कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान
कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट
================
“भर्खर जन्मेको छोराको भविष्य हेर्नु छ । श्रीमतीको पालनपोषण गर्नुपर्छ मैले । जेथा जग्गा जोडिदिएको छु । मुद्दा लड्न जेथा नबेची हुँदैन । नगद जम्मा छैन । अनि के गरी लड्नु मुद्दा ? बाहुनको छोरो कुकर्म गरेको होइन । रमाइलो त गरेकै हो तर यस्तो भाउँटो आइलाग्ला भन्ने के थाहा ? विदेशमा रगतपसिना बगाएर जोडेको जेथो बेचे के खालान् बालबच्चाले ? आफू जेल परिहालेँ । घरमा श्रीमतीलाई पीडा दिन मन छैन । तिमी आफ्नो बाटो लाग, मेरो भविष्य डामाडोल भइहाल्यो भन्दा उनी म तपाईँको बाटो हेरेर बस्छु, छोरो हुर्काउँछु भनेर भन्छिन् । एक वर्ष बसिहालेँ अब चौध वर्ष बाँकी त हो नि” हीरामणि आफैँलाई गुनासो पोख्छन् ।
न्यायालयमा बस्ने आफन्ती छैनन् । वकिल पैसा धुत्न माहिर छन् । पैसाको खोलो नबगाई हुँदैन । माथिल्लो निकाय जान्नँ भनी ठोकुवा गर्छन् । विष्णु, धनमायाँ र प्रह्लादले कति सम्झाए तर उनी पुनरावेदन गर्ने पक्षमा देखिँदैनन् । आफू अन्यायमा परेको दाबी गर्छन् हीरामणि । “म गलत छैन तर परिबन्दमा परेको छु । छानबिन दह्रो भएन । जुन मुद्दा मलाई लाग्यो त्यो देखेर म आफैँ छक्क परेको छु । सपनाजस्तो भएको छ । के भएको हो मलाई नै थाहा छैन” उनी भन्छन् । भगवान् जानून् उनी गलत छन् वा छैनन् तर उनको मुखाकृति नियाल्दा वास्तवमै उनी अन्यायमा परेको जस्तो देखिन्थे ।
निम्नमध्यम वर्गीय परिवारमा हुर्केका हीरामणि कोइराला ब्राह्मण जातिका एक इमानदार व्यक्ति थिए । परिश्रममा विश्वास गर्ने उनी जस्तोसुकै कार्य गर्न पनि पछि हट्दैनथे । चोर्नु हुँदैन, ढाँट्नु हुँदैन, बेइमानी गर्नु हुँदैन, काम गरेर खान के को लाज? भनी भन्थे उनी । जीवनमा दु:खसुख भइ नै हाल्छ । सुखमा मात्तिने अनि दु:खमा आत्तिने गऱ्यो भने जीवनमा लक्ष्यको गन्तव्यमा पुग्न सकिँदैन । गाउँ समाजमा यस्तै-यस्तै बुझको कुरा गर्थे हीरामणि । छिमेक समाजले पनि उनका कुरा खान्थे । उनको गोरो अनुहार, चट्ट मिलेको जिउ, हँसिलो मुहार, गफगाफले सबैलाई लठ्ठ पार्ने स्वभावले प्रायः सबै प्रभावित थिए । सेनामा जागिर खाएको दसौँ वर्षको अनुभवले पनि उनलाई निकै टाठो बनाएको थियो । समाजमा राम्रै प्रभाव थियो र सबैले भलाद्मीमै गन्थे ।
वैदेशिक रोजगारका सिलसिलामा कैयन् देश चहारे हीरामणिले । कतार, मलेसिया, दुबई , बहराइन कहाँ कहाँ गएनन् उनी ! पैसाका लागि सेफ्टी ट्याङ्की पनि सफा गरेको कुरा सुनाउथे उनी । तीन दिनमा लाखसम्म कमाए रे नेपाली रुपैयाँ । विदेशमा रगतपसिना बेचेर जोडेको दुई बिघा जग्गाले उनलाई अहिले करोडपति बनाएको छ तर १५ वर्षसम्म त्यो जग्गा भोगचलन गर्न नपाएपछि उनको करोडपतिको रामरौस पनि अहिले सपनाजस्तै भएको छ ।
हरे शिव! कस्तो न्याय? कस्तो कानुन? हुन त कानुनलाई दोष किन दिनु मैले ? कानुन परिचालन गर्नेले बुद्धि र ढङ्ग नपुर्याएपछि कस्को के नै लाग्दो रहेछ र ? किन राखेको होला इजलासमा त्यो समान दूरीको तराजु? अर्थ के त्यसको? व्यवहारमा नउतार्ने हो भने राख्नुको औचित्य के छ? समान न्यायको अर्थ होइन यो? कसैलाई भेदभाव गरिँदैन, समान व्यवहार गरिन्छ भन्ने सङ्केत हैन? दूधको दूध पानीको पानी छुट्याइने मनसायले राखिएको हैन? किन गरिँदैन निष्पक्ष छानबिन? हचुवामा जीवन बरबाद गरिदिने? आदित्यादि तर्कनाले व्याप्त हीरामणि आफैँमा हारेर समय बुझ्न नसकिने रहेछ भन्दै बाध्यताको पछ्यौरीमा गुटमुटिएर विवश हुँदै यी क्षण व्यतित गरिरहेका छन् ।
शिल्पा, त्यसै गाउँकी निम्न परिवारकी विवाहित महिला । घरखेती गरेर आफ्नो गुजारा चलाइरहे तापनि आर्थिक अभावले चाहिँ गाँजिरहेको थियो । दैवको लाठी बज्रेर उनीमा पारिवारिक सङ्कट आइलागेको थियो । आर्थिक विपन्नता त छँदै थियो, कमाइ गरेर जीविकोपार्जनमा होस्टेमा हैसे गर्ने लोग्नेलाई एक्कासि प्यारालाइसिस भएर थला परेपछि हातमुख जोड्नसमेत मुस्किल पर्न थालेको थियो । शिल्पालाई अब थप पारिवारिक बोझ पनि थपिएको थियो । छोरी हुर्काउने, पढाउने, लोग्नेको स्याहारसुसार गर्ने भनी दैनिक छाक टार्ने काम सबै उनको थाप्लामा आइलाग्यो । दुःखसुखका दिन बित्दै थिए । काम गर्ने सिलसिलामा शिल्पाको हीरामणिसँग भेट भयो । शिल्पा राम्री थिइन्, एउटी छोरी भए तापनि उनी अविवाहित केटीजस्तै देखिन्थिइन् । मिलेको जिउडाल, मिठो बोली, मन्द मुस्कानले गर्दा नै हीरामणिसँग सम्बन्ध बलियो हुँदै गएको थियो । उनीहरू एकआपसमा खुसी र सन्तुष्ट थिए । लोग्नेलाई प्यारालाइसिस भएपछि शिल्पाले हीरामणिसँग सम्बन्ध राख्दै गइन् । सानोतिनो काममा तल्लीन भए पनि दैनिक भेटघाट भने अवश्य हुन्थ्यो ती दुईको । दुःख साटासाट गर्थे, खुसी बाँड्थे, घण्टौँ बसेर कुराकानी हुन्थ्यो उनीहरूबीच । शिल्पा तिमीले धन्दा मान्नु पर्दैन । छोरीलाई राम्रोसँग पढाउनू, म सहयोग गर्छु । एउटा घडेरी किनेर राम्रो बन्दोबस्त गरिदिन्छु तिम्रो । तिम्रो भविष्य उज्ज्वल बनाउने सोच राखेको छु भनेर हीरामणि भन्थे । शिल्पा भने हीरामणिका कुरा सुनेर सपना बुन्दै मख्ख परेकी थिइन् ।
सातौँ तिहारको टीका लगाइसकेका थिए हीरामणिले कमलाका हातबाट । सञ्चारकर्मी थिइन् कमला; राजनीतिक पहुँच पनि राम्रै थियो उनको । उनीबाट हीरामणिलाई ठुलो सहयोग पुग्दै आएको थियो । वैदेशिक रोजगारका लागि बिदेसिन्थे । हरेक वर्ष दसैँतिहारमा घर आउँथे । दसैँ मान्थे आशीर्वाद लिन्थे । तिहारमा कमलाको हातको टीका थापेर दिदीभाइको नाता बलियो पार्दै गएका थिए । सम्बन्ध गाडा बन्दै गएको थियो ।
हीरामणि विदेशका कैयन् ठाउँ पुगे र मजदुरी गरे । विषेश गरी समाजका अघि सम्पन्न थिए उनी, राम्रै रुपैयाँ जो कमाए । शिल्पासँगको सम्बन्ध लोग्नेस्वास्नीको जस्तो भएकाले खर्च पनि पठाइरहन्थे । फोनमा दिनहुँ जस्तो कुरा हुन्थ्यो र स्वदेश फर्केर आउँदा पहिलो भेट शिल्पासँग हुन्थ्यो त्यसपछि मात्र आमाबुबा अनि दिदी कमलासँग ।
बाबु! अब तिम्रो बिहे गर्नुपर्छ भनेर आमाले भन्दा पनि हीरामणिलाई कता कता शिल्पाको यादले सताइरहथ्यो । त्यतिबेला उनी दोधारमा परेका थिए । उमेर खस्किँदै गएकाले बिहे गर्न बाध्य भए उनी । पहिलो श्रीमती उनको राम्री पुतलीजस्ती छोरी पोल्टामा उपहार दिएर बच्चा पाउने क्रममा संसारबाट बिदा भएकी थिइन् । छोरी रोशनीको मुख हेरेर श्रीमती रीतालाई बिर्सिसकेका थिए हीरामणिले । त्यो घाउमा मलम लगाउन र शीतलता प्रदान गर्न शिल्पाले ठुलो मद्दत पुऱ्याए पनि उनी विवश थिए । आमाबुबाको ढिपीले अब उनको सोच दोस्रो बिहेतर्फ उन्मुख हुन बाध्य थियो ।
उता शिल्पाचाहिँ एकतर्फी मायाँमा चुर्लुम्म डुबेकी थिइन् । हीरामणिले आफूसँग बिहे गर्छ भनेर र उसले दिएको सहयोग र मायाँममताले गर्दा शिल्पा ढुक्क थिइन् । उनी हीरामणिलाई औधी मायाँ गर्थिन् । हीरामणिको सोचाइ भने वैवाहिक सम्बन्धमै बाँधिने थिएन । आज भन्दै भोलि भन्दै घरमा आमाबुबाको करकापमा परिसकेका थिए बिहे गर्नलाई हीरामणि । उनलाई कन्या दिनेको लर्को पनि लागिसकेको थियो । राम्रा थिए, भलाद्मी थिए, रुपियाँ पनि कमाएकै थिए । ब्राह्मणका छोरा, लर्को लाग्नु पनि स्वाभाविक नै थियो । अन्ततः बिहे गर्ने टुङ्गोमा पुगे उनी र बिहे गरे; आफ्नै जात, गोत्र र थर हेरेर साइत जुराएर ।
बिहेपश्चात् हीरामणिलाई कैयन् बोझ, झमेला आइपरे । राम्री शीलस्वभावकी श्रीमती भित्र्याएका थिए, आमाबुबा पनि खुसी थिए, छोराको भविष्य सोचेका थिए र घरमा खुसीयाली छाएको थियो तर उनलाई भने विभिन्न चिन्ताले सताएको थियो । तपाईँले मलाई ठुलो धोकाका दिनुभयो । मेरो जिन्दगीमा खेलवाड गर्नुभयो । मैले त जीवनभरको साथ मागेकी थिएँ । तपाईँकी अर्धाङ्गिनी भएर बस्ने सोच बनाएकी थिएँ । अब म के गरूँ? गला रेटेर मारिदिनुस् कि आफैँ मरिदिन्छु भन्दै धुर्क्याउन थालेकी थिएन् शिल्पाले । हीरामणिको भने बिहे गर्ने सोच थिएन । उनले त केवल मायाँप्रेम बसिहाल्यो, राम्रो हेरविचार गरिदिऊँ र छोरीलाई पनि पढाइदिऊँ । लोग्ने अपाङ्ग भएको छ, मैले उनीसँग राखेको शारीरिक सम्बन्धको ऋण जसरी नि तिर्छु तर उनको वैवाहिक जीवनमा काँडेतार बन्दिनँ । उनको अपाङ्ग लोग्नेलाई जिउँदै मार्न चाहन्नँ म भन्ने सोचेका थिए तर शिल्पालाई यो कुरा चित्त नबुझेर उनीहरूबीच बैमनस्य पैदा भयो र खटपट सुरु भयो साथैँ एकआपसमा भेटघाटको गोरेटो पनि बन्द भयो ।
हीरामणिको पूर्ववत् विदेश जानेआउने क्रम जारी नै रह्यो । हरेक वर्षझैँ आउनेजाने गर्थे उनी । सानो परिवार खुसी थियो सुखी थियो । उनीको छोरा जन्मिएपछि त झन् त्यो परिवारमा खुसीको लहर नै छाएको थियो । आमाबुबाको इच्छा पनि पूर्ण भएको थियो ।
शिल्पा भने रातदिन रोएर बस्थिन् । उनको परिवारमा सन्तुष्टी थिएन । बिचरा ! लोग्ने एउटै थलामा थिए । शिल्पा रातदिन चिन्तामा डुबेकीले छोरी सपनाको पढाइमा पनि केही बाधा पुग्न थालेको थियो । जीवनदेखि वाक्क हुँदै कैयौँचोटि आत्महत्या गर्ने प्रयास पनि गरेकी थिइन् । उनले आफ्ना मनका वेदना कैयन्सँग पोखेकी थिइन्, सहानुभूति दिने धेरै थिए, उक्साइदिने पनि कैयन् थिए, दोधारमा परेकी शिल्पालाई केही समाजका धामिराहरूले उचालिदिएका थिए । योजना बन्न थाल्यो र प्रतिशोधको भावना जागृत भयो । शिल्पालाई यस्तो गर्दा सम्बन्ध भइसकेपछि उसलाई नछोड् भन्थे । केही होइन दैलामा गएर तेर्सो पर् भन्ने पनि भए । मुद्दा हाल्नुपर्छ भन्ने पक्षमा कोही थिए । धेरैले उनको मथिङ्गल मन्थन गरिरहेका थिए । केही सोच्न नसक्ने भएकी थिइन् शिल्पा ।
“को छ हँ ?” “हामी छौँ , के काम थियो होला?” हीरामणिका बाबु लिलानाथले बर्दीधारी प्रहरीसँग भने । हीरामणिलाई पक्राउ गर्ने पक्राउपुर्जीसहित उनको घरमा प्रहरी पुगेका थिए । केही दिनअगाडि मात्र जबरजस्ती करणीको मुद्दा दायर भएको रहेछ । उनीविरुद्ध समाजमा विकृति विसङ्गति सिर्जना गर्ने केही मान्छेहरूको योजनामा शिल्पाले आफ्नो १३ वर्षीय छोरी प्रयोग गरेकी थिइन् जबरजस्ती करणी मुद्दा चलाउन । हीरामणिलाई केही थाहा थिएन, उनी छाँगाबाट खसेजस्ता भए । उनलाई प्रहरी हिरासतमा राखियो र अनुसन्धानपश्चात् १४ वर्ष जेल सजाय सुनाइयो । जिल्ला अदालतबाट जति रोएकराए पनि उनले उन्मुक्ति पाएनन् । हीरामणि बाध्यताको हुरीमा रुमलिँदै जेलको चिसो छिँडीमा सड्न विवश भए ।
“म अन्यायमा परेँ, छानबिन राम्रो भएन । म गलत छैन भनेको होइन, मैले शिल्पासँग सम्बन्ध राखेको हुँ । मायाँप्रेम बसेको थियो । अनि नबसेको होइन तर बिहे गर्ने सोच थिएन । मैले उनको दयनीय अवस्था देखेर उद्दार गर्न खोजेको मात्र हुँ । यस्तो अपाङ्ग भएको शिल्पाको लोग्नेलाई धोका दिँदा मैले पाप भोग्नुपर्ने मात्र होइन अपराध हुने हुँदा उनको भविष्यचाहिँ सोचेको थिएँ । यतिसम्म नीच भएर गिर्छिन् जस्तो लागेको थिएन शिल्पा । ठीकै छ, मन बुझाएको छु, कर्मलाई धिक्कारेको छु । दिन बितिहाल्ला नि ! आफन्तलाई फोन गर्दा पनि विदेशमा छु भनेर ढाँटेको छु । कमला दिदीलाई पनि विदेशमै छु भनेर ढाँटेको छु, भन्न सरम लाग्छ । सोच्दै नसोचेको मुद्दा लाग्यो ।” फोन नं पनि विदेशबाट गरेजस्तै जाँदो रहेछ भन्दै अब चौध वर्षसम्म ढुक्कसँग बस्ने निधो गर्दै हीरामणिले पेसालाई केहीहदसम्म निरन्तरता दिइरहेका छन् । आमाबुबा बिराना भइहाले, समिसाको न्यानो मायाँलाई आत्मसात् र विश्वास गर्दै दिन गनिरहेका छन् । समिसाको जति समय पनि कुरेर बस्ने पतिव्रता अठोटले ढुक्क हुँदै, सागरको भविष्यलाई दृष्टिगत गर्दै जबरजस्ती मन बुझाएर आफ्नो भविष्य सोच्दै अकल्पनीय भएको लेखाजोखा गरेर बसेका छन् जेलमा हीरामणि ।
विष्णु थापा
कारागार कार्यालय डिल्लीबजार, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।