श्रीमद्भगवद्गीताका अहिलेसम्मका प्रसङ्गहरूको विवेचना गर्दा जड अवस्थामा रहेको प्रकृति (क्षेत्र या शरीर)मा चैतन्यरूप पुरुष (क्षेत्रज्ञ या आत्मा)को निवास भएपछि नै व्यक्तिले जीवभाव प्राप्त गर्ने विषय स्पष्ट भएको देखिन्छ । फेरि त्यो पुरुष अथवा आत्मा त परमात्माको नै अंश भएको तथ्यलाई नै जोड दिएका छन् श्रीकृष्णले । यही कुरालाई पुनःपुष्टि गर्नका लागि नै होला, श्रीकृष्ण चौधौँ अध्यायमा पुनः भन्दछन् –

“मम योनिर्महद्ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।

 सम्भवः सर्वभूतानां ततो भवति भारत” ।।भ.गी.१४(३)।।

“सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।

 तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता” ।।भ.गी.१४(४)।।

 

अर्थात्, महद् ब्रह्मस्वरूप जड प्रकृतिमा चैतन्यरूप आत्मतत्त्वको गर्भाधान गरी संसारभरका जीव (प्राणी)हरूको सृष्टि गर्ने परमात्मारूप पिता म नै हुँ ।

जड प्रकृतिमा एउटै सर्वव्यापक परमात्माको बीजरूप समान आत्माबाट अङ्कुरित भएका छन् सबै प्राणीहरू तर ती प्राणीहरूमा समानता भने छैन । एउटै बीजतत्त्वबाट बन्दाबन्दै पनि प्राणीहरूमा रहने यति विधि विविधताको कारणचाहिँ के होला त ?

यही जिज्ञासाको उत्तर दिने जमर्को गरिएको छ चौधौँ अध्यायमा । प्रकृतिका तत्त्वहरू अनि आत्मारूपी बीजतत्त्व एकनास नै रहँदारहँदै पनि प्राणीहरूमा रहने भिन्नताको मूल कारण भने ‘प्रकृतिमा उत्पन्न भएर रहने गुण’ नै भएको यस अध्यायको सार हो । ती गुणहरू वास्तवमा त्यस्ता भावहरू हुन् जसको प्रभावमा नै प्राणीहरूको मनले कार्य गरिरहेको हुन्छ । तिनै गुणहरूले नै वास्तवमा प्राणीहरूको ‘व्यक्तित्व’ निर्माण गर्दछ । त्यस्ता गुणहरू तीन प्रकारका हुन्छन् भन्दै श्रीकृष्ण अगाडि बताउँछन् –

“सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।

 निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम्” ।।भ.गी.१४(५)।।

“सत्त्व, रज अनि तम”, प्रकृतिबाट उत्पन्न हुने यी तीन गुणहरूले नै आत्मा (क्षेत्रज्ञ)लाई शरीर (क्षेत्र) सँग बाँधेर राखेका हुन्छन् । एकैसाथ तर विभिन्न अनुपातमा रहने यी तीनै गुणहरूले हरेक व्यक्तिको मानसिक अनि बौद्धिक क्षमतालाई प्रभावित गरिरहेका हुन्छन् । यसैका कारण नै प्रत्येक व्यक्तिमा आफ्नो विशिष्ट व्यक्तित्वको निर्माण भएको हुन्छ । अनि त्यसैले नै विभिन्न व्यक्तिहरूमा अलग–अलग स्वभाव, आचरण अनि व्यवहार देखिने गर्दछ । अनि सत्त्व, रज र तम, यी तीन गुणहरूका आधारमा निर्मित हुने तीन व्यक्तित्वहरू क्रमशः सात्त्विक, राजसिक, अनि तामसिक हुन् ।

प्रत्येक गुणहरूका बारेमा सुस्पष्ट व्याख्या पाइन्छ यस अध्यायमा ।

सत्त्वगुणको भाव निर्मल हुन्छ । सत्त्वगुणप्रधान शान्त एवं स्थिर बुद्धिमा चैतन्यको प्रकाशद्वारा उत्पन्न भएको ज्ञानका कारण निर्दोष अनि ज्ञानमय हुन्छ सत्त्वगुणी व्यक्तिको प्रवृत्ति । सत्त्वगुणयुक्त व्यक्तिले त्यसैका कारण सुख एवं शान्ति प्राप्ति गर्दछ । तर उसले “म सुखी” या “म नै जान्ने” भन्नेमा अभिमान गरेमा या सात्त्विक आनन्दलाई विषयसुखका रूपमा ग्रहण गर्न खोजेमा भने आसक्तिको वशमा परेर ऊ भवबन्धनमा नै बाँधिन सक्दछ । ।।भ.गी.१४(६)।।

रजोगुणको स्वरूप भने रागमय हुन्छ । विषयभोगको तृष्णा, उद्वेग, कामना आदि नै त्यसका लक्षणहरू हुन् । आफूले चाहेको विषयसुखको प्राप्ति भएमा त्यसप्रतिको आसक्ति अनि त्यो वस्तु प्राप्त हुन नसकेमा क्रोध, अनि आफूसँग रहेको सुख गुम्ला भन्ने भय, यिनै प्रवृत्तिको वरिपरि रजोगुणी व्यक्तिको जीवन चलिरहेको हुन्छ । अनि ती इच्छातृप्तिका लागि सम्पत्ति आर्जन अनि व्यय, वस्तुहरूको सङ्ग्रह अनि रक्षा आदि कर्ममा नै दिनरात लागिरहने उसको स्वभाव बन्दछ । “म नै कर्ता हुँ” भन्ने कर्तृत्वभावको अभिमान उसमा रहन्छ । ।।भ.गी.१४(७)।।

तमोगुण भने अज्ञानमय रहन्छ । तमोगुणी व्यक्तिले सत्य–असत्यबीचको विवेक गर्ने क्षमता राख्न सक्दैन । त्यसैले ऊ प्रमाद (असावधानी) अनि आलस्य र निद्राको शिकार बन्दछ । लक्ष्यप्रतिको निरन्तरता, बुद्धिको प्रतिभा, भावहरूको कोमलता अनि कर्मकुशलता आदि मानवोचित गुणहरूको सर्वथा अभाव रहन्छ तामसिक व्यक्तित्वमा । ।।भ.गी.१४(८।।

यिनै व्याख्याहरूको सारांशमा श्रीकृष्ण भन्दछन् –

“सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।

 ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत” ।।भ.गी.१४(९)।।

तर प्राणीहरूमा यी तीन गुणहरूको मात्रा एवं प्रभाव समय–समयमा आरोह–अवरोह भइ नै रहेको हुन्छ । तीन गुणहरूमध्ये एकको वृद्धिका कारण अरू गुणहरू दबिएर रहेका पनि हुन सक्दछन् । उदाहरणका लागि कुनै व्यक्तिले कुनै समयमा सत्त्वगुणी स्वभाव देखाइरहेको अवस्थामा ऊभित्रका रजोगुणी अनि तामसिक प्रवृत्तिको प्रभाव कम रहेको हुन सक्ने तथ्यतर्फ विचार पुऱ्याउनुपर्दछ ।

त्यसैले श्रीकृष्ण भन्दछन् –

“रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।

 रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा” ।।भ.गी.१४(१०)।।

यी गुणहरूमध्ये कुनै एकको वृद्धि भएको अवस्थालाई कसरी जान्ने त ?

सत्त्वगुण बढेको बेला इन्द्रियरूपी शरीरका ढोकाहरूमा ज्ञानको प्रकाशको उत्पत्ति हुने गर्दछ । जसले गर्दा कुनै पनि वस्तुहरूको यथार्थ सत्यको बोध हुन जान्छ । अर्थात् कानले स्पष्ट सुन्ने, आँखाले स्पष्ट देख्ने, त्यस्तै नाकले पाउने गन्ध, जिभ्राको स्वाद आदि सबै राम्रोसँग नै बोध हुने । अनि त व्यक्ति चेतनशील, मननशील बन्ने, बुद्धिमा चैतन्य प्रकाश अविच्छिन्न रूपमा रहने, मन स्थिर बन्ने भइ नै हाल्दछ । ।।भ.गी.१४(११)।।

रजोगुण बढेको बेलामा मानिसमा लोभ, स्वार्थ, विषाद, अशान्तिको मात्रामा पनि वृद्धि भएको पाइन्छ । त्यस्ता व्यक्ति अन्तहीन योजना बनाउने, थकाइ लाग्ने गरी अनावश्यक कर्महरू गर्ने, पीडादायी लालसाहरूको बन्धनमा बाँधिएर अधैर्य अनि अतृप्त अवस्थामा रहेको स्पष्ट नै देखिन्छ । ।।भ.गी.१४(१२)।।

तमोगुणको अधिकता भएको अवस्थामा व्यक्तिमा अनिर्णयको बन्दी बन्ने, उत्तरदायित्वबाट भाग्ने, अनुत्साही, आलस्य अनि मोहग्रस्त रही भ्रममा बाँच्ने प्रवृत्ति नै बढ्दै गएको पाइन्छ । ।।भ.गी.१४(१३)।।

अतः यी त्रिगुणहरूको प्रभाव व्यक्तिको शरीरमा मात्र नभएर मन एवं बुद्धिमा समेत रहेको हुन्छ । यी गुणहरूको अधिकता या न्यूनताको मापन व्यक्तिको भावना, कल्पना, विचार अनि जीवनको भोगाइहरूमा नै सदावहार रूपमा रहेको हुन्छ । कर्मको चक्र अनि पुनर्जन्मको सिद्धान्तलाई मान्ने हाम्रो सनातन दर्शनमा त्यसैले यी गुणहरूको प्रभाव एउटा जीवनकालमा मात्र नभई मृत्युपछि सम्म नै पनि रहिरहने धारणा हुनु स्वभाविकै हो ।

अतः गीतामा समेत त्यसको चर्चा भएको पाइन्छ ।

मृत्युपश्चात् यी गुणहरूको प्रभाव के रहन्छ त ?

सत्त्वगुणको उत्कर्षको समयमा देहत्याग गर्नेहरूले स्वर्गादि उत्तम लोकहरूको प्राप्ति गर्दछन् । त्यस्तै रजोगुणीहरूले मनुष्यलोक अनि तमोगुणप्रधान व्यक्तिहरूले पशुयोनिमा पुनर्जन्म लिन्छन् । ।।भ.गी.१४(१४–१५)।।

सारांशमा श्रीकृष्ण भन्दछन् कि शुभकर्मको फल सात्त्विक, रजोगुणको फल दुःख अनि तमोगुणको फल अज्ञान हो ।

“कर्मणः सुकृतस्याहुः सात्त्विकं निर्मलं फलम् ।

 रजसस्तु फलं दुःखमज्ञानं तमसः फलम्” ।।भ.गी.१४(१६)।।

फेरि उनी भन्दछन् कि सत्त्वगुणबाट ज्ञान, रजोगुणबाट लोभ अनि तमोगुणबाट मोह अनि अज्ञानको नै उत्पत्ति हुन्छ ।

“सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।

 प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च” ।।भ.गी.१४(१७)।।

त्यसैले सत्त्वगुणमा स्थित व्यक्तिहरूले उच्च लोक, राजसिक व्यक्तिहरूले मध्य(मनुष्य)लोक अनि तामसिक व्यक्तिहरूले अधोगति प्राप्त गर्दछन् ।

“ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।

जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः” ।।भ.गी.१४(१८)।।

तर परमात्माको स्वरूप पाउनका लागि भनौँ या मुक्तिका लागि भनौँ व्यक्तिहरूले यी त्रिगुणहरूभन्दा पनि परको परमपुरुष ईश्वरको तत्त्वलाई जान्ने प्रयास गर्नुपर्दछ । ।।भ.गी.१४(१९)।।

त्यस्ता व्यक्तिले नै जन्म, मृत्यु, बुढ्यौली, अनि रोगजस्ता कष्टहरूबाट निवृत्त भएर आत्मोन्नति अनि मोक्ष पद अर्थात् अमृतत्व पाउन सक्दछन् । श्रीकृष्ण अगाडि भन्दछन् –

“गुणानेताननीत्य त्रीन्देही देहसमुद्भवान् ।

जन्ममृत्युजरादुःखैर्विमुक्तोऽमृतमश्नुते” ।।भ.गी.१४(२०)।।

यति कुरा सुनिसकेपछि भने अर्जुनको मनमा अर्को जिज्ञासाले बास गर्दछ । अनि उनी “यस्ता तीनै गुणहरूका विविध प्रभावबाट पार पाउन के गर्नुपर्दछ अनि यस्ता प्रभावदेखि मुक्त रहेका व्यक्तिका लक्षणहरू कस्ता हुन्छन् ?” भनी श्रीकृष्णसँग प्रश्न गर्दछन् ।

“कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।

किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ” ।।भ.गी.१४(२१)।।

अर्जुनको यही नै प्रश्नको उत्तर दिँदै त्रिगुणातीत भएर ब्रह्मस्वरूप प्राप्त गर्न सक्ने व्यक्तिका लक्षणहरू व्याख्या गर्ने क्रममा चौधौँ अध्यायका अन्तिम ६ श्लोकहरूमा श्रीकृष्ण भन्दछन् –

१. सत्त्वगुणको प्रभावले चैतन्य प्रकाश, रजोगुणको प्रेरणाले कर्मशील रहँदा, या त तमोगुणको प्रभावले मोहग्रस्त नै बन्दा पनि द्वेष या आकाङ्क्षाको भावबाट मुक्त रहने ।

२. यी त्रिगुणका प्रवृत्तिहरू मनको खेल मात्र भएको जानेर विचलित नभई रहने ।

३. स्वस्थ विचार एवं शरीर लिएर, अनि सुखदुःख, प्रिय–अप्रिय, निन्दा–स्तुति आदिमा समेत समभावमा रहेर, वस्तुका विभिन्न रूप (जस्तैः माटो, ढुङ्गा या सुन) लाई एकै सम्झेर व्यवहार गर्ने ।

४. मान या अपमान, मित्र या शत्रु, सबैमा समान दृष्टि राख्ने, कर्तृत्वाभिमान रहित, अनि वस्तुको आर्जन या सङ्ग्रहमा कुनै मोह नरहेको ।

५. अखण्ड ईश्वरको प्रेम अनि सेवाकार्यमा दत्तचित्त रहने व्यक्ति ।

यसरी चौधौँ अध्यायमा प्रकृतिका तीन गुणहरूका कारण बन्ने तीन किसिमका व्यक्तित्वहरूको चर्चा गरेका छन् श्रीकृष्णले । फेरि आत्मोन्नति या मोक्षका लागि ती तीनै गुणहरूको प्रभाव या आशक्तिबाट मुक्त रहनुपर्ने भएकाले मुक्तिका विविध उपायहरू पनि बताएका छन् उनले यही अध्यायमा ।

अतः श्रीमद्भगवद्गीताको यो चौधौँ अध्यायलाई व्यक्तिको मानसिक, बौद्धिक अनि आध्यात्मिक व्यक्तित्व निर्माणको अनुपम साधनका रूपमा मान्न सकिन्छ ।

सह—प्राध्यापक, मानसिक रोग विभाग

धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय