डेटलाइन – इनरुवा, वैशाख ८, २०७७
हेडलाइन – दसकौँपछि सुनसान सिरुवा
लिड – सुनसरी जिल्लाको इनरुवा नगरपालिका–८ भगवती रोडस्थित भगवती मन्दिर परिसरमा सनातनदेखि प्रत्येक वर्ष वैशाख ८ गतेका दिन लाग्दै आएको सिरुवा मेला यस वर्ष लागेन ।
पेटबोली – कोरोना सङ्क्रमण महामारी फैलिने त्रासका बीच मुलुक इतिहासमै पहिलोपल्ट गरिएको लक–डाउनका कारण इनरुवाको सिरुवा मेला प्रभावित भएको हो ।
कोट – ‘मैले थाहा पाउँदादेखि कंशमडान र भगवती मन्दिरको सिरुवा मेला नलागेको थाहा छैन,’ इनरुवा–३ सखुवागाछीका स्थानीय तथा कवि सागर तिमिल्सिना भन्छन्, ‘वैशाख ८ गतेका दिन जस्तो सुनसान भगवती रोडमा कहिले देखिएको थाहा थिएन ।’
थप प्रसङ्ग – वैशाख ८ गते इनरुवाको भगवती मन्दिर र सिरुवा मेला तथा त्यससँग जोडिएको बाल्यकाल सम्झिने वेद काफ्ले, सञ्जीव अर्याल, उत्तम चाम्लिङ, लीला पोखरेल, सञ्जय लुइँटेल, राजेन्द्र पोखरेललगायत देश–विदेशमा थुप्रै छन् ।
किकर – सम्भवतः अर्को वर्ष यस्तो नहोला र सिरुवा मेलासँग जोडिएको इनरुवाको रौनक अर्को वर्ष पुनः प्रत्यक्ष अनुभव गर्न पाइएला भन्नेमा स्थानीय आशावादी रहेका छन् ।
लक–डाउन स्पेसल ः २६ शीर्षकमा २०७७ वैशाख ८ गते साँझ यस्तै लेखेको रहेछु समाचार । फेसबुकले सम्झायो । सम्झिने–सम्झाउने मामलामा अचेल फेसबुक सबभन्दा अगाडि छ, समयको कुरा गर्दा । उसको बिजनेस जोडिएको छ त्यसमा ।
समाचार स्रोतले त्यो बेला वर्ष २०७८ मा इनरुवामा सिरुवा पूर्ववत् गुल्जार हुने अपेक्षा र कामना गरेको थियो । तर भयो ठिक उल्टो । कारोना भाइरस र लक–डाउन दुवै कडा रूपमा उपस्थित भए ।
त्राहिमाम्का बीच वर्ष २०७८ मा कंशमडानमा भने दुई–चारवटा मुरली बजेको सुनियो, फुकना र जुलेबी किनबेच पनि औसत भयो । तर भगवती रोडमा सिरुवा मेलाको निन्तरता सरकारी बन्दुक र कोरोना त्रासको सेपमा प¥यो ।
भन्नुहोला मान्छेलाई ज्यान बचाउन धौ–धौ भएका बेला संस्कार र संस्कृतिको महत्त्व कति हुन्छ ? निश्चय पनि हो त्यो कुरा तर इतिहास र अभिलेखीकरणका लागि यो चर्चा जरुरी थियो, जुन मैले तपाईँसमक्ष राखेँ ।
बीचमा साईरामको सन्दर्भ झन्डै दुखान्तको चरणमा पुगेछ ।
‘विद्याधर तिमीहरूसँग बोल्नु लेखेको रहेछ र भगवान् राईरामले मलाई बचाउनुभयो । बाबाले भन्नुभयो दिवाकर तिमीले गोलोकमा सेवा गर्न अझै बाँकी छ,’ धेरैपछि बालसखा दिवाकरको बोली व्यथित स्वरमा भाइबरमा सुन्दा मनमा जे अनुभूति भयो, त्यो शब्दमा बयान गर्न सकिन्न ।
नियतिले झन्डै अर्कै मोड लिन लागेको थाहा पाएर भाउन्न भएको थियो । दिवाकरको लवजमा उनका साईसङ्गत मित्र आत्मजय आफूजस्तै कारोना सङ्क्रमित र मृत्यु भएको पीडा खपिनक्नु थियो ।
कोरोनाको दोस्रो भेरियन्टले नगर्नु गर्दै छ । मलामी घटाउँदै छ, पिरलो बढाउँदै छ । फन्टुस–फिक्सनका पात्रहरू राम धामी, चन्द्र न्यौपाने, चेतन कार्कीलाई थाहा थियो– म समाजबाट जुन पटकथा सङ्कलन गरिरहेको थिएँ, त्यो मौलिक पाराको छ ।
विडम्बना फन्टुस–फिक्सनको क्लाइमेक्स थाहा पाउन नपाई असमय बिदा भए । पत्याउन मन लाग्दैन । तर सत्य त्यही हो कि फन्टुस–फिक्सन एकमुष्ट सार्वजनिक गर्ने दिन उनीहरूलाई एक ठाउँमा भेला गर्ने र सेल्फी लिने योजना थियो ।

‘सफल मानिस सानातिना कुरामा सम्झैता गर्छ तर आफ्नो सिद्धान्तमा अडिग रहन्छ । असफल मानिस पहिले यो कुराको छिनोफानो गरौँ भन्दै सानातिना कुरामा अडिग रहन्छ तर सिद्धान्तमा सम्झौता गर्छ ।’
मलाई सकारात्मक सोधखोज अभियानकर्मी भारतीय लेखक शिव खेडाको यो भनाइले निकै घत पारेको छ । प्रश्न उठ्छ, त्यसो’भा यतिञ्जेल म एउटा लेखकका रूपमा के गरिरहेको छु ? र, अब के गर्नेवाला छु ?
साथमा यो प्रश्न पनि लतारिएर आएको छ कि म यी सब काम कुन उद्देश्यले गरिरहेको छु ? यो सब गरेर मैले के पाउँछु ? दुनियाँले के पाउँछ ?
यस्तो पृष्ठभूमिमा एक दिन मलाई खेमराज पोखरेल दाइसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न मन लागेको थियो ।
त्यसो त इनरुवामा खेमराज पोखरेल नाम भएका धैरै जना हुनुहन्छ । मैलेचाहिँ नगरका पूर्वप्रमुख खेमराज पोखरेलको कुरा गरेको ।
कथाले मागेपछि सेल्फीवाला कुरो मनमा खेलाउँदै खेमराज दाइ भेट्न उहाँकै निवास बलाहा पुगेँ ।
‘दाइ म तपाईसँग सेल्फी खिच्न भनेर आएको,’ दाइलाई देख्नासाथै मैले भनेँ ।
‘तर, म खिच्न चाहन्नँ तपाईसँग सेल्फी । र, तपाईसँग यो विषयमा कुनै कुरा गर्न पनि चाहन्नँ,’ दाइले यसै भन्नुभयो ।
‘किन दाइ ?’ मैले विस्मित हुँदै सोधेँ ।
‘तपाईले आफ्नो लेखमा मेरो नाम मलाई नसोधी किन लेख्नुभयो ? अब तपाईसँग त व्यक्तिगत रूपमा केही बोल्न नहुने भो होइन ?’ उहाँको चित्त दुखाइ मैले फन्टुस फिक्सन लेख्ने क्रममा एक ठाउँ उहाँको नाम उल्लेख गरेकोमा रहेछ ।
‘त्यो दिन तपाई एउटा पत्रकारका रूपमा मसँग भेट्न आउनुभएको थियो र ?’ दाइले यो पनि सोध्नुभयो ।
दाइको कुरा सुनेर मैले बुझिहालेँ, दाइले फन्टुस फिक्सन क्लिक गरेर त्यो लेख पूरै पढ्नुभएको छैन । फेसबुकमा हाइलाइट गरिएको टुक्रा पढेर यसरी रिसाउनुभएको हो ।
‘राजन मेहतासँग दिनभर’ शीर्षकको त्यो आलेख पूर्वी बजार दैनिक र साहित्य–पोस्ट अनलाइनमा प्रकाशित भइसकेको छ । मेरो ब्लगमा पनि राखेको छु ।
पात्रले लेखकसँग प्रत्यक्ष दुखाएपछि मैले त्यो आलेख आफैँ पढेर सुनाउने विचार गरेँ ।
उहाँले सुन्न मन्जुर गर्नुभयो र सुन्नु पनि भयो । त्यसबेला उहाँको थप प्रतिक्रिया के रह्यो, त्यो म प्रसङ्वश तपाईँलाई भन्ने नै छु ।
फन्टुस फिक्सन लेख्दै र सकेसम्म स्वयम् पात्रहरू भेट्दै, सम्पादन गराउँदै जाने सिलसिला जारी छ ।
कृपया यति कुरा लेख्न मैले यो देशमा कसैसँग अनुमति लिइरहनुपर्दैन । के कुरा लेख्नुहुन्छ, के कुरा लेख्नुहुँदैन एउटा लेखकको विवेकमा भरपर्ने कुरा हो ।
फेरि कसैले मलाई यति मूर्ख पनि ठान्नु गलत हुनेछ कि म यति जाबो कुरा बुझ्दिनँ ।

जारी कथाको अर्को खण्ड अलि पृथक छ ।
यसको शीर्षक हो – जिन्दगीमा अहिलेसम्म खिचिएको मध्ये सबैभन्दा यादगार सेल्फी !
भगवती स्कुलमा म अब रमाउने कि नरमाउने ? रमाउने हो भने पनि कति दिन ? यस्तै–यस्तै तर्कना लिएर इटहरी फर्कदै गर्दा शान्तिचोकमा झुलुक्क खेमराज दाइलाई देखिनुभयो ।
‘दाइ नमस्कार !’
‘नमस्कार ! नमस्कार ! सुविदजी,’ दाइले भन्नुभयो ।
सरोज बराल सरसँग फन्टुस फिक्सनका पात्रहरूकै बारेमा अन्तरक्रिया गरेर भर्खर छुट्टिएको थिएँ । ‘खिच्न बाँकी सेल्फीवाला प्रकरणमा त्यस्तो आपत्तिजनक त केही देखिनँ मैले,’ सरोज सरको प्रतिक्रिया थियो ।
संयोगले दाइ टुप्लुक्क भेटिनुभयो ।
दाइ एउटा सेल्फी लिऊँ तपाईसँग ?’ मैले सोधिहालेँ ।
‘ए, भइहाल्छ नि सुविदजी, जाबो एउटा सेल्फीको न सवाल हो,’ यति भनेर दाइ मुसुक्क हाँस्नुभो ।
मैले खिचिक्क पारेँ । सेतो हेलमेट लगाई–लगाई ।
समय–अन्तरमा दाजु–भाइबीच देखापरेको कसरमसर केही सङ्लियो ।
बाँकी प्रसङ्ग त तपाईलाई थाहा नै छ ।
म जे सोचेर भगवती स्कुलमा गएको थिएँ, त्यो पनि तपाईँलाई थाहा नै छ ।
सुनसरी जिल्लाकै इतिहास बनेको तर भगवती माविमा विलय गराइएको सुनसरी प्रावि पुनःजीवित गर्नुथियो । भगवती माविको खस्केको शैक्षिक स्तर उकास्न थोरै भए पनि मद्दत गर्नुथियो ।
यसबाहेक कुनै पनि शिक्षालयमा शिक्षक भनेका उपदेशक कम सहजकर्ता बढी हुनुपर्छ, शिक्षकले पढाउने होइन सिकाउने हो भन्ने विशेष सिकाइ अनुभवसहित पुगेको थिएँ ।
अचम्म त के थियो भने म पुग्दा हातले लेखेर पत्राचार गर्ने चलन जस्ताको त्यस्तै थियो । नेटको के कुरा, कम्प्युटरसमेत सर्वसुलभ थिएन । वर्ड फाइल खोलेर नेपाली अक्षर टाइप गर्नजान्ने शिक्षक थिएनन् ।
तर पाठ्यक्रमअनुसार कक्षा आठसम्म कम्प्युटर पढाउनुपथ्र्यो । प्रावि तहको नेपाली शिक्षक मैले भगवती स्कुल पुग्नासाथ कक्षा आठसम्मको कम्प्युटर विषय जिम्मा लिनुप¥यो ।
त्योसँगै मातृ–विद्यालयलाई कम से कम कम्प्युटरबाट पत्राचार गर्नयोग्य बनाउने अभियान मेरो अतिरिक्त जिम्मेबारी बन्यो ।
यहाँसम्म ठिकै थियो । तर विडम्बना द्वारिका निरौला र दुर्गा श्रेष्ठ गरी दुई जनाबाहेक बाँकी शिक्षक मेरा विशष्टि शैक्षिक योजना थाहा पाएर बेखुसी भए ।
मैले स्टाप बैठकमा कार्यालयमा वा विद्यार्थीले देख्नेगरी कतै पनि खैनी लटाएर खानु गलत हो, कक्षामा कोही शिक्षक छडी लिएर नजाऔँ, कम से कम एकपटक गिजुभाइको दिवास्वप्न किताब सबै स्टापले पढौँ, विद्यार्थीको परमपरागत बसाइ परिवर्तन गरौँ, कक्षामा विद्यार्थीको र कार्यालयमा शिक्षकको आचार–संहिता बनाएर टाँसो भनेको साथीहरूलाई औडाहा भयो ।
खासमा पछिल्लो आयोग उत्तीर्ण गरेकी एक जना शिक्षिकाले कक्षा ६ का तीन जना छात्रालाई कक्षामा ढिलो आएको आरोपमा सबै साथीहरूका सामुन्ने उठबस गराएको देखेर मैले फोटो खिँचेँ ।
साथीहरूलाई काम पुगिहाल्यो । मेराविरुद्ध विद्यार्थी उचालेर सानोतिनो प्रदर्शन नै गराइदिए । भर्खर आयोग उत्तीर्ण शिक्षिकाको प्रस्तुति त्यस्तो छ भने, बाँकीको हाल के होला ? तपाईँ आफैँ अनुमान गर्नसक्नुहुन्छ ।
तपाईलाई ती शिक्षिकाको नाम र उनले विद्यार्थीलाई उठबस गराउँदै गरेको फोटो चाहिन्छ भने मलाई इन–बक्समा सम्पर्क गर्नुहोला ।
उता, विनोद कार्कीलगायत केही शिक्षकले ‘भगवती माविलाई राजाजी माविमा मर्ज गराउन चाहने नगरप्रमुख राजन मेहताको भरिया बनेर म त्यहाँ छिरेको र त्यसैअनुसार विद्यालयभित्र रहेको कमजोरी सार्वजनिक गरेर अभिभावकका मनमा विद्यालयविरुद्ध घृणा बढाउने अभियान सिर्जना गर्न आरोप लगाए । आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो भनेको यही हो ।
साथीहरूको तथाकथित आरोप र व्यवहारले मन कुँडियो ।
सोचेँ– आधा तलबको जागिर खाइराख्नुको अब औचित्य छैन । यसरी द्वन्द्वपूर्ण वातावरणमा म न भगवती मावि सुधार्न सहजीकरण गर्न सक्छु, न सुनसरी प्रावि स्थापना । बरु भित्र बसेरभन्दा बाहिर आएर पत्रकारिताको माध्यमबाट आफ्नो अभियानका पक्षमा जनमत सिर्जना गर्नु सहज हुनेछ ।
यसरी साठी वर्ष पुग्न सात वर्ष केही दिन बाँकी छँदै म स्वेच्छिक अवकासको निष्कर्षमा पुगेँ । सही गरेँ, गलत गरेँ, के गरेँ ? त्यो समयले बताउनेछ ।
राजीनामा–पत्र बुझाएको दिन माझ चउरमा उभिएर पृष्ठभूमिमा भगवती मावि र सुनसरी प्राविको भग्नावशेष राखी सेल्फी लिँदै गर्दा म निकै भावुक भएको थिएँ । मन ल्यापटपको झोलाभन्दा गह्रुङ्गो भएको थियो ।
त्यो चउर र भगवती मावि सेरोफेरोसँग मेरो बालापन जोडिएको अलग कथा छ । प्रसङ्गवश जोडिँदै जाला ।
यतिबेला भगवती मावि र त्यहाँका शिक्षकहरू कुन धरातलीय यथार्थमा छन् ? भेटेर सेल्फी लिन बाँकी छ ।