इलामको एउटा गाँउमा जन्मेका महानन्द सापकोटा सानैमा साँवा अक्षर सिके तर विद्यालय गएर होइन ।  ८ वर्षको हुँदा हातमा उदय लहरी’ ( सन् १८७७) पर्छ उनको । सायद यो पुस्तकका रूपमा उनको परिचय भएको पहिलो पुस्तक थियो । गोठालो जाँदा साथीहरूलाई यस्तो कविता त म पनि लेख्न सक्छु भन्दा साथीहरूबाट उपहासित हुन पुगे उनी । साथीहरूबाट उपहासित हुँदा उनी खुबै रुन्थे तर त्यो रुवाइ पछि गएर कवितामा परिवर्तन भयो । उदय लहरी’का लेखक थिए कवि ज्ञानदिलदास जो महानन्द सापकोटा जन्मनुभन्दा ७५ वर्ष पहिले इलाममा नै जन्मेको थिए र उनी जन्मनुभन्दा १३ वर्ष अगावै सिक्किममा देहान्त भएको थियो । पश्चिम नेपालको रेसुङ्गा जन्मिएको शशिधरले सुरु गरेको जोशमनि सन्त परम्पराका उपासक र प्रवर्धक मात्र थिएनन् ज्ञानदिलदास उनी तीक्ष्ण बुद्धि भएका तार्किक र कवि व्यक्तित्व पनि थिए । उनका अरू कृतिहरूमा ‘झ्याउरे भजन’ र टुङ्ना भजन’ (सन् १८७८-७९) रहेको जानकारी पाउँछौँ ।  समालोचक दयाराम श्रेष्ठका अनुसार ज्ञानदिलदास नेपाली साहित्यको प्राथमिक कालका अन्तिमतिरका कवि थिए । उनका समकालीन वा अनुज कविहरूमा ववगुनी गुरुङ ( ब्रह्मतत्त्वको सवाई -सन् १८६३), सुखवीर गुरुङ (भक्ति सवाई सन् १९०१), वृषध्वज सिंह (अमृत लहरी, सन् १८७१) आदि प्रमुख हुन् ।  ती कविताहरू भक्तिरसको भरिपूर्ण भएका थिए ।

महानन्द सापकोटा

माध्यमिककालीन नेपाली साहित्यमा शृङ्गार रस देखिए पनि  भक्ति र नीति उपदेशहरूले भरिपूर्ण रचनाहरू पनि पाइन्छ ।  मध्यकालको अन्ततिर  उदय हुन्छ लेखनाथ पौड्याल, धरणीधर कोइराला, सोमनाथ सिग्देल, महानन्द सापकोटा । उनीहरूको कवितामा नेपाली समाजको नव-निर्माण गर्ने चाहना, देश-जातिको गौरव र जागरण अनि धार्मिक-आध्यात्मिक, समाज-सुधार-संस्कारात्मक स्वर प्रस्फुटित भएको देखिनु स्वाभाविक थियो । यस परिपाटीमा रुचि राखेर कविता रचना गर्ने कविहरूमध्ये लेखनाथ पौड्याल- ऋतु विचार’ (सन् १९१६); ‘बुद्धि विनोद (सन् १९१६-१७), ‘सत्यकलि-संवाद (सन् १६१६), धरणीधर कोइराला- नैवेद्य (सन् १९२०); ‘स्पन्दन (सन् १९४७) र महानन्द सापकोटा- मनलहरी (सन् १६२३) आदि प्रमुख हुन् । दयाराम श्रेष्ठ र मोहनराज शर्माले नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’-मा यिनीहरूलाई नेपाली साहित्यका प्राक् आधुनिककालका सशक्त कविहरूमा मानेका छन् ।

सानैमा पिता गुमाए महानन्द सापकोटा आमासित रोजी रोटीका निम्ति आसाम पलायन भए । आसाममा नै पारम्भिक शिक्षा लिएपछि उमेर छिप्पिए पनि पढ्ने अभिलाषाले उनी दार्जीलिङ आए । दार्जीलिङमा पढ्ने क्रममा भेट भयो धरणीधर कोइराला, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञावाली । उमेर लगभग उस्तै भए पनि तिनीहरू गुरु थिए अनि उनी शिष्य । उमेरमा चार वर्ष मात्र जेठो भए पनि महानन्द धरणीशर कोइरालालाई गुरु मान्थे र कोइरालाको नैवेद्य प्रकाशित भइसकेको थियो । महानन्द सापकोटाको दार्जीलिङ बसाइको दुईवटा उपलब्धि भयो- म्याट्रिक उतीर्ण र मनलहरी’-को प्रकाशन । धेरैले मनलहरी’ को प्रकाशन मिति सन् १९२३ लेखे तापनि नेपाली साहित्य सम्मेलन दार्जीलिङको (जँहाबाट यो पुस्तक प्रकाशन भएको थियो) आधिकारिक तथ्यअनुसार यसको प्रकाशन मिति सन् १९२६ लेखिएको छ । नेपाली साहित्य सम्मेलन दार्जीलिङको गठन सन् १९२४-मा भएपछि प्रकाशित गरेको कृति  धरणीधर कोइरालाको नैवेद्यहो जसको दोस्रो संस्करण सन् १९२४ मा सम्मेलनले छापिएको थियो अनि दोस्रो कृति हो मनलहरी’ जो सन् १९२६ मा छापिएको हो । उत्तम कुँवरलाई दिएको अन्तर्वार्तामा सापकोटा  स्वयंले मनलहरी’ सन् १९२३ छापिएको भने तापनि त्यस पुस्तकका प्रकाशक नेपाली साहित्य सम्मेलनको गठन हरिप्रसाद प्रधानको अध्यक्षतामा सन् १९२४ मा मात्र भएको देखिन आएकाले यो सन् १९२६ मा नै प्रकाशित भएको हुन पर्छ । कविताबाट साहित्यमा होमिए पनि कालान्तरमा महानन्द सापकोटाको परिचय एक कुशल भाषासेवी र व्याकरण वेत्ताका रूपमा स्थापित हुन्छ ।

मनलहरी’ मूलतः समाजलाई शिक्षा दिने उद्देश्यले लेखिएको सुधारवादी रचना हो । त्यसभन्दा अघि देखिएका लहरीमा शृङ्गारकालीन राग, रति र प्रेमविनोद आदिको प्रचुर मात्रामा प्रयोग देखिएकाले त्यो शैलीमा परिवर्तन गर्न जरुरी ठाने महानन्द सापकोटाले । चाडका नाममा भड्किलो खर्च, आडम्बर, देखासिकी व्याप्त रहेको विकृतिहरूलाई इङ्कित गरी लेखिएको मनलहरी’ उनका गुरु धरणीधर कोइरालाको सुधारवादी लेखनबाट प्रभावित देखिन्छ । नैवेद्यप्रकाशन भएको ६ वर्षपछि प्रकाशित भएको मनलहरी’-मा वैचारिक मान्यता र उद्देश्य एक देखिए तापनि शैलीगतरूपमा भिन्न छन् । यस विषयमा चूडामणि बन्धुले साझा कविता’-को भूमिका अत्यन्त सुन्दर तरिकाले लेखेका छन् । उनी लेख्छन्, “धरणीधर कोइरालाका कवितामा नेपालीलाई जगाउने, जोस्याउने र उनीहरूको कुवृत्तितिर सङ्केत गर्दै सही बाटो देखाउने भाव भएकाले उनको नैवेद्य मा सङ्ग्रहित कविताहरूको विशेष सामयिक महत्त्व छ स्पन्दन र अरू कविताहरूमा समेत उपदेशको अंश हुँदाहुँदै पनि जातिलाई उद्बोधन गर्ने विचार ठीक समयमा आएकाले धरणीधरका कवितामा आफ्नै किसिमको शक्ति छ । महानन्द सापकोटाको कवितामा पनि यही छ तर उनमा धरणीधरमा जस्तो ईश्वरको पुकारा पाइँदैन र शब्दलाई भाँचेर छन्द मिलाउने प्रवृत्ति पनि कम देखिन्छ । महानन्द सापकोटाले मनलहरी’-मा झ्याउरेलाई ग्रहण गरेकाले पनि यसो भएको हो । उनका अपुङ्गो‘, ‘विशाल नेपाल र पछि प्रकाशित कविताहरूमा भाषाको चोखो रूप र गुण नेपालीपनलाई सुरक्षित राखिएको छ ।”

शरद् प्रधान

यस काव्यको मूल शीर्षक मनलहरी भए तापनि लहरी काव्य कृतिभित्र ‘मनलहरी‘, ‘तीजको बयानदसैँको बयानगरी जम्मा तीन उपशीर्षक रहेका छन् । उक्त तीन उपशीर्षकमा मनलहरी मा पन्ध्र, ‘तीजको बयान मा बाह्र र दसैँको बयान मा अठासी श्लोक गरी जम्मा एक सय पन्ध्रवटा झ्याउरे छन्दका श्लोकहरू समावेश गरिएका छन् । विद्यार्थी जीवनमा नै मैले मनलहरी’ भित्रका केही कविताहरू पढ्ने अवसर पाएँ किनकि ती कविताहरू मेरो पाठ्यक्रममा नै थियो । तीमध्ये तीजको बयान’ प्रमुख हो ।

आइपुग्यो तीज लौ ल्याऊ चीज खाने र लाउने
नभए धन काढन रिन मरेर के लाने ?
चाहिन्छ दर घिउ र चिनी रेसमी फरिया
यसैले सारो हामीलाई पायो कैजाका करिया ।
बिल्बिटको चोली नभए भोलि हुँदैन पटक्क
झम्के साल पनि चाहिन्छ अति परेको चटक्क ।
यो बात छोडी पुगेको खाई पुगेको लगाई
तीर्थ र व्रत गर न बैनी बहुतै रमाई ।
गर्नु छ भक्ति खोज्नु छ मुक्ति बढाउनु शक्ति छ
बिकामे ढाँचा घमन्ड ज्यादा के गर्न चाहिन्छ ?
अघिका ऋषि तपस्वी मुनि जङ्गल गएर
गर्दथे तप खपेर भोक शीतोष्ण सहेर ।
त्यो पो हो धर्म त्यो पो हो कर्म त्यो पो हो तपस
भरेर पेट लिएर व्रत के फल पाइन्छ ?
खाएर हुन्न लाएर हुन्न धर्म है बैनी हो
धर्म हो कर्म सत्य र निष्ठा पवित्र चित्तको ।
गहना लुगा लाएर ज्यादा शरीर सिँगारी
सन्तानलाई अब ता कोही नपार भिखारी ।
भित्रिया मन अँध्यारो पारी बाहिर सिँगारी
स्वर्गको सुख पाइन्न कुछ हुइन्छ संसारी ।
आहार विद्या सिँगार’ विद्या विद्या हो अपार
विद्याका निम्ति चढाउ झिटी लौ होउ तयार ।
यो कलिकाल, यस्को छ हाल बहुतै जटिल
हिँड यो सोझो सजिलो बाटो लिएर अक्किल ।

सय वर्षअघि लेखिएको यो कवितामा महानन्द सापकोटाले देखाए व्यङ्गात्मक अभिव्यक्ति अहिले पनि सान्दर्भिक छ । महानन्दको कविता यात्रा अपुङ्गो’ ( वि.सं. २००७)सम्म आइपुग्दा दर्शनयुक्त भइसकेको पाउँछौँ । अपुङ्गो कवितासङ्ग्रहभित्रको विश्वदेवाय कविताले यो पुष्टि गर्छ ।

थिएन यो विश्व वितान केवल
थियो महाव्योम असीम मण्डल
रमाइलाग्दी पृथिवी शशी रवि
अनन्त तारा मन मोहिने छवि ।

बनाउने पूरुष खोइ सुन्दर ?
नुहाउँ मेरो शिर यो कतातिर ?
थिएन केही रचना भने अघि
ख-पुष्पझैँ यो कसरी भयो पछि ?

असत् कुराले किन सत्यझैँ हुनु ? –
सत्ले असत्मा लिन वा लवेटिनु ?
असत् र सत्का बिच के छ अन्तर ?
नुहाउँ मेरो शिर यो कतातिर ?

महानन्द सापकोटा र साहित्यकार दान खालिङको सम्पादनमा वि. सं. २००८ सालमा हाम्रो नेपाल’ नामक मासिक साहित्यिक पत्रिकाको प्रकाशन हुन्छ र सोही शीर्षकमा एउटा गीतसङ्ग्रह पनि प्रकाशित हुन्छ वि.सं. २००८ सालमा नै । उक्त सङ्ग्रहमा राष्ट्रियताले ओतप्रोत, देशको सुन्दरता र नेपालको जैविक विविधताको कुरा गरेका छन् ।
हिमालका काखमा छ हाम्रो राम्रो देश
हाम्रो देशजति राम्रो संसारमा के छ ?

हेर कति रमाइलो हाम्रो नेपाल ।
पाहारिला पखेरामा खोलावरिपरि
सालिम्मो र बाबियो-खरुकीका घारी
हेर्दा कति राम्रो लाग्छ हाम्रो नेपाल

लाहाँचेको मिहिनेत गौँथलीको सिप
बकुलाको धीरता र मयूरको नाच
चारै गुण सिकाउँछ हाम्रो नेपाल ।

बानरका बथानले उफ्री रूख-रूख
देखाउँछन् नेपालीको जारिलो ढप
जाडरको घर हो हाम्रो नेपाल ।

थुतुनामा पात चेपी हरिनका हाँच
परस्पर ग्राङ दली भन्छन् मनसित
शान्ति दिने देश हो हाम्रो नेपाल ।

 

कवि महानन्द सापकोटाका कविताहरू सङ्कलन गरिएका कवितासङ्ग्रह ‘महानन्द सापकोटाका कविता’ प्रकाशित भएको छ ।  सापकोटाका कवितामा क्रान्ति तथा सुधारको सन्देश पाइन्छ, नेपाली जातिको उत्थानका निम्ति मरिमेटाइ हुन्छ अनि पीडित तथा शोषित वर्गप्रति सहानुभूति र आफ्नो अधिकारका निम्ति उनीहरूलाई अघि बढ्ने प्रेरणा दिएको हुन्छ ।

नेपाली शब्दकोशमा नेपाली समाजमा प्रचलित र साहित्यमा प्रयोग भएका सबै शब्दहरूले प्रवेश पाएका छैनन् । विशेष गरी काठमाडौँ र केही स्थानमा केन्द्रित भएर  शब्दकोश निर्माण गर्दा जनजिब्राका शब्दहरूलाई लताएको पाउँछौँ । नेपाली भाषामा केही शब्दहरू अभाव भए नेपालभित्रै बोलिने सयौँ भाषाबाट सापटी लिन सक्छौँ । नेपाली भाषामा शब्दको अभाव छ भन्दै अङ्ग्रेजी वा हिन्दी शब्दको प्रयोगमा रमाउने लेखकलाई व्यङ्ग्य गर्दै महानन्द सापकोटा लेख्छन्, “नेपाली भाषामा शब्द छैन भन्नु अगाडि उहाँका दाजुभाइसँग कुरा गरौँ, तराईमा पनि यसो घुमौँ, प्रवासी नेपाली भाइहरूसँग पनि लेखापढी गरौँ । नेवारीबाट हामीले कति शब्द लिइसकेका छौँ ।”   वि.सं. २०१३ सालमा सुरु भएको नेपाली भाषाको व्याकरण संसोधन आन्दोलन र झर्रोवादी आन्दोलनमा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चूडामणि रेग्मी, वल्लभमणि दाहालसँगै महानन्द सापकोटा पनि जोडिन्छन् । यस आन्दोलनको उद्देश्य थियो नेपाली भाषामा संस्कृत लगायत अरू भाषाको प्रभाव न्यून गर्ने । उनले एकल प्रयासले जनजिब्राको भाषालाई कथ्य र लेख्यमा प्रयोग गर्ने अभियानमा केही सफलता पाए ।

भाषा र व्याकरणसम्बन्धीमा महानन्द सापकोटाको आफ्नै धारणा छ । उनको अरू भाषाशास्त्रीजस्तै भाषाको प्रयोगमा कठोर र लिँडेढिपी छैन । उत्तम कुँवरलाई स्रष्टा र साहित्य’-मा दिएको एक अन्तर्वार्तामा उनी भन्छन्, “व्याकरणले भाषाको बाटो छेक्नु हुँदैन तर विकासको सहायक हुनुपर्दछ । व्याकरणहीन भाषाले साहित्यको धरातल दरिलो, मलिलो र भरिलो पार्न गाह्रै पर्छ । कविहरूलाई अङ्कुश नलाउने भनेको अर्थ भाषामा जथाभावी गर्न अधिकार दिएको हैन तर समाजलाई स्वस्थ बनाउने भावना पोख्नेसम्म अधिकार दिइएको हो । मेरा विचारमा व्याकरण, भाषा र साहित्य उत्तिकै उपयोगी कुरा हुन् कुनैलाई अवहेलना गर्न हुँदैन ।”

महानन्द सापकोटाको एउटा महत्त्वपूर्ण पुस्तक हो नेपाली व्याकरणमा प्रस्तावना’ । वि.सं. २०३४ सालमा प्रकाशित यो पुस्तकमा उनले नेपाली भाषा र व्याकरणका विभिन्न आयामहरूलाई विवेचना गरेका छन् । अक्षरहरूको प्रयोग र उपयोगिताबारेमा धेरै लेखक र पाठकहरू सधैँ नै भ्रमित हुन्छन् र हुनु स्वाभाविक पनि हो । व्याकरणमा एकरूपता नहुनु र सही अक्षरको प्रयोगबारेमा अन्योल भएकाले यो स्थिति आएको हो । उक्त पुस्तकमा उनी लेख्छन्, “संस्कृत व्याकरणअनुसार कदेखि हसम्मका तेत्तीस ओटा मात्र व्यञ्जन वर्ण हुन् । नेपालीले आफ्ना वर्णमालामा कतै ज्ञ, क्ष, त्र त कतै क्ष, त्र, ज्ञ मात्र थपेर वर्णमालामा व्यञ्जनको सङ्ख्या छत्तीस अथवा सैँतीस पारेको थियो । पछि संस्कृत व्याकरणतिर ढल्कनेहरूले क् + ष = क्ष, ज् + ञ = ज्ञ भएका हुन् भनेर तिनलाई बेग्लै अक्षर रूपमा सकार्न चाहेनन् । क्ष र ज्ञ जुनसुकै अक्षर (वर्ण ? ) मिलेर बनेका भए पनि ती अक्षरका रूपमा देखा परिसके । क्ष र ज्ञ ध्वनि छ अनि ध्वनि जनाउने चिह्न क्ष र ज्ञ अक्षररूपमा उपस्थित छन् । ध्वनिले ध्वनि ज्ञापक चिह्नको आवश्यकता उब्जाउँछ । अक्षर भन्नु नै ध्वनि ज्ञापक चिह्नको नाउँ हो । तसर्थ हाम्रा जङ्गम पुस्तकालयजस्ता अनुभवी चिन्तकहरूले बनाएका क्ष र ज्ञ लाई हामीले अक्षरका रूपमा सकार्नु उचित र न्यायसङ्गत हो । क्ष र ज्ञ मा तिनका पूर्ववर्ण क् ष् अनि ज् ञ् का ध्वनि र रूप दुवै लोप भएर नसा ध्वनि रूप आएका छन् तर त्र मा उसका पूर्व वर्ण त् अनि र् लेखाइ र सुनाइमा यथावत् छन् तसर्थ त अनि र एक रूपतामा लय नभै केवल जोडिएका रूपलाई बेग्लै अक्षर मान्दा क, च, प्र, स्र, श्री आदिलाई पनि अक्षर मान्नु भन्ने तर्क आउँछ र अव्यवस्था उत्पन्न हुन्छ । तसर्थ क्ष अनि ज्ञ ले साउँ अक्षरका रूप मान्यता पाउनुपर्छ तर त्र लाई बेग्लै अक्षर मान्नु अवैज्ञानिकता हुन्छ । त्रलाई बेग्लै अक्षर मान्नु उचित होइन ।” यो भाषिक अन्योलता हिन्दी, बङ्ग्ला लगायत अरू भाषामा केहीहद सम्म समाधान भए पनि नेपाली कायमै छ ।”

भारतबाट नेपाल प्रवेशपछि महानन्द सापकोटा राजनीति, शिक्षा, समाजिक सेवा र साहित्यमा सक्रिय भए । उनको नेतृत्वमा पूर्वीय नेपालमा विद्यालय र पुस्तकालयहरू खोलिए । समाजमा विद्यमान विकृतिहरूलाई उनले लेखले मात्र होइन आफैँ सक्रिय भएर हटाउने प्रयास गरेको देखिन्छ ।

वि.सं. २०१८ मा प्रकाशित हाम्रो साहित्य र साहित्यकार’ नामक पुस्तकमा डिल्लीराम तिम्सिना र माधव भण्डारी महानन्द सपकोटाको परिचय दिँदै लेख्छन्, “नेपालीत्वलाई हृदयबाट कहिल्यै नअलग्याई आफ्नो जाति र साहित्यको सेवा गर्नेहरूमा महानन्द सापकोटाको नाउँ अविस्मरणीय छ । यस्ता हृदयदेखि नेपालको विशालतालाई स्विकार्दै नेपाली जनतालाई जागृति र प्रगतिका निम्ति आह्वान गर्ने कवि महानन्दको जन्म सं. १९५३ मा इलामको इरौँटारमा भएको हो । उनले आसाम र नेपालका कुना-कुनामा घुम्दै नेपाली जनतामा शिक्षाको प्रचार गरेका छन् । नेपाली भाषा प्रचारक सङ्घको-जन्म पनि महानन्दज्यूकै सत्प्रयासबाट भएको हो । २००७ सालको क्रान्तिमा पनि उनले भाग लिएका थिए । सापकोटाज्यूले जर्मनी को यात्रा पनि गरेका छन् ।”

मूर्धन्य साहित्यकार इन्द्रबहादुर राईले महानन्द सापकोटालाई ९ वटा प्रश्न गरेका थिए । प्रायः सबै प्रश्नहरू साहित्य, समाज र भाषासँग जोडिएका थिए र उत्तरहरू पनि सङ्क्षिप्तमा आएका थिए । एउटा प्रश्नचाहिँ- हामी नेपालीहरू अनेक देव र शक्तिका पूजा गर्छौँ । किन नेपालीलाई केवल शिव भक्त भन्नुहुन्छ? यसको उत्तरमा सापकोटा भन्छन्, “शिवदर्शन बडो गहिरो छ । सीमित स्थानमा पूरा व्याख्या दिन नसकी अभीष्ट अर्थ ननिस्की अनर्थ हुन सक्ला । शिवले नेपाली बनाए अथवा नेपालीले शिव बनायो : शिव र नेपालीमा चन्द्र र चन्द्रिकाको सम्बन्ध छ । कुरा यो आर्यहरू खैबरघाँटीका पूर्व लाग्नुभन्दा पहिलेको हो । नेपालका शिव कुमारिका अन्तरिपसम्म पूजिन पुगेका थिए । विस्मृत कालको आपस्तमा लुछाफोरी गर्ने समयमा शिव ( अर्थ मङ्गल ), शम्भु ( कल्याणमूर्ति ), शङ्कर ( कल्याण गर्ने ) जस्ता शान्तिकारक देवता तिनताकका मानिसले वरदानजस्तो माने । पछि आर्यदेवता ब्रह्मा र विष्णु आए । ब्रह्मा र विष्णुको शाब्दिक अर्थ पनि ‘बढाउने’ हुँदो रहेछ । त्यस दृष्टिले पनि शिव नै हाम्रा इष्टदेवता हुन सुहाउँछन् । यो कुरा हिरण्यकशिपु, वाणासुर, रावण आदिको शिवभक्त हुनुमा पनि स्पष्ट हुन्छ । अनार्यको अर्थ असभ्य होइन तर आर्यदेखि भिन्न सभ्यता हुने मात्र हो । पछि धार्मिक समन्वय र मेलमिलाप हुँदा ब्रह्मा, विष्णु र महेश एक मानिए तर पनि सबैभन्दा ठूला महेश्वर, महादेव यानि कि शिव नै रहे । शिवको अष्टमूर्ति सम्झना राखी अष्टाध्यायी व्याकरण बन्यो, अष्टधा प्रकृतिको परिभाषा निकालियो । नेपालीले त दौरा र चौबन्दी पनि शिवको प्रतीक बनाए । विष्णुको मूर्ति विलासपूर्ण मानिएको छ तर शिवको मूर्ति त्यागपूर्ण छ । यसरी शिव हाम्रा देशका आदिम उत्पत्ति वा उत्पत्तिकारक भएका छन् । भौतिक अवतारमा हामी हाम्रा आफ्ना बुद्धलाई अतिमानव नेता मान्दछौँ । यी दुईको शिक्षामा साम्य पनि छ ।” यो प्रश्नोत्तरी

‘गोर्खा’  को१४/९, ६ मई १९६१ अङ्कमा छापिएको थियो । पछि ‘टिपेका टिप्पणीहरू’-मा पनि सङ्ग्रहित भएको छ ।

महेश प्रसाईँको सम्पादनमा उनको  फुटकार कविताहरूको सङ्गह प्रकाशित भएको छ  र सङ्ग्रहको प्रकाशन नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको हो । सङ्ग्रहमा जागरण कालका प्रभावशाली कवि सापकोटाका छरपस्ट रहेका कविता एकत्रित रूपमा राखिएको प्रतिष्ठानले जनाएको छ । महानन्द सापकोटाको साहित्यिक यात्रा कविता लेखनबाटै आरम्भ भएको थियो ।

प्रसिद्ध समालोचक रामकृष्ण शर्माले महानन्द र धर्मराजमा देशप्रेम’ शीर्षकको लेखमा आफ्नो विचार यसरी व्यक्त गर्छन्, “त्यसर्थ धर्मराज थापा र महानन्द सापकोटा दुवै देशप्रेमी, जातिप्रेमी कवि हुन् भन्नुपर्छ । त्यसबाहेक यी दुवै कवि कविता लेखाइ र कविता पाठको भरले मात्र होइन तर सक्रिय भई, विचारभन्दा पनि कार्यानुष्ठान नै गरी देश र जाति जगाऔँ भन्ने विचार लिएका जस्ता देखिन्छन् तर महानन्दको कार्यदक्षता धर्मराजको कलिलो उमेरले हासिल गर्न सकेको छैन । आफ्नो ध्येय पूर्ति गर्न ‘झ्याउरे, गीतद्वारा देशवासी र आफ्नो जातिको मन खिची पुरानो लयमा नयाँ विचार हाली आफ्नो जातिको आँखा उघारौँ, ज्ञान भण्डार विस्तीर्ण पारौँ भन्ने कार्यमा धर्मराज संलग्न थिए । उतापट्टि ‘झ्याउरे’ लयमा मनलहरी लेखी जातिको खर्चालु स्वभाव हटाउन र फारु शास्त्र पढाउन प्रयत्न गर्ने, सञ्चितापट्टि लहसिएका सापकोटाले विद्या केन्द्र खोली गाउँमा शिक्षक पठाई तथा देशप्रेम र जातित्व-प्रेमका छन्दोबद्ध र लयशील कविता लेखी जाति जगाउने मात्र होइन जातिमा नयाँ प्राण भर्ने ध्येयमा निरन्तर जोड दिइरहेका थिए । यी दुईमा कुनै एउटाको कृति पढ्दा मेरो ध्यान अर्कापट्टि जान्छ । वास्तवमा म यी दुई कविलाई एउटै रथका दुई पाङ्ग्रा सम्झन्छु ।” यो लेख शर्माको ‘दश गोर्खा’ नामक पुस्तकमा समावेश छ ।

८२ वर्षको उमेरमा बित्नुभएका सापकोटाको जीवन समाज र साहित्य सेवामा बित्यो । उनले नेपाली निर्वचनको रूपरेखा’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा मदन पुरस्कार २०२७ प्राप्त गरेका हुन् । उनी जनकलाल शर्मा, तारानाथ शर्मापछि इलामबाट यो पुरस्कार पाउने तेस्रो व्यक्ति थिए । उनले वि.सं. २०३१ मा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार र नेपाल साहित्य सम्मेलन, दार्जीलिङबाट दियालोमा छापेको उत्कृष्ट लेखका लागि दिने दुलीचन्द स्वर्ण पदक पाएका थिए । करफोकमा जुनेली’ पत्रिकाको सम्पादन गरे भने देवान छाप’ नाटक लेखेर आसाम र मणिपुरमा प्रदर्शित गरे । उनको सम्पादनमा हाम्रो साहित्य भाग १-५’ ( वि.सं. २०१५) प्रकाशित भएको थियो । नेपाली भाषा प्रचारक सङ्घका उनी मुख्य योजनाकार हुन् । यस संस्थाले असोज १९-२२, २००९ सालमा गरेको बृहत् नेपाली साहित्य सम्मेलन आयोजना गरेको थियो । यो सम्मेलनमा बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सूर्यविक्रम ज्ञावाली, धरणीधर कोइराला, पारसमणि प्रधान, शङ्कर लामिछाने लगायत नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूले भाग लिएका थिए । यो सम्मेलनको चर्चा साहित्य वृत्तमा पछिसम्म ससम्मान हुने गर्थ्यो । उनले लेखेका धेरै कृतिहरूमा   मनलहरी (झ्यारे गीत, वि.सं. १९८३), आहुति (वि.सं. २००६ साल), अपुङ्गो (दार्शनिक कृति, वि.सं. २००७ साल), विशाल नेपाल (कविता, वि.सं. २००८ साल), अन्न आशा आँसु (झ्याउरे र वाणिर्क कविता, वि.सं. २००८ साल), हाम्रो नेपाल (गीति-कविता, वि.सं. २००८ साल), आँटे (कविता, वि.सं. २००८ साल),  सुखको बाटोनेपाल कस्तो हुनुपर्छ (लेख, वि.सं. २००८),    सरिशब्द (कोश, वि.सं. २०२१), ध्वनीको धन्दा (भाषा, वि.सं. २०२०), चानचुन, नेपाली धातु परिचय, जनजिब्रो (भाषा, वि.सं. २०२१), खस र खस भाषा (भाषा, वि.सं. २०२०), नेपाली निर्वचनको रूपरेखा (भाषा, वि.सं. २०२७), सापकोटा निबन्धावली (निबन्ध, वि.सं. २०२९),  नेपाली शब्द-परिचय (कोश, वि.सं. २०३४) आदि प्रमुख छन् ।