बढ्दो उमेरसँगै शारीरिक परिवर्तन हुनु स्वाभाविक हो र यसलाई सहर्ष रूपमा स्विकार्नुपर्छ किनभने कोही पनि व्यक्ति यो प्राकृतिक नियमबाट उम्किन सक्तैन । विशेषगरी किशोरावस्थामा अर्थात् १२/१३ वर्षदेखि १९ वर्षको उमेरमा किशोरकिशोरीमा शारीरिक‚ मानसिक‚ संवेगात्मक र सामाजिक परिवर्तनहरू देखा पर्छन् । बाल्यकालीन विशेषताहरूलाई वयस्ककालीन विशेषताले प्रतिस्थापन गर्ने अवस्थालाई नै किशोरावस्था भनिन्छ अर्थात् बाल्यकाल र युवावस्थाको बिचको अवधि नै किशोरावस्था हो । यस अवस्थामा विशेषगरी किशोरीहरूमा शारीरिक परिवर्तनका रूपमा देखा पर्ने रजस्वला पनि एक हो । यो महिनैपिच्छे हुने भएकाले यसलाई मासिक धर्म तथा महिनावारी पनि भन्ने गरिन्छ ।

मासिक धर्मलाई सामान्यतया नेपाली समाजको सन्दर्भमा अशुद्ध मान्ने चलन छ । विशेषगरी पहिलो रजस्वला हुँदा किशोरीहरूले करिब १२ दिनसम्म पूरै एक्लै कोठाभित्र गुप्तवास बस्ने‚ सूर्यको किरण हेर्न नहुने‚ आफ्ना बुबा‚ दाइ‚ भाइहरू र समाजका अन्य पुरुष सदस्यहरूलाई हेर्न हुन्न‚ कसैलाई छुनु हुन्न भन्नेजस्ता अन्धविश्वास र सामाजिक मूल्य मान्यताले किशोरीहरूमा मानसिक तनाव र द्वन्द्व सिर्जना हुन्छ । यस सँगसँगै रजस्वला हुँदाको समयमा अध्ययनमा समेत प्रतिकूल असर परी भावनात्मक असन्तुलन सिर्जना हुन्छ‚ जसले गर्दा एकातिर आफू अस्पृश्य भएको हीनताबोध हुन्छ भने अर्कातिर मनोवैज्ञानिक दबाब बढी हुन्छ‚ जुन किशोरीहरूका लागि चुनौतीपूर्ण छ । यस्तै चुनौतीको सामना मेरो किशोरावस्थामा मैले पनि केही हदसम्म गर्नुपरेको थियो ।

गरिमा पाण्डेय

स्वर्गकै एउटा टुक्रा मेरो जन्मभूमि दैलेखमा मेरो बाल्यावस्था बिते पनि मेरो किशोरावस्थाको सुरुवात भने नेपालको तराई भागमा भयो । मेरो पढाइ उतै भएकाले जनकपुरमा बस्थेँ । मलाई आज पनि त्यो दिन याद छ जुन दिन मेरो शरीरमा केही नयाँ परिवर्तन भएको महसुस भएको थियो । म १२ वर्षकी थिएँ । स्कुलमा हुँदै केही असहज महसुस भएको थियो मलाई । स्कुल बिदा भएपछि म कोठामा फर्केँ । तल्लो पेट बेस्सरी दुखेर हैरान भएकी थिएँ म । असह्य पीडाका बिच लगाएको लुगा पनि चिसो भएजस्तो भयो । अचानक के भयो भनेर म अन्योलमा परेँ अनि हतार हतार शौचालय गएँ । जब मैले आफूले लगाएको लुगामा एकाएक रगतको टाटो र यौनाङ्गबाट निरन्तर रगत बगिरहेको पहिलोपटक देखेँ तब म स्तब्ध भएँ । मनमा अनेक थरी कुराहरू खेल्न थाले । के भइरहेको छ भन्ने मलाई केही ज्ञान थिएन अनि रुन थालेँ । आफूलाई भएको कुरा मम्मीलाई भन्छु भन्ने सोचले म कोठामा गएँ तर कसैलाई पनि भन्न सकिनँ । मेरो यौनाङ्गबाट निरन्तर रगत बगिरहेको नै थियो । एकातिर रगत बग्न रोकिएको थिएन अनि अर्कातिर तल्लो पेटको दुखाइ सहन सकेकी थिइनँ ।

आफ्नो खाटमा गएर पल्टिएँ । दिनभर मानसिक तनाव र छटपटीमा बिताएँ । साँझपख बाबा आएर साेध्नुभयाे, “के भयो ? किन सुतेको ?”

के भनूँ ? अन्योलमा परेकी थिएँ । बाबाले फेरि सोध्नुभयो अनि ‘तल्लो पेट दुखिरहेको छ’  भनेँ ।

“नढाँटी भन त !”, भनेर बाबाले सोधेपछि यौनाङ्गबाट रगत पनि बगेको कुरा हिच्किचाउँदै सुनाएँ । त्यसपछि

बाबाले सम्झाउनु भयाे, “डराउनु पर्दैन । यो उमेर पुगेपछि सबै छोरी मान्छेलाई हुन्छ । तिमी छुई भयौ छोरी अर्थात् महिनावारी सुरु भयो तिम्रो ।”

तत्पश्चात मैले आफूभन्दा अगाडिका दिदीहरू अनि गाउँका अन्य छोरी मान्छेहरूले पहिलोपटक महिनावारी हुँदा भोगेको र गुप्तवास बसेको आफूले गाउँमा देख्तै आएको कुरा सम्झेँ । सानै हुँदा कतै मैले पनि यस्तो अवस्था भोग्नुपर्ने त होइन भनेर डर लाग्थ्यो । हाम्रो गाउँमा कोही छोरी मान्छे पहिलोपटक महिनावारी हुँदा घर नगई कोही जङ्गलतिर पस्थे त कोही छाउगोठमा । पहिलोपटक महिनावारी हुँदा केही दिनसम्म कसैलाई छुन हुन्न‚ अँध्यारो कोठामा एक्लै बस्नुपर्छ‚ सूर्यको प्रकाश हेर्न हुन्न‚ आफ्ना परिवार लगायतका अन्य पुरुष सदस्यहरूलाई हेर्नु हुन्न भनेको सुनेकी थिएँ र आफ्नै दिदीहरूले पनि भोगेको देखेकी थिएँ । रजस्वला हुँदा दूध‚ दही केही खान हुन्न भन्थे । त्यसबेला आफू सानै भएकाले वास्तविक कुरा राम्रोसँग बुझेकी थिइन । आफू पहिलोपटक महिनावारी भएको थाहा पाएपछि उक्त कुराहरू मनमा खेल्न थाले । त्यत्तिकैमा बाबाले बजारबाट प्याड किनेर ल्याएर दिनुभयो तर मलाई त्यो कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा थिएन । जानी नजानी भए पनि त्यो प्याड लगाएँ र अलिकति भएपनि सहज महसुस भयो । फरक यति थियो कि म आफ्नो गाउँमा थिइन तर मैले पनि भोगेँ । सबैजना एउटै कोठामा बसे पनि म सुत्ने खाटको वरिपरि ठूला कपडाले ढाकिदिनुभयो ताकि मैले कसैलाई हेर्न नसकूँ । यसरी मेरो पनि गुप्तवास सुरु भयो तर मैले न छाउगोठ धाउनुपऱ्यो न त वनजङ्गल नै चाहार्नुपऱ्यो । मैले आफू बसिरहेकै कोठामा प्रथम रजस्वला अवधि बिताउने अवसर पाएँ । त्यसैले म आफूलाई भाग्यमानी सम्झिन्छु ।

रजस्वला हुँदाको समयमा १२ दिनसम्म कसैलाई हेर्नुहुन्न‚ दिनदिनै राति अरू नउठ्दै नुहाइसक्नुपर्छ‚ आफूले प्रयोग गरेका सबै कपडा धुनुपर्छ‚ छुट्टै खानुपर्छ भनेर मम्मीले भन्नुभयो तर बाबाले भनेर मैले सात दिनसम्म मात्र बार्नुपऱ्यो तर पनि त्यो समयमा मनमा अनेकथरी कुराहरू उथलपुथल हुन थालेका थिए । त्यस्तो व्यवहार देखेर अचम्म मान्नुपर्ने कुरा थिएन मेरो लागि तर पनि मेरो मनमा अनेक प्रश्नहरू र जिज्ञासाले डेरा जमाएका थिए । त्यसरी एउटै कोठामा बसेर पनि म एक्लै थिएँ । बाबा‚ दाइ‚ भाइहरूलाई हेर्न नपाउँदा चित्त दुखेको थियो । एकदम नराम्रो लाग्यो । “आखिर के गल्ती गरेँ मैले ? मसँग आज किन यस्तो व्यवहार गर्नुभएको होला ? सधैँ मेरै वरिपरि बस्ने‚ मसँगै चल्ने‚ खेल्ने बाबा म महिनावारी भएको थाहा पाउँदा किन नजिक बस्नु भएन ? बाबा‚ दाइ‚ भाइहरू मेरो नजरबाट किन टाढा भए ? महिनावारी हुँदा सूर्यलाई हेर्न पनि नहुने यो कस्तो पाप हो र ? यो कस्तो चलन हो ? आखिर यस्तो चलन कसले बनायो ?” आदि इत्यादि अनुत्तरित प्रश्नहरूले मन विचलित भयो । यो त एउटा प्राकृतिक नियम थियो र हो पनि ।

रजस्वला हुनु भनेको म शारीरिक रूपमा स्वस्थ छु र प्रजनन क्षमताको लागि योग्य हुँदैछु भन्ने एउटा राम्रो सङ्केत थियो । रजस्वलालाई मासिक धर्मको रूपमा लिइन्छ तर धर्मको नाममा अनेकौँ अन्धविश्वास जोडेर मलाई पनि अरूजस्तै सजाय दिइरहेको महसुस भयो र रजस्वलासँग जोडिएको धर्मप्रतिको आस्थाको डरले त्यसदिनदेखि आजसम्म प्रत्येक महिना म त्यो सजायको भागिदार भइरहेकी छु भन्ने महसुस गर्दै आएकी थिएँ र अन्य सबै किशोरीहरूले पनि यस्तै महसुस गरिरहेका छन् भन्ने लाग्थ्यो ।

अधिकांश केटीहरूले मासिक धर्मका बारेमा आफ्नी आमा‚ दिदीबहिनीहरू र महिला मित्रबाट सिक्छन् तर मैले भने पहिलोपटक यसबारे केही जानकारी मेरो बाबाबाट पाएँ । बाबाले गाउँमा फुपू पहिलोपटक महिनावारी हुँदा घर बाहिर पुस/माघको महिना चिसो भुईँमा सुतेकी फुपुलाई देखेर यसरी राख्नुहुन्न भन्दै घरकै एउटा छुट्टै कोठामा राखेर क्रान्तिकारी कदम उठाउनुभएको थियो रे‚ जुन कदमले गर्दा अहिले हामीलाई अलिकति भएपनि सहज महसुस भएको छ । पहिले सात दिनसम्म छुइ बार्नुपर्थ्यो र पछि बाबाले नै चारदिनसम्म बार्ने र पाँचौं दिनमा चोखिने वा शुद्ध हुने बनाउनुभयो । हाम्रो शास्त्रअनुसार “चतुर्थेऽहनि शुद्ध्यते” अर्थात् नारीहरू रजस्वला भएको चौथो दिनमा शुद्ध मानिन्छन्  । त्यसपछि गाउँका सबैले चारदिनसम्म बार्न सुरु गरे । अहिले सहरमा बसेर पनि कतिपय परिवारमा छोरीबुहारीलाई महिनावारी हुँदा खाटमा सुत्न नदिएर उनीहरूलाई भुईँमा छुट्टै ओच्छ्यान बनाएर चार दिनसम्म त्यसमै सुत्न बाध्य पारेको कुरा पनि सुनिन्छ । विद्यालयमा पनि पाठ्यक्रममा समावेश शारीरिक शिक्षासम्बन्धी मुद्दाहरूको बारेमा सोद्धा धेरैपटक ‘यो विषयमा पढाउनु आवश्यक छैन‚ तिमीहरूले घरमा स्वाध्ययन गर्न सक्छौ’ भनेर शिक्षकशिक्षिकाले टार्ने गरेको पाइन्छ ।

अहिलेको सन्दर्भमा पनि महिनावारी हुँदा सुतीको कपडाको प्रयोग गर्ने‚ सामाजिक‚ धार्मिक र सांस्कृतिक कार्यक्रममा प्रतिबन्ध र पुरुषप्रतिको व्यवहारको बारेमा सतर्कताको जानकारीमात्र दिए तापनि शारीरिक र मानसिक स्वस्थताको बारेमा पूर्ण ज्ञान दिनु लाजको विषय मानिन्छ । विद्यालयमा यौन तथा प्रजनन शिक्षा र स्वास्थ्यका विषयमा खुलेर शिक्षा दिन हिच्किचाउँछन् शिक्षकशिक्षिकाहरू अनि तत्‍सम्बन्धी प्रश्न गरेर आवश्यक जानकारी लिन खोज्दैनन् केही विद्यार्थीहरू‚ जसले गर्दा उनीहरू स्वयम् पछि गएर अन्योलमा पर्ने गर्दछन् । अहिले पनि महिनावारी हुँदा प्याड किन्न बजार जानसमेत लाज मान्छन् कतिपय किशोरीहरू । हो‚ सुरु सुरुमा मलाई पनि प्याड किन्नका लागि बजार जान एकदम लाज लाग्थ्यो र गइहाले पनि पसलमा कोही केटा मान्छे नभइदिए हुन्थ्यो‚ केटी मान्छे नै भइदिएको भए अलि सजिलो हुन्थ्यो भनेर मनमनै सोच्दै डराउँदै जान्थेँ । प्याड किनेको कुनै केटा मान्छेले कतैबाट हेरेको छ कि भनेर आफ्ना आँखा यता उता डुलाउँथे अनि कोही देख्दा मन ढुकढुक हुन्थ्यो भने नदेख्दा अलि हल्का महसुस भई ढुक्क हुन्थ्यो । पसलबाट प्याड पेपरले र्‍याप गरेर लुकाएर ल्याउँथे र अहिले पनि यस्तै कार्य अन्य किशोरीहरूले गरेको देखेकी छु र उनीहरूबाट सुनेकी पनि छु । यदि घरपरिवार र विद्यालयमा बालिका र किशोरीहरूलाई महिनावारी वा रजस्वला हुनु भनेको कुनै लाजको विषय होइन भनेर सिकाएको भए उनीहरूले त्यस्तो असहज अवस्थाको सामना गर्नुपर्ने थिएन ।

नेपालको परिप्रेक्ष्यमा मासिक धर्मलाई (मासिक चक्र) दशकौँ देखि ‘छुवाछुत’को रूपमा लिइन्छ र पनि वर्तमान परिप्रेक्ष्यमा जारी छ । हरेक मासिक चक्रको अवधिमा महिलालाई सामान्यतया चार दिनसम्म एक्लै बस्न दिने चलन छ । यस्तो धार्मिक वर्जितलाई विशेषगरी देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा ’छाउपडी प्रथा’का रूपमा लिइन्छ भने अन्य प्रदेशमा पनि आंशिक रूपमा छुइ बार्ने प्रचलन आजपर्यन्त छँदै छ । यस्ता प्रथा र परम्पराले एकातिर मानव सभ्यतालाई नै चुनौती दिएका छन् भने अर्कातिर रजस्वलायुक्त नारीलाई घरमा बस्नसमेत निषेध गरी गाईगोठ या छाउगोठमा जहाँ सूर्यको उज्यालो प्रकाश आउँदैन‚ त्यस्तो वातावरणमा बस्न बाध्य पारिन्छ‚ जसले गर्दा अहिले पनि अधिकांश किशोरीहरू असुरक्षित रूपमा बाँच्न विवश छन् । केही सचेत र शिक्षित वर्गले आफ्ना छोरीबुहारीहरूलाई छाउगोठमा नराखे पनि एउटै घरभित्रको छुट्टै कोठामा एक्लै राख्ने तथा परिवारजनबाट टाढा राख्ने गरिएको पाइन्छ तर पहिलो महिनावारीको समयमा किशोरीहरूले त्यो परिस्थितिमा कसरी केटा मान्छे वा अन्य व्यक्तिको अगाडि निर्धक्क भएर बोल्ने‚ कसरी सिधा हेरेर बोल्ने‚ त्यो परिस्थितिमा उत्पन्न हुने विविधखाले चुनौतीहरूको सामना कसरी गर्ने भनेर मनमनै अनेकथरी कुरा खेलाउने हुँदा यस्ता विविध सामाजिक र मनोवैज्ञानिक समस्या उत्पन्न हुन नदिनका लागि उनीहरूलाई छुट्टै कोठामा राख्ने गरिएको हो भन्ने कुरा पनि मैले विस्तारै बुझ्दैछु । पहिलोपटक महिनावारी हुँदा सबै किशोरीहरूलाई लाज लाग्नु स्वाभाविकै हो र सामान्य अवस्थामा पहिले जसरी बोल्न सक्तैनन् पनि । विस्तारै हुर्किँदै गर्दा‚ पढ्दै जाँदा यो प्राकृतिक प्रक्रिया हो भन्ने आफैँ बुझ्छन् भनेर छुट्टै राखिएको देखिए तापनि यसलाई अन्धविश्वाससँग जोडेर पनि हेर्ने गरिन्छ ।

धार्मिक र सांस्कृतिक दृष्टिले मठमन्दिरमा जान नदिनु‚ पूजाआजाजस्ता धार्मिक कार्यक्रममा सहभागी हुन नदिनुमा सार्थकता देखिए पनि मानवीय दृष्टिले यो त्यति वैज्ञानिक देखिन्न । यसको मूल कारण भनेको जनस्वास्थ्यका दृष्टिले रजस्वला हुँदा हुने सरसफाइको कमी नै हो । कतिपय अशिक्षित र असचेत किशोरीहरूले सरसफाइमा विशेष समय‚ चासो र ध्यान दिन नसक्ने हुनाले उनीहरूलाई यस्ता धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा वर्जित गरिएको पनि हुन सक्छ । तसर्थ‚ रजस्वला हुँदाको समयमा आफूले प्रयोग गरेका लुगा र प्याडको उचित व्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिने हो भने विभिन्न रोगको सङ्क्रमणबाट सुरक्षित हुनुका साथै प्रचलित धर्म परम्पराअनुसार देवता रिसाउँछन् भन्ने मान्यताबाट पनि मुक्त हुन सकिन्छ । हाम्रा सामाजिक तथा धार्मिक मूल्य मान्यताभित्र लुकेका ज्ञानवर्धक तथा समाजोपयोगी ज्ञान‚ विज्ञान र उपलब्धिलाई छुट्टै खोज‚ अनुसन्धान र गहन अध्ययनको विषय बनाउन सकिन्छ ।

वास्तवमा भन्ने हो भने एकातिर नेपाली सामाजिक तथा धार्मिक परम्पराले केटीहरूलाई मासिक धर्म(रजस्वला)‚ शारीरिक परिवर्तन‚ यौन तथा प्रजनन स्वास्थ्यबारे खुलस्त रूपमा कुरा गर्न‚ बोल्न बन्देज गरेको छ भने अर्कातिर अहिले पनि समाजमा खुलस्त रूपमा महिनावारी तथा यौन र प्रजननका कुरा गर्न‚ बुझ्न खोज्दा केटी मान्छे भएर यस्तो कुरा गर्ने भनेर हाम्रो समाजले गम्भिर प्रश्न उठाउँछ । शारीरिक परिवर्तनका बारेमा कुनै प्रश्न सोध्दा हाम्रो घरपरिवार र समाजमा लाजमर्दो कुरा ठहर्छ । मासिक धर्मको जानकारीको स्रोत विशेषगरी आमा भए तापनि अधिकांश आमाहरूले  दिएको जानकारी प्राय: अपूर्ण‚ अधुरो‚ सतही र सांस्कृतिक मिथकमा आधारित हुन्छ । कतिपय किशोरीहरूले पनि एकातिर शारीरिक विषयक मुद्दाहरूको बारेमासमेत जान्ने र सिक्ने प्रयास गर्दैनन् भने अर्कातिर स्कूलका शिक्षकशिक्षिकाहरूले  पनि आत्मविश्वासका साथ स्वास्थ्य र प्रजनन शिक्षाका बारेमा प्रस्टसँग आफ्नो धारणा र विचार राख्न हिच्किचाउँछन् । जबसम्म यस्तो अवस्था कायम रहन्छ तबसम्म हाम्रो सामाजिक र मानसिक परिवर्तन हुन सक्तैन ।

यसरी धर्म र परम्पराको नाममा प्रचलित छाउपडी प्रथाको अनुशरण गर्दै आएको हाम्रो नेपाली समाजमा कैयौँ चेलीबेटीले अनाहकमा आफ्नो ज्यान गुमाउन पुगेका छन् । कहिल्यै छाउगोठभित्रै बलात्कृत भएर मारिएका छन् भने  कहिल्यै विषालु सर्पले टोकेर मरेका घटनाहरू सर्वविदितै छन् । यी लगायत छाउगोठमा बस्दा अन्य जनावर‚ कीरा फट्याङ्ग्रा र गलत नियत भएका मानिसबाट जोगिनसमेत त्यत्तिकै गाह्रो हुन्छ उनीहरूलाई । घरपरिवार र समाजमा विद्यमान धार्मिक कट्टरता र अन्धविश्वासका कारण धर्मका नाममा आस्था गुम्ने र सामाजिक प्रतिष्ठामा समेत प्रहार हुने डरले घरभन्दा बाहिर छाउगोठको अँध्यारो वातावरणमा रात कटाउन बाध्य छन् अधिकांश नेपाली छोरीहरू । यसैगरी विद्यालयमा वैयक्तिक गोपनीयता र पानीको अभाव हुँदा तथा शौचालयको उचित व्यवस्था नहुँदाको अवस्थामा रजस्वलायुक्त किशोरीहरू त्यस्ता शौचालयमा जान डराउने भएकाले अधिकांश छात्राहरू विद्यालयमा अनुपस्थित हुने गरेको पाइन्छ । कतिपय शिक्षणसंस्थाहरूमा शौचालय भए पनि त्यहाँ ढोकामा चुक्कुल‚ बत्ती र पानीको व्यवस्था नभएर आफ्नो अध्ययनलाई बिचैमा छाड्ने विकल्प रोज्दछन् । किशोरावस्थामा केटीहरूका लागि मासिक धर्म अवधि सरसफाइका दृष्टिले अत्यन्त संवेदनशील र गम्भीर चिन्ताको विषय हो‚ जुन अवधिमा किशोरीहरू आफ्ना समस्याका बारेमा खुलस्त रूपमा कुराकानी र छलफल गर्न सक्तैनन्‌‚ जसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकास तथा स्वास्थ्यलाई समेत बाधा पुगेको पाइन्छ । त्यसैले विद्यालयस्तरमा यौन तथा प्रजनन शिक्षा र स्वास्थ्यसम्बन्धी शिक्षकशिक्षिकाहरूले पनि आफ्ना विद्यार्थीसँग खुलस्त रूपमा अन्तःक्रिया गर्नु आवश्यक देखिन्छ । साथै हरेक शिक्षणसंस्था छात्रामैत्री हुन त्यहाँ स्यानिटरी प्याडलगायतका अन्य सुविधा उपलब्ध गराउन आवश्यक छ ।

माथि उल्लिखित तथ्यका आधारमा के निष्कर्ष निस्किन्छ भने यदि मलाई पनि किशोरावस्थामा आउने विविध शारीरिक‚ मानसिक परिवर्तनको बारेमा रजस्वला हुनुभन्दा पहिले राम्रो जानकारी हुन्थ्यो भने म त्यो अवधिलाई सहज रूपमा लिएर अझ बढी रमाउँथे । आफ्नो किशोरावस्थाको सुरुवातमै म आफ्नो शारीरिक परिवर्तनलाई खुसीका साथ स्वीकार गरी किशोरावस्थाको मिठो अनुभूति गर्थेँ किनकि रजस्वला हुनु भनेको कुनै पापको परिणति नभई आफू स्वस्थ हुनुका साथै प्रजनन क्षमताका लागि योग्य छु भन्ने एउटा राम्रो सङ्केत पनि हो भनेर रमाउँथे ।

मेरो आफ्नै अनुभव पनि छ – म कक्षा ९ मा पढ्दा विद्यालयमा स्वास्थ्य शिक्षा विषय शिक्षकले महिनावारीको बारेमा खुलस्त रूपमा पूर्ण जानकारी दिनुभयो र मैले उहाँबाट धेरै कुरा सिक्न पाएँ । साथै जीवनमा चुनौतीको सामना गर्दै अघि बढ्ने हौसला समेत पाएँ । यदि यस्तै शिक्षकशिक्षिकाहरू सबै विद्यालय वा शिक्षणसंस्थामा भइदिएको भए प्राय: किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यसहित रजस्वला हुँदा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता‚ पोषणयुक्त खानपिन‚ नियमित व्यायाम र सरसफाइमा बढी ध्यान दिनुपर्छ भन्ने कुरा थाहा पाउँथे । साथै उनीहरूलाई हरेक महिना रजस्वला हुन्छ‚ यौनाङ्गबाट रगत बग्छ‚ तल्लो पेट दुख्छ र अनेक दु:ख र पीडा सहनुपर्छ भन्ने बोध हुन्थ्यो । मेरो विचारमा हरेक छोरीले छोरी भएकोमा आत्मग्लानि नगरी गर्व गर्नुपर्छ । म पनि छोरी भएकोमा गौरवान्वित छु किनकि रजस्वला हुनु भनेको पाठेघरमा जम्मा भएको फोहोर रगत बाहिर निस्केर आफू स्वस्थ हुनुका साथै प्रजनन क्षमताका दृष्टिले पनि योग्य भएको पुष्टि हुनु हो । त्यसैले अहिले म रजस्वला हुँदा प्याड किन्न लजाउँदिन अनि आफ्नो घरपरिवार‚ समाजमा तथा कलेजका केटा‚ केटीलगायतका सबै साथीहरूसँग खुलस्त रूपमा आफू रजस्वला वा महिनावारी हुँदाका समस्याहरू एकआपसमा साटासाट गर्न र सोबारेमा छलफल र अन्तःक्रिया गर्न सक्ने भएकी छु । त्यसैले मेरो विचारमा रजस्वला हुनु भनेको कुनै अपराध नभई यो एउटा  नारी जीवनमा आउने प्राकृतिक नियम हो‚ नारीको नैसर्गिक गुण हो‚ यो कुनै लाजको विषय होइन ।