श्रीमद्भगवद्गीताको बाह्रौँ अध्यायमा “सच्चा भक्त”का गुणहरूका बारेमा परिचय प्रदान गरे श्रीकृष्णले । अनि “सगुण या निर्गुण जुनसुकै स्वरूपमा उपासना गरे तापनि ईश्वरलाई प्राप्ति गर्न सम्भव रहेको” तथ्यलाई पनि उनैले नै सुस्पष्ट पारिदिए । त्यसपछि अर्जुन आत्मज्ञानको मार्गमा झनै उत्सुक बन्न पुगे ।

त्यसैले उनी तेह्रौँ अध्यायको प्रारम्भमा नै आफ्ना बिगतका जिज्ञासाहरू भन्दा बिल्कुलै फरक किसिमको करिब करिब दार्शनिक विषयवस्तुमा आधारित प्रश्न अगाडि सार्दछन् :

“प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्रज्ञमेव च ।

 एतद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव” ।।भ.गी.१३(१)।।

अर्थात्‌‚ “प्रकृति–पुरुष‚ क्षेत्र–क्षेत्रज्ञ‚ अनि जान्नैपर्ने ‘ज्ञान’ या जानिनयोग्य वस्तु (ज्ञेय) के के हुन् ?”

यही नै प्रश्नको उत्तर दिने सिलसिलामा श्रीकृष्णले यस अध्यायलाई आत्मज्ञानले यथेष्ट रूपमा भरपुर बनाएका छन् ।

उनी भन्दछन्‌‚

“इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।

 एतद्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तद्विद:” ।।भ.गी.१३(२)।।

अर्थात्‌‚ तत्त्वज्ञ ऋषिहरूले जड उपाधिधारी ‘प्रकृति’को अवयव इन्द्रिय‚ मन एवं बुद्धि सहितको देह या शरीरलाई नै ‘क्षेत्र’का रूपमा मान्ने गर्दछन् । अनि चैतन्यस्वरूपमा रहेको यो शरीर अनि यसका कृयाकलापहरूको सञ्चालक‚ प्रकाशक या द्रष्टा आत्मा भने ‘क्षेत्रज्ञ’ मानिन्छ । उदाहरणका लागि‚ हामीले चढ्ने मोटरगाडी क्षेत्र हो भने त्यस गाडीको चालक क्षेत्रज्ञ हो । त्यस्तै बिजुलीद्वारा चल्ने हिटर‚ बल्ब आदि क्षेत्र हुन् भने विद्युत्‌शक्ति क्षेत्रज्ञ हो ।

तर सबै क्षेत्रहरूका क्षेत्रज्ञ भने आफू अर्थात् परमात्मा नै रहेको तथ्यतर्फ सचेत गराउँदछन् श्रीकृष्ण त्यसपछिको तेस्रो श्लोकमा ।

शरीरका अवयव चौबिस तत्त्वहरूको बारेमा छैटौँ र सातौँ श्लोकहरूमा प्रकाश पार्दछन् उनी । साङ्ख्यदर्शनले समेत अनुप्राणित गरेका ती २४ तत्त्वहरू यसप्रकार छन् :

१. पृथ्वी‚ जल‚ तेज‚ वायु एवं आकाश – पाँच महाभूत ।

२. ती पञ्च महाभूतले चैतन्यका साथ तादात्म्यता गरेपछि उत्पन्न हुने अहम्भाव या “अहङ्कार” जसका कारण कर्महरूको कर्तृत्वभाव अनि फलहरूको भोक्तृत्वभावको निर्माण हुन्छ ।

३. बुद्धि अथवा महत्तत्व ।

४. मन एवं बुद्धिद्वारा प्रेरित ‘अव्यक्त’ बासनाहरू अर्थात् मूलप्रकृति ।

५. दश इन्द्रियहरू ।

६. मन ।

७. पाँच इन्द्रियगोचर विषयहरू: गन्ध‚ रस‚ रूप‚ स्पर्श‚ शब्द ।

उपर्युक्त २४ शरीर या ‘क्षेत्र’का अवयवहरू हुन् । यसैलाई नै जगत्‌ पनि भनिएको छ कतै कतै । त्यसैले शरीर भनौँ या क्षेत्र अथवा जगत्‌ नै‚ यसको उपस्थिति विशाल नै छ अध्यात्ममा ।

यो ‘क्षेत्र’ अर्थात् शरीरका विकारहरूका बारेमा पनि थाहा पाइरहनुपर्ने हुन्छ भनेर श्रीकृष्णले श्लोकहरूमा व्याख्या पनि गरेका छन् । ती शारीरिक विकारहरू हुन्‌: इच्छा‚ द्वेष‚ सुख‚ दुःख‚ स्थूल देह‚ अन्तःकरण‚ वृत्ति अनि धृति (धैर्य) ।

अतः द्रष्टा भनौँ या आत्मादेखि भिन्न सबै ज्ञात‚ दृश्य या अनुभूत वस्तुहरू नै ‘क्षेत्र’ हुन् । त्यही क्षेत्रलाई नै ‘शरीर’का रूपमा गीतामा व्याख्या गरिएको हो । अनि यो शरीररुपी ‘क्षेत्र’ अथवा ‘प्रकृति’लाई प्रकाशित तुल्याउने चैतन्यस्वरूप आत्मा नै क्षेत्रज्ञ अथवा ‘पुरुष’ हो ।

अब‚ आत्मज्ञान प्राप्तिका लागि अत्यावश्यक गुणहरूले परिपूर्ण अन्तःकरणको आवश्यकता औंलाउँदछन् उनी । त्यस्तो ज्ञानका लागि अत्यावश्यक बिस गुणहरूलाई तेह्रौँ अध्यायका आठौँदेखि बाह्रौँ श्लोकसम्म व्याख्या गरिएको छ । ती गुणहरू हुन् :

१. आफैँलाई नै पूजनीय ठान्ने अभिमानविहीन रहनु ।

२. आफ्नै श्रेष्ठताको प्रदर्शन नगर्नु ।

३. अहिंसा ।

४. क्षान्ति अर्थात् सहनशक्ति ।

५. ह्रदयमा सरल भाव ।

६. ह्रदयदेखि नै गरिने आचार्यको उपासना ।

७. शरीर एवं मनको शुद्धि ।

८.लक्ष्यप्रतिको दृढ निश्चय ।

९. आत्मसंयम (इन्द्रिय एवं मनको नियन्त्रण) ।

१०. इन्द्रियार्जित विषयहरूप्रति वैराग्य ।

११. अहङ्कारको त्याग ।

१२. संसारका विषयहरू बन्धनकारी एवं दु:खदायी भएको कुराको बोध ।

१३. जगत्‌मा जन्म‚ मृत्यु‚ वृद्धता (जरा)‚ व्याधि (रोग) आदि चार दोषहरू रहेको तथ्यको बोध हुनु ।

१४. अर्जित गरिएका वस्तुहरूप्रतिको मोहको अभाव ।

१५. पुत्र‚ पत्नी‚ घर आदि वस्तुहरूमा अति स्नेहबाट मुक्ति ।

१६. अनन्यभावले परमेश्वरमा ध्यान ।

१७. एकान्तप्रियता ।

१८. असंस्कृत‚ असभ्य‚ अनि भोगमा आश्रित समुदायमा अरूचि ।

१९. अध्यात्मज्ञानमा स्थिरता ।

२०. मोक्षप्राप्तिको लक्ष्यलाई सदा स्मरण गरिरहनु ।

यी त भए ज्ञानप्राप्तिका लक्षणहरू ।

त्यसो भए‚ जान्न योग्य अर्थात् ‘ज्ञेय’ वस्तु के हो त ? त्यो वस्तु ‘अनादि ब्रह्म’ हो । जाति या गुणरहित भएकाले त्यसलाई प्रमाणगोचर अथवा सत् मान्न सकिन्नँ । फेरि‚ चैतन्यस्वरूपमा नै व्यक्त भएर आत्मालाई नै प्रकाशित गरिदिने यो वस्तुलाई असत् नै पनि कसरी मान्ने र ?

“ज्ञेयं यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।

 अनादिमत्परमं ब्रह्म न सत्तन्नासदुच्यते” ।।भ.गी.१३(१३)।।

अर्थात्‌‚ यो अनादि ब्रह्म सत् पनि होइन‚ न त असत् नै हो ।

त्यसो भए त्यो ब्रह्म शून्य नै हो त ?

त्यस्तो पनि होइन । चौधौँदेखि अठारौँसम्मका पाँच श्लोकहरूमा ब्रह्मको अस्तित्वको व्याख्या गर्दै श्रीकृष्ण भन्दछन्‌ :

१. यो सबैतिर हात–खुट्टा‚ आँखा‚ टाउको‚ मुख भएको‚ जगत्‌मा सबैलाई व्याप्त गरेर रहेको छ ।

२. इन्द्रियहरूले रहित रहेर पनि यसका गुणहरूद्वारा प्रकाशित रहन्छ यो ।

३. आशक्ति अनि गुणरहित भैकन पनि सबैको पोषक अनि गुणहरूको भोक्ता यही नै हो ।

४. प्राणीहरूको व्यक्त चेतनको रूपमा अनि अव्यक्त सत्यको रूपमा स्थित छ यो ।

५. सबैको कारणस्वरूप सूक्ष्मातिसूक्ष्म छ यो ।

६. सर्वव्यापक भैकन पनि “ज्ञानीहरूका लागि अति नजिक अनि अज्ञानीहरूका लागि टाढा” नै छ यो ।

७. अविभक्त नै भए तापनि प्राणीहरूमा विभक्तजस्तै भएर रहेको हुन्छ यो । जसरी विद्युत् शक्ति हिटरमा तापको रूपमा अनि बल्बमा प्रकाशको रूपमा विभक्त भएझैँ प्रतीत हुन्छ‚ त्यस्तै नै हुन्छ यो ।

८.ज्योतिहरूको पनि ज्योति हो यो ।

९. अज्ञानरूपी अन्धकारभन्दा पर छ यो ।

१०. सबै प्राणीहरूको ह्रदयमा रहेको चेतना हो यो ।

त्यही ब्रह्म नै परमपुरुष मानिएको हो । ज्ञानको व्यापकता अनि जीवको मनःस्थितिअनुसार परमात्माका अनेक नामरूप प्रचलित रहन्छ । आत्मस्वरूपको अज्ञानता अनि रागद्वेषले पूर्ण मन भएका व्यक्तिमा परमात्मा मात्र उपद्रष्टा (अपराधकर्महरूमा समेत साक्षीभाव)का रूपमा रहेको हुन्छ । चित्तको निर्मलतामा वृद्धि भएसँगै यो अनुमन्ता (सत्कर्महरूमा अनुमति प्रदान गर्ने) अनि भर्ता (कर्महरूको पूर्ति गरिदिने) बन्न सक्दछ । अन्ततः योगयुक्त रहने प्राणीमा त झन् ब्रह्म नै एकाकार भएर भोक्ता अनि महेश्वरकै रूपमा समेत रहन पुग्दछ ।

“उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वर: ।

परमात्मेति चाप्युक्तो देहेऽस्मिन्पुरुष: पर:” ।।भ.गी.१३(२३)।।

त्यसो भए त्यो परमात्माको अंश आत्मालाई अनुभूत गर्ने विधि चाहिँ के हो त ? कसैले ध्यानद्वारा‚ अनि कसैले ज्ञान (साङ्ख्य)द्वारा आत्मालाई देख्दछन् भने कोही त कर्मयोगले नै आत्मालाई चिन्न सक्दछन् ।

“ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना ।

 अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे ” ।।भ.गी.१३(२५)।।

तर‚ ध्यान‚ ज्ञान या कर्मयोगको आचरण कायम राख्न नसक्नेहरूले पनि सद्गुरुहरूको वचन सुनेर अनि उपासना गरेरै पनि आत्मालाई जान्न सक्दछन् ।

“अन्ये त्वेवमजानन्तः श्रुत्वान्येभ्य उपासते ।

 तेऽपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः” ।।भ.गी.१३(२६)।।

अतः जान्नैपर्ने विषय यो हो कि यो जगत्‌मा उत्पन्न भएका सबै वस्तुहरू क्षेत्र (प्रकृति) अनि क्षेत्रज्ञ (पुरुष) कै संयोगबाट नै उत्पत्ति भएका हुन् ।

“यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजङ्गमम् ।

 क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभ” ।।भ.गी.१३(२७)।।  

अनि अरू जान्न योग्य ज्ञानका अपरिहार्य लक्षणहरूद्वारा युक्त ज्ञानीमा सम्यक दर्शन कस्तो हुनुपर्दछ त ? तेह्रौँ अध्यायका अन्तिम आठ (२८–३५) श्लोकहरूमा त्यसमा प्रकाश पार्दै भनिएको छ :

१. नश्वर प्राणीहरू सबैमा अव्यय अविनाशी परमेश्वरको समान उपस्थिति देख्नु ।

२. अहङ्कार आदि दुर्गुणहरूद्वारा आफ्नो आत्मविनाश नगर्नु ।

३. सम्पूर्ण कर्महरू प्रकृतिद्वारा नै भएको अनि आत्मा अकर्ता रहेको बोध हुनु ।

४. प्राणीहरूको भिन्न भिन्न भावहरू परमात्माबाट नै विस्तार भएको तथ्यलाई स्वीकार गर्नु ।

५. परमात्मा अनादि‚ निर्गुण‚ अव्यय‚ अकर्ता अनि फलहरूमा निर्लिप्त रहने तथ्यको बोध हुनु ।

६. आकाशलाई सूर्यले परमात्माले सम्पूर्ण लोकलाई प्रकाशित गरिरहेको हुन्छ भन्ने कुरा बुझ्नु ।

७. ज्ञानचक्षुद्वारा क्षेत्र र क्षेत्रज्ञ (प्रकृति र पुरुष)को भेदलाई आत्मसात् गर्नु ।

यसरी प्रकृति र पुरुष भनौँ या क्षेत्र र क्षेत्रज्ञ‚ यी दुई तत्त्वको यथार्थ ज्ञानले नै आत्मज्ञानमा सहायता गर्दछ । यही तथ्यलाई नै अति सरल तरिकाले दर्शाएको छ क्षेत्रक्षेत्रज्ञविभागयोग नामक श्रीमद्भगवद्गीताको तेह्रौँ अध्यायले ।