चैत्र २६, २०७६, (अप्रिल ८, २०२०)
आज पनि म बिहानै उठ्न सकेँ, ४:२० मा तर धेरै समयसम्म काम अघि बढाउन भ्याइन्न कि कसो । शुरुमा त डेली डायरी र अरु कर्म गरेँ । त्यसपछि हिजो बाँकी रहेका कर्महरुको व्यवस्थापनमा लागेँ— कविताका बाँकी टिप्पणी र विशेष गरी एपिसोड चारका प्रभावहरु सारेँ, मिलाएँ ।
लेखेर पठाएका छन् पाठक र स्रोतागणले फेरि प्रत्यक्ष फोनमा पनि बोल्ने चाहना राख्छन् कतिले । लेख्ता थोरै छोटो हुन्छ, बोल्दा बाँकी कुराहरु प्रकाश पार्न पाइन्छ । अहिलेको प्रविधिले कत्रो सुविधा दिलाएको छ, आश्चर्य लाग्ने र अविश्वसनीय तत्त्व कहाँ बसेको छ संसारको कुनै कुनाको मानिससित बात गरेको छ, मनपरे अनुहार हेरेको छ । तर यो अनुहार हेर्नपट्टि लाग्दा त्यतै ध्यान एकोहोरिने, अनुहारको एङ्गल मिलाउनपट्टि लागिने हुनाले वार्ताको ध्यान अलिक भङ्ग हुने रहेछ ।
त्यसपछि एक सर्को बात गरेँ— हरि भाइ र दाजु । टाढाका आए फलाहारीजी उनीसँग वार्ता भो— आफूलाई कताबाट कस्तो सम्पर्क प्रतिवेदन आयो, सिक्किमका टीका ढुङ्गेलको, यता हरिभक्त बुढाथोकीको । अनि गोपाल संग्रौलाले गरे— एपिसोड— ४ सुनेर अति प्रभावित भै । उता डा. खगेन् भाइले मागेका थिए, पुग्यो पुगेन कन्फर्म गरियो, वार्ताभो, प्रभावित भए । त्यसपछि गीता ढाकाल (विद्यार्थी) ले गरेको प्रत्युत्तर गरेँ । धेर प्रभावित भएका दुई फूल आए— आरबी निश्चल पाल्पा र छत्रमान सुब्बा आसाम दिल खोलेर बोले ।
अनि ज्ञानबहादुरजीले अस्ति पठाएका दुई लेख पढेँ— हाइपर रियालिटी र उता न्यूजिलेण्डका गोपाल पौडेलको आख्यान कथाभित्रको कथाको समीक्षा । दुवै लेख राम्रा छन् तर त्यो पहिलो लेखका मिशेल फुको र अरुलाई लिएर, उत्तरआधुनिक विमर्शलाई लिएर हाइपररियालिटीबारे लेखिएको राम्रो रहेछ । पढेँ, केही शब्दमा रङ दलेर इमेलमा फिर्ता गरेँ ।
खाना खाएर एकछिन आराम गरेँ । आज घाम छैनन्, हल्का बादलको पत्र छ तर कुनै आवाज ध्वनि छैन सारा सुनसान मात्र छ । कान थापेर सुन्छु, हावा निकै जोडले पर्खालतिर पसेर कतै केही थोकसित पौँठेजोरी खेल्दैछ, हुइँ हुइँ, हुनुनु जस्तो स्वरमा ।
अनि विश्वका विख्यात साहित्यकारहरु पल्टाएँ अन्तिम पालि पृष्ठ २५१ देखि ३३० सम्म । पढ्न थालेँ, हेर्दै पढ्दै मिलाउँदै त्यस्तै एक बजेसम्म । पाँच–छ दिन भइसक्यो यसले मेरो धेरै समय खायो । अब आज सकौँला भन्ने थियो, सकिनँ । भोलि सक्छु होला ।
अनि भूटानबाट न्यूजिल्याण्ड पु¥याइएका शरणार्थी गोपाल पौडेलको फोन आयो । निकै लामो । उनी मेरा पुस्तक गहिरिएर पढ्दै रहेछन् । मुगलान सकेँ म धेरै प्रभावित भएँ सर कस्तो छुने छ यसको प्रस्तुति— भूटानको त्यो सारा दुःख सरले कसरी… ।
त्यसपछि थपे यतिखेर सम्झनाको सागरमा केही दिन पढ्दै छु, सक्न लागेँ । म छक्क परेको छु । यसरी लेख्नु पर्दोरहेछ । मैले पनि कथाभित्रको कथामा लेखेँ तर छोटो भएछ, गहिरिन जानिनछु । अहिले सरको पुस्तकले मलाई सानो कुरामा पनि कति भित्रसम्म जानु पर्दोरहेछ भन्ने कुरा थाहा पाएँ ।
यस्तरी बिहानको मूल कर्म सकिएर मध्यदिन पुगेपछि म उठेँ— अब स्नान गर्छु, चिया पकाएर डाइजेष्टिभ बिस्कुटसित सेवन गर्छु । त्यसपछि अर्को चरणको लेखापढीमा निहुरिनेछु भन्ठान्दै चियापश्चात् एकसर्को कान्तिपुर पल्टाएँ । त्यसमा यस्ता शीर्षकले स्थान पाएका रहेछन्— परीक्षणै नगरी कोरोना भनिदिएपछि, २७ सय विदेशी फर्किए (जर्मनी, फ्रान्स, अमेरिका, अष्ट्रेलिया, नेदरल्याण्ड, मलेसिया, चेक रिपब्लिक) सुनसान अस्पताल, प्रहरीले ग्राहक बनेर समात्यो अग्रवाललाई, सर्वोच्चले भन्यो स्वदेश फर्कन चाहनेलाई नरोक्न, लकडाउन अवज्ञा गर्दै बझाङमा भव्य मेला, पाहुना राखे पचास हजार जरिवाना, ७६ हजारभन्दा बढीले ज्यान गुमाए, जोन्सन सघन उपचार कक्षमा, अस्पतालबाट भागेका संक्रमित पक्राऊ, फ्रान्समा मृत्युदर बढ्यो, कोभिड रोकथामलाई विश्व बैंकले साढे तीन अर्ब दिनुपर्ने, मुना बोटमै हुर्कन थाले, भित्रिए, धेरै क्वारेन्टाइनमा थोरै, हातमा पञ्जा छैन, २५ लाखको अन्लाइन, अब राहत वितरणमा घोर अन्याय र तमासाको प्रदर्शन शुरु भएको छ । अघि भूकम्पमा पनि भएकै हो । जसको हातमा लाठी हुन्छ उसैले भैँसी लान्छ ।
आजै प्रकाशित अनलाइन खबरमा सचित्र बयान देख्यौँ । यसको शीर्षक छ राहत वितरणका झाँकीः एक डल्लो साबुन दिन यस्तो सकस । नेताहरु समाजमा गएर मानिसलाई लाइन लाएर एउटा लठ्ठीका टुप्पोमा झुन्ड्याउँदै साबुन बाँड्ने तमासा देखिन्छ ।
त्यसपछि अचानक एक पात्र फेसबुकमा बोल्दै रहिछन् — म डाक्टर मानसी ज्ञवाली । नेपाल मेडिकल हस्पिटलमा कार्यरत छु । कोरोनाको महामारीमा म थाइल्याण्डको व्याङ्ककमा पीएचडीको तयारीमा थिएँ । एकहप्ता भयो म नेपाल आएको आफू मेडिकल प्रोफेसनमा भएको हुनाले सम्पूर्ण प्रिकशन लिँदालिँदै पनि कतै मैले यो कोरोना भाइरस त छिराउँदिन भन्ने डरैडरमा नेपाल आएकी थिएँ । घरमा आइसकेपछि चाहिँ म सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छु । सेल्फ क्वारेन्टाइनको मतलब मैले आजको दिनसम्म पनि मेरो परिवारको कोही व्यक्तिलाई भेटेकी छैन । कतिपय नेपालीको मुखबाट मैले के सुनिरहेको छु भन्दाखेरि, “म सेल्फ क्वारेन्टाइनमा छु, म घरको बाहिर गाको छुइनँ” भन्नु हुन्छ, तर आफ्ना परिवारको सदस्यसँग बसिरहनु भएको छ, यसलाई सेल्फ क्वारेन्टाइन भनिँदैन । एक्लै एउटा कोठामा बस्ने आफूले प्रयोग गरेको बाथरुम, टोइलेट अरुले युज नगर्ने आफूले प्रयोग गरेका भाँडाकुँडा अरुले युज नगर्ने, र कसैसँग पनि नभेट्ने इभेन आफ्ना परिवारका सदस्यसँग पनि नभेट्नेलाई चाहिँ सेल्फ क्वारेन्टाइन भनिन्छ ।
विदेशबाट आउनु भएका व्यक्तिहरुले पनि १५ दिन यसरी आफूलाई सेल्फ क्वारेन्टाइनमा बसिदिन बिन्ती छ । त्यो मेन्टेन गरिदिनु होला । बाहिरबाट आउनु भएका व्यक्तिहरु १५ दिन सेल्फ क्वारान्टाइनमा बसिदिनुहोस् र नेपालमा हुनुभएका नेपालीहरुले नेपाल गभर्मेन्टले भनेका सम्पूर्ण प्रिक्शनहरु लिनुहोस् र सोसल डिस्ट्यान्सिङ मेन्टेन गरिदिनोस् । सोसल डिस्ट्यान्सिङ किन मेन्टेन गर्ने त भन्दाखेरि कुनै व्यक्ति कोरोना भाइरससित संक्रमित भयो, नभए तापनि त्यो व्यक्तिलाई रुघाखोकी जोरो जस्तो लक्षण नदेखिन सक्छ । सप्पै कोरोना भाइरस लागेका व्यक्तिलाई यस्ता लक्षण देखिँदैनन् तर पनि त्यो व्यक्तिले आज क्यारिअरको रुपमा जाँदा त्यो भाइरस अरुलाई सार्न सक्छ, आफूलाई लक्षण नदेखिएता पनि अरुलाई सार्न सक्छ त्यही भएर मेरो टोल छिमेकका मेरा मान्छेहरु मेरा नातागोताहरु हामीलाई जोरो छैन रुघाखोकी छैन हामीसँगै बस्नुहुन्छ हामी रमाइलो गरौँ भन्ने समय छैन ऐले । तपाईं सँगसँगै बसेको व्यक्तिलाई त्यो लक्षण छैन तर तपाईंलाई त्यो कुरा त्यो भाइरस सार्न सक्छ त्यही भएर सोसल डिस्ट्यान्सिङ मेन्टेन गरिदिन हामीलाई नेचरले एउटा मौका दिएको छ । देशमा चैँ त्यो मौका नै छैन । कोरोनाको महामारी धेरैअगाडि गैसकेको छ । हामी त आजका दिनसम्म जोगिएरै रहेका छौँ; हामीले यतिमै यसलाई रोकौँ; हामी यसबाट संक्रमित नहौँ, हामी हस्पिटल जानु नपरोस्; ती हेल्थ वर्कर्सहरुलाई हामीले रिस्कमा पनि नहालौँ ।
कस्तो राम्रो अपील छ, कस्तो गहिरो चिन्ता र जिम्मेवारीबोधले भरिएको कुरा । तर एउटा थप चिन्ता पनि लाग्छ— हाम्रा शिक्षित वा प्राविधिज्ञले बोल्ने भाषा फरक हुँदै गैरहेको छ । यो बुझ्ने स्तरमा जनमानस कहिले पुग्ला अथवा भाषाका रुप यसरी फाट्तै छन् भन्ने चेतना कसले ल्याउला । यसले गर्दा नै सरकारका (हाम्रा) कति कर्महरु अबोधगम्य हुन्छन् । सबैभन्दा बढी त कोरोना काण्डमा त्यस्तो भएको छ जसको भाषाबारेमा म अन्त्यमा बोल्ने छु ।
आज धेरै हल्ला चर्चा अफवाह आएनन् । मैले गम्भीर लेख रचनाको खोजीमा पुस्तक रोज्न वा गुगल जान पनि भ्याइनँ । कोरोना बिस्तारै अलिक घट्ने प्रवृत्तिमा छ हो कि मान्दछु ।
आज यस्तै कर्म भए— नर्वेमा अध्ययनरत छोरो अनमोलसित बोलेँ । अमेरिकाको बाल्टिमोरमा पुगेकी बैनी माधवासित बोलेँ । उनले अन्यौलमा डराएर बाँचेका छौँ भनिन् । गारो छ, काम छैन घरैमा कति मुश्किल बाहिरी जगत्मा श्रमिक हुने नेपालीको । कुनै उपचार आविस्कृत छैन तर भयंकर महामारी सल्किरहेछ भन्छन् । कसैले त्यसमा ठूलो आतङ्क भरेका छन्, कोही अझै ख्यालठट्टामा उडाउँछन् । ख्यालठट्टा गर्नेमध्ये एक ट्रम्प पनि होला । त्यहाँ दिनको एकहजारभन्दा बढीका दरले मर्दैछन् अझै उसले लकडाउन सोचेको छैन । त्यसो गर्दागर्दै बेलायती प्रधानमन्त्री आजदेखि आइसीयू भित्र पसे भन्ने समाचार आयो । कसलाई छोड्ला र यसले ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।