जातको त कुरा गर्नै हुन्न क्रोध सुरु हुन्छ ।

‘यसले डलर कति खायो ?’ सोध सुरु हुन्छ।

मैले ‘म नि मान्छे हुँ यार´ भन्नु मात्रै पर्छ,

एक्कासि सबैतिर विरोध सुरु हुन्छ ।

सञ्चारकर्मी तथा मुक्तककार महावीर विश्वकर्माको मुक्तकले भनेझैँ कति लेख्छेस् जातको मुद्दामा ? भनेर सोध्ने धेरै भेटिन्छन् । लेखेबापत यसले टन्नै डलर पचाएकी छे भनेर आरोप लगाउनसमेत पछि पर्दैनन् । सँगसँगै सुझाव पनि दिन्छन् ; अब जातपात हटिसक्यो , दलित-दलित भनेर जातको राजनीति नगर्नू ! वास्तवमा, जसले छुवाछुत प्रथा हटिसक्यो भनिरहेको हुन्छ असलमा ऊ नै घोर जातिवादीका रूपमा व्यवहार गर्दछ । यदि साँच्चै जातपात नमान्ने व्यक्ति हो भने कोही किन अन्तर्जातीय विवाह स्वीकार गर्न सक्तैन? तिनीहरू नै हुन् जसका छोराछोरीले अन्तर्जातीय विवाह गरिहालेमा स्विकार्न सक्ने आँट हुनु त परै जावोस् त्यस्तो कल्पना गर्दासमेत होस् उड्ने गर्दछ । के दलितले छोएको खानु मात्र जातपात हट्नु हो ? बिहे गर्नुअघि जात मिल्छ कि मिल्दैन भनेर सयौँपटक सोच्नु जातपात हट्नु हो ? अन्तर्जातीय विवाह गरेका सन्तानलाई आजीवन बहिष्कारसम्म गर्न सक्ने कठोर जमातले जातपात हटिसक्यो भन्न सुहाउँछ ?जातको नाममा कसैमाथि कुटपिट हुँदा , हत्या गरिँदा न्यायका लागि आवाज उठाउनु जातको राजनीति हो ?

ईश्वरा शिवा

गत साल ज्येष्ठ १० गते कथित उपल्लो जातकी युवतीसँग प्रेम गरेको अभियोगमा रुकुमका युवा नवराज विक र उनका ५ जना साथीहरूको नृशंस हत्या भएको थियो । रुकुम नरसंहारपछि घटनामा संलग्न चौँतिसजना पक्राउ परेका थिए । जिल्ला , उच्च , सर्वोच्च अदालतसम्म आइपुग्दा  ११ जना वा एकतिहाइ आरोपित जेलबाट छुटिसकेका छन् । यसरी नै अलिअलि गर्दै आरोपी छुट्दै जानुले पीडितले न्याय पाउने सम्भावना जीर्ण बनाइरहेको छ । त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने स्वतन्त्र अध्येता सन्तोष परियार सोती हत्या हत्याकाण्डका पीडितले न्याय नपाउने सम्भावना बढ्दै गएको बताउँछन् ।

हत्या भएको ठ्याक्कै एक वर्ष बितिसक्ता पनि पीडितले न्याय नपाएको भन्दै नागरिक समाजले कोरोना कहरका बिच गत सोमबार , जेष्ठ १० मा भर्चुअल सम्मेलन गर्दै रुकुम हत्यकाण्डप्रति प्रतिरोध जनाएको थियो । प्राध्यापक तथा उपन्यासकार डा. सञ्जीव उप्रेती तथा नागरिक समाजकी अभियन्ता अर्चना थापाको अगुवाईमा आयोजित प्रतिरोध कार्यक्रममार्फत “जुन थितिमा जात छ , मान्छे त्यहाँ दास छ ” भन्ने नारा सामाजिक सञ्जालभरि फैलिएको थियो भने जेष्ठ १० लाई रुकुम नरसंहार स्मृति दिवसको रूपमा घोषणा गर्नसमेत आह्वान गरिएको थियो ।

प्राध्यापक डा. सञ्जीव उप्रेतीका अनुसार श्रद्धाञ्जलिमात्र होइन नवराजहरूको रगतले साझा सङ्कल्प मागेको छ देशमा । उनी प्रश्न गर्छन्, यस्तो मध्ययुगीन बर्बरता २१ औँ शताब्दीमा कायम राखेर हामी कसरी सभ्य लोकतान्त्रिक बन्न सक्छौँ ? त्यो जघन्य हत्याकाण्डले आजसम्मका सबै घोषणा र कानुनी व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको त छ नै सिङ्गो नेपाली समाजलाई कलङ्कित पार्ने नृशंस काण्डपछि समाजमा देखिएको मौनता थप पीडादायी र आश्चर्यजनक भएको उनको धारणा छ । उनी थप्छन् , नवराज र उनका साथीहरूका परिवार र साथीसङ्गीलाई सोती आँसु र आक्रोशको विम्ब हो ; प्रेम सम्बन्धमा रहेका युवायुवतीलाई सोती भयङ्कर त्रासदीको विम्ब हो ; साथीका लागि ज्यान दिने युवाका लागि सोती त्यागको विम्ब हो ; केवल जातकै कारण हत्या गर्ने अपराधी समाजको विम्ब हो । वास्तवमा,  जातका नाममा हुने हत्याहिंसाले हाम्रो समाज कति पाखण्डी र पाशविक छ भन्ने प्रमाणित गर्दछ ।

रुकुम नरसंहार प्रतिरोध अभियानमा थुप्रै साहित्यकार, राजनितीज्ञ , कलाकार लगायतले सहभागिता जनाएका थिए । धेरैजसो नामी कलाकार , कवि तथा राजनैतिक व्यक्तिहरू भने मौन रहे । सामाजिक सञ्जालमा प्रतिरोधस्वरूप कुनै पोस्ट या कविता राखिदिन अनुरोध गर्दासमेत केही गैरदलित साहित्यकारहरूले कुनै चासो देखाएनन् । गैरदलित भएर दलितको मुद्दा उठाउँदा घरपरिवार , आफन्त र समाजको चेपुवामा पर्नुपर्ने उनीहरूको गुनासो छ । झन् अन्तर्जातीय विवाहको पक्षमा बोल्न त झनै कठिन हुनेसमेत बताए । भोलि गएर आफ्नै घरमा दलित बुहारी/ज्वाइँ आएमा समस्या हुनजाने उनीहरूको ठम्याइ छ । यद्यपि , यिनै शिक्षित कहलिएका कविहरूका कविता भने भयङ्कर प्रगतिशील मानिन्छन् । तिनीहरूकै हरेक कविताले अन्याय र अत्याचार विरुद्ध लड्न आह्वान गरिरहेका हुन्छन् ।

मोफसलका कवि तथा सञ्चारकर्मी एकराज थापाका अनुसार मुखौटाधारी बुद्धिजीवीहरू समाजका भाइरस हुन् जसले न्यायको पक्षधर बनेँजस्तो गरेर अन्यायको बिरुवा हुर्काइरहेका हुन्छन् । एकजना बुद्धिजीवीले एक छलफलमा ” कामीलाई त हेप्न पाइन्न भने अर्कालाई त्यसै हेप्न पाइन्छ र ?” भन्दै प्रश्न गरेको सम्झँदै आफूले तिनलाई बिचमै रोकेर “कामीलाई चाहिँ हेप्नुपर्ने तपाईँको कस्तो मानसिकता हो ?” भनेर जवाफ मागेको बताउँछन् । यद्यपि तिनले कुनै जवाफ नदिएको पनि उनले बताए । यसरी दलितलाई हेप्नैपर्छ भन्ने मानसिकता अधिकांश शिक्षित वर्गमा अझैसम्म कायम रहनाले दलितहरूमाथिको हत्याहिंसामा रोकिन सकेको छैन भने तिनै मुखौटाधारीहरू नै अपराधीको संरक्षक हुने गरेको पाइन्छ ।

रुकुम नरसंहार प्रतिरोध अभियानमा सहभागिता/समर्थन  जनाएका केही कविहरूको कविता यसप्रकार रहेका छन् :

१. “मगनी” 

उनको हात माग्न जाँदा

मेरो जात हेर्न थालियो

मेरो वर्ग हेर्न थालियो

अनि हामी

आफ्नै ज्यान मागेर फर्कियौँ ।

-परिविक्रम

 

२.”फलानो विक”

फोटोग्राफरले 

‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म !

पत्रकारले

गतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ !

 

कथाकारले 

गज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म !

कविले 

लाजवाब विम्ब भेट्ने प्रतिमा पनि मै हुँ !

 

तपाईँलाई लाग्ला-

म कलात्मक मूर्ति हुँ कुनै मूर्तिकारको 

म अलौकिक कृति हुँ कुनै कलाकरको 

म सबसे सुन्दर सृजना हुँ प्रकृतिको 

म अनन्त तिर्सना हुँ पारखीको 

 

म….

आकाश हुँ-इन्द्रेणी हुँ 

चरा हुँ-नदी हुँ 

समय हुँ-पर्व हुँ 

साथी हुँ-खुसी हुँ 

फूल हुँ-प्रेम हुँ 

आस्था हुँ-ईश्वर हुँ !

 

तर पर्खिनुस्,

म केही हैन,

म कैलै केही हुनै सक्तिनँ !

तपाईँको सभ्य समाजमा

म मान्छे पनि हैन !

 

मेरो परिचय :

नाम- फलानो विक 

उमेर- आजन्म 

ठेगाना- समाजबाहिर

कसुर- प्रेम/अधिकार

नियति- लास 

– हेमन्त गिरी

३.”रगतको औँठाछाप”

यी शब्दहरू होइनन्,

भेरीमा तैरिरहेका शवहरूका लस्करले

अत्तालिएर काँपिरहेका हातहरूद्वारा कोरिएका

छरपस्ट अक्षरहरू हुन् !

यी भावहरू होइनन् ,

आलो रगतको गन्धले अतालिएको मस्तिष्कका हतासहतास क्रन्दनहरू हुन् ।

साथी

नखोज्नू यहाँ दिल बहलाउने रुमानी हस्ताक्षरहरू

यी राता अनुच्छेदहरू

असङ्ख्य रगतका औँठाछापहरू हुन् ।

रोहिणीको किनारमा झुन्ड्याइएकी

अबोध बलात्कृत बालिकामाथिको

घोर अन्यायको चित्रले जन्माएको आक्रोश हो यो

सन्तानसँगको वियोगले निम्त्याएको ममतामयी

आँसुहरूको आहाल हो यो

शान्ति होइन सन्नाटा हो यो

झुकाव होइन निर्लज्जता हो यो

बतासलाई बहिष्कार गरेर

शोकमा निमग्न झुकिरहेका फूलहरूको मौनधारण हो यो ।

विद्रोहमात्र होइन

सदियौँदेखि दबाइएका दमित आवाजहरूको

प्रस्फुटन हो यो

जातीयताको जाँतोमा दलिएका समग्र दलितहरूको

उद्गार हो यो

यो घनघोरता होइन असन्तुष्टि हो

औँसी होइन जूनको त्रासदी हो

अन्धकारको चेतावनी हो

शताब्दीमाथिको उपहास हो यो ।

जहाँ प्रेमको खेती हुन्छ

त्यहाँ रागको सुगन्ध हुन्छ,

उत्साह फुल्छ, उमङ्ग फुल्छ

जहाँ प्रेमको हत्या हुन्छ

त्यहाँ सिर्फ

नीरवता हुन्छ, नीरसता हुन्छ

साथी नखोज्नु यहाँ मनमोहक हरफहरू

यी त एक प्रेमीको हत्याले निसास्सिएका

असङ्ख्य हृदयहरूका बरबराहटहरू हुन्

खण्डहर आहत मनका हठात् अवशेषहरू हुन् ।

अब यो युगमा सायदै गरिनेछन् प्रेम

र सायदै लेखिनेछन् प्रेम कविता

प्रेमले निम्त्याएको दर्दनाक मृत्युको ताण्डव हेरेर

काँपिरहेका हातहरू

अब सायदै लेख्नेछन् प्रेमिल शब्दहरू

जुन लेखिएका छन्

यी शब्दहरू होइनन्

यी राता अनुच्छेदहरू

रगतका असङ्ख्य औँठाछापहरू हुन् …!!

– सुमिना

४.”भुइँ मान्छेको घोषणापत्र”

मैले हक पाउँदा

तिमी जत्ति नै बराबरी

भाँडिन्छ भने तिम्रो घर

भाँडिन देऊ

मलाई सम्हालिएको घर चाहिएन

मलाई जुनीभरको कहर चाहिएन !

 

म तिमी बराबरबन्दा

मैले म पनि देशलाई माया गर्छु नि त भन्दा

टुक्रिन्छ  भने तिम्रो देश

कति टुक्रा हुन्छ टुक्रिन देऊ

मलाई विभेदमा उभिएको देश चाहिएन

मलाई तिम्रो बासी उपदेश चाहिएन !

 

मैले पढ्दा 

अपवित्र हुन्छ भने तिम्रो धर्म शास्त्र

मैले प्रवेश गर्दा

अपवित्र हुन्छ भने तिम्रो मन्दिर

मैले दूध खाँदा

रुख चढ्छन् भने तिम्रा गाई-भैँसी

मसँगै बसेर खाँदा

उँधै उँभै हुन्छ भने तिमीलाई

म  कैलै तिम्रो ज्वाइँ बन्न सक्तिनँ भने

म कैले तिम्री बुहारी बन्न सक्तिनँ भने 

जलाइदेऊ तिम्रो धर्मग्रन्थ

भत्काइदेऊ तिम्रा मन्दिर

भिरबाट खसालिदेऊ तिम्रा गाई-भैँसी

घोप्ट्याइदेऊ तिम्रो कथित उच्चता 

मलाई तिम्रा यी केही पनि चाहिएन !

 

यो शासनको आशनमा

सधैँ तिमीमात्र बस्नुपर्ने हो भने

कसलाई कति दिने

कसलाई दिँदै नदिने

तिम्रो मात्रै हाइ हुकुम चल्छ भने 

को कहाँ बस्ने को कहाँ बस्ने

तिम्रो मात्रै मनपरी हुन्छ  भने 

हामीलाई पनि हाम्रो निर्णय गर्न देऊ

एउटा खास्साको देश

तिमीले भन्दा गजबले 

चलाएर देखाइदिन्छौँ हामी !

-बलराम तिमल्सिना

अन्त्यमा जात, धर्म, वर्ग, भाषा, देश, इत्यादि हेरेर कसैसँग सम्बन्ध बनाउन खोज्नु प्रेम होइन फगत सम्झौता हो । जातकै कारणले आफूले चाहेको व्यक्तिलाई अपनाउन नसक्नु प्रेमको उपहास हुन जान्छ । तसर्थ, प्रेमको संरक्षण गर्न प्रेमविरोधी जात व्यवस्थाको अन्त्य हुनु अपरिहार्य छ । नवराजहरूको न्यायको लागि चौतर्फ दबाब सिर्जना गरी सचेत न्यायप्रेमी नागरिकको परिचय दिऔँ ।