“कविता कसरी लेख्ने?”

यस प्रश्नको उत्तर यस लेखमा पाइँदैन ।

“राम्रो कविता कसरी लेख्ने?”

यस प्रश्नको जवाफ पनि पाइँदैन ।

पंक्तिकारलाई त्यसको उत्तर थाहा भएको भए आफैँले अलि गतिलो कविता लेखेर लछारपाटो लाउनुपर्ने हो । तर त्यसो त भएन ।

कविता कसरी लेख्ने ? यस प्रश्नको उत्तरमा ठेलीका ठेली पुस्तक बजारमा छन् । मेरो अनुमान छ — ती पुस्तक पढेर कोही पनि कवि भएन । म यो अनुमानमा सदैव कायम रहने छु ।

यस्ता अनेक ठेली लेखेका विशुद्ध समालोचकज्यू, सिर्जनाका विधाहरूमा असफल देखिए । अँ, आफूले पढाउने कक्षा कोठमा चाहिँ सफल । नत्र, नम्बर…!

हाम्रो कम्पनीको ब्रसले माझ्यो भने थोते गिजामा पनि दाँत सुन्दर पलाउँछन् भनेजस्तो दावी सुनिन्छ । दाँत पलाएको देखिएन । खुइलिएको टाउकोमा कपाल पलाउँछ भनेर महँगो सेम्पु दलेजस्तो भनौँ न । कपाल पलायो पलाएन, सबैलाई थाहा छ । घरको बजेट चर्केको हेरौँ न !

कविता कसरी लेख्ने ? अनेक भिडियो छन् । मेरै पनि पो छन् त एक दर्जनजति । प्रशिक्षण कति हो कति ।

ती सुनेर कोही कवि भएन । भएको छ भने, नाम पाऊँ ।

आफ्ना कुनै प्रियजनलाई क्यान्सर भयो भने डाक्टरले अन्तिम विन्दुसम्म केके केके गर्छ । छोड्दैन । यद्यपि, परिणाम उसलाई पहिल्यै थाहा हुन्छ । यहाँ पनि कुरो उही हो ।

तत्त्व सिकेर कविता लेखिँदैन । सचेतचाहिँ होइन्छ ।

भाषा सिकेर पनि कविता लेखिँदैन । शुद्ध वा सूत्रबद्ध भने लेखिएला ।

उमेरको बाँसलाई छिरल्न सकिन्छ । ताछ्न सकिन्छ । डाँडाभाटा बनाउन सकिन्छ । डोका, फुर्लुङ, घुम, डाली, फुङ्चो वा बाँसुरी… केके केके पनि बनाउन सकिन्छ । तर, बाँस उम्रनुपर्छ । कनेर बाँस उमारेको चाहिँ देखिएन ।

मेरा एक जना विद्यार्थीलाई ओक्सफोर्ड मिनी शब्दकोश कण्ठै थियो । “२८ दिनमा अङ्ग्रेजी फरर” वाला क्लास पढाउँदा रहेछन् । एउटै कविता लेखेनन् जिन्दगीमा । अँ, दुइटा कथा भने लेखे । दुवैमा टोफेल र जिआरईका शब्दले सास फेर्ने ठाउँ दिएन । ज्यानमारा साहित्य । कसोकसो बचेर निस्किएँ नि म । मृत्योरमाऽमृतम गमय ।

अहिले हराए तिनी । ठिकै भयो कि क्या हो ?

कुरो फेरि बाँसघारीमा पुग्यो । बाँसुरीमा पनि ।

बाँसको कुड्को छ । प्वाल छन् । औँला छन् । हावा छ । तर धुन ?

खै, कसरी आउँछ हौ त्यति मीठो धुन ?

बाँस हुँदैमा, प्वाल हुँदैमा, हावा हुँदैमा, वा फुक्दैमा धुन नबन्दो रहेछ । बन्दो हो त, म बाँसुरीवादक बनिसक्थेँ । रहर त खूब थियो । कम्ता फुकियो, जिन्दगीमा ? फुस्स !

केटाकेटी हुँदाको एउटा घटना सम्झेँ । छिमेकमा साथी थियो टेकनाथ आचार्य । ‘अचार्ज काले !’ भन्थ्यौँ । कठै, कता होला अहिले ! धेरै भयो भेटघाट नभाको ।

उसका घरमा खेल्न गएँ । बाआमा नरहेको मौका पर्यो । शङ्ख बजाउन सिक्ने भयौँ । बजायौँ एकोहोरो शङ्ख ! एकछिनपछि छेउछाउका मान्छे भेला भए — मलामी जान । हैट ।

यस्तो एकोहोरो फुकेर कविताले जिउँदै मलामी बोलाउँछ । बोलाएकै त छ । शब्दहरूको लास छ । पानाहरूको कात्रो । चौधौँ सङ्ग्रह प्रकाशित भएर पनि लेखक अपरिचित ।

यो कविताको गरुड पुराण हो ।

फेरि बाँसकै कुरा गरौँ ।

बाँसको टुक्रामा बाँसभन्दा फरक केही देख्ने आँखा छ ? ती प्वालहरूमा सिर्जनाका द्वार देख्ने दृष्टि छ ? त्यस स्वासभित्र जीवनको निनाद सुन्ने कान छन् ? छन् भने त्यहाँ कविताको मुहान छ । प्रशिक्षण, उद्बोधन वा सिद्धान्तका ग्रन्थले सहयोग गर्न सक्छ । नत्र त — भो, नकुरा गरम् ।

कविताका नाममा पनि धेरै फुकियो बाँस । कति कति । फा…फू…भ्वाँ — यस्तै केही त आउँछ । त्यसैलाई धुन भन्नु ?
बाँसघारीका बाँस, र बाँसुरी — शब्दका चाङ र कविता । हो, कुरा यहीँ छ ।

बाँसुरी बजाउन त जानिनँ, तर बाँसुरी बन्ने बाँस चैँ म चिन्छु ।

बाँसघारीमा कस्ता कस्ता बाँस भेटेँ ! यिनमै भेटेँ जीवनमा बाँसुुरीहरू । तिनैबाट गुञ्जिरहन्छ जिन्दगीको धुन । सुनाऊँ ?
सुन्नुस् केही कालजयी धुनहरू — कविताका !

“प्रेम गर्नका लागि सबैभन्दा सुन्दर ठाउँ धरती हो !” — रोबर्ट फ्रोस्ट ।

“सम्पन्नताको बाटोले पनि पुर्याउने त चिहानसम्मै न हो !” — टोमस ग्रे ।

एउटाचाहिँ हिन्दीमै लेखेँ है—

“कोई अपसाना जिसे अन्जाम तक लाना न हो मुमकिन
उसे एक खुबसूरत मोड देकर छोडना अच्छा !” — साहिर लुधियानवी

“सुनिएका गीत मीठा हुन्छन् । नसुनिएका झनै मिठा हुन्छन् ।” — जोन किट्स ।

“हाम्रा त, सबैभन्दा मिठा भनिएका गीत पनि ती हुन्, जसमा सबैभन्दा बढी दर्द भरिएको हुन्छ ।” — पीबी सेली

“बालक भनेकै बालकको पिता हो ।” वर्डस्वर्थ ।

झाङबाट उठेर आकाश छोएका बाँस हुन् यी । यिनको आयु सृष्टिको आयुजत्तिकै लामो छ ।

नेपालतिर फर्किन्छु ।

कविता कसरी लेख्ने ? त्यो भन्नु पर्दैन ।

म केवल यी हरफहरूलाई सुम्सुम्याउन चाहन्छु । ईर्ष्या गर्न चाहन्छु । हो, ईर्ष्या नै गर्न चाहन्छु, कस्सम ।

“धरतीको दिव्य सौन्दर्य, नअटाएर पट्ट भै
फुटी बाहिर निस्कियो, पुष्पको रूपमा सबै ।” — लेखनाथ पौड्याल

“साथी यात्री बीच सडकमा
ईश्वर हिँड्दछ साथ,
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेका हात ।
छुन्छ तिलस्मी करले उसले
सेवकहरूको माथ !” — लक्ष्मीप्रसाद देवकोटा

“आई कहिल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कहिल्यै पनि नसकिने प्रीति नौलाख मेरो ” — माधव घिमिरे

“सङ्कट पर्दछ मानिसलाई, ढुङ्गालाई के पर्छ ?” — सिद्धिचरण श्रेष्ठ

“मुक्त त ढुङ्गा हुन्छ
न उसको दुख्ने मुटु हुन्छ
न देख्ने आँखा हुन्छ ।” — हरिभक्त कटुवाल

“पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ ।” — बासु शशी

“हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएछ
हिँड्नेको पनि केही लाग्दो रहेनछ ।” — तुलसी दिवस

“मानिसको मृत्यु पनि
सिर्जनाजस्तै सुन्दर हुन सक्छ ।
मात्र एउटा फूलको विश्वास
रोपिदिन सक्नुपर्छ हामीले यसमाथि ।” — ध्रुवकृष्ण दीप

“सत्य
पानीको एउटा समुद्र हो ।
मान्छेहरूले आआफ्नो भाँडोअनुसार
त्यसलाई भरिलिन्छन् ।” — पूर्ण वैद्य

“हिउँद नहुनु सुख होइन
हिउँदको न्यानु सुख हो
ग्रीष्म नहुनु सुख होइन
ग्रीष्मको शीतल सुख हो ।” — जगदीश घिमिरे

“कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न ।” — कृष्णसेन इच्छुक

“कति कमजोर छ मान्छे,
आफैँले खिचाएको कागजको फोटेजति पनि बाँच्न सक्दैन ।” — कृष्ण प्रसाईं

“यस धरतीको सबैभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ ।” — श्रवण मुकारूङ

“पहिलो माटो, दोस्रो आमा, संस्कृतिको काख तेस्रो,
चौथो म हुँ पाँचौँ मेरो जिन्दगीको परिवेश हो ।” — नवराज लम्साल

“मानिस आफू चोइटिएर जोगाइरहेछ ईश्वर !” — मणि लोहनी

“म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु ।” — नवराज पराजुली

“केही जादु कदापि गर्न नसके त्योचाहिँ भूभार हाे
मान्छे भैकन जन्मिएपछि यहाँ गर्ने चमत्कार हो ।” — सुदेश सत्याल

धेरै छन् हृदयमा यस्ता मोतीहरू । मनमनै टिपेर माला बनाएको छु । लेख्न सकिनँ, लेखनको सीमाका कारण । जातीय, लिङ्गीय, वर्गीय हिसाबले हेरेर भन्लान् — बायस्ड । अँ, राजनीतिक पनि । तर त्यता लागिनँ ।

कुरा कविताको सर्वोच्च प्राप्तिको छ । बरू गाली नै खान्छु ल ?

कुनै कुनै कविताको समग्रता नै सूक्ति हुने गर्छ । माथिकाजस्ता एक एक हरफ निकालेर देखाउन सकिँदैन । सम्पूर्ण कविताको भूगोलमै चामत्कारिकता हुन्छ ।

यसो गरौँ । एउटा खेल खेलौँ ।

समय भयो र पटक पटक पढिरहूँजस्ता लाग्ने केही नेपाली कविता निकाल्नुपर्यो भने कुन कुन निकाल्नुहुन्छ ? ल, हाम्रा चाखहरूको तुलना गरौँ । र, यी कवितामा विशेष त्यस्तो के छ, जसका कारण यी कविता पढिरहन मन लाग्छ ? त्यो छलफल गरौँ ।

मैले मेरो तर्फबाट यी केही कविता यहाँ राखेँ । वर्ग–लिङ्गको जोखिमतिर लागिनँ । धारेहात शिरोधार्य छ । बीचमा, धेरै उत्कृष्ट पनि छुटाएँ हुँला । कतिचाहिँ जानकारी नभएको वा मैले पढ्न नभ्याएका कारण छुटाएँ । अझ कति नबुझेर छुटाएँ । पूर्वाग्रहको आरोप त लाग्ने नै छ, तर होइन । क्षमायाचनासहित यो सूची बनाएँ ।

  • “आमाको सपना” — गोपालप्रसाद रिमाल
  • “मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित ” — बैरागी काइँला
  • “छोरीलाई मानचित्र पढाउँदा” — विजय मल्ल
  • “मैनबत्तीको शिखा” — भूपी शेरचन
  • “हृदयको बालक” — तुलसी दिवस
  • “रहर” — हरिभक्त कटुवाल
  • “सर्पहरू गीत सुन्दैनन्” — शैलेन्द्र साकार
  • “गाउँको पाठशाला” – मीनबहादुर विष्ट
  • “क्रूरको सौन्दर्यप्रेम” – राजव
  • “लुतो” — श्यामल
  • “सगरमाथा नाङ्गै देखिन्छ” — विक्रम सुब्बा
  • “चट्टानहरू” — सरुभक्त
  • “हिउँमा लेखिएका नामहरू” — तीर्थ श्रेष्ठ
  • “धरतीको गीत” — दिनेश अधिकारी
  • “दाजै, कविता गाउँमै छ” — भूपाल राई
  • “गुहँगोरो अफ्रिका” — आहुती
  • “फलामको मान्छे” — दुर्गा दाहाल
  • “पानी पानी भयो जिन्दगी” — मोमिला
  • “समानता” — भीष्म उप्रेती
  • “पुरानो मानिस” — श्रवण मुकारुङ
  • “हल्ला” — विप्लव ढकाल
  • “मान्छे र घाम” — उपेन्द्र सुब्बा
  • “एउटा मानिसको प्रस्थान” — रमेश क्षितिज
  • “उज्यालोको सर्त” — राजेन्द्र सलभ
  • “दुस्मन” — मनु मञ्जिल
  • “हजार वर्षको निद्रा— भूपिन
  • “सैपालको आँगन” — हेमन्त विवश
  • “फेरि एक्लै” — हेमन यात्री
  • “आदिवासी” – सरिता तिवारी
  • “परिवर्तन” – स्वप्निल स्मृति
  • “बागी सारङ्गी” — सरस्वती प्रतीक्षा
  • “अप्ठ्यारो मान्छे” — विनोद विक्रम केसी
  • “मेरा बा किसान हुन्” — हेम प्रभास
  • “ऐना” — महेश कार्की क्षितिज
  • “बरदान” — मोहन सङ्ग्राम

केही कविताचाहिँ जानेरै छुटाएँ । जस्तो, “पागल”, “फर्सीको जरा”, “पोथी बास्नु हुँदैन”, “मेरी आमाले आत्महत्या गरेको देश”, “काठमाण्डू एक्लैले काठमाण्डू बोक्न सक्दैन”, “साला पहाड मे क्या है ?” आदि । यी कविताको चर्चा अन्य कुनै लेखमा गर्नेछु । उत्तमताभन्दा पनि आयाम बोकेका कविता हुन् ती । अर्को कुरा, यहाँ नेपालबाहिर बसेर नेपाली कविता लेख्ने कविहरूलाई समेटिनँ । छुट्टै लेख लेख्नेछु ।

के हो माथिका हरफहरूमा गरिएको ? के छ मास्तिर शीर्षक तोकिएका कवितामा ?

शब्द र भावको गहनतम मन्थन छ । कलाको उच्च सन्धान छ । त्यो पनि सरल भाषामा, सहज बुनोटमा ।

कविता लेख्ने भनेर हामी पनि त तम्सिएका छौँ । लु, हामी पनि गरौँ मन्थन्, उसैगरी ।

मन्थनमा —

१. पानी वा फिँज बनेर बगिजाँदा पनि हुन्छ । हार्दिक समवेदना ।

२. मदानी वा डोरी बनेर, अरूकै शब्द वा कुरा फिटिरहन पनि पाइन्छ । लज्जा !

३. विष बन्न पनि पाइन्छ, हलाहल । तर निलकण्ठ कतै देखिँदैनन् अचेल । हार्दिक श्रद्धाञ्जली ।

४. मन्थनबाट आफ्नो कवितालाई अमृत बनाउन पनि सकिन्छ नि । मृत्योर्मुक्षीय माऽम्रिताम् !

केही हरफ लेखेर फेसबुकमा राख्न कति सजिलो छ । यो माथि भनिएको झ्याउलोमा लाग्ने र ? उही प्राध्यापकको कक्षाजस्तो — सूत्र पुराण ।

भो त्यता नलागौँ । यता लागौँ । आफ्नै कविता पढौँ । साथीलाई सुनाऔँ । आफैँ सुनौँ ।

अब प्रश्न सोधौँ । उत्तरचाहिँ नठाँटी, आफैँलाई भनौँ मनमनै । चिट नचोरौँ ।

१. मन वा मस्तिष्क हल्लिएर कुनै झङ्कार आएको छ ?

२. भोलि–पर्सि वा पछिसम्म पिरोलिइरहने कुनै भाव, विम्ब कथन वा कुरा आएको छ ?

३. अरूलाई भलै नभनौँला, तर उत्कृष्ट हरफहरू सम्झनुपर्दा सम्झनलायक दुई हरफ आफ्नै पनि कवितामा छन् ?

४. यो कविता सुन्ने कसैले, लामो अन्तरालपछि पनि त्यसको सम्झना गरेको याद छ ? केही भनेको छ ? हरफै पो सुनाएको छ कि ? अथवा, कम्तीमा शीर्षक सोधेको छ कि ?

५. सामान्य, सबैले जानेको वा बुझेको, र सबैको निकट रहेको तर भन्न वा लेख्न बाँकी केही छ ती कवितामा ?

राम्रो कविता के हो ? फरक फरक मान्छेका फरक स्वाद, फरक कुरा । राजनीतिक दर्शनले, लिङ्गले र वर्गले छुट्याएका हामी विविध मान्छेका छनोट विविध हुन्छन् । तर, यी सबै सबै कुराभन्दा माथि एउटा उच्चतम मानवीय सौन्दर्य चेत भन्ने पनि हुन्छ । त्यो चेतको धनु हल्लाउने कविताको खोजी, यी सबै विभाजनभन्दा माथिको खोजी हो ।

अब सायद हामीलाई राम्रो कविता के हो ? — थाहा भयो ।

कुनै सिद्धान्त भनिनँ । छैन ।

सूत्र पनि भनिनँ । त्यो पर्दैन ।

आज कविता “टेस्ट इन्जिनियरिङ” हो । पाठक वा भावकको उत्कृष्ट चाख वा स्वादमा आफ्नो कुरा राख्ने एक उच्च कार्यव्यापार हो ।

राम्रा चिज अनेक प्रकारका हुन्छन् ।

कुनै चिज सामान्य हुन्छ । बुझिन्छ ।

कुनै सु्न्दर हुन्छ । त्यो पनि बुझिन्छ । व्याख्या वा वर्णन गर्न सकिन्छ ।

कुनै चाहिँ उत्कृष्ट हुन्छ । त्यसको पनि वर्णन, व्याख्या वा विश्लेषण गर्न सकिन्छ ।

कुनै सर्वाेत्कृष्ट हुन्छ । त्यो भनेको सापेक्षित कुरा हो । अरूसँग दाँज्दा पाइएको सबैभन्दा उत्कृष्ट । अरू कमसल छन् भने सामान्य पनि सर्वोत्कृष्ट हुन आउँछ । अरू उम्दा छन् भने, सवोत्कृष्ट निकै उच्चकोटिको हुन आउला । त्यसलाई पनि व्याख्या वा विश्लोषण गर्न त पक्कै सकिन्छ ।

तर, सौन्दर्यशास्त्रमा यस्तो पनि केही हुन्छ, जो अनुपम हुन्छ । वर्णनातीत हुन्छ । हाम्रो मस्तिष्कले त्यसको व्याख्या वा विश्लेषण गर्न सक्दैन । मस्तिष्क नै शिथिल हुन्छ । पराजित हुन्छ । भनौँ — हाम्रो चेतना किंकर्तव्यविमूढ हुन्छ । हामी “आँ” गरेर उभिइरहन्छौँ । तीनछक्क पर्नु भनेजस्तो ।

जस्तो —

कुनै निलो दह देखेर आह्लादिन हुनु र एक्कासि भन्नु, “वाउ !”

अथवा, गर्मीले खरिएको मानिस, चिसो दहमा एक्कासि हामफालेर, जब पानीभन्दा माथि आउँछ र लामो सास फेर्छ, उसको आनन्द वर्णनातीत हुन्छ ।

अथवा, पहाड चढ्दै गर्दा, अस्ताइसक्यो भनेको घाम, पश्चिमी पहाडको शिरबिन्दुमा जब एक्कासि देखापर्छ, त्यो दृश्यको आनन्द शब्दमा अटाउँदैन ।

अथवा, यशोदाले कृष्णलाई “नौनी चोर्यौ कि, मुख आँ गर त,” भन्दा कृष्णले आँ गरिदिए । उनको मुखमा ब्रह्माण्ड देखियो । विराट स्वरूप । त्यस भव्यताको सटिक व्याख्या गरिएकै छैन । गरिने पनि छैन ।

अथवा, ध्यानको उच्चतम स्तरमा पुगेको ध्यानीको आनन्द । त्यसको व्याख्या नै मौनता हो । विचारशून्यता हो । समाधि हो । र, समाधिमा हल्ला हुँदैन ।

त्यस्तो चीज वा वस्तु “सब्लाइम” हो । त्यो उदात्त हो ।

कविताको उच्चता पनि त्यही हो । त्यस उच्चताभन्दा तलका सबै सिर्जनाहरू —

अभ्यास हुन् — एक दिन त कसो नहोला ?

सिको हुन् — यस्तै हुने, उस्तै हुने ।

एजेन्डा हुन् — दलका, पार्टीका, उताका, यताका ।

रहर हुन् — सबै गरिरहेका छन्, गरौँ न त !

दौड हुन् — पछि परिएला भनेर सुरू गरिएका ।

ईर्ष्या हुन् — त्यसलाई नपछारी छोड्दिनँ, लेखेरै ।

लोभ हुन् — नामको, दामको, दोसल्लाको, खादाको, खामको ।

दाबी हुन् — विचारको, तर्कको, पहिचानको । सुुन्दर कुरा ।

तर, सबै सबैभन्दा माथि, कविताको अर्कै प्राप्ति छ — त्यो सब्लाइम सत्ता । त्यो उदात्त सत्ता, जहाँ पुगेर हाम्रो चेतनका सबै सबै पुर्जाहरू अतिशय आह्लादका कारण असहाय बनिदिन्छन् ।

कवि मेथ्यू आर्नोल्डले यस्तै कवितालाई ‘टचस्टोन’ भने । यानि, ‘कसी’ भने । यस्ता हरफ हेरेर, अरूका कविताको स्तरको मापन गर्न सकिन्छ भने ।

उफ्, कति जटिल ! कविता खेलाँची नै होला भन्ठानेको थिएँ । यानि —

— सम्पादकले मागे । ख्यासख्यास लेखेर दिएँ ।

— प्रकाशकले भन्यो, “तपाईंजत्तिका मान्छेले यति थोरै लेख्ने ? अलि थप्नुस् न । कमसे कम १०० पेजको किताब त होस् ।” अनि, रातभरिमा लेखेर भोलिपल्ट… अनि, १० दिनमा विमोचन ।

— ‘राष्ट्रभक्ति’ विषयको प्रतियोगिता हुने भयो, लेख्दिएँ । ‘महिला सशक्तीकरण’ विषयको प्रतियोगिता हुने भयो, लेख्दिएँ । ‘आदिकवि भानुभक्त’ विषयको प्रतियोगिता हुने भयो, लेख्दिएँ । ‘देवकोटा’ विषयको प्रतियोगिता हुने भयो, लेख्दिएँ । ‘वनको नाश, जीवन विनाश’ वषयको प्रतियोगिता हुने भयो, लेख्दिएँ । अरू केके पो थिएँ, बिर्सेँ । माफ पाउँ । सबै आउने, लेखिदिएँ । के थियो र ?

— म खासै कवि त होइन । उद्घोषकले भनिहाल्नुभयो । अहिले, यहीँ बसेर लेखेको एउटा सुनाउँछु । यो शादूलविक्रीडित छन्दमा छ ।

यसो गरौँ । कवितालाई अहिले छोडौँ एकछिन्लाई । बोर भो ।

एकछिन हामी कल्पना गरौँ — हामी त्यो सब्लाइम वा उदात्त तहमा छौँ । त्यहाँ उक्लिऔँ, कल्पनामा । मानौँ, हामी त्यहाँ छौँ ।

अब, तल हेरौँ, तऽऽऽऽल । हाम्रा कवितालाई हेरौँ ।

तल, तल, तल…कहाँ छन् ? धेरै तल ? अलि माथि ? निकै माथि ?

उचालौँ । उकासौँ ।

हैस्टे !

सकिन्छ ?

सकिन्छ । किन नसक्नु ?

ती जाबा साना साना मानसिक विकारबाट मुक्त हुनु त हो नि !

साधना गर्नु त हो ।

तपस्या गर्नु त हो ।

ध्यान गर्नु त हो ।

किन नसक्नु ।

कविता भोलि लेखौँला । आज कविताको सन्धान सुरू गरौँ । त्यो सब्लाइम भेट्टाउने चिन्तन सुरू गरौँ ।