न्युटनको स्याउ
हामी सबैले रुखबाट फल भुइँमा झरेको देखेका छौँ । फल मात्र होइन पहिरो पनि तलतिरै खस्छ र हामी लड्दा पनि तलतिरै मुन्टिन्छौँ । यो धेरैलाई सामान्य लाग्छ, कसैकसैलाई भने यस्ता कुरा असामान्य लाग्छन् । अनि त्यस्तै असामान्य लाग्ने सामान्य कुरा अध्ययनका विषय बन्छन् । तिनैबाट सिद्धान्त प्रतिपादन हुन्छन् पनि ।
यहाँ उदाहरण एउटा मात्र पर्याप्त हुन्छ । गणितज्ञ/वैज्ञानिक आइज्याक न्युटन (सन् १६४३–१७२७) ले रुखको बोटबाट स्याउ झरेको देखेर गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेका हुन् । न्युटनले हेर्नुअघि चाहिँ स्याउ बोटबाट आकाशतिर जाँदैन थियो, भुइँमा नै खस्थ्यो । अरुका लागि त्यो सामान्य विषय नै रह्यो तर न्युटनका लागि असामान्य लाग्यो र अध्ययनको विषय बन्यो ।
न्युटनले अवलोकनको सामान्यीकरणले गर्दा तथ्यको आधार पाए । हरेक वस्तुमा अर्काे वस्तुलाई आफूतिर तान्ने शक्ति हुन्छ भन्ने तथ्य स्थापना गरेर सौर्यमण्डलका पिण्डहरुको एकले अर्कालाई तान्ने बल र दूरीका आधारमा सन्तुलन रहेको निष्कर्ष निकाले र सूत्र बनाइदिए । सूत्र घोक्दा पनि हुने भयो, व्यावहारिक प्रयोगको खोजी भने हामी कमै गर्छौँ ।
न्युटनका लागि अथाह ज्ञानको स्रोत बनेको त्यही अरुलाई भने स्याउ खाँदै ठिक्क भयो । पछिल्लो समयमा स्टिभ जब्स (सन् १९७५–२०११) लगायत (रोनाल्ड वेइन र स्टिभ वोज्निअक) ले स्थापना गरेको स्याउ (एप्पल) कम्पनी अहिलेको जस्तो ‘जुठो स्याउ’ कम्पनी बनिसकेको थिएन । सन् १९७६ मा कम्प्युटर कम्पनी स्थापना गर्दा त्यसका सहसंस्थापक रोनाल्ड वेइनले न्युटनको रुखबाट झर्दै गरेको स्याउको बोट र फेदमा बसेर अध्ययन गर्दै गरेका न्युटनको चित्रसहितको नमूना तयार पारेका थिए । त्यसको तीनतिरको किनारामा विलियम वर्डस्वर्थको कविता उल्लेख गरिएको थियो । (हेर्नुहोस् चित्र १)
सन् १९७७ मा आएर मात्र शब्दहरुका खेल्ने प्राविधिक पक्ष बाइटलाई समेट्दै टोकेको स्याउको लोगो प्रयोगमा ल्याइएको हो । टोकाइलाई अङ्ग्रेजीको शब्द ‘बाइट’को र कम्प्युटरको सूचना भण्डारको आकारका लागि प्रयोग गरिने शब्द ‘बाइट(स)’को उच्चारण एकै हुने भएकाले त्यस्तो परिकल्पना गरिएको थियो । कम्प्युटर निर्माण र कारोबार गर्ने एप्पल कम्पनी अहिले मोबाइल लगायतका उपकरणको पनि निर्माता रहेको छ । त्यसैले उक्त कम्पनी’ अहिले संसारकै सूचना प्रविधि र भाषा सम्प्रेषणमा सशक्त माध्यम बनेको छ । यो न्युटनको अध्ययनबाट निस्केको गुरुत्वाकर्ष सिद्धान्त होइन बरु प्रयोग वा व्यवहारको पक्ष हो ।
यस्तै धेरै सिद्धान्तहरुको प्रतिपादन काल्पनिक कुराबाट हुन्छ । गणितलाई अकाट्य शास्त्र मानिन्छ तर यसका सिद्धान्त र प्रयोगले पनि काल्पनिक कुरामा आधार राख्छन् । कुनै चल पत्ता लगाउन अचललाई मान्ने वा सानो तहमा प्रमाणित गरेर स्थुल रूपमा पनि सोही कुरा स्थापित गराउन काल्पनिक तथ्याङ्क मान्ने चलन हुन्छ । ‘मानौँ’ प्रयोग गरेर गणितका सिद्धान्त र साध्य प्रमाणित गरेका अनुभव हामीसँग पनि छन् ।
यस्तो कुरा गणितमा मात्र होइन विज्ञानका हरेक विषयमा हुन्छ । समाजशास्त्रका विषयमा हुन्छ, मानवशास्त्रमा हुन्छ । त्यस्तै भाषामा पनि नहुने भन्ने हुँदैन, किनकि समाज र मानव शास्त्रमा हुने भएपछि मान्छेले प्रयोग गर्ने वस्तु भाषामा नहुने कुरै हुँदैन । त्यसैले भाषालाई वैज्ञानिक वस्तु मानेर यसको अध्ययन विज्ञानको तहमा हुने गर्दछ अथवा भाषा विज्ञान (लिङ्ग्विस्टिक्स) यसको वैज्ञानिक अध्ययनको विधा हो ।
विज्ञानका अरु प्रयोगशालाहरुमा विज्ञानका परीक्षणहरु भए जस्तै भाषाका विविध पक्षहरु पनि प्रयोगशालामा परीक्षण हुन्छन् । बोलीचालीमा मात्र भएका भाषाका वर्णमाला, व्याकरणहरु वैज्ञानिक परीक्षणबाट तयार पारिन्छन् र लेख्य भाषा पनि बनाइन्छन् । बोलीचाली र लेखन दुबैमा प्रचलित भाषाका पनि वर्ण र शब्दहरुको वैज्ञानिक परीक्षण हुन्छ र सुधार वा नवनिर्माण हुन्छ ।
न्युटनको स्याउ र स्टिभ जब्सको एप्पलको नामकरणको यो तथ्य र अर्थ उनीहरुको ‘एपिपिएलई–एप्पल’ बुझेर होइन, हाम्रै नेपाली भाषाको स्याउ बुझेर प्रस्तुत गरिएको वा लगाइएको हो । ज्ञानको आवश्यकतापूर्तिका लागि भाषा आवश्यक हुन्छ र भाषा बुझ्न र त्यसलाई सम्पन्न बनाउने पनि नवनिर्माण अनिवार्य हुन्छ ।
न्युटनको स्याउ सिद्धान्तका लागि प्रयुक्त भाषिक शब्दहरु र एप्पल कम्पनीको प्रतीक चिह्नका लागि प्रयुक्त शब्दहरु नवनिर्माण थिए । तथापि यी विषय गणित र विज्ञानका हुन् । हामीले तिनलाई अङ्ग्रेजीबाट जस्ताको तस्तै ग्रहण गरेनौँ । गुरुत्वाकर्षणको सिद्धान्त र स्याउ नेपाली भाषाका शब्द हुन् ।
कोभिडको न्वारान
यति बुझेपछि अब हामी विज्ञान वा गणितको त्यही ‘मानौं’लाई भाषामा पनि प्रयोग गरेर हेरौँ । एकछिनलाई मानौं, ‘नेपाल संसारकै शक्तिशाली देश हो (नभए हामीले बनाइसक्यौँ) । त्यसैले नेपालको राष्ट्रभाषा नेपाली संयुक्त राष्ट्रसंघका औपचारिक कामकाजका भाषाहरुमध्ये एउटा परेको छ । अनि त्यहाँ प्रयोग हुने भाषाहरुमध्ये पनि नेपाली भाषा नै सर्वेसर्वा छ । जस्तो अरबी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनेली र अङ्ग्रेजीमध्ये अङ्ग्रेजीको दबदबा छ ।’ नभए हेर्नोस् है त चीनमा उत्पन्न भएको कोरोना विषाणुका कारण फैलिएको कोभिड १९ कहलिएको रोगको नामकरणको किस्सा ।
चीनको वुहान प्रान्तलाई उद्गम बनाएको रोगलाई ११ फेब्रुअरी २०२० (२०७६ माघ २८) मा विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम दियो र यो नै उक्त रोगको आधिकारिक नाम हुने जनायो ।
अर्थात् २० सालमा एक वर्ष अगाडिको सालको नम्बरसहित रोगको नामकरण गरिएको थियो । विषाणु (भाइरस) वर्गीकरण अन्तर्राष्ट्रिय समितिले विषाणुविज्ञ (भाइरोलोजिस्ट) र वैज्ञानिक समुदायले विषाणुको वर्गीकरण गरी दिएका नामका आधारमा विश्व स्वास्थ्य सङ्गठनले रोगको नामकरण गरेको हो । विषाणु वर्गीकरण अन्तर्राष्ट्रिय समितिले चाहिँ सोही दिन राखेको विषाणुको नाम “severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2)” अर्थात् स्वाशप्रस्वासमा तीव्र आघातक लक्षणयुक्त कोरोना विषाणु २ (सार्स–कोभ–२) थियो । अर्थात् उक्त विषाणुको सम्बन्ध पहिले अस्तित्वमा आइसकेको सार्स रोगसँग सम्बन्धित थियो र ती सबैलाई आधार बनाएर विषाणुको नाम राखिएको थियो ।
त्यसो भए पनि त्यसअघि नै चीनमा फैलिएको रोगको लक्षणका आधारमा त्यस्तो विषाणुलाई अर्कै नाम दिइएको थियो – नयाँ कोरोना भाइरस (नोभल कोरोना भाइरस) । सन् २७ डिसेम्बर २०१९ मा चीनको वुहान प्रादेशिक अस्पतालका श्वासप्रस्वास विभागका प्रमुख डा. झाङ चिचिनले यही नाम राखेर नोभल कोरोना विषाणुबारे चीनका अधिकारीलाई र चीनका अधिकारीले विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएका थिए ।
तर त्यसको एक महिनाअघि नै उक्त रोग चीनमा देखा परेको थियो, त्यसको पहिलो रोगी १७ नोभेम्बर २०१९ मा फेला परेका थिए । त्यस्ता रोगी बढ्न थालेपछि वुहान केन्द्रीय अस्पतालका चिनियाँ डाक्टर ली वेलियाङले उक्त विषाणु पत्ता लगाएर त्यसको परिणाम भयावह हुन सक्ने सङ्केत गरेका थिए । तर उनले अफवाह फैलाएको भन्दै चीनको प्रहरीले उनलाई पक्राउ र दुव्र्यवहार गरेको थियो । पछि कोरोना विषाणुकै कारण ७ फेब्रुअरी २०२० मा उनको मृत्यु भयो । तर उनले घातक रोगबारे सचेत गराएको र त्यसैकारण पीडित भएको र अन्ततः मरेका कारण ३ अप्रिल २०२० मा उनलाई चीनले सहिदको सम्मान दियो ।
जे भए पनि यी दुवै प्रकरणमा चीनको भाषा मन्दारिन वा त्यहाँका अरु कुनै भाषाको ख्याल गरिएन । दुबै प्रकरणमा अङ्ग्रेजीबाट नाम राखियो । जबकि विश्व स्वास्थ्य सङ्गठन संयुक्त राष्ट्रसंघको निकाय हो र चीन त्यसको एउटा पक्ष अनि चिनियाँ भाषा संयुक्त राष्ट्रसङ्घका आधिकारिक छ वटा भाषाहरुमध्येको एउटा भाषा चिनियाँ हो । संयुक्त राष्ट्रसङ्घका आधिकारिक अरु भाषा पनि यसमा उपेक्षित रहे ।
विश्व स्वास्थ्य सङ्गठनले ११ फेब्रुअरी २०२० मा नयाँ कोरोना विषाणुबाट लाग्ने रोगको नाम कोभिड–१९ राख्दा धेरै कुरालाई ख्याल गरेको चाहिँ पाइन्छ । तर ती सबै ख्याल अङ्ग्रेजीलाई सर्वोच्च भाषा मानेर गरिएको थियो । । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम राख्दा हरेक उच्चार्य वर्ण र सङ्ख्याका अर्थ रहेको स्पष्ट गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोमन वर्णमालाका COVID-19 मा CO ले कोरोना, VI ले भाइसर (विषाणु), D ले डिजिज (रोग) र १९ ले सन् १९ मा पत्ता लागेको कुरालाई स्पष्ट पार्दछन् । (हेर्नुहोस् चित्र २)
विश्व स्वास्थ्य सङ्गले यसरी विषाणु (भाइरस) वा जीवाणु (व्याक्टेरिया) वा अन्य कारणबाट उत्पन्न हुने रोगको नाम राख्दा देश, भूक्षेत्र, बासिन्दा, जात, जाति धर्म, लिङ्ग आदि कुनै पनि किसिमले कसैलाई आरोप वा आक्षेप लाग्ने गरी नराख्ने कुरा ख्याल राख्ने दाबी गरेको छ, तर भाषिक पक्ष यसमा उपेक्षित छ ।
कोभिड हुने कोविरोग किन नहुने ?
अब एकपटक विचार गरौँ, माथि उल्लेख गरिए जसरी नेपाल र नेपाली भाषाको समृद्धिको अवस्थामा के हुनसक्थ्यो होला ? भनेर । नेपाल शक्तिशाली भएको अवस्थामा यसको प्रभाव संयुक्त राष्ट्रसङ्घमा हुन्थ्यो र विश्व स्वास्थ्य सङ्गठनमा पनि । त्यस अवस्थामा सार्स कोरोना २ बाट सिर्जना हुने नाम पनि नेपाली भाषामा राखिन्थ्यो ।
अब त्यस्तो नामको सम्भावना नेपाली भाषाले हालको कोभिड १९ भनेजस्तै अर्थ दिन सक्थ्यो कि सक्दैनथ्यो भन्नेमा विचार गरौँ । माथिको कोभिड १९ (रोग) को नवनिर्माणमा हामीले थाहा पाइसक्यौँ कि ‘को’को अर्थ कोरोनाको सुरुको वर्ण वा छोटकरी रूप हो । त्यस्तै ‘भि’ भनेको भाइसरको सुरुको वर्ण वा छोटकरी रूप र ‘ड’को अर्थ अङ्ग्रेजीको डिजिज शब्दको सुरुको वर्ण र छोटकरी रूप हो । अन्तिममा राखिएको १९ उक्त रोग पत्ता लागेको ग्रेगोरियन पात्रो अनुसारको वर्ष सन् २०१९ को पछिल्ला दुई अङ्क हुन् ।
अब त्यसै अनुसार नेपाली भाषामा नाम राख्दा वा शब्द निर्माण गर्न कतिको सम्भव हुन्थ्यो कि हुँदैनथ्यो वा ठ्याक्कै त्यही अर्थ दिन्थ्यो कि दिँदैनथ्यो भन्ने पक्षमा विचार गरौँ र नेपाली नाम दिने प्रयास गरौँ । कोरोना पहिलेदेखि नै नाम पाइरहेको विषाणु (भाइरस) भएकाले अहिले त्यसलाई नेपालीकरण नगरौँ र कोरोनाका लागि प्रयोग गरिएको ‘को’ नै लिऔँ । तर त्यसपछिका भाइरसबाट लिइएका भिआईबाट भाइरसकै लागि प्रयोग हुने नेपाली शब्द विषाणु छ । त्यसै आधारमा हामी पनि त्यसको सुरुको ‘वि’ लिनसक्ने भयौँ । अब बाँकी रह्यो डिजिजको ‘डि’बाट लिने नेपाली समानार्थी अंश । डिजिजको नेपाली शब्द रोग हो ।
यस सन्दर्भमा हामीले पनि कोभिड भन्नका लागि प्रयोग भएको अन्तिम रोमन वर्ण ‘डी’को सट्टामा हामीले पुरै रोग शब्दलाई नै राखेर बनाउँदा ‘कोविरोग’ भन्ने शब्द मजाले बन्नेभयो र त्यसले दिने अर्थ पनि कोभिड जत्तिकै सशक्त हुने देखियो । अथवा कोविरोगका सुरुवाती लक्षणका आधारमा कोविरुघा भन्ने पनि नामकरण गर्न सकिने देखियो र अन्त्यमा रोग सुरु भएको वर्ष १९ को ठाउँमा विक्रमीय पात्रोको वर्षका अन्तिम दुई अङ्क ७६ राख्न सकिन्थ्यो । अनि अङ्ग्रेजीको भाउरस जस्तै विश्वभर हामी नेपाली भाषाको औपनिवेशिक सञ्जाल विस्तार गर्नसक्ने थियौँ ।
टुङ्ग्याउनी
कुनै पनि घटना वा परिस्थितिजन्य आवश्यकताले भाषिक पक्षलाई अभिन्न बनाउँछ । त्यसमा शक्तिशाली देश त्यस्तै भाषाले विश्वमा उपनिवेश जमाउँछ । जसलाई भाषिक औपनिवेशीकरण भनेर चिन्ने गरिएको छ । तर त्यस्तो कार्यका लागि भाषिक प्रयोग धेरै गरिएको हुन्छ भन्ने पनि कोभिड १९ को अङ्ग्रेजी नामकरणमा भएको संरचनागत अभ्यासले देखाउँछ । यसलाई नवनिर्माण वा नवशब्दवाद (निओलोजिज्म) भनेर भाषिक अध्ययन हुने गर्दछ । जसको प्रयोगमा हामी ज्यादै अल्छे छौँ ।
भाषाको प्रयोजन सही अर्थपूर्ण सूचना प्रवाह गर्ने माध्यमका रूपमा रहेको सन्दर्भमा हामीले प्रयोग गर्ने भाषाका शब्द पनि सही चयन गर्न सक्नुपर्छ । पहिले प्रचलनमा रहेका तर तत्काल प्रयोग नभएका शब्दहरु छन् कि भनेर खोज्नुपर्छ र नभए स्थानीय अर्थ र सन्दर्भ अनुसारका शब्द निर्माण गर्न सक्नुपर्छ । यसको अर्थ कोभिड १९ लाई छाडेर अब कोरोग ७६ प्रयोग गरौँ भन्ने पनि होइन । सम्भावनाको पक्ष केलाएको मात्र हो ।
कोरोना विषाणुको सङ्क्रमणबाट फैलिएको कोभिड १९ महामारीका सन्दर्भमा यस्ता अरु पनि धेरै शब्दहरु छन् । हामीले तिनको प्रयोग आँखा चिम्लेर अङ्ग्रेजीका प्रयोग गरिरहेका छौँ । अङ्ग्रेजीका पनि त्यस्ता शब्द प्रचलनमा रहेका नै होइनन्, अधिकांश नवशब्द वा नवनिर्माण गरेका छन् । (त्यसबारे क्रमशः चर्चा गरिनेछ) ।
नवनिर्माण वा नवशब्दवाद (निओलोजिज्म) का लागि विभिन्न भाषिक सिद्धान्त र प्रचलन छन् । न्युटनको अध्ययन, एप्पलको लोगो र कोभिड वा कोरोगको संरचनागत पक्षले नेपाली भाषामा पनि यसको सम्भावना देखाउँछ ।
हाम्रा सूचना प्रवाह गर्ने माध्यमहरु, तीसँग सम्बन्धित निकायहरु, अनुवादमा संलग्न व्यक्ति वा संस्था तथा भाषा साहित्यका अध्येता व्यक्ति वा संस्थाले यसबारे विमर्श नगर्ने हो भने हामी अङ्ग्रेजीको भाउरस (भाषिक उपनिवेशिक रस) बाट अरु आक्रान्त हुनेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।