बर्नआउट भनेको अत्याधिक र दीर्घकालीन तनावले उत्पन्न गराउने शारीरिक, मानसिक र भावनात्मक थकान हो । अर्को शब्दमा भन्नुपर्दा, कार्य सम्बन्धित तनावप्रतिको प्रतिक्रिया नै बर्नआउट हो। प्रायः सबै संस्थाको हरेक तहका कर्मचारीहरु कुनै पनि क्षण यसको प्रभावबाट ग्रसित हुन पुग्छन् । यदि यसको समयमै निवारण हुन सकेन भने स्वास्थ्य, खुसी, सम्बन्ध र कार्यगत क्षमतामा नकरात्मक असर पर्न जान्छ।
केही सङ्केत एवं लक्षणहरू
अमेरिकन साइकोलजीकल एसोसिएसनका डाक्टर डेभिड ब्यालर्डअनुसार बर्नआउटको निम्न संकेत एवं लक्षणहरू रहेका छन्:
थकान:
हरेक क्षण थकित हुनु वा थकान महसुस गर्नु बर्नआउटको स्पष्ट संकेत हो। यो शारीरिक, मानसिक र भावनात्मक हुन सक्छ।
उत्प्रेरणाको कमी:
यदि तपाईंलाई कुनै पनि कुरा रोचक लाग्दैन, तपाईं त्यस कुराप्रति आकर्षित हुन सक्नुहुन्न अथवा कुनै पनि कार्यमा संलग्न हुन तपाईंमा आन्तरिक प्रेरणा छैन भने तपाईं बर्नआउटबाट ग्रसित हुनुहुन्छ भन्ने बुझिन्छ।
फ्रस्ट्रेसन, धूर्तता र नकारात्मक भावनाहरु:
यदि तपाईंले कार्यमा कुनै अर्थ भेट्नु हुन्न, रनभुल्लमा पर्नुहुन्छ, निराशावादी सोच राख्नुहुन्छ भने तपाईंमा बर्नआउटको स्तर उच्च छ भन्ने प्रस्ट हुन्छ। त्यसैगरी अत्याधिक नकारात्मक भावनाहरु सिर्जना हुनु पनि बर्नआउटको स्पष्ट संकेत हुन्।
संज्ञानात्मक समस्याहरु:
जब तनाव बढ्छ हामी ‘फाइट अर फ्लाइट रेस्पोन्स’मा जान्छौँ। यसलाई ‘लडाईं वा उडान प्रतिक्रिया’ पनि भनिन्छ। तनावले ग्रसित हुनुपर्दा सबैभन्दा बढी ध्यान तत्काल देखिएको नकारात्मक पक्ष, खतरामा नै रहन्छ। यसबाट तत्काल समस्या समाधान गर्न, खतरामुक्त रहन सकिन्छ। तर शरीर र मस्तिष्कले यो खालको प्रतिक्रिया निकै छोटो समयावधिको लागि मात्र जनाउँछ। हाम्रो शरीर र मस्तिष्क यसैको लागि विकसित भएको छ। दीर्घकालीन तनाव महसुस भएको खण्डमा ‘फाइट अर फ्लाइट रेस्पोन्स’ लम्बिएर जान्छ। भनाइको मतलब, लामो समयसम्म नकारात्मक पक्ष, खतराप्रति ध्यान केन्द्रित रहन्छ। अरु कुराहरुप्रति ध्यान केन्द्रित गर्न सकिँदैन। परिणामस्वरूप समस्या समाधान गर्ने र बुद्धिमत्तापूर्ण निर्णय लिन सकिँदैन। यति मात्र होइन, महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न, एकाग्र रहन र याद गर्न समेत सकिँदैन।
कार्यगत क्षमतामा गिरावट:
कुनै पनि व्यक्तिको कार्यगत क्षमता, उत्पादकतामा स्थिरता कायम हुन सक्दैन। भनाइको तात्पर्य, उसले लगातार उत्कृष्ट कार्य-निष्पादन सुनिश्चित गर्न सक्दैन। उत्पादकता कायम राख्न सक्दैन। यो समय र परिस्थितिअनुसार घट्दै जान्छ।
घर र कार्यक्षेत्रमा पारस्परिक सम्बन्ध स्थापित गर्न नसक्नु:
यस्तो परिस्थिति दुई तरिकाबाट उत्पन्न हुन्छ। पहिलो तरिका धेरै खटपट गरेर, वादविवाद गरेर। उदाहरणको लागि, तपाईं घरमा पारिवारिक सदस्यहरुसँग मिल्न सक्नुहुन्न। स-साना कुराहरुमा पनि तपाईंहरुबीच नियमित जसो खटपट चलिरहन्छ। जसकारण परिवारमा भावनात्मक सम्बन्ध जोड्न सक्नुहुन्न। यही प्रकृतिको सिलसिला कार्यक्षेत्रमा पनि देखिन्छ।
त्यसैगरी दोस्रो तरिका खटपट र वादविवादबाट अलग रहेर। जस्तो परिवार तथा सहकर्मी साथीहरुसँग कम भन्दा कम संवाद गर्ने, उनीहरुलाई नसुन्ने, उनीहरुसँग भौतिक रुपमा उपस्थित रहेपनि मानसिक रुपमा अनुपस्थित रहने। यस प्रकृतिको रणनीतिले पनि परिवार र कार्यक्षेत्रमा पारस्परिक सम्बन्ध स्थापित हुन सक्दैन।
आफ्नो ख्याल नराख्नु:
बर्नआउटबाट ग्रसित केही व्यक्तिहरु त्यसबाट मुक्त रहन अस्वस्थ विधिहरू अवलम्बन गर्न पुग्छन्। जस्तैः अत्याधिक पिउने, धुम्रपान गर्ने, घरमा पाकेको नखाने, बाहिर पाकेको मात्र खाना खाने (विशेषतः जंक फूड अथवा रद्दी खाना), पर्याप्त नखाने, पर्याप्त नसुत्ने, निन्द्राको औषधि सेवन गर्ने, कामको थकान मेटाउन पेय पदार्थ सेवन गर्ने, काममा उर्जाशील रहन बारम्बार कफी पिउने आदि।
कामबाट अलग रहन नसक्नु:
तपाईंको काम सकिएपछि, वर्तमान अवस्थामा कुनै कार्यमा सक्रिय नरहेपनि तपाईं कामबारे निरन्तर सोचि रहनुहुन्छ। तपाईं कार्यक्षेत्रबाट अलग रहेपनि तपाईंको मस्तिष्कमा काम संम्बन्धि सोचहरु संचार भइरहेका हुन्छन्। जसकारण तपाईंलाई रिकभर हुन, पुनः उर्जाशील रहन कठिन हुन्छ।
असन्तुष्टि:
तपाईं आफ्नो करिअर र जीवनदेखि खुसी, सन्तुष्ट हुन सक्नुहुन्न। घर र समुदायमा जे जस्ता गतिविधिहरु चलिरहेका हुन्छन्, त्यसबाट तपाईं कत्तिपनि खुसी हुन सक्नुहुन्न। पूरा जीवन अड्किएको वा जीवनमा गति समाउन नसकेको अनुभूत गर्नुहुन्छ।
स्वास्थ्य समस्याहरु:
दीर्घकालीन तनाव कारण पाचन रोग, मुटु रोग, मोटोपना र डिप्रेसन जस्ता स्वास्थ्य समस्याहरु सिर्जना हुन सक्छन्।
बर्नआउट हुनुका कारणहरू
सन् २०१८ मा ग्यालअपले तयार पारेको एउटा प्रतिवेदनअनुसार कर्मचारीहरुले बर्नआउट अनुभूत गर्नुका सम्भावित कारणहरू निम्नानुसारको रहेका छन्:
कारण एक, अव्यवहारिक समयको दबाव। हरेक संवेदनशील कार्य गर्दा समयको दबाव हुनु स्वाभाविक हो। यदि समयको दबाव व्यवहारिक भयो भने कार्य प्रभावकारी हुन जान्छ र बर्नआउट पनि अनुभूत हुँदैन। अन्यथा कार्य प्रभावकारी रुपमा सम्पन्न हुन नसक्नुको साथै बर्नआउट पनि अनुभूत हुन्छ। उदाहरणार्थ, जुन कर्मचारीहरुले कार्य सम्पन्न गर्नका लागि पर्याप्त समय पाएका हुन्छन्, उनीहरुले बर्नआउट अनुभूत गर्ने सम्भावना ७० प्रतिशतले घटेर जान्छ। त्यसैगरी जुन व्यक्तिहरुलाई कार्य गर्न पर्याप्त समय उपलब्ध हुँदैन जस्तैः प्यारामेडिक्स र फायर फाइटरहरु, उनीहरुमा बर्नआउटको स्तर बढ्ने सम्भावना उच्च रहन्छ।
कारण दुई, प्रबन्धकको तहबाट आवश्यक संवाद र सहायता उपलब्ध नहुनु। प्रबन्धकको तहबाट हुने नियमित संवाद र सहायताले तनाव बिरुद्ध मनोवैज्ञानिक बफरको काम गर्छ। जुन कर्मचारीहरुले प्रबन्धकको तहबाट साथ, सहयोग र सहायता पाएको अनुभूत गर्छन्, उनीहरुमा बर्नआउटको अनुभूति हुने सम्भावना ७० प्रतिशतले घटेर जान्छ। यसबाट प्रबन्धकको तहबाट आवश्यक संवाद र सहायता उपलब्ध हुन नसक्दा बर्नआउट उत्पन्न हुने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ।
कारण तीन, जिम्मेवारीबारे अस्पष्टता। कुनै पनि संस्थामा कार्यरत हुँदैमा सबैलाई आफ्नो मुख्य जिम्मेवारी, भूमिकाबारे स्पष्ट जानकारी हुन्छ भन्ने छैन। स्टेट अफ द अमेरिकन वर्कप्लेस रिपोर्टअनुसार केवल ६० प्रतिशत कर्मचारीहरुले आफ्नो जिम्मेवारी, भूमिका राम्रोसँग बुझेका हुन्छन्। संस्थाले उनीहरुबाट के अपेक्षा राखेको छ, त्यो उनीहरुले प्रस्ट बुझेका हुन्छन्। र, बाँकी ४० प्रतिशत कर्मचारीहरु आफ्नो मुख्य जिम्मेवारी, भूमिका पत्ता लगाउने क्रममा नै थकित हुन पुग्छन्।
कारण चार, अप्रबन्धनीय कार्यभार। हरेक व्यक्तिको सीमित क्षमता हुन्छ। त्यसकारण उसले सीमित कार्यभार मात्र लिन, थेग्न सक्छ। यदि उसलाई अप्रबन्धनीय, थेग्नै नसकिने, क्षमताले नभ्याउने कार्यभार दिइयो भने ऊ विचलित हुन्छ। अभिभूत हुन्छ। अन्ततः उनमा बर्नआउटको स्तर बढेर जान्छ। यो कुरा अति आशावादी व्यक्तिमा पनि उत्तिकै लागू हुन्छ।
कारण पाँच, कार्यक्षेत्रमा अनुचित व्यवहारको शिकार हुनु। संस्थाको तर्फबाट कर्मचारीहरुप्रति सधैँ उचित व्यवहार हुन्छ, सहकर्मी साथीहरुबाट सधैँ हार्दिकता व्यक्त हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। जुन कर्मचारीहरुले कार्यक्षेत्रमा आफू अनुचित, अन्यायपूर्ण व्यवहारको शिकार भएको महसुस गर्छन्, उनीहरुमा बर्नआउटको स्तर २.३ गुणाले बढेर जान्छ। पक्षपात गर्नु, असमान क्षतिपूर्ति दिनु, सहकर्मीबाट दुर्व्यवहार व्यहोर्नु आदि अनुचित व्यवहारका केही उदाहरणहरू हुन्।
केही सशक्त विधिहरू
बर्नआउट निवारणका लागि विभिन्न अध्ययनबाट प्रमाणित र विशेषज्ञहरुद्वारा सिफारिस निम्न सशक्त विधिहरू अवलम्बन गर्न सकिन्छ:
सुव्यवस्थित रहने
बर्नआउट भएको अवस्थामा प्रायः अनावश्यक चिन्ता गर्नमा अधिक समय व्यतित गरिन्छ। केही कार्य गर्न भुल्ने पो हो कि! केही महत्वपूर्ण कुराहरु छुट्ने पो हुन् कि भन्नेमा चिन्तित रहने गरिन्छ। यस्तो अवस्थाबाट मुक्त रहन सुव्यवस्थित रहनोस्। अस्तव्यस्त शैलीमा कुनै पनि कार्यमा सक्रिय नहुनुहोस्। कार्यसूची तय गर्नोस्। कार्यसूची लिखित वा डिजिटल हुन सक्छ। सोही कार्यसूची अनुसार कार्य गर्नोस्। त्यो भन्दा बाहिर जाने प्रयास नगर्नोस्। जब तपाईं यो किसिमको कार्यपद्धति अपनाउनु हुन्छ, तपाईंलाई कुनै महत्वपूर्ण कार्य भुल्ने, छुट्नेमा कत्तिपनि चिन्ता रहँदैन। तपाईं व्यवस्थित रुपमा प्रणालीअनुरुप कार्य गर्न सक्षम हुनुहुन्छ।
कार्यभार कम गर्ने
व्यक्तिगत क्षमता र कार्यभार मिलान हुन सके जस्तोसुकै जटिल कार्य पनि प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ। कार्यको गुणस्तरीयतामा कुनै सम्झौता हुँदैन। त्यसैगरी आराम गर्न, पुनः उर्जाशील रहन, व्यवसायिक र व्यक्तिगत विकासमा गम्भीरतापूर्वक सक्रिय रहन यथेष्ट समय प्राप्त हुन्छ। सन्तुलित जीवन बाँच्न सकिन्छ। यदि व्यक्तिग क्षमता र कार्यभारबीच मिलान हुन सकेन भने आराम गर्न, पुनः उर्जाशील रहन, व्यवसायिक र व्यक्तिगत विकास कार्यमा सक्रिय हुन समय, अवसरहरू नै उपलब्ध हुँदैनन्। तनावको स्तर बढ्दै जान्छ। फलस्वरूप सन्तुलित जीवन बाँच्न सकिँदैन। त्यसैले कार्यभार घटाउने कोसिस गर्नोस्। यसको निम्ति आफ्नो क्षमता, रुचि र विशेषज्ञता भन्दा बाहिरको कार्यभार बोक्ने नगर्नोस्। यससँगै प्राथमिकताका आधारमा कार्य छनोट गर्न, त्यस कार्यलाई योजनाबद्ध रूपमा अगाडि बढाउन, अरु उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन, आवश्यक परेको खण्डमा अस्वीकृति जनाउन र पूर्णतावाद सोच त्याग्न पनि तत्पर रहनोस्। यसो गर्नाले तपाईंको कार्यभार कम हुँदै जान्छ र बर्नआउटको स्तर घट्दै जान्छ।
आत्म–नियन्त्रणमा ध्यान दिने
स्वतन्त्रताको अभाव, सीमित स्रोत साधन र निर्णय गर्ने क्षमताको अभावमा व्यवसायिक जीवन निर्माण हुन सक्दैन। करिअर निर्माण हुन सक्दैन। यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य, खुसीको स्तरमा देखिन्छ। यदि तपाईंले आत्म-नियन्त्रण गुमाएको, असन्तुलित भएको अनुभूत गर्नुहुन्छ भने आफैलाई प्रश्न गर्नोस्, ‘वास्तवमा के कारणले ममा यस्तो भावना आयो? सन्तुलन कायम हुन नसक्नुको मुख्य जड के हो?’ गहन मन्थनबाट तपाईंले आफूमा यस्तो भावना उत्पन्न हुनु र अगाडि बढ्न नसक्नुमा धेरै कारणहरू पत्ता लगाउन सक्नुहुन्छ। जस्तै: तपाईंबाट अत्याधिक परिणामको अपेक्षा राख्ने र कुनै पनि क्षण फोन सम्पर्क गर्ने कार्यकारी प्रमुख, कार्यक्षेत्रका प्राथमिकता निरन्तर परिवर्तन हुनु, कार्य-निष्पादन गर्न चाहिने आवश्यक स्रोत, साधन र जनशक्ति आँकलन गर्न नसक्नु आदि।
अब तपाईं फेरी आफूलाई अर्को प्रश्न गर्नोस्, ‘यो अवस्थामा सुधार ल्याउन म के गर्न सक्छु?’ गहन मन्थनबाट तपाईंले केही समाधानहरु पत्ता लगाउन सक्नुहुन्छ। जस्तै: कार्यकारी प्रमुखसँग खुला मस्तिष्कले संवाद गर्ने, दुबैको लागि उचित क्षेत्राधिकार तय गर्ने, महत्वपूर्ण कार्यमा मात्र संलग्न रहने, केही प्राथमिकता यथावत् राख्ने, आवश्यक स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राख्ने आदि। यति कुराहरुमा पर्याप्त ध्यान दिन सकियो भने आत्म-नियन्त्रणमा कहिल्यै पनि हलचल पैदा हुन सक्दैन।
उपयुक्त प्रतिफलको खोजी गर्ने
कुनै पनि कार्य त्यसै गरिँदैन। कुनै पनि संस्थामा त्यसै समय र उर्जा लगानी गरिँदैन। निश्चित बाह्य र आन्तरिक प्रतिफलको अपेक्षा राखिएको हुन्छ। पदोन्नति, पारिश्रमिक बृद्धि आदि बाह्य प्रतिफलका उदाहरणहरू हुन् भने सकारात्मक प्रतिक्रिया, संस्था प्रमुख तथा सहकर्मी साथीहरुबाट प्रेम, साथ, सहयोग र प्रोत्साह प्राप्त हुनु आदि आन्तरिक प्रतिफलका उदाहरणहरू हुन्। यदि यी प्रतिफलहरु प्राप्त हुन सकेनन् भने समय र उर्जा खेर फालेको, कार्य निरर्थक भएको निष्कर्ष निकालिन्छ। यस्तोमा तपाईंलाई कुन प्रतिफल प्राप्त हुँदा समय र उर्जाको सदुपयोग भएको, कार्य अर्थपूर्ण रहेको अनुभूति हुन्छ? वास्तवमा तपाईंले चाहेको प्रमुख प्रतिफल कुन हो? बाह्य हो या आन्तरिक? यी यावत् कुराको यकिन गर्नोस्। अनि सोही प्रतिफलको खोजी र प्राप्तिका लागि प्रयत्नशील रहनोस्। मानौँ तपाईंको प्रमुख प्रतिफल बाह्य हो। मानौँ तपाईं कार्यरत संस्थामा कार्यभार अत्याधिक छ, तर तपाईंले उचित पारिश्रमिक पाउनु भएको छैन। बर्नआउटको स्तर बढ्ने क्रम मात्र जारी छ। यस्तो अवस्थामा तपाईं संस्थाको कार्यकारी निर्देशकलाई भेट्नुस् र पारिश्रमिक बृद्धि गरिदिनका लागि अनुरोध गर्नोस्। तपाईंको मागको उचित सम्बोधन भयो भने ठीक छ। अन्यथा तपाईं संस्था परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंलाई त्यस्तो संस्थामा काम गरेर बर्नआउट बढाउनुपर्ने कुनै जरुरी छैन।
साथ, सहयोग र सहायताको लागि आग्रह गर्ने
संस्थाको काममा व्यस्त हुँदै गर्दा बर्नआउट अनुभूत भएको अवस्थामा आत्मीय सहकर्मी साथीसँग साथ, सहयोग र सहायताको लागि संवाद गर्नोस्। त्यसैगरी यही विषयलाई लिएर उचित समयमा संस्थाको प्रबन्धक वा मानव संसाधन विभाग प्रमुखसँग संवाद गर्नोस्। सो संवाद दौरान संस्थाले उपलब्ध गराउने मानसिक स्वास्थ्य सुविधाहरुबारे जानकारी लिनुहोस्। कसरी तनाव व्यवस्थापन, संवाद कौशल लगायतका तालिमहरु संचालन गर्न सकिन्छ? कसरी कार्यक्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्न सकिन्छ? यी सम्पूर्ण कुराहरूबारे गहिरो अन्तरक्रिया गर्नोस्। त्यसैगरी यी कुराहरुको सुनिश्चितता हुन सके आफू झन् प्रभावकारी र उत्कृष्ट कर्मचारी भएर संस्थामा क्रियाशील हुन सक्ने कुरा पनि स्पष्ट रुपमा राख्नुहोस्। यदि संस्था तपाईंको यी तमाम कुराहरुप्रति गम्भीर रह्यो भने ठीक छ। अन्यथा नयाँ अवसरको खोजी गर्नु, संस्था परिवर्तन गर्नु तपाईंको लागि एकमात्र उचित विकल्प उपलब्ध रहन्छ। जसकारण तपाईंलाई बर्नआउटको स्तर कम गर्ने प्रक्रियामा थप मद्दत मिल्छ।
निष्पक्ष र न्यायसंगत व्यवहारको सुनिश्चितता गर्ने
कुनै पनि संस्थामा काम गर्दा आफूलाई निष्पक्ष र न्यायसंगत व्यवहार गरिएको वा नगरिएकोबारे सोच्न सक्नुपर्छ। मूल्यांकन गर्न सक्नुपर्छ। मानौँ तपाईं एउटा संस्थामा लामो समयदेखि माथिल्लो तहमा रहेर कार्यरत हुनुहुन्छ। यस्तोमा के तपाईंको योगदानले उचित सम्मान पाएको छ? कतै तपाईंको कार्य छायाँमा परेको त छैन? अरु कसैले पो सम्मान र प्रशंसा पाएको छ कि? अरुको लागि कार्य सम्पन्न गर्न म्याद थप र अतिरिक्त स्रोत साधन उपलब्ध भएको तर तपाईंको लागि केही सुविधा उपलब्ध नहुने अवस्था पनि पो छ कि? यी यावत् कुराहरु बुझ्ने कोसिस गर्नोस्।
यदि तपाईंले निष्पक्षता र न्यायसंगत व्यवहारको अभावमा बर्नआउटको स्तर चरम विन्दुमा पुगेको अनुभूत गर्नुभयो भने सम्बन्धित व्यक्तिहरुसँग संवाद गर्नोस्। आफ्ना मागहरू राख्नोस्। कहिलेकाहीँ सम्बन्धित व्यक्तिहरु आफ्नो पक्षपाती व्यवहारबारे सचेत रहँदैनन् र नभनेसम्म आफूमा परिवर्तन ल्याउन आवश्यक ठान्दैनन्। त्यसैले निसंकोच आफ्ना भनाइहरू राख्नु बुद्धिमानी रहन्छ। यति गर्दा पनि उनीहरुबाट सकारात्मक प्रतिक्रिया आएन भने विनम्रता साथ आफ्ना भनाइहरू यसरी राख्नोस्:
समूह ‘ए’ र हाम्रो समूह ‘बी’ ले संचालन गरेको प्रोजेक्टमा खासै धेरै फरक छैन। दुबै एकै प्रकृतिको प्रोजेक्ट हो। हामी दुबै समूहलाई एउटै समयावधि दिएको थियो। यद्यपि समूह ‘ए’ को लागि म्याद थप गरिएको र अतिरिक्त स्रोत साधन उपलब्ध गराइएको कुराको केही दिन अगाडि मात्र जानकारी पाएँ। हाम्रो समूहको तर्फबाट पनि सोही किसिमको माग पूरा गरिदिन निवेदन भएको थियो। र पनि समूह ‘ए’ ले किन त्यो खालको सुविधा पायो तर हामीले किन पाएनौँ? कृपय मलाई यसबारे बुझ्न सहयोग गरिदिनुहुन्छ कि?
व्यक्तिगत र संस्थागत मूल्य मान्यता मिलान गर्ने
हरेक व्यक्ति निश्चित मूल्य मान्यतामा बाँचेको हुन्छ। त्यसैगरी हरेक संस्था पनि निश्चित मूल्य मान्यतामा चलेको हुन्छ। हरेक व्यक्तिको व्यक्तिगत मूल्य मान्यता र संस्थागत मूल्य मान्यताबीच मिलान हुन सके मात्र उनीहरु एकसाथ आउन सक्छन्। एउटै उद्देश्य प्राप्तिका लागि सहकार्य गर्न सक्छन्। अन्यथा उनीहरुबीच त्यो खालको सहकार्य हुन सक्दैन र केही जानी भइहाल्यो भने त्यो टिक्दैन। मानौँ तपाईंको व्यक्तिगत मूल्य मान्यताहरु सम्मान, प्रशंसा, स्वीकार्य, इमान्दारिता, खुला विचारधारा, समानुभूति, सुन्नु आदि रहेका छन्। यद्यपि तपाईं कार्यरत संस्थाको मूल्य मान्यता केवल पैसा कमाउनु रहेको छ भने? तपाईंले संस्थाबाट उचित सम्मान र प्रशंसा पाउनु भएन भने? कार्यक्षेत्रमा संकुचित सोच राख्नेहरु धेरै संख्यामा छन् भने? तपाईं त्यस्तो संस्थामा अडिग रहन चाहनुहुन्न। मिहिनेतसाथ कार्य गर्न कत्ति पनि प्रेरित हुन सक्नुहुन्न। त्यसैले कुनै पनि संस्थामा प्रवेश गर्नु अगाडि व्यक्तिगत र संस्थागत मूल्य मान्यताहरुबारे सोच्ने गर्नोस्। सचेत रहने गर्नोस्। तपाईं आवद्ध भइसकेको संस्थासँग आफ्नो व्यक्तिगत मूल्य मान्यता मेल नखाए त्यहाँदेखि छुट्टिने हिम्मत गर्नोस्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।