कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

================

निन्याउरो र न्याउरो अनुहारमा केही बाहिरी हासोपना

वर्षौं कटाउन छ जेलभित्र तर पनि देखिन्न अल्छिपना ।

निर्दोष अपराधी त्यो त खै के हो आफ्नै मलाई सोध

कानुनको नजरले भयौ तिमी देश अनि समाजको बोझ ।

केही वर्ष दुख गर तिमी हौ नेपाल आमाको वीर छोरा

ढलेको लोटा उठेन घरमा परे यहाँका चामलको बोरा ।

निद्राको कुनै प्रवाह छैन तिमीलाई पालो छ तिम्रो रातमा

सत्य झुटो सबै बुझिसके उभियौ सयौँको माझमा ।

पानी फोन र  रछ्यान सुविधा अरु त उस्तै देखिए

साथी तिमी नरिसाउ है मैले जे देखेँ त्यही लेखेँ ।

 

रिस, झगडा र कुटपिट सधैँका लागि टाढा गए

अनुशासन र अब्बल भयौ तिमी सबै तिम्रा साथी भए ।

सुग्घरसफा दैनिकी तिम्रो यो घरकै बुहारी बनेऊ

आफन्त सम्झी बिरामी भएको खुब तिमीले सेवा गरेऊ ।

जात र धर्म, धनी र गरिब एक बनाइराखेका छौ

कसलाई व्यवहार के गर्दा हुन्छ सब तिमीले जानेका छौ ।

अरु दिन त्यसै बिते नि तिम्रो पालो र गन्तीमा

दलालमुनि आउँछ निष्पक्ष गर्छौ राखेनौ खल्तीमा ।

गाह्रो र साह्रो काम पर्छ साथी तिम्रो नै काधमा

हाँसी र खुसी गरेको देख्छु सधैँ सबको माझमा ।

 

आवाज तिमीले सुरिलो पारी माइकमा खै कसरी बोलायौ ?

झुट हैन साथी साँच्चै नै भने मलाई रेडियोले बिर्सायो ।

कसले गर्छ नराम्रो काम नगर भनी बुझाउँदै हिँड्छौ रे

खाना र पानी बिरामी पो छौ कि ख्याल राख्दै हिँड्दै छौ  रे ।

रोकिए तिम्रा मोजमस्ती सबै कुन दिन फुलाउँला

बाहिर तिम्रो भेट भयो भने सबै गुण चुकाउँला ।

कोठा ढोका अनेकनमा पालो बस्छौ नि हप्तामा

स्वागत तिम्रो भेटघाटमा तिम्रो दोष छैन आत्मामा ।

ठूलो र जान्ने सोचेनौ कहिले हातमा कलम छ

जे जस्तो गर्यो सेवाको कार्य सबैलाई सलाम छ ।

शरणप्रसाद प्याकुरेल, डिल्ली बजार कारागार