भारत स्वतन्त्रता भएपछि सुरु भएको दार्जीलिङको साहित्यको दोस्रो चरणले पुराना साहित्यकारहरूलाई एकातिर निरन्तर सशक्त बनाउँदै लगे भने अनेकन् नयाँ प्रतिभावान् कथाकारहरू स्थापित हुनमा सहयोग गरे । पहिलो चरणमा ४ वटा जति कथासङ्ग्रह प्रकाशित भएको तथ्य फेला परेको छ तर तुलनात्मकरूपमा दोस्रो चरणमा असङ्ख्या कथासङ्ग्रहहरूले प्रकाशनको उज्यालो देख्न पाए । दोस्रो चरणको उर्वरतामा भारती, गोर्खा, प्रभात, हाम्रो कथा, जनदूत, धुवाँ, दियालो, मालिङ्गो, तेस्रो आयाम, फूल-पात-पत्कर, साहित्य सङ्गम आदि पत्रिकाको ठुलो योगदानलाई नकार्न सकिन्न । सुयोग्य सम्पादक, लगनशील लेखक र अध्ययनशील पाठकहरूको यो त्रिवेणीले नेपाली साहित्यलाई नयाँ उचाइ दिएको थियो त्यस बखत । मूर्धन्य समालोचक गुमानसिंह चामलिङ्ग ‘दार्जीलिङ नेपाली साहित्यको पहिलो डेढ-दशक’- शीर्षकको लेखमा नयाँ लेखकहरूको लामै सूची तयार पारेको छ । उनी लेख्छन्, “नभन्दै सं. २००६ देखि दार्जीलिङ कथासाहित्य विस्तीर्ण हुँदै आएको छ । यसै साल परशुराम रोका, तेजबहादुर सिंह, अरूणचन्द्र प्रधान, बलबहादुर क्षेत्री, लाह छिरिङ, एम.एम. गुरुङ, बी. कुमार सुब्बा, अमरबहादुर दहाल, वीरविक्रम गुरुङ, किशोरचन्द्र सोताङ, डी.आर. बराल, तुलसी, तिलक राई, एल.कान्त, हीरामाया थापा, कृष्णा गुरुङ, जगपाल सुब्बा, एम, सुब्बा, खड्गबहादुर सिंह, दीपनारायण प्रधान, उमादेवी योञ्जन, बी.बी. कुमाई, के. प्रसाद गुरुङ आदिका कथाहरू देखिए ।” दोस्रो चरणका कथाहरूमा दार्जीलिङका सामाजिक जीवन, आर्थिक सङ्कट, रोग, भोक, जिजीविषाको सङ्घर्ष, विघ्न-बाधाहरू, पारिवारिक कलह, समाजमा घटेका झगड़ा आदिको चित्रण, वर्णन गरिएको पाइन्छ । त्यसबाहेक धार्मिक पर्वहरू, जातपातका कुराहरू, थिचोमिचोका कुराहरू, चियाबगानको गाथाहरू प्रशस्त पाउँछौँ । यही चरणमा मनवैज्ञानिक, यौनवादी एवं स्वच्छन्दतावादी कृतिहरू प्रकाशित भएको पाउनु स्वाभाविक थियो । यस दोस्रो चरणका कथाकारहरूले केही रहस्य रोमाञ्चक प्रवृत्तिका कथाहरू पनि लेखे त्यसमा देवकुमारी सिन्हाको ‘झझल्को’ (सन् १९५८) सङ्ग्रहको ‘झझल्को’ प्रमुख हुन् ।
यही दोस्रो चरणलाई वरिष्ठ समालोचक दयाराम श्रेष्ठ- ‘भारतीय नेपाली कथा’-को भूमिकामा सुन्दर ढङ्गले प्रस्तुत गर्छन् । उनी लेख्छन्” वि. सं. २००४ मा लक्खीदेवी सुन्दास (सेवा) र राधिका राया तथा वि. सं. २००५ देखि अच्छा राई रसिक र देवकुमारी थापा ( सिंह ) कथाका क्षेत्रमा देखा परेपछि दार्जीलिङको कथापरम्परामा यथेष्ट सबलता आयो । दार्जीलिङबाट मनोवैज्ञानिक कथा लेख्ने पहिलो कथाकार देवकुमारी थापा थिइन् भने हास्य-कथा लेख्ने चाहिँ अच्छा राई रसिक थिए । वि. सं. २००५ मै त्यहाँबाट श्रीबहादुर थापा, प्रेमसिंह पिटर्स देखा परे । “गोर्खा’ पत्रिकाको प्रकाशन वि. सं. २००२ मै भइसकेको हुँदा त्यस पत्रिकाको माध्यमबाट थुप्रै कथाकारहरू त्यहाँबाट देखा पर्न थालेका थिए । वि. सं. २००६ मा नेपाली कथाका क्षेत्रमा दार्जीजिङबाट एक ज्यादै महत्त्वपूर्ण कार्य भयो; त्यो थियो पहिलो कथा प्रधान पत्रिका “हाम्रो कथा’-को प्रकाशन । यस पत्रिकाले त्यहाँको कथाको विशाल क्षितिज उघारिदियो जसभित्र प्रवेश गर्ने होडबाजीले गर्दा प्रशस्त मात्रामा कथाकारहरू जन्मिए । त्यहाँका प्रतिष्ठित कथाकारहरूका कथाहरू त्यसमा छापिए । दार्जीलिङको कथासाहित्यमा यस पत्रिकाको देन कतिसम्म धेरै छ भने कथाको पठनशीलतामा वृद्धि गर्न यसले प्रकाशित कथाहरूको जनमत लिनेसमेत कार्यक्रमको सञ्चालन गयो । त्यस पत्रिकाको वर्ष १; किरण १२, २००७ श्रावणको अङ्कको सम्पादकीयमा भनिएको छ –”साधारण जनताको चाख विचार र हाम्रा लेखकलेखिकाहरूलाई समेत जनता पढ्ने मौका दिनलाई र उनीहरूको उत्साह डबली तेबली बढाउने ताको राखेर हाम्रो कथाको १२ किरणसम्ममा प्रकाश भएका कथाहरूमा जनमत लिने प्रबन्ध गरेका छौँ । जे होस् , वि. सं. २००६ दार्जीलिङको कथासाहित्यको इतिहासमा धेरै महत्त्वपूर्ण छ । यसका कारणहरूमा “हाम्रो कथा” को प्रकाशन मात्र नभएर त्यसै वर्ष दार्जीलिङमा “प्रगतिशील नेपाली साहित्य परिषद्’ को स्थापना भयो जसको प्रचारविभागका मन्त्री थिए कथाकार अच्छा राई रसिक । यस परिषद्ले कथालेखन प्रतियोगिताको आयोजना गरेको थियो । यसका साथै त्यसै वर्ष दार्जीलिङबाट एम. एम. गुरुङ, वीरविक्रम गुरुङ, कृष्णसिंह मोक्तान, जगपाल सुब्बा, ऋषि उर्फ एम. प्रकाश सुब्बा र अमृता क्षेत्री जस्ता कथाकारहरूको आविर्भाव भएको थियो । दार्जीलिङीय कथालाई गतिशीलता प्रदान गर्न तथा व्यापक मैदानमा पुऱ्याउन यी कथाकारहरूको महत्त्वपूर्ण योगदान छ ।”
दोस्रो चरणको सशक्त कथाकार थिइन् देवकुमारी सिंह । उनले कथा यात्रालाई दुई चरणमा विभक्त गर्न उपयुक्त हुन्छ । पहिलो वि.सं. २००५ देखि वि.सं. २०२१ सम्म । पहिलो चरणको लेखन देवकुमारी सिन्हाको नाममा धेरै जसो आएको देखिन्छ । वि.सं. २००५-मा कालिम्पङबाट प्रकाशित हुने ‘गोर्खा’-मा ‘पतन’ कथा प्रकाशित गरि देवकुमारी सिन्हा नेपाली साहित्यमा प्रवेश गर्छिन् । त्यसको केही समयपछि उनको कथा ‘सन्तोष’ लैनसिंह बाङ्देलद्वारा सम्पादित ‘प्रभात’-को दोस्रो अङ्कमा, ‘एउटा घटना’ थियोडर मनेनद्वारा सम्पादित ‘साथी’-को वर्ष १, अङ्क ९-१० र ‘परलोक भ्रमण’ रूपनारायण सिंह र पारसमणि प्रधानद्वारा सम्पादित भारतीको वर्ष २, अङ्क ५-मा प्रकाशित भएको पाउँछौँ । गुमानसिंह चामलिङद्वारा सम्पादित साहित्य सङ्गममा सन् १९६० तिर पृथिवी पारिका महाकवि शीर्षकको एउटा लेखमा छापिएको थियो । प्रथम चरणमा उनको कथासङ्ग्रह ‘झझल्को’ ( वि.सं. २०१२), ‘एकादशी’ (वि.सं. २०११) र ‘सेतो बिरालो’ (वि.सं. २०१९) मा प्रकाशित भएको पाउँछौँ । त्यस भन्दा पहिले ‘पुण्यात्मा आमा’( जीवनी) वि.सं. २०१०, ‘छ तारा’ ( जीवनी, वि.सं. २०१२) प्रकाशित भएको थिए । समकालीन महिला साहित्यकारहरू दार्जीलिङलाई नै क्रमथलो बनाएर बसे तापनि देवकुमारी र राधिका राया बिहेपछि नेपालको पूर्वी भागमा आएर सृजनशीलतालाई निरन्तरता दिइरहे । देवकुमारी सिन्हालाई साहित्यमा प्रेरित हुन सूर्यविक्रम ज्ञावाली, अच्छा राई रसिक, शिवकुमार राई लगायतका थुप्रै अग्रज साहित्यकारहरूको हात छ । दार्जीलिङमा हुँदा उनलाई नजिकबाट चिन्ने कवियत्री थिइन सावित्री सुन्दास । दिवकुमारी सिंहको पहिलो चरणको संस्मरण गर्दै लेख्छिन्, “जी छिरीङ्ग ‘भारती’-मा लेख्ने र काम गर्ने दाइ हुनुहुन्थ्यो । दिदीको कथाले मलाई निकैनै ऊर्जा उत्साह अनि भावविभोर दिएको दाजुलाई थाहा थियो र दिदीलाई टाढाबाट देखाउँदै तिमीले मन पराउने कथा साहित्यकी लेखीका देवकुमारी सिन्हा तिनै हुन भन्दा म त कथा साहित्यमा मात्र होइन सुन्दरतामा पनि भगवान्ले साथ दिएछन् भनेर मोहित भए ! दिदी चट्ट मिलेकी शिष्ट, शान्त र सालीन भद्रताकी धनी सुन्दरताकी प्रतिमूर्ती मानौँ एउटा राम्रो कालाकारले बनाएको सुन्दर तस्बिरको जस्तो लाग्यो र साँच्चिकै दिदी त्यसबेला खुबै राम्री र प्रभावशाली व्यक्तित्वकी धनी हुनुहुथ्यो । उहाँको पारिवारिक परिवेश के कस्तो केही थाहा छैन तर देवकुमारी दिदीको मेरो आँखामा ४२, ४३ वर्ष पहिला देखेको एक सुन्दर तस्बिर हो जुन तस्बिरमा ओजस्वी तेज छ । त्यो तेजले सायद खरसाङ र दार्जीलिङलाई मात्र नभई नेपाली भाषा साहित्यको इतिहासमा सुनौलो बिहानी छाएको छ ! र छाइ नै रहन्छ ।” देवकुमारी सिन्हाको यही सुन्दरताबाट मोहित भएका थिए भवानी भिक्षु । सिंहलाई भिक्षुले उनको दार्जीलिङ भ्रमणमा भेटेका थिए । विवाहको प्रस्ताव पनि राखे रे भिक्षुले । यो विषयलाई समालोचक अभि सुवेदीले अत्यन्त सुन्दर ढङ्गमा लेख्छन् लक्ष्मी उप्रेतीद्वारा सम्पादित ‘साहित्यकार देवकुमारी थापा- व्यक्तित्व र कृतित्व’ नामक पुस्तकको ‘देवकुमारी थापा समय र व्यक्तित्व’ शीर्षक लेखमा । उनी लेख्छन्,” बालकृष्ण समजीले भन्नुभयो देवकुमारी सिन्हाको एक आकर्षक व्यक्तित्व छ । उनको लेखनमा एउटा अनौठो कोमलता र शक्ति छ । कोमलताको पनि ठूलो शक्ति हुन्छ । उनको व्यक्तित्वसँग जो कोही पनि आकर्षित हुन सक्छन् तर त्यो व्यक्तित्व सम्मानित छ । एकपटक उनी आएर भवानी भिक्षुले विवाह गरौँ भनेर उनलाई सताएको कुरा मसँग एक किसिमले गुनासो गरिन् । मैले भवानी भिक्षुलाई भेटेर गाली गरिदिएँ । यस्तो पनि भन्ने हो भनेर । त्यसपछि उनले भद्रतापूर्वक भने- “म देवकुमारी सिन्हाको व्यक्तित्वबाट प्रभावित भएको मात्र हुँ । म अब यस्तो कुरा गर्दिनँ ।” त्यसपछि उनले ‘धरती’ पत्रिकामा देवकुमारी सिन्हाको एउटा कथाको जहाँ अन्त्य हुन्छ त्यहाँबाट सुरु गरेर अर्को कथा लेखेर त्यहीँ छपाएँ । त्यो कुरा राम्रो हो ।”
दार्जीलिङमा देवकुमारी सिन्हाले कथामात्र लेखिनन् उनले पत्रिका स्पादन पनि गरिन् । ‘साथी’ पत्रिकाको सम्पादक एवं कुनै बेला भारतीय काङ्ग्रेसको महासचिव थियोडर मनेनको अनुरोधमा बालपत्रिका ‘हिमाल किशोर’ कुशलताको साथ सम्पादन गरिन् । नेपाली साहित्य सम्मेलन दार्जीलिङले नेपाली साहित्य सम्मेलन पत्रिका बन्द भएको लामो अन्तरालपछि वि.सं. २०१६-मा ‘दियालो’ पत्रिका सुरु गरिन् । त्यही पत्रिकाको हाँगा १ देखि २१ सम्म इन्द्रबहादुर राई, गणेशलाल सुब्बा, भानुभक्त कुमाई, वीरविक्रम गुरुङ र तुलसीबहादुर छेत्रीको सम्पादक मण्डलको एक सदस्यका रूपमा सम्पादकीय भूमिका पनि निभाइन् । नेपाल प्रवेशपछि ऐँसेलु , पारिजात र नेपाली साहित्य वर्तमान सन्दर्भमा आदिको पत्रिकाको विभिन्न तहमा रहेर सम्पादकको भूमिका निर्वाह गरे । दार्जीलिङमा देवकोटा, सम, सिद्धिचरण, भिक्षु, लेखनाथ, बाङ्देल जो कोही आए पनि त्यस ताक देवकुमारीको सक्रियताबिना उनीहरूको सम्मान कार्यक्रम गर्न गाह्रो पर्ने इन्द्रबहादुर राई बताउनुहुन्थ्यो । देवकुमारीको बालपत्रिका र कथाहरूले दार्जीलिङका कुमार प्रधान, लक्खीदेवी सुन्दास, सुभद्रा सुब्बा(दाहाल), सावित्री सिंह आदिलाई साहित्यमा लाग्न प्रेरित गरेको थियो ।
देवकुमारी सिन्हाले दाम्पत्य जीवनमा उमेरले नेटो काट्दा मात्रै प्रवेश गरिन् । ३९ वर्षको उमेरमा सन् १९६७-मा मेजर बबरसिंह थापासँग बिहे गरी स्थायीरूपमा विराट्नगर बसोबास गर्न थालिन् । त्यहीँदेखि उनको साहित्यक जीवनको दोस्रो चरण सुरु हुन्छ । सन् १९२८-मा दार्जीलिङको खरसाङमा जन्मेको देवकुमारी मेधावी छात्रा थिइन्, कलकत्ताबाट स्वास्थसेवा पढेर आइन् अनि दार्जीलिङ सदर अस्पतालमा जागिर खाइन् । नेपाल प्रवेशपछि साहित्यमा उनको सक्रियताले निरन्तरता पाइरह्यो । कथालेखनमा व्यस्त रहिन् उनी । अनि प्रकाशित हुन्छ- टपरी (कथासङ्ग्रह, वि.सं. २०२७), वरपरबाट (बालकथासङ्ग्रह, वि.सं. २०३३), कथाको बटुलो (बालकथासङ्ग्रह, वि.सं. २०३६), जङ्गलको कथा (बालकथासङ्ग्रह, वि.सं. २०३७), भोक तृप्ति (कथासङ्ग्रह, वि.सं. २०४१), सुनपखेटी चरी (बालकथासङ्ग्रह, वि.सं. २०४२), प्रलय प्रतीक्षा (कथासङ्ग्रह, वि.सं. २०४२), क्षण विचार र स्मृतिहरू (निबन्धसङ्ग्रह, वि.सं. २०४९) र देवकुमारी थापाका प्रतिनिधि कथाहरू (वि.सं. २०५१) ।
देवकुमारी सिन्हा बहेपछि देवकुमारी थापाबाट साहित्यमा चिनिन थालिन् । नेपाल प्रवेशपछि उनको कथाको प्रवृत्तिमा केही परिवर्तन आएको पाउँछौँ । नयाँ परिवेश, परिवर्तित समाज, नौलो चुनोतीले उनको कथामा प्रवेश गरेको जानकारहरू बताउँछन् । देवकुमारीको कथालेखनलाई विवेचना गर्दै दयाराम श्रेष्ठ ‘नेपाली कथा र कथाकार’-मा लेख्छन्, “कथाकार देवकुमारी थापाले मानिसको यौनभावसम्बन्धी मानसिकताको प्रस्तुतिको सन्दर्भमा अचेतन मनको तहमा दमित वासनात्मक इच्छाले चेतन मनमा देखाउने विभिन्न दबाब र प्रतिक्रियाहरूलाई आकर्षक तरिकाले देखाउन सकेकी छिन् । अचेतनमा दमित यौनेच्छाको तृप्तिका लागि प्रतीकलाई समेत माध्यम बनाउने उनका पात्रहरू कुनै न कुनै मनोग्रन्थिका सिकार भएका हुन्छन् । साथै यौनप्रेरणाका कारणबाट उनका पात्रहरू आफ्नो स्वभाव र आचरणमा परिवर्तन आएको अनुभव गर्दछन् । यसको अर्थ के हो भने मानिसको यौनिक जीवनमा स्वभावतः आउने उत्तेजनाको ज्वारभाटा, आत्मरतिको भावना र रागात्मक स्थितिलाई उनले प्रत्यक्षपरोक्ष रूपमा आफ्ना कथाहरूमा उपस्थापन गरेकी छिन् । उनी कामात्मक प्रतीकहरू प्रयोग गरेर पात्रहरूको यौनजन्य व्याकुलता र पीडाको स्थितिलाई देखाउने उद्देश्य राख्दछिन् । यसबाट के स्पष्ट हुन्छ भने उनी यौनेच्छाको वशमा परेका मानिसहरूको कुण्ठित मानसिकता तथा तनावको मनोविज्ञानमा केन्द्रित भएकी कथाकार हुन् ।
देवकुमारी थापाका कथामा पात्रको मनोविज्ञानका सामान्यदेखि विशिष्ट रूपसमेतको निदर्शन गरिएको हुन्छ । मन आफैँमा अमूर्त हुने भएकाले व्यक्ति-व्यक्तिमा अवस्थाविशेषमा यसले आफूलाई भिन्नभिन्न रूपमा परिवर्तन गर्ने कुरामा उनको विश्वास रहेको पाइन्छ । त्यसैले उनका पात्रहरू पत्याउनै कठिन पर्ने विचित्रको मनोवृत्ति देखाउने गर्दछन् । यसका साथै यथार्थसँग सङ्गति नै नराख्ने मनोशारीरिक प्रसङ्गहरूसमेत दिएर उनले आफ्ना कथामा मनोविज्ञानको कलात्मक प्रयोग गरेकी छन् । उनले प्रयोग गरेकी मनोविज्ञानको दायराभित्र देवकुमारी थापा नेपालमा प्रवेश भएपछि समाजसेवामा पनि आबद्ध हुन थालिन् ।”
स्वास्थ सेवामा आबद्ध भएकाले देवकुमारी सिन्हाको लेखनमा मनोवैज्ञानिक तत्त्वहरू पाउनु स्वाभाविक हो । रूपनारायण सिंह, लैनसिंह बाङ्देल, इन्द्र सुन्दास, शिवकुमार राई जस्ता नेपाली साहित्यमा नवीनतम विषयवस्तु र शैलीको प्रयोक्ता आफ्ना अग्रजबाट मार्गदर्शन र प्रेरणाले लेख्न सुरु गरेकी देवकुमारीको कथामा अरू महिला कथाकारहरूभन्दा पृथक् देखिन्छ । देवकुमारी थापाले कथा लेख्न थाल्दा नेपाली साहित्यमा महिलाहरू यो क्षेत्र शून्यप्रायः थिए । पारिजातको प्रवेश निकै पछि भयो भने राधिका रायाले उनीभन्दा केही वर्षपछि मात्र कथालेखनमा प्रवेश गरेका थिइन् । नेपाली साहित्यमा महिला लेखनका अध्येता समालोचक लीला लुइँटेलका अनुसार देवकुमारी थापालाई साहित्यिक दृष्टिबाट सचेत भएर कथा लेख्न सुरु गर्ने र पछिसम्म निरन्तरता दिइरहने पहिलो नेपाली महिला कथाकारका रूपमा लिन सकिन्छ । नेपाली साहित्यको यो दोस्रो चरण भए पनि लीला लुइँटेलले विभाजन गरेअनुसार महिला कथाकारहरूको पहिलो चरण थियो र पहिलो चरण (२००५-२०१६)का लेखिकाहरूमा देवकुमारीबाहेक शशिकला शर्मा, राधिका राया, किरण शाक्य, फलेन्द्र जगत्कुमारी राणा, लक्खीदेवी सुन्दास आदिको नाम लिएको छिन् तर यही समयमा दार्जीलिङमा सानुमति राई, चन्द्रकला गुरुङ, प्रभावती रोका, चन्द्रकान्ता दरनाल, रत्न शाक्य, तारा प्रधान, खिदमत सुब्बा, सुभद्रा सुब्बा, पार्वती मुखिया आदि लेखिकाहरूले भारती, गोर्खा, प्रभात, हाम्रो संसार जस्ता प्रतिष्ठित पत्रिकाहरूमा कथाहरू प्रकाशित गरेका तथ्यहरू फेला परेको छ । प्रभावति रोकाको ‘’सम्झना’ शीर्षकको कथा ‘उदय’-को वर्ष १२, किरण ४ (माघ २००५/ फेब्रुवरी १९४९) मा प्रकाशित भएको थियो । यसै गरी कमला बाङ्गदेलको ‘उदय’-को वर्ष १२, किरण ७-८ (वैशाख-ज्येष्ठ २००६/ मे-जुन १९४९) मा ‘सपना’ कथा प्रकाशित हुन्छ । रुक्मिणी देवानको कथा ‘परिचय’ ‘उदय’-को वर्ष १४, किरण ४-७ (वैशाख-अषाढ २००८/अप्रिल-जुलाई १९५१)मा प्रकाशित भएको छ तर कथालेखनमा महिलाको इतिहासमा लीला लुइँटेलको भन्दा समालोचक सुधा त्रिपाठीको छुट्टै धारणा छ । नेपाली कथा साहित्यमा महिलाहरू प्रवेशबारेमा समालोचक सुधा त्रिपाठीले ‘समाकलिन साहित्य’को कथासमालोचना विशेषाङ्क- २, पूर्णाङ्क ४६ मा ‘महिला-कथालेखनको इतिहास’-मा लेख्छिन्,” कविताविधामा भन्दा कथाविधामा महिलालेखनको प्रारम्भ छुट्याउन कठिन छ । गद्यलेखनका प्रवाहबाट विधागत प्रस्तुतिको ढाँचा हेरी विधाको निर्धारण गर्दा १९९२ को ‘शारदा’ पत्रिकाका छापिएको तुषारमल्लिकाको ‘स्त्रीरत्न’ शीर्षकको गद्यरचनालाई केही कथात्मक सम्पुट प्राप्त गरेको महिलाकथाकारद्वारा रचित प्रथम नेपाली कथा मान्नुपर्दछ । ‘शारदा’मार्फत महिला कथालेखनका क्षेत्रमा देखापरेकी अर्की कथाकार एम. लक्ष्मी (मोतीलक्ष्मी उपासिका) का ‘रोदन’ शीर्षकमा पत्रात्मक शैलीका दुईओटा कथाहरू १९९२ र १९९३ का ‘शारदा’-का दुईओटा अङ्कमा छापिएका छन् र १९९४ को ‘शारदा’-मा ‘वियोगिनीको अल्झो’ शीर्षकको कथा प्रकाशित भएको छ । यसरी ‘शारदा’-मा एक वा दुई कथा लिएर देखापर्ने अरू कथाकार हुन्- श्रीमती सुशीला कोइराला- दुलही, कुमारी इन्दिरा कोइराला- सपना र विधवा, श्रीमती पी.पी. शर्मा- सौतेनी आमा, गौरी- धोको, सिस्टर इन्दिरा-बिलौना, बुना बराल-अस्फुट वेदना आदि । महिला कथालेखनको यो स्थिति प्रारम्भबिन्दु मात्र हो अर्थात् भर्खर बामे त सर्न लागेको तर गोडाले उभिएर थिरिन नसकेको स्थिति ।” यसै विषयमा युवा समालोचक गीता त्रिपाठी छुट्टै मत व्यक्त गर्छिन् । उनी ‘समकालीन साहित्य’-को पूर्णाङ्क ६२-को ‘समकालीन नेपाली कथामा नारीकलमको वैचारिक घनत्व’-मा लेख्छिन्,” वि.सं. १९८३ सालमा भारतबाट प्रकाशित ‘गोर्खासंसार’ पत्रिकामा छापिएको दिव्यकुमारीदेवी कोइरालाको ‘चर्खा’ शीर्षकको कथा हालसम्म प्राप्त पहिलो प्रकाशित नेपाली नारी कथाकारको कथा मानिन्छ । यसै समयतिर ‘गोर्खासंसार’-मै सुन्दरीभामा चालिसेका दुई कथाहरू प्रकाशित भएको पाइएको छ । १९९२ सालको ‘शारदा’ पत्रिकामा प्रकाशित तुषार मल्लिकाको ‘स्त्रीरत्नकथा’ नेपालबाट प्रकाशित पहिलो नेपाली नारीकथाकारको कथा मानिन्छ । यसपछि एम.लक्ष्मी उपासिका, सुशीला कोइराला, कुमारी इन्दिरा, विद्यादेवी दीक्षित आदि नारीकथाकारले नारीकथालेखनको जगमा इँटा थप्दै लगेको देखिन्छ ।”
देवकुमारी सिन्हासँग परिचित थिए तारानाथ शर्मा दार्जीलिङमा पढ्दादेखि नै । उनको कथाहरू युवा अवस्थामा नै पढे तारानाथ शर्माले । यसैले उनले गरेको समालोचनामा देवकुमारी सिन्हाको कथा प्रवृत्तिको सही मूल्याङ्कन पाइन्छ । ‘वनिता’ पत्रिकामा प्रकाशित एउटा लेखमा तारानाथ शर्मा लेख्छन्, “भविष्य निर्माण मात्र होइन, अरू उनका कथाहरू पनि कथानकको प्रारम्भिक परिचय दिँदा वातावरण बनाउने उद्देश्यले होला ससाना वर्णनहरूद्वारा अघि बढ्छन् । उन्नाइसौँ शताब्दीका अङ्ग्रेजी आख्यानहरूको र विशेष गरी छिमेकी बङ्गाली कथाकारिताको प्रत्यक्ष प्रभावले गर्दा लेखिकामा यस्तो स्वाभाविक र सरल वर्णनात्मकताको विकास भएको हो । यस गुणले लेखिकालाई उत्कृष्ट उपन्यासकार बनाउने थियो तर उनको प्रतिभा छोटा कथाहरूमै केन्द्रित रह्यो । धेरै विद्वान्हरूले देवकुमारी थापाको रचनाकारितालाई धेरै दृष्टिकोणबाट व्याख्या र विश्लेषण गरेका छन् । सफल कृतिकारलाई विभिन्न कोणबाट परख गर्नु स्वाभाविक पनि हो र आवश्यक पनि पर्छ तर सबैजसो समीक्षकहरू उनलाई बालमनोविश्लेषणकी सर्वश्रेष्ठ नेपाली लेखिका मान्छन् । वास्तवमा उनी हुन् पनि । यस तथ्यका प्रशस्त प्रमाण उनका अनेकौँ कथामा पाइन्छन् तर मलाई भने गाँठो फुकेपछि रहस्योद्घाटन अत्यन्त विश्वसनीय र छोइने लाग्छ । ”
नेपाली साहित्यमा महिला लेखिकाहरूको पनि सही मूल्याङ्कन हुनुपर्छ भन्ने धारणाले अग्रसर छिन् लीला लुइँटेल । विशेष गरी नेपालभित्र र पूर्वाचल भारतका महिला साहित्यकारहरूको विषयमा अध्ययन र खोज गरेकी लुइँटेलले उनका कैयन् पुस्तकहरूमा नेपाली लेखिकाहरूको लेखन प्रवृत्तिमाथि चर्चा गरेका पाउँछौँ । महिला आख्यानकारहरूमा केन्द्रित उनको लेखहरूले नेपाली साहित्यमा महिलाको भूमिका राम्री उजागर गरेका पाइन्छ । लीला लुइँटेलको ‘नेपाली महिला कथाकार’ पुस्तक पनि उनको अथक परिश्रमको फल हो । सोही पुस्तकमा उनले देवकुमारी थापालाई प्रमुखताका साथ प्रस्तुत गरेकी छिन् । देवकुमारी थापाबाटै सुरु भएको सो पुस्तकमा उनी देवकुमारीको कथा प्रवृत्तिबारेमा लेख्छिन्, “देवकुमारी थापाका कतिपय कथाहरू मनोविश्लेषणप्रधान पनि रहेका छन् । यिनका मनोवैज्ञानिक कथाहरूमा बालमनोविज्ञान, युवामनोविज्ञान र प्रौढमनोविज्ञान पाइन्छ । रहर, कुकुरको छाउरो, रिढेको प्रश्न यिनका बालमनोवैज्ञानिक कथाहरू हुन् । यी कथाहरूमा बालकका मनमा रहने स्वाभाविक इच्छा, राम्रो देखिएर मनपर्दो हुने रहरजस्ता बालसुलभ प्रवृत्तिहरूको उद्घाटन गरिएको छ । मोहको एउटा क्षण, सम्बन्ध, तिर्खा, प्रलय प्रतीक्षा, भोकतृप्ति, गाँठो फुकेपछि जस्ता कथाहरू यौनमनोविज्ञानसँग सम्बन्धित छन् । यिनले प्रयोग गरेको यौनमनोविज्ञानमा कामवासनात्मक उत्कर्षता र यौनजन्य विकृतिको प्रस्तुति नभएर शाश्वत रूपमा रहेको मानवीय यौनजन्य पक्षको चित्रण स्वस्थ र सौम्य ढङ्गले गरिएको छ । यसैगरी यिनका मोहको एउटा क्षण, एउटा मृत्यु संयोगको प्रौढमनोविज्ञानमा आधारित कथा हुन् । यिनमा भावुकता सहानुभूतिजस्ता भावनाहरूको अभिव्यक्ति पाइन्छ ।”
सामाजिक सेवाका आबद्ध भएर सक्रिय हुने क्रममा उनी मोरङको नेपाल बाल सङ्गठनकी अध्यक्ष पनि भइन् । यसको साथै शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा उनले योगदान अतुलनीय छ तर उनको कदर नेपाल प्रज्ञा प्रतिष्ठान र अरू सरकारी निकाय हुन नसकेको धेरै जानकारहरू गुनासो गर्छन् । उनका केही कथाहरूलाई महेश पौड्यालले अङ्ग्रेजीमा अनुवाद गरी गैरनेपाली पाठक पुऱ्याउने काम गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।