कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

………………..

कविताः अधुरो सपना

हेरिरहन्छ, हेरिरहन्छ, हेरिरहन्छ
ट्वाल्ल परेर हेरिरहन्छ ऊ
केही देख्दैन
धुजा धुजा भएर फाटेको
बादलसिवाय
असभ्यताको भिडमा अन्योलता रूमल्लिएको
गजमौरो परिवेशमा होस गुमेजस्तो
बतासिन्छ हावाहुरीसँगै
क्षितिजपारिबाट चिच्याइरहेजस्तो लाग्छ ।

कोलाहल, चित्कार र अन्योलमा
अधमरो भएर गुम्सिरहेछ
धुवाँ-धुलोको पछ्यौरीमा
दीर्घ-रोगी भएर
गुट्मुट्टिरहेछ
भ्रष्टचारी, बलात्कार, कालोबजारी
कुशासन, कुरीतिमा अल्झिरहेछ
गन्तव्य पहिल्याउन खोज्छ
तर निसास्सिदो परिवेशमा
गन्तव्यको मार्गै विलीन भएछ ।

कानमा कर्कषानाद गुञ्जिरहेछ
जाली नै थोत्रो हुनेगरी
जिन्दावाद ! मुर्दावाद !!
भनी अनशन, हड्ताल  र चक्काजाम
यावत् कुराहरूले
पागल बनाइरहेछ ।

आफ्नै छविले लखेटिरहेछ
गिज्जाइरहेछ
छल गरिरहेछ
विश्वास जित्न गन्तव्यको गोरेटो
खोज्दै गर्दा
दलदलमा यो फस्न पुगेछ
कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्ताको
लालपुर्जा खोजीमा हिँड्दा
मोहियानी लागेको खबरले
चकित हुन्छ
हराएका सीमास्तम्भ खोज्दा खोज्दै थकित हुन्छ
गर्ल्याम्म ढल्छ सीमामा
भनी शिथिल भएर गन्तव्यविहीन हुन पुग्छ ।

खै त स्वाभिमान ?
खै त विश्वास ?
खै त मेरो सग्लो देश?
प्रश्नै प्रश्नको चाङ्ले
मथिङ्गल नै मन्थन हुन थाल्छ
आङ् कन्याएर छारो उडाउनेहरूसँग
दिक्दारी हुन्छ ।

नेपाल बनाउन चन्द्र सूर्य अङ्कित झण्डा
हातमा लिएर
सगरमाथालाई साक्षी राखी
वृद्धलाई नेपालकाे सुनाैलाे
इतिहासमा लेखी
अग्रसरता देखाएकाे बहादुर
अल्मलिएकाे छ
गन्तव्यविहीन भएकाे छ ।

 

जोवनयात्रामा अल्पविराम लागेकाे छ
समृद्ध नेपाल र सुखी नेपाली
बनाउने सपनामा
पूर्णविराम लागेकाे छ
किनकि
पूर्वाग्रही भावमा पिल्सिएर
अहिले ऊ बन्दकाेठामा
निसास्सिएकाे छ
नयाँ नेपाल बनाउने
सपना अधुराे रहेकाे छ।

विष्णु थापा (कारागार कार्यालय डिल्लीबजार)