युनिकोडमा सावित्री सुवेदी पदावली टाइप गरेर सर्च गर्दा धेरै कुरा भेटिन्छन् । त्यसमध्ये दुईवटा प्रसङ्ग यहाँ सुरुमा कोट गरेको छु । जय नारीको नारा बोकेर नारीको न्यायका लागि कथित रूपमा लड्दै आएकी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् ।

सुरुमा जय नारी नाराका लागि सावित्रीलाई कथित किन भनियो भने उनले अलिपछि सिनेमा निर्माता–निर्देशक छवि ओझाका पक्षमा लामै समय ‘जय पुरुष’ ह्यास–ट्याग प्रयोग गरेकी छन् । त्यस्तो ह्यास–ट्यागमा उनले ‘सम्पत्तिका लागि सिउँदो भर्दै हिँड्ने आइमाईका कारणले समाजमा छविबाहरू पीडित छन्, न्याय शिल्पालाई होइन छविलाई देऊ, पुरुष हिंसा अन्त्य गरौँ,’ आदि पदावली उल्लेख गरेकी छन् ।

बलात्कारीविरुद्ध माइतीघरमा पेटीकोट प्रदर्शन गरेर चर्चामा आएकी सावित्री सुवेदीले ‘पुरूषको वीर्य भाडामा लिएर ३५ वर्षमा बच्चा जन्माउँछु, परस्त्रीसँग रमाइलो गर्ने र पत्नीलाई पिट्ने व्यक्तिमात्रै रवि लामिछानेका समर्थन हुन्,’ भनेका कुरा पनि चर्चित छन् ।

यसमा मेरो कुनै टिप्पणी छैन । उनलाई केके मन लाग्छ लेखुन्, बोलुन्, गरुन् । एकबारको जुनी आआफ्नो ढङ्गले बिताउने हो । म पनि त्यस्तै मान्छे हुँ आफ्नै तरिकाले बाँचिरहेको । र, त्यही सिलसिलामा यतिबेला मलाई सावित्री सुवेदीका बारेमा तपाईलाई केही सुनाउन मन लागेको छ ।

उनले मेराबारेमा निकै छुद्र शब्दले नानाभाँती लेखेर सामाजिक सञ्जालमा राखेकी थिइन् । सोझासाझा चेली र सुनेको भरमा तत्काल संवेदनशील हुने व्यक्तिलाई मेराविरुद्ध भड्काउन खोजेकी थिइन् । तर विचराको दुर्भाग्य हेर्नुस्, यसमा उनको निसाना गलत ठाउँमा परिदियो ।

स्वघोषित अधिकारकर्मी सुवेदी पार्टीगत कारबाहीमा परेकी पूर्वकथित माओवादी, खड्गप्रसाद ओलीकी स्वघोषित धर्मपुत्री, विभिन्न मान्छेसँग बार्गेनिङ गरी हिँडेको भिडियो–अडियोबाट बेलाबेलामा चर्चित पात्र हुन् । उनी तत्कालीन ओली नेतृत्वको सरकारलाई अप्ठेरो पर्ने भो भनेपछि निर्मला हत्या–कान्डसँग सम्बन्धित अभियान र आन्दोलनलाई दिग्भ्रमित (इस्यु डाइभर्ट) गर्न पेटीकोट लगाएर सडकमा आएको जगजाहेरै छ ।

म कुनै केटा भाडामा लिएर बच्चा जन्माउन चाहन्छु भन्दै नेपालको हावापानी माटो नसुहाउँदो अतिवादी फेमिनिस्ट कुरा गर्नु बाबुआमाले बिहे गर छोरी भन्दा बाबुआमालाई नै मुद्दा हाल्ने सुवेदीको प्रचारमुखी सोख हो ।

म दोस्रो मेनुका थापा अर्थात् अर्थात् रक्षा नेपालकी अध्यक्ष हुँ भन्दै मान्छे ढाँट्दै हिँड्ने भाइरल गर्ल सुवेदीलाई मेराविरुद्ध लेख्नुअघि सायद थाहा थिएन– सुविद गुरागाई उनले सोचेजस्तो कफल्लो र भ्रष्ट मान्छे होइन । नारीअधिकारको सवालमा निरन्तर आवाज उठाएबापत देशभरिबाट छनोटमा परेको, राज्यले सार्वजनिक सम्मान तथा पुरस्कृत गरेको एक पत्रकार हो ।

नेपाली चेलीको विपक्षमा संविधानसहित मुलुकका कतिवटा कानुन छन् र तिनमा समानताका लागि के गर्नुपर्छ भनेर देशमै पहिलोपटक समाचार–टिप्पणी लेख्ने मानिस हो सुविद गुरागाई । यो कुरा उनले निरन्तर मासिक खाजा–भत्ता अपेक्षा गर्ने केही नजिकका राजनीतिक व्यक्तिहरूलाई सोध्दा पनि थाहा हुन्छ ।

यो मुलुक र समाजको विडम्वना यही छ । एउटा भ्रष्टतामा रमाइरहेको कोही कुपात्रबारे सार्वजनिक ठाउँमा सेल्फ–सेन्सरसिपसहित चर्चा गर्नुपर्दा, बोल्नुपर्दा मन भत्भती पोल्छ । म कस्तो समाजमा बाँचिरहेको छु भन्ने सामान्य ग्लानि पनि हुन्छ । मनले भन्छ, तथानाम गाली गरुँ । गलत कुरा लेख्ने–बोल्नेहरूको सातो उडाऊँ । तर गाह्रो छ ।

आचारसंहिताको प्रश्न छ । देखिइरहेको छ कि अमुक मान्छे भ्रष्ट छ, तर टुलुटुलु हेर्नुपरिरहेको छ । प्रमाण पु¥याउने धम्की हुन्छ । सबैलाई थाहा छ, देखे जति सबै कुराको प्रमाण पु¥याउन सकिँदैन । यस्तो बिडम्बनायुक्त बेलामा कहिलेकाहीँ चित्त बढी नै दुख्छ र जेहादी हुन मन लाग्छ । कि वार कि पार !

तर अहँ, म एक्लै कि वार कि पारको लडाइँमा उत्रिँदा पनि समाजमा जरो गाडेर हुर्केका भाइरसहरू सकिन्छन् भन्ने लाग्दैन र संयमित हुने प्रयास गर्छु । म मर्दैमा समाजका भाइरस, दलाल, हण्डीवाज, बलात्कारी, भ्रष्टाचारीहरू सकिन्छन् भन्ने लाग्दैन । यसखालको मेरो आहुति बेकार जान्छ भन्ने लाग्छ । र मन सम्झाउँदै समाजमा आफूले सकेको जति सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेको हुन्छु ।

मेरो घर, कार्यालय, गाउँठाउँ जहाँजहाँ म जोडिएको छु, ती सब ठाउँमा सकारात्मकता अर्थात्् राम्रोपनको मात्रा सकेसम्म बढाउने मेरो प्रयास यथावत् हुन्छ । एउटा सामान्य गमलामा झार उम्रेको देखेँ भने तत्काल झार उखेलेर गमला स्याहार्न मन लाग्छ । उल्टेको चप्पल त झन् देख्नै सक्तिनँ । भित्तामा लेखिएका फोहोर शब्दहरू मेटाउँदै हिँड्न मन लाग्छ । आफ्नो वा अरूका बारेमा सीधै कुरा गर्न, सीधै लेख्न मन लाग्छ ।

म रुखमा भोट हाल्छु । यो मेरो नागरिक अधिकारको कुरा हो, कुनै सार्वजनिक आलोचनाको विषय होइन । सुवेदीले मैले घुम पहाडमा छुकछुके रेलको ढोका समाएर खिचेको फोटो राख्दै फेसबुकमा ‘पत्रकारको मुकुन्डो भिरेर काङ्ग्रेसको गोटी हुँदै आएका सुदिप भनिने ती महापुरुष,’ आदि पदावली लेखेकाले यो प्रसङ्ग यहाँ आवश्यक प¥यो ।

पत्रकारिता र लेखन मेरो पेसा हो । एउटा डाक्टर काङ्ग्रेसी हुनसक्छ तर अस्पतालमा रोगीहरूका अगाडि ऊ केवल एउटा चिकित्सक हुन्छ । एउटा सैनिक व्यक्तिगत रूपमा माओवादीसमर्थक हुनसक्छ तर नेपाली सेनाको बर्दी लगाएपछि ऊ त्यही सेनाको एक अङ्ग हुन्छ । हरपल सेलिब्रिटी हुन चाहने मान्छेले यति सामान्य कुरा पनि नबुझेको देख्दा ताज्जुब लाग्छ ।

व्यक्तिगत रूपमा म हिन्दुवादी कार्यकर्ता पनि हुँ । तर व्यावसायिक रूपमा मैले सयौँ मुस्लिम युवाहरूलाई नेतृत्व विकासको तालिम दिएको छु । मदर्साका मौलानाहरूको घोषणा–पत्र लेखेको छु । म घोस्ट–राइटर पनि हो । पैसा दिने हो भने म जसको पनि जीवन कहानी लेखिदिन्छु । पाटनका बाघका रूपमा परिचित कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जीवन कहानी भर्खरै लेखिसिध्याएको छु ।

मैले मेरो पत्रकारिता र लेखनको ३२ बर्से (२०४५ सालदेखि निरन्तर) करियरमा समय–सन्दर्भ मिलाएर धेरैका बारेमा धेरै कुरा लेखेको छु । ती कुनै सन्दर्भमा पनि सावित्रीको टाउको दुखेको थाहा छैन । तर द्वारिकलालको बारेमा लेख्दा चाहिँ उनको टाउको किन चिलचिलाउँछ ?

लेख्न दिनु नि मलाई के लेख्न मन लाग्छ । नचाहिँदो, तथ्यहीन, गलत लेखे मैँ बिग्रिन्छु, सजायको भागिदार हुन्छु । अरूको के जान्छ ?

म अभिव्यक्ति स्वतन्त्रताको चरम पक्षपाती मान्छे हुँ । मान्छेलाई मनमा लागेका सबै कुरा लेख्न–भन्न पाउनुपर्छ भन्ने मेरो तर्क हुन्छ । त्यसअर्थमा फेसबुकमा सात्रिवी सुवेदी आइडीबाट मेरोबारेमा लेखेको नानाभाँती कुराप्रति मेरो खासै आपत्ति छैन । तर त्यो पोस्टमा मेरी पत्नीको.प्रसङ्ग जबरजस्ती लतारेर ल्याएको छ, त्यसमा भने मेरो घोर आपत्ति छ । यो हाकाहाकी साइबर अपराध हो । यो प्रकरणमा बबौटीको के दोष छ, त्यसरी जिकिर गर्नुपर्ने ?

पोस्टमा ‘सुदिप भनिने ती महापुरुषलाई सिध्याउन कसैले तिनकी निर्दोष पत्नीलाई सिकार बनाए तिनलाई के होला ?’ भन्ने शब्दहरू राखिएको छ । यो वाक्यको अन्तर्यमा के हो ? के आफूलाई नारी अधिकारवादी छवि देखाउन चाहने व्यक्तिले एउटी नारीप्रति लेख्ने शब्द, सोच्ने तरिका यही हो ? यी शब्दहरूले मेरी पत्नीको अस्मितामा सोझै धावा बोलेको अनुभूत हुन्छ ?

ल मानौँ मसँग रिस उठ्यो रे ! तर त्यसो भन्दैमा मेरी पत्नीलाई जोड्नु भनेको नेपालीमा चर्चित उखान ‘सौताको रिसले पोइको काख फोहोर गर्ने’ भनेजस्तो भयो । खैर यो पनि केही छैन, बबौटीलाई ती शब्दहरू सुनाउँदा उनले हाँसेर उडाइदिइन् । सावित्री मेडमलाई साइबर क्राइमको अभियोगबाट सहज उन्मुक्ति दिइन् । भनिन्छ माफी पनि एक प्रकारको गतिलो सजाय हो ।

पृष्ठभूमिमा मैले लेखेको आलेख ‘जय नेपाल टोलमा कमरेड चौधरी,’ शीर्षकको आलेख छ । त्यसमा मैले इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले लकडाउनका बेला जय नेपाल टोलको सेरोफेरोमा प्रदर्शन गर्ने गरेका हर्कतहरूबारे स्थानीयका कोटहरू सङ्कलन गरेको थियो । स्थलगत अनुभव टिपोट गरेको थिएँ । गुगल सर्च गरेर तपाई त्यो आलेखमा भएका शब्द–शब्दको अध्ययन र टिप्पणी गर्न सक्नुहुन्छ ।

थोरै उँट प्रसङ्गको कुरा गरौँ ।

समाजमा कतिपय नारीहरू यस्ता छन्, जो पुरुषलाई आफ्ना हाउभाउ र शारीरिक बनावटको चुस्त प्रस्तुति प्रयोग गरेर प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अपेक्षित पद, प्रतिष्ठा, धन र सुख प्राप्त गर्छन् । स्मरणीय छ, मैले प्रसङ्गवश कतिपय नारी शब्द प्रयोग गरेको छु । यस्ता मध्यमार्गी शब्द प्रयोगका लागि म सुरुदेखि नै तालिम–प्राप्त मान्छे हुँ । कतिपय अर्थमा भन्न खोजेको कुरा सोझै बुझियोस् तर कसैलाई सोझो मार नपरोस् भन्ने मनसाय निहित हुन्छ मेरो लेखाइमा ।

नागरिक डेस्कमा एक दिन कुरै–कुरामा मरुभूमिको जहाज उपनामले चर्चित जनावर उँटसँग जोडिएको अङ्ग्रेजी फ्रेज ‘क्यामेल–टो’को चर्चा निस्कियो । सम्पादक गुणराज लुइटेलसँग महिला कर्मचारीले आफ्नो करिअर दह्रो बनाउने सिलसिलामा के–के टुल्स प्रयोग गर्नसक्छन् भन्ने प्रसङ्गमा कुरा हुँदै थियो । त्यही क्रममा मेरोअगाडि पहिलोपल्ट सतहमा आएको थियो– क्यामेल–टो !

सिएएमइएल स्पेस टिओडब्लु । म उमेरअनुसार अङ्ग्रेजीमा कति कमजोर छु भन्ने यसबाट पनि थाहा हुन्छ । मैले त्यसअघि क्यामेल–टोका बारेमा सुनेको रहेनछु वा कतै सुनेर पनि बिर्सिएको रहेछु । कतै–कतै देखे पनि ध्यान दिएको रहेनछु ।

क्यामेल–टो अर्थात् अविधा अर्थमा उँटको खुरले बालुवामा बनाउने आकृति । तर अङ्ग्रेजीमा प्रयोग हुँदो रहेछ, दादा कोड्केको पाराले– अँधेरी रात में दिया तेरे हात में । कहीँ पे निगाहे, कहीँ पे निसाना ।

क्यामेल–टोबारे यहाँ यति नै प्रसङ्ग काफी छ । बाँकी तपाईँ गुगल–सर्च गरेर हेर्न सक्नुहुन्छ, हाम्रो समाजमा यसको धरातलीय निकटता कति छ ?

मैले यो सन्दर्भ यहाँ जोड्नुको कारण छ । प्रकारान्तरले सावित्री सुवेदी प्रवृत्ति र उँट प्रसङ्ग मलाई उस्तै–उस्तै लाग्छ ।

यसमा सावित्री सुवेदीको प्रतिक्रिया पनि भइदिएको भए सुनमा सुगन्ध हुने थियो भन्ने तपाईलाई लाग्ला । तर मलाई त्यस्तो लाग्दैन । प्रतिक्रिया त उनले समाजमा प्रदर्शन गरेका अनपेक्षित कामहरूले दिइरहेकै छ ।