएको छ कथा, फेरिएको छ पाटो । जुन हजुरबुवाले देख्न पाउनु भएन । देखाउने रहर मनभित्र कतै छ ।
आफ्ना पुर्खा हामीभन्दा माथि छन् (हाम्रो पनि अतीत बन्छ, नबिर्सौँ ) । उहाँहरू यदि हुनुहुन्छ भने प्रेम गरौँ, झर्किने काम बन्द गरौँ । डाँडाको घामको फोटो लिन बिर्सियो भने फेरि साँझ पर्खनु पर्छ ।
खोलाको बाटो भएर जाने हजुरबुवालाई सम्झना । बाटो एउटै हो चौतारीमा पर्खनू है ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।