कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

==================================

न्यायको विडम्बना 

 

त्यो दिन अचानक हातमा हत्कडी लाग्यो ।

मनना अनेक किसिमका प्रश्नहरु खेल्न थाल्यो ।।

 

ला !  अब के गर्नु ? मन आतियो ।

डराउँदै डराउँदै प्रहरीलाई प्रश्न गरियो  ।।

 

सर, म बिचराको के गल्ती थियो ?

बिना पक्राउपुर्जा मलाई किन समातियो ??

 

हातमा लौरो समाउँदै प्रहरी कराउन थाल्यो ।

खैरो हिरोइन ओसारपसार र बिक्री वितरण गरेको बिर्सियो ?

 

अब भने चाहिँ मेरो मनमा ठुलै बज्रपात आइलाग्यो ।

मनलाई सम्हाल्दै प्रहरीको खुट्टा समाउँदै सम्झाउन थालियो ।

 

सर, बेच्नु त के, अहिलेसम्म देखेकोसम्म छैन भनी कसम खाइयो ।

के आधारमा सरहरूले मलाई समात्ने आदेश दिनुभयो ?

 

फोटो देखाउँदै उत्तम र सुरजलाई चिन्छस् भन्यो ।

साथीहरूको नाम सुन्दा खुसी हुँदै चिन्छु सर भन्नु भुल भयो ।।

 

उनीहरूसँग भेटेको १० ग्राम समान तेरो हो भन्न थाल्यो ।

प्रष्ट पार्न साथीहरूले दिएको बयान पढ्न लाग्यो ।।

 

होइन सर, हुँदै होइन भनी लाख बिन्ती गरियो ।

अतः आखिरमा म्याद थपका लागि मलाई जिल्ला अदालत लगियो ।।

 

अब पालो थियो मेरो अनुहारको आफूलाई निर्दोष देखाउने ।

अचम्मको हुँदो रहेछ न्यायाधीश आँखामा आँखा जुधाउने ।।

 

धिकार नेपालको कानुनलाई अनुसन्धानबिना दोषी ठहरिने ।

अब कसरी होला हामी कैदीबन्दीले आफूलाई निर्दोष सावित गर्ने ?

 

सानैदेखि सुन्दैआएको कानुन अन्धो हुन्छ ।

उच्च अदालत, सर्वोच्च अदालत, अहँ कतै नपाइँदो रहेछ न्याय खोजेर ।।

 

नेपालको संविधान, मुलुकी ऐन, अनेकौं पढियो केही हुन्छ कि भनेर ।

हा हा हा, मलाई हाँसो उठ्यो पाउँदै नपाउने अधिकार देखेर ।।

आशिष अधिकारी

केन्द्रीय कारागार