सुरुमै तपाईलाई स्पष्ट भनिदिऊँ– यो आधा कथा हो, आधा समाचार ।

कथा लेख्न सजिलो छ, समाचार लेख्न गाह्रो । समाचार लेख्दा देखिएको/सुनिएको जेजे हो त्यही–त्यही लेख्नुपर्छ । तर देखेको÷सुनेको सबै लेख्दा व्यक्तिको गोपनीयताको प्रश्न आउँछ, पत्रकार आचारसंहिताले पनि मिल्दैन ।

इटहरी, बालग्राम चोकबाट उत्तर जाने दुईवटा मध्ये जुनबाटो छिरे पनि अलि अगाडि जय नेपाल टोल आउँछ । त्यहाँ ‘जय नेपाल चोक’ लेखिएको बोर्ड छ, जसले तपाईलाई थाहा दिन्छ– प्रजातान्त्रिक समाजवादको स्थानीय दसगजा यतै छेउछाउ कतै छ ।

जय नेपाल चोक लेखिएको बोर्डभन्दा केही उत्तर ठाडो बाटोको तेस्रो मोडबाट पश्चिम छिर्दा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी, दुःखीलाल चौधरीलगायत मिलेर गरेको प्लटिङ कारोबारस्थल पुगिन्छ ।

छेउमा पोखरीको डिल छ । डिलमा चढेर तपाई घटनास्थलको फुटेज सजिलै सङ्कलन गर्न सक्नुहुन्छ ।

हावा नचली पात हल्लिँदैन भन्ने उखानको फेरो समात्दै २०७७ वैशाख २३ गते मङ्गलबार बिहान नौ बजे घटनास्थल पुगेको केहीबेरमा सुनसरी प्रहरीका प्रवक्ता, २०७६ चैत महिनाका पुलिस अफ द मन्थ, डिएसपी विनोद शर्मा आइपुगे । सोही टोलमा सोमबार साँझ नगरप्रमुख चौधरी आफ्ना दुई जना सहयोगीसहित आएका थिए ।
घटनास्थल नयाँ प्लटिङको एकान्त ठाउँमा रहेको एक्लो घर हो ।

घोषित लकडाउनका बेला नगरप्रमुख त्यस्तो एकान्त ठाउँ, एक्लो घरमा किन आए ? गाउँलेका कान ठाडा भए । उनीहरूले त्यो घर र घरमा पसेका बाहिरिया तीन जनासमेतलाई नजरबन्दमा पारे ।

लकडाउनका बेला गाउँघरमा कोही शङ्कास्पद व्यक्ति आएको/गएको थाहा भए तत्काल प्रहरीलाई खबर गर्न इटहरी उपमहानगरपालिकाले सूचना जारी गरेको छ । तर उनीहरूले प्रहरीलाई होइन, पत्रकारलाई फोन गरे ।

राति आठ बजेतिर मलाई पनि सूचना आयो । म नागरिक दैनिकका लागि समाचार सम्पादनको काममा व्यस्त थिएँ । तत्काल घरबाट निस्किने परिस्थिति नबनेपछि मैले अरू पत्रकार साथीलाई गाउँलेको बोलावट आएको जानकारी गराएँ । तर साथीहरू पुग्दा राति साढे १० बजिसकेको थियो । अनपेक्षित दृश्य परिवर्तन भइसकेको थियो ।

यदि यो लकडाउनका बेला कोही नागरिक भोकले म¥यो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाउनुपर्छ भनेर ‘साहसिक’ अभिव्यक्ति दिने नगरप्रमुख चौधरीलाई एक्ली चेलीबेटी भएको एकान्त घरमा रक्सीले मातेको अवस्थामा ‘फेला पार्ने’ गाउँलेको सोचाइ असफल भयो ।

यसरी अनपेक्षित एउटा घटना टरेर त गयो तर त्यसको सामाजिक, राजनीतिक प्रभाव र तरङ्ग भने बाँकी नै छ । स्थानीयका अनुसार नगरप्रमुख त्यो ठाउँमा सेतो हाफपेन्ट लगाएर हिँड्दै–हिँड्दै साँझ पाँच बजेतिर आएका थिए र राति नौ बजेतिर रक्सीले मातेको अवस्थामा फर्काइएका थिए ।

घटनास्थलमा प्रहरीले एउटा भिडियो मुचुल्का तयार ग¥यो ।

त्यस क्रममा लक्षित चेलीले प्रहरीलाई जे भनिन्, त्यसको सारसंक्षेप यस्तो छ – ‘मेयर सा’ब बेलाबेलामा हाम्रो घरमा आइरहनुहुन्छ । उहाँको घर पनि यहीँनजिकै छ । हाम्रो घर छेउमै उहाँको प्लटिङको कारोबार पनि छ । शनिबार साँझ पाँच बजेतिर पनि आउनुभएको थियो । प्रायः आइरहने अरू दुई जना मान्छे पनि थिए । तिनैले घरमै भएको एउटा कुखुरा काटे । सबै मिलेर पकाए । खाए । साढे ६ बजेतिर जानुभयो । त्यस्तो केही बात लाग्छ कि भनेर छिमेकी एक जना हजुरआमैलाई पनि बोलाएकी थिएँ । जाने बेलामा मेयर सा’बले दुई हजार रुपियाँ दिनुभयो ।’

‘एक्ली मान्छे भएको यस्तो सुनसान ठाउँमा त्यसरी मान्छे आउन किन दिएको ?’ प्रहरीले बीचमा प्रतिप्रश्न गरेपछि उनले सोध्ने प्रहरीलाई वाल्ल परेर एकछिन हेरिन् र भनिन्, ‘यसमा मेरो के गल्ती छ ? त्यो त मेयरजस्तो मान्छेले आफैँ बुझ्नुपर्ने कुरा हो । उहाँ बराबर मेरो घरमा आइरहने कुरा मेरो बूढालाई पनि थाहा छ । उहाँसँग पनि भिडियो कलमा कुरा भइरहन्छ ।’

उनका पति केही वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा बहराइनमा छन् । त्यसो त यो प्रकरणमा नेपाली समाजले केही वर्षदेखि भोगिरहेको वैदेशिक रोजगारीको प्रतिकूल प्रभाव र सिर्जित अप्ठेरो पनि अलिअलि मिसिएको छ ।

प्रहरीले यस्तो बेलामा कसैले बाहिरबाट साँचो लगाइदियो भने पछाडिबाट भाग्ने अर्को ढोका वा ठाउँ छ कि छैन भनेर भित्र पसेर सर्च ग¥यो । उनको घरमा राहतको पाँच बोरा चामल पनि छ भनी कसैले प्रहरीलाई सुराकी गरेको थियो । त्यो पनि खोजीनिधी ग¥यो । तर पछाडिबाट भाग्ने ढोका र अपेक्षित परिमाणको चामल फेला पारेन ।

स्थानीयका अनुसार घर होचोहोचै भएकाले बाहिरबाट ढोका लगाए पनि छतबाट हाम्फालेर भाग्न सकिन्छ । ‘ल, तपाईलाई केही हुँदैन, अबदेखि कसैलाई यसरी घरमा आउन दिने, खुवाउने नगर्नू,’ यति भनेर प्रहरी टोली फर्कियो ।

फर्किने क्रममा डिएसपी विनोद शर्माले रमिते स्थानीयलाई लक्षित गर्दै, ‘तपाईहरूमध्ये कसैलाई केही भन्नु छ ?’ भनेर सोधे । जबाफमा धेरैले धेरै कुरा भने । तीमध्ये एक जना वृद्धाले भनेको कुरा उल्लेख्य छ ।

उनले भनिन्, ‘म त हाम्रा मेयरको काम देखेर छक्क पर्छु । मेयरजस्तो मान्छेले खाने–बस्ने ठाउँ अन्त कतै भेट्दैनन् र यहाँ आइपुग्नुपर्छ ? लकडाउनका बेला घरमै बसेर खाँदा हुँदैन ? एक्ली आइमाई–केटाकेटी भएको ठाउँ खोज्दै किन आउनु ?’

स्थानीयका अनुसार नगरप्रमुख चौधरीको नाम जोडिएको यो प्रकरण त्यस गाउँमा भएको पहिलो र अन्तिम घटना होइन । उनी साँझ–बिहान पारेर त्यहाँ आइरहन्छन्, गइरहन्छन् । चार–पाँच दिनअघि पनि चौधरी त्यही घरमा आएका थिए । कुखुरा काट्न, खान पल्केका छन् । प्लटिङका केही कारोबारीहरू पनि सँगै हुन्छन् ।

दुई महिनाअघि माथ्लो टोलमा रहेको गिरीको घरमा केही मान्छेहरूसहित भेला भएर कुखुरो काट्न÷पकाउन लगाएछन् । केहीबेरमा फोन गरेर दुइटी केटी पनि बोलाए । ती केटीको हात समात्ने आदि गरेछन् । त्यो देखेर गाउँलेले त्यहीं घेरामा पार्ने योजना बनाएर बालग्राम प्रहरीलाई फोन गरेछन् । बालग्रामबाट दुई जना प्रहरी आएछन् पनि । तर प्रहरीहरू भित्र नपसी बाटोमै उभिएछन् । प्रहरी आएको थाहा पाएर नगरप्रमुख चुपचाप उठेर घरतिर लागेछन् ।

यसबाहेक नगरप्रमुखका भेडेटार, इलामतिरका काण्ड यहाँ उल्लेख गर्दा प्रमाण पुर्याउन गाह्रो छ । तथापि नगरप्रमुख चौधरीले केही केटीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाएका, केही केटीहरूको फोटोमा ‘सो क्युट’ आदि प्रतिक्रिया लेखेका स्क्रिन–सटहरू स्थानीय पत्रकारहरूसँग सुरक्षित छन् ।

आफूलाई सच्चा कम्युनिस्ट बताउने नगरप्रमुख चौधरी त्यहीअनुसार आफ्नो जीवनशैली सामान्य रहेको सार्वजनिक दाबी गर्ने गर्छन् ।

‘हामीलाई कमरेड चौधरीको व्यक्तिगत जिन्दगी र जीवनशैलीप्रति त्यति ठुलो समस्या छैन,’ स्थानीय रमेश पोखरेल भन्छन्, ‘तर उनी हाम्रो नगरका मेयर पनि हुन् । हाम्रो नगरका मेयर यति लुब्ध र आलोचित हुन सुहाउँदैन, यसमा हाम्रो घोर आपत्ति छ । उनी पदअनुसारको मर्यादामा बस्नुपर्छ ।’

स्पष्टीकरण– मसँग कमरेड चौधरीका विभिन्न जातका महिलासँग कोठामा खिचिएका केही फोटो सुटहरू छन् । तर मैले ती सार्वजनिक गरेको छुइनँ । तपाईँलाई ती फोटो र तिनको पोजिसन हेर्ने मन छ भने इन–बक्स गर्न सक्छु, सार्वजनिक भने गर्दिनँ ।

त्यसो त मलाई कमरेड चौधरीको जाति चासो छ उति तिनका आसेपासे, सल्लाहकारहरूलाई पनि छैन होला ।

त्यही लहडमा २०७८ जेठ ३ गते सोमबार मदन–आश्रितस्मृति दिवसका दिन मैले सोचेँ– स्थानीय निर्वाचन भएको पनि अब चार बर्से समय बितिसकेको छ । अब एक वर्ष पनि बाँकी छैन, द्वारिकलाल चौधरी इटहरी उपमहानगरपालिका प्रमुखको दायित्वमा रहन ।

तर यो अवधिमा नगरकी प्रथम महिलाको अवस्था कति जनाको चासोमा पर्यो ? उनको सार्वजनिक अधिकार हनन भइरहेको बारे कति जनाले ध्यान दिएका छन् ?

मैले धेरै ठाउँमा, धेरै जनासँग द्वारिकलालले प्रथम महिलाको अधिकार ओझेलमा पारिरहेको चर्चा गरेको छु । उनलाई न द्वारिकलाल, न नगरबासी, न पत्रकार, न अधिकारकर्मी, कसैले पनि प्रथम महिलाको सार्वजनिक पहिचान तथा सम्मान दिन–दिलाउन सकेका छैनन् ।

मलाई लाग्छ, यो यहाँको महिला तथा समग्र नागरिक समाजको अपमान भइरहेको विषय हो । के द्वारिकलालकी पत्नी हुनु ती भाउजूको दोष हो ? के द्वारिकलालको ठाउँमा अर्काे कोही पुरुष उनको पति भएको भए उनले यस्तै व्यवहार गर्थे होलान् ?

अब एक वर्ष पनि समय बाँकी छैन । तपाई पनि सोच्नुहोस् ती भाउजूको अवस्थाका बारेमा, अधिकारका बारेमा । हालसम्म न उनको एउटा संयुक्त फोटो सार्वजनिक छ, न कुनै सार्वजनिक कार्यक्रममा उनलाई नगरकी प्रथम महिलाका रूपमा सम्मानित भएको देख्न पाइएको छ ।