दुवै महिला र पुरुषहरू यौन सिकारीको पन्जाबाट सुरक्षित हुन सक्दैनन् ।यद्यपि पुरुषहरूभन्दा महिलाहरू नै अत्यधिक रूपमा पीडित हुने गर्छन् । यसको अर्थ हो, महिला भन्दा पुरुष यौन सिकारीहरूको बाहुल्यता हुनु । यसैकारण हलिउडमा ‘मि टु मुभमेन्ट’ सुरुवात भएको थियो । यही अभियानको तरङ्गपछि बलिउडमा पनि देखियो । त्यसपछि अभियानले नेपाली चलचित्र उद्योग र नाट्य क्षेत्रमा पनि निरन्तरता पायो । अफसोस! यसले हलिउडमा जुन व्यापकता पाएको थियो, त्यो स्तरको व्यापकता बलिउड, नेपाली चलचित्र उद्योग र नाट्यक्षेत्रमा भने पाएन । सङ्क्षेपमा भन्नुपर्दा, सो अभियानले मूर्त रूप लिन सकेन । उसो भए के महिलाहरू सधैँ पीडित हुनुपर्ने हो? यौन सिकारीबाट सधैँ पेलिनु, शोषित हुनुपर्ने हो? अवश्य होइन ।
यौन सिकारी यस्ता व्यक्ति हुन् जसले अर्को व्यक्तिसँग अनुचित, गलत र अपमानजनक तरीकाले शारीरिक सम्पर्क राख्छ वा राख्न उद्यत रहन्छ । यौन सिकारीले सम्भोगलाई अरू व्यक्तिमाथि अधिकार जमाउने वा नियन्त्रण गर्ने विधिको रूपमा प्रयोग गर्छ । यस्ता व्यक्ति परिवार भित्रकै सदस्य, साथीभाइ, कार्यलय प्रमुख, सहकर्मी, व्यापार साझेदार, प्रेमी वा प्रेमिका जो कोही पनि हुन सक्छ । यस्ता व्यक्ति हाम्रै वरिपरि हुने गर्छ, परिचित अनुहार नै हुन्छ तर हामी त्यस्ता व्यक्तिलाई पूर्ण रूपमा चिन्न सकिरहेका हुँदैनौँ । त्यस्ता व्यक्तिका वास्तविक रूप देख्न र वास्तविक नियत बुझ्न सकिरहेका हुँदैनौँ । जसकारण हामी सजिलै ठूलो समस्याको भुमरीमा फस्न पुग्छौँ । जीवनमा यस्तो जटिल समस्याबाट अलग रहन अथवा यौन सिकारीको पन्जाबाट उम्कन वा बच्नका लागि सर्वप्रथम त्यस्ता व्यक्तिलाई चिन्न र बुझ्न सक्नुपर्छ । आखिर चिन्ने कसरी? यसका लागि त्यस्ता व्यक्तिले देखाउने व्यवहार र सङ्केतहरूबारे सचेत रहन सक्नुपर्छ । मनोचिकित्सक लियोनी एडम्सनअनुसार कुनै पनि यौन सिकारीमा निम्नानुसारका व्यवहार र सङ्केतहरू स्पष्ट रूपमा देख्न सकिन्छ ।
सचेत रहने –
यौन सिकारी सम्बन्धको सुरुवाती चरणमा निकै सचेत रहन्छ । उसको सम्पूर्ण ध्यान महिलालाई कसरी आफूप्रति आकर्षित गर्ने र खुसी राख्ने भन्नेमा हुन्छ । उसले उच्च स्तरको प्रेम, सद्भाव र शिष्टता देखाउन थाल्छ । धैरै फोन र म्यासेज गर्न थाल्छ । हरेक सुख र दुःखमा साथ रहने वचन दिन्छ । महिलाको हरेक आवश्यकता पूर्ति गर्नमा र सपना साकार पार्नमा ऊअगाडि उपस्थित हुन्छ । महिलाले असीमित प्रेम र सद्भाव पाएको अनुभूत गर्छिन् । अन्ततः उनी यौन सिकारीप्रति निर्भर रहन पुग्छिन् । यसरी यौन सिकारीले ‘ग्रुमिङ प्रक्रिया’ सफलतासाथ अगाडि बढाउँछ र आफूले चाहेको जो कोही महिलालाई सहजै आफ्नो पन्जामा राख्न सक्छ ।
विचार तोडमोड –
यौन सिकारीले प्रेमलाई गम्भीरतापूर्वक लिँदैन । प्रेमिका अर्थात् महिला साथीप्रति कहिल्यै पनि गम्भीर र वफादार हुँदैन । उसले प्रेम सम्बन्धलाई केवल समय कटाउने, मनोरञ्जन गर्ने माध्यमको रूपमा लिएको हुन्छ । महिला साथीप्रति सम्मानको भाव राख्दैन । आफ्नो अपेक्षा पूरा गर्न नसक्ने सम्पूर्ण कुराको मजाक उडाउन सङ्कोच मान्दैन । चाहे त्यो महिला साथीको ड्रेसअप होस् या महिला साथीले सङ्गत गर्ने अरू साथी नै किन नहोस् । यदि महिला साथीले प्रतिकार गरे, चुनौती दिए उसले आफ्नो विचार तोडमोड गर्छ । सुचनालाई बङ्ग्याउन थाल्छ । झुटो बोलीको साहरा लिन्छ । महिला साथीलाई नै अपराध बोध अनुभूत गराउन, गलत साबित गर्न सफल हुन्छ । अन्ततः महिला अति थकित हुन्छिन्, हार खान्छिन् र यौन सिकारी प्रेमीसामु झुक्न बाध्य हुन्छिन् ।
सामान्यीकरण –
यौन सिकारीले सम्बन्धको सुरुवाती चरणमा देखाउने प्रेम र सद्भाव अन्त्य गर्छ । महिलामाथि दुर्व्यवहारको चक्र सुरुवात गर्छ । उसले महिलामाथि गर्ने भावनात्मक, मनोवैज्ञानिक र शारीरिक दुर्व्यवहारले हद पार गर्न थाल्छ । त्यसपछि महिला निरीह हुन पुग्छिन् । त्यो प्रकृतिको दुर्व्यवहार सामान्य रूपमा लिन थाल्छिन् । आफू त्यो खालको दुर्व्यवहार सहन लायक रहेकी भनेर पनि गलत बुझाइ विकास गर्छिन् । अझ यसो भनौँ, महिलामा पीडित मानसिकताको विकास हुन पुग्छ ।
जिम्मेवारीबाट टाढिने-
यौन सिकारीले सम्बन्धमा जिम्मेवारी लिन चाहँदैन । कुनै गलत परिस्थिति सिर्जना भए, अनपेक्षित परिणाम प्राप्त भए उसले सम्पूर्ण दोष आफ्नी महिला साथीलाई थोपार्ने गर्छ । सकेसम्म आफू चोखो हुने, पन्छिने र माथि हुने कोसिस गर्छ । यदि महिला साथीले प्रतिकार गरेको खण्डमा सम्बन्ध तोड्ने धम्की दिन्छ । यति मात्र होइन, महिला साथीलाई गिराउन र समक सिकाउन कुनै पनि हदसम्म जान सक्छ ।
महिलाको उपहास-
यौन सिकारी आफूकेन्द्रित हुन्छ । उसले आफ्नो फाइदाको मात्र हिसाब राख्छ । कुनै पनि महिलासँग प्रेम सम्बन्ध राख्न सफल भए त्यसमा समर्पण, प्रतिबद्धता र इमान्दारिता होइन, व्यक्तिगत फाइदा खोज्छ । आफ्नो आवश्यकता परिपूर्ति गर्नमा मात्र तल्लीन रहन्छ । महिला साथीको विचार, भावना र आवश्यकता बुझ्न चाहँदैन । त्यसैगरी उसले महिला साथीको विगतबारे जान्ने हर प्रयास गर्छ । विशेषतः यौन जीवनबारे जिज्ञासा राख्छ । आफ्नो र महिला साथीको भुतपूर्व प्रेमीको यौन क्षमता, प्रदर्शन मूल्याङ्कन एवं तुलना गर्छ । सकेसम्म त्यस मामिलामा आफू नै अब्बल, उत्कृष्ट रहेको निष्कर्ष निकाल्छ अनि त्यसैमा गर्व महसुस गर्छ । कहिलेकाहीँ महिला साथीको कमजोर यौन क्षमता, प्रदर्शनप्रति अनुचित प्रश्न उठाउँछ । त्यसैको आधारमा महिला साथीलाई होच्याउने र भद्दा मजाक उडाउने गर्छ । त्यसैगरी उसले महिला साथीलाई कृत्रिम प्रेममा फसाएर वा पैसाको प्रलोभन देखाएर पूर्ण रूपमा नियन्त्रण गर्ने र आफूअनुकूल फाइदा उठाउने कोसिस गर्छ ।
सीमा नाघ्ने-
यौन सिकारीले महिलाको क्षेत्राधिकार र गोपनीयताको कदर गर्दैन । उसले महिलासँग शारीरिक सम्पर्क राख्ने क्रममा सीमा नाघ्न समय लगाउँदैन । आफ्नो सन्तुष्टिका लागि अप्राकृतिक तथा असुरक्षित यौन क्रियाकलापलाई बढी जोड दिन्छ । कतिपय अवस्थामा महिलालाई अरू पुरुषसँग समेत शारीरिक सम्बन्ध राख्न दबाब दिन्छ र त्यो सम्बन्ध क्यामेरामा कैद गर्छ । अनि निकट भविष्यमा त्यही फोटोहरू एवं भिडियोहरू देखाएर निरन्तर ब्ल्याकमेल गर्छ । त्यसपछि महिलाले आफू विषाक्त सम्बन्धमा रहेको, अपमानित हुनु परेको र यौन सिकारीको फन्दामा जेलिएको अनुभूत गर्छिन् ।
महिलालाई कमजोर बनाउने-
यौन सिकारीले महिलाप्रति कहिल्यै राम्रो दृष्टिकोण राख्ने र व्यवहार गर्दैन । महिलाप्रतिको हर नकारात्मक दृष्टिकोण र व्यवहारलाई सही रहेको भनेर तर्क गर्छ । उसले महिलासँग साँचो प्रेमको नाटक गर्छ । जीवनभरि साथ रहने झुटो आश्वासन दिन्छ । त्यसैगरी उसले महिलालाई परिवार, साथीभाइ तथा शुभेच्छुकहरूको नियमित सम्पर्क र अन्तःक्रियाबाट अलग गरिदिन्छ । यसबाट कुनै रोकटोक बिनायौन गतिविधिमा क्रियाशील हुन उपयुक्त वातावरण सिर्जना हुन्छ । अनि ऊ सोही वातावरणमा यौन सुखप्राप्तिका लागि महिलालाई भरपुर प्रयोग गर्छ । जसकारण महिलाले आफू प्रत्येक दिन शारीरिक र मानसिक रूपमा शोषित हुनुपरेको, एक्लो भएको महसुस गर्छिन् । यस्तोमा ती महिलाको दुःख र पीडा सुनिदिने, त्यसलाई बुझिदिने र समानुभूति भाव राखिदिने कोही हुँदैनन् । अन्ततः ती महिला निकै कमजोर हुन पुग्छिन् र भित्रैदेखि पूर्ण रूपमा टुट्न पुग्छिन् ।
घमन्ड गर्ने-
यौन सिकारी घमन्डी स्वभावको हुन्छ । उसले धेरै महिलासँग शारीरिक सम्पर्क राख्नुलाई पुरुषार्थ ठान्छ । आफूले प्राप्त गरेको ठूलो सफलताको रूपमा चित्रण, व्याख्या गर्छ । अनि ऊ यसैमा अधिक रमाउनुका साथै घमण्ड गर्छ । पीडित महिलालाई सधैँ आफ्नो नियन्त्रणमा राख्न खोज्छ । उसले समाजमा असल व्यक्तिको नकाब लगाएको हुन्छ । कुनै एक पीडित महिलाले आवाज उठाए पनि उनले लगाएको त्यो नकाब झर्दैन । भनाइको तात्पर्य, उसको असल व्यक्तिको छवि धमिलो हुँदैन ।
केही प्रभावकारी कार्यविधिहरू
यौन सिकारीको सोच्ने प्रक्रिया, स्वभाव र सङ्केतहरूबारे स्पष्ट भइसकेका छौँ । त्यसैगरी यौन सिकारीसँगको सम्बन्धले जीवन कति कष्टपूर्ण हुन्छ भन्ने पनि बुझिसकेका छौँ । त्यसैले जीवनलाई परिपूर्ण र अर्थपूर्ण बनाउन त्यस्ता व्यक्तिको सङ्गतबाट टाढा, मुक्त रहनुमा बुद्धिमानी रहन्छ । यसका लागि निम्न कार्यविधिहरू अवलम्बन गर्न सकिन्छ-
सिधा कुरा राख्ने-
यौन सिकारी निडर र सिधा बोल्ने महिलादेखि त्रसित रहन्छ । कुनै पनि किसिमको सम्बन्धका लागि प्रस्ताव राख्ने हिम्मत गर्दैन । यदि प्रस्ताव राख्नै परे पनि दश चोटी सोच्छ । मानौँ तपाईँ कुनै साङ्गीतिक कार्यक्रममा हुनुहुन्छ । मानौँ तपाईँ नाचगानमा मस्त हुनुहुन्छ । यसै क्रममा कुनै एउटा पुरुषले तपाईँको संवेदनशील अङ्गमा हात लगायो भने? यस्तोमा तपाईँ केही बोल्नु भएन भने? त्यो पुरुषले तपाईँले दिएको सकारात्मक सङ्केत बुझ्छ । यस अतिरिक्त तपाईँ कमजोर रहेको सोच्छ र थप फाइदा उठाउन लालायित हुन्छ । यसको ठीक विपरीत यदि तपाईँ निडरता साथ ती पुरुषलाई चुनौती दिनुभयो भने? ती पुरुषले गरेको हर्कत सबैको अगाडि बोलिदिनुभयो भने? स्वाभाविकरूपमा ती यौन सिकारी पुरुष तपाईँदेखि हच्किन्छ नै । जसकारण तपाईँ शारीरिक दुर्व्यवहारबाट सुरक्षित रहन सक्नुहुन्छ । त्यसैले भावनात्मक, मनोवैज्ञानिक र शारीरिक दुर्व्यवहार सहनुपर्दा मौन नबस्नुस् । आत्मविश्वासी रहेर यौन सिकारी विरुद्ध आफ्नो सिधा र स्पष्ट धारणा राख्नोस् ।
सुरक्षा योजना सुनिश्चित गर्ने-
यौन सिकारी निकै चनाखो रहन्छ । आफ्नो महिला साथीको सम्पूर्ण वास्तविकता, पक्षहरूका बारेमा जानकार रहन्छ । उसलाई भ्रममा राख्न सकिँदैन । सम्बन्धमा कुनै परिवर्तन आउनेबित्तिकै उसले थाहा पाइहाल्छ । यदि त्यो परिवर्तन आफूअनुकूल छैन भने उग्र रूप लिन सक्छ । मानौँ तपाईँ एउटा पुरुषसँग प्रेममा पर्नुभयो । प्रेम सम्बन्धमा रहेको तीन महिनापश्चात् तपाईँले ती पुरुष यौन सिकारी रहेको पत्ता लगाउनुभयो । मानौँ तपाईँले ती पुरुषबाट टाढिन खोज्नुभयो । ब्रेकअप दिने सोच बनाउनुभयो । कम भेट्ने र संवाद गर्न थाल्नुभयो । यस्तोमा ती पुरुषले तपाईँप्रति शङ्काको दृष्टि राख्छ र कुनै पनि बेला उग्र रूप लिँदै आक्रमण गर्न सक्छ । त्यो आक्रमण मौखिक, भौतिक या दुवै पनि हुन सक्छ । यस्तो अवस्थामा आफू कसरी सुरक्षित रहने भनेर सुरक्षा योजना सुनिश्चित गर्नोस् । जब तपाईँले सुरक्षित रहन पूर्वतयारी गर्नुहुन्छ जस्तोसुकै आक्रमणमा पनि तपाईँको विजय हुन्छ ।
कानुनी उपचारको प्रयोग गर्ने-
यौन सिकारीले आफ्नी महिला साथीबाट अस्वीकृत र अपमानित भएको हेर्न सक्दैन । त्यसलाई पूर्ण रूपमा स्विकार्न सक्दैन । ऊ कुनै पनि हालतमा महिला साथीबाट अलग रहेर बस्न चाहँदैन । कुनै एक महिलाको कारण इगो (अहम्) मा चोट लाग्नु उसका लागि असह्य हुन सक्छ । जसकारण उसले जस्तोसुकै खतरनाक निर्णय लिन र दुष्कर्म गर्न सक्छ । उदाहरणका लागि अपहरण गर्ने, बलत्कार गर्ने, हत्या गर्ने, एसिड आक्रमण गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने जस्ता निन्दनीय कार्यहरू गर्न सक्छ । मानौँ तपाईँ एउटा यौन सिकारीको फन्दामा पर्नुभयो । मानौँ तपाईँले उसलाई ब्रेकअप दिएको र सधैँका लागि सम्बन्ध अन्त्य गर्न चाहेको प्रतिबद्धता सुनाउनुभयो । उसले त्यो कुरालाई सहर्ष स्वीकार गर्न सक्दैन । तपाईँको पिछा गर्न थाल्छ । तपाईँलाई नयाँ नयाँ फोन नम्बरबाट फोन र म्यासेज गर्न सक्छ । उसैबाट परिचालित अपरिचित व्यक्तिले तपाईँसँग सामाजिक सञ्जालमा जोडिने प्रयास गर्न सक्छ । तपाईँको गतिविधि नियाल्न थाल्छ । यसको अर्थ हो, तपाईँको सुरक्षा जोखिममा हुनु । यस्तो अवस्थामा त्यस्ता अपरिचित र साइको व्यक्तिसँग एक्लै भिड्ने कोसिस नगर्नोस् । परिवारको साथ लिनुस् । सकेसम्म धेरै सुचनाहरू सङ्कलन गर्नोस् । केकस्ता कानुनी प्रावधानहरू छन्, ती कुराहरू अध्ययन गर्नोस् अनि यौन सिकारीलाई कानुनी उपचार दिन मुद्दा दर्ता गरिदिनुस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।