एउटा सानो गाउँमा एक जना धनी व्यक्ति बस्थे । उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस पनि थिए । उनले अरूलाई सहयोग गरेको वा परोपकारी कार्य गरेको कुनै रेकर्ड थिएन । उनी यतिसम्म लोभी थिए कि घरमा भिक्षा माग्न आउने भिक्षुकलाई समेत खाली हात फिर्ता पठाइदिन्थे । त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकहरूलाई ती धनी व्यक्तिको घरमा झुक्किएर पनि नजान सूचित गरिन्थ्यो, विशेष आग्रह गरिन्थ्यो ।

एक दिन त्यही गाउँमा नयाँ मन्दिर निर्माण गर्ने प्रस्ताव आयो । सोही मन्दिर निर्माण कार्यका लागि आर्थिक कोष स्थापना गरियो । सबै गाउँलेहरूका लागि मन्दिर निर्माण गर्नु एउटा स्वप्निल परियोजना थियो । त्यसैले उनीहरू खुसीसाथ कोषमा पैसा जम्मा गर्न राजी भए । यतिमात्र होइन, उनीहरू पैसाबाहेक अरू आवश्यक सहयोग गर्नसमेत तयार भए । यद्यपि गाउँभरि सबैभन्दा धनी तर लोभीका रूपमा परिचित ती व्यक्ति भने कोषमा पैसा जम्मा गर्न सहमत भएनन् । गाउँलेहरू कैयौँपटक ती धनी व्यक्तिको घरमा गए । मन्दिर निर्माणको महत्त्वबारे विस्तृत रूपमा बताए । आर्थिक सहयोगका लागि आग्रह गरे र पनि उनीहरूले आर्थिक सहयोग भने पाएनन् । केवल निराशा पाए । यस्तो अवस्थामा ती धनी व्यक्तिलाई कुनै पनि हालतमा आर्थिक सहयोगका लागि मनाउन गाउँलेहरूले एउटा आइडिया (जुक्ति) फुराए र त्यही आइडिया प्रयोग गर्ने मन बनाए । त्यो आइडिया थियो- मन्दिर निर्माणका निम्ति आर्थिक सहयोग गर्ने सम्पूर्ण गाउँलेहरूको नाम र उनीहरूले दिएको पैसा उल्लेख हुनेगरी एउटा सूची तयार पार्ने र त्यो सूची पैसा सहयोग गर्न अस्वीकृति जनाउने ती धनी व्यक्तिलाई देखाउने । ताकि ऊ पनि सहयोग गर्न राजी, प्रेरित होओस् ।

गाउँको नेतृत्व तहमा रहेका सबै गाउँलेहरू सूची लिएर ती धनी व्यक्तिका घरमा गए । यसपटक उनीहरू निकै आशावादी थिए । ती धनी व्यक्ति सूची हेरेर प्रभावित हुने, प्रभावित नभए पनि लज्जित महसुस गर्ने र केही आर्थिक सहयोग गर्न सहमत हुने उनीहरूले अपेक्षा राखेका थिए । उनीहरूले सूचीबाट सबै सहयोगी गाउँलेहरूको नाम एकएक गर्दै पढ्न थाले । उनीहरूले ठूलो र स्पष्ट आवजमा भने, “फलानो व्यक्ति धनी नभए पनि दश हजार सहयोग गरेको, फलानो व्यक्ति गरी बभए पनि एक हजार सहयोग गरेको र फलानो व्यक्ति दैनिक मजदुरी गर्ने भए पनि पाँच रुपैयाँ सहयोग गरेको ।” सूचीमा रहेको नाम पढ्दै जाने क्रममा उनीहरूले ती धनी व्यक्तिको अनुहार पनि नियालेका थिए । उनीहरूले ती धनी व्यक्ति सबै नाम जान्न इच्छुक रहेको र निकै प्रभावित भएको पाए । केही क्षणमा उनीहरूले सूचीमा उल्लिखित सबै व्यक्तिहरूको नाम पढेर सके ।

सूचीको सबै नाम सुनेपछि ती धनी व्यक्ति जुरुक्क उठेर भने, “म निकै प्रभावित भएँ । तपाईँहरूको यो अग्रसरता र सक्रियता देखेर निकै खुसी छु ।”

ती धनी व्यक्तिको घरमा गएका सबै गाउँलेहरूले यसपटक खाली हात फर्कनु नपर्ने बुझे । ती धनी व्यक्तिबाट आर्थिक सहयोग प्राप्त गर्ने उद्देश्य पूरा हुने उनीहरूले महसुस गरे । उनीहरूले एकै स्वरमा भने, “यदि तपाईँ निकै प्रभावित हुनुहुन्छ भने यो पवित्र कार्यका लागि तपाईँको तर्फबाट के कति आर्थिक सहायता हुन सक्छ, त्यो हामीलाई दिनुहोस् ।” त्यसपछि ती धनी व्यक्तिले मुसुक्क हाँस्दै भने, “मलाई माफ गर्नुहोला । तपाईँहरूले मेरो आशय बुझ्न सक्नु भएन । म प्रभावित छु भन्नुको अर्थ यो होइन कि म अब आर्थिक सहयोग गर्न राजी भएँ । म प्रभावित छु भन्नुको अर्थ यो हो कि यस गाउँमा सबै ठूलो हृदयका रहेछन्, सहयोगी रहेछन् । यस्तोमा भिक्षा माग्दै नहिँड्नु निकै गलत हुन आउँछ । त्यसैले भोलिदेखि नै गाउँमा भिक्षा माग्दै हिँड्नेछु । म यो गाउँका मानिसहरूबाट निकै प्रभावित छु ।” धनी व्यक्तिको यस्तो भनाइ सुनेपछि ती सबै नेतृत्व तहका गाउँलेहरू चकित भए र यसपटक पनि खाली हात फर्किन बाध्य भए ।

कथाको मुख्य आशय

यो कथा ओशोको पुस्तक “दि आर्ट अफ लिभिङ” बाट लिइएको हो । यो कथाको केही मुख्य आशयहरू यस्ता रहेका छन् :

पहिलो, कुनै पनि समय र परिस्थितिमा गलत बुझाइको सम्भाव्यता उच्च रहन्छ । सधैँ सही भइन्छ भन्ने हुँदैन । आफूले भनेजस्तो हुन्छ, हुनुपर्छ भन्ने पनि हुँदैन । मानौँ तपाईँले कुनै एक व्यक्तिलाई केही चिज सुनाउने, देखाउने र अनुभूत गराउने कोसिस गर्नुभयो । यस्तो अवस्थामा ती व्यक्तिले सोही कुरा सुन्छ, देख्छ र अनुभूत गर्छ भन्ने ग्यारेन्टी हुँदैन । जसकारण ती व्यक्तिको बुझाइको स्तर न्यून हुनुका साथै ती व्यक्तिमा गलत बुझाइ विकास हुन सक्छ । यही कुरा स्वयं तपाईँमा पनि उत्तिकै लागु हुन जान्छ । मानौँ तपाईँ कुनै चिज सुन्ने, देख्ने र अनुभूत गर्ने कोसिस गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा तपाईँ त्यही चिज सतप्रतिशत सुन्ने, देख्ने र अनुभूत गर्नुहुन्छ भन्ने कुनै सुनिश्चितता हुँदैन । जसकारण तपाईँको बुझाइको स्तर न्यून हुनुका साथै तपाईँमा गलत बुझाइ विकास हुन सक्छ । त्यसैले यसबारे सचेत रहौँ ।

दोस्रो, यदि कुनै पनि कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनौँ वा त्यसको सही अर्थ पत्ता लगाउन सक्दैनौँ भने अपेक्षित परिणाम प्राप्त गर्न सकिँदैन । हामीले एउटा परिणाम परिकल्पना गरेका हुन्छौँ तर पाउँछौँ अर्कै । जसकारण चाँडो भन्दा चाँडो लक्ष्यनजिक पुग्न सकिँदैन । सफलता प्राप्तिमा अधिक ढिलासुस्ती हुन्छ । माथि उल्लिखित कथामा जसरी गाउँलेहरूले ती धनी व्यक्तिको बारेमा गलत बुझाइ विकास गरेकै कारण आफ्नो लक्ष्यनजिक पुग्न सकेका थिएनन्, स्पष्ट रूपमा भन्नुपर्दा, उनीहरू ती धनी व्यक्तिबाट आर्थिक सहयोग सङ्कलन गर्न सफल भएका थिएनन्, ढिलासुस्ती बेहोर्नुपरेको थियो, त्यसैगरी हामीमा गलत बुझाइ विकास हुँदा लक्ष्यनजिक पुग्न सक्दैनौँ । सफलता प्राप्त गर्नमा ढिलासुस्ती बेहोर्न पुग्छौँ । त्यसैले गलत बुझाइ हटाउने कार्यलाई प्राथमिकतामा राखौँ ।

तेस्रो, यदि कुनै पनि कुरा सही तरिकाले ग्रहण गर्न सकिँदैन वा हामीमा गलत बुझाइ विकास भएको छ भने त्यो जीवनको लागि कुनै पनि कोणबाट फाइदाजनक हुन सक्दैन । त्यो गलत बुझाइले गर्दा जीवनमा अनेकन जटिलताहरू एकपछि अर्को गर्दै थपिँदै जान्छन् । जसकारण करियर निर्माण, जीवन वा सुन्दर भविष्य निर्माणको लागि निकै घातक सिद्ध हुन्छ । त्यसैले जीवनमा सही बुझाइ अझ भनौँ समग्र बुझाइ विकास गर्ने हर्दम कोसिस गरौँ ।

गलत बुझाइ विकास हुनुका कारणहरू

गलत बुझाइ विकास हुनु वा गलत बुझाइको सम्भाव्यता बढ्नुमा निम्न कारणहरू रहेका छन् :

  • विश्वास प्रणाली :

एक व्यक्तिको विश्वास प्रणाली अर्को व्यक्तिसँग पूर्ण रूपमा मिल्छ भन्ने छैन । भनाइको तात्पर्य, सबै व्यक्तिहरू आ-आफ्नो विश्वास प्रणालीअनुसार परिचालित हुन्छन्, बाँचेका हुन्छन् । सोही प्रणालीबाट निर्मित सीमित घेरा (सुरक्षाको घेरा) भित्रै रमाएका हुन्छन् । त्यो घेराभन्दा बाहिरको संसार सोच्न वा त्यो घेरा तोडेर बाहिर आउन कदापि चाहँदैनन् । अरू व्यक्तिहरूको विश्वास प्रणालीबारे जान्न, अरू व्यक्तिहरू पनि आफ्नो विश्वास प्रणालीअनुसार नै परिचालित हुने र सीमित घेराभित्र रमाएका हुन्छन् भन्ने स्विकार्न सक्दैनन्, आवश्यक ठान्दैनन् । परिणामस्वरूप गलत बुझाइको सम्भाव्यता बढेर जान्छ ।

  • व्यक्तित्व प्रकार :

हरेक व्यक्ति अलग हुन्छ । हरेक व्यक्तिको फरक-फरक व्यक्तित्व प्रकार हुन्छ । मुख्यतः व्यक्तित्व पाँच प्रकारका छन् । ती हुन् : सहमति, कर्तव्यनिष्ठ, बहिर्मूखता, विक्षिप्त र ग्रहणशील । यही व्यक्तित्व प्रकारको आधारमा व्यवहार र अन्तःक्रिया गर्नुपर्ने हुन्छ । यद्यपि हामी आफ्नो र अरूको व्यक्तित्व चिन्न, बुझ्न सक्दैनौँ । आफ्नो र अरूको व्यक्तित्व मिलान गराउने कोसिस पनि गर्दैनौँ । जसकारण हामीले सशक्त एवं प्रभावकारी रूपमा व्यवहार र अन्तःक्रिया गर्न सक्दैनौँ । यही कुरा अरू व्यक्तिहरूमा पनि लागु हुन्छ । उनीहरूले हामीले भन्दा फरक व्यवहार गर्ने र फरक शैलीमा अन्तःक्रिया गर्ने हुँदा हामीमा उनीहरूप्रति गलत बुझाइको सम्भाव्यता बढेर जान्छ ।

  • विभिन्न अपेक्षा र आवश्यकता:

तपाईँ हाम्रा फरकफरक अपेक्षा र आवश्यकताहरू हुन्छन् । त्यही अपेक्षा र आवश्यकताहरू परिपूर्ति गर्न विभिन्न कार्यमा तल्लीन रहन्छौँ । अरूको होइन, आफ्नो अपेक्षा र आवश्यकताहरू पहिलो प्राथमिकता राखेका हुन्छौँ । यही अनुरूप कार्य गर्नुका साथै अरूसँग अन्तःक्रिया गर्छौँ । त्यसैगरी अरू व्यक्तिहरूको पनि फरक-फरक अपेक्षा र आवश्यकताहरू हुन्छन् र सोहीअनुसार कार्य गर्छन् । अन्तःक्रिया अगाडि बढाउँछन् तर हामी यसबारे कत्ति पनि सजग हुन सक्दैनौँ । फलस्वरूप हामी ती व्यक्तिहरूप्रति गलत बुझाइ विकास गर्न पुग्छौँ ।

  • चाँडै मूल्याङ्कन गर्ने बानी :

हामीमा चाँडै मूल्याङ्कन गर्ने बानी विकास भएको छ । कुनै पनि नयाँ व्यक्तिलाई भेट्नेबित्तिकै त्यस व्यक्तिको शारीरिक बनावट, भावभङ्गी, स्वभाव र व्यवहार हेरेरै मूल्याङ्कन गर्न थाल्छौँ । त्यस व्यक्तिका बारेमा सीमित जानकारी प्राप्त गरेकै भरमा विविध धारणाहरू, बुझाइहरू राख्न थाल्छौँ । यस खालका धारणाहरू, बुझाइहरू विशेषतः गलत पुष्टि हुन्छन् ।

गलत बुझाइको प्रभावहरू

गलत बुझाइले जीवनमा के कस्तो प्रभाव पार्छ, के कस्तो परिणाम आत्मसात् गर्नुपर्ने हुन्छ, के कस्तो परिस्थितिसँग लड्नुपर्ने हुन्छ ती सम्पूर्ण कुराहरू केही उदाहरणमार्फत बुझ्न सकिन्छ ।

उदाहरण एक, मित्रता र सम्बन्ध । मानौँ तपाईँ एक पुरुष हुनुहुन्छ । तपाईँ एउटी महिलासँग नियमित अनलाइन च्याट गर्नुहुन्छ । बिहान पनि च्याटिङ, दिउँसो पनि च्याटिङ, बेलुकी पनि च्याटिङ; फुर्सद हुनेबित्तिकै च्याटिङमा मस्त हुनुहुन्छ । यो खालको च्याटिङले तपाईँमा केही अनुभूतिहरू जाग्न सक्छन् । ती महिलाले निकै महत्त्व दिएको, ख्याल गरेको र हामीबीच केही हुन सक्छ भन्ने तपाईँमा पर्न जान्छ जुन तपाईँको गलत बुझाइ थियो । यही गलत बुझाइका भरमा अब तपाईँ ती महिलालाई अनलाइनमार्फत नै प्रस्ताव राख्न पुग्नुहुन्छ । तिमीलाई मन पराउँछु । तिमीसँग बिहे गर्न चाहन्छु भनेर आफ्नो भावना व्यक्त गर्नुहुन्छ । यस्तोमा ती महिलाले तपाईँलाई साथीका रूपमा मात्र लिएको, कुनै भावना नरहेको प्रतिक्रिया दिइन् भने के होला? स्वाभाविक रूपमा तपाईँ निराश हुनुहुन्छ । त्यसैगरी अर्को परिदृश्य लिऊँ । मानौँ तपाईँ एउटी महिला हुनुहुन्छ । तपाईँको एउटा पुरुष साथीसँग राम्रो सम्बन्ध छ । तपाईँहरू नियमित चलचित्र हेर्न जाने, रेस्टुराँमा खाना खान जाने र नयाँ नयाँ ठाउँमा घुम्न गएर गुणवत्ता समय बिताउने गर्नुहुन्छ । एउटा पुरुषबाट यो खालको साथ पाइसकेपछि तपाईँमा केही अनुभूतिहरू जाग्न सक्छन् । उसले मेरो ख्याल गर्छ, मलाई साथ दिन्छ, सायद मलाई प्रेम गर्छ भन्ने बुझाइ तपाईँमा विकास हुन पुग्छ जुन तपाईँको गलत बुझाइ थियो । यही गलत बुझाइका भरमा अब तपाईँ पुरुषबाट प्रेम प्रस्ताव अपेक्षा गर्न थाल्नुहुन्छ । ती पुरुष साथीबाट प्रस्ताव नआए तपाईँ नै प्रस्ताव राख्ने हिम्मत गर्नुहुन्छ । यस्तोमा ती पुरुष साथीले तपाईँलाई कहिल्यै पनि त्यस्तो नजरले नहेरेको प्रतिक्रिया दियो भने के होला? स्वाभाविक रूपमा तपाईँ दुःखी हुनुहुन्छ । आफूलाई केवल प्रयोग गरिएको ठान्नुहुन्छ र ती पुरुष साथीलाई घृणा गर्न थाल्नुहुन्छ । अन्ततः तपाईँहरूको न त प्रेम स्थापित हुन्छ न त मित्रता नै सुमधुर हुन्छ । त्यसैले मित्रता र सम्बन्धमा सही अर्थ खोज्ने कोसिस गरौँ ।

उदाहरण दुई, व्यवसायी र उद्यमी । केही सफल व्यवसायीहरू अथवा उद्यमीहरूका बारेमा छोटो वर्णन गरौँ । स्टिभ जब्स, विल गेट्स, सर्गेई ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग सबै कलेज ड्रपआउट हुन् । कहिलेकाहीँ यही कुरा व्यक्तिगत विकास तालिमहरूमा सुन्ने गरिन्छ  तर त्यस किसिमका तालिमहरूमा उपस्थित युवाहरूले गलत बुझेका हुन सक्छन् । उनीहरूमा धनी र सफल हुनका लागि धेरै पढ्नु आवश्यक रहेनछ भन्ने गलत बुझाइको विकास हुन सक्छ । आखिर स्टिभ जब्सले किन कजेज ड्रपआउट गरे त? स्टिभले अध्ययनका लागि जुन कलेज रोजेका थिए त्यो स्ट्यानफोर्ड विश्वविद्यालय जत्तिकै महङ्गो थियो । अभिभावकको अधिकांश कमाइ उनकै पढाइमा खर्च हुन्थ्यो । कलेज गएको ६ महिना लगत्तै उनले आफू जीवनमा के बन्न चाहेको भन्नेमा प्रस्ट हुन नसकेको, कलेजको पढाइले जीवन उद्देश्य पत्ता लगाउन कुनै सहयोग नगर्ने र अनावश्यक रूपमा आफूले  अभिभावकको पैसा खर्च गरेको महसुस गरे । यही कारण स्टिभले कलेज छाडेका थिए । त्यसैगरी सर्गेई ब्रिन र ल्यारी पेज स्ट्यानफोर्ड विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै थिए । त्यसै क्रममा उनीहरूले गुगल स्थापना गरे । पिएचडी अध्ययन पूरा गर्नेमा सम्पूर्ण समय र ऊर्जा लगानी गर्नुभन्दा गुगलमा केन्द्रित हुनु उपयुक्त ठाने । यही कारण उनीहरूले पढाइ छाडेका थिए । त्यसैगरी विल गेट्स हार्वर्ड विश्वविद्यालयमा थिए । उनले माइक्रोसफ्टमा भविष्य देखे अनि पढाइ छाडे । त्यसैगरी मार्क जुकरबर्ग पनि हार्वर्ड विश्वविद्यालयमा थिए । उनले फेसबुकमा भविष्य देखे अनि पढाइ छाडे । स्टिभ जब्स, विल गेट्स, सर्गेई ब्रिन, ल्यारी पेज र मार्क जुकरबर्ग लगायतका सफल  व्यक्तिहरू हार्वर्ड, स्ट्यानफोर्ड जस्ता उत्कृष्ट र प्रतिष्ठित विश्वविद्यालयबाट ड्रपआउट हुन् न कि कुनै साधारण विश्वविद्यालयबाट । यो कुरा बुझ्नु जरुरी छ ।

त्यसैगरी सफल व्यवसायीहरू तथा उद्यमीहरूप्रति यस्ता बुझाइ हुन सक्छन् । व्यवसायीहरू केवल पैसाका लागि काम गर्छन् । यसमा पूर्ण सत्यता छैन । प्रायः सफल एवं धनी व्यवसायीहरू र उद्यमीहरू आफूलाई रुचि लाग्ने, आनन्द प्राप्त हुने काम गरेकै कारण त्यो उचाइमा पुगेका हुन् । त्यसैले उनीहरूप्रति कुनै पनि किसिमको गलत बुझाइ नराखौँ ।

उदाहरण तीन, शिक्षक शिक्षिका । स्कुल लेभलदेखि नै हामीले शिक्षकशिक्षिकाप्रति केही धारणा राखेका हुन्छौँ । केही बुझाइ विकास गरेका हुन्छौँ । जस्तै शिक्षकशिक्षिका भनेको पूर्ण हुनुपर्छ । उहाँहरूलाई सबै कुराको ज्ञान हुनुपर्छ । आदर्शवादी हुनुपर्छ । उहाँहरूमा कुनै चरित्र त्रुटिहरू हुनु हुँदैन । यही बुझाइलाई हामी सत्य मानेर कलेजदेखि विश्वविद्यालयको पढाइसम्म निरन्तरता दिन्छौँ । विशेषतः प्लस टु अर्थात् ११ र १२ कक्षामा पढ्ने विद्यार्थी भाइबहिनीहरूले शिक्षकशिक्षिकाबारेमा यस्ता बुझाइ राखेका हुन्छन् । हरेक प्रश्नको उत्तर दिन सक्ने, कुनै पनि विषयवस्तुमा बोल्न सक्ने शिक्षकशिक्षिकालाई उनीहरू निकै क्षमतावान् रहेको, सर्वोत्कृष्ट भएको मान्ने गर्छन् । यदि कुनै शिक्षकशिक्षिकाले सोधिएको प्रश्नको उत्तर दिन नसके, अर्को कक्षामा उत्तर दिने आश्वासन दिए उनीहरू त्यस्ता शिक्षकशिक्षिकालाई निकै झुर रहेको, पढाउने कौशल र अनुभव नभएको रूपमा लिने गर्छन् । हरकोही शिक्षकशिक्षिकाप्रति यस्तो सीमित धारणा राख्नु, बुझाइ विकास गर्नु गलत कार्य हो ।

शिक्षकशिक्षिकाप्रति गलत बुझाइ राखियो भने के हुन्छ? उहाँहरूलाई उचित सम्मान गर्न सकिँदैन । यस्तो अवस्थामा उहाँहरूबाट ज्ञान प्राप्त गर्न सकिँदैन । उहाँहरूबाट हामीमा जुन प्रभाव पर्नुपर्ने हो त्यो प्रभाव हामीमा पर्दैन । उहाँहरूसँग नजिक हुन सकिँदैन । घुलमिल हुन सकिँदैन । प्रतिकूल समय र परिस्थितिमा आवश्यक सल्लाह, सुझाव र सहयोग पनि लिन सकिँदैन । त्यसैले हामीलाई ज्ञान दिने शिक्षकशिक्षिकाप्रति गलत बुझाइ राख्ने गल्ती नराखौँ ।