किसिम किसिमका हामी – लेखक ।

किसिम किसिमका ध्येय – हाम्रो लेखनका ।

किसिम नम्बर १ —

“सातवटा किताब लेखिसकेँ । यो सरकारले मलाई अझै केही दिएन ।”

“सरकारले लेख् भनेर लेखेको हो र ?”

संवाद समाप्त ।

यो भएको घटना हो । पात्रका नाम लिइनँ । अलि दिन बाँच्न मन छ ।

पाद टिप्पणी — पुरस्कारका लागि लेख्ने कि कुनै दृष्टिका लागि ?

किसिम नम्बर २ —

एउटा कार्यक्रममा संलग्न थिएँ । एक जना लेखक – डाक्टर हुन् भन्ने यकिन थियो । प्राध्यापक भइसकेको सुइँको पाएका थिएनौँ । मायाको चिनो बनाइयो, नामै छापेर । ‘डा’ त लेखियो ‘प्रा’ छुटेछ ।

कार्यक्रममै भयो शब्दको रामधुलाइ ।

नयाँ बनाएर, दुई हप्तापछि टक्र्याएपछि अभियोगबाट सफाइ पाइयो । अँ, एउटा कुरा चैँ सिकेँ । नामका अगडि एकैचोटि ‘प्राडा’ लेख्दा निकै सुन्दर देखिँदोरहेछ मायाको चिनो ।

पाद टिप्पणी — लेखकले अहंकारको खेती गर्ने कि विनम्रताको ? अभिमान र आत्मविश्वास एउटै हुन् कि फरक ?

किसिम नम्बर ३ —

पार्टी छ । गफास्ट छ । अरू चैँ नभनूँ होला । यानि खाएको, पिएको कुरा ।

म जे बोल्छु, वाक्य सकिएपछि एक जना कवि भन्छन् – “अँ, त्यो हाम्रो संयुक्त लेखन । त्यो हामी पाँच जनाको संयुक्त लेखन । यो संयुक्त… !’

“विश्वयुद्धपछि त अनिश्वरवादको लहरै चल्यो नि । शून्यावाद हेर्नुस् । अस्तित्ववाद हेर्नुस् …”

“त्यो हाम्रो संयुक्त लेखन । हामीले त्यो गर्दा, सब चकित । त्यस्तो संयुक्त लेखन…”

“उत्तरउत्तराधुनिकतामा लेखकहरू फेरि भगवानको अस्तित्व स्वीकार गर्न थालेजस्ता देखिन्छन्…”

“अँ, त्यो हाम्रो संयुक्त लेखनमा पनि… त्यस बेला, समालोचकहरूले पनि सब…”

“अनि किन छोड्नुभयो त संयुक्त लेखन ?”

पार्टी सकियो । हामी घर फर्कियौँ ।

पाद टिप्पणी — पाठकहरूमाझ नजमेको कुरो शङ्ख बजाएर जमाउने कि सार्थक केही गर्ने ?

किसिम नम्बर ४ —

“महेशजी नमस्कार ।”

“अहो, दाजु । कस्तो संयोग । आजै तपाईंको एउटा कथा पढेको थिएँ, मधुपर्कमा । निकै राम्रो लग्यो ।”

“धन्यवाद । मेरो सङ्ग्रह नै आएको छ । सारै राम्रा राम्रा कथा छन् नि । त्यो पढ्नुहोला ।”

“हस, दाजु । यो आजको चाहिँ साह्रै राम्रो लाग्यो ।”

महेश पौड्याल

“मेरो त्यो पोट्रट पनि पढ्नू न । तपाईँसँगै छ कि छैन । ४० सालमै छापिएको कलेजको मेग्जिनमा । छैन होला । अनि, “अविरल धारा”मा तीनवटा कविता छापिए त्यो हेर्नुहोला । अनि, “दुबो”ले कथा विशेषाङ्क निकालेको थियो ४८ सालमा, त्यसमा एउटा एकाङ्की छ । त्यो तपाईंसँग छ ? हुन त, पहिलो एकाङ्की त मेरो ४६ सालमै “सल्लेरी”मा छापिएको थियो । त्यो निकै नयाँ छ । त्यो जरुर हेर्नुहोला ।”

मेरो फोनको चार्ज सकियो । ‘सकेँ’ भनूँ न ।

ग्रह–शान्ति ।

पाद टिप्पणी — निधारलाई विज्ञापनको होर्डिङ बोर्ड बनाउन मिल्दैन ?

किसिम नम्बर ५ —

मेरा गुरु अरुण गुप्ताले एक दिन कलजेजमा किस्सा सुनाउनुभयो । एक जना लेखक पाण्डुलिपि लिएर आएछन् र भनेछन्, – सर, भूमिका लेखिदिनुपर्यो । अलि ‘पोस्टमोर्डन’ भनेर लेखिदिनुहोला ।

गुरु त गुरु हुनुभो । हामी शिष्यकै पालामा पनि यस्ता कुराको बिगबिगी छ ।

‘डायस्पोरिक नछुटाइदिनुहोला ।’

अझ गुरु गोविन्दराज भट्टराईसँग कति होलान् किस्सा ? डायस्पोराकै किस्सा त डा. रामजी तिमस्लिनासँग कति होलान् कति ।

पाद टिप्पणी — अध्येताले, लेखकले भनेको लेख्ने कि आफूले देखेको ? अध्येता, माने, रोबोट ? कि, चेतना ? कि टाइपराइटर ? कि के ?

किसिम नम्बर ६ —

“गुरु, फस्ट कि सेकेन्ड हुन मन छ अरे । यो कविता अलिकति बनाइदिनुपर्यो ।”

बनाइदिने ल्याकत भएको भए आफैँ फस्ट वा सेकेन्ड भइहाल्थेँ नि !

जीवनमा कविता प्रतियोगिता जितेको सम्झना छैन । प्रतियोगितामा गएको पनि त्यति सम्झना छैन । दसमा पढ्दा हो क्यारे, एकचोटि गएको थिएँ । दोस्रो भएँ । आफूले नै अलि अलि सिकाएको भाइ प्रथम भयो । त्यो हारको क्षण मेरो जीवनका सबैभन्दा सुन्दर क्षणहरूमध्येको एक हो । त्यसै हारिरहन पाऊँ । मलाई आफ्ना भाइ, बहिनी र विद्यार्थीका हातबाट हार्नुको गौरव अलौकिक लाग्छ । यस्ता हारहरूको माला सधैँ सधैँ लगाइरहन पाऊँ ।

पाद टिप्पणी — फस्ट वा सेकेन्ड हुन चाहने कि, हुने ? त्यसका लागि क्षमता विकास गर्ने कि वैशाखी खोज्ने ?

किसिम नम्बर ७ —

एक जना पाका लेखक । सम्मानित पनि । तर धेरै टुक्रामा छरिएका । कुनै गतिलो पुस्तक अझै नआएको । त्यसैले, सधैँ प्रतिनिधि सङ्ग्रहहरूमा पछाडि पारिएका । यसो सोचेँ, एउटा गतिलो किताब आए त बेसै हुन्थ्यो । एक जना प्रकाशकसँग कुरा गरेँ, र लिएर घरमा गएँ । कुरा भयो । एउटा गतिलो सङ्ग्रह आउने भयो ।

चिया । पानी । खाजा । गफास्ट ।

अनि पाका लेखकले एउटा पुरानो सन्दुक खोले । अनि भन्न थाले —

यो पनि छ, छाप्नुस् । अनि यो पनि । यो पनि । यो नयाँ । यो बेलायतबाट फर्केपछिको । यो कथा । यो कविता । यो गजल । योे हाइकू । अरू पनि दुई वटा लेख्दैछु ।

यसो प्रकाशकको अनुहार हेरेँ । हेर्न लायक थियो । हामी हिँड्यौँ ।

किताब छापिएन । अझै छापिएको छैन सायद ।

छापिएला ?

पाद टिप्पणी — प्रकाशन डस्टबिन हो ? पाठकचाहिँ सुगर, प्रेसर, कोलोस्ट्रोल, थाइराड, युरिक एसिड सबै एकैचोटि भएको बिरामी हो ?

किसिम नम्बर ८ —

पीपलबोट । प्रायोजित बैठक । पाँच सात जना लेखक । गफ ।

— कविताको मानक, उहाँ । बेजोड हो ।

— उपन्यासको उहाँ । उम्दा ।

— कथाको उहाँ । नयाँ ।

— निबन्धको उहाँ । बौद्धिक ।

— सालोचनाको उहाँ । तटस्थ ।

— गजलको उहाँ । बहरमा ।

— हाइकुको उहाँ । झण्डै झण्डै जापनीकै तहमा । थोरैमात्र कम ।

कसैले हाच्छिउँ गर्यो भने संसारकै मधुरतम सङ्गीत भने भने आश्चर्य नमान्दा हुन्छ । यस्तो हुँदैआएको छ सृष्टिमा । ब्रह्माले नभ्याएको सृष्टि यिनले पूरा गरे नि ।

पाद टिप्पणी — बुथ केप्चर । भोटरचाहिँ चुनाव बहिष्कार गरेर घरै बसेका ।

गुह्य कुरो — सबै एउटै प्रकाशकसँग जोडिएका लेखक रहेछन् । हामी पनि यसै त गर्छौं । छातीमा हात राखेर भन्न सकिन्छ नि ? सकिँदैन र ?

किसिम नम्बर ९ —

एक जना साथीले अचम्मको ठाउँमा पुर्याए ।

ठूलो कोठो । धेरै कम्प्युटर । सबैमा एक एक जना मान्छे । सबै व्यस्त, लेखिरहेका । कामको धमाधम । गाउँको मङ्सिरजस्तो ।

कुनै प्रकाशनगृह होला, सोचेँ ।

अथवा कम्प्युटर इन्स्टिच्युट होला, सोचेँ ।

अथवा, कुनै संस्थाको कार्यलय होला, सोचेँ ।

होइन रहेछ । जे सुनेँ, त्यसले दीर्घ रोगी बनायो । आजसम्म घाइते छु ।

कुरा के रहेछ भने, एक जना प्रभावशाली लेखकको घर रहेछ । पहिले ६४ वटा पुस्तक छापिएसकिएका रहेछन् । (सत्ते, पाठकलाई थाहा छैन । लेखक हुन पाठकलाई थाहा हुनु पर्छ र ? ६४ मात्रै त हो नि ? संसारमा पुस्तक कति छन् ?) ।
अबको जन्मदिनमा ३६ वटा तयार गरेर विमोचन गरेपछि १०० पुग्ने रहेछन् । त्यसैले, एकैचोटि ३६ वटा तयार पार्ने चटारो रहेछ । मान्छेका दुख नि । नि ?

विमोचनको निम्तो थियो । गइनँ ।

पाद टिप्पणी — एक सय, यो जादुको नम्बर हो । यसलाई छुनु दिग्विजयी हुनु हो ।

………….

किसिम अरू पनि छन् । म आफैँ पनि एउटा काइते किसिम हुँ । अरू पनि ।

अब किसिमतिर नलागौँ । किसिमका हूलहरूमा आआफ्नो अनुहार खोजौँ । माथिका किसिम तपाईंले आआफ्नै किसिमले बुझ्नुभयो होला । मैले वास्तविक कुरालाई काल्पनिक सेटिङ दिएँ । अलिकति आख्यान लेखेँ भनौँ । बाध्यता ।

यी किसिम भेटिन्छन्, हिँडिरहेका । बोलिरहेका । सभाहरूमा । समारोहहरूमा । पाठकको मनभन्दा टाढा । गुणस्तरको तहभन्दा धेरै धेरै तल । साहित्यभन्दा कता हो कता पर । किसिमको मनोविज्ञान बोकेर, कुण्ठाहरूको मेलामा । लेखन उनीहरूका लागि (हाम्रा लागि पनि) एउटा यस्तो तिलस्मिक कवच हो, जसलाई एकचोटि भिर्न पाए जीवन धन्य हुन्छ ।
यसै किसिमको भिडबाट सुनिन्छ आवाज — लेखकको सम्मानै भएन यो देशमा । पाठक पनि कुरो बुझ्दैनन् ।

कुरा हुन्छ उदात्तताको । लेखनको उच्चतम सत्ताको । जमिनमा यी किसिमहरूको जुलुस छ ।

कुरा उठ्छ देश र सभ्यताको इज्जतको । लेखनको कालजयिताको । जमिनमा, यी किसिमहरूको मेला छ ।

कु्रा उठ्छ उच्चतम कला र कथ्यको । श्रेष्ठ शैलीको । जमिनमा, यी किसिमहरूको प्रहसन छ ।

भिडमा लेखक किचिने पो हो कि, डर छ ।

भिडमा, स्रष्टा पिसिने पो हो कि, त्रास छ ।

भिडमा, द्रष्टा मारिने पो हो कि, भय छ ।

कुन लेखक ? कुन स्रष्टा ? कुन द्रष्टा ? कुन भन्नु ? सबै ।

दुई जना चिन्तकका अचम्मका कुरा सम्झन्छु । एउटा हुन् उन्नाइसौँ शताब्दीका बेलायती कवि र चिन्तक मेथ्यु आर्नोल्ड । भन्न त उनले सजिलो कुरा भने, तर हामीले व्याख्या गर्दा ‘कता जिली कता गाँठी’ बनायौँ ।

उनले भने— कविता भविष्यको धर्म हो ।

कुरो धर्मको होइन । तर लास्टै बहस भयो — बड्डाले धर्मको कुरा गरे भनेर । कोकोहोलो भयो । ‘हाई मोर्डनिस्ट’ पनि भने । कतिपयले ‘एलिटिस्ट’ पनि भने । भन्न त पाइन्छ नि, लोकतन्त्रमा । तर उनको भनाइको सार अलि फरक थियो ।
के थियो ?

— ईश्वरमाथि आस्था हराउँदै गयो मान्छेको ।

— धर्ममाथि आस्था हराउँदै गयो मान्छेको ।

— शासकमाथि त कहिले पो थियो र?

— प्रकृतिमाथि ? बेला बेला पहिरो ल्याउँछ, हुण्डरी ल्याउँछ, खडेर ल्याउँछ । मार्छ । आस्था हल्लिरह्यो ।

— त्यसो भए धर्मजत्तिकै बलियो आस्था झुण्डाउने ठाउँ, भोलिका दिनमा कविताले लिन सक्छ । मान्छेले भनेको र सोचेको सर्वश्रेष्ठ कुरा कवितामा छ । त्यसैले, कविताले धर्मको जस्तो पकड बनाउन सक्छ । त्यो प्रभाव आर्जन गर्न सक्छ, भविष्यमा ।

यसो भन्नुमा के समस्या छ ? समस्या छ भने त्यो उनले सोचेजस्तो उदात्त, महान् र श्रेष्ठ कविता दिन नसक्नुमा छ । अनि, ‘हाई मोडर्निस्ट’ भन्दियो, बडार्दियो । “एलिटिस्ट” भन्दियो, मिल्काइदियो ।

यति गरेपछि केही गर्नै परेन ।

अर्का एक जना चिन्तक सम्झन्छु — फ्रान्सका मिचेल फुको । अचम्मका मानिस । धेरै प्रभावशाली । भन्न त धेरै विषयमा धेरै कुरा भने — इतिहासका बारेमा, यौनिकताका बारेमा, चिकित्सका बारेमा, राजनीति र शक्तिका बारेमा । तर ‘लेखक’का बारेमा चैँ एउटा रोचक कुरा भने ।

‘लेखक’, उनको आशयअनुसार, एउटा छाप हो । लेखकको नाम लिनु, माने, उक्त छापको प्रयोग गर्नु हो । त्यो छाप — जुन विश्वसनीयता हो । आधिकारिकता हो । उच्चता हो । उनकै शब्दमाचाहिँ ‘अथर फङ्कसन’ भनिएको छ । अझै सजिलो भाषामा भन्दा, लेखक भनेको यस्तो नाम हो, जसले एकैचोटि धेरै कुराको प्रामाणिकता बोकेको हुन्छ । यो प्रामाणिकता आफूसँग कायम राख्दासम्म एउटा लेखक आफैँमा एउटा छाप बनेर रहन्छ ।

यसो भनेको के हो ? कति अप्ठ्यारो !

सजिलो छ । तोक हुन्छ नि ? अथवा लाल मोहर ? त्यो शासक वा अधिकारीको स्वीकृतिको प्रमाण हो नि । हो, त्यस्तै, लेखक हुँ भन्नु, समाजमा, अथवा बौद्धिक वा सांस्कृतिक क्षेत्रमा एउटा प्रमाणिक र विश्वसनीय नाम हुनुको तोक वा लाल मोहर हो । तर आफैँले हुँ भन्दा चैँ भएन । समाजले तोक्छ । त्यो तह प्राप्त गर्नु हो, लेखक हुनु भनेको । “दिलको खुड्को” सङ्ग्रह निकालेँ, पाँच सय घरतिर बाँडे, अलिकति सुसुरालीतिर, बचेको हजुरलाई भनेर चाहिँ हुँदैन ।
अन्तर्यमा फुकोले एउटा लेखकलाई कुनै दमनकारी सङ्कथनको संवाहकको रूपमा, व्यवस्था वा शक्ति केन्द्रले निर्माण पनि गर्दछ । त्यसोचाहिँ हुन दिनु भएन ।

एउटा कलम भिर्नु, एउटा कापी च्याप्नु र लेखनको मैदानमा उत्रनु — यिनै बुढाले भनेजस्तो प्रमाणिकता स्थापित गर्न खोज्नु हो । तर, त्यो लेखकीय नाम दमनको एजेन्ट नहोस् । कुरा यत्ति हो ।

उनले भनेको आकाश र हामी उभिएको जनिमका बीच कति कोसको दूरी छ ? भो, ननापौँ ।

उनले भनेको उचाइ र हामी उभिएको मैदानबीच कति फुटको दूरी छ ? भो, कुरा नगरौँ ।

उनले नै भनेको मान्नुपर्छ र ? को हुन् र उनी ? तीनका न तेरका । भो ।

यसरी सोच्दा पनि हुन्छ । नहुने नै के छ र ? सबै त हुँदै आएको छ जगतमा ।

एक जना लेखक मित्रले एक दिन भने — ‘वी आर वर्ड फार्मर्स ।’ यानि— हामी शब्दका किसान ।

क्या मन पर्यो कुरा ! हामी शब्दका किसान हौँ ।

फल्न जे फलोस्, जति फलोस् । तर एउटा किसानले आफ्नो जमिनलाई प्रेमले नै सुम्सुम्याएको हुन्छ । आफूलाई श्रममा अनुवाद गरेर बाली लगाएको हुन्छ । उसले गर्न सक्ने अधिकतम श्रम र तपस्या गर्छ । कहिले फल्छ, कहिले फल्दैन अन्नबाली । फलेन त फलेन । तर, किसानीमै कसूर रह्यो भने फल्दैन नै ।

मित्रले ‘वर्ड फार्मर्स’ भनिरहँदा मेरो ध्यान ‘वर्ड’ मा गएर अडियो । वर्ड, यानि शब्द । हामीले लेख्ने शब्द ।

लेखकहरू आफ्नै मात्रै भावना, अनुभव, अनुभूति, सपना, आक्रोश, पीडा वा आकांक्षाको पानीले शब्दको माटो मुछ्दैनन् । उनीहरू, आफ्ना शब्दको माटोलाई अरूहरूको सुख, दुख, आँसु र हाँसोको जलले पनि सिञ्चित गर्छन् । भन्नमा शब्द भनिए पनि, तिनमा आगो हुन्छ, पानी हुन्छ, हुरीबतास हुन्छ, फूलको सुवास हुन्छ, घनको प्रहार हुन्छ । शब्द फगत बाँसको सुप्ला होइन । यो बारुद पनि हो । यो सञ्जीवनी पनि हो ।

शब्दको विभत्स हत्या गरेर, तिनको लाशमाथि उभिएका हामी किसिम किसिमका लेखक — हामीलाई शब्दहत्याको अभियोग लाग्छ कि लाग्दैन ?

आफ्नै लागि शब्द लेख्दा, मेट्दा, केर्दा, च्याप्दा वा चाट्दा त केही छैन । कसैले भन्न पनि पाउँदैन । आफैँ पढ्ने । आफैँ स्याबास भन्ने । उदाहरणका लागि एक जना भाइ छन् । दुईवटा फेसबुक आइडी छन् । नाम फरक फकर, मान्छे उही । एउटाबाट कविता पोस्ट गर्छन् । अर्कोबाट सेयर पनि गर्छन् र कमेन्ट पनि लेख्छन् — वाह गुरु ! जगब आयो गुरु ! मार डालोगे क्या ?

तर जब हामी शब्द लेख्छौँ, छाप्छौँ र बेच्छौँ, अथवा पाठकको समय पिउँछौँ, हामीले शब्दहरूमा जीवन भर्नु जरुरी हुन्छ । नत्र, ‘अलिऽऽकति फुटेको त हो नि, बोक्रो’ भनेर अण्डा बेच्न सकिन्छ र पसलमा ?

कुरो त्यस्तै हो ।

कहिलेकाहीँ आक्रोशित हुन्छु । किताब हुन्छ निमुखकाको मुद्दामा । उपन्यास, भनौँ । मूल्य ४५० मात्र । भाषा — प्राध्यापकको । एउटा निमुखो परिवारमा ४५० रूपियाँ भनेको महिनाभरिको घरखर्च । अथवा आधा महिनाको । त्यस निमुखोले न किन्न सक्छ, न पढेर बुझ्छ । उसको फगत नाम बेचिन्छ ।

‘तादी किनारको गीत ! नै भनौँ न । किन अरूलाई भन्नु ? माझीको कथा ।

पढे त माझीले ?

तर्क छ — उसले पढ्ने होइन नि त । माथिकाले पढ्ने — नीति बनाउनेले ।

मान्छु । तर नि, त्यस निमुखाको चेतना नउठाउँदासम्म माथिको नीति बलेँसीको पानी हो । आउँछ । बग्छ । जान्छ । राउटै जङ्गलमै । चेपाङ झाडीमै । माझी नदी किनारमै । मकै पोल्ने आमा सडक किनारमै ।

राजनीति पो भयो कि क्या हो ?

भएन । यति भन्न पाइन्छ । कुरो लेखनको छ । शब्दको ।

गायत्री स्पिभाकलाई सम्झन्छु । लास्टै अप्ठ्यारो लेख्छिन् । बुझ्दा सारै सजिलो । एक ठाउँ उनको भनाइ छ — सबाल्टर्नको ‘इमेजिनेशन’ लाई ‘ट्रेइन’ गर । भनेको, तिनको कल्पनाप्रक्रियालाई नै प्रशिक्षित गर । भनेको, उनीहरूभित्रको लघुताभास हटाऊ । सोच्ने तरिका फरिदेऊ । आफैँलाई बन्धनमा कल्पना गर्छन् नि, ती बन्धन तोड्न सिकाऊ ।

लेखकले गर्ने काम । कति कति ।

लेखनलाई नरम शब्दको मेला बनाउन पनि सकिन्छ ।

लेखनलाई गरम शब्दको आरन बनाउन पनि सकिन्छ ।

तर लेखनलाई शवगृह बनाउन त भएन नि ।

शब्द शब्द जीवन हून् । तिनको पनि अधिकार हुन्छ । तिनमा पनि आवाज हुन्छ ।

मार्न पाइँदैन । बन्दी बनाउन पाइँदैन । अपाङ्ग तुल्याउन पाइँदैन ।

अन्ना क्यारेनिनाले काल्पनिक उपन्यासभित्रबाट उठेर लियो टोल्स्टोयलाई किन हपारिन् ?

पिरान्डेलोका पात्र लेखकलाई किन लखेट्छन् ?

किन ध्रुवचन्द्र गौतम वा रोशन थापा नीरवका कतिपय रचनाका पात्र लेखकलाई र्याखर्याख्ती पार्न आइपुग्छन् ?

वास्तविक संसारको कुरा छोडौँ, एउटा लेखकलाई काल्पनिक संसारका काल्पनिक मान्छेलाई पनि थाङ्नामा सुताउने अधिकार हुँदैन ।

थाङ्ना धोइरहनु कि, कसो हो?