तपाईं हामी सबैको निश्चित व्यक्तित्व, स्वभाव र जीवनका पक्षहरू हुन्छन्। यी सम्पूर्ण कुराहरू केवल सकारात्मक हुन्छन् भन्ने छैनन्। नकारात्मक पनि हुन सक्छन्। ती सम्पूर्ण कुराहरु मन पर्छन् भन्ने छैनन्। मन नपर्न पनि त सक्छन्। यस्तोमा हामी आफूलाई पूर्ण रुपमा स्वीकार गर्न सक्दैनौं। आफू जे-जस्तो हो, त्यस्तै स्वरुपमा आफूलाई स्वीकार्न सक्दैनौं। आफू जस्तो अवस्थामा रहनु परेको हो, त्यस्तै अवस्थामा आफूलाई निरन्तर अगाडि बढाउन सक्दैनौं। उदाहरणार्थ, कहिलेकाहीँ हामी स-साना कुराहरुमा बिना कारण रिसाउने, अनावश्यक रुपमा अरुको आलोचना गर्ने, अति मूल्यांकन गर्ने, अरुको सफलतामा इर्ष्या भाव व्यक्त गर्ने गर्छौँ। जुन शैलीमा हामीले यसो गरेका हुन्छौँ, त्यो हामीलाई कत्तिपनि मन पर्दैन। त्यसैगरी घट्दो यौन क्षमता, कार्यगत क्षमता, आर्थिक समस्या, पारिवारिक समस्या, सम्बन्धमा उत्पन्न हुने खटपट, असमझदारी आदि कुराहरु हामीलाई मन पर्दैनन्। यी यावत् कुराहरुलाई सहजताका साथ लिन, आत्मसात गर्न सक्दैनौं। सोच विचार नगरी खराबको छाप लगाइदिन्छौँ। र, सकेसम्म टाढा रहन, लुकाउन वा दबाउन तल्लिन रहन्छौँ। स्पष्ट रुपमा भन्नुपर्दा, आत्म-स्वीकृतिको शक्ति बुझ्न, त्यसलाई गम्भीरतापूर्वक अभ्यास गर्न सक्दैनौं। केही समय, महिना वा वर्ष दिनसम्मका लागि मात्र होइन, हामी दशकौँसम्म पनि यो अभ्यास गर्न सक्दैनौं।
किन ?
आत्म-स्वीकृतिको शक्ति बुझ्न नसक्नु वा त्यसलाई प्रभावकारी रुपमा अभ्यासमा ल्याउन नसक्नुका केही कारणहरू रहेका छन्:
कारण एक, लज्जित हुनुपर्ने डर। आफूबारे अरु मानिसहरुले के भन्छन् भन्दा पनि आफ्नो मनले के भन्छ, त्यो धेरै गुणा महत्वपूर्ण हुन्छ। तर पनि हामी यसबारे सचेत हुन सक्दैनौं र अरुले आफूबारे के भन्छन्, कस्तो सोच राख्छन्, कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा बढी ध्यान केन्द्रित गर्छौँ। कतै उनीहरुको अगाडि लज्जित हुनुपर्ने पो हो कि भन्ने कुरामा चिन्तित, भयभीत हुन्छौँ। जसकारण हामी आफूलाई स्वीकृत गर्न सक्दैनौं। उदाहरणको लागि, हामी मध्ये कोही यौन लत, खाद्य लत, चुरोट वा मदिरा लतबाट ग्रसित भएका हुन्छौँ, तर अरु मानिसहरु सामु लज्जित हुनुपर्ने डरले सहजै स्वीकार्न सक्दैनौं। त्यसैगरी हामी मध्ये कोही लोभी, अल्छी, आशक्ति भाव राख्ने आदि स्वभावका हुन्छौँ, तर अरु मानिसहरु सामु लज्जित हुनुपर्ने डरले सजिलै स्वीकार्न सक्दैनौं।
कारण दुई, अवसरहरू गुम्ने डर। जीवनमा अवसरहरू भन्ने बित्तिकै वा चाहँदैमा फ्याट्टै उपलब्ध हुँदैनन्। यसको लागि समय, परिस्थिति र योग्यता मिल्नुपर्ने हुन्छ। यस अतिरिक्त धैर्यवान् पनि हुन सक्नुपर्छ। हामीलाई यसबारे थाहा नहुने भन्ने हुँदैन। तरपनि हामी उपयुक्त, आकर्षक र नवीन अवसरहरुको खोजीमा निरन्तर जारी रहन्छौँ। सोही किसिमका अवसरहरू उपलब्ध भएको खण्डमा त्यसलाई खेर फाल्ने पक्षमा कदापी हुँदैनौं। ती अवसरहरू कतै गुम्ने त होइन भन्ने डर हुन्छ। त्यसैले तीनै अवसरहरु प्राप्तिका निम्ति कुनै पनि हदसम्म जान तयार हुन्छौँ। जस्तोसुकै स्तरको सम्झौता गर्न समेत पछि पर्दैनौं। अर्को शब्दमा भन्नुपर्दा, आत्म-स्वीकृतिको बाटो रोज्न सक्दैनौं। उदाहरणको लागि, मानौँ हामीलाई एउटा अन्तराष्ट्रिय संस्थामा आवद्ध हुने अवसर उपलब्ध भयो। मानौँ त्यो संस्थाले लामो समयावधि काम गर्नुपर्ने सर्त अगाडि प्रस्तुत गर्यो तर हामी त्यसका लागि योग्य छैनौँ। यस्तोमा यति ठूलो अवसर गुमाउनु नपरोस् भनेर मात्र अब हामीले लामो समयावधि काम गर्न नसक्ने कुरा स्वीकार्न सक्दैनौं।
कारण तीन, गलत विचारधारा वा बुझाइ। हरेक व्यक्तिको विशिष्टता, फरकपन आत्म-स्वीकृतिमा नै झल्किन्छ। त्यसैगरी संसारमा कुनै पनि व्यक्ति पूर्ण छैन, उत्कृष्ट छैन, निष्कलङ्क छैन। केही न केही कमी कमजोरीहरू, सीमितताहरु, दुर्गुणहरु अवश्य हुन्छन् नै। तर हामी यसबारे सचेत हुन सकिरहेका हुँदैनौं। हामीमा गलत विचारधारा विकास भएको हुन्छ। जस्तैः समाजमा विशिष्ट र पूर्ण व्यक्ति मात्र बढी सफल हुने, सम्मानित हुने, प्रशंसा गर्न लायक ठहरिने र पुरस्कृत हुने भन्ने बुझाइ। यो सरासर गलत र अपूर्ण बुझाइ हो। यद्यपि हामी विशिष्ट र पूर्ण व्यक्ति बन्न लालायित हुन्छौँ। अनि अन्ततः आफैंलाई अस्वीकृत गर्न पुग्छौँ। भनाइको तात्पर्य, आत्म-स्वीकृतिको मार्गमा जीवनको गति बढाउन सक्दैनौं।
आत्म अस्वीकृतिका परिणामहरु
आफूलाई पूर्ण रुपमा स्वीकार्न नसक्दा भोग्नुपर्ने, आत्म अस्वीकृतिका परिणामहरु निम्नानुसार रहेका छन्:
पहिलो, मानसिक रुपमा विघटित हुनु वा विखण्डित हुनु। आत्म-स्वीकृतिको अभ्यास गर्न सकिएन भने आफ्नो कुन पक्षलाई प्राथमिकतामा राख्ने त्यसबारे यकिन गर्न सकिँदैन। कहिले मिहिनेत साथ काममा सक्रिय हुन मन लाग्छ त कहिले निष्क्रिय बस्न। कहिले सम्बन्ध जोड्ने इच्छा हुन्छ त कहिले करिअर निर्माणको लागि सम्बन्ध तोड्ने। कहिले अत्याधिक यौन चाहना हुन्छ त कहिले अधिक यौन सम्पर्क पश्चात पुनः काममा फर्किने। यी भनेका परस्पर विरोधी पक्षहरू हुन्। यी तमाम् पक्षहरू एकिकृत गर्न सके मात्र अझ यसो भनौँ, आत्म-स्वीकृतिको अभ्यास गर्न सके मात्र शान्त, सन्तुलित, विनम्र र परिपूर्ण मानिसको रुपमा विकसित हुन सकिन्छ। अन्यथा यस स्तरको उपलब्धि हासिल गर्नु भनेको कल्पनाको फोकाभित्र सीमित रहन्छ।
दोस्रो, अस्वीकृत हुनु। अरु व्यक्तिबाट सजिलोसँग स्वीकृत हुन सबैभन्दा पहिले आफूलाई पूर्ण रुपमा स्वीकार्न सक्नुपर्छ। आफूलाई पूर्ण रुपमा स्वीकार्न सके, वास्तविक रुप प्रस्तुत गरे विश्वसनीयता बढ्छ, समानुभूति भाव बढ्छ र अरु व्यक्तिबाट स्वीकृत हुने सम्भावना उच्च रहन्छ। यदि त्यसो हुन नसके विश्वसनीयता माथि प्रश्न उठ्छ नै। समानुभूति भाव उत्पन्न हुँदैन र अरुबाट अस्वीकृत हुनुपर्ने सम्भावना उच्च रहन्छ। यो प्रेम, सम्बन्ध, व्यवसाय लगायत जागिरको लागि अन्तरवार्ता दिने क्रममा उत्तिकै लागू हुन्छ। मानौँ तपाईंले एउटी महिलालाई प्रेम प्रस्ताव राख्नुभयो। यस्तोमा यदि तपाईं आफू जे हो, त्यही रुपमा महिला सामु प्रस्तुत हुनु भएन भने? ती महिला तपाईंप्रति आकर्षित हुन सक्दिनन्, ससंकित हुन्छिन् र तपाईंलाई सिधा अस्वीकृत गरिदिन्छिन्। एवं प्रकारले यही प्रकृतिको कार्यविधि सम्बन्ध, व्यवसाय र जागिरको लागि अन्तरवार्ता दिने क्रम पनि देख्न सकिन्छ।
तेस्रो, अव्यवहारिक लक्ष्य निर्धारण वा गलत करिअर छनोट। आत्म-स्वीकृतिको अभ्यास गर्न नसक्ने व्यक्तिले आफ्नो व्यक्तित्व र क्षमताअनुसारको लक्ष्य निर्धारण वा सही करिअर छनोट गर्न सक्दैन। मानौँ तपाईंले सिंगापुर प्रहरी, बेलायतको सेना वा भारतीय सेनामा भर्ती हुने लक्ष्य निर्धारण गर्नुभयो। मानौँ तपाईंले यसैलाई आफ्नो एकमात्र करिअर विकल्प मान्नुभयो। तर तपाईं शारीरिक रुपमा कमजोर हुनुहुन्छ, मुस्किलले पाँच फिट अग्लो हुनुहुन्छ, उचाइ पनि पुग्दैन र पनि तपाईं यी कमजोर पक्षहरू स्वीकार्न सक्नुहुन्न भने? तपाईं वर्षभरि कठोर मिहिनेत गर्नुहुन्छ, व्यायाम गर्नुहुन्छ, आवश्यक परे सेना प्रशिक्षण केन्द्रमा पनि भर्ना गर्नुहुन्छ। त्यसपछि सेनामा भर्ती खुल्दा भिड्न जानुहुन्छ तर उचाइ नपुग्ने हुँदा तपाईंको छनोट हुन सक्दैन। यही सिलसिला प्रत्येक वर्ष जारी रहन्छ। जसकारण तपाईंको समय, उर्जा र पैसा बर्बाद हुन्छ। साँचो अर्थमा भन्नुपर्दा, गलत लक्ष्य निर्धारण गर्ने क्रममा नै अमूल्य जीवन बर्बाद भएको तपाईंलाई पत्तो हुँदैन। यही प्रकृतिको क्रियाविधि डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, प्रशिक्षक, लेखक, वैज्ञानिक, दार्शनिक, आविष्कारक आदि बन्ने लक्ष्य निर्धारण गर्दा पनि देख्न सकिन्छ।
चौथो, अरु समक्ष आफूलाई व्यक्त गर्न नसक्नु। आफूलाई पूर्ण रुपमा स्वीकार्न नसक्ने व्यक्ति अभिव्यक्तिपरक हुन सक्दैन। आफूले मन देखि भन्न र गर्न चाहेका कुराहरु खुलस्त, प्राकृतिक र आकर्षक रुपमा व्यक्त गर्न सक्दैन। त्यस्तो व्यक्तिमा हीन भावनाको विकास भएको हुन्छ र उसले अरु व्यक्तिको प्रतिरुपण गर्नुलाई उपयुक्त रणनीति ठान्छ। उदाहरणको लागि, आत्म-स्वीकृतिको अभ्यास गर्न नसक्ने कुरुप व्यक्तिले आकर्षक र कामुक व्यक्तिको प्रतिरुपण गर्छ। आफूलाई उत्कृष्ट, सुन्दर, कामुक र आदर्श व्यक्तिको रुपमा व्यक्त गर्न फेक (नक्कली) फेसबुक वा इन्स्टाग्राम एकाउन्ट खोल्छ। समय समयमा आकर्षक भनाइहरू, फोटोहरु र भिडियोहरु नियमित पोस्ट गर्न थाल्छ। सामाजिक सञ्जालको सदुपयोग भन्दा भरपूर दुरुपयोग गर्छ। त्यसैगरी आफू अति दुब्लो रहेको स्वीकार्न नसक्ने व्यक्तिले मोटो व्यक्तिको प्रतिरुपण गर्छ। आफ्नो दुब्लोपन लुकाउन र आफूलाई अरु जस्तै मोटो देखाउने हर सम्भव प्रयत्न गर्छ। अति गर्मी मौसम वा पातलो लुगा र कट्टु लगाउनुपर्ने अवस्थामा समेत बाक्लो लुगा, पूर्ण कमीज र पाइन्ट लगाउँछ। जीवनभर आधा कमीज र कट्टु न छनोटमा राख्छ, न कहिल्यै खरिद गर्छ। जसकारण दुब्लो शरीरलाई आकर्षक देखाउने कयौँ तरिका र विकल्प हुँदाहुँदै पनि उसले सो तरिका र विकल्प अवलम्बन गर्न सक्दैन। उसमा फेसनबारे शून्य बुझाइ रहेको पुष्टि हुन्छ। त्यसैगरी आफू अति लजालु स्वभावको रहेको र आफूमा आत्मविश्वासको कमी रहेको स्वीकार्न नसक्ने व्यक्तिलाई सयौँ मानिसहरुको उपस्थिति रहने सभा सम्मेलनमा भाषण गर्ने अवसर दिइयो भने? उसले कहिल्यै नलजाउने र आत्मविश्वासी व्यक्तिको प्रतिरुपण गर्छ। आफू पनि उही व्यक्ति जस्तै धेरै नलजाउने र आत्मविश्वासी रहेको देखाउने असफल प्रयास गर्छ। जसकारण उसले आफ्नो मुख्य सन्देश सम्प्रेषण गर्न नसक्नुका साथै वास्तविक भाषण कला प्रस्तुत गर्न सक्दैन।
पाँचौं, हद पार गर्नु वा अत्याधिक हदसम्म गतिविधि गर्नु। आत्म-स्वीकृतिको अभ्यास गर्न नसक्ने व्यक्ति आफूलाई मन नपर्ने पक्षहरु लुकाउन वा त्यसबाट छुटकारा पाउन कुनै पनि हदसम्म जान सक्छ। मानौँ तपाईं सौन्दर्यको हिसाबले एउटी साधारण महिला हुनुहुन्छ। स्वभाविक रुपमा तपाईंमा पनि अरु सुन्दर महिलाहरु जस्तै देखिने उत्कट चाहना हुन्छ। यही चाहना पूरा गर्ने उद्देश्यले तपाईं बारम्बार विभिन्न ब्यूटी पार्लर धाउनुहुन्छ। पार्लर धाउने बारम्बारता कम गर्न वा आवश्यकताअनुसार विशेषज्ञ ब्यूटीशियन मार्फत प्रदान गरिने मेकअप (श्रृंगार) सम्बन्धित तालिमहरुमा पनि सहभागी हुनुहुन्छ। अब तपाईं यीनै तालिमहरुबाट प्राप्त ज्ञान र सीप आफ्नो जीवनमा लागू गर्न थाल्नुहुन्छ। घरमै बस्दा होस् या कहीँ बाहिर जानुपर्दा, तपाईंले अनिवार्य रुपमा मेकअप गरेकै हुनुहुन्छ। आफ्नो मेकअप कला र सौन्दर्यता झल्काउने फोटो र भिडियोहरु सामाजिक सञ्जालमा नियमित पोस्ट गर्नुहुन्छ। परिवार, आफन्त, साथीभाइहरु, शुभेच्छुकहरू तथा सामाजिक सञ्जालमा जोडिएका अनुयायीहरुको सकारात्मक प्रतिक्रियाबाट हौसिएर अब तपाईं मेकअप गर्ने आवृत्ति कयौँ गुणाले बढाउनुहुन्छ। मेकअप गर्नुलाई नै आफ्नो जीवन मान्नुहुन्छ। यसै क्रममा भारी मेकअप गर्ने वा अत्याधिक मेकअप गर्ने गतिविधि सुरुवात भएको तपाईं आफैंलाई हेक्का हुँदैन। मेकअपको मुख्य प्रायोजन शरीरको प्राकृतिक सौन्दर्यतालाई बढाउने हुनुपर्छ न कि घटाउने। तपाईंले लगाएको मेकअप उतार्ने बित्तिकै तपाईंको सौन्दर्यता पनि मेकअप सँगै उत्रिनु हुँदैन। र पनि तपाईं अत्याधिक मेकअप गर्ने गतिविधिमा संलग्न हुनु हुँदा तपाईंको प्राकृतिक सौन्दर्यता कायम हुन सक्दैन। मेकअप लगाउँदा तपाईंको सौन्दर्यताको स्तर र मेकअप उतार्दा तपाईंको सौन्दर्यताको स्तरबीच कुनै तुलना हुनै सक्दैन। तपाईंलाई मेकअप लगाउँदा मात्रै प्राप्त हुने कृत्रिम खुसीमा बाँच्नुपर्ने हुन्छ। यदि तपाईंले आफ्नो औसत सौन्दर्यताको स्तरलाई पूर्ण रुपमा स्वीकार्न सक्नु भएको भए यस्तो अवस्थामा रहनुपर्ने थिएन।
त्यसैगरी मानौँ तपाईं पेट ठूलो भएको एउटा पुरुष हुनुहुन्छ र यस कुरालाई स्वीकार्न सकिरहनु भएको छैन। अब तपाईं पेट घटाउने उद्देश्यले कुनै पनि हदसम्म जान राजी हुनुहुन्छ। कठोर डाइटिङ योजना अनुसरण गर्नुहुन्छ। विविध परिकारहरु खाने मन हुँदाहुँदै पनि नखाने कुरामा प्रतिबद्ध हुनुहुन्छ। यति मात्र होइन, आवश्यकता भन्दा बढी व्यायाम गर्नुका साथै उपवास लिनुहुन्छ। यसो गर्नाले कम समयमै तपाईंको पेट त घट्ला तर तपाईंको स्वास्थ्यमा भने नकारात्मक प्रभाव पर्न जान्छ। तपाईंको मानसिक र शारीरिक स्वास्थ्य मजबुत हुन सक्दैन। यदि तपाईंले आफ्नो पेट ठूलो हुनुलाई सामान्य रुपमा लिन सक्नु भएको भए, त्यसैलाई पूर्ण रुपमा स्वीकार्न सक्नु भएको भए यस्तो प्रतिकूल स्वास्थ्य अवस्था सामना गर्नुपर्ने थिएन।
छैठौं, अरुको जीवन बाँच्नु। आत्म-स्वीकृतिको अभ्यास गर्न सक्ने व्यक्तिले आफूलाई अरु व्यक्तिसँग तुलना गर्नुपर्ने, अरु व्यक्तिकै नकल गर्नुपर्ने, देखावटी वा प्रदर्शन गर्नुपर्ने कुनै कारण देख्दैन, आवश्यकता ठान्दैन। त्यसैगरी यस्तो क्षमता राख्ने व्यक्तिले आफूबारे कुनै पनि कुराको प्रमाणीकरण खोज्दैन। यसको ठीक विपरीत आत्म-स्वीकृतिको अभ्यास गर्न नसक्ने व्यक्तिले अरु व्यक्तिसँग अनावश्यक रुपमा तुलना गर्ने, अरुकै नकल गर्ने, देखावटी वा प्रदर्शन गर्ने प्रयास गर्छ। त्यसैगरी आफूबारे हरेक कुराको प्रमाणीकरण खोज्छ। परिणामस्वरूप यस्तो व्यक्ति आफ्नो होइन, अरुको जीवन बाँच्न पुग्छ। मानौँ तपाईं एउटी अति मोटी महिला हुनुहुन्छ। मानौँ तपाईंले बचपनदेखि अहिले वयस्क अवस्थाको महिला हुँदासम्म बडी शेमिंग अर्थात् शारीरिक रुपरेखा, स्वरुप र आकारका आधारमा गरिने आलोचनाको शिकार हुनुहुन्छ। मानौँ तपाईंले अधिक वजन घटाएर आकर्षक र कामुक शरीर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मानौँ तपाईं यस कार्यमा सफल हुनुभयो। अब तपाईंमा आफ्नो आकर्षक र कामुक शरीर प्रदर्शन गर्ने उत्कट चाह पैदा हुन्छ। आफू साँच्चै आकर्षक र कामुक रहेको वा नरहेको बारेमा स्पष्ट हुन अरु मानिसहरुको प्रतिक्रिया बुझ्ने कोसिस गर्नुहुन्छ। यसको लागि तपाईं सामाजिक सञ्जालमा प्रायः निकै छोटो लुगा लगाएको, अर्धनग्न अवस्थामा रहेको वा बिकिनी लगाएको फोटोहरु मात्र बारम्बार पोस्ट गर्न थाल्नुहुन्छ। कतिपय अवस्थामा नकारात्मक टिकाटिप्पणीहरु आउने डरले कमेन्ट बक्स नै बन्द गरिदिनुहुन्छ। यदि तपाईंले आफूलाई पूर्ण रुपमा स्वीकार्न सक्नु भएको भए? तपाईं वजन घटाउने प्रक्रियामा जानु आवश्यक ठान्नु हुँदैनथ्यो। कथमकदाचित वजन घटाएर आकर्षक र कामुक शरीर विकास गर्न सफल भएतापनि अरु मानिसहरुबाट कहिल्यै प्रमाणीकरण खोज्नु हुँदैनथ्यो। यस क्रममा सामाजिक सञ्जालमा छोटो लुगा लगाएको, अर्धनग्न वा बिकिनी लगाएको फोटोहरु मात्र पोस्ट गर्ने, कुनै फोटोको कमेन्ट बक्स बन्द गर्ने त कुनैको खुला राख्ने जस्ता अनौठो गतिविधिहरू गर्नु हुँदैनथ्यो।
आत्म-स्वीकृतिको अभ्यास कसरी गर्ने?
आत्म-स्वीकृतिको अभ्यास व्यक्तिगत विकासमा प्रयोग हुने सशक्त विधिहरू मध्ये एक हो। यो एउटा काउन्टर इन्टुअटिभ मुभ पनि हो। जीवनमा आत्म-स्वीकृतिको अभ्यास नगर्दा पनि प्राप्त भएका सम्पूर्ण परिणामहरु, उपलब्धिहरुबारे सोच्नुहोस्। यदि तपाईंले आफ्नो जीवनमा आत्म-स्वीकृतिको अभ्यास गर्न सक्नुभयो भने ती सम्पूर्ण परिणामहरु, उपलब्धिहरु भन्दा कयौँ गुणा ठूलो र महत्वपूर्ण परिणामहरु, उपलब्धिहरु हासिल गर्न सफल हुनुहुन्छ। आखिर यो अभ्यास कसरी गर्ने? यसैमा कसरी सक्रिय रहने? यसको लागि भिजुअलाइजेशन अथवा दृश्यकरणको प्रक्रियामा जान सकिन्छ। अब यही प्रक्रियाबारे संक्षेपमा वर्णन गरौँ:
सर्वप्रथम अरु मानिसहरुबाट अलग रहनुहोस्। कुनै एक शान्त ठाउँ रोज्नुहोस्। त्यहाँ आँखा बन्द गरेर, ढाड सिधा राखेर सहज, आरामदायी अवस्थामा बस्नुहोस्। वर्तमान क्षणमा आउने कोसिस गर्नोस्। लामो र गहिरो स्वास फेर्ने गर्नोस्। मन मस्तिष्कमा उत्पन्न विचारहरु, अनुभूतिहरु, भावनाहरु, स्वास लिने र फ्याँक्ने क्रम, शरीरको तापक्रम आदिबारे सचेत रहनुहोस्। त्यसैगरी वर्तमान समयमा के भइरहेका छन्, त्यसमाथि ध्यान केन्द्रित गर्नोस्। तपाईं वरिपरि कस्ता आवाजहरु गुन्जिएका छन्, अनुभूतिहरुले के कसरी तपाईंको शरीरलाई प्रभावित गरेका छन्, ती यावत् कुराहरुबारे पनि सचेत रहनुहोस्।
अब तपाईं आफू वर्तमान अवस्थामा, शान्त ठाउँमा अवस्थित रहेको बारेमा सजग रहनुहोस्। तपाईंले कुनै पनि कुराप्रति राख्ने वा अनुभूत गर्ने कडा प्रेम भावलाई मस्तिष्कमा ल्याउने कोसिस गर्नोस्। त्यो तपाईंको प्रेम प्रकृति, खाना, यौन, भिडियो गेम, पारिवारिक सदस्यहरु लगायत साथीहरुप्रति हुनसक्छ। कुनै एक कुराप्रति व्यक्त गरिने प्रेम वा ती कुरा कारण अनुभूत हुने प्रेम भावना छनोट गर्नोस्। त्यो प्रेम भावना वा अनुभूतिलाई त्यस कुरा, चीजबाट अलग गराउनुहोस्। अनि त्यो प्रेमलाई आफ्नो शरीरमा लागू गराउनुहोस्। तपाईं आरामदायी अवस्थामा रहनुहोस् र प्रेमलाई शरीरभरि संचार हुने, बग्ने अनुमति दिनुहोस्। आफू प्रेम अनुभूत गर्न योग्य रहेको नरहेको बारेमा प्रश्न नगर्नोस्। कुनै प्रमाणीकरण नखोज्नुहोस्। वर्तमान अवस्थामा रहेको आफूलाई शर्तहीन प्रेम दिनुहोस्। आफूलाई यस्तो प्रेम कसरी दिने भनेर प्रश्न गर्ने, चिन्तित रहने नगर्नोस्। आफूलाई कुनै अपेक्षा बिना प्रेम दिनुहोस्।
अब यही प्रक्रिया केही परिस्थितिमा लागू गरौँ। मानौँ तपाईं अत्याधिक रिसाउने गर्नुहुन्छ र यो पक्ष तपाईंलाई मन पर्दैन। तपाईं आफ्नो रिसाउने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस्। अनि प्रेम दिनुहोस्। कसरी भनेर प्रश्न नगर्नोस्। प्रेम दिनुहोस्। त्यसैगरी तपाईं विगतमा कोहीबाट दुर्व्यवहारको शिकार हुनुपर्दाको क्षणलाई मस्तिष्कमा ल्याउनुहोस्। अनि त्यो पक्षलाई प्रेम दिनुहोस्। त्यसैगरी कहिल्यै तपाईंले अरुको दुर्व्यवहार गर्नुभएको छ? त्यो पक्षलाई मस्तिष्कमा ल्याउनुहोस्। अनि प्रेम दिनुहोस्। त्यसैगरी तपाईं अरुको अनावश्यक रुपमा आलोचना गर्ने स्वभावको हुन सक्नुहुन्छ। तपाईं त्यो पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् अनि प्रेम दिनुहोस्। त्यसैगरी तपाईं पैसाको लागि संघर्षरत हुन सक्नुहुन्छ। तपाईं त्यो पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् अनि प्रेम दिनुहोस्। समानुभूति र स्वीकृतिको भाव व्यक्त गर्नोस्। त्यसैगरी तपाईंले आफ्नो जीवनको विभिन्न कालखण्डमा गल्तीहरु गर्नुभएको हुनसक्छ। तपाईं त्यो गल्तीहरू गर्ने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् र प्रेम दिनुहोस्। त्यसैगरी तपाईं कहिलेकाहीँ लज्जित हुनु भएको हुनसक्छ। तपाईंको त्यो लज्जित हुने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् र प्रेम दिनुहोस्। त्यसैगरी तपाईं आफ्नो डर मान्ने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् र प्रेम दिनुहोस्। त्यसैगरी तपाईंलाई आफ्नो शारीरिक स्वरुप मन नपर्न सक्छ। तपाईंको त्यो पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् र प्रेम दिनुहोस्। त्यसैगरी तपाईं जीवनबारे दिग्भ्रमित हुन सक्नुहुन्छ। आफ्नो भविष्य अनिश्चित र अन्धकार लाग्न सक्छ। तपाईंको त्यो दिग्भ्रमित हुने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् अनि प्रेम, समानुभूति र समग्र बुझाइको भाव दिनुहोस्। त्यसैगरी करिअर, काम र व्यवसायमा समस्या भोग्नुपर्ने पक्षलाई मस्तिष्कमा ल्याउनुहोस् अनि प्रेम, समानुभूति र समग्र बुझाइको भाव राख्ने गर्नोस्। त्यसैगरी तपाईं यही प्रक्रिया अरु परिस्थितिहरुमा पनि लागू गर्न सक्नुहुन्छ।
अब तपाईं माथि उल्लेखित वा चर्चा गरिएका सम्पूर्ण पक्षहरूलाई प्रेम र स्वीकृतिको भाव दिनुहोस्। ती तमाम् पक्षहरूलाई एकिकृत गर्नोस्। सोही एकिकृत रुप नै तपाईं हुनुहुन्छ। त्यही रुप नै तपाईंको अस्तित्व हो। त्यसैले तपाईं आफ्नो अस्तित्व छ भन्नेमा स्पष्ट रहनुहोस्। वास्तविकताले तपाईंको अस्तित्व बारेमा कुनै पनि मूल्यांकन गर्दैन। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै स्वीकार्छ। तपाईंको वर्तमान रुप भन्दा अर्को रुप परिकल्पना गर्दैन। अन्त्यमा, वास्तविकताले हरेक क्षण तपाईंलाई जुन प्रेम र स्वीकृतिको भाव दिन्छ, त्यही प्रेम र स्वीकृतिको भाव आफूलाई दिने गर्नोस्। अब तपाईं आफ्नो आँखा खोल्नुहोस्। सचेत, पुनः ताजा वा स्फूर्त अवस्थामा आउनुहोस्। यही नै आत्म-स्वीकृतिको अभ्यास गर्ने प्रक्रिया हो। यो अभ्यास तपाईं आफूलाई पूर्ण रुपमा स्वीकार्न सक्ने नहुँदासम्म निरन्तर जारी राख्नोस्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

