कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

========================

प्रिय मायालु सानु !

छोटो जिन्दगीको लामो अनि मीठो सम्झना !

पत्राचार गर्नुको कारण त केही थिएन, तिम्रो माया र सम्झनाले सताइरहेको हुनाले यो कलम को साहाराले आफ्ना मनभित्र गुम्सिएका भावना तिम्रो सामु पोख्न खोजेको छु । सानु, मैले पत्रमार्फत लेखेर मनका भावाना पोख्न खोजेको कारण के हो भने, लेख्दालेख्दै तिमीसँग कुरा गरेको जस्तो महसुस हुन्छ ।

हामीसँगै बसेका, खेलेका, हाँसेका ती दिन अहिले मेरा यी आँखाका नानीवरिपरि नाचिरहेका छन् । तिमीसँग रमाएको समयलाई स्मरण गर्दा म पागलसरह बन्छु । मनलाई बुझाउने एउटामात्र माध्यम छ ।

मसँग यो जेलमा अनेकौँ ठाउँका अनेक किसिमले कानुनको चौघेराभित्र न्याय नपाई अन्यायमा पिल्सिएका साथीभाइहरू छन् । उनीहरूसँग आफ्ना मनका भावना, पीर, दुख, सुख साटासाट गर्दै मेरा दुखलाई आरामका साथ काटिरहेको छु ।

सानु, मेरो जीवन त अन्धकारमा नै कट्यो । ठीकै छ ! तर तिम्रो जीवन तिमी जहाँ छौ र जहाँ रहने छौ, सधैँ उज्यालो संसारमा नै कटोस् । मैले देख्ने समयमा तिमीलाई सधैँ खुसी नै देख्न पाउँ ।

हुन त यो दैवको लीला हो । हामीले टार्न त सक्दैनौँ । हामीलाई उनै दिन दयालु भगवानले भेट गराएका थिए । सानु हामीलाई विछोड गराउने पनि उनै भगवान् हुन् । तर आउँदा दिनमा पनि हामीलाई मिलन गराउने पनि तिनै भगवान् हुन् ।

यदि तिमीले वा हामीले साँच्चीकै चोखो माया मनभित्रैबाट नै गरेका छौँ भने हाम्रो मिलन अवश्य हुन्छ सानु । मैले लेखेर वा सम्बोधन गरेर यो अन्धकारको कालो कोठरीमा बसी तिम्रो सपनाहरूलाई साकार त गर्न सक्दिनँ ।

सानु !

फेरि पनि मेरो यो अन्धकार कोठामा बसी मनका भावना सम्झेर सेतो कागजमा कालो मसीले लेखेर आफ्ना मनका भावनालाई कोरी यो अशान्त मनलाई शान्ति हुन्छ कि भनी आफ्ना मनका व्यथालाई कोर्दै छु ।

मेरो यो जेल जीवन सहजै रूपमा काट्न सक्छु कि भनेर तिमीसँग रमाएका र खेलेका दिनलाई सम्झिँदै छु । तिमीले हँसाएका ती दिनहरू अहिले आएर मनमस्तिष्कमा बल्झिएका छन् । हुन त सानु मैले तिमीलाई गरेको माया बुझ्न नसकेको हो या भाग्यमा लेखिएको हो, हामी टाढा भयौँ ।

हुन त यो सबै भाग्यको खेल नै हो जस्तो लाग्छ ।

जुन भगवान्ले हामीलाई बिछोड गराएको हो र हामीलाई तिनै भागवान्ले नै मिलन गराउने छन् । यत्ति त मलाई विश्वास छ ।

जाँदाजाँदै तिम्रा लागि

सागर जस्तै शान्त बनी बस
तुफान जस्तै जोश राख
मानिस सबै स्वार्थी हुन्छन्
कदम कदममा होस राख !

पहाड परिवर्तनशील हुन्छ भन्छन्,
मैदान हुन्न किन ?
माया यति धेरै हुन्छ,
मायाको तिर्खा मेटिँदैन किन ?

आसनमा स्वागत गरी
मनको ढोका खोली
पहिले जस्तो मुस्कान छैन
किन तिम्रो आज भोलि ?

जुन देवता मन्दिरमा छ
तर मनमा छैन
जुन माया तिमीमा छ
तर तस्बिरमा छैन ।

हाल : जिल्ला कारागार, प्यूठान