…. रातको दुई बजे फोनको घण्टी बज्छ । म अझै उल्लु जसरी  जाग्राम बसिरहेको छु । कापीका पानाहरूमा अनवरत रूपमा खै के लेखिरहेको छु म आफैँलाई थाह छैन । मोबाइल हेर्छु नयाँ नम्बरबाट फोन आएको छ । यति राति आएको फोन, म उठाऊँ र नउठाऊँको दोधारमा पर्छु । यति सोच्ता सोच्तै  फोन काटिन्छ । म फेरि लेख्न सुरु गर्छु । मलाई आफ्नो काम भ्याउनु छ, म हतार गर्छु ।

एउटा अनुच्छेद नसक्तै पुनः फोनमा घण्टी बज्छ । यसपटक भने केही नसोची फोन उठाउँछु, “हेल्लो…!”

“के छ ? कता छौ ?” नचिनेको नम्बरबाट यति राति फोन आउँछ, अझै के छ भनेर सोध्दा म अकमक्क पर्छु । आवाज कुनै लेडिजको छ । म चिन्न सक्तिनँ ।

“हजुर… !” अलमल्ल परेरै प्रश्न गर्छु ।

“चिनेनौ कि के हो ? बिर्सिसक्यौ ?” उताबाट हाँस्तै कोही केटी बोलेरहेकै छे । को केटी बोलेरहेकी छे ? मलाई अचम्म लाग्छ ।

“अहँ ! को हुनुहुन्छ ?” पुनः प्रश्न नै दोहोर्‍याइउँछु । उता ऊ हाँसिरहन्छे ।

“उल्लु ! म ऋतिका, ऋतिका ढकाल । अब सम्झियौ ?”

यो नाम सुन्नेबित्तिकै म एकाएक तरङ्गित हुन्छु । अहो ! उसको बोल्ने शैलीमा कति परिवर्तन भएछ । हुन पनि मैले करिब छ वर्षपछि उसको आवाज सुनेको थिएँ । परिवर्तन किन नहोस् ? एक त यतिका वर्ष विदेशमा बसेकी ऊ । फरक रहनसहन र  परिवेशमा घुलमिलिएकी छे ।  लवजमा स्वभाविक परिवर्तन आउने नै भयो ।

” ए ! तिमी पो ?”, फेरि प्रश्न नै गर्छु ।

“अँ ! म अरू को जस्तो लाग्छ र ?” ऊ हाँस्तै जवाफ दिन्छे ।

“अनि नेपालको नम्बरबाट फोन गरेकी छ्यौ । यता कहिले आयौ ? खबरै नगरी आउने जाने, बानी अझै उस्तै छ है ?” मेरो प्रश्नवाचक चिह्न अझै पनि उसका अगाडि बर्सिरहन्छन् । ऊ मन्द हाँसिरहेकाे आवाज आइरहन्छ । म पनि मुस्कुराउने चेष्टा गर्छु ।

“भर्खरै ल्यान्ड गरेकी । टि. आई.एको गेटमा छु । यो मेरो पहिलो फोन हो, जुन तिमीलाई गर्दैछु । भोलि तिमीलाई भेट्छु । भोलि पहिलेकै पुरानो क्याफेमा आउनू ।”, यति भनेर फोन काटी । म अकबक्क परेँ ।

 ************

ऊ मेरी बच्चैदेखिकी साथी हो । हामीले स्कुल कलेज सँगै पढेका हौँ । हाम्रो मित्रता यति प्रगाढ थियो कि, त्यसलाई म शब्दमा उतार्न पक्कै सक्तिनँ ।  हामी जे गर्दा पनि, जहाँ जाँदा पनि सँगै  हुन्थ्यौँ । त्यसैले पनि ऊबाहेक मेरो अरू कोही साथी बनेका थिएनन् । ऊ पनि म भनेपछि हुरुक्कै हुन्थी । स्कुल कलेजमा हाम्रा बारेमा कुरा काट्नेहरूको कमी थिएन । हामीलाई भने त्यस्ता कुराको बालै थिएन भन्दा पनि हुन्थ्यो । हामी ती कुरौटे साथीहरूलाई हाँसेर मौन प्रत्युत्तर दिन्थ्यौँ । शारीरिक र मानसिक रूपमा परिपक्व भएको आभास भएपछि भने हामीले हाम्रो मित्रतालाई प्रेमको संवेदनामा परिवर्तन गरेका थयौँ । हो, हामी रिलेशनमा थियौँ ।

ब्याचलरको पढाइ सकिसकेपछिको एक दिन हामी बानेश्वरको कुनै एउटा क्याफेमा बसेर कफी पिउँदै गफ गरिरहेका थियौँ । कलेजबाट छुट्टिई सकेपछिको त्यो हाम्रो पहिलो भेट थियो । फोनमा कैले कैले गफ भएता पनि खासै कुरा हुन्थेन । त्यो दिन  कुरा गर्दै जाँदा हामी भविष्यमा के गर्ने भन्ने विषयमा निकैबेर अल्झिएका थियौँ । ऊ अब्रोड जाने कुरा गर्थी । ऊ मलाई पनि कुनै एउटा राम्रो युनिभर्सिटीमा एप्लाई गर भन्दै कराइरहन्थी । मलाई पलायनवादी कुरा फिटिक्कै मन पर्दैनथ्यो । यो कुरा उसलाई पनि थाह थ्यो । म उसको कुरालाई नाक खुम्च्याउँदै इग्नोर गरिरहन्थेँ । ऊ बोलिरहन्थी ।

मलाई विदेश जान फिटिक्कै रहर थिएन । यतै केही गर्ने रहर बच्चैदेखिको हो । पढेका शिक्षित युवाहरू विदेश पलायन भएर देशको विकास नहुने कुरामा म  पहिल्यैदेखि ढुक्क थिएँ । हुन पनि बर्सौँदेखि पलायन भएका युवाहरूले देशलाई केही योगदान पुर्‍याएका थिएनन् सिवाय रेमिट्यान्स ।

ऊ मलाई हरेकपटकझैँ त्यो दिन पनि मलाई गाली गरिरहेकी थिई । म उसको कुरालाई खासै चासो दिइरहेको थिइनँ । म हरेकपटक भनिरहन्थेँ, मलाई यतै केही गर्नु छ । म लेख्न चाहन्छु, देशका बारे, भूगोलका बारे, संस्कृति र सम्पदाका बारे । ऊ मेरो कुरालाई मैले जसरी नै इग्नोर गरिरहन्थी । यो विषयमा स्कुलदेखि नै ठाक्ठुक परिरहन्थ्यो । ऊ यु.एस सेटल हुन्छु भन्थी । ऊ चाहन्थी अब भने मबाट पनि केही ठोस निर्णय लिइदियोस् तर मैले प्रण गरिसकेको थिएँ- ‘लेख्ने, राइटर बन्ने’ ।

हरेकपटक सम्झाउँदा पनि मेरो देश नछाड्ने लिँडेढिपी देखेर ऊ आजित भएकी हुँदी हो ।

“हेर लेखेरै मात्र जिन्दगी चल्दैन विनीत । हामीले केही गर्नु छ । केही बन्नु छ । अलिकति सोच त तिमीले, यहाँ लेखेर गुजारा गर्ने राइटरहरू कति छन् होलान् ? गन्न सक्छौ ? तिम्रा लेख कतिले पढ्लान् ? कतिले किन्लान् तिम्रा किताब ? भन्न सक्छौ ? यहाँ बसेर केही हुनेवाला नै छैन विनीत । आफ्ना बारे सोच । परिवारका बारेमा सोच । हाम्रा बारे सोच । देश त रहला नरहला, हामीलाई यसको के मतलब ? हामीलाई बाँच्नु छ । देशले बाँच्न सिकाउँदैन भनेर कतिपटक सम्झाऊँ तिमीलाई ? लेख्न त तिमी उतै गएर पनि त लेख्न सक्छौ । लेख्नलाई तिम्रो कलम कसैले रोक्तैन तर लेख्न नै छ भनेर आफ्नो करियर बर्बाद नगर विनीत ।” ऊ रिसाउँदै भन्थी । म चुपचाप उसको कुराहरू सुनिरहेँ । हुन पनि मसँग उसका ती तमाम प्रश्नहरूको जवाफ थिएन । मैले चुपलाग्नुमा नै आफ्नो भलाई देखेँ ।

मलाई मौन देखेर ऊ झन् कड्किन थाली- “हेर तिमीले जतिसुकै आदर्शका कुरा किन नगर तर तिम्रो आदर्श देशको यस  अवस्थामा फिका भइदिन्छ । आदर्शले मात्रै जीवन चल्दैन । जीवन चलाउन कमाउन पर्छ । तिमीले लेखेर कति नै पो कमाउलाउ र ? सोचेका छौ ?” यति भनेर ऊ चुप भई ।

मलाई अरू केही भन्नु त पक्कै थिएन तर मभित्रको सोचलाई ऊसामु छर्लङ्ग बनाउन पर्ने नै थियो । मैले म बोल्नुपर्ने आवश्यकता देखेर बोल्न सुरु गर्छु- “ऋतिका, हो हाम्रो समाज परिस्थिति प्रधान तथा संस्कृति केन्द्रित छ । देश कुनै समय कथित कृषिप्रधान थियो आज पनि छ । यससँगै आज युवाप्रधान हुँदै ‘रेमिटेन्स प्रधान’ हुँदै गएको छ । मतलब आजकाल देशको आर्थिक अवस्था रेमिटेन्समा भर परेको छ । यो कुरा म सहर्ष स्विकार्छु । त्यसैले पनि बिदेसिने युवाहरूको जमात आजभोलि झनै बाक्लिँदै गएको छ । हुन त पलायन हुनु कसैको पनि खुसीको रोजाई थिएन र होइन पनि । सायद तिम्रो पनि हैन तर  देशको यस्तो अस्थिर र प्रयोगात्मक राजनीतिक गतिविधिले देशको सम्पूर्ण सामाजिक एवम् आर्थिक क्षेत्रमा अन्योलताको वातावरणमा तिमीले विदेशमा आफ्नो भविष्य देख्नु जायज हो । तिमीले यहाँ केही नदेख्न सक्छ्यौ । देखिन लायक केही छैन पनि तर यसको मतलब यो होइन कि यहाँ केही सम्भावना नै छैन ।

सम्भावनाहरू प्रचुर छन् तर हामी देख्न सक्तैनौँ । खोज्ने चेष्टासम्म गर्दैनौँ । हामीलाई आफ्नै माटामा परिश्रम गरेर बाँचिन्छ भन्ने लाग्दैन तर पलायन भएर रातोदिन पसिना बगाउन पछि पनि पर्दैनौँ । स्वदेशमा प्रचुर अवसर र सम्भावनाहरू हुँदाहुँदै पनि अहिले राष्ट्रको तन, मन, धन साथै बल र बुद्धि सबै विदेशमा अनवरत रूपले पलायन भइरहेको छ । के बिदेसिएर दुईचारजनाको जीवनस्तर सुधारिँदैमा र करोडौँ रेमिट्यान्स आउँदैमा देश बदलिने हो र? हैन नि । हामीलाई मार्गनिर्देशनको आवश्यकता छ । जो कोहीलाई पनि । हामीले देशलाई परिवर्तन गर्नु छ । देशका प्रतिनिधिहरूलाई हामी युवाहरूलेनै झकझक्याउनुपर्ने छ । होला मान्छेका भिन्न भिन्न सोचाइ होलान्, उद्देश्य होलान् तर मलाई लेखेरै देश परिवर्तन गर्नु छ ।

तिमी प्रश्न गरौली “एक्लै कसरी गर्छस्?” तर म एक्लो छैन र हुँदिनँ पनि । मजस्तै धेरै युवाहरू छन् जो यहीँ बसेर केही गर्न चाहन्छन्, लेख्न चाहन्छन्, देखाउन चाहन्छन् । हो म उनिहरूकै लागि मार्गनिर्देशक बन्न चाहन्छु । भलै मेरो कुरा अस्वभाविक लाग्ला, पत्याउन गाह्रो पर्ला तर सत्य यही हो कि, हामीजस्ता युवाहरू नै पलायन भएर देशको परिवर्तन हुन असम्भव भएको हो । हामी परिवर्तन पनि खोज्छौँ अनि पलायनवादी संस्कृतिलाई अस्वीकार गर्न पनि सक्तैनौँ । समस्या यही हो । किनकि देश नै यही समस्यामा अल्झिरहेको छ । जसलाई हामी प्रश्न गर्न डराउँछौँ ।

मेरो यत्ति कुरा सुनेर ऊ केही नबोली उठ्छे । सायद उसले ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्रोमा राख्ता पनि बाँङ्गोको बाङ्गै’ भन्ने उखान  सोचेको हुनुपर्दथ्यो । मैले लख काट्छु ।

“मेरो अमेरिकाको भिसा आएको छ । अर्को महिना जान्छु होला । तिमी यहीँ बसेर लेख्तै गर्नु । तिम्रो इच्छा नभएको विषयमा म तिमीलाई फोर्स गर्न सक्तिनँ र गर्दिन पनि तर एक दिन तिमी यहीँ बसेर पछुताउने छौ । मलाई याद गर्नेछौ । अब यति बुझ्नू, बोकेर फरकफरक मनस्थिति हामी कहिल्यै एक हुन सक्तैनौँ । म तिम्रो प्रगतिको प्रार्थना गर्छु ।”, ऊ बोल्दै टेबलको ब्यागलाई उठाउँछे । म उसको भिसा आएको कुरामा म मौन मुस्कुराएरै खुसी व्यक्त गरिदिन्छु । ऊ आफ्नो बाटो लाग्छे । म त्यहीँ बस्छु । म आफ्ना अगाडिको  कालो रङ्गको डायरी पल्ट्याउन थाल्छु ।

त्यसै दिन हाम्रो प्रेममा पनि अनिश्चितकालीन प्रश्नवाचक चिह्न खडा भएको थियो जसको उत्तर आजसम्म थाह छैन र सायद हुँदैन पनि तर पनि म उसको यादलाई बोकेर विगत छ वर्षदेखि हिँडिरहेको छु । उसले भने झुक्किएर भए पनि एकपटक पनि सम्झिन । न त जानेबेला जान्छु नै भनी । मलाई यही कुराको गुनासोमात्रै यतिका वर्षसम्म रहिरह्यो । सायद उसले पनि मेरो जिद्दीलाई बोकेर बसेकी थिई होली तर म आफूले यता बसेर केही गर्न नसकेको कुरालाई आत्मालोचना गर्दा बेलाबेला उसका कुरा सत्य रहेछन् भन्नेसम्म चाहिँ लाग्छ तर उसले भनेअनुरूप पश्चात्ताप भने भएको छैन । म खुसी छु । किनकि मैले लेख्न पाएको छु ।

*********

यति कुराहरू मानसपटलमा एकाएक दृश्यचित्र बनेर आइदिन्छन् । मैले कापीमा लेखिरहेको विषय आज पनि अधुरै रहे ।

घडी हेर्छु, बिहानको सवापाँच भैसकेको छ । बाहिरबाट कुखुरा बासेकाे आवाज आइरहेको छ । भोलि उसलाई भेट्न जानुपर्ने कुरा मनमा खेलिरहन्छ ।

“कुन अनुहार लिएर जानू ?”, म  आफैँलाई प्रश्न गर्छु । बोत्तलको पानी नसकिन्जेलसम्म घुट्की मार्छु । ओछ्यानमा पल्टिन्छु ।

भोलि उसले के सोध्ली,  मेरो असफलतालाई के भन्ली ?

यतिका वर्षसम्म के बनिस् ? उसले पक्कै सोध्नेछे ।

म भन्नेछु- ‘सो कल्ड राइटर !’

मनमा यही एउटा उपाय सुझ्छ । मोबाइलको प्लेलिस्टबाट दीपक जङ्गमको  ‘सम्झनाको गोरेटोले किन पछि तान्छ’ भन्ने गीत बजाउछु र सुत्ने कोसिस गर्छु ।