कुनै पनि व्यक्तिको पेशा, करिअर सम्बन्धित निर्णय वा करिअर छनोट र उसको भविष्यबीच सिधा सम्बन्ध रहन्छ। अर्को शब्दमा भन्नुपर्दा, उसले कस्तो करिअर छनोट गर्छ, त्यहीअनुरूप उसले निकट भविष्यमा बाँच्ने जीवनको भविष्यवाणी गर्न सकिन्छ। सही करिअर छनोट हुन सक्यो भने जीवन अर्थपूर्ण हुन्छ। अन्यथा निरर्थक प्रमाणित हुन्छ। त्यसैले अधिकांश हामी मानिसहरु भविष्य सुनिश्चित, सुरक्षित गर्न आफ्नो करिअर छनोट प्रक्रिया, आफूले छनोट गरेको करिअर सही होस् भन्ने चाहन्छौँ। यद्यपि हामी गलत र आफूले कहिल्यै नचाहेका करिअर छनोट गर्न पुग्छौँ।

गलत करिअर छनोटका कारणहरू

गलत करिअर छनोट गर्नुमा अनेकन कारणहरू हुन सक्छन्। केहीबारे छोटो चर्चा गरौँ:

कारण एक, पर्याप्त ज्ञान, जानकारीको र मार्ग निर्देशनको अभाव । हामी किशोरावस्थामा हुँदा, २० देखि २९ वर्षको उमेर अवधिमा हुँदा र ३० देखि ३९ वर्षको उमेर अवधिमा समेत करिअर सम्बन्धि जीवनमा पर्याप्त अनुभव लिइसकेका हुँदैनौं। भनाइको तात्पर्य, करिअर छनोट गर्ने समयमा रहँदा वा करिअर छनोट गर्ने प्रक्रियामा जाने क्रममा हामी आवश्यक अनुभव, ज्ञान, जानकारी तथा मार्ग निर्देशनले सुसज्जित भइसकेका हुँदैनौं। जसकारण उपयुक्त करिअर छनोट गर्ने मामिलामा अयोग्य ठहरिन पुग्छौँ।

कारण दुई, अनगिन्ती विकल्पहरू। अहिलेको विश्वमा करिअर छनोटका लागि असंख्य विकल्पहरू छन्। कुनै पनि क्षेत्रमा करिअर निर्माण गर्न सकिने अवस्था रहेको छ। जस्तैः चिकित्सा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, व्यवसाय, समाजसेवा, कलाकारिता, शिक्षा, लेखन, सेल्फ हेल्प आदि। यी अनगिन्ती विकल्पहरू उपलब्ध भएकै कारण हामी दिग्भ्रमित हुन पुग्छौँ। कुन क्षेत्रमा करिअर निर्माण गर्ने भन्नेमा यकिन हुन सक्दैनौं। कुनै एक क्षेत्र रोजे पनि त्यसभित्र कुन करिअर छनोट गर्ने भन्नेमा स्पष्ट हुन सक्दैनौं। उदाहरणार्थ, चिकित्सा विज्ञान। यस क्षेत्रमा करिअर छनोटका लागि धेरै विकल्पहरू रहेका छन्। जस्तैः एन्डोक्राइनोलोजी (ग्रन्थिशास्त्र), न्यूरोलोजी (स्नायुशास्त्र), ओन्कोलोजी, डर्माटोलोजी (त्वचा विज्ञान), रेडियोलोजी (विकिरण चिकित्सा विज्ञान), मनोचिकित्सा, कार्डियोलोजी (हृदय विज्ञान), गाइनाकोलोजी (स्त्री रोगशास्त्र), प्लास्टिक सर्जरी आदि। यसबाट के प्रस्ट बुझ्न सकिन्छ भने एक व्यक्तिले आफ्नो क्षमताको आधारमा चिकित्सा विज्ञान क्षेत्रमा एन्डोक्राइनोलोजिस्ट, न्यूरोलोजिस्ट, ओन्कोलोजिस्ट, छाला रोग विशेषज्ञ, रेडियोलोजिस्ट, मनोचिकित्सक, मुटु रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, प्लास्टिक सर्जन आदिका रुपमा आफ्नो करिअर छनोट, निर्माण गर्न सक्छ। यी असीमित विकल्पहरू कारण उसलाई कुन चाहिँ करिअर छनोट गर्ने भन्ने कुराको स्पष्टता हुँदैन। यही प्रकृतिको अस्पष्टता इन्जिनियरिङ, सूचना प्रविधि, व्यवसाय लगायतका विकल्पहरूमा पनि देख्न सकिन्छ। जसकारण हामी गलत करिअर छनोट गर्न पुग्छौँ।

कारण तीन, साथीहरु तथा परिवारको प्रभाव। प्रायः हामी करिअर छनोट प्रक्रियामा जाँदा स्वतन्त्र निर्णय लिन सक्दैनौं। साथीहरुले कुन करिअर छनोट गरेका छन्? कुन क्षेत्रमा सफल करिअर, भविष्य निर्माण गरेका छन्? हामी त्यही हेर्छौँ र सोहीअनुसार करिअर छनोट गर्छौं। कतिपय अवस्थामा उनीहरुकै सल्लाह बमोजिम करिअर छनोट गर्न पुग्छौँ। त्यसैगरी करिअर छनोट प्रक्रियामा परिवारले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मानौँ तपाईंको परिवारमा सबै सदस्यहरु व्यवसायमा सक्रिय छन् र उत्तिकै सफल पनि छन्। यस्तोमा तपाईंलाई परिवारको तर्फबाट व्यवसाय क्षेत्रमा करिअर छनोट गर्ने, त्यसैमा उज्वल भविष्यको परिकल्पना गर्नुपर्ने अधिक दवाब हुन्छ। परिवारको विरासत कायम राख्नकै लागि भए पनि  तपाईंले व्यवसायलाई नै आफ्नो एकमात्र करिअरको रुपमा अगाडि बढाउनुपर्ने बाध्यता हुन्छ। यो खालको बाध्यात्मक परिस्थिति तपाईं हामी सबैमा सिर्जना हुनसक्छ। यसरी साथीहरु तथा परिवारलाई उपयुक्त सिद्ध करिअर हाम्रालागि अनुपयुक्त हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा नजरअन्दाज गरेकै कारण, उनीहरुबाट प्रभावित भएकै कारण हामी गलत करिअर छनोट गर्न पुग्छौँ।

गलत करिअर छनोटका दुष्परिणामहरू

करिअर छनोटका विविध निहितार्थहरू रहेका छन्। यसबारे बुझ्न सके गलत करिअर छनोटबाट प्राप्त हुनसक्ने दुष्परिणामहरूको स्पष्ट चित्र देख्न सकिन्छ। तीनै दुष्परिणामहरूबारे छोटो व्याख्या गरौँ:

करिअर छनोट गर्नुको अर्थ हो, भविष्य छनोट गर्नु। जीवनशैली छनोट गर्नु। यदि गलत करिअर छनोट गरियो भने भविष्य, जीवन निर्माण हुन सक्दैन। जीवन सुन्दर बनाउने, हुन सक्ने कुरा त सम्भावना नै रहँदैन। जीवन जेनतेन चल्छ, तर त्यसमा गति हुँदैन। जीवनशैली हुँदैन। जीवनमा कत्तिपनि सन्तुष्टि प्राप्त हुँदैन। केवल रिक्तता, खालीपन र उदासीनता अत्याधिक अनुभूत हुन्छ।

त्यसैगरी करिअर छनोट गर्नुको अर्थ हो, जीवन मार्ग छनोट गर्नु। आफू हिँड्ने बाटो रोज्नु। यदि गलत करिअर छनोट गरियो भने गलत जीवन मार्गमा हिँड्न पुगिन्छ। जति धेरै समय त्यस्तो मार्गमा हिँड्ने गरिन्छ, त्यतिनै धेरै गन्तव्यको दूरी बढ्दै जान्छ। त्यसैले गलत मार्गमा हिँडेर सही गन्तव्यमा पुग्न सकिँदैन। जतिसुकै सकारात्मक सोच राखेपनि, जतिसुकै लगनशील र मिहिनेत साथ कार्यमा संलग्न भएपनि, जतिसुकै सचेत भएर जीवनलाई निरन्तर अगाडि बढाउने कोसिस गरेपनि असफलता नै प्राप्त हुन्छ। अन्ततः जीवन संघर्षको पदमार्गमा हिँड्ने क्रममा सकिन्छ।

त्यसैगरी करिअर छनोट गर्नुको अर्को अर्थ हो, एउटामात्र विकल्प रोज्नु। त्यसैलाई अन्तिम विकल्प मान्नु, त्यसैमा अडिग रहनु, त्यसैमा अत्याधिक समय, उर्जा र पैसा लगानी गर्नु र अरु सम्भावित विकल्पहरू पूर्ण रुपमा बेवास्ता गर्नु। यदि समयमा सही करिअर छनोट वा विकास गर्न सकिएन भने त्यसपछिको समयमा केही कुरा छनोट गर्ने सुविधाहरु उपलब्ध हुँदैनन्। न जीवनसाथी रोज्न सकिन्छ, न जीवनशैली। न पेशा रोज्न सकिन्छ, न व्यवसाय। उदाहरणको लागि, इन्जिनियरिङ पेशा लिऊँ। मानौँ तपाईंले इन्जिनियरिङमा करिअर निर्माण गर्ने निर्णय लिनुभयो। मानौँ तपाईं एक क्षमतावान् आर्किटेक्ट पनि बन्नुभयो। मानौँ तपाईंले आर्किटेक्ट रुपमा केही वर्ष काम गरेपछि तपाईंमा इन्जिनियरिङप्रति कुनै रुचि रहेन। केही दिनको आत्मपरीक्षण पश्चात आफ्नो लागि इन्जिनियरिङ उपयुक्त करिअर नभएर सूचना प्रविधि रहेको पत्ता लगाउनु भयो भने? अब तपाईंले चाहेर पनि, कठोर प्रयास गरेपनि करिअर, पेशा परिवर्तन गर्न सक्नुहुन्न। तपाईंलाई आर्किटेक्ट रुपमा काम गर्नुको अर्को नयाँ विकल्पहरू सहजै उपलब्ध हुँदैनन्। तपाईंको मन सूचना प्रविधिमा हुन्छ, तर तपाईंलाई आफ्नो सम्पूर्ण ध्यान, समय र उर्जा आर्किटेक्चरल इन्जिनियरिङमा मात्र लगाउनुपर्ने हुन्छ। जसकारण तपाईंमा पश्चाताप, दुष्चिन्ता र फ्रस्ट्रेसनको स्तर बढ्दै जान्छ। तपाईं आफ्नो काममा कहिल्यै खुसी हुन सक्नुहुन्न। संक्षेपमा भन्नुपर्दा, तपाईं असन्तुलित, कष्टपूर्ण र दयनीय जीवन बाँच्ने अवस्थामा पुग्नुहुन्छ। यही प्रकृतिको मेकानिजम (क्रियाविधि) पुरानो सम्बन्ध, जीवनशैली, व्यवसाय लगायतका कुराहरु त्यागेर नयाँ विकल्पहरू खोजी गर्ने, त्यसबारे सोच्ने र छनोट गर्ने क्रममा पनि उत्तिकै लागू हुन्छ।

करिअर छनोटको सर्वोत्कृष्ट रुपरेखा

करिअरबारे उत्कृष्ट निर्णय लिन अथवा पर्फेक्ट (सही) करिअर छनोटको सुनिश्चितता गराउन विविध विधिहरू, फ्रेमवर्क (रुपरेखा) हरु अवलम्बन गर्न सकिन्छ। यस्तोमा क्लिनिकल मनोवैज्ञानिक डाक्टर टिमवथी एनद्वारा लिखित ‘चुज बेटर’ पुस्तकमा समाविष्ट पाँच चरणहरूमा पूरा गर्न सकिने रुपरेखाको बारेमा संक्षिप्त वर्णन गरौँ:

भावनाहरुको अन्तरनिहित सन्देश बुझ्ने

यो करिअर छनोट प्रक्रियाको पहिलो चरण हो। नयाँ करिअर छनोट गर्नुपर्ने वा त्यसबारे महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा सबैभन्दा पहिले हाम्रो शरीरमा निश्चित भावनाहरु उत्पन्न हुने गर्छन्। ती भावनाहरु सकारात्मक छन् या नकारात्मक? सोहीअनुसार हाम्रो करिअर छनोट वा हामीले करिअर सम्बन्धित लिन लागेको निर्णय सही या गलत भन्नेमा प्रस्ट हुन सकिन्छ। सकारात्मक भावनाहरुले करिअर छनोट सही हुन सक्ने र नकारात्मक भावनाहरुले करिअर छनोट गलत हुन सक्ने कुराको संकेत गर्छन्। यस अतिरिक्त भावनाहरुले व्यक्तित्व र हाम्रो कार्यलाई निर्देशित गर्ने मूल्य मान्यताहरुबारे अन्तरदृष्टि प्रदान गर्नुका साथै सचेत पनि गराउँछन्। जसकारण करिअर छनोट प्रक्रियालाई निकै सहजताका साथ अगाडि बढाउन सकिन्छ। त्यसैले कुनै एक करिअर छनोट गर्ने क्रममा आफ्नो निर्णय उत्कृष्ट होस् भन्नका लागि आफूलाई केही प्रश्नहरू गर्नोस्, ‘मैले कस्ता भावनाहरु अनुभूत गरेको छु? ती भावनाहरुको अन्तरनिहित सन्देशहरु के-के हुन सक्छन्? के मैले छनोट गर्न लागेको करिअर र भावनाहरु श्रेणीबद्ध छन्?’

मानौँ तपाईं नयाँ करिअर छनोट गर्न चाहनुहुन्छ। यस्तोमा गहन विचार विमर्श गर्नोस्। उपलब्ध भएका विभिन्न करिअर विकल्पहरू सुचिकृत गर्नोस्। ती विकल्पहरू यस प्रकार हुन सक्छन्: बीमा अभिकर्ता, मार्केटिङ प्रबन्धक, नेटवर्किङ व्यवसाय, सेयर मार्केट, शिक्षण पेशा, सरकारी जागिर आदि। यदि यी विकल्पहरू हेर्दा, त्यसबारे सोच्दा तपाईंमा रिस, निराशा, दुष्चिन्ता तथा डर जस्ता नकारात्मक भावनाहरु उत्पन्न हुन्छन् भने त्यो खतराको संकेत हो। ती विकल्पहरू तपाईंको निम्ति उपयुक्त छैन भन्ने बुझ्नुहोस्। तर यसको ठीक विपरीत यदि तपाईंमा खुसी, उत्साह जस्ता सकारात्मक भावनाहरु उत्पन्न हुन्छन् भने त्यो शुभ संकेत हो। ती विकल्पहरू तपाईंको निम्ति उपयुक्त हुनसक्छन् भन्ने बुझ्नुहोस्। यदि तपाईंले सकारात्मक भावनाहरु जगाउने कुनै पनि विकल्पहरू भेट्नु भएन भने पुनः खोजी गर्नोस्। सकारात्मक भावनाहरु सँग श्रेणीबद्ध हुने थप करिअर विकल्पहरूको नयाँ सुचि तय गर्नोस्। त्यस सुचिमा जुन विकल्प र तपाईंमा उत्पन्न हुने सकारात्मक भावनाहरुबीच श्रेणीबद्धता पाउनुहुन्छ, त्यही नै तपाईंको लागि उचित करिअर विकल्प हो।

व्यक्तिगत मूल्य मान्यताहरुको पहिचान गर्ने

भावनाहरुको अन्तरनिहित सन्देश बुझ्ने अथवा भावनाहरु र करिअरबीच श्रेणीबद्धता कायम राख्ने चरण पूरा गरेपछि अर्को चरणमा प्रवेश गर्नका लागि तयार हुनुपर्छ। त्यो हो, सचेत अवस्थामा रहेर व्यक्तिगत मूल्य मान्यताहरूको पहिचान। आखिर व्यक्तिगत मूल्य मान्यताहरु भनेको के? जुन चीजहरु हाम्रा लागि अत्याधिक महत्वपूर्ण छन्, जुन चीजहरुले हामीलाई कुनै पनि कार्यमा संलग्न हुन वा नहुनको लागि प्रेरित गर्छन्, तीनै चीजहरु हाम्रा व्यक्तिगत मूल्य मान्यताहरु हुन्। यसको उचित पहिचान गर्न र यसबारे समग्रमा बुझ्न सकियो भने करिअर छनोट गर्न कठिनाइ हुँदैन। उदाहरणको लागि, मानौँ तपाईं एउटा साधारण आईटी (सुचना प्रविधि) संस्थामा कार्यरत हुनुहुन्छ। मानौँ तपाईंलाई त्यो संस्थाले औसत पारिश्रमिक दिएको छ। तर तपाईंले कम पारिश्रमिकमा काम गर्नुपरे पनि त्यस संस्थामा काम गर्नको लागि सकारात्मक वातावरण पाउनु भएको छ। सहकर्मी साथीहरु सहयोगी हुनुका साथै परिवारको लागि पर्याप्त समय दिन पनि पाउनु भएको छ। यसै क्रममा मानौँ तपाईंलाई अर्को प्रतिस्पर्धी एवं प्रतिष्ठित आईटी संस्थाले कामको लागि आकर्षक प्रस्ताव राख्यो। तपाईंलाई दुई गुणा पारिश्रमिक दिने प्रतिबद्धता पनि जनायो। तर यसको लागि तपाईंले अत्यन्तै व्यस्त र चुनौतीपूर्ण वातावरणमा काम गर्नुपर्ने, तपाईंबाट सधैँ उत्कृष्ट परिणामको अपेक्षा राखिने, कहिलेकाहीँ अतिरिक्त समय काम गर्नुपर्ने जस्ता सर्तहरू पनि स्पष्ट रुपमा अगाडि सार्यो। यस्तो परिस्थितिमा हठात् निर्णय नगर्नोस्। आफ्नो मुख्य व्यक्तिगत मूल्य मान्यताहरू पत्ता लगाउन केही समय लगानी गर्नोस्। यदि तपाईंले आफ्नो मुख्य मूल्य मान्यताहरू सकारात्मक कार्यक्षेत्र, सहयोगी सहकर्मी साथीहरु, पारिवारिक समय आदि रहेको पाउनु भयो र पैसा त्यति प्राथमिकतामा नरहेको महसुस गर्नुभयो भने? तपाईंले संस्था परिवर्तन गर्नुपर्ने कुनै कारण देखिँदैन। यदि तपाईंले आफ्नो मुख्य मूल्य मान्यताहरु प्रतिष्ठा, पैस, शक्ति आदि रहेको पाउनुभयो भने? तपाईंले संस्था परिवर्तन गर्न सक्नुहुन्छ। भनाइको मतलब, तपाईंले स्वतन्त्र रुपमा करिअर छनोट वा परिवर्तन गर्न सक्नुहुन्छ।

कतिपयहरुलाई मनमा लागेको हुनुसक्छ, ‘मुख्य व्यक्तिगत मूल्य मान्यताहरु पहिचान गरेर, त्यसबारे समग्र बुझाइ विकास गरेर करिअर छनोटमा सहजीकरण प्राप्त हुन सक्छ भने ती मुख्य व्यक्तिगत मूल्य मान्यताहरू कसरी पहिचान गर्ने?’ यसको लागि वैज्ञानिक रुपमा प्रमाणित केही परीक्षण विधिहरू प्रयोग गर्न सकिन्छ। जस्तैः एननेग्राम व्यक्तित्व परीक्षण, बिग फाइभ व्यक्तित्व परीक्षण, डिस्क व्यक्तित्व परीक्षण, होगन एमभिपिआई परीक्षण आदि।

अरुको व्यक्तिगत मूल्य मान्यताहरुको उचित सम्मान राख्ने

करिअर छनोट गर्ने क्रममा आफ्नो मूल्य मान्यताहरूको मात्र ख्याल राख्नु बुद्धिमानी हुँदैन। अरु अर्थात् विशेष मान्छेहरुको व्यक्तिगत मूल्य मान्यताहरूको पनि उत्तिकै सम्मान राख्न सक्नुपर्छ। यहाँ विशेष मान्छेहरू भन्नाले प्रेमी वा प्रेमिका, श्रीमान् वा श्रीमती, पारिवारिक सदस्यहरु, साथीहरु जो पनि हुन सक्छन्। जब तपाईंले करिअर सम्बन्धित कुनै निर्णय गर्नुहुन्छ, त्यसले तपाईंको आर्थिक हैसियत र जीवनस्तरमा मात्र होइन, सम्बन्धमा पनि गहिरो प्रभाव पारेको हुन्छ। त्यसैले करिअर छनोट गर्ने क्रममा आफ्नो विशेष मान्छेहरु जो तपाईंको निर्णयबाट प्रभावित हुन्छन्, उनीहरुलाई खुला मस्तिष्कले आफ्ना विचार र भावनाहरु व्यक्त गर्नका लागि आग्रह गर्नोस्। उदाहरणको लागि, मानौँ तपाईंलाई एउटा संस्थाबाट आकर्षक जागिर अथवा जिम्मेवारीको प्रस्ताव आयो। मानौँ त्यो जागिर तपाईंको मूल्य मान्यताहरूसँग सतप्रतिशत श्रेणीबद्ध छ र तपाईं त्यो अवसर सदुपयोग गर्नको लागि अति उत्साहित हुनुहुन्छ। मानौँ तपाईंले त्यो जिम्मेवारी लिँदा निरन्तर हवाइ यात्रा गर्नुपर्ने सर्त छ र तपाईंलाई यस विषयमा कुनै आपत्ति छैन। तर तपाईंले त्यो जिम्मेवारी वहन गर्दा आफ्नो विशेष मान्छेहरुसँग गुणवत्ता समय व्यतीत गर्न सकिँदैन भन्ने कुरा स्पष्टसँग बुझ्नुपर्ने हुन्छ। यस्तोमा तपाईंले त्यो जागिरको प्रस्ताव तुरुन्तै अस्वीकृत गर्नै पर्छ भन्ने छैन। तपाईं आफ्नो विशेष मान्छेहरुसँग यस विषयमा स्पष्ट संवाद गर्न सक्नुहुन्छ। त्यस क्रममा आफ्नो निर्णयले उनीहरुमा सकारात्मक या नकारात्मक प्रभाव पार्छ भन्ने बारेमा यकिन गर्नोस्। अनि सोहीअनुरुप अगाडि बढ्नुहोस्। त्यसैगरी तपाईं संस्था प्रमुखसँग पनि कामको विषयमा थप कुराकानी गर्न सक्नुहुन्छ। त्यस क्रममा आफूलाई प्रस्ताव गरिएको काम वा जागिर आफ्नो मूल्य मान्यताहरूसँग मात्र होइन कि, आफ्नो विशेष मान्छेहरुको मूल्य मान्यताहरूसँग पनि श्रेणीबद्धता कायम राख्नको लागि आग्रह गर्नोस्। यस मामिलामा तपाईं आफ्नो संस्था प्रमुखसँग प्रत्येक तीन महिनामा एकपटक मात्र हवाइ यात्रा गर्ने कुराको सहमति गर्नोस्।

परिस्थितिको वास्तविकता बुझ्ने, परीक्षण गर्ने

करिअर छनोट वा परिवर्तन गर्ने प्रक्रियामा जाँदा परिस्थितिमाको वास्तविकता बुझ्नुपर्ने हुन्छ, परीक्षण गर्नुपर्ने हुन्छ। परिस्थितिबारे गलत बुझाइ विकास गरेर, गलत अर्थ लगाएर, गलत व्याख्या गरेर वा हचुवाको भरमा होइन, सही तथ्यहरू र कारणहरूमा आधारित करिअर छनोट गर्नुपर्ने हुन्छ। अन्यथा अनुचित अपेक्षा निर्धारण गर्न पुग्नुको साथै निराशा भोग्नुपर्ने हुन्छ। त्यसैले कुनै पनि नयाँ अवसर खोज्ने क्रममा, करिअर छनोट गर्ने क्रममा परिस्थितिको वास्तविकता केलाउने, बुझ्ने कोसिस गर्नोस्। परिस्थितिबारे कुनै पनि किसिमको धारणा राख्ने, पूर्वानुमान नगर्नोस्। उदाहरणको लागि, मानौँ तपाईं सहकर्मी साथीहरु बढी प्रतिक्रियात्मक र असहयोगी भएकाले काम परिवर्तन गर्ने सोचमा हुनुहुन्छ। यस्तोमा संस्था छोड्ने ठूलो निर्णय लिनुपूर्व आफूलाई केही प्रश्नहरू गर्नोस्, ‘के मेरा सहकर्मी साथीहरु साँच्चै प्रतिक्रियात्मक र असहयोगी हुन्? के मसँग ती कुराहरु पुष्टि गर्ने यथेष्ट प्रमाणहरु, सुचनाहरु छन्? कतै उनीहरुबारे केवल गलत अनुमान, धारणा विकास गरिएको त होइन?’ जब तपाईंले यो खालको मन्थन र परीक्षण गर्नुहुन्छ, अनिमात्र तपाईं सहकर्मी साथीहरुको वास्तविक अवस्था र परिस्थितिको वास्तविकता बुझ्न सक्नुहुन्छ। के थाहा, तपाईंको सहकर्मी साथीहरु गलत मनस्थिति, परिस्थितिमा रहेका कारण बढी प्रतिक्रियात्मक भएका हुन सक्छन्। उनीहरुलाई आफ्नो काममा मात्र बढीभन्दा बढी व्यस्त रहनुपर्दा नै तपाईंप्रति असहयोगी भएका हुन पनि त सक्छन्।

यदि तपाईं अझैसम्म करिअर, काम छनोट बारेमा स्पष्ट हुन सकिरहनु भएको छैन, लामो अवधि अनिर्णित हुनुहुन्छ भने आफूले छनोट गर्न लागेको करिअर पुनः जाँच गर्नोस्। आवश्यक परेको खण्डमा विश्वासिलो साथी वा करिअर परामर्शदाताको सहयोग लिनुहोस्।

पूर्ववत् चरणहरु जाँच, समीक्षा गर्ने

यो करिअर छनोट प्रक्रियाको पाँचौं चरण हो। यस चरणमा पूर्ववत् चार चरणहरु पुनः जाँच, समीक्षा गरिन्छन्। अगाडिका चार चरणहरु पूरा गरिसक्दा करिअर छनोट, करिअर सम्बन्धित निर्णय गर्नको लागि पर्याप्त आधारहरु स्थापित भइसकेका हुन्छन्। यद्यपि पाँचौं चरणमा मात्र पूर्ववत् चार चरणहरु बारेमा क्रमशः समीक्षा गरेर करिअरबारे अन्तिम निर्णय लिइन्छ।

मानौँ तपाईं आफूलाई उपयुक्त कुनै एउटा करिअर छनोट गर्न जाँदै हुनुहुन्छ। मानौँ तपाईंको लागि केही सम्भावित करिअर विकल्पहरू पनि उपलब्ध रहेका छन्। यस्तोमा ती विकल्पहरू अवलोकन गर्दा आफ्नो शरीरमा उत्पन्न हुने भावनाहरु अनुभूत गर्नोस्। अनि आफैंलाई प्रश्नहरू गर्नोस्, ‘मैले कस्ता भावनाहरु अनुभूत गरेको छु? किन यस्ता भावनाहरु अनुभूत गरेको छु?’

त्यसपछि आफ्नो मूल्य मान्यताहरू समीक्षा गर्नोस्। ती मूल्य मान्यताहरू र आफूले छनोट गर्न लागेको करिअरबीच श्रेणीबद्धता कायम भएको नभएकोमा सजग रहनोस्। त्यसैगरी आफ्नो विशेष मान्छेहरू जसलाई तपाईं प्रेम गर्नुहुन्छ, उनीहरुको मूल्य मान्यताहरूको पनि मान राख्नोस्। यसो गर्नाले करिअर विकल्पहरूको सुचि छोटो हुँदै जान्छ र तपाईं आफूलाई उपयुक्त हुने करिअर विकल्प नजिक पुग्न सक्नुहुन्छ।

अन्तमा वास्तविकता बुझ्ने कोसिस गर्नोस्। अनि पूर्वानुमान, गलत धारणाहरु र व्याख्यानको आधारमा  होइन, वास्तविकताको जगमा टेकेर करिअरबारे, अझ भनौँ भविष्यबारे अन्तिम र अपरिवर्तनीय निर्णय लिनुहोस्।

करिअर छनोट वा परिवर्तन गर्नु सिक्का उफारेर लिइने निर्णय जस्तो होइन। यसको लागि अधिकतम समय लाग्छ। ध्यान केन्द्रित साथै धीरता कायम गर्न सक्नुपर्छ। यति मात्र होइन, गलत करिअर छनोटका कारणहरू, त्यसबाट सिर्जित दुष्परिणामहरू केलाउन र बुझ्न सक्नुपर्छ। अनि त्यसपश्चात् करिअर छनोटको सर्वोत्कृष्ट रुपरेखा अक्षरशः पालना गर्न सक्नुपर्छ। यदि तपाईं यी सम्पूर्ण कुराहरू अवलम्बन गर्न सक्नुभयो भने समयमा सही करिअर छनोट गर्न सफल हुनुहुन्छ। जीवन केवल संघर्षको पदमार्गमा हिँड्ने क्रममा नै सकिँदैन।